पहिलो पटक प्रदेश स्तरीय चित्रकला प्रदर्शनी विराटनगरमा
काठमाडौं । विराटनगरमा प्रदेश स्तरीय चित्रकला प्रदर्शनी समापन भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, चित्रकला विभाग र ललितकला संगम विराटनगरको सहकार्यमा सो कार्यक्रम प्रदेश नं १ विराटनगरको सेन्ट्रल महलमा सम्पन्न भयो । कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरको प्रमुख आतिथ्यता रहेको थियो भने नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, चित्रकला विभाग प्रमुख प्राज्ञ सुषमा राजभण्डारी, प्राज्ञ सभासदस्य सञ्जय वान्तवा, प्राज्ञ गंगा सुवेदी, प्राज्ञ सरोजा खड्गी, प्राज्ञ एस.सी. सुमन, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति विजु थपलिया, सामाजिक विकास मन्त्रालयका कानूनविद् कोष राज न्यौपाने , पत्रकार महासँघका अन्यक्ष विक्तम लुइटेलको आतिथ्यता रहेको थियो । ललितकला संगम विराटनगरका अध्यक्ष गोपाल कला प्रेमीको अध्यक्षतामा सञ्चालन भएको सो कार्यक्रम ४० जनाभन्दा बढी व्यक्तित्वको चित्रकला अवलोकन गर्दै कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो । कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, चित्रकला विभाग प्रमुख प्राज्ञ सुषमा राजभण्डारीले प्रदेश नं १ मा चित्रकलाको प्रदर्शनी भए । त्यस्तै नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, चित्रकला विभागले ललितकला संगम विराटनगरसँग गरेको यो कार्यक्रम पहिलो रहेकोले थियो । छ वटा विभाग यसमा कार्यरत छन् । म यस विभागको तर्फबाट के चाहन्छु भने प्रदेश नं १ विराटनगरमा एउटा कला म्यूजियम निर्माण गर्ने र यसमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । भ्रमण वर्षलाई टेवा पु¥याउनका निमित्त वरिष्ठ ललितकलाकारको प्रयोग गरेर कला तथा संस्कृतिमा पर्यटकहरुलाई तान्नमा जोड दिने प्रदेशको लक्ष्य रहेको छ । यसका निमित्त कलाको पूर्वाधार निर्माण आवश्यक पर्दछ । प्रमुख अतिथि माननीय सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले हाम्रो समाजलाई परिचय दिएको कुरा थाहा भएता पनि यस कुरामा म जानकार नहुन सक्छु तथापी मान्छे सबै कुरामा निपूर्ण नहुन सक्छ तर समाज विकासमा कलाको अहम् भुमिका निर्माण गरेको हुन्छ ।
बचत गर्ने ८ तरिकाः यसपाली सेयर किन्ने, पाँच वर्षमा गाडी किन्ने, ५० नकट्दै घर बनाउँने
