विकासन्युज

चोरी सिकारी नियन्त्रणका लागि पहिलोपटक एआई गस्ती सुरु

काठमाडौं । मुस्ताङमा पहिलोपटक एआई (कृत्रिम बुद्धिमत्ता) प्रविधियुक्त ड्रोन प्रयोग गरेर वन गस्ती सुरु गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत इलाका संरक्षण कार्यालय जोमसोमले मुस्ताङका उच्च लेक, खर्क तथा पाटन क्षेत्रमा आधुनिक ड्रोनमार्फत वन अनुगमन थालेको जनाएको छ । मुस्ताङमा यसअघि ड्रोन प्रविधि चलचित्र, डकुमेन्ट्री तथा विभिन्न सांस्कृतिक कार्यक्रमको दृश्यांकनमा प्रयोग हुँदै आए पनि वन संरक्षण तथा निगरानीका लागि एआई ड्रोन प्रयोग गरिएको यो पहिलो पटक हो । कठिन भूगोल, दुर्गम क्षेत्र र न्यून मानव बस्ती भएका स्थानमा प्रभावकारी अनुगमन गर्न उक्त प्रविधि प्रयोगमा ल्याइएको एक्याप जोमसोमका वरिष्ठ प्राकृतिक स्रोत संरक्षण सहायक संजोग थकालीले जानकारी दिए । उनका अनुसार संरक्षित वन, वन पैदावार तथा वन्यजन्तुको संरक्षण, चोरी सिकारी नियन्त्रण तथा वन क्षेत्रमा हुने अवाञ्छित गतिविधि रोक्न एआई ड्रोनमार्फत गस्ती सुरु गरिएको हो । हालसम्म वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ अन्तर्गत लुप्रा लेक तथा घरपझोङ गाउँपालिकाका भ्राक्सा र नम्खु क्षेत्रलगायत स्थानमा ड्रोनमार्फत गस्ती सम्पन्न भइसकेको छ । यार्सागुम्बा सङ्कलनको सिजन चलिरहेका बेला एक्यापले ड्रोन प्रयोग गरेर छड्के अनुगमनलाई पनि तीव्र बनाएको जनाएको छ । यार्सागुम्बा सङ्कलकबाट हुनसक्ने अवाञ्छित गतिविधि, वन क्षेत्रमा पासो थाप्ने, बन्दुक बोकेर वन्यजन्तुको चोरी सिकारी गर्ने तथा आगलागीको जोखिम न्यूनीकरण गर्न आधुनिक प्रविधिको प्रयोग गरिएको थकालीले बताए । एक्यापका अनुसार प्रयोगमा ल्याइएको ड्रोनको तौल १ हजार ६३ ग्राम रहेको छ। उक्त ड्रोनले करिब १५ देखि २० किलोमिटरसम्म दूरी तय गर्न सक्छ भने ६ किलोमिटरसम्म उचाइमा उड्न सक्षम छ । ड्रोनलाई प्रतिघण्टा ९० देखि ९७ किलोमिटरको गतिमा सञ्चालन गर्न सकिने जनाइएको छ ।

अमरसिंह चोकका ५२ वटै टहरा हटाइए, विद्यालयको जग्गा खाली

काठमाडौं । पोखराको अमरसिंह चोकस्थित अमरसिंह माध्यमिक विद्यालयको जग्गामा निर्माण गरिएका ५२ वटै टहरा हटाइएको छ । पोखरा महानगरपालिका–१२ का वडाध्यक्ष सन्तोष बाँस्तोलाका अनुसार गत वैशाख २९ गते सर्वपक्षीय सहमतिसहित जेठ ४ गतेभित्र व्यवसायीले आफैँ टहरा हटाउने र जेठ ५ गतेपछि महानगरपालिकाले डोजर प्रयोग गर्ने निर्णय गरिएको थियो। सोही सहमतिअनुसार सबै टहरा हटाइएको छ । उक्त स्थानमा विसं २०३८ देखि टहरा निर्माण गरी व्यवसाय सञ्चालन हुँदै आएको थियो । विद्यालयकै नाममा रहेको जग्गा विद्यालयले भाडामा लगाएपछि व्यवसायीहरूले टहरा बनाएर विभिन्न व्यापार सञ्चालन गर्दै आएका थिए । टहरा व्यवस्थापन तथा हटाउने प्रक्रियामा महानगर प्रमुख, विद्यालय प्रशासन, निवर्तमान विद्यालय व्यवस्थापन समिति, व्यवसायी र सञ्चारकर्मीहरूको सहयोग रहेको वडाध्यक्ष बाँस्तोलाले बताए । खाली गराइएको जग्गाको आगामी उपयोगबारे विद्यालयका पूर्वप्रधानाध्यापक, पूर्व व्यवस्थापन समिति अध्यक्ष, पोखरा महानगरपालिकाको शिक्षा महाशाखालगायत सरोकारवालासँग छलफल गरेर निर्णय गरिने जनाइएको छ ।

