विकासन्युज

इनड्राइभको ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियान सुरु, ईभी कारदेखि स्मार्टफोनसम्म पुरस्कार

काठमाडौं । इनड्राइभले नेपालमा ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियान सुरु गरेको छ । अघिल्लो संस्करणबाट प्राप्त उल्लेखनीय सफलता र उत्साहजनक प्रतिक्रियापछि यसपटक अभियानलाई अझ परिस्कृत बनाउँदै कम्पनीले ड्राइभर पार्टनर्सको परिश्रम, समर्पण र योगदानको सम्मानस्वरूप कार्यक्रम सञ्चालन गरेको जनाएको छ । अभियानअन्तर्गत ग्रान्ड प्राइजमा ब्रान्ड न्यू टाटा एक्सप्रेस–टी ईभी कार, याडिया भेलाक्स ईभी स्कूटर, सामसङ स्मार्टफोन तथा स्टेकेसन प्याकेज समावेश गरिएको छ । कम्पनीका अनुसार फेब्रुअरी २३, २०२६ (फागुन ११) देखि मार्च १, २०२६ (फागुन १७) सम्म चालकहरूले प्लेटिनम स्ट्याटस प्राप्त गर्न न्यूनतम ४५ वटा सवारी पूरा गर्नुपर्नेछ । त्यसपछि मार्च २ (फागुन १८) देखि मार्च २९ (चैत १५) सम्म साप्ताहिक चुनौतीहरू सञ्चालन गरिनेछन्, जहाँ प्लेटिनम स्ट्याटस कायम राख्ने चालकहरू साप्ताहिक पुरस्कारका साथै ग्रान्ड प्राइजका लागि पनि योग्य हुनेछन् । क्याब चालकका लागि टाटा एक्सप्रेस–टी ईभी कार र बाइक राइडरका लागि याडिया भेलाक्स ईभी स्कूटर ग्रान्ड प्राइजका रूपमा राखिएको छ । अभियान तीन चुनौतीपूर्ण हप्तामा सञ्चालन हुनेछ र विजेताहरूको घोषणा गर्दै अप्रिल २, २०२६ (चैत १९) मा  कार्यक्रममार्फत ग्रान्ड विजेता सार्वजनिक गरिने कम्पनीले जनाएको  छ। अभियानअन्तर्गत एक जनाले टाटा एक्सप्रेस–टी ईभी कार, दुई जनाले याडिया भेलाक्स ईभी स्कूटर, १६ जनाले सामसङ स्मार्टफोन तथा चार जनाले स्टेकेसन प्याकेज प्राप्त गर्नेछन् । ग्रान्ड प्राइजका लागि योग्य हुन चालकहरूले अभियानको चारै हप्तामा प्लेटिनम स्ट्याटस कायम राख्नुपर्नेछ भने साप्ताहिक पुरस्कार विजेताहरू प्रत्येक चुनौती हप्तामा प्लेटिनम स्ट्याटस हासिल गर्ने चालकहरूबाट छनोट गरिनेछन् । इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन्स स्पेसलिस्ट सुनिता जीमी राईले ड्राइभर पार्टनर्स नै कम्पनीको सफलताको आधारस्तम्भ भएको बताउँदै उनीहरूको समर्पण, व्यावसायिकता र सेवाप्रतिको प्रतिबद्धताले निष्पक्ष, पारदर्शी र पहुँचयोग्य गतिशीलताको लक्ष्यलाई व्यवहारमा उतार्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिन् । चालक साझेदारहरूलाई सशक्त, सुरक्षित र सक्षम बनाउँदा सम्पूर्ण इनड्राइभ इकोसिस्टम अझ बलियो र दिगो बन्ने विश्वासका साथ अभियान सञ्चालन गरिएको उनले बताइन् । कम्पनीले आगामी दिनमा पनि चालक साझेदारहरूको योगदानको सम्मान गर्दै यस्ता सहयोगमूलक तथा लाभदायक कार्यक्रमहरू निरन्तर ल्याइने जनाएको छ ।

१.५० अर्बमा ३ हजार टन क्षमताको पश्चिमाञ्चल चिनी उद्योग बन्दै, बैंकबाट लियो १.२५ अर्ब ऋण

