कालीगण्डकी करिडोर : खामभित्तामा पहिरो रोकथाम योजना
म्याग्दी । बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा पर्ने खामभित्तामा पहिरो रोकथाम आयोजना सञ्चालन भएको छ । बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले खामभित्ता क्षेत्रको ३०० मिटरमा पहिरो र कटान रोकथाम आयोजना सञ्चालन गरेको हो । आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार पहिरो नियन्त्रणका निम्ति निर्माण कम्पनीसँग रु सात करोडमा ठेक्का सम्झौता भएको छ । पर्खाल निर्माणको काम सकिएपछि बायोइन्जिनियरिङ पनि गरिने छ । बेनी–जोमसोम–कोरला ७६ किलोमिटर सडकअन्तर्गत रु २५ करोडको लागतमा खामभित्ताका साथै रघुगङ्गा गाउँपालिका–२ तल्लो र माथिल्लो बैसरी, नागढुङ्गा, गुइँठेभिर, खामभित्ता, लाटोखोला, रुप्से, सेतोखोला र लार्जुङ खण्डमा पहिरो तथा कटान रोकथाम योजना सञ्चालन गरेको छ । ‘रक एङ्करिङ’, ‘पलम पर्खाल’, ‘बायोइन्जिनियरिङ’, ‘थ्रिडिमेस’ प्रविधिबाट पहिरो रोकथाम गर्न लागिएको आयोजना प्रमुख शर्माले बताए । चालु आर्थिक वर्षभित्र योजना सम्पन्न गर्ने लक्ष्य छ ।
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १५ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार भक्तपुर नगरपालिका–१० भत्केको पाटीबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने १५ ट्याब्लेटसहित दोलखाको चरिकोट नगरपालिका–६ का विशाल भण्डारीलाई पक्राउ गरिएको छ । यसैगरी, कैलालीको धनगढी उपमहानगरपालिका–३ मोहना नदी किनारबाट लागुऔषध खैरो हेरोइनसहित सोही उपमहानगरपालिका–३ का एक किशोर, बाँकेको राप्तीसोनारी गाउँपालिका–६ कुण्डा चोकबाट खैरो हेरोइनसहित दुई जना, सुनसरीको इनरूवा नगरपालिका–४ बसचोकबाट एक, इटहरी उपमहानगरपालिका–१८ पटेर्वाबाट सोही लागुऔषध र नगद रु ४७ हजार ५०० सहित एक जनालाई पक्राउ गरिएको छ । त्यसैगरी, भोक्राहानरसिंह गाउँपालिका–६ बाट एक, धरान उपमहानगरपालिका–१७ बाट दुई जना, दाङको तुलसीपुर उपमहानगरपालिका–१७ दुधरासबाट एक, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ बाट दुई र कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुईबाट तीन जनालाई पक्राउ गरिएको जनाइएको छ । सबै अभियुक्तहरूबाट खेरो हेरोइन बरामद गरिएको तथा उनीहरू बुधबार र बिहीबार पक्राउ परेका हुन् ।
८ कम्पनीमाथि छानबिन हुने, कर छली परीक्षण गरिँदै
काठमाडौं । आन्तरिक राजस्व कार्यालय भद्रपुर र बागलुङले गरी ८ जना करदातामाथि पुनः कर परीक्षण गर्ने भएको छ । भद्रपुर झापाका ३ र बागलुङका ५ करदाता गरी कुल ८ करदाताको कारोबारमाथि विस्तृत कर परीक्षण हुने भएको हो । भद्रपुरस्थित आन्तरिक राजस्व कार्यालयले रोहन निर्माण सेवा, ओम शिवम् ट्रेडर्स र ए.एस.