विकासन्युज

मुक्तक मेलामा तेह्र नारी स्रष्टाले गरे रचना वाचन

काठमाडौं । मुक्तक दिवसका अवसरमा आयोजित मुक्तक मेलामा १३ जना नारी स्रष्टाका मुक्तकहरुको विशेष वाचन गरिएको छ । नेपाल मुक्तक प्रतिष्ठानको आयोजनामा सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) जमलमा सम्पन्न भएको हो । कार्यक्रममा रस्मी रोदन, दुर्गा तिवारी, शान्ति शर्मा, लुमन्ती चित्रकार, विमला देवकोटा, तारा केसी, प्रतिक्षा पोख्रेल, कोपिला घिमिरे, भगवती रोका ‘भूमिका’, सुमन स्मारिका, पूजा आराधना, सुशीला ढकाल अधिकारी, निशा केसीले चार÷चारवटा मुक्तक वाचन गरेर सुनाएका थिए । कार्यक्रमको प्रमुख अतिथिमा वरिष्ठ साहित्यकार तथा चलचित्रकर्मी यादव खरेल रहेका थिए भने सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोककुमार राई विशेष अतिथि थिए । यसैगरी प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले सभापतित्व गरेको कार्यक्रममा प्रतिष्ठानका महासचिव रमेश पौडेलले अतिथिहरुलाई स्वागत गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ साहित्यकार तथा चलचित्रकर्मी यादव खरेलले मीठा–मीठा मुक्तक सुन्न पाइएको उल्लेख गर्दै प्रतिष्ठानले यति राम्रो काम गरेकोमा धन्यवाद ज्ञापन गरे । विशेष गरी यस्ता कार्यक्रममा काठमाडौँका मात्रै स्रष्टाहरु भेला हुने गरेकोमा यो कार्यक्रममा भने बाहिरका स्रष्टाको पनि सहभागिताले खुसी लागेको बताए । वि.सं. २०१८÷१९ साल तिर भीमदर्शन रोकाले पहिलो पटक मुक्तक सुनाएको दृष्टान्त उल्लेख गर्दै खरेलले त्यसपछि मुक्तकको विकास भएको बताए । पहिलेदेखि नै लोकप्रिय बनेको मुक्तक अहिले पनि उत्ति नै लोकप्रिय बनिरहेको उनको भनाई छ । साहित्यका अन्य आयातित विधाहरु हराए पनि मुक्तक झन् फस्टाउँदै गएको उनले बताए । मुक्तक रचनामा महिला सहभागिता पनि बढ्दै गएको उल्लेख गर्दै यो सम्मान योग्य भएको भन्दै उनले प्रसंशा गरे । कार्यक्रमका बोल्दै सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोककुमार राईले प्रतिष्ठानसँग मिलेर यस्तो कार्यक्रम गर्न पाएकोमा खुसी लागेको बताए । आगामी दिनमा पनि संस्थानको सहयोग र सहकार्य निरन्तर रहने राईले बताए । कार्यक्रमलाई समापन गर्दै प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले सहभागी महिला स्रष्टाको सम्मानमा दुईवटा मुक्तक सुनाएका थिए । सामाजिक सञ्जालको साथ पाएर अहिले मुक्तक फैलिँदो रहेको बताउँदै अध्यक्ष कोनेले अग्रजदेखि अनुज पुस्ता यो विधामा क्रियाशील रहेको बताए । मुक्तकको शास्त्रीय मान्यता र यसको मौलिकतामा नकारात्मकता आएकोले प्रतिष्ठान स्थापना गरेर मुक्तकको मौलिकता जोगाउन क्रियाशील रहेको उनले सुनाए । वि.सं. २०७० साल माघ १६–१८ गते पोखरामा सम्पन्न सम्मेलनले नेपाल मुक्तक प्रतिष्ठानको स्थापना गरेको थियो । यहि दिनको अवसर पारेर प्रतिष्ठानले माघ १८ गतेलाई मुक्तक दिवसको रुपमा मनाउन थालेको छ । प्रतिष्ठानको यो १९ औं श्रङ्खला हो ।

