महानगरले गर्यो २ हजार ४२१ सडक आश्रितको उद्धार
काठमाडौं । काठमाडौँ महानगरपालिकाले ‘मानवतामा आधारित सहर’ निर्माण गर्ने लक्ष्यसहित सडक सहयोगापेक्षी रहित काठमाडौँ बनाउने अभियानलाई निरन्तरता दिएको छ । महानगरले मानव सेवा आश्रमसँगको सहकार्यमा २०७४ मंसिर १ गतेदेखि सडकमा आश्रित तथा सहयोगको अपेक्षामा रहेका व्यक्तिहरूको उद्धार, व्यवस्थापन, पारिवारिक पुनर्मिलन र सामाजिक पुनःस्थापनाको काम गर्दै आएको जनाएको छ । महानगरका अनुसार हालसम्म २ हजार ४२१ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये १ हजार ५७१ पुरुष र ८५० महिला रहेका छन्। यस अवधिमा ८८३ जनाको पारिवारिक पुनर्मिलन तथा ५३४ जनाको सामाजिक पुनःस्थापना गरिएको छ। सडकमा आश्रित व्यक्तिहरूको अवस्था र आवश्यकता पहिचान गर्न तिलगंगामा होल्डिङ सेन्टर सञ्चालन गरिएको छ। २०८३ वैशाख २० गते महानगरपालिका, पशुपति क्षेत्र विकास कोष, उपत्यका प्रहरी कार्यालय र मानव सेवा आश्रमबीच भएको सम्झौतापछि सञ्चालनमा आएको सेन्टरमा जेठ २१ गतेसम्म २०२ जनालाई सेवा प्रदान गरिएको छ। तीमध्ये ६३ जनाको पारिवारिक पुनर्मिलन, ७१ जनाको सामुदायिक पुनःस्थापना र ४२ जनाको स्वेच्छिक बहिर्गमन भएको छ। महानगरले २०७६ असोज २० गते पशुपति क्षेत्रलाई मगन्तेरहित क्षेत्र घोषणा गरी माग्ने पेशालाई निरुत्साहित गर्ने अभियानसमेत सुरु गरेको थियो । २०८२ मंसिर १७ गते मानव सेवा आश्रमसँग पुनः सम्झौता गरी सहयोगापेक्षी व्यक्तिहरूलाई मानवोचित बासस्थान, स्याहार तथा पुनःस्थापनाको कार्यक्रमलाई थप प्रभावकारी बनाइएको जनाएको छ । उद्धार गरिएका व्यक्तिहरूमध्ये अधिकांशमा मानसिक तथा शारीरिक स्वास्थ्य समस्या, सामाजिक व्यवहारमा कमी, परिचय खुलाउन नसक्ने अवस्था, कुपोषण, घाउचोट तथा कुलतसम्बन्धी समस्या देखिएको महानगरले जनाएको छ । केही व्यक्ति पारिवारिक समस्या, लागूऔषध तथा मदिरा सेवनका कारण सडकमा पुगेका छन् भने कतिपयले माग्ने कार्यलाई पेशाका रूपमा अपनाएको पाइएको छ । उद्धारपछि आश्रममा रहँदा ३२३ जनाको निधन भएको तथ्याङ्क छ । हाल मानव सेवा आश्रममा ३४४ जना आश्रित रहेका छन् । महानगरले सहयोगापेक्षी व्यवस्थापनलाई बहुक्षेत्रीय विषयका रूपमा व्याख्या गर्दै गरिबी, अशिक्षा, बेरोजगारी, अपाङ्गता, कुलत, पारिवारिक तथा सामाजिक द्वन्द्वजस्ता कारण न्यूनीकरण गर्ने नीति तथा कार्यक्रम ल्याउने जनाएको छ । साथै, भविष्यमा कोही पनि सहयोगापेक्षी बन्न नपर्ने अवस्था सिर्जना गर्न व्यक्तिगत, पारिवारिक र सामाजिक व्यवस्थापनमा केन्द्रित दिगो संयन्त्र विकास गरिने उल्लेख गरेको छ । महानगरले अभियान सफल बनाउन मानव सेवा आश्रम, विभिन्न सरकारी तथा गैरसरकारी संस्था, स्वयंसेवक, सञ्चारकर्मी तथा अभियन्ताहरूको योगदानको उच्च प्रशंसा गरेको छ ।
७७९ विद्युतीय सवारी नियन्त्रण प्रकरणमा छानबिन समिति गठन