अष्ट्रेलियामा २ लाख १३ हजार नेपाली, भूमिका रेिमट्यान्समा सीमित

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले अष्ट्रेलियामा रहेका नेपाली समुदायले नेपाल-अष्ट्रेलिया सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आईआईडीएस) र नेपालस्थित अष्ट्रेलियाली दूतावासको सहकार्यमा आयोजित ‘नेपाली डायस्पोरा इन अष्ट्रेलिया’ प्रतिवेदन सार्वजनिक कार्यक्रममा मन्त्री खनालले गैर-आवासीय नेपाली नागरिकताको व्यवस्थालाई थप प्रभावकारी बनाउने विषयमा सरकारभित्र छलफल भइरहेको जानकारी दिए । उनले नेपालको संविधानमा दोहोरो नागरिकताको व्यवस्था नभएकाले त्यसमा कानुनी जटिलता रहेको उल्लेख गर्दै विद्यमान कानुनी संरचनाभित्र रहेर डायस्पोरासँगको सम्बन्ध थप सुदृढ बनाउने प्रयास भइरहेको बताए । नेपालका लागि अष्ट्रेलियाली राजदूत सिमोन अर्नेस्टले नेपाली डायस्पोरा विप्रेषणको स्रोत मात्र नभई नेपाललाई विश्वसँग जोड्ने महत्वपूर्ण सञ्जाल भएको बताए। उनले नेपाली समुदायले अष्ट्रेलियामा आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपमा प्रभाव विस्तार गरिरहेको उल्लेख गरे । ‘डायस्पोराको मूल्य केवल रेमिट्यान्समा सीमित छैन, यसले नेपाललाई विश्वव्यापी सम्बन्ध विस्तार गर्ने अवसर दिएको छ,’ उनले भने । प्रतिवेदनअनुसार सन् २०२५ जुनसम्म अष्ट्रेलियामा नेपाली मूलका व्यक्तिको सङ्ख्या २ लाख १३ हजार ५८० पुगेको अनुमान गरिएको छ । यो सङ्ख्या सन् २०२१ को तुलनामा उल्लेख्य वृद्धि हो । अध्ययनमा सहभागीमध्ये ६१.१६ प्रतिशत उच्च शिक्षाका लागि अष्ट्रेलिया गएको उल्लेख छ । अध्ययनले नेपाली समुदाय अष्ट्रेलियामा स्वास्थ्य, सूचना प्रविधि, इञ्जिनियरिङ, आतिथ्य तथा वित्तीय क्षेत्रमा सक्रिय रहेको देखाएको छ। सर्वेक्षणअनुसार ४५.२७ प्रतिशत उत्तरदाताको वार्षिक आम्दानी ६५ हजारदेखि १ लाख २० हजार अष्ट्रेलियन डलरसम्म रहेको छ । आईआईडीएसका कार्यकारी अध्यक्ष डा. विश्वास गौचनले नेपालमा आउने विप्रेषण मुलुकको कुल गार्हस्थ उत्पादनको ३० प्रतिशतभन्दा बढी रहेको उल्लेख गर्दै डायस्पोराको आर्थिक तथा बौद्धिक योगदानलाई प्रभावकारी रूपमा उपयोग गर्नुपर्ने बताए । प्रतिवेदनअनुसार ३४.९९ प्रतिशत उत्तरदाताले औपचारिक लगानी गरेको देखिएको छ । तर अधिकांश लगानी अष्ट्रेलियामै केन्द्रित रहेको अध्ययनले जनाएको छ । नेपालमा लगानी विस्तारका लागि नीतिगत स्थायित्व, पारदर्शिता तथा लगानीमैत्री वातावरण आवश्यक रहेको कार्यक्रममा सहभागीहरूले बताएका थिए । आईआईडीएसकी वरिष्ठ कार्यक्रम तथा अनुसन्धान सहायक स्नेहा घिमिरेले नेपाली डायस्पोराको भूमिका विप्रेषणमा मात्रै सीमित नरहेको बताइन् । उनका अनुसार लगानी, उद्यमशीलता, व्यापारिक सम्बन्ध, सांस्कृतिक आदानप्रदान तथा ज्ञान हस्तान्तरणमा नेपाली समुदायको योगदान बढ्दो छ ।