काठमाडौं । बर्दियामा ३ हजार टन क्षमताको आधुनिक चिनी उद्योग निर्माण हुने भएको छ । बर्दियाको गुलरिया–१२ मा स्थापित हुने पश्चिमाञ्चल चिनी उद्योग प्रालि दैनिक ३ हजार टन उखु पेल्ने क्षमतासहितको कारखाना सञ्चालनमा ल्याउने योजना बनाएको हो । विसं २०८१ भदौ १७ गते दर्ता भएको कम्पनीले उद्योग सञ्चालनमा आएपछि स्थानीय किसानबाट प्रत्यक्ष रूपमा उखु खरिद गर्ने योजना बनाएको छ । यसले बर्दिया र वरिपरिका जिल्लाका किसानलाई स्थायी बजार उपलब्ध गराउने अपेक्षा गरिएको छ । उद्योगबाट चिनी उत्पादनका साथै सह-उत्पादनका रूपमा शिरा, खोइया र फिल्टर माटो उत्पादन हुनेछ। खोइया ऊर्जा उत्पादनका लागि, शीरा औद्योगिक प्रयोजन र इथानोल उत्पादनमा र फिल्टर माटो जैविक मलका रूपमा प्रयोग गर्न सकिने भएकाले उद्योगले बहु-आयामिक आर्थिक लाभ दिने विश्वास गरिएको छ । कम्पनीका अनुसार उद्योग स्थापनाले स्थानीय स्तरमा प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना गर्नेछ, कृषि उत्पादन वृद्धि गर्नेछ, पूर्वाधार विकासमा योगदान पुर्याउनेछ र समग्र क्षेत्रीय अर्थतन्त्र सुदृढ बनाउनेछ । उद्योग स्थापनाको कुल लागत करिब १ अर्ब ५० करोड रुपैयाँ अनुमान गरिएको छ । कम्पनीले यसलाई ५७:४३ को ऋण-इक्विटी अनुपातमा वित्तीय व्यवस्थापन गर्ने योजना बनाएको छ र प्रस्तावित ऋण पूर्ण रूपमा सुनिश्चित भइसकेको जनाएको छ । सन् २०२६ फेब्रुअरी मध्यसम्म परियोजनामा करिब ३३ प्रतिशत वित्तीय प्रगति हासिल भइसकेको कम्पनीको भनाइ छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ८५ करोड रुपैयाँ दीर्घकालीन र ४० करोड रुपैयाँ अल्पकालीन गरी कुल १ अर्ब २५ करोड रुपैयाँ ऋण लिइसकेको छ । यद्यपि परियोजना निर्माण चरणमै रहेको हुँदा तोकिएको समय र लागतभित्र सम्पन्न हुने विषयमा केही कार्यान्वयन जोखिम विद्यमान रहेको कम्पनीले जनाएको छ। पश्चिमाञ्चल चिनी उद्योगका प्रवर्द्धक शिखर श्रेष्ठसँग चिनी उद्योगमा लामो अनुभव छ । यो अनुभव महाकाली सुगर इन्डस्ट्रिज प्रालि मार्फत हासिल भएको हो, जुन ३ हजार टन दैनिक उखु पेल्ने क्षमता भएको स्थापित उद्योग हो ।श्रेष्ठको नेतृत्वमा कम्पनीले उत्पादन तथा बजार व्यवस्थापनमा एक दशकभन्दा बढी अनुभव संकलन गरेको छ । यस अनुभवले पश्चिमाञ्चल चिनी उद्योगलाई क्रसिङ दक्षता, मिल सञ्चालन, मेसिनरी तथा स्पेयर पार्ट्स आपूर्ति व्यवस्थापन, प्रक्रिया रसायन आपूर्तिकर्तासँग स्थापित सम्बन्ध र उखु मूल्य निर्धारण तथा आयात नीतिसम्बन्धी नियामकीय ज्ञान जस्ता पक्षमा महत्त्वपूर्ण लाभ प्रदान गरेको छ । 

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनको मूल्य बढेको छ भने चाँदीको भाउ घटेको छ  । सोमबारको तुलनामा सुन तोलामा रु दुई हजार ५०० र चाँदी प्रतितोला रु २०५ ले घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मोल प्रतितोला रु तीन लाख २८ हजार ६०० कायम भएको छ भने एक तोला चाँदीको मूल्य रु पाँच हजार ८१५ निर्धारण भएको छ । सोमबार एक तोला सुन रु तीन लाख २६ हजार १०० र त्यति नै परिमाणको सेतो धातु रु छ हजार २० मा कारोबार भएको थियो ।  अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार मंगलबार अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २७८ र त्यति नै परिमाणको सेतो धातु ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।  

