धानको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले बर्खे धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष ८३/८४ मा बर्खे धान बालीको न्यूनतम समर्थन मूल्य मोटो धानको ३ हजार ६६० रूपैयाँ प्रति क्विन्टल र मध्यम धानको ३ हजार ८६० रूपैयाँ प्रतिक्विन्टल तोक्ने निर्णय गरेको हो ।
नागरिक उड्ययन प्राधिकरणको महानिर्देशक बने मुकेश
काठमाडौं । नेपाल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डंगोललाई महानिर्देशक नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
चीन जाँदै गरेका गुरुङ ४३ हजार अमेरिकन डलरसहित पक्राउ
काठमाडौं । चीन जान लागेका एक नेपाली ४३ हजार अमेरिकी डलरसहित पक्राउ परेका छन् । आइतबार काठमाडौंबाट टिमुरे जाँदै गरेको बा प्र ०१००६ ख ९५१५ नम्बरको यात्रुबाहक बसबाट ३७ वर्षीय सुशील गुरुङ पक्राउ परेका हुन् । उनको साथबाट १०० को ३६३ वटा, ५० को ११२ वटा, २० को २९ वटा, १० को ५० वटा, ५ को ३ वटा र १ को ५ वटा अमेरिकी डलर फेला परेको थियो । अमेरिकन डलर लिएर गुरुङ चीन लागेका थिए । उनी गाइडको रूपमा समेत काम गर्ने गरेको अनुसन्धानबाट खुलेका रसुवा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजु शाहले जानकारी दिए । रसुवाको उत्तरगया गाउँपालिका–५ बेत्रावती बजारस्थित पासाङ ल्हामु सडक खण्डमा प्रहरीले नियमित सवारी साधनहरू चेकजाँच गर्ने क्रममा उनी पक्राउ परेका हुन् । धादिङको गंगाजमुना गाउँपालिक–५ का ३७ वर्षीय गुरुङलाई आजै बिहान राजश्व अनुसन्धानको कार्यालयमा बुझाइसकेको शाहले जानकारी दिए ।
प्रधानमन्त्रीले मंगलबार इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले युरोपेली सङ्घ (इयू)मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग मंगलबार संयुक्त भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री शाहले मंगलबार बिहान ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरुसँग सामूहिक भेट र संवाद गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित हुनेछ । यसअघि चैत २५ गते प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरुसँग सामूहिक भेट र संवाद गरेका थिए ।
६० जिल्लामा सरकारी कुरियर सेवा विस्तार
काठमाडौं । सरकारले सार्वजनिक सेवा प्रवाहलाई डिजिटल, व्यवस्थित र नागरिकमैत्री बनाउने लक्ष्यसहित सरकारी कुरियर सेवाको विस्तारलाई तीव्र बनाएको छ । राहदानी, सवारी चालक अनुमति पत्र (लाइसेन्स), शैक्षिक प्रमाणपत्रलगायतका सरकारी कागजात घरमै पुर्याउने व्यवस्था विस्तार गर्दै सरकारले परम्परागत सेवा प्रणालीलाई प्रविधिमैत्री र सहज बनाउँदै लगेको हो । हुलाक सेवा विभागका अनुसार हालसम्म यो सेवा देशका ६० जिल्लामा विस्तार भइसकेको छ । विभागले सरकारी कार्यालयबाट प्रवाह हुने सेवामा नागरिकको प्रत्यक्ष पहुँच बढाउने तथा अनावश्यक झन्झट कम गर्ने उद्देश्यले सेवा प्रणालीलाई क्रमशः डिजिटल माध्यमसँग जोड्दै लगेको जनाएको छ । विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले सरकारी सेवा वितरण प्रणालीलाई आधुनिक र प्रभावकारी बनाउन स्थानीय तहसम्म संयन्त्र परिचालन गरिएको बताइन्। ‘नागरिकले सामान्य सरकारी कागजातका लागि पटक–पटक कार्यालय धाउनुपर्ने अवस्थालाई अन्त्य गर्ने लक्ष्यका साथ सेवा विस्तार गरिरहेका छौं । सीमित स्रोतसाधनका बाबजुद पनि यो क्रमश: सबै जिल्लामा सुरु हुँदै गएको छ,’ उनले भनिन् । विभागका अनुसार हालसम्म २९ हजार ७५८ वटा राहदानी सम्बन्धित जिल्लासम्म ढुवानी गरिएको छ । तीमध्ये एक हजार ७६३ वटा राहदानी सेवाग्राहीको घरमै पुगेर वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा राहदानी आवेदन दिनेक्रममै सेवाग्राहीको ठेगाना संकलन गर्न थालिएकाले वितरण प्रक्रिया थप व्यवस्थित भएको विभागले जनाएको छ । यातायात क्षेत्रको सेवा वितरणलाई पनि डिजिटल र सहज बनाउने प्रयासअन्तर्गत चार लाख ७५ हजार ९०८ वटा सवारी चालक अनुमतिपत्र सम्बन्धित यातायात कार्यालयसम्म पुर्याइएको छ । तीमध्ये ६७२ वटा लाइसेन्स सेवाग्राहीको घरमै वितरण गरिएको विभागले जनाएको छ । सरकारी सेवा वितरण