त्रिपुरेश्वरमा गुडिरहेको मोटरसाइकलमा आगलागी
काठमाडौं । त्रिपुरेश्वरको सडकमा गुडिरहेको अवस्थामा मोटरसाइकलमा आगलागी भएको छ । सुनधाराबाट त्रिपुरेश्वरतर्फ गइरहेको बा ९० प ८१८१ नम्बरको मोटरसाइकलमा आगलागी भएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार चालक ३८ वर्षीय अमृत रेग्मीले चलाएको मोटरसाइकलमा गुडिरहेको अवस्थामा आगलागी भएको हो । मानवीय क्षति नभएको तर मोटरसाइकल भने पूर्ण रूपमा क्षति भएको जनाइएकाे छ ।
राजनीति गर्ने भए जागिर छोड्न उपकुलपतिहरूलाई प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले शैक्षिक संस्थाहरूलाई राजनीतिमुक्त बनाउन उपकुलपतिहरूलाई निर्देशन दिएका छन् । सोमबार (आज) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा देशभरका विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्दै उनले यस्तो निर्देशन दिएका हुन् । उनले विश्वविद्यालय र स्वास्थ्य मा रहेका दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउन निर्देशन दिँदै यो निर्णय कुनै पनि हालतमा कार्यान्वयन गर्न आग्रह गरे । शैक्षिक संस्थाहरूमा कुनै पनि बहानामा राजनीति गर्न हुँदैन र यसका लागि दलीय संगठनका संरचना हटाउन कुनै पनि ऐन बाधक नहुने स्पष्ट पार्दै प्रधानमन्त्री शाहले भने, ‘अस्पताल, क्याम्पस र विद्यालयजस्ता पवित्र ठाउँमा कुनै पनि दलको झण्डा, प्रभाव वा संगठन राख्न पाइँदैन, यदि राजनीति नै गर्ने भए पेसागत जिम्मेवारीबाट अलग भएर पूर्ण रूपमा राजनीतिमा लाग्न सकिन्छ ।’ प्रधानमन्त्रीले उपकुलपतिहरूसँग साढे ३ घण्टा लामो गरेको छलफलमा सहभागी उपकुलपतिहरूले शैक्षिक संस्थामा भइरहेको राजनीतिले नकारात्मक प्रभाव परेको बताएका छन् । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनेश्वर नेपालले विद्यार्थी संगठनका संरचना हटाउन खोज्दा उल्टै धम्की र आक्रमण खेप्नुपरेको बताए । जवाफमा प्रधानमन्त्री शाहले राजनीतिक संगठनका संरचना हटाउँदा सुरक्षाको कुनै पनि समस्या आएमा तुरुन्तै सम्बन्धित मन्त्रालय वा आफ्नो सचिवालयमा खबर गर्न आग्रह गरेका छन् । उनले सुरक्षा संयन्त्रलगायत आवश्यक पर्ने सबै सहयोग उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको र प्रहरी प्रशासनले आफ्नो कर्तव्य पालना गर्ने बताउँदै ढुक्क भएर जिम्मेवारी पूरा गर्न उपकुलपतिहरूलाई आग्रह गरे । क्यालेन्डरको पूर्ण पालना गर्नुपर्ने प्रधानमन्त्री शाहले शैक्षिक क्यालेन्डरको पूर्ण पालना गर्न पनि उपकुलपतिलाई आग्रह गरेका छन् । उनले विश्वविद्यालयले परीक्षा लिने र सार्वजनिक गर्ने समय निकै ढिलो हुने गरेको गुनासो आएकाले परीक्षाको नतिजा एक महिनाभित्रै प्रकाशन गर्नसमेत कडा निर्देशन दिए । यस्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले पनि राजनीतिक दलसँग आबद्ध संगठनका संरचना खारेज गर्न मन्त्रालयले निर्देशन दिइसकेकाले त्यसलाई कार्यान्वयन गर्न ऐनले नरोक्ने बताए । छलफलमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालले जेन्जी आन्दोलन र निर्वाचनपछि विद्यार्थी तथा कर्मचारी संगठनहरू क्रमशः निष्क्रिय बन्दै गएको बताए । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. ध्रुवकुमार गौतम, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. विजुकुमार थपलिया र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. हेमराज पन्तले केही आंगिक क्याम्पसहरूमा अझै पनि विद्यार्थी राजनीतिको तनाव कायमै रहेको बताएका छन् । अन्य विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूले भने आफ्नो संस्थामा राजनीतिक गतिविधि न्यून रहेको र प्रशासन कडा भएमा शैक्षिक क्षेत्रमा राजनीति अन्त्य हुने विश्वास व्यक्त गरेका छन् ।
भुपदेव साह बने रास्वपाको महामन्त्री
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भूपदेव शाहलाई महामन्त्री बनाएको छ । पार्टी केन्द्रीय कार्यालय चःमतीमा सोमबार बसेको केन्द्रीय समितिको बैठकले उनलाई महामन्त्री बनाउने प्रस्ताव अनुमोदन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए । त्यस्तै, सागर ढकाल र सरिता श्री ज्ञवालीलाई सचिवालय सदस्य बनाइएको छ । त्यसैगरी, बैठकले आफ्नो साङ्गठनिक संरचनालाई थप विस्तार गर्दै केन्द्रीय र संघीय तहमा नयाँ नेतृत्व चयन गरेको छ । विशेष गरी समावेशी प्रतिनिधित्वलाई प्राथमिकता दिँदै संघीय नेतृत्व मञ्चमा सप्तरीका तुलसीप्रसाद चौधरी, बर्दियाका राम सिंह थारू, मोरङका जीवन धामी, कैलालीकी प्रेमा चौधरी, कञ्चनपुरका नवराज राना र दाङका एकराज चौधरीलाई जिम्मेवारी सुम्पिएको छ । यसैगरी, पार्टीको नीतिगत पक्षलाई सुदृढ बनाउन केन्द्रीय सल्लाहकार परिषदमा पनि नयाँ सदस्यहरू थपिएका छन् । जसमा काभ्रेकी जीवन प्रभा लामा, नवलपरासी (पूर्व) का मोती प्रसाद पंगाली, भक्तपुरका हरिप्रसाद पाण्डे र कपिलवस्तुका विष्णुहरि शर्मा मनोनित भएका छन् । पार्टीले संगठनलाई थप चलायमान र सुव्यवस्थित बनाउने उद्देश्यका साथ यी परिषदहरूलाई पूर्णता दिएको हो । त्यसैगरी, लेवी परिमार्जन गर्ने सचिवालयको बैठकको निर्णय अनुमोदन भएको छ । परिमार्जित लेवीअनुसार अब सांसदले १५ हजार, मन्त्रीले १८ हजार र स्वकीय सचिवले २ हजार रुपैयाँ लेवी तिर्नुपर्नेछ । यस्तो छ रास्वपाको सचिवालय सदस्य : रवि लामिछाने- सभापति स्वर्णिम वाग्ले- उपसभापति कविन्द्र बुर्लाकोटी- महामन्त्री भुपदेव साह- महामन्त्री विपिन आचार्य- सहमहामन्त्री लिमा अधिकारी- कोषाध्यक्ष बसुमाया तामाङ- सहकोषाध्यक्ष्य मनिष झा- प्रवक्ता गणेश पराजुली- सचिवालय सदस्य दिपक बोहरा- सचिवालय सदस्य विराजभक्त श्रेष्ठ- सचिवालय सदस्य शिशिर खनाल- सचिवालय सदस्य सोबिता गौतम- सचिवालय सदस्य हरि ढकाल- सचिवालय सदस्य सागर ढकाल- सचिवालय सदस्य सरिता श्री ज्ञवाली- सचिवालय सदस्य
महासंघका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र स्लोभेनियाली राजदूत मेन्सिनबीच भेटवार्ता