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले राजस्व छलीको आशंकामा विभिन्न स्थानबाट नियन्त्रणमा लिएका ७७९ वटा विद्युतीय सवारीसाधनका सम्बन्धमा विस्तृत छानबिन गर्न सरकारले एक समिति गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विशेष निर्देशनमा बिहीवार अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधिहरू सम्मिलित संयुक्त छानबिन समिति गठन गरिएको हो । प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार सरकार सुशासन र राजस्व रक्षाका मामिलामा सचेत रहेकाले तत्कालै समिति गठन गरी कानुनी प्रक्रिया अघि बढाइएको हो । समितिले सवारीसाधन नियन्त्रणमा लिइएकै स्थलगत रूपमै पुगेर द्रुत गतिमा छानबिन सुरु गरिसकेको उनले जानकारी दिए । विज्ञ दाहालले भनिन्, ‘सवारीसाधनको संख्या ठूलो भएकाले राजस्व र भन्सार सम्बद्ध सबै कानुनी कागजातहरूको सुक्ष्म अध्ययन र प्रमाणीकरण गर्न केही समय लाग्न सक्छ। छानबिन नसकिँदासम्म धैर्य गर्न र आश्वस्त रहन हामी अनुरोध गर्दछौं ।’ राज्यको अर्थतन्त्र र कानुन कार्यान्वयनलाई बलियो बनाउन सरकार प्रतिबद्ध रहेको उनले स्पष्ट पारे ।
सेयर बजारमा ५ अर्ब ६२ करोड रुपैयाँको कारोबार
काठमाडौं । शुक्रबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११.३७ अंकले घटेर २७५५.४१ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार शुक्रबार ७४ कम्पनीको सेयर मूल्य बढ्दा १८४ कम्पनीको सेयर मूल्य घटेको छ । ११ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । शुक्रबार ३५१ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार आँखु खोला जलविद्युतको भएको छ । आँखुको ५५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै सिटी होटलको १९ करोड, १०.२५ प्रतिशत एनबीबीएल डिभेन्चर २०८५ को १८ करोड ८६ लाख, सेन्ट्रल फाइनान्सको १८ करोड ५० लाख र रिडि पावरको १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । शुक्रबार कालिन्चोक हाइड्रोको सेयर मूल्य १५ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।
आगामी मौद्रिक नीतिको तयारीमा जुट्यो राष्ट्र बैंक, असार ५ गतेसम्म सुझाव दिनुपर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा जुटेको छ। केन्द्रीय बैंकले आगामी मौद्रिक नीतिलाई प्रभावकारी र सन्तुलित बनाउन विभिन्न सरोकारवाला, विज्ञ तथा सर्वसाधारणसँग राय-सुझाव माग गरेको हो । राष्ट्र बैंक ऐन, २०५८ बमोजिम आगामी आर्थिक वर्षको मौद्रिक नीति तर्जुमा प्रक्रिया अघि बढाइएको जनाएको छ । आर्थिक अनुसन्धान विभागले सूचना जारी गर्दै बैंक तथा वित्तीय क्षेत्र, निजी क्षेत्र, व्यवसायी, अर्थविद्, अनुसन्धानकर्ता तथा अन्य सरोकारवालालाई आफ्ना सुझाव उपलब्ध गराउन आग्रह गरेको हो । राष्ट्र बैंकले सुझाव पठाउन असार ५ गतेसम्मको समयसीमा तोकेको छ । प्राप्त सुझावका आधारमा बजेटले तय गरेका आर्थिक लक्ष्य तथा प्राथमिकतालाई सहयोग पुग्ने गरी मौद्रिक नीति तयार गरिनेछ । नेपाल राष्ट्र बैंकले हरेक वर्ष साउनको पहिलो वा दोस्रो साताभित्र मौद्रिक नीति सार्वजनिक गर्दै आएको छ । यस वर्ष पनि निर्धारित समयमै नीति ल्याउने तयारीस्वरूप केन्द्रीय बैंकले जेठ महिनादेखि नै राय–सुझाव संकलन प्रक्रिया तीव्र बनाएको हो ।