काठमाडौं । जीवनमा कमाउन जति जरुरी छ, उत्तिनै जरुरी छ जोगाउन पनि । अपेक्षाभन्दा कम पारिश्रमिक, लगानीले दिन नसकेको आकर्षक मुनाफा, अत्यावश्यक सामाग्रीहरुको चुलिँदो भाउ, मानिसको बढ्दो चाहना र आकांक्षा तथा हरेक दिन तपाईँको काँधमा थपिइरहेको नयाँ-नयाँ बोझ एवं जिम्मेवारी, यी सबै पक्षलाई ध्यान दिँदा लाग्छ बचत असम्भव छ । तर यहाँ ध्यान दिनुपर्ने कुरा के हो भने बचत गर्नुपर्ने भनेकै यी र यस्तै कठिनाइको बीच नै हो, ताकि आज जुन संकटबाट तपाईँ गुज्रिरहनुभएको छ, त्यो भविष्यमा नदोहोरियोस् । यसकारण बचत बाध्यता र मानसिकता दुबै हो । बचत गर्ने बानीले तपाईँ भविष्यप्रति कति गम्भिर हुनुहुन्छ वा आफ्नो जीवनलाई कुन दिशातर्फ अग्रसर गराईरहनुभएको भन्ने पनि दर्साउँछ । तसर्थ, हामीले तपाईँहरुका लागि बचत गर्ने बानीको विकास गर्न सघाउने केहि सरल उपायहरु लिएर आएका छाैं। १. कर्जाबाट मुक्ति सबैभन्दा पहिले कर्जा वा अन्य कुनै पनि किसिमको आर्थिक बोझबाट मुक्त नभइ तपाईँले बचत गर्न थाल्न सक्नुहुन्न । ब्याजमा लिएको कर्जाले त अझ तपाईँको कमाई र खर्च गर्ने तालमेललाई नै असन्तुलित बनाइदिन्छ । हरेक महिनाको अन्त्यमा तपाईँ आफ्नो कमाईको कति हिस्सा कहाँ र कसलाई तिर्ने भन्नेमै अन्योलमा रहनुपर्दछ । तसर्थ, तपाईँले आफ्नो कमाईको आधारमा सकेसम्म चाँडो कसरी कर्जाबाट मुक्त हुने भन्नेतर्फ योजना बनाई सोको कार्यान्वयनमा लागिहल्न जरुरी छ । २. आकस्मिक कोषको स्थापना हामी सबैलाई थाहा छ, जीवन सँधैभरी हामीले चाहेको वा सोचेको तरिकाले चल्दैन । यस अनिश्चित जीवनमा भविष्यमा आइपर्ने भैपरी आउने जस्तोसुकै अवस्थाको लागि आफू तयार रहनु नै बुद्धिमानी हो । एक पटक कल्पना गर्नुस् त, कुनै एक रात तपाईँको परिवारको कोहि सदस्यको स्वास्थ्यमा समस्या आयो र उहाँलाई तत्कालै उपचारको लागि लानका लागि तपाईँसँग आवश्यक पैसा छैन भने तपाईँ के गर्नुहुन्छ ? हो यी र यस्तै प्रतिकुल परिस्थितसँग सहज रुपमा सामना गर्नसक्ने उपाय भनेको एक आकष्मिक कोषको स्थापना हो जसमा तपाईँले आफ्नो आयको केहि प्रतिशत रकम हरेक हप्ता वा महिना छुट्याउन सक्नुहुन्छ । ३. आर्थिक योजनाको विकास प्रत्येक महिनाको सुरुमै आफू र आफ्नो परिवारको आवश्यकता केके हुन् र सो आवश्यकता पूर्तिका लागि कति पैसाको आवश्यकता पर्छ र सो श्रोत कहाँबाट कसरी जुटाउने भनेर योजना बनाउँदा तपाईँ आर्थिक रुपले सहज अवस्थामा रहनु हुनेछ । महिनाको अन्त्यमा तपाईँले कहाँ, केका लागि, कति खर्च गर्नुभयो भनेर लेखाजोखा गर्नुभयो भने तपाईँले सहजै कति पैसा आवश्यक बस्तुका लागि, कति पैसा अनावश्यक चिजका लागि तथा कति पैसा फजुलमा खर्च गर्नुभयो भनेर पत्ता लगाउन सक्नुहुन्छ । र, यसपश्चात तपाईँले अनावश्यक कार्य वा क्षेत्रमा गर्नुभएको खर्च नियन्त्रण गर्ने बानीको विकास गर्न सक्नुहुन्छ । ४. मनको नियन्त्रण त्यसो त आफ्नो परिवार एवं साथीभाईसँग बसेर कफि वा बियर पिउन, बजारमा आएका राम्रा एवं ब्राण्डेड कपडा लगाउन अथवा मन मिल्ने मान्छेसँग कतै पर