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ र नेपालका लागि स्लोभेनियाका लागि आवासीय राजदूत टोमाज मेन्सिनसँग महासंघ सचिवालयमा भेटवार्ता भएको छ । भेटका अवसरमा नेपाल र स्लोभेनियाबीच व्यापार तथा लगानी विस्तारका लागि उल्लेख्य सम्भावना रहेको चर्चा गर्दै दुई देशबीचको आर्थिक सहकार्यलाई थप सुदृढ बनाउन पहल आवश्यक रहेकोमा जोड दिइएको छ । सो अवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले स्लोभेनियालाई आर्थिक सहकार्यका लागि सम्भावनायुक्त साझेदारको रूपमा लिँदै आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पु‍र्याउने विश्वास व्यक्त गरे । ‘पछिल्लो समय नेपालमा बाह्य लगानीका लागि थुप्रै नीतिगत सुधारहरू भएका छन् । अहिले बहुमतको स्थायी सरकार निर्माण भएको छ । यसबाट नीतिगत स्थायित्व कायम हुनेमा निजी क्षेत्र आशावादी छ । यो अवस्थामा दुई देशबीच व्यवसाय–व्यवसाय बीटुबी सहकार्य, व्यापार भ्रमण तथा संयुक्त प्लेटफर्ममार्फत सम्बन्ध विस्तार गर्दै जान सकिन्छ र त्यसको लागि महासंघ तयार छ,’ उनले भने । यस्तै स्लोभेनियाका लागि आवासीय राजदूत टोमाज मेन्सिनले नेपाल र स्लोभेनियाबीच सौहार्दपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै आर्थिक साझेदारीलाई थप सुदृढ गर्दै जान सकिने बताए । स्लोभेनियाली जनताले नेपाललाई हिमालयको काखमा अवस्थित सुन्दर देश भनेर चिन्ने र नेपाल भ्रमण गर्न रुचाउने उल्लेख गर्दै राजदूत टोमाज मेन्सिनले प्रविधि हस्तान्तरण, नवप्रवर्तन र संयुक्त लगानीका क्षेत्रमा पनि सहकार्य बढाउन सकिने धारणा राखे । सो अवसरमा नेपालका लागि स्लोभेनियाका अवैतनिक महावाणिज्यदूत हरिभक्त शर्मा पनि सहभागी थिए । नेपाल र स्लोभेनियाबीच सन् १९९७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।
मानहुँकोटमा पर्यटकको चहलपहल बढ्यो, पछिल्लो समय नेपालकै चर्चित गन्तव्य
तनहुँ । सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था गरेसँगै व्यास नगरपालिका–५ स्थित पर्यटकीय गन्तव्य मानहुँकोटमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । बिदाको समयमा घुम्ने संस्कृतिको विकासले गर्दा अहिले मानहुँकोटमा विगतको तुलनामा बढी पर्यटक बढ्न थालेका हुन् । पर्यटकको चाप बढेपछि स्थानीय होटल व्यवसायी उत्साहित भएका होटल भ्यू टावरका सञ्चालक प्रेमबहादुर राउतले जानकारी दिए । बिदाका दिनमा पाहुनाले होटल भरिभराउ हुने गरेका छन् । उनले भने, 'यतिबेला पर्यटकको मुख्य याम त होइन, तर दुई दिने बिदाले पहिलेभन्दा तेब्बर बढी पर्यटक मानहुँकोट आउन थालेका छन्, पाहुनाको आगमनले हामीलाई उत्साहित बनाएको छ ।' सदरमुकाम दमौलीबाट मात्र ६–७ किलोमिटरको दुरीमा रहेकाले पनि मानहुँकोटमा पर्यटकको सङ्ख्या बढाउन सहज भएको व्यवसायीको भनाइ छ । व्यवसायी राउतले मानहुँकोटमा खानेपानीको अभाव रहेको बताउँदै प्रतिलिटर डेढ रुपियाँमा पानी किनेर व्यवसाय चलाउनुपर्ने बाध्यता रहेको दुखेसो सुनाए । यस स्थानमा जाने सडकको अवस्था सुधार गर्न र पानीको दीर्घकालीन रूपमा समस्या समाधान गर्न आवश्यक भएको व्यवसायी चूडामणि दाहालले बताए । व्यास नगरपालिकाले मानहुँकोटको पर्यटन विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले मानहुँकोटको प्रचारप्रसारका लागि मानहुँकोटदेखि पुलिमर्याङसम्म ‘अल्ट्राम्याराथन’ दौड जस्ता प्रतियोगिता आयोजना गरिँदै आएको जानकारी दिए । 