एम. इन्टरनेशनललाई १५ दिनभित्र आवश्यक कागजात तथा विवरण पेश गर्न निर्देशन दिएको छ । कार्यालयका अनुसार मूल्य अभिवृद्धि करमा दर्ता रहेका करदाताको खरिद-बिक्री, आयात-निर्यात, डेबिट-क्रेडिट समायोजन, आय विवरण, खर्च, सम्पत्ति तथा दायित्वसँग सम्बन्धित सम्पूर्ण कागजात प्रमाणित गर्नुपर्नेछ । त्यस्तै, आन्तरिक राजस्व विभागको एकीकृत कर प्रणालीमा देखिएको मिसम्याच विवरण, अग्रिम कर कट्टी तथा आशिकुडा अनुसारका आयात-निर्यात विवरण पनि प्रमाणित गर्नुपर्ने छ । तोकिएको समयभित्र कागजात पेश नगरेमा आयकर ऐन, २०५८ तथा मूल्य अभिवृद्धि कर ऐन, २०५२ अनुसार कर निर्धारण गरिने चेतावनी समेत दिइएको छ । यस्तै, बागलुङस्थित आन्तरिक राजस्व कार्यालयले १. धौलागिरी हार्डवेयर्स एण्ड सप्लायर्स, म्याग्दी रारा हार्डवेयर एण्ड कन्स्ट्रक्सन सप्लायर्स, कालिका भगवती सप्लायर्स, शान्ति सप्लायर्स र न्यु मुक्तिनाथ डार्डवेयर एण्ड सप्लायर्सको कारोबारमाथि पूर्ण कर परीक्षण गर्ने भएको हो । कार्यालयले पटक-पटक सम्पर्क प्रयास र पत्राचार गर्दा पनि आवश्यक कागजात तथा जवाफ प्राप्त नभएपछि पुनः कर परीक्षणको प्रक्रिया अघि बढाएको हो । कार्यालयका अनुसार सम्बन्धित करदाताले पहिले नै आयकर ऐन, २०५८ बमोजिमको पत्र बुझिसके पनि आवश्यक कागजात पेश नगरेको पाइएको छ । करदातालाई १५ दिनभित्र स्वयं वा अधिकार प्राप्त प्रतिनिधिमार्फत कार्यालयमा उपस्थित भई कागजात पेश गर्न निर्देशन दिइएको छ ।
रवि लामिछाने फर्किंदै, परराष्ट्रमन्त्री खनाल भारत यात्रामा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमण पूरा गरी आज स्वदेश फर्किंदै छन् । जेठ १८ गतेदेखि भारत भ्रमणमा रहेका लामिछाने भ्रमण सम्पन्न गरी स्वदेश फर्किन लागेका हुन् । लामिछाने स्वदेश फर्किने दिन नै परराष्ट्रमन्त्री शिशिर खनाल आज भारत भ्रमणमा प्रस्थान गर्न लागेका छन् । भारतीय विदेशमन्त्री डा. एस. जयशंकरको सौहार्दपूर्ण निमन्त्रणामा मन्त्री खनाल भारत जान लागेका हुन् । नेपाल र भारतबीच नियमित रूपमा हुने उच्चस्तरीय भ्रमण आदान–प्रदानको सिलसिलाअन्तर्गत हुन लागेको यस भ्रमणले दुई देशबीचको ऐतिहासिक तथा बहुआयामिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ । भ्रमणका क्रममा सीमा समस्या लगायत नेपाल–भारतका आपसी सरोकार र प्राथमिकतासँग सम्बन्धित विषयमा छलफल हुने बताइएको छ । औपचारिक भ्रमणका सम्पूर्ण कार्यक्रम पूरा गरी परराष्ट्रमन्त्री खनाल जेठ २४ गते काठमाडौं फर्कने तालिका रहेको छ ।
भरतपुर कारागारका ५० जना कैदीमा ‘भाइरल’ ज्वरो
काठमाडौं । चितवनस्थित कारागारका ५० जना कैदी भाइरल ज्वरोबाट पीडित भएका छन् । जिल्ला कारागारका प्रमुख रवीन्द्र ढुङ्गानाका अनुसार हालसम्म ५० जना कैदीमा यो समस्या देखिएको हो । उनले भने, ‘दैनिक पाँचदेखि सात जनामा भाइरल ज्वरोबाट पीडित भएका छन् । समस्या दैनिक रुपमा बढको छ ।’ हाल कारागारमा ७१२ जना कैदी छन् । यसको क्षमता ६०० हो । यहाँ ५० जना महिला र ५५० जना पुरुषलाई राख्नसक्ने व्यवस्था भए पनि क्षमताभन्दा बढी बन्दीलाई राखिएको छ । भाइरल ज्वरोबाट पीडित भएकाहरुलाई छुट्टै कोठामा राखेर उपचार गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय र भरतपुर महानगरपालिकाको सहयोगमा औषधि व्यवस्थापन गरिएको प्रमुख ढुङ्गानाले बताए ।
