निर्वाचन बिथोल्न खोज्ने नेकपा बहुमतको कार्यकर्ता कीर्तिपुरबाट पक्राउ
काठमाडौं । निर्वाचन हुन नदिने भनेर प्रचारप्रचार गर्ने एक व्यक्ति पक्राउ परेका छन् । शुक्रबार अछामका ३९ वर्षीय तपेन्द्र तिमिल्सेनलाई कीर्तिपुरबाट पक्राउ गरिएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार तिमिल्सेनले पर्चा, पम्प्लेट, सामाजिक सञ्जाललगायतबाट निर्वाचनको विरोध गरेका थिए । उनीविरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान कार्य भइरहेको छ । निर्वाचन सम्पन्न हुन नदिने भनी सर्वसाधारण मानिसमा झुटा अफवाह फैलाएर भय त्रासको वातावरण सृजना गरी उम्मेदवारलाई समेत असुरक्षा हुने किसिमको काम गरेको प्रहरीले जनाएको छ । तिमल्सेन नेकपा बहुमतको सचिवालय सदस्यसमेत हुन् ।
मानव अधिकार आयोग भन्छ– युद्धप्रभावित मुलुकमा रहेका नेपालीको सुरक्षा र उद्दारमा ध्यान देऊ
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले युद्धप्रभावित मुलुकमा रहेका नेपालीहरूको सुरक्षा र उद्दारमा ध्यान दिन सरकारलाई निर्देशन दिएको छ । इरानमा भएको इजरायल–अमेरिकी आक्रमणका कारण मध्यपूर्वी मुलुकहरूमा देखिएको अन्यौलग्रस्त अवस्था र त्यसबाट त्यस क्षेत्रमा रहेका नेपाली नागरिकहरूमा पर्न जाने प्रभावका सम्बन्धमा आयोगको गम्भीर ध्यानाकर्षण गराएको छ । युद्धका कारण नेपालीहरूमा पर्न जाने असुविधाप्रति आयोगले गम्भीर चासो र चिन्ता व्यक्त गरेको छ। ‘राज्य नागरिकको अभिभावक भएको हुँदा विश्वका जुनसुकै मुलुकमा रहेका भए पनि आफ्ना नागरिकको सुरक्षा, संरक्षण र आवश्यकताअनुसार उद्दार गर्नु राज्यको दायित्वभित्र पर्दछ । यस विषम परिस्थितिमा सरकारले युद्धग्रस्त तथा प्रभावित देशहरूमा रहेका आफ्ना नागरिकको सुरक्षा र संरक्षणका लागि तथ्यांक संकलन गर्ने, पछिल्लो वस्तुस्थितिको बारेमा आवश्यक जानकारी लिने र जोखिममा रहेका नागरिकहरूलाई उद्दार गरी स्वदेश फर्काउन तत्काल पहलकदमी लिनुपर्दछ,’ आयोगले भनेको छ, ‘यसका लागि सरकारले आफ्ना कूटनीतिक नियोगहरूको प्रभावकारी परिचालन गर्नुका साथै सम्बन्धित देशका गैरआवासीय नेपाली संघ–संगठनहरूसँग समेत समन्वय र सहकार्य गर्नु आवश्यक छ ।’ युद्धग्रस्त तथा प्रभावित क्षेत्रमा रहेका नेपाली नागरिकहरूको सुरक्षा र संरक्षणको लागि तथ्यांक संकलन गर्न पनि आयोगले निर्देशन दिएको छ । आयोगले जोखिमको आंकलन गर्न र अतिप्रभावित क्षेत्रमा रहेका नागरिकहरूको उद्दार गरी स्वदेश फर्काउन आयोग नेपाल सरकार तथा विदेशस्थित कुटनीतिक नियोगहरूलाई आग्रहसमेत गरेको छ । नेपाली नागरिकको सुरक्षा, उद्दारमा आवश्यक समन्वय तथा सहयोग गर्न आयोगले ती देशहरूमा रहेका गैरआवासीय नेपाली संघलाई समेत अनुरोध गरेको छ ।
युएईको शारजाहको लागि हुने नियमित उडान रद्द
काठमाडौं । दुबईको शारजाहका लागि नेपालबाट हुने नियमित उडान रद्द भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आइतबार (आज) बेलुका हुने एउटा र भोलिको लागि हुने तीनवटा उडान रद्द भएको हो । तीनवटै उडान एयर अरेबियाका हुन् । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले अरब मुलुकमा भएका युद्ध तनावका कारण उडान रद्द गर्नुपरेको जानकारी दिए । उनका अनुसार नेपालबाट शारजाह र शारजाह नेपालमा हुने दुवै उडान रद्द भएको हो। युद्ध तनावका कारण युएई, कतारलगायसत अन्य विमानस्थल बन्द भएका छन् भने उडानहरू रद्द भइरहेका छन्।
अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लामा राति १२ बजेदेखि नाका बन्द हुने
काठमाडौं । अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लामा आइतबार राती १२ बजेदेखि सीमा नाका बन्द हुने भएको छ । बिहीबार हुने प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न गराउने उद्देश्यले अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लाहरूमा सीमा नाका बन्द गर्न लागिएको हो । निर्वाचन सुरक्षा निर्देशिकामा निर्वाचन हुनुभन्दा ७२ घण्टा अगाडि सीमानाका बन्द गर्नुपर्ने प्रावधान छ । सोही प्रावधानअनुसार सीमानाका बन्द गर्न आयोगले सिफारिस गरेको सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए । सोहीअनुसार नै आइतबार राती १२ बजेदेखि मतदान सम्पन्न नहुन्जेलसम्मको लागि अन्तर्राष्ट्रिय सीमानाका बन्द गर्न लागिएको हो । उनले भने, ‘निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र बनाउने उद्देश्यले निर्वाचन आयोगले तयार गरेको निर्वाचन सुरक्षा निर्देशिका बमोजिम आज राती १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लाहरुमा अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्नको लागि निर्वाचन आयोगले नेपाल सरकारलाई सिफारिस गरे बमोजिम सीमा नाकाहरु बन्द रहनेछन् ।’ आयोगले सीमा नाका बन्दसम्बन्धी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायलाई आग्रह समेत गरेको छ । निर्वाचन अवधिभर सुरक्षालाई कडा बनाउँदै सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्न आयोगले विभिन्न सुरक्षा उपायहरू अवलम्वन गरिरहेको जनाएको छ ।
कामना सेवा विकास बैंकको अनुसन्धान अनुदानको म्याद चैत मसान्तसम्म थप
काठमाडौं । कामना सेवा विकास बैंकले एमफिल र स्नातकोत्तर अध्ययनरत सोधकर्ता विद्यार्थीहरुलाई प्रदान गर्ने अनुसन्धान अनुदान (रिसर्च ग्रान्ट) को आवेदन म्याद चैत मसान्तसम्म थप गरिएको छ । विभिन्न विश्वविद्यालय र विद्यार्थीको अनुरोधअनुसार म्याद बढाइएको हो । बैंकले अर्थशास्त्र र व्यवस्थापनमा एमफिल गर्दै गरेका विद्यार्थी र व्यवस्थापन, अर्थशास्त्र, कम्प्युटर साईन्स तथा सूचना प्रविधिमा स्नातकोत्तर गर्दै गरेका विद्यार्थीहरुलाई सोध कार्यका लागि अनुसन्धान अनुदान प्रदान गर्नेछ । आवेदकले कुनै पनि विश्वविद्यालयमा व्यवस्थापन वा अर्थशास्त्रमा मान्यता प्राप्त स्नातकोत्तर वा सम्बन्धित विषयमा भर्ना भएको हुनुपर्नेछ । बैंकले एमफिल गर्दै गरेका दुई जना विद्यार्थीलाई बैंकिङ र अर्थतन्त्रसँग सम्बन्धित विभिन्न क्षेत्रमा गरिने सोध कार्यका लागि जनही १ लाख रुपैयाँ र व्यवस्थापन, अर्थशास्त्र, कम्प्युटर साईन्स तथा सूचना प्रविधिमा स्नातकोत्तर गर्दै गरेका चार जना विद्यार्थीलाई बैंकिङ, अर्थतन्त्र, सूचना र प्रविधि सम्बन्धी सोध कार्यका लागि जनही ५० हजार रुपैयाँ अनुदान प्रदान गर्ने योजना बनाएको छ । अनुदान प्राप्त गर्न इच्छुक विद्यार्थीले सम्बन्धित कलेजको सिफारिससहित १३ अप्रिल २०२६ (चैत मसान्त) भित्र बैंकमा प्रस्तावना पेश गर्नुपर्नेछ । छनौट समितिले सम्बन्धित विषयका विज्ञहरुलाई समावेश गरेर अनुदान प्राप्त गर्ने विद्यार्थीको छनोट गर्नेछ । बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीका अनुसार विद्यार्थीले गर्ने सोध कार्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दृष्टिले भरपर्दो, प्रमाणित तथ्याङ्कमा आधारित र मौलिक हुनुपर्नेछ । यस अनुदानले एमफिल र स्नातकोत्तर गर्दै गरेका विद्यार्थीहरुलाई महत्वपूर्ण सहयोग पुग्ने बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विश्वविद्यालय र कलेजका विभिन्न संकायका विद्यार्थीलाई फेलोसिप रिसर्च ग्रान्ट प्रदान गर्न सकिने व्यवस्था भएपछि कामना सेवा विकास बैंकले अनुसन्धान अनुदान उपलब्ध गराउने भएको हो ।
दुई पटक मतदान गरे २५ हजार जरिवाना
काठमाडौं । निर्वाचन आयोगले एकपटक भन्दा बढी मतदान गर्ने मतदातालाई कारबाही गर्ने भएको छ । एकभन्दा बढी पटक मतदान गर्ने व्यक्तिलाई मतदान अधिकृतले २५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने आयोगले जनाएको छ । ‘कुनै पनि मतदाताले एउटै निर्वाचनमा एक पटकभन्दा बढी मतदान गर्न पाइँदैन,’ आयोगले भनेको छ ।
प्रतिनिधि सभा निर्वाचन : १ हजार ८६५ उम्मेदवारले खोले बैंक खाता
काठमाडौं । निर्वाचन प्रयोजनका निम्ति १ हजार ८६५ उम्मेदवारले मात्र बैंक खाता खोलेको निर्वाचन आयोगले जनाएको छ । आयोगका कानुन तथा राजनीतिक दल महाशाखा प्रमुख यज्ञप्रसाद भट्टराईले आजसम्ममा १ हजार ८६५ उम्मेदवारले खाता खोलेको विवरण प्राप्त जानकारी भएको बताए । उनका अनुसार १ हजार ५४१ उम्मेदवारले अझै बैंक खाता खोलेका छैनन् । १ सय ६५ निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फ ३ हजार ४०६ उम्मेदवार छन् । प्रत्यक्षतर्फ ६४ दल र स्वतन्त्र गरी तीन हजार ४०६ उम्मेदवार प्रतिस्पर्धामा छन् । ११ दलले बैंक खाता खोल्न सिफारिस लगेको आयोगले जनाएको छ । फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुँदैछ ।
हवाई आक्रमणमा इरानी सेनाका चिफ अफ स्टाफ र रक्षामन्त्रीको मृत्यु
काठमाडौं । इरानी सेनाका चिफ अफ स्टाफ अब्दुल रहिम