'मानहुँकोटको पर्यटन विकास हाम्रो पहिलो प्राथमिकतामा छ', नगर प्रमुखले भने, 'अहिले देखिएको खानेपानीको समस्या समाधानका लागि नगरपालिकाको सक्रियतामा योजनाको काम तीव्र गतिमा अघि बढिरहेको छ ।' शिरशिर चल्ने चिसो हावा, सूर्योदय, कुहिरोले ढपक्क ढाकेको दमौली बजारको दृश्य र हिमाली शृङख्खलाको अवलोकनका लागि मानहुँकोट पछिल्लो समय नेपालकै चर्चित गन्तव्यमध्ये एक बनेको छ । यातायातको सहजता र प्रचारप्रसारसँगै यहाँको पूर्वाधार विकास भएमा आगामी दिनमा पर्यटकको सङ्ख्या बढ्दै जाने त्यस क्षेत्रका व्यवसायी बताउँछन् । रासस
ठमेलमा पर्यटकमाथि लुटपाट गर्ने ३ जना पक्राउ
काठमाडौं । ठमेलमा विदेशी पर्यटकमाथि लुटपाट गर्नेलाई प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । शनिबार तीन जना मिलेर विदेशी पर्यटकको आइफोन लुटेको सीसीटिभी फुटेज सामाजिक सञ्जालमा भाइरल भएको थियो । आरोपीहरूले मध्यराति ११ बजेतिर ठमेलको भगवान् बहालमा जर्मन नागरिकको साथबाट आइफोन लुटेका हुन् । लुटमा संलग्न आरोपीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । परिसरका अनुसार सोह्रखुट्टे प्रहरी वृत्तले तीन जनालाई नियन्त्रणमा लिएको हो ।
रास्वपाको केन्द्रीय समिति बैठक सुरु
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टीका प्रवक्ता मनिष झाका अनुसार सोमबारको बैठकका लागि नौ वटा एजेन्डा तय गरिएको छ । बैठकमा पार्टीका हालसम्मका गतिविधिबारे विस्तृत ब्रिफिङ प्रस्तुत गरिनेछ भने केन्द्रीय सदस्यहरूको रिपोर्टिङ पनि मुख्य कार्यसूचीमा राखिएको छ । रिपोर्टिङका लागि २० जना सदस्यलाई प्रति व्यक्ति दुई मिनेटका दरले समय निर्धारण गरिएको प्रवक्ता झाले जानकारी दिए । बैठकमा संगठनात्मक अवस्थाको समीक्षा, आन्तरिक समन्वय र आगामी रणनीतिबारे समेत छलफल हुने अपेक्षा गरिएको छ ।
फोनेपेको सीईओमा दिवस कुमार थप ४ वर्षका लागि पुनः नियुक्त
काठमाडौं । फोनेपे पेमेन्ट सर्भिस लिमिटेड (फोनेपे) ले प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिवस कुमारलाई थप चार वर्षका लागि पुनः नियुक्त गरेको घोषणा गरेको छ । यस निर्णयले संस्थागत नेतृत्वको निरन्तरतालाई थप मजबुत बनाएको कम्पनीले जनाएको छ । सन् २०२१ देखि फोनेपेको नेतृत्व सम्हाल्दै आएका कुमारसँग बैंकिङ प्रविधि, इलेक्ट्रोनिक भुक्तानी पूर्वाधार तथा फिनटेक क्षेत्रमा २० वर्षभन्दा बढीको अनुभव रहेको छ । उनी फोनेपेको प्रारम्भिक टोलीका सदस्यसमेत हुन् । उनले प्रमुख प्रविधि अधिकृत (सीटीओ) को भूमिकाबाट कम्पनीको प्रविधिगत आधार निर्माणमा महत्वपूर्ण योगदान पुर्याएका थिए । सीईओको जिम्मेवारी सम्हालेपछि कुमारको नेतृत्वमा फोनेपेले उल्लेखनीय वृद्धि हासिल गरेको छ । प्रारम्भिक भुक्तानी प्रणाली सञ्चालकको रूपमा सुरु भएको संस्था अहिले नेपालको विश्वसनीय डिजिटल भुक्तानी पूर्वाधारका रूपमा स्थापित भएको कम्पनीले जनाएको छ ।