नेपाल बैंकको ब्राण्ड एम्बेस्डरमा डा. पुन नियुक्त
काठमाडाैं । नेपाल बैंकले युवा वैज्ञानिक एवं राष्ट्रिय आविष्कार केन्द्र नेपालका अध्यक्ष डा. महावीर पुनलाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको छ । पुनलाई बैंकले सोमाबारदेखि लागू हुने गरी ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको हो । आविष्कार केन्द्रको कार्यालय कीर्तिपुरमा आयोजित एक समारोहमा ब्राण्ड एम्बेस्डर नियुक्ति सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र केन्द्रका अध्यक्ष डा. पुनले हस्ताक्षर गरे । प्रमुख कार्यकारी अधिकृत अधिकारीले पुनलाई बधाइ दिँदै राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेर नयाँँ सोच भएका युवालाई उद्यमी बन्न प्रेरित गरिरहेका व्यक्तिलाई ब्राण्ड एम्बेस्डर नियुक्त गर्न पाउनु गर्वको विषय भएको बताए । सम्झौतापछि पुनले नेपालकै सबैभन्दा जेठो बैंकको ब्राण्ड एम्बेस्डर बन्नु पाउनु आफ्ना लागि सौभाग्य भएको बताएका छन् । उनले देशको समृद्धिका लागि अगाडि बढ्ने मौका आएको भन्दै नेपाल बैंकको प्रगतिका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । जनस्तर र विदेशीको सहयोगमा स्थापित केन्द्रले ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्यलगायतका २० वटा क्षेत्रमा नयाँ–नयाँ अनुसन्धानको काम गरिरहेको छ । वायरलेस प्रविधिद्वारा देशको ग्रामीण क्षेत्रमा सूचना प्रवाह गर्ने लक्ष्य बोकेर नेपाल वायरलेस सञ्जाल परियोजनामार्फत इन्टरनेट सञ्जाल विस्तार गर्न सफल व्यक्तित्व पुन म्याग्दी जिल्लाको नाङ्गीगाउँमा जन्मिएका हुन् । उनले एशियाको नोबेल पुरस्कारले चिनिने ‘रोमन मेग्यासेसे अवार्ड’ जस्ता महत्वपूर्ण सम्मान पाएका छन् । विसं १९९४ कात्तिक ३० गते नेपाल सरकार र निजी क्षेत्रको साझेदारीमा स्थापना भई अविच्छिन्न रूपमा नेपालमा बैंकिङ सेवा प्रवाह गर्दै आएको नेपालको पहिलो बैंक नेपाल बैंकले ८३ वर्षको इतिहास बनाएको छ । बैंकमा नेपाल सरकारको ५१ प्रतिशत र निजी क्षेत्रको ४९ प्रतिशत शेयर हिस्सा कायम छ ।
कोरोना भाइरस भित्रिन नदिन जमुनाह नाकामा सतर्कता अपनाउँदै
राँझा । कोरोना भाइरस स्थलमार्ग हुँदै नेपाल भित्रिन नदिन नेपाल–भारत सीमाक्षेत्र जमुनाह नाकामा सतर्कता अपनाइएको छ । नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखाले स्वास्थ्य सहयोगीकक्ष स्थापना गरी भारतबाट नेपाल भित्रिने ज्वरो तथा अन्य बिरामीको स्वास्थ्य परीक्षण गर्दै आएको स्वास्थ्य शाखा संयोजक रामबहादुर चन्दले जानकारी दिए । उनका अनु्सार नेपाल–भारत प्रवेशद्वार जमुनाह नाकामा सहयोगीकक्षका लागि आवश्यक पूर्वाधार, परीक्षण सामग्रीको व्यवस्था गरी दुई स्वास्थ्यकर्मी परिचालन गरिएको छ । भारतबाट दैनिक सयाैं नेपाली जमुनाह नाका हुँदै नेपालगञ्ज प्रवेश गर्छन् । यसरी प्रवेश गर्नेमध्ये बिरामी परेका र आफैँ स्वास्थ्य जाँच गर्न चाहने व्यक्तिलाई सीमानाकामा स्वास्थ्य जाँच हुँदै आएको छ । “बिरामी परेकालाई हामीले निगरानीमा राखेर स्वास्थ्य जाँच गर्छौँ, नाकाबाट ओहोरदोहोर गर्ने सबैको स्वास्थ्य जाँच गर्न सकिएको छैन”, स्वास्थ्य शाखा