आजको मौसम: कोशी, मधेश, बागमती र गण्डकीमा वर्षा हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेकाले पहाडी र हिमाली भू-भागमा सामान्यदेखि आंशिक बदली भएको छ भने तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदली रहनेछ । अन्य प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहने तथा तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेशसहित अन्य पहाडी र हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा गर्मी बढ्ने तथा तातो दिनको अवस्था रहने सम्भावना रहेको छ । आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ भने अन्य पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने मौसमविद्ले बताएका छन् । ती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।

नवनियुक्त प्रधानन्यायाधीश मनोज शर्माले सम्हाले पदभार

काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले  पदबहाली गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडलबले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएलगत्तै उहाँले आज सर्वोच्च अदालतमा पुगेर पदबहाली गरेका हुन् ।  नेपालको संविधानको धारा, १२९ को उपधारा, २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार (आजै) डा. शर्मालाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए ।  त्यसअघि सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीश पदमा उनलाई सर्वसम्मतिले अनुमोदन गरेको थियो । संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीशको नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ । विसं २०२७ असार ४ गते पर्साको वीरगञ्जमा जन्मनुभएका नवनियुक्त प्रधानन्यायाधीश डा शर्मा २०७६ वैशाख ६ सर्वोच्च अदालतको न्यायाधीश भएका थिए । नेपाल ल क्याम्पसबाट बीएल र भारतको पुणे विश्व विद्यालयबाट एलएलएम गरेका उनले त्रिभुवन विश्व विद्यालयबाट श्रम कानुनमा विद्यावारिधि गरेका थिए ।  न्यायको क्षेत्रमा कानुन व्यवसायीबाट प्रवेश  गरेका डा. शर्माले २०७० साल जेठ २७ देखि २०७२ मङ्सिर २६ सम्म उच्च अदालतको अतिरिक्त न्यायाधीश भएर काम गरेका थिए । प्रधानन्यायाधीश डा. शर्माको कार्यकाल २०८९ असार ४ सम्म हुनेछ ।

सम्पूर्ण सामर्थ्य लगाएर नेपाललाई 'ग्रे लिस्ट'बाट बाहिर निकालिन्छ: अर्थमन्त्री डा. वाग्ले

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्ट (जुरिसडिक्सन्स् अण्डर इन्क्रिज्ड मोनिटरिङ) बाट बाहिर निकाल्न सबै उपाय अवलम्बन गरिने बताएका छन् ।  अर्थ मन्त्रालयमा  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वयमा मङ्गलबार भएको एसिया प्यासिफिक ग्रुप अफ मनी लाउन्डरिङ (एपीजी) को इन्टरनेसनल कोअपरेसन रिभ्यु ग्रुप (आइसिआरजि) को  कार्ययोजना सम्बन्धी छलफलमा उहाँले यस्तो धारणा राखेका हुन् ।  एपीजीका प्रतिनिधिसँगको छलफलमा अर्थमन्त्री डा. वाग्लेले सम्पूर्ण सामथ्र्य लगाएर नेपाललाई ’ग्रे लिस्ट’बाट बाहिर निकाल्ने प्रतिबद्धता व्यक्त गरे । प्रधानमन्त्रीको नेतृत्वमा नेपाल सरकार मुलुकमा सुशासन स्थापना गरेर विकासमा फड्को मार्न लागिपरेको उल्लेख गर्दै अर्थमन्त्री डा. वाग्लेले जनताको जनमतको एक प्रमुख सन्देश पनि यही भएको बताए । ‘अहिलेको ग्रे लिस्टको अवस्था पछिल्लो ३० वर्षको कुशासनले प्रतिफल हो’ उनले भने ।  नयाँ सरकार गठन भए पछि सुशासनका सवालमा भएका कामहरू सबैले अनुभूत गर्ने किसिमको भएको विचार उनले व्यक्त गरे ।  नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट बाहिर निकाल्न तत्काल र नियमित गरिनुपर्ने पहलबारे सरकारी निकायहरूले नियमित काम गरिरहेको र यसको मूल्याकंन पनि भइरहेको उनले उल्लेख गरे । ग्रेलिस्ट सूचक सम्बन्धमा नेपालको अवस्थामा पछिल्लो समीक्षा अवधि र अहिले धेरै फरक रहेको पनि उनले बताए ।  कार्यक्रममा बोल्दै एपीजी उपकार्यकारी सचिव डेभिड स्यान्ननले नेपाल ग्रे लिस्टबाट बाहिरिन पर्याप्त कार्य गर्न अझै बाँकी रहेको बताए । मंगलबारको छलफलमा अर्थ मन्त्रालयका साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, नेपाल राष्ट्र बैंक लगायतका निकायका अधिकारीहरूको सहभागिता रहेको थियो ।  एफएटीएफले २०८१ फागुन ९ मा नेपाललाई २ वर्षका लागि ग्रे लिस्टमा राखेको थियो । नेपालले उक्त सूचीबाट बाहिर निस्कन १५ बुँदे आइसिआरजि कार्ययोजनामा प्रतिबद्धता व्यक्त गरी सो अनुरूप कार्य गरिरहेको छ ।