उबर नेपालमा भित्रियो, पर्यटन र शहरी यातायातमा नयाँ सम्भावना
काठमाडौं । विश्वव्यापी राइड–सेयरिङ कम्पनी उबरले नेपालमा आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । यससँगै नेपाल एशिया–प्रशान्त (एप्याक) क्षेत्रको ११औँ बजार बनेको छ भने दक्षिण एसियामा एक दशकपछि नयाँ बजार विस्तार भएको हो । कम्पनीका अनुसार नेपालमा ‘उबर गो’ र ‘उबर कम्फर्ट’ चारपांग्रे सवारी सेवासँगै दुईपांग्रे ‘उबर बाइक’ सेवा पनि उपलब्ध हुनेछ । यी सेवामार्फत यात्रुहरूले काठमाडौं उपत्यकाभित्र सजिलो, भरपर्दो र सुविधाजनक यात्रा गर्न सक्नेछन् । कम्पनीका अनुसार नेपाल ७० भन्दा बढी देशमा फैलिएको आफ्नो विश्वव्यापी सञ्जालमा जोडिएको छ । यसले प्रयोगकर्तालाई एउटै एपमार्फत विभिन्न देश र शहरमा सहज रूपमा यात्रा सेवा लिन सक्ने सुविधा दिनेछ । उबरका एशिया–प्रशान्त क्षेत्रीय राइड्स महाप्रबन्धक डोमिनिक टेलरले नेपाललाई तीव्र गतिमा विकास भइरहेको र डिजिटल प्रयोग बढ्दै गएको बजारका रूपमा व्याख्या गरेका छन् । 'एक दशकपछि दक्षिण एसियामा नयाँ बजार प्रवेशका रूपमा नेपाल हाम्रो लागि महत्वपूर्ण उपलब्धि हो,' उनले भने । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले उबरको आगमनले पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । 'यातायात पहुँच सुधारले पर्यटन विकासमा टेवा पुर्याउनेछ,' उनले भने । त्यस्तै, पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले उबरको प्रवेशलाई आधुनिक र डिजिटल यातायात प्रणालीतर्फको महत्वपूर्ण कदमको रूपमा लिएका छन् । उनका अनुसार यसले शहरी यातायात सुधारसँगै रोजगारी सिर्जनामा समेत योगदान दिने अपेक्षा गरिएको छ ।
नाडाको पहिलो ‘हरित ड्राइभ र्याली’ काठमाडौंमा सम्पन्न
काठमाडौं । नाडा अटोमोबाइल्स संघ नेपालले पहिलो पटक 'नाडा हरित ड्राइभ २०२६' र्याली कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । जेठ २२ गते विश्व वातावरण दिवस २०२६ को अवसरमा आयोजना गरिएको उक्त कार्यक्रम वातावरणमैत्री सवारी साधन प्रवर्द्धन गर्ने उद्देश्यसहित गरिएको हो । कार्यक्रममा विभिन्न ब्रान्डका विद्युत् (इलेक्ट्रिक) सवारी साधनहरूको सहभागिता रहेको थियो । र्याली नाडा सचिवालय टेकुबाट सुरु भई त्रिपुरेश्वर, दरबारमार्ग, नक्साल, गौशाला, तीनकुने, नयाँ बानेश्वर, माइतीघर मण्डला, थापाथली हुँदै कुपण्डोलस्थित द प्लाजामा पुगेर समापन गरिएको थियो । र्यालीमा सहभागी ९२ जनालाई नाडा अटोमोबाइल्स संघ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा पूर्व अध्यक्षहरू शम्भुप्रसाद दाहाल र कृष्णप्रसाद दुलालको समेत उपस्थिति रहेको थियो । प्रमाणपत्र वितरण कार्यक्रम नाडाका महासचिव मिलनबाबु मल्लले सञ्चालन