जानकी फाइनान्सको सीईओमा दिनेश कुमार शर्मा पुनः नियुक्त

काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा दिनेश कुमार शर्मा पुनः नियुक्त भएका छन् । फागुन १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शर्मालाई सीईओ पदमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो । उनको नयाँ कार्यकाल फागुन २९ गतेदेखि लागू हुने कम्पनी सचिव रोशन कापरले जानकारी दिएका छन् ।  

नैकाप र सुकेधारामा गाडीमा आगो लगाइयो, दुर्गा प्रसाईको प्रचा फेला

काठमाडौं । नैकाप र सुकेधारामा दुई वटा गाडी आगजनी गरिएको अवस्थामा फेला परेको छ । मंगलबार बिहान काठमाडौंका दुई ठाउँमा गाडी आगजनी भएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले विकासन्युजलाई जानकारी दिए । उनका अनुसार नैकापस्थित पुल नजिकै एउटा बा ७ च १४०१ नम्बरको भ्यान आगजनी भइरहेको अवस्थामा फेला परेको थियो । सुकेधारामा पनि अर्को बिएए २८३६ नम्बरको कार आगजनी भएको अवस्थामा फेला परेको हो । ‘बिहान पौने ३ र पौने ४ बजेतिरको घटना हो,’ उनले भने, 'अहिलेसम्म दुवै सवारीसाधनका कोही पनि धनीहरू क्षति भएको भनेर उजुरी गर्न आएका छैनन् ।'  घटनास्थलमा दुर्गा प्रसाई समर्थित पर्चा भेटिएको उनले जानकारी दिए । दुर्गा प्रसाईंमाथि फागुन २१ गते हुने निर्वाचन बिथोल्न खोजेको आरोप छ । उनी हाल जिल्ला प्रहरी परिसर भक्तपुरको हिरासतमा छन् ।  