अवैध पार्किङमाथि एक्सनमा उत्रिँदै महानगर, भाडाको १० प्रतिशत कर तिर्न उर्दी
काठमाडौं । काठमाडौं महानगरपालिकाले निजी स्तरबाट सञ्चालन भइरहेका पार्किङ व्यवसायलाई कानुनी दायरामा आउन निर्देशन दिएको छ । महानगरपालिका क्षेत्रभित्र निजी जग्गा, व्यावसायिक भवन, घर, पसल, ग्यारेज, वर्कशप, गोदाम, टहरा तथा खाली जग्गामा सञ्चालन भइरहेका पार्किङ व्यवसायले सम्बन्धित वडा कार्यालयमा अनिवार्य रूपमा दर्ता तथा नवीकरण गर्न निर्देशन दिएको हो । यस्तै, सम्पत्ति भाडामा लगाएबापत प्राप्त हुने रकममा १० प्रतिशत बहाल कर तिर्नुपर्ने कानुनी व्यवस्था रहेको स्मरण गराउँदै महानगरले आर्थिक ऐनअनुसार तोकिएको कर तथा शुल्क बुझाउन पनि आग्रह गरेको छ । महानगरले हाल सञ्चालनमा रहेका पार्किङ व्यवसायीलाई तत्काल कानुनी प्रक्रिया पूरा गर्न निर्देशन दिँदै अनुगमनका क्रममा दर्ता तथा नवीकरण नगरी व्यवसाय सञ्चालन गरेको पाइएमा कडा कारबाही गरिने चेतावनी दिएको छ । राजस्व चुहावट नियन्त्रण र व्यवसायलाई औपचारिक दायरामा ल्याउने उद्देश्यले महानगरले पछिल्लो समय विभिन्न व्यवसायमाथि अनुगमनलाई तीव्र बनाएको छ ।
सेयरधनीले नकिनेको सेयर बेच्दै यूनाइटेड अजोड, १०० रुपैयाँबाट बोलकबोल सुरु
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सले बिक्री नभई बाँकी रहेको हकप्रद सेयर गोप्य शिलबन्दी बोलपत्र प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले हकप्रद निष्काशनपछि अवितरित रहेको ७० हजार ४८० कित्ता सेयर बिक्री गर्ने भएको हो । कम्पनीका अनुसार बिक्री हुन बाँकी रहेको सेयरमध्ये संस्थापक समूहको ६३ हजार ८४७ कित्ता र सर्वसाधारण समूहको ६ हजार ६३३ कित्ता रहेको छ । उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति, कम्पनी तथा संघसंस्थाले जेठ २९ गतेदेखि असार ८ गतेसम्म आवेदन दिन सक्नेछन् । सेयर खरिदका लागि लगानीकर्ताले आफूले कबुल गरेको मूल्य उल्लेख गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । कम्पनीले न्यूनतम बोलकबोल मूल्य प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरेको छ । कम्पनीको सेयर बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ । इच्छुक लगानीकर्ताले लक्ष्मी सनराइज बैंकका विराटनगर, वीरगन्ज, जनकपुर, हेटौंडा, नारायणघाट, पोखरा, बुटवल, नेपालगन्ज, वीरेन्द्रनगर र धनगढी शाखाबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
१० महिनामा १६.७४ अर्ब उठ्यो राजस्व, २ महिनामा ३२ प्रतिशतको दबाब