गरेका थिए । र्यालीको सम्पूर्ण व्यवस्थापन नाडा केन्द्रीय कार्यसमिति सदस्य तथा वातावरण समितिका सभापति महेश पालले गरेका थिए । नाडा अटोमोबाइल्स संघ नेपालले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै सदस्य, सहभागी तथा साझेदार संस्थाहरूप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि यस्ता वातावरणमैत्री कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
एनआईसी एशियाका क्रेडिट कार्ड प्रयोगकर्ताले बिनाब्याज अनर स्मार्टफोन खरिद गर्नसक्ने
काठमाडौं । एनआईसी एशिया बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताले बिनाब्याज अनर स्मार्टफोन खरिद गर्नसक्ने भएका छन् । बैंक नेपालका लागि अनर ब्राण्डका स्मार्टफोनको आधिकारिक रिसेलर ईफिक्स प्रालिबीच सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट चिफ ट्रान्जेक्सन बैंकिङ नरेन्द्र मैनाली र ईफिक्स नेपालका तर्फबाट आइटी म्यानेजर अश्विन गोपाल शर्माले हस्ताक्षर गरे । यस सम्झौताअनुसार एनआईसी एशिया बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताहरूले कुनै पनि डाउनपेमेन्ट र अतिरिक्त ब्याज बिना अर्थात् शून्य प्रतिशत ब्याजदरमा अनर ब्राण्डका स्मार्टफोनहरू खरिद गर्न सक्नेछन् । ग्राहकहरूले आकर्षक स्मार्टफोनहरू खरिद गर्दा अधिकतम १२ महिनासम्मको अवधिमा मासिक किस्ताबन्दीमा रकम भुक्तानी गर्न पाउने लाभ हासिल गर्नेछन् । यसका लागि ग्राहकले बैंकको अनलाइन पोर्टलबाट सहजै आवेदन दिई आफ्नो भुक्तानीलाई मासिक किस्ताबन्दीमा रूपान्तरण गर्न सक्ने व्यवस्था मिलाइएको छ । त्यसैगरी विदेशमा रहेका नेपालीहरूले समेत नेपालमा आफ्ना परिवार तथा आफन्तजनका लागि स्मार्टफोन उपहार पठाउन सक्ने छन् । प्रवासी नेपालीहरूले ईफिक्स नेपालको वेबसाइटमा बैंकको अत्याधुनिक कार्डमा आधारित अनलाइन भुक्तानी गेटवे ुसाइबरसोर्सु प्रणालीमार्फत सुरक्षित भुक्तानी गरी यो सुविधा लिन सक्नेछन् । यस साइबरसोर्स प्रणालीमा जुनसुकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकहरूद्वारा जारी गरिएका भिसा र मास्टरकार्ड सहजै प्रयोग गर्न सकिने व्यवस्था रहेको छ ।
भारतले रुसबाट सस्तो तेल र कोइला किनेको भन्दै अमेरिका आक्रोशित, के भन्छन् पुटिन ?
काठमाडौं । भारत र रुसबीच बलियो बन्दै गएको व्यापारिक सम्बन्ध के अमेरिकालाई मन परिरहेको छैन ? रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको इशारा यतैतर्फ देखिएको छ । उनले एउटा कार्यक्रममा भारत र रुसबीच बलियो बन्दै गएको व्यापारिक सम्बन्धलाई लिएर अमेरिकाको तर्फबाट नयाँ दिल्लीमाथि दबाब सिर्जना भइरहेको बताएका छन् । यद्यपि यस क्रममा पुटिनको दृष्टिकोण भारतप्रति सकारात्मक देखियो र उनले भारतको रणनीतिक स्वायत्तताको खुलेर समर्थन पनि गरे । पुटिनले आगामी वर्षहरूमा भारत र रुसबीचको द्विपक्षीय व्यापार १०० अर्ब डलरको आँकडामा पुग्ने विश्वास व्यक्त गरे । रुसी