नरेन्द्र विष्ट

संयुक्त वक्तव्यपछि नाडा नफुटेको चौधरीको दावी, अझै अन्यौलमा अटो शो

काठमाडौं ।  लामो समयदेखि अटोमोबाइल व्यवसायीहरूलाई समेट्ने साझा संस्था नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा ) बाट छुट्टिएर बनेको नयाँ संस्था नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएन (नाइमा)  दुवै संस्था एकअर्काका परिपूरक भएर जाने विषयले अटो क्षेत्र तरंगित बनेको छ । अटो क्षेत्रमा नाडा हुँदाहुँदै अर्को संस्था जन्मिनु र नाडा अटो शो संकटमा परेको चर्चा सेलाउन नपाउँदै नाइमा र नाडा एक अर्काको परिपूरक भएर जाने विषय एकाएक चर्चामा आएको हो । नाइमाको आधिकारिक घोषणा नै भएको छैन । नाइमाले आगामी वैशाख ४ गते मात्रै आफ्नो उद्देश्य तथा कार्यदिशा सार्वजनिक गर्ने बताएको छ । तर, आइतबार नाडा र नाइमाले संयुक्त रूपमा अटो क्षेत्रको विकासका  लागि सहकार्य गरेको भन्दै विज्ञप्ति निकाले । यसले अब नाडाले अटो शो गर्छ वा नाइमाले पनि आफ्नै आयोजनामा अटो शो गर्छ भन्ने आममानिसमा खुलदुली छ ।  संयुक्त विज्ञप्ति र तस्बिरहरू सार्वजनिक गरिए पनि आगामी भदौमा हुने नाडा अटो शोलाई कसरी अगाडि बढाउने भन्ने विषयमा भने कुनै छलफल नै भएको छैन । हालसम्म नाडाले घोषणा गरेको अटो शोमा तीन व्यावसायीक घरानाबाहेक कसैले पनि इच्छा देखाएको छैन । जसका कारण नाडा अटो शो के हुन्छ र कसरी अगाडि बढ्छ भन्ने अन्यौल कायमै छ । यो विषयमा नाइमा र नाडालाई बुझ्दा उनीहरूले अहिले कुनै छलफल नभएको बताउँछन् ।  नाइमामा आवद्ध रहेका एक सदस्यका अनुसार सहकार्य गर्ने तर अटो शोलगायत अन्य सबै कामहरू छुट्टाछुट्टै गरिने बताए ।  ती सदस्यले भने, ‘हामीले नाडालाई आयातकर्ताका रूपमा सहयोग गर्नेछौं । सहकार्य भनेको एउटै भएर जाने भनेका होइनौं । दुवै संस्थाको काम एउटै प्रकृतिको भएकाले हामीले सँगै जाने भनेका हौं । तर कामहरू फरक फरक नै हुन्छन् । नाडाले आफ्नो तरिकाले गर्छ भने हामीले आफ्नो तरिकाले गर्छौं ।’  'तपाईंलाई लाग्न सक्छ नाइमा नाडासँग मिलेर एउटै अटो शो गर्छन् भनेर तर हामी नाडा अटो शोमा सामेल हुदैनौं । हामीले मोबिलिटीको आयोजना गर्छाैं । मोबिलिटीको तयारी तीव्र रूपमा भइरहेको छ । अब छिट्टै स्टल बुकिङ खुलाउछौं,’ ती सदस्यले भने ।  उनले नाडा अटो शोमा आफूहरू सामेल हुन नसक्ने दाबी गरे । नाइमाले मोबिलिटी शो स्टल बुकिङको तयारी गरिरहेको समेत उनले जानकारी दिए ।  नाडाका अध्यक्ष करण चौधरी भने नाडा नफुटेको दावी गरिरहेका छन् ।  उनले विकासन्यूजलाई भने, ‘हामीले संयुक्त विज्ञप्ति निकालेका छौं । भ्रम फैलाइएको थियो । त्यही भ्रमलाई पुष्टि गर्नलाई छलफल गरेका हौं र नाडा  र नाइमा दुवै संस्थामा सदस्यहरू आवद्ध छन् ।’ उनले उक्त छलफलमा नाडा अटो शोका विषयमा कुनै छलफल नभएको बताए । अझै धेरै दिन बाँकी रहेकाले यसबारे पछि नै छलफल गरिने भनाइ उनको छ । भर्खरै पोखरामा नाडाको नेतृत्वमा सम्पन्न भएको वाडा अटो शोमा विभिन्न ३० वटा ब्राण्डका गाडीहरू सहभागिता रहेको थियो । वाडा अटो शोमा सबै गाडीहरू उपस्थित हुनुले नाडा अटो शोमा पनि उत्तिकै सहभागी रहने नाडाका एक सदस्यले दावी गरे । उनले भने, ‘भर्खरै पोखरामा वाडा अटो शो सम्पन्न गरेका छौं। राम्रो भएको छ । धेरैले बुकिङ गराएका थिए । नाडा अटो शोमा पनि धेरैले स्टल बुकिङ गर्ने अपेक्षा गरेका छौं ।’  यद्यपि ती सदस्यका अनुसार भदौ ३ गतेदेखि सुरु हुने नाडा अटो शोमा हालसम्म चार पाङ्ग्रेतर्फ तीन ठूला कम्पनीबाहेक अन्यले स्टल बुकिङ गराएका छैनन् । यसैगरी, दुई पाङ्ग्रेतर्फ दुई कम्पनीले स्टल बुकिङ गराएका छन् ।  यता केही अटो व्यवसायीहरूले नाडा अटो शो नहुन सक्ने औंल्याउँछन् । नाइमासँग एक-अर्कासँग परिपूरक भएर जाने विज्ञप्ति जारी पछि नाडा अटो शो हुनेमा अटो व्यवसायीहरू मौन छन् । 