मध्यपहाडी पुष्पलाल लोकमार्ग एक हप्ताका लागि बन्द

दैलेख । पुष्पलाल मध्यपहाडी लोकमार्ग एक हप्ताका लागि बन्द भएको छ । लोकमार्गको दैलेख जिल्लाअन्तर्गत भगवतीमाई गाउँपालिकामा रहेको लोहोरे–बेस्तडा सडकखण्डमा यातायात बन्द गरिएको आयोजनाले जनाएको छ । लोकमार्गको लोहोरे–बेस्तडा–मन्घर सडकखण्डको छाँच भिरमा भएको ठाडो कडा चट्टानलाई काट्नुपर्ने र यस क्षेत्रको सडक चौडा गर्नुपर्ने भएकाले हिजो शनिबारदेखि यही माघ २४ गतेसम्म सडक बन्द गर्ने आयोजनाले जनाएको छ । अन्य ठाउँमा सडक चौडा भइसकेको भए पनि यस क्षेत्रको कडा चट्टानले बाटो चौडा बनाउने काम रोकिएको थियो । यस क्षेत्रमा पर्ने छाँचको २५० मिटर (भिर) कटान गर्न लागिएको आयोजना कार्यालय दैलेखका प्रमुख इञ्जिनीयर नारायणप्रसाद न्युउरेले बताएका छन् । चट्टान फोडेर दोहोरो लाइन बनाउने भनिए पनि हाललाई एक लाइन नै बनाउने उनले जानकारी दिए । “एकै चरणमा यो काम सक्नुपर्ने भएकाले एक हप्ताका लागि सडक बन्द गराएर निर्माण कार्य सञ्चालन गर्न लागेका हौँ”, उनले भने । आयोजना कार्यालय दैलेखका सूचना अधिकारी तुलाराम शर्माले दिनरात काम गरेर पनि सात दिनमा काम सक्ने दाबी गरे । लोकमार्ग बन्द हुँदा जाजरकोटका केही स्थान र भगवतीमाई गाउँपालिकाबाट दैलेख तथा सुर्खेत आवतजावतसमेत केही दिन प्रभावित हुने भएको छ ।रासस