संयोजक चन्दले भने, “सबैलाई स्वास्थ्य परीक्षण गर्ने हो भने अहिलेको पूर्वाधार र जनशक्ति कम हुने भएकाले आवश्यक समन्वय गर्दैछौँ ।” जमुनाह नाकाबाट स्थलमार्ग हुँदै ओहोरदोहोर हुने सयाैं मानिसको स्वास्थ्य परीक्षण गर्नका लागि ठूलै व्यवस्थापनको खाँचो रहेको उनको भनाइ छ । सहयोगीकक्षमा इन्फारेड थर्मोमिटरबाट मानिसको स्वास्थ्य परीक्षण गरिने स्वास्थ्यकर्मी धनप्रसाद न्यौपानेले बताए । उनका अनुसार इन्फारेड थर्मोमिटरले बिरामीमा ज्वरो कति छ भन्ने टाढैबाट थाहा पाउँछ । ज्वरोको अवस्था हेरेर सहयोगीकक्षका स्वास्थ्यकर्मीले आवश्यक उपचारका लागि अन्य अस्पतालमा बिरामी प्रेषण गर्ने गरिएको छ । बाँके, बर्दियालगायत र भारतीय सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीको बैठकले कोरोना भाइरसका बारेमा उच्च सर्तकता अपाउने निर्णय गरेपछि दुवै जिल्लाका सीमानाकामा स्वास्थ्य सहयोगीकक्ष राखिएको थियो ।रासस
अवैध यौनधन्दा सञ्चालन गर्ने होटल सञ्चालक पक्राउ
बनेपा । बनेपाका विभिन्न स्थानमा अवैध रूपमा यौनधन्दा सञ्चालन गर्ने दुई होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । बनेपा नगरपालिका वडा नं ७ र ८ मा होटल तथा खाजाघर सञ्चालन गरी भित्र यौनधन्दा सञ्चालन गर्दै आएको उजुरीका आधारमा प्रहरीले छापा मार्ने क्रममा सो क्रियाकलाप भएको पाएपछि होटल सञ्चालकलाई पक्राउ गरिएकाे हाे । आवश्यक कारवाही अघि बढाइएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले बताएका छन् । उनका अनुसार पक्राउ पर्नेमा बनेपा नगरपालिका–८ विद्युत् प्राधिकरणचोकस्थित होटल त्रिशूली खाजाघरका सञ्चालक नरेश तिमिल्सिना र वडा नं ७ गोदामचोकस्थित होटल सगरमाथा एन्ड गेष्टहाउसका सञ्चालक राजु भन्ने राजीव मानन्धर रहेका छन् । मेलम्ची नरपालिका–७ घर भई हाल बनेपा–८ मा बस्दै आएका तिमिल्सिनाले सञ्चालन गरेको होटलमा केटीसमेत राखेर अवैध यौनधन्दा गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मार्दा होटल सञ्चालकसहित अन्य एक महिलालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । त्यस्तै, अवैध यौनधन्दा सञ्चालन गरेको आरोपमा होटल सगरमाथा एन्ड गेष्टहाउसका सञ्चालक मानन्धरसहित अन्य दुई महिलालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । मानन्धरसँगै साझेदारीमा रहेको बनेपा नगरपालिका–१२ घर भएका चाँदनी भन्ने मनमाया तामाङ भने फरार रहेको प्रहरीले जनाएको छ । “बाहिर खाजाघर देखाएर भित्र यौनधन्दा सञ्चालन गर्दै आएको पाइएका कारण हामीले सञ्चालकलाई पक्राउ गरी आवश्यक कारवाहीका लागि प्रक्रिया अगाडि बढाइसकेका छौँ”, प्रहरी निरीक्षक तिमिल्सिनाले भने, “यसअघि पनि यस्तै कार्यमा संलग्न पाइएको बनेपा पुलबजारस्थित सञ्चालनमा रहेको सेभेनडेज खाजाघर नामक होटल कारवाहीमा परेपछि बन्द भएको छ ।” प्रहरीले त्यस्तो धन्दामा संलग्न होटल करिब २० जति रहेको र ती होटललाई निगरानी गरिरहेको जनाएको छ । बजार क्षेत्रमा केटी जम्मा गर्दै अवैध यौनधन्दा सञ्चालन गरेको पाइएपछि प्रहरीले अनुसन्धानकार्यलाई तीव्र पारेको छ । रासस
यसपाली हाेली नमनाउन सरकारको आग्रह