खाडी संकट गहिरिँदै : बीमा कम्पनीहरू पछि हट्दा विश्व ऊर्जा बजार त्रसित

काठमाडौं । इरान र इजरायलबीच चर्किएको सैन्य टकरावले यतिबेला फारसको खाडीमा ठूलो सुरक्षा संकट निम्त्याएको छ, जसको प्रत्यक्ष प्रभाव विश्वको ऊर्जा बजारमा देखिन थालेको छ । सोमबार मात्रै कच्चा तेलको मूल्यमा १० प्रतिशतभन्दा बढीको उछाल आउनुले आगामी दिनहरू अझै कष्टकर हुने संकेत गरेको छ ।  यो सैन्य तनाव केवल दुई देशबीच मात्र सीमित नरही विश्वकै प्रमुख व्यापारिक मार्गहरूमा फैलिएपछि अन्तर्राष्ट्रिय बजारमा त्रास फैलिएको हो । जानकारहरूका अनुसार यदि यो तनाव तत्कालै साम्य भएन भने तेलको मूल्यले नयाँ उचाइ लिने निश्चित छ, जसले विश्वव्यापी महँगीलाई थप इन्धन दिनेछ । यसैबीच, विश्वका प्रमुख समुद्री बीमा प्रदायकहरूले चालेको कदमले यो संकटलाई झन् जटिल बनाइदिएको छ । ब्लुमबर्गका अनुसार इन्टरनेशनल ग्रुप अफ प्रोटेक्सन एन्ड आईडेम्निटी क्लब्सका आधाभन्दा बढी सदस्यहरूले फारसको खाडी क्षेत्रमा प्रवेश गर्ने जहाजहरूका लागि प्रदान गरिँदै आएको ‘युद्ध–जोखिम’ बीमा कभर फिर्ता लिने घोषणा गरेका छन् ।  ५ मार्चको मध्यरातदेखि लागू हुने यो निर्णयले फारसको खाडी, आसपासका जलक्षेत्र र इरानी समुद्री सीमामा रहेका जहाजहरूको सुरक्षा प्रत्याभूति स्वतः समाप्त गरिदिएको छ । यद्यपि अन्य सामान्य बीमा सर्तहरू यथावत रहने भनिए पनि युद्ध र आतंकवादको जोखिम समेट्ने विशेष कभर नहुँदा शिपिङ कम्पनीहरू ठूलो अन्योलमा परेका छन् । यो बीमा कभर हट्नुको अर्थ अब जहाज मालिक र चार्टर कम्पनीहरूले आफ्ना महँगा जहाज र कार्गोलाई पूर्ण रूपमा आफ्नै जोखिममा त्यस क्षेत्रमा पठाउनुपर्ने हुन्छ । यसले गर्दा धेरैजसो कम्पनीहरूले फारसको खाडीको मार्ग प्रयोग गर्न हिचकिचाउने छन्, जसका कारण आपूर्ति शृङ्खलामा ठूलो अवरोध आउने देखिन्छ ।  यसको प्रत्यक्ष असरस्वरूप मालवाहक भाडा अचाक्ली बढ्नेछ र वैकल्पिक बीमा खोज्नुपरेमा त्यसको प्रिमियम पनि अत्यन्तै महँगो हुनेछ । अन्ततः यो सबै अतिरिक्त लागत कच्चा तेल र अन्य आयातित वस्तुको अन्तिम मूल्यमा जोडिन पुग्छ, जसको सिधा भार सर्वसाधारण उपभोक्ताको गोजीमा पर्नेछ । विशेषगरी स्ट्रेट अफ होर्मुज जहाँबाट विश्वको करिब २० प्रतिशत पेट्रोलियम पदार्थ आपूर्ति हुन्छ, अहिले विश्व समुदायको चासोको केन्द्र बनेको छ । विश्व ऊर्जा आपूर्तिको मुटु मानिने यस समुद्री मार्गमा हुने सानो अवरोधले पनि अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि, आपूर्ति संकट र ऊर्जा सुरक्षामा गम्भीर असर पार्ने निश्चित छ  । बीमा कम्पनीहरूको निर्णयले केवल तेलको मूल्य मात्र बढाउने छैन, बरु खाडी मुलुकहरूसँग जोडिएका अन्य व्यापारिक मार्गहरूमा पनि आर्थिक अस्थिरता पैदा गर्नेछ । यदि स्थिति यस्तै रहेमा विश्व अर्थतन्त्रले अर्को ठूलो मन्दी वा ऊर्जा संकटको सामना गर्नुपर्ने जोखिम बढेर गएको छ । खामेनेईको अवसान र तेहरानको हुँकार : मध्यपूर्वमा ‘महायुद्ध’को संकेत ! इरान र इजरायल : मित्रतादेखि कट्टर दुश्मनीसम्म, यस्तो छ नालीबेली  