यी हुन् विदेशका राम्रा विश्वविद्यालयका छात्रवृत्ति, यसरी खोज्नुस् अरु

काठमाडाैं । धेरै विद्यार्थीहरुको चाहना हुन्छ विदेशको राम्रो विश्वविद्यालयमा अध्ययन गरेर डिग्री हासिल गर्ने । तर, विदेशका राम्रा विश्वविद्यालयहरुमा अध्ययन खर्च निकै महंगो पर्छ । त्यसैले हत्तपत्त पैसा तिरेर विदेशका राम्रा विश्वविद्यालयहरुमा अध्ययनको आँट गर्न सकिदैन । विदेशका राम्रा विश्वविद्यालयहरु आफैले पनि छात्रवृतिको व्यवस्था गर्छन् । यस्तै, कतिपय बहुराष्ट्रिय र राम्रा कम्पनीहरुले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तरगत पनि राम्रा र स्थापित विश्वविद्यालयहरुमा छात्राबृत्तिको व्यवस्था गरिदिएका हुन्छन् । यस्तै कार्यक्रम अन्तरगत अहिले पनि सयौं नेपाली विद्यार्थी पूर्णरुपमा छात्रवृत्ति पाएर विभिन्न विश्वविद्यालयहरुमा अध्ययन गरिरहेका छन् । तपाईले पनि राम्रोसँग अध्ययन गरेर यस्ता छात्रवृत्तिको लागि आवेदन दिनुहुन्छ भने तपाई पनि विदेशमा छात्राबृत्ति पाउने सम्भावना रहन्छ । १. चिभिनिङ्ग छात्रवृत्ति यो बेलायत सरकारले प्रदान गर्ने छात्रवृत्ति हो । यो छात्रवृत्ति नेपाललगायत विश्वका १ सय ६० भन्दा बढी देशका विद्यार्थीलाई प्रदान गरिन्छ । यो छात्रवृति अन्तगर्त विद्यार्थीलाई बस्न, पढाई खर्च, हवाई भाँडाहरु सबैको व्यवस्था हुन्छ । यो छात्राबृत्ति प्राप्त गर्नको लागि तपाईले प्राप्त गरेको छात्रवृत्तिको समय समाप्त भएपछि कम्तिमा पनि २ वर्षको लागि आफ्नो देश फर्कनुपर्छ । कम्तिमा पनि २ वर्षको कार्य अनुभव हुनुपर्छ । मास्टर लेभलको कोर्षको लागि विद्यार्थीले ब्याचलर लेभलको सबै किसिमको कोर्ष पुरा गरेको हुनुपर्छ । अंगे्रजी भाषाको सबै आवश्यकता पुरा गरेको हुनुपर्छ । तपाईले रोजेको ३ विश्वविद्यालय मध्ये कम्तिमा पनि एउटाले तपाईलाई बिना कुनै शर्त अफर लेटर पाएको हुनुपर्छ । २. अष्ट्रेलियन अवार्ड अष्ट्रेलियन अवार्ड दीर्घकालिन विकासलाई मध्यनजर गर्दै अष्ट्रेलियाले अन्तराष्ट्रिय विद्यार्थीलाई प्रदान गर्दै आएको छात्रवृत्ति हो । नेपालको लागि अष्ट्रेलियन अवार्ड आर्थिक विकासको प्राथमिक विकासका कोर्स जस्तै शिक्षा, स्वास्थ्य, लैंगिक समानता, अपांग समावेशिकरण, सामाजिक समावेशीकरण, जलश्रोत व्यवस्थापन क्षेत्रमा मास्टर डिग्री गर्नको लागि प्रदान गरिन्छ । यस अवार्डको लागि आवेदन दिनुअघि तपाईले आईईएलटीएस, टोफल, पिटिई जस्ता कोर्स पुरा गरेको हुनुपर्छ । ३. अपसाला आईपीके छात्रवृत्ति स्वीडेनको द अपसाला विश्वविद्यालयले यो छात्राबृत्ति प्रदान गर्छ । यस्तो छात्राबृत्ति मास्टर्स कोर्ष गर्नका लागि हो । यो छात्रवृत्तिले विद्यार्थीको ट्युसन फि पुर्ण रुपमा कभर गर्दछ भने यसमा बस्ने खर्चको व्यवस्था भने हुँदैन । छात्रवृत्ति पाउने मापदण्ड विद्यार्थी युरोपियन युनियन राष्ट्र, युरोपियन ईकोनोमिक एरिया राष्ट्र र स्विटजसल्याण्डको हुनुहँुदैन । विद्यार्थीको शैक्षिक योग्यता राम्रो हुनपर्छ । अपसाला विश्वविद्यालयको कुनै पनि कोर्स पहिलो प्राथमिकता रुपमा छनोट गरेको अवस्थामा मात्र विद्यार्थीले छात्रवृत्ति पाउनेछन् । ४. एरिक ब्लेम्युनिक छात्रवृत्ति नेदरल्याण्डको युनिभर्सीटी अफ ग्रोनिजेनमा छात्राबृत्ति पाइने हो । यो छात्राबृत्ति मास्टर तहको अध्ययनका लागि हो । यो छात्रवृत्ति एक वा दुई वर्षको मास्टर कोर्सको लागि प्रदान गरिन्छ । यस छात्रवृत्तिमा शिक्षण शुल्क, अन्तराष्ट्रिय यात्राको खर्च, कितावहरुको शुल्कको व्यवस्था गरिएको हुन्छ । धेरै संख्यामा विद्यार्थीहरुले संसारभरबाट यस छात्रवृत्तिको लागि आवेदन दिएका हुन्छन् । यद्यपि थोरैलाई मात्र विश्वविद्यालयले छात्रवृत्ति प्रदान गर्दछ । छात्रवृत्तिको लागि योग्य हुन विद्यार्थीको स्नातक तहमा निकै राम्रो अंक ल्याएको हुनुपर्छ । विद्यार्थीको अंगे्रजी बोल्न र लेख्न सक्ने क्षमतम राम्रो हुनपर्छ । विद्यार्थीको स्वास्थ्य स्थित पनि राम्रो हुनुपर्दछ । अन्य छात्रवृत्तिहरु –ब्रिस्टल युनिभर्सिटी थिङ्क बिग स्कलरसिप, बेलायत –वल्र्ड सिटिजन ट्यालेन्ट स्कलरसिप फर ईन्टरनेसनल स्टुडेन्टस्, नेदरल्याण्ड –फुलब्राईट फरेन स्टुडेण्ट प्रोग्राम ईन युएसए –एडिनबर्ग ग्लोबल रिसर्च स्कलरसिप, बेलायत –गभरमेन्ट अफ फल्यान्डरर्स मास्टर माईण्ड स्कलरसिप फर ईन्टरनेसनल स्टुडेण्टस्, बेल्जियम

रविन्द्र अधिकारी स्मृति प्रतिष्ठानः फागुन १५ गते नेपाली निबन्ध लेखन प्रतियोगिता हुँदै