काठमाडौं । भिडभाडमा कोरोनाको संक्रमणको उच्च सम्भावना भएको भन्दै सरकारले यसपालीको होली नमनाउन आग्रह गरेको छ । सोमबार पराराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले पत्रकार सम्मलेन गर्दै होली नमाउन आग्रह गरेका हुन् । होलीमा मानिसहरुको ठुलो भिड हुने र संक्रमणको सम्भावना बढेर जाने भन्दै मन्त्री ज्ञवालीले यस्तो आग्रह गरेका हुन् । भिडभाड हुने गरि कुनै पनि काम नर्गन र सकभर भिडबाट टाढै बस्न साथै बिहे विवाह जस्तो उत्सवहरु पनि परिवारहरुमा मात्र मनाउन मन्त्री ज्ञवालील आग्रह गरेका छन् । चीनकाे वुहानबाट फैलिएकाे काेराेना भाइरस अहिलेसम्म चीनसहित विश्वभरि झन्डै ७० देशमा फैलिसकेकाे छ भने ९० हजार भन्दा बढी मानिसमा सङ्क्रमण देखिएकाे छ । यसमध्ये झन्डै ९० प्रतिशत सङ्क्रमण चीनमै पाइएको छ । चीनबाहेक अन्य १० देशमा पनि यही भाइरसका कारण मानिसहरूको मृत्यु भएकाे छ, विश्वभरि कुल मृतक संख्या ३ हजार नाघेकाे छ ।
हिमालय एयरलाइन्सले थप्यो नयाँ जहाज
काठमाडौं । हिमालय एयरलाइन्सले नयाँ जहाज थपेको छ । नेपालको निजी अन्तर्राष्ट्रिय यस एयरलाइन्सले आफ्नो पाचौं वार्षिकउत्सवको अवसरमा ए ३१९–११५ विमान थप गरेको घोषणा गरेको छ । उपाध्यक्ष–अपरेशनस्, क्यापटेन हाओ दीले चीनको तियानजिन बिन्हाई अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साेमबार भित्र्याएको हो । नयाँ विमान एमएसएन ९०२०,दर्ता नम्बर ९ एन–एजेके, स्थानीय समय २२ः२० मा विमानस्थलमा अवतरण भयो । यो नयाँ विमानको प्रवेशसँगै हिमालय एयरलाइन्ससँग तीन एयरबस ए३२०–२१४ र एक एयरबस ए३१९–११५ गरी चारवटा विमान हुने भएको छ । हालै समावेश गरिएको एयरबस ए३१९–११५ छोटो देखि मध्यम दूरीको उडान भर्ने एयरबस ए–३२० परिवारकै विमान हो । एयरबस कम्पनीद्वारा निर्मित यो विमान न्यारो–बडी, दुई इन्जीनयुक्त जेट विमान हो जसले व्यावसायिक यात्रीहरुलाई ल्याउने लाने गर्छ । कुल आठ बिजनेस क्लास सिट र १२० इकोनोमी क्लास सिट क्षमता रहेको विमानमा नयाँ र कुशल इन्जिन क्षमता रहेको छ जुन १५ प्रतिशतसम्म इन्धन बचत गर्न सक्षम छ । हालै समावेश गरिएको यस विमानले उच्च स्थानमा रहेका तिब्बतका ल्हासा, अलिजस्ता गन्तव्यस्थलहरुमा उडान गर्ने तथा उडान संख्या बढाउंदै धेरैभन्दा धेरै यात्रुलाई सहज र सरल रुपमा सेवा प्रदान गर्ने छ ।
कोरोनाको असर मौद्रिक नीतिमा: ८.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न कठिन,धान उत्पादनमा पनि कमि
काठमाडौं । विश्वभरी फैलिरहेको कोरोना भाइरसको असर तथा प्रभाव मौद्रिक नीतिमा पनि परेको छ । राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको मौद्रिक नीतिमा कोरोनाको असर देखिएको हाे । छिमेकी मुलुकलगायत विश्व अर्थतन्त्रमा आएको सुस्ती, विश्वका केही देशहरुमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण अर्थतन्त्रमा पर्न सक्ने असर तथा वर्षेवाली धानको उत्पादनमा आएको कमीले आर्थिक वृद्धिप्रभावित हुनेदेखिएको अर्धवार्षिक मौद्रिक नीतिमा उल्लेख गरेको छ । कृषि उत्पादनमा महत्वपूर्ण हिस्सा ओगट्ने धानको उत्पादन ५५ लाख ५१ हजार मेट्रिक टन भएको जनाइएको छ । जुन गत वर्षको सो अवधिको