घुम्न जान कसलाई रहर नलाग्ला ? तर यहि रहर अनायासै जब बानी बनिदिन्छ, त्यसपछि तपाईँले बचत गर्ने त परको कुरा आफ्नो कमाईले जीवन चलाउन पनि मुश्किल पर्न थाल्छ । तसर्थ, मात्रै त्यस्तो रहर पाल्नुस्, जुन पूरा गर्न तपाईँ सक्षम हुनुहुन्छ । त्यसैले त हाम्रो लोककथन नै छ नि घाँटी हेरी हाड निल्नुपर्छ भनेर । जब आफ्नो हैसियतअनुसारको रहर पाल्नुहुन्छ तब तपाईँको खर्च नियन्त्रण हुनथाल्छ, जसलाई तपाईँले भविष्यको लागि साँचेर राख्न सक्नुहुन्छ । ५. लक्ष्य तोक्नुस् लक्ष्य तोक्नुहोस्, आफैलाई चुनौती दिनुहोस् र सो चुनौती पूरा गर्नतर्फ अग्रसर रहनुहोस् । यसले तपाईँलाई अगाडी बढ्न र जीवनलाई अर्थपूर्ण बनाउन पनि सहयोग गर्दछ । आफूसँग भएको अतिरिक्त रकमको बचत गर्दै सो जम्मा भएको पैसाले म यति समयमा यो काम गर्छु भनेर उदेश्य लिनुहोस्, जस्तो कि अबको पाँच वर्षमा म सेकेण्ड ह्याण्ड नै भएपनि गाडी किन्छु, ४९ वर्षको उमेरसम्म चार कोठाको एक तले घर बनाउँछु, अथवा अर्को वर्षसम्म यति कित्ता सेयर किन्छु लगायत । ६. अतिरिक्त आयको स्रोतको खोजी मानाैं तपाईँको महिनाभरीको कमाइ तपाईँको घर खर्च धान्न वा परिवार चलाउनमात्र सीमित छ जसको कारण तपाईँले बचत गर्न सकिरहनुभएको छैन । यस्तो अवस्थामा आफ्नो बिहान वा साँझको समयलाई सदुपयोग गर्दै तपाईँले अतिरिक्त आयको स्रोतको खोजी गर्न सक्नुहुन्छ । करेसाबारीमा तरकारी लगाएर एकातिर तपाईँले छरछिमेकमा बेच्न सक्नुहुन्छ वा सोही तरकारीको उपभोग गरेर तपाईँले तरकारी खरिद गर्नमा भइरहेको खर्चलाई नियन्त्रण गरी थोरै भएपनि बचत गर्नसक्नुहुन्छ । धेरै थकान वा तनाव नहुने अथवा तपाईँको रुचिको जुनसुकै काम गरेर तपाईँले अतिरिक्त आय गरी सो रकमलाई बचत गर्न सक्नुहुन्छ । ७. आवश्यक रकमभन्दा बढी पैसा नबोक्ने यदि तपाईँमा खर्च नियन्त्रण गर्न सक्ने क्षमता छैन भने खल्तिमा त्यतिमात्र पैसा बोक्नुहोस् जति तपाईँलाई आवश्यक छ । मानौं कार्यालय गएर घर फर्कँदासम्म तपाईँलाई बसभाडा वा खाजा खर्च जम्मा २०० रुपैँया भए पुग्छ भने त्यतिमात्र नगद बोकेर निक्सनुस् । त्यसैगरी घरखर्च चलाउनको लागि तपाईँलाई महिनाभरी जती रकमको जरुरत पर्छ, त्यतिमात्रै घरमा राख्नुस् । बाँकी पैसा बैंक वा सहकारीमा खाता खोलेर राख्नुस् । आवश्यकताभन्दा बढी पैसा साथमा हुँदा तपाईँलाई आवश्यकताभन्दा बढी खर्च गर्ने हिम्मत आउनसक्छ । ८. स्रोतको अधिकतम प्रयोग तपाईँले सकियो भनेर फ्याँक्नु भएको मन्जनको बट्टामा कतै अर्को तीनपटक दाँत मोल्न पुग्ने मन्जन त बाँकी छैन ? सकिन लागेको साबुनको टुक्राटाक्री जोड्दा कतै सिङ्घै साबुन पो बन्छ कि ? हो हेर्दा साना र सामान्य लाग्छन् । तर यस्तै सानो सानो कुरामा ध्यान दिँदा पनि तपाईँले ठूलो रकम बचत गरिरहनुभएको हुन्छ । अर्को एक वर्ष राम्ररी चल्न सक्ने तपाईँको मोटरसाइकल कतै बेच्न त खोजीरहनुभएको छैन ? स्रोतको अधिकतम प्रयोग गर्ने बानीले तपाईँको खर्चको ठूलो हिस्सालाई बचाउन सक्छ ।