भारतमा नेपाली सामग्री निर्यातमा सहज, ‘बीआईएस’ प्रमाणपत्र भयो नवीकरण

काठमाडौं । भारतले केही समय अघि देखी रोक्का गरेको नेपाली सिमेन्ट, जस्तापाता, प्लाइउड लगायतका सामग्रीहरुको ‘बीआईएस’ प्रमाणपत्र नवीकरण गरेको छ । निर्यात सहजीकरणको लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गरेको कूटनीतिक पहलपछि  प्रमाणपत्रहरूको नवीकरण गरिएको हो ।  मन्त्री भण्डारीले आफ्नो औपचारिक भारत भ्रमणका बेला समकक्षी पीयूष गोयलसँगको भेटका क्रममा यस विषयमा छलफल गरेका थिए । उनले नेपाली वस्तुहरु भारत निर्यात गर्न र भारतीय बजारमा विक्रि वितरणको सहजीकरणका लागि पहल गरेका थिए ।  यसैगरी गत पौष २७ र २८मा भएको नेपाल–भारत वाणिज्य सचिव स्तरीय बैठकमा ‘बीआइएस’ प्रमाणपत्र प्राप्ति, नवीकरण तथा निर्यात सहजीकरणको विषयमा विशेष छलफल भएको थियो । उति बेला यो विषय नेपालका तर्फबाट प्राथमिकताका साथ उठेपछि भारतीय पक्षले समस्या समाधानको लागि प्रतिबद्धता जनाएको थियो ।  भारत सरकारले सिमेन्ट, जस्तापाता, प्लाइउड, सेनेटरी प्याड, फुटवेयर लगायतका सामग्री निर्यातमा ‘बीआइएस’ प्रमाणपत्र अनिवार्य गरेको छ । २८ फेव्रअरी २०२५मा राजपत्रमा सूचना प्रकाशित गर्दै स्वदेशी(भारतीय) तथा विदेशबाट आयात हुने सामग्रीमा ‘बीआइएस’ अनिवार्य गरेको हो ।  भारतले ‘बीआइएस’ प्रमाणपत्र नवीकरण नगर्दा नेपालबाट पाँच महिनादेखि भारततर्फ सिमेन्ट निर्यात र एक महिनादेखि प्लाइउड निर्यात रोकिएको थियो । बीआइएस प्रमाणपत्र नवीकरणको विषयलाई लिएर नेपालका व्यवसायीहरू समेत भारत गएका थिए ।    ‘बीआइएस’ प्रमाणपत्र प्राप्त गरेपछि निर्यात सहज हुने नेपाल प्लाइउड उत्पादक सङ्घका अध्यक्ष होमप्रसाद घिमिरेले बताए । उनले भारतले अहिले धमाधम बीआईएस नवीकरण गरिरहेको बताए । उनले भने ‘अहिले अहिले १०–१२ वटा उद्योगले बीआईएस नवीकरण भएको छ, अरू उद्योगको पनि आउने क्रममा छ । हाम्रो नयाँ प्रमाणपत्र प्राप्त गरेका हौँ, जसले गर्दा निर्यात सहज हुनेछ ।’ केही समयअघि भारत निर्यातका लागि काँकडभिट्टा पुर्याइएका ३४ ट्रक प्लाइउड बीआईएस प्रमाणपत्रको अभावमा नाकामै रहेको उनले बताए ।  केही सिमेन्ट कम्पनीहरूले पनि बीआईएस नवीकरण भएपछि भारततर्फ सहज रूपमा सिमेन्ट निर्यात हुन लागेको बताएका छन् । अहिले एक महिना म्याद बाँकी रहेका दुई–तीन वटा सिमेन्ट उद्योगले भारतमा निर्यात गरिरहेका छन् भने, नवीकरण नभएका आधा दर्जन सिमेन्ट उद्योगहरू एक महिनाभित्र बीआईएस पाउने सूचीमा रहेको उद्योगीहरूको भनाई छ  ।