भन्दा एक प्रतिशत कम हो । अनुकुल वर्षाका कारण हिउदे वालीको उत्पादन भने वढ्ने देखिएको जनाइएको छ । कोरोना भाइरसको संक्रमण बढेपछि नेपाल राष्ट्र बैंकले कर्जा र पुनरकर्जाको सुविधामा पुनरावलोकन गरिने ब्यबस्था पनि गरेको गरेको छ । भाईरसको कारणबाट असर पर्न सक्ने सम्भावित क्षेत्रहरु पहिचान गरी त्यस्ता क्षेत्रहरुमा प्रवाह भएको कर्जामा पुनरकर्जा सुविधा र पुनरसंरचना तथा पुनरतालिकीकरणको व्यवस्थाहरुमा आवश्यकता अनुसार पुनरावलोकन गरिने राष्ट्र बैंकले जनाएको हो । यस्तै, राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यान्वयनमा अपनाइने तदारुकता तथा प्रदेश एवम् स्थानीय तहमा हुने विकास–निर्माणका कारण निर्माण एवम्सेवा क्षेत्रका क्रियाकलाप विस्तार भई उच्च आर्थिक वृद्धिको प्रवृत्तिलाई निरन्तरता दिन मद्दत पुग्ने अनुमान गरिएको मौद्रिक नीतिमा उल्लेख गरिएको छ ।
माइक्रोफाइनान्सको बोनसमा राष्ट्र बैंकको अंकुश, सेयरबजारका लगानीकर्ता उच्च जोखिममा
काठमाडौं । नेपाल राष्ट्र बैंकले माइक्रोफाइनान्सको लाभांशमा अंकुश लगाएको छ । अब लघुवित्त कम्पनीहरुले २० प्रतिशतभन्दा बढी लाभांश दिन कठिन हुनेछ । लघुवित्तहरू अचाक्ली नाफामुखी भएकाेले उनीहरू माथि कडा नियमन हुनु पर्ने माग बढ्दै गएकाे बेलामा राष्ट्र बैंकले नयाँ नियम ल्याएकाे हाे । ‘लघुवित्त वित्तीय संस्थाहरुले गर्ने लाभांश (नगद वा बोनस शेयर) वितरण सम्बन्धी विद्यमान व्यवस्थामा परिमार्जन गरी वार्षिक २० प्रतिशत भन्दा बढी लाभांश (नगद वा बोनस शेयर) वितरणको प्रस्ताव गर्ने संस्थाले २० प्रतिशत भन्दा माथिको प्रस्तावित लाभांशको २५ प्रतिशतले हुने रकम ग्राहक संरक्षण कोष र २५ प्रतिशतले हुने रकम सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरिने छ’ अर्धवार्षिक समिक्षामा भनिएको छ । यो व्यवस्थाले लघुवित्तहरुको लाभांश ह्वात्तै घट्ने र सेयर बजारमा पनि ठूलो असर पर्ने बताइएको छ । यो व्यवस्थासँग २० प्रतिशतभन्दा बढी लाभांश दिने कम्पनीले थप लाभांश क्षमताको ५० प्रतिशत सामाजिक हितकारी कार्यमा खर्च गर्नु पर्ने छ भने २० प्रतिशतभन्दा माथिको लाभांशमा ५० प्रतिशत मात्र सेयरधनीको हिस्सा हुनेछ । यो व्यवस्थासँगै विगतमा विगत ७० प्रतिशत लाभांश दिने लघुवित्तको लाभांश ४५ प्रतिशत मात्र दिनसक्ने छन् । वाणिज्य बैंकहरुको लाभांश ३५ प्रतिशत हुँदा केही लघुवित्तले त्यसको दोब्बर लाभांश वितरण गरेका थिए । परिणाम वाणिज्य बैंकहरुको भन्दा लघुवित्तको सेयर मूल्य दोब्बर छ । सोमबार बैंकिङ समूहको परिसूचक १३१९ हुँदा लघुवित्त समूहको परिसूचक २५२१ छ । नेप्सेमा हाल ५० वटा लघुवित्तको सेयर सूचिकरण तथा कारोबार भईरहेको छ । समूहगत रुपमा सबैभन्दा धेरै कम्पनी पनि लघुवित्तमा नै छ । राष्ट्र बैंकको नीतिपछि लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उच्च गिरावट आउन सक्ने जानकारहरु बताउँछन् । नयाँ नीतिसँग सोमबार उच्च दरमा घटेको सेयर बजारमा थप गिरावट हुने देखिन्छ । लघुवित्तप्रति राष्ट्र बैंकको नीति नियन्त्रणमुखी हुँदै गएकोले यस क्षेत्रका लगानीकर्ताको लगानी जोखिममा परेको जानकारहरु बताउँछन् ।