प्रणालीलाई एकीकृत र बहुआयामिक बनाउने प्रयासस्वरूप विभागले शिक्षा र स्वास्थ्य क्षेत्रसँग पनि सहकार्य विस्तार गरेको छ । हालसम्म २६० वटा शैक्षिक प्रमाणपत्र वितरण गरिएको छ भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको सहकार्यमा ५३९ वटा प्रयोगशाला नमूना ढुवानी गरिएको छ । सुर्खेत, बाँके र काठमाडौंबाट प्रयोगशाला नमूना ढुवानी सेवा सुरु गरिएको विभागले जनाएको छ । नेपाल टेलिकमसँग सहकार्य गरी सिमकार्ड घरमै पुर्याउने सेवा सुरु गर्ने तयारी भइरहेको छ । त्यसैगरी मध्यपश्चिम विश्वविद्यालयसँग प्रश्नपत्र, उत्तरपुस्तिका तथा प्रमाणपत्र ढुवानी कार्य सुरु भइसकेको छ भने नेपाल खुला विश्वविद्यालयसँग शैक्षिक प्रमाणपत्र ढुवानीबारे छलफल भइरहेको विभागले जनाएको छ । विभागले सेवा प्रणालीलाई अझ प्रभावकारी बनाउन विभिन्न सरकारी निकायसँग प्रणाली एकीकरणको काम पनि अघि बढाएको छ । राहदानी विभागसँग प्रणाली अन्तरआवद्धता गर्न अध्ययन समिति गठन गरिएको छ भने महालेखा नियन्त्रक कार्यालयसँग प्रणाली एकीकरणका लागि पहल भइरहेको छ । पोस्टल इन्टरनल ट्र्याकिङ सिस्टम (पिट्स) मा पोस्टल कोड स्तरोन्नति गर्ने कार्य पनि अघि बढाइएको विभागले जनाएको छ । अन्तर्राष्ट्रिय कुरियर सेवातर्फ पनि विस्तारको तयारी भइरहेको छ । हवाई सेवा प्रदायक कम्पनीहरूसँग समन्वय गरी थप देशसम्म हुलाक पहुँच विस्तार गर्ने तयारी भइरहेको विभागले जनाएको छ ।
दैनिक १ करोड भुक्तानी गर्दै डीडीसी, बक्यौता पनि तिरिँदै
काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान (डिडीसी) को सुधारको कार्ययोजना अगाडि सारेसँगै दैनिक १ करोड किसानलाई भुक्तानी भइरहेको छ । पछिल्लो चार महिनाको करिब ५८ करोड बक्यौता दायित्वमध्ये हाल १२ करोड रकम भुक्तानी भइसकेको छ । एक महिनाको रकम आगामी असार १३ गतेभित्र भुक्तानी गर्ने तयारी छ । डिडीसीको हाल दैनिक करिब १करोडको कारोबार भइरहेको छ । सो रकम दैनिक रुपमा किसानलाई भुक्तानी भइरहेको हो । बाँकी रहेको रकम करिब ४६ करोड दुई महिनामा भुक्तानी हुनेछ । दैनिक कारोबार र भुक्तानी प्रक्रिया नियमित रूपमा अघि बढिरहेकाले बाँकी रकम समेत चरणबद्ध रूपमा किसानको खातामा जम्मा हुने मन्त्री चौधरीले बताइन् । दुग्ध किसानको श्रम र योगदानको सम्मान गर्दै किसानको हितलाई प्राथमिकतामा राखेर समस्या समाधानका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।
ड्युटीकै क्रममा बेहोस भएका प्रहरी खत्रीको मृत्यु
काठमाडौं । कालीकोटमा ड्युटीकै क्रममा एक प्रहरीको मृत्यु भएको छ । सोमबार कालीकोट खल्लागार्ड प्रहरी चौकीमा कार्यरत ४८ वर्षीय प्रहरी सहायक निरीक्षक (असई) लिला बहादुर खत्रीको मृत्यु भएको हो । ड्युटीमै रहेका खत्रीलाई अचानक छाती दुखेपछि बेहोस भएका र तत्काल उपचारका लागि एम्बुलेन्समार्फत जिल्ला अस्पताल पुर्याउँदा चिकित्सकले मृत्त घोषणा गरेको कालीकोट जिल्ला प्रहरी कार्यालयका प्रवक्ता गणेश ज्ञवालीले जानकारी दिए । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर- २ स्थायी घर भएका खत्रीको इलाका प्रहरी चौकी पचालझरनामा दरबन्दी रहेको थियो । तिलगुफा नगरपालिकाको खल्लागार्ड प्रहरी चौकीमा उनलाई खटाइएको थियो ।
सिक्री लुट्दै हिँड्ने र किन्नेसहित दुई जना पक्राउ
काठमाडौं । महिलाले लगाएको सुनको सिक्री लुट्दै हिँड्ने र खरिद गर्नेसहित दुई जना पक्राउ परेका छन् । सिक्री लुट्ने ४६ वर्षीय रामकुमार तामाङ र लुटेको सुन खरिद गर्ने सुन पसल सञ्चालक ६३ वर्षीय किशोर थापा पक्राउ परेका हुन् । तामाङले गत २४ गते चावहिलको आकाशे पुलमा महिलाले लगाएको सुनको सिक्री लुटेका थिए । त्यसैगरी उनले शनिवार साँझ बसुन्धाराको कल्कीनारायण मन्दिर दर्शन गर्न आएकी महिलाको सुनको सिक्री लुटेका थिए । परिसरका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार शनिबार थापालाई प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा नियन्त्रणमा लिएको हो । उनी ललितपुर उपमहानगरपालिका १ का बासिन्दा हुन् । लुटेको सुनसहित उनलाई प्रहरीले चावहिलबाट पक्राउ गरेको हो । प्रहरीले उनीहरूमाथि थप अनुसन्धान गरिरहेको छ ।