काठमाडौं । रविन्द्र अधिकारी स्मृति प्रतिष्ठानले राष्ट्रिय स्तरको ‘नेपाली निबन्ध लेखन प्रतियोगिता’ आयोजना गरेको छ। प्रथम स्मृति दिवसका सन्दर्भमा नेपाल भरका विश्वविद्यालय र क्याम्पसहरुमा अध्ययनरत नियमित विद्यार्थीहरू सहभागी हुने गरी उक्त निबन्ध प्रतियोगिता गर्ने भएको हो । कार्यक्रम फागुन १५ गते पाेखरामा हुने भएको छ । प्रतिष्ठालने  सूचना मार्फत विद्यार्थी आफै सहभागी हुन वा क्याम्पसले सहभागीताको लागि सहयोग गरिदिन समेत अनुरोध गरेको छ । निबन्ध पठाउने समय फागुन पहिलो हप्ता सम्म, समय थप गरिएको छ ।

प्राइम कमर्शियल बैंकको नाफा १ अर्ब ३० करोड, आधार दर एकल अंकमा आयो

काठमाडौं । प्राइम कमर्शियल बैंकले चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ३० करोड रुपैयाँ नाफा गरेको छ । गत वर्ष ६ महिनामा बैंकले १ अर्ब ६ करोड रुपैयाँ नाफा गरेको थियो । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको ६ महिनासम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । बैंकले गत पुस मसान्तसम्ममा ८० अर्ब ९१ करोड ५४ लाख रुपैयाँ कर्जा तथा लगानी गरेको छ । गत वर्षको पुस मसान्तसम्ममा बैंकको कर्जा तथा लगानी ७२ अर्ब ५४ करोड ५४ लाख रुपैयाँ कर्जा तथा लगानी थियो । यस्तै, गत पुस मसान्तसम्ममा प्राइमसँग सर्वसाधारण्को ८० अर्ब ३५ करोड ३५ लाख रुपैयाँ निक्षेप छ । गत वर्षको पुस मसान्तसम्ममा बैंकमा यस्तो निक्षेप ७७ अर्ब ४ करोड रुपैयाँ थियो । बैंकले एक वर्षमा कर्जा तथा लगानी ८ अर्ब ३७ करोड रुपैयाँ कर्जा तथा लगानी बढाउँदा निक्षेप रकम ३ अर्ब ३१ करोड रुपैयाँ बढाएको छ । यो बीचमा बैंकले नाफा भने २३ करोड ९९ लाख रुपैयाँ बढाएको छ । गत वर्षको पुस मसान्तको तुलनामा बैंकको खराब कर्जा अनुपात १.५८ बाट घटेर १.४५ प्रतिशतमा आएको छ । कष्ट अफ फण्ड ८.२९ बाट घटेर ७.६५ प्रतिशत भएको छ । बैंकको व्याज अन्तर गत वर्षको पुस मसान्तमा ५.१८ प्रतिशत रहेकोमा यसवर्षको पुस मसान्तमा ५.११ प्रतिशत भएको छ । यस्तै, आधार दर गत वर्षको पुस मसान्तमा १०.१७ रहेकोमा यस वर्षको पुस मसान्तमा ९.४५ प्रतिशतमा झरेको छ ।