चार नयाँ हेलिकप्टर कम्पनी आउँदै, थपिए ३१ नयाँ विमान

काठमाडौं । पछिल्लो पाँच वर्षमा नेपाली आकाशमा ३१ वटा नयाँ विमान थपिएका छन् । हवाई सेवाको विस्तार, आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानको माग वृद्धिसँगै नयाँ विमानको संख्या वृद्धि हुँदै गएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार सन् २०२१ देखि सन् २०२५ सम्म विभिन्न वायुसेवा कम्पनीहरूले निश्चित पंखा (फिक्सड) र हेलिकप्टर र स्पोटर्स प्रकारमा विमान थपेका छन् ।  यस अवधिमा १४ वटा हेलिकप्टर, १६ वटा फिक्स्ड र एउटा स्पोर्टस् भित्रिएका हुन् । बुद्ध एयर, श्री एयरलाइन्स,  प्रभु हेलिकप्टर, सिम्रिक एयर, अन्नपूर्ण हेलिकप्टर, अल्टिच्युड एयर, एयर डाइनेस्टीलगायत हेलिकप्टर कम्पनीहरूले नयाँ हेलिकप्टर भित्र्याएको क्यानको तथ्यांक छ । क्यानले उपलब्ध गराएको तथ्यांकअनुसार सन् २०२५ मा ६ वटा हेलिकप्टर नेपाल भित्रिएका छन् । उक्त वर्ष अन्नपूर्ण हेलिकप्टर, प्रभु हेलिकप्टर, अल्टिच्युड एयर, सिम्रिक एयर, माउन्टेन हेलिकप्टर र एयर डाइनेस्टीले एक–एक वटा हेलिकप्टर थपेका छन् । पछिल्लो पाँच वर्षमध्ये सन् २०२४ मा सबैभन्दा धेरै १४ वटा विमान नेपाल भित्रिएका छन् । जसमध्ये ६ वटा हेलिकप्टर, ७ वटा फिक्स्ड र एउटा स्पोर्टस एयरक्राप्ट भित्रिएका छन् ।  उक्त वर्ष मुस्ताङ हेलिकप्टर, बेलुन नेपाल, बुद्ध एयर, हेली एभरेष्ट, मनाङ एयर, एयर डाइनेस्टी र श्री एयरलाइन्सले आफ्नो फ्लीट विस्तार गर्दै नयाँ विमान तथा हेलिकप्टर थपेका हुन् । मुस्ताङ हेलिकप्टरले कलसाइन ९ एन–एनओ भएको एयरबस हेलिकप्टर थपेको छ । त्यस्तै, बेलुन नेपालले ९ एन–एनभी कलसाइनको अल्ट्रा म्याजिक एस.ए. विमान भित्र्याएको देखिन्छ ।  बुद्ध एयरले सन् २०२४ मा दुई वटा एटिआर ७२–२१२ ए विमान थपेको छ । कम्पनीले कलसाइन ९ एन–एनजेड र ९ एन–एओएफ भएका दुई जहाज थपेको छ ।  हेली एभरेष्टले पनि सोही वर्ष दुई वटा एयरबस हेलिकप्टर थपेको छ । कम्पनीले ९ एन–एओए र ९ एन–एओबी कलसाइनका हेलिकप्टर सञ्चालनमा ल्याएको हो । त्यस्तै, एयर डाइनेस्टीले ९एन–एओडी कलसाइनको एयरबस हेलिकप्टर भित्र्याउको छ । मनाङ एयरले पनि फ्लीट विस्तार गर्दै दुई वटा एयरबस हेलिकप्टर थपेको छ ।  कम्पनीले ९एन–एओई र ९एन–एओजे कलसाइनका हेलिकप्टर भित्र्याएको देखिन्छ । यस अवधिमा श्री एयरलाइन्सले सबैभन्दा धेरै फिक्सड जहाज थपेको छ । कम्पनीले सन् २०२४ मा तीन वटा डिएचसी–८–४०२ (ड्यास–८–क्यू४००) विमान फ्लीटमा समावेश गरेको हो। ती विमानहरूको कलसाइन क्रमशः ९एन–एओके, ९एन–एओएल र ९एन–एओएम रहेका छन् ।  सन् २०२१ मा नेपाली वायुसेवा कम्पनीहरूले तीनवटा विमान थपेका छन् । उक्त वर्ष बुद्ध एयरले दुई वटा र श्री एयरलाइन्सले एक वटा विमान भित्र्याएका हुन् । बुद्ध एयरले सन् २०२१ मा दुई वटा एटिआर–७२–२१२ ए विमान फ्लीटमा समावेश गरेको थियो । कम्पनीले कलसाइन ९ एन–एजिएल र ९ एन–एनएच भएका एटिआर–७२–२१२ए विमान सञ्चालनमा ल्याएको हो । त्यस्तै, श्री एयरलाइन्सले सोही वर्ष कलसाइन ९ एन–एनआर भएको डिएचसी–८–४०२ (ड्यास–८–क्यू४००) विमान फ्लीटमा थपेको थियो । सन् २०२२ मा नेपाली वायुसेवा कम्पनीहरूले कुल चार वटा विमान तथा हेलिकप्टर फ्लीटमा थपेका छन् । उक्त वर्ष यति एयरलाइन्स, बुद्ध एयर, श्री एयरलाइन्स र अन्नपूर्ण हेलिकप्टरले नयाँ जहाज भित्र्याएका हुन् । यति एयरलाइन्सले कलसाइन ९ एन–एएमजेड भएको एटिआर ७२–२१२ ए विमान फ्लीटमा समावेश गरेको थियो । त्यस्तै, बुद्ध एयरले ९ एन–एएनपी कलसाइनको एटिआर ७२–२१२ए विमान थपेको थियो । श्री एयरलाइन्सले सोही वर्ष ९एन–एनएस कलसाइनको डिएचसी–८–४०२ (ड्यास–८–क्यू४००) विमान भित्र्याएको थियो भने अन्नपूर्ण हेलिकप्टरले ९ एन–एएनयु कलसाइनको एस ३५० बी ३ई (एयरबस) हेलिकप्टर फ्लीटमा समावेश गरेको थियो ।  सन् २०२३ मा पनि चार वटा विमान तथा हेलिकप्टर नेपाली वायुसेवा कम्पनीहरूको फ्लीटमा थपिएका छन् । उक्त वर्ष बुद्ध एयरले सबैभन्दा धेरै तीन वटा विमान भित्र्याएको थियो । बुद्ध एयरले कलसाइन ९ एन–एएनक्यु, ९ एन–एएनडब्ल्यु र ९ एन–एओसी भएका तीनवटा एटिआर ७२–२१२ ए विमान फ्लीटमा समावेश गरेको थियो । त्यस्तै, सिम्रिक एयरले सोही वर्ष ९ एन-एएनएक्स कलसाइनको बेल ५०५ हेलिकप्टर भित्र्याएको थियो । नयाँ चार हेलिकोप्टर कम्पनी भित्रिँदै प्राधिकरणका अनुसार नेपालमा हाल सञ्चालनमा रहेका वायुसेवा कम्पनीहरूको कुल जहाज संख्या निरन्तर बढ्दो क्रममा रहेको छ । हवाई क्षेत्रमा जहाज थपिने क्रमले नेपालको पर्यटन क्षेत्र पुनरुत्थानको संकेत पनि गरेको सरोकारवालाहरू बताउँछन्। कोभिड-१९ महामारीपछि हवाई सेवा क्रमशः सामान्य बन्दै जाँदा कम्पनीहरूले दीर्घकालीन योजना अनुसार विमान थप्दै गएका छन् । प्राधिकरणका अनुसार हेली एयर नेपाल, सगरमाथा एयर, गगनचुम्बी एयर र सुमेदा एयरले वायुसेवा सञ्चालन प्रमाणपत्रका लागि विस्तृत प्रस्ताव प्राधिकरणमा पेस गरेका छन् । सुमेदा एयर गैरआवासिय नेपाली व्यवसायीका रुपमा परिचित निरज गोविन्द्र श्रेष्ठले यो कम्पनीमा लगानी गरेर सञ्चालन गर्ने तयारी गरेका हुन् ।  नेपालमा पछिल्लो समय हेलिकप्टरको प्रयोग बढ्दै गइरहेको छ । विशेषगरी आकस्मिक उद्दार, व्यापारिक उडान, कार्गो उडानलगायतमा यसको प्रयोग बढ्दै गएको हेलिकप्टर व्यवसायीहरू बताउँछन् । 