घर जग्गा कर्जा खुकुलो, माइक्रोफाइनान्सको लाभांशमा २० प्रतिशत सीमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले घर जग्गा कारोबार प्रोत्साहित हुने गरी कर्जा नीतिलाई खुकुलो बनाएको छ । सोमबार मध्यावधि समिक्षा जारी गर्दै राष्ट्र बैंकले स्वप्रयोजनका लागि निर्माण/खरिद गरिने पहिलो घरको लागि प्रदान गरिने कर्जामा ऋण भुक्तानी आम्दानी अनुपात अधिकतम ६० प्रतिशत कायम गर्नु पर्ने व्यवस्था गर्ने जनाएको छ । त्यस्तै, स्वप्रयोजनका लागि निर्माण/खरिद गरिने पहिलो घर तथा रु ५० लाखदेखि रु २ करोडसम्मको कृषि, पर्यटन एवम् साना तथा मझौला पेशा/व्यवसायका लागि कर दाखिला कागजातको आधारमा कर्जा प्रदान/नवीकरण गर्न सक्ने व्यवस्था मिलाइने भएको छ । त्यस्तै, नियमानुसार दर्ता भएका घर जग्गा व्यवसाय कम्पनीहरुले सञ्चालन गर्ने नेपाल सरकारको सम्वन्धित निकायबाट अनुमति प्राप्त आयोजनाका लागि प्रदान गरिने कर्जाको ऋण मूल्य अनुपात महानगरपालिका, उपमहानगरपालिका र काठमाडौं महानगरपालिकासँग जोडिएका नगरपालिका क्षेत्रमा अधिकतम ५० प्रतिशत र सो बाहेकका क्षेत्रमा ६० प्रतिशत कायम गरिने मौद्रिक नीतिमा उल्लेख गरिएको छ । उल्लेखित व्यवस्थाले घर जग्गामा जाने कर्जा सहज हुने नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए । ५० लाखदेखि रु २ करोडसम्मको कृषि, पर्यटन एवम् साना तथा मझौला पेशा/व्यवसायका लागि कर दाखिला कागजातको आधारमा कर्जा प्रदान/नवीकरण गर्न सक्ने व्यवस्थाले नयाँ कर्जा प्रवाहलाई सजिलो हुने बैंकर्सहरुको भनाई छ । कोरोना भाइरसको संक्रमणको कारणबाट असर पर्न सक्ने सम्भावित क्षेत्रहरु पहिचान गरी त्यस्ता क्षेत्रहरुमा प्रवाह भएको कर्जामा पुनरकर्जा सुविधा र पुनरसंरचना तथा पुनरतालिकीकरणको व्यवस्थाहरुमा आवश्यकता अनुसार पुनरावलोकन गरिनेछ । राष्ट्र बैंकले माइक्रोफाइनान्सको लाभांश दरलाई २० प्रतिशतमा सीमित गर्ने नीति लिएको छ । ‘लघुवित्त वित्तीय संस्थाहरुले गर्ने लाभांश (नगद वा बोनस शेयर) वितरण सम्बन्धी विद्यमान व्यवस्थामा परिमार्जन गरी वार्षिक २० प्रतिशत भन्दा बढी लाभांश (नगद वा बोनस शेयर) वितरणको प्रस्ताव गर्ने संस्थाले २० प्रतिशत भन्दा माथिको प्रस्तावित लाभांशको २५ प्रतिशतले हुने रकम ग्राहक संरक्षण कोष र २५ प्रतिशतले हुने रकम सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरिने छ’ अर्धवार्षिक समिक्षामा भनिएको छ । यो व्यवस्थाले लघुवित्तहरुको लाभांश ह्वात्तै घट्ने र सेयर बजारमा पनि ठूलो असर पर्ने बताइएको छ । राष्ट्र बैंकले नेपालीहरुले विदेशबाट कर्जा लिन पाउने नीतिलाई पनि खुकुलो बनाएको छ । नेपाली नागरिक, फर्म तथा सस्ंथाले व्यवसाय संचालन वा विस्तार गर्न यस बैंककोपूर्व स्वीकृति लिई भारतबाट भा.रु. १० करोडसम्म र अन्य मुलुकबाट अमेरिकी डलर १० लाखसम्म कम्तिमा ३ वर्ष अवधिको लागि सहुलियतपूर्ण व्याज वा विना ब्याजमा ऋण/सापटी लिन पाउने व्यवस्था गरिनेछ । बैंक तथा वित्तीय संस्थाले विदेशी संस्थाहरु तथा गैर आवासीय नेपालीहरुबाट निक्षेप संकलन गर्न सक्ने व्यवस्थामा पुनरावलोकन गरी दायरा थप फराकिलो बनाइने उल्लेख गरिएको छ ।