कोरोना भाइरसका बिरामीलाई अस्पताल बाहिर छुट्टै उपचार केन्द्र : स्वास्थ्यमन्त्री ढकाल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यमन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको आशङ्का भएका बिरामीलाई अस्पताल बाहिर छुट्टै उपचार केन्द्र स्थापना गर्ने विषयमा सरकारले सोच बनाएकाे बताए । दुईदेखि १४ दिनसम्म यो भाइरसले अर्कालाई सङ्क्रमण गराउन सक्ने भएकाले व्यारेकको जस्तो गरी उपचार केन्द्र स्थापना गर्ने सोच बनाइएको जानकारी दिए । अस्पतालमा राखेर उपचार गर्दा बिरामीको चाप बढ्न सक्ने भन्दै मन्त्री ढकालले भने, “१४/१५ दिनसम्म कयौं बिरामीलाई हामीले राख्यौं, तर त्यो रोगी रहेनछ भने निगरानीमा राख्न पनि मिल्छ, अस्पतालमा बिरामीको चाप बढेर लामो समय राख्न कठिन हुन्छ ।” उनले नयाँ व्यवस्थापन गरेर ब्यारेक तरिकामा राख्न सक्ने भन्दै अहिले विभिन्न ठाउँमा रहेका तालीम केन्द्रलाई व्यवस्थित गरेर त्यस्ता उपचार केन्द्र स्थापना गर्न पनि सकिने बताए। ती स्थानमा खाने बस्ने र उपचार उपलब्ध गराउने गरी व्यवस्थापन गराउन सकिने उनले जानकारी दिए। बिरामीको सङ्ख्याका आधारमा केन्द्र बनाइने जानकारी दिए । सरकारले अहिले १ सयभन्दा बढी शैया विशेष उपचार (आइसोलेसन) कक्ष तयारी अवस्थामा राखेको उनले भने । पच्चीस शैयामा दुई घुम्ती अस्पताल पनि रहेको मन्त्री ढकालको भनाइ थियो । रोगबाट बच्न सरकारले अपनाउनुपर्ने सावधानी सबै अपनाएको उल्लेख गर्दै अन्तर्राष्ट्रिय विमानस्थलमा सहयोगकक्ष राखेर जाँच गर्ने काम भइरहेको बताए । विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड, सुझाव र निर्देशनअनुसार अघि बढेको उनको भनाइ थियो । हालसम्म नेपालमा पाँच जना बिरामीलाई रोगको आशङ्का भएकाले परीक्षण गरिएकामा तीन जनामा नेगेटिभ देखिएको र बाँकी दुई जनालाई निगरानीमा राखिएको मन्त्री ढकालको भनाइ थियो । चीनमा रहेका विद्यार्थीलाई फर्काउने विषयमा आवश्यक गृहकार्य अघि बढाइएको भन्दै मन्त्री ढकालले सर्वसाधारण र उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी सबैलाई सावधानी अपनाउन आग्रह गरे। फरक प्रसङ्गमा उहाँले सङ्घ मातहत रहेका अस्पतालमा विकास समिति गठनका लागि प्रक्रिया अघि बढेको बताए । रासस

युरोपियन युनियनको सदस्यबाट बाहिरियो बेलायत

लण्डन। करिब तीन वर्ष सात महिनाको उतारचढावपछि बेलायत युरोपियन युनियन (इयु) को सदस्यबाट बाहिर निस्किएको छ । युरोपियन युनियनको सदस्यबाट बेलायत बाहिर निस्किने प्रक्रियालाई बेलायतका मिडियाले ब्रेक्जिट भनेर नामाकरण गरे र हाल संसारभरका मिडियाले यही शब्दको प्रयोग गरेका छन् । शनिबार बेलायत र विश्वका मिडियाले ब्रेक्जिट सफल भएको लेखेका छन् । यसअघि राखिएको अन्तिम समयतालिका सन् २०२० को जनवरी ३१ अर्थात् शुक्रबार बेलायत युरोयिन युनियनबाट औपचारिक रुपमा नै अलग भएको छ । स्थानीय समयानुसार शुक्रबार राति ११ बजे बेलायत युरोपियन युनियनको सदस्यबाट बाहिर निस्किएपछि अब यसको सबै औपचारिकता पूरा भएको हो । युरोपेली युनियनको सदस्य रहेको करिब ४७ वर्षपछि बाहिरिएबाट युनियनको परिचय पनि फेरिन पुगेको छ र बेलायत बाहेकको युरोपेली युनियनको पहिचानमा अब यो युनियन रहेको छ । बेलायतका नागरिकको जनमतका आधारमा नै बेलायतले यो निर्णय लिन पुगेको हो । बेलायतमा सन् २०१६ जुन २३ मा बेलायत युरोयिन युनियनबाट निस्किने विषयमा जनमतसंग्रह भएको थियो । त्यस जनमत संग्रहमा बेलायती नागरिकले बेलायतलाई उक्त युनियनबाट बाहिर निस्किन जनमत दिएका थिए । त्यस निर्वाचनमा ५२ प्रतिशत मतदाताले ब्रेक्जिटको पक्षमा मतदान गरेका थिए । त्यस्तै बेलायत युरोपियन युनियनबाट बाहिरिन हुदैन भन्ने पक्षमा मतदान गर्नेको संख्या ४८ प्रतिशत थियो । त्यस जनमत संग्रहपछि नै बेलायत ईयूबाट बाहिरिने प्रक्रिया सुरु भयो । तर पछि आएर भने बेलायतले विविध खाले समस्याहरु ब्यहोरेको थियो । किन भने यिनै समस्याहरुका कारण नै यस अवधिमा प्रधानमन्त्री नै दुई जना बन्नु परेको थियो । त्यस जनमतसंग्रहकै कारण लगत्तै तत्कालीन प्रधानमन्त्री डेभिड क्यामरुनले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । डेभिडपछि प्रधानमन्त्री बनेकी थेरेसा मेले ब्रेक्जिटको एजेण्डा पूरा गर्ने भनेर लाग्नुभएको थियो । तर पनि यस प्रयोजनका लागि आवश्यक पर्ने विभिन्न सर्तहरूका विषयमा उनले संसदको समर्थन हासिल गर्न नसकेर राजीनामा दिए । उनको राजीनामापछि यो दायित्व वर्तमान प्रधानमन्त्री बोरिस जोनसनसमक्ष आएको थियो । उनले आफूले यो दायित्व पूरा गरेको बताए । ब्रेक्जिट हुने समय शुरुमा सन् २०१९ को मार्च २९ को लागि नै तय गरिएको थियो । तर पनि यस विषयमा विवादहरु उत्पन्न भए । ईयु र पूर्व प्रधानमन्त्री थेरेसा मेबीचमा सम्झौता भएपछि त्यसलाई संसदले अस्वीकार गरेपछि कैयौँ पटकसम्म पछि धकेलिएको थियो । यसै विषयमा गत डिसेम्बर महिनामा भएको निर्वाचनमा बेलायतको हाउस अफ कमन्सका ८० सदस्यको बहुमत प्राप्त भएपछि प्रधानमन्त्री जोनसनलाई बे्रक्जिटमा जान सहज सहमति प्राप्त भएको हो । सोही प्रावधानअनुरुप गएराति बेलायत बाहिरिएको हो । बेलायत बहिर्गमन भएपनि सुरुमा ११ महिनाको अवधिमा व्यापार, भ्रमण र व्यवसायका लागि इयु नियमको पालना गर्ने सहमति भएको पनि प्राप्त समाचारमा जनाइएको छ । यी दुई पक्षबीचको भविष्य र व्यापार सम्बन्धको वार्ता एक वर्षभित्र गरिने बताइएको छ । त्यसैले यस प्रक्रियाले पूर्णता पाउनका लागि थप ११ महिनाको अवधि आवश्यक पर्नेछ । रासस/सिन्ह्वा/एएफपी