पोखरा विमानस्थलको इतिहासमा पहिलो पटक भारत सिधा उडान

काठमाडौं । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट मंगलबार (आज) पहिलो पटक भारतको मध्यप्रदेशस्थित राजा भोज अन्तरराष्ट्रिय विमानस्थलमा ‘मेडिकल रेस्क्यु’ उडान भएको छ । श्री एयरलाइन्सको जहाजले दिउँसो ३ बजेर ९ मिनेटमा पोखराबाट भारतका लागि उडान भरेको पोखरा अन्तरराष्ट्रिय विमानस्थलका प्रवक्ता जशोदा रेग्मी सुवेदीले जानकारी दिए । मुक्तिनाथ दर्शन गरेर फर्किने क्रममा बिरामी परेका मध्यप्रदेशस्थित भोपालका शम्भु दयाल श्रीवास्तवलाई मेडिकल चार्टरमार्फत पोखराबाट स्वदेश लगिएको हो ।  विमानमा एक जना बिरामी, तीन जना स्वास्थ्यकर्मी र दुई जना बिरामीका आफन्त गरी ६ जना रहेको पोखरा विमानस्थलले जनाएको छ ।  ‘पोखराबाट पहिलो पटक भारत सिधा उडान भएको छ । स्वदेशी विमान कम्पनीले छिमेकी मुलुक उडान गर्नु विमानस्थलका लागि राम्रो कुरा हो,’ प्रवक्ता रेग्मीले भने ।  पोखराको नागढुङ्गास्थित चरक मेमोरियल अस्पतालमा उपचार गराइरहनुभएका श्रीवास्तवलाई थप उपचारका लागि परिवारले जहाज चार्टर गरेर स्वदेश लगेका हुन् ।  पोखरा अन्तरराष्ट्रिय विमानस्थल विसं २०७९ पुस १७ गते अंग्रेजी नयाँ वर्षको दिनदेखि शुभारम्भ गरिएका यहाँबाट नियमित अन्तरराष्ट्रिय उडान हुन सकेको छैन । विमानस्थल आन्तरिक उडानमै सीमित बनेको छ ।  पोखरा विमानस्थलबाट यसअघि भुटान, चीनलगायका देशमा चार्टर उडान हुने गरेपनि भारतमा पहिलो पटक उडान भएको हो ।   

एक लाख ४४ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ: कृषि मन्त्रालय

काठमाडौं । हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ ।  रासायनिक मलका बारेमा जानकारी दिन मंगलबार (आज) आयोजित पत्रकार सम्मेलनमा कृषि विकास महाशाखा प्रमुख एवं सहसचिव डा. रामकृष्ण श्रेष्ठले मौज्दात मल वितरण भइरहेकाले तत्कालका लागि मल अभाव नरहेको जानकारी दिए ।  पश्चिम एसियामा जारी द्वन्द्वका कारण ‘टेन्डर’ भइसकेको मल आउन ढिलाइ भएको बताउँदै उनले ‘ स्ट्रेट अफ होर्मुज’ मा रहेको अवरोध खुल्ने बित्तिकै टेन्डर गरिएको चार लाख ९१ हजार मेट्रिक टन मल आउने विश्वास व्यक्त गरे ।  पश्चिम एसियामा जारी द्वन्द्वका कारण विगत वर्षका तुलनामा मलको भाउ बढेको मन्त्रालयले जनाएको छ ।  द्वन्द्वका कारण रासायनिक मल कहिले आउँछ भन्न नसकिने अवस्थामा प्राङ्गारिक मलको उपयोग गर्न पनि सहसचिव श्रेष्ठले आह्वान गरे ।  किसानलाई मल प्रयोग गर्दा रासायनिक मात्र नगरी माटोको स्वास्थ्य बचाउन पनि उनले अनुरोध गरे ।