नेपालगन्ज भन्सारः दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन काठमाडौं । नेपालगन्ज भन्सार कार्यालयले १० महिनामा लक्ष्यको करिब ६८ प्रतिशत राजस्व सङ्कलन गरेको छ । चालु आव २०८२/८३ का लागि २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार रुपैयाँ लक्ष्य निर्धारण गरिएकामा गत वैशाखसम्म १६ अर्ब ७३ करोड ९७ लाख ५९ हजार रुपैयाँ अर्थात् लक्ष्यको ६८.२ प्रतिशत असुली भएको हाे । नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलका अनुसार लक्ष्य पूरा गर्न २ महिनामा ३२ प्रतिशत राजस्व सङ्कलन गर्नुपर्ने चुनौती छ । भन्सार कार्यालयको मासिक लक्ष्य अुनसार हालसम्म कुनै पनि महिनामा राजस्व सङ्कलन हुनसकेको छैन । तर पछिल्लो २ महिना चैत र वैशाखमा भने राजस्व सङ्कलन बढेको छ । चालु आवको साउन, भदौ, असोज, कात्तिक, मङ्सिर, पुस र माघमा क्रमशः लक्ष्यको ७४, ६९, ८७, ७२, ८३, ८३ र ८८ प्रतिशतमात्र राजस्व असुली भएको छ । गत आव २०८१/८२ मा नेपालगन्ज भन्सारले लक्ष्यको ७४.६४ प्रतिशत राजस्व सङ्कलन गरेको थियो भने त्यसको अघिल्लो आव २०८०/८१ मा ६३.३५ प्रतिशत राजस्व सङ्कलन गरेको प्रमुख पौडेलले बताए । नेपाल-भारत सीमाको जमुनाहनाकामा एकीकृत जाँचचौकी सञ्चालनमा आएपछि आयात-निर्यात वृद्धि भई भन्सार राजस्व वृद्धि हुने अपेक्षा गरिए पनि केही वर्षयता लक्ष्य पूरा हुन नसकेको प्रमुख पौडेलको भनाइ छ । नेपालगन्ज भन्सारमा चालु आवको साउन महिनामा १ अर्ब ८६ करोड ६५ लाख ४६ हजार रुपैयाँ लक्ष्य रहेकामा ७४.१४ प्रतिशत अर्थात् १ अर्ब ३८ करोड ३७ लाख ८४ हजार रुपैयाँ, भदौमा १ अर्ब ९३ लाख ६४ हजार रुपैयाँ लक्ष्य रहेकामा ६९.७७ प्रतिशत अर्थात् १ अर्ब ३५ करोड १० लाख ९ हजार रुपैयाँ सङ्कलन भएको छ । त्यसैगरी, असोजमा १ अर्ब ९८ करोड ३१ लाख ३० लक्ष्य रुपैयाँ रहेकामा ८७.८३ प्रतिशत अर्थात् १ अर्ब ७४ करोड १६ लाख ५ हजार रुपैयाँ, कात्तिकमा २ अर्ब १२ करोड ६१ लाख ३० हजार रुपैयाँ लक्ष्य रहेकामा ७२.३० प्रतिशत अर्थात् १ अर्ब ५३ करोड ७० लाख ८२ हजार रुपैयाँ, मङ्सिरमा १ अर्ब ९६ करोड ३६ लाख १४ हजार रुपैयाँ लक्ष्य रहेकामा ८३.४५ प्रतिशत अर्थात् १ अर्ब ६३ करोड ८५ लाख १० हजार रुपैयाँ तथा पुसमा २ अर्ब ३ करोड ४५ लाख २१ हजार रुपैयाँ लक्ष्य रहेकामा १ अर्ब ६९ करोड ४४ लाख १३ हजार रुपैयाँ सङ्कलन भएको छ । यस्तै माघमा ८८.२४ प्रतिशत रहेकामा १ अर्ब ७० करोड १ लाख ८२ हजार रुपैयाँ, फागुनमा १ अर्ब ९३ करोड ३८ लाख १९ हजार रुपैयाँ लक्ष्य रहेकामा ८८.३२ प्रतिशत अर्थात् १ अर्ब ९३ करोड ३८ लाख १९ हजार रुपैयाँ, चैतमा २ अर्ब १७ करोड ८१ लाख ९६ हजार रुपैयाँ लक्ष्य रहेकामा ९८.३७ प्रतिशत अर्थात् २ अर्ब १४ करोड २५ लाख ५४ हजार रुपैयाँ र वैशाखमा २ अर्ब १५ करोड ८५ लाख २ हजार रुपैयाँ लक्ष्य रहेकामा ८५.३८ प्रतिशत अर्थात् १ अर्ब ८४ करोड २८ लाख २१ हजार रुपैयाँ सङ्कलन भएको प्रमुख पौडेलले बताए । नेपालगन्ज भन्सार कार्यालयको तथ्याङ्कअनुसार आव २०८१/८२ को साउनमा लक्ष्यको ७३.६७ प्रतिशत, भदौमा लक्ष्यको ६६.६२ प्रतिशत, असोजमा ६६.९१ प्रतिशत, कात्तिकमा ७६.४४ प्रतिशत, मङ्सिरमा ७६.२७, पुसमा ७१.१५ प्रतिशत, माघमा ७५.१३ प्रतिशत, फागुनमा ७३.६८ प्रतिशत, चैतमा ८२.५४ प्रतिशत र वैशाखमा ७७.७२ प्रतिशत राजस्व सङ्कलन भएको थियो ।