हेटौंडा–काठमाडौं सुरुङमार्गको डिपिआर फागुनमा सक्ने, चैतदेखि निर्माण शुरू

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नयाँ वर्ष २०७७ मा सुरुङमार्ग निर्माण थालनी हुने बताएका छन् । प्रदेश सभाको दोस्रो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो प्रदेशका १३ वटै जिल्लाको आवश्यकता बनेको हेटौँडा–काठमाडौं सुरुङमार्गको डिपिआरको काम फागुनभित्र सकिएर चैतमा निर्माणका लागि बोलपत्र आह्वान गरिने बताए। मुख्यमन्त्री पौडेलले काठमाडौंसँग जोडिने हेटौंडाका सबै मार्गहरु छ महिनाभित्र स्तरोन्नती र आरामदायी हुने बताए । उनले हेटौंडाबाट काठमाडौं जाने छोटो बाटोमध्येको भैँसे–भिमफेदी सडकखण्डको केही दिनमा नै बोलपत्र आह्वान गरिने जानकारी गराउँदै भिमफेदी–कुलेखानी सडकखण्ड निर्माणका लागि भने निर्माण सामग्रीसमेत झरिसकेको बताए। प्रदेश राजधानी जोडिने सबै सडक अब फराकिला र स्तरीय हुने जानकारी दिए । प्रदेश राजधानीको स्थायित्व टुङ्गो नलागकेका कारण भौतिक निर्माणमा ढिलाइ भएकाले तीव्रगतिमा भौतिक संरचना निर्माण हुने मुख्यमन्त्री पौडेलको भनाइ छ । उनले अब प्रदेशसभाको अर्को अधिवेशन नयाँ भवनमा हुने र प्रदेशसभा सदस्यहरुको आवासक्षेत्र निर्माणमा समेत प्रदेश सरकार जुटेको बताए। रासस सम्बन्धित समाचारहरू : निजी क्षेत्रमाथि नै प्रश्न गरिरहेको काठमाडौं–हेटौडा सुरुङमार्ग ९ वर्षदेखि अलपत्र हेटौंडा–काठमाडौं यात्रा अब तारमै, ९४ वर्षअघिको रज्जुमार्ग पुनः संचालनको गृहकार्य