राष्ट्रपतिले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वको प्रशंसा गर्दै भारत आफ्नो स्वतन्त्र विदेश नीतिमा अडिग रहेको र कुनै पनि बाह्य दबाबका सामु नझुक्ने बताए । पुटिनले अमेरिकाले लगातार भारतलाई रुससँगको सहकार्य कम गर्न दबाब दिइरहेको तर यी प्रयासहरू कहिल्यै सफल नहुने दावी गरे । विश्वकै सबैभन्दा बढी जनसङ्ख्या भएको देश भारत र प्रधानमन्त्री नरेन्द्र मोदीमाथि दबाब सिर्जना गर्नु अन्तर्राष्ट्रिय सम्बन्धका लागि हानिकारक छ भन्ने कुरा सबैले बुझिसकेको पुटिन बताउँछन् । पुटिनले अमेरिकासँग भारतको बढ्दो साझेदारीले रुससँगको उसको परम्परागत र दीर्घकालीन सम्बन्धमा कुनै असर नपरेको पनि दावी गरे । ‘अमेरिका रुससँगको सहकार्यलाई लिएर भारतमाथि दबाब दिने प्रयास गरिरहेको छ। तर भारतले यस्ता प्रयासहरूको कडा प्रतिरोध गर्नेछ र ऊ झुक्ने छैन,’ पुटिनले भने । विश्वव्यापी रूपमा जारी भू–राजनीतिक तनावका बाबजुद पुटिनले रुस र भारतको आर्थिक सम्बन्ध आगामी दिनमा अझ तीव्र गतिमा बढ्ने बताए । उनले भारतीय अर्थव्यवस्थाको गतिको खुलेर प्रशंसा गरे । पुटिनका अनुसार भारत विश्वका प्रमुख अर्थव्यवस्थामा सामेल छ र वर्तमान समयमा आर्थिक विकासको एक प्रभावशाली र शानदार दर प्रदर्शन गरिरहेको छ । उनले भारतको यो आर्थिक सफलता अचानक प्राप्त नभएको बरु यो पीएम नरेन्द्र मोदीको नेतृत्वमा भारत सरकारद्वारा गरिएको कडा परिश्रम र नीतिगत निर्णयहरूको परिणाम भएको बताए । दुई देशबीच बलियो बन्दै गएको कच्चा तेल, रासायनिक मल र कोइला व्यापारको बलमा पुटिनले चाँडै नै द्विपक्षीय व्यापारलाई १०० अर्ब डलर पुर्याउने आशा व्यक्त गरे । युक्रेन संकट र हालैका विश्वव्यापी घटनाक्रमपछि बढेको कूटनीतिक ध्रुवीकरणका बाबजुद भारतले रुस र अमेरिका दुवैसँगको आफ्नो सम्बन्धमा उत्कृष्ट सन्तुलन कायम राखेको छ । एकतर्फ भारतले अमेरिकासँग रणनीतिक साझेदारी बढाइरहेको छ भने अर्कोतर्फ राष्ट्रिय हितलाई सर्वोपरि राख्दै रुसबाट कच्चा तेलको आयात र ऊर्जा सहकार्यलाई रेकर्ड स्तरमा पुर्याएको छ । पुटिनको यो अभिव्यक्तिले यही भारतीय दृढतामाथि रुसको विश्वासलाई दर्शाउँछ । अन्य पठनीय सामग्रीहरू : इजरायल र लेबनानबीच युद्धविरामको सहमति, के इरानसँग पनि सम्झौता होला ? मध्यपूर्वको लामो युद्धले विश्व अर्थतन्त्र संकटमा, मन्दी र उच्च मुद्रास्फीतिको चेतावनी चिप प्लान्ट बनाउन १.५ अर्ब डलर लगानी गर्दै सामसङ इरान र अमेरिका युद्धविरामको सहमति नजिक फरारीको पहिलो ईभी ‘लुचे’ सार्वजनिक, सेयर बजारमा गिरावट आउँदा ५.५ अर्ब डलर घाटा तेल र ग्यास आपूर्ति सुरक्षित राख्न यूएई र कतारको ‘डार्क ट्रान्जिट’ रणनीति अर्बपति वुओङको ७ अर्ब डलरको रहस्यमयी कारोबार कमजोर हुँदै भारतीय रुपैयाँ नयाँ विश्व व्यवस्थाको केन्द्र बन्दै चीन इरान र अमेरिकाबीच बल्झिएका ५ मुद्दाहरू पौने दुई करोड डलर जरिवाना तिर्न अडानी समूह सहमत इरानलाई आणविक हतियार निषेध गर्ने अमेरिका-चीनबीच सहमति