महिलाका नाममा उद्योग दर्ता हुने क्रम बढ्दो
हेटौंडा । मकवानपुरमा महिलाको नाममा दर्ता भएका उद्योग तथा व्यावसायिक संस्थाको सङ्ख्यामा वृद्धि भएको छ । महिलालाई आर्थिक हिसाबले बलियो बनाउनका लागि उद्योग तथा व्यवसायमा राजश्व छुटको व्यवस्था गरेकाले महिला उद्यमी तथा व्यवसायीको सङ्ख्यामा वृद्धि भएको हो । घरेलु तथा साना उद्योग कार्यालय हेटौँडाको तथ्याङ्कको आधारमा चालु आर्थिक वर्षमा पुरुषको तुलनामा महिलाको नाममा दोब्बर उद्योग दर्ता भएका छन् । हेटौंडाको घरेलु तथा साना उद्योगमा निजी फर्म रजिष्ट्रेशन ऐन २०३४ ले तोकेका उद्योग तथा व्यापारिक फार्म दर्ता गर्दा यस आवदेखि सरकारले छुट दिएपछि महिलाको नाममा उद्योग तथा व्यापारिक फार्म दर्ता सङ्ख्या बढेको जनाइएको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा महिलाको नाममा मात्रै ६ सय ८ उद्योग तथा व्यावसायिक संस्था भएको जनाइएको छ । पुरुषको नाममा भने ३ सय ७६ उद्योग दर्ता भएका छन् ।यस्तै यस वर्ष १ हजार २ सय २६ पुरुषको नाममा व्यापारिक फर्म दर्ता भएको छ भने १ हजार ५ सय ४३ महिलाको नाममा फर्म दर्ता भएका छन् । राज्य तथा प्रदेश सरकारले महिलालाई अघि बढाउन र पुरुषको मात्र भर नपरी आफ्नै पहलमा केही काम गर्न योजना तथा सेवासुविधा दिइएको कुरा सम्झाउँदैमा समय बित्ने गरेको घरेलु तथा साना उद्योग कार्यालय हेटौंडाका प्रमुख जगन्नाथ दाहालले जानकारी दिए । उनले भने, “हामी वास्तविक रुपमा महिला उद्योगी व्यवसायी भएको हेर्न चाहन्छौँ, राज्यको पनि उद्देश्य त्यही हो तर दर्ता गर्न आउने महिला हेर्दा केहीलाई त उद्योगको बारेमा थाहासम्म हुँदैन दुःख लाग्छ ।” यद्यपि वास्तविक रुपमा भने केही महिला कागजमा मात्र नै उद्यमी र व्यवसायी भएको पाइएको उनको गुनासो छ । १ करोड रुपैयाँसम्म पूँजीको फर्म दर्ता गराउँदा महिलालाई शतप्रतिशत छुट भएकै कारण घरेलु तथा साना उद्योगमा पुरुषभन्दा दोब्बर महिलाको स्वामित्वमा फर्म दर्ता भएको कार्यालय प्रमुख दाहालको भनाइ थियो । सरकारले १ करोड रुपैयाँसम्म पूँजीको उद्योग तथा व्यापारिक फर्म दर्ता गर्दा २० हजार १ सय राजश्व तोकेको छ । महिलाले यस्तो फर्म दर्ता गर्दा २ सय राजश्व मात्र तिर्नुपर्ने व्यवस्था छ । यस्तै १ करोडभन्दा धेरै पूँजी लगानीमा लगानी हेरी दर्ता शुल्कको ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । यस वर्ष उद्योग तथा व्यापारिक फर्म दर्ताबापत ३८ लाख रुपैयाँ राजश्व सङ्कलन भएको घरेलु तथा साना उद्योग कार्यालय हेटौंडाले जनाएको छ । रासस