कतारको नेपाली दूतावासले भन्यो- मोबाइल फोन पूर्ण चार्ज गरेर राख्नू,परिवारको सम्पर्कमा रहनू

काठमाडौं । कतारस्थित नेपाली दूतावासले नेपालीलाई मोबाइल फोन पूर्ण चार्ज गरेर नगद तथा महत्त्वपूर्ण परिचयपत्र आफ्नो साथमा राख्न आग्रह गरेको छ ।  नेपालमा रहेका आफ्ना परिवारसँग तथा कतारस्थित आफू बसेको क्षेत्रमा भएका नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन पनि अनुरोध गरेको छ । विभिन्न बहाना गरेर नेपालीलाई फोन गरी दुःख दिएको जनगुनासो आएको दूतावासले जनाएको छ । ठगीबाट जोगिन व्यक्तिगत तथा महत्त्वपूर्ण विवरण (कतारी आइडी, राहदानी, बैंक खाता, एटीएम कार्ड आदि सम्बन्धी विवरण) नदिन पनि दूतावासले अनुरोध गरेको छ । अफवाहपूर्ण सूचना सामग्री तथा घटनास्थलको तस्बिर/भिडियो सामाजिक सञ्जालमा सेयर नगर्न पनि अनुरोध गरेको छ ।   भीडभाडमा हुने स्थानमा आवश्यकता बाहेक नजान र कुनै अपरिचित शव वा शंकास्पद वस्तु नजिक नजान पनि दूतावासले आग्रह गरेको छ ।