इनासको शाखा नेपालमा पनि विस्तार, अध्यक्षमा दयाराम पाण्डे नियुक्त
काठमाडाैं ।अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)ले नेपालमा पनि आफ्नो शाखा विस्तार गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै इनासले नेपालमा पनि शाखा विस्तार गरेको हो । नेपाली संस्कृतिलाई विश्वभर चिनाउने उदेश्यका साथ स्थापित यो संस्था गैर नाफामुलक भएको जनाइएको छ । सन् २०१२ अगस्ट २६ मा पोल्याण्डको राजधानीबाट शुरु भएको इनासले हाल विश्वका ७३ वटा देशमा शाखाम विस्तार गरि सकेको छ । नेपालमा नयाँ शाखाको विस्तार सँगै गठन भएको कार्य समितिमा दयाराम पाण्डे संयोजकमा नियुक्त भएका छन् । संस्थाको वरिष्ठ संयोजकमा शुसिल पोखरेल,, प्रथम सह–संयोजक सुदीप कुमार रेग्मी, द्धितिय सह–संयोजक देव कुमार श्रेष्ठ, सदस्य सचिव गोपाल ढकाल, (छन्दे) र कोषाध्यक्ष्यमा कृपा भक्त महर्जन चयन भएका छन् । कार्यसमितिको सदस्यमा दिपीका प्रसाई, सलोन बस्नेत, सिन्धु मल्ल, श्री देव भट्टराई, कविराज गहतराज, उद्धव प्रसाद भट्टराई, भुमिका शाह, शैलेस डंगोल चयन भएका छन् । यस्तै, कृपा के.सी., सुदीप बराल, माधवराज खरेल, किशोर चिपाल, रामेश्वर बुर्लाकोटी, विजय अगवाज, एनराज शिवाकोटी, प्रमोद खरेल, मिरा दाहाल, अर्जुन खरेल, शंकर पाण्डे, प्रविधा अधिकारी, पुष्पा खनाल, रुपेन कोइराला, कल्पना श्रेष्ठ पनि सदस्यमा चयन भएका छन् ।
प्रदेश नं ५ मा ४८ विधेयक पारित
काठमाडाैं । हालसम्म ५१ विधेयक दर्ता भएकोमा प्रदेश नं ५ को प्रदेशसभाले अहिलेसम्म ४८ विधेयक पारित गरेको छ । प्रदेशसभा स्थापना दिवसका अवसरमा शुक्रबार बुटवलमा प्रदेशसभा सचिवालयले आयोजना गरेको पत्रकार भेटघाटमा सो जानकारी दिइएको हो । प्रदेशसभाको पहिलो अधिवेशनले चार विधेयक पारित गरेको थियो । कूल १७ दिन चलेको सभामा २२ बैठक बसेको थियो । बैठकको अवधि कूल २० घण्टा २ मिनेट थियो । दोस्रोले ११ र तेस्रो अधिवेशनले सबैभन्दा बढी २३ विधेयक पारित गर्याे । प्रदेशसभाको चौथो अधिवेशनले १० विधेयक पारित गरेको छ । जम्मा ३१ दिनमा कूल ४९ घण्टा ४१ मिनेट बैठक बसेको थियो । त्यस अवधिमा ३२ पटक बैठक बस्यो । पाचौँ अधिवेशनमा वातावरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दर्ता भई सभामा पेश हुने क्रममा रहेको छ । अहिलेसम्म दुईपटक बैठक बसेको सभाको समयावधि ५३ मिनेट रहेको छ । “प्रदेशसभाको ‘विजनेश’ छ तर विधेयकको कमी छ”, प्रदेश नं ५ का प्रदेश सचिव दुर्लवकुमार पुनले भने । उनले प्रदेशसभाबाट निर्माण भएका कानूनको मूल्याङ्कन र निगरानी गर्ने समय आएको उल्लेख गर्दै विधेयकको कार्यान्वयन के भइरहेको छ अध्ययन गर्न आवश्यक भएको बताए । रासस
सवारी लाइसेन्सकाे अनलाइन फाराम बन्द
काठमाडाैं । यातायात व्यवस्था विभागले हालका लागि सवारी चालक अनुमतिपत्रका लागि अनलाइन फारम बन्द गरिएको जनाएको छ । अनुमति पत्रसम्बन्धी अनलाइन प्रणाली परिमार्जन गर्न लागिएकाले सेवा हालका लागि सञ्चालन नभएको विभागले सूचना जारी गर्दै जनाएको छ । विभागले उक्त प्रणालीमा देखिएको समस्या यथाशीघ्र समाधान गरेर सञ्चालनमा ल्याइने जनाएको छ । विभागले गत वर्षदेखि नै देशभरका सेवाग्राहीले अनलाइन भरेका आवेदनबाट फारम बुझेर अनुमतिपत्रका लागि लिखित र प्रयोगात्मक परीक्षा लिने गरेको छ ।
नबिल स्किल हिरोबाट विभिन्न विधामा ४ जना सम्मानित
काठमाडौं । स्किल विक २०२० सोल्टी क्राउन प्लाजामा सम्पन्न भएको छ । ग्लोकल प्रा.लि.द्वारा सन्चालित कार्यक्रममा उद्यमी, व्यवसायी, सरकारी निकाय तथा अन्तर्राष्ट्रिय संघ संस्था, संचारकर्मी एवम विद्यार्थीहरुको उपस्थिती थियो । कलकारखाना, शैक्षिक संस्थाएवम सरकारी निकाय सँगको साझेदारीको लक्ष्यलिइ तिनै क्षेत्रबाट सीपमूलक रोजगारीका अवसर, बढ्दोे सिपप्रतिको महत्व, ब्यापार, सेवा, आधुनिक प्रविधि देखि लिएर कला तथा संस्कृति झल्किने किसिमले सिपको महत्वउजागर गर्ने लक्ष्य लिई कार्यक्रम सन्चालन गरिएको थियो । स्किल फेष्ट नामक कार्यक्रम जनवरी २५ का दिन किङ्स कलेजमा सन्चालित गरिएको थियो जहाँ दर्जनौं युवाहरुको संलगनता रहेको थिया । सीपमूलक तालिमदेखि रोजगारीको अवसरमा देखिने ग्यापलाई कमगर्ने लक्ष्यलिएर सन्चालन भएको यस कार्यक्रम युवाहरुका लागि एक खुल्ला मन्च साबित भयो । स्किल फेष्टमा युवाहरुले सीपका विभिन्न किसिम, यस क्षेत्र, बजारको मागएवम् सिपको महत्वका बारेमा जानकारी पाउनको साथ साथै युवाहरुलाई विभिन्न सीपका बारेमा अन्वेषण गर्न, आफु सन्लग्न हुन एवम् ज्ञान हासिल गर्न सहयोग पुर्याएको थियो । यस कार्यक्रममा ४ फरक सीप क्षेत्रहरू प्रदर्शन गरिएको थियो जसमाकला र संस्कृति, उद्दमशीलता, पर्यटन तथा आतीथ्य, बिज्ञान तथा प्रविधि रहेका थिए । यसैबीच यिनै चार बिधामा चार अत्यन्त प्रेरणादायक व्यक्तित्वहरुलाई ग्लोकल प्रा.लिले नबिल स्किल हिरोबाट सम्मानित गरेको थियो । पहिलो बिधा पर्यटनतर्फ द्धारिकाज् होटलकी सभापति अम्बिका श्रेष्ठलाई नबिल स्किल हिरोबाट सम्मनित गरिएको थियो । त्यस्तै कला तथा संस्कृति बिधामा नेपालकी अत्यन्त लोकप्रिय नायिका एवम् कलाकार मिथिला शर्मालाई नबिल स्किल हिरो भनेर सम्मनित गरियो । उद्यमशीलता विधातर्फ क्यिूएफएक्स, क्वेष्ट टिमका संचालक एवम नवउद्यमी युवाहरुको प्रेरणाको स्रोत णकिम उद्दिन तथा बिज्ञान तथा प्रबिधी तर्फ एफवान सफ्ट इन्टरनेशनलका अध्यक्ष विश्वाश ढकाल पनि नबिल स्किल हिरोबाट सम्मनित भएका थिए । यी ४ बिधाका प्रतिभालाई सम्मान गर्दै नबिल स्किल हिरोको शीर्षक प्रदान गरिएको थियो । नबिल स्किल हिरोको निर्णयक टोलीमा नेपालका लागि यूनिसेफको प्रतिनिधि इल्के विस्च, पूर्व उद्योग मन्त्री नबिद्र राजजोशी, तथा महतो ग्रुपका संस्थापक उपेन्द्र महतो रहेका थिए । देशको सबैभन्दा प्रभावशाली सी ई ओहरुद्वारा मानसिकता विकासलाई प्रेरित गर्न ग्लोकल प्रा. लिद्वारा आयोजना गरिएको ‘सी ई ओ अन्प्लग् २०२०’ को पाचौ संस्करण काठमाडौंको होटल सोल्टी क्राउन प्लाजामा सम्पन्न भएको छ । नबिल बैंकसँगको साझेदारिमा सम्पन्न भएको यो कार्यक्रममा वर्ल्डलिंक कम्युनिकेसन पार्टनर रहेको थियो । साथै, नेपाल पर्यटन बोर्डले कार्यक्रमको प्रमोसन पार्टनरको भूमिका निर्बाह गरेको थियो । त्यसैगरी सोल्टी क्राउन प्लाजा होटल पाट्नर र स्ट्रयाटेजी पार्टनर ‘इम्ब्यासी अफ इन्डिया, यूनिसेफ एण्ड आईएलओ नेपाल’ रहेका छन । यो कार्यक्रममा ल्याण्डमार्क, क्यिुएफएक्स एण्ड होण्डाको पनि सहयोग रहेको थियो ।
एनसीसी बैंकको १५ प्रतिशत लाभांश पारित, चुक्ता पुँजी सवा ९ अर्ब नाघ्यो
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकको प्रस्तावित १५.७८९ प्रतिशत लाभांश पारित भएको छ । माघ १७ गते सम्पन्न बैंकको २२औं वार्षिक साधारणसभाले कम्पनी सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । बैंक संचालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेको सभापतित्वमा सम्पन्न भएको उक्त सभाले गत आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस र कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.७८९४७ प्रतिशत नगद लाभांश प्रस्तावलाई पारित गरेको हो । सभाबाट पारित १५ प्रतिशत बोनस सेयर बितरण पश्चात बैंकको चुक्ता पुँजी ९ अर्ब ३५ करोड रुपैयाँ पुग्ने छ । साथै, महिला संचालक निर्वाचन गर्ने प्रयोजनका लागि बैंकको नियमावलीमा पहिलो पटक सर्वसाधारण सेयरधनी समुहबाट, दोस्रो पटक संस्थापक सेयरधनी समूहबाट र त्यसपछि यही क्रमले आलोपालो प्रणालीबाट निर्वाचन हुने व्यवस्था गरेको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण कार्यका लागि पि.जे. थापा एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्टस्लाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको छ । बैंकले आर्थिक वर्ष २०७५/६५ मा ७३ खर्ब ३८ करोड रुपैयाँ निक्षेप परिचालन गरी ६३ अर्ब २३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । साथै, उक्त वर्षमा कर तथा बोनस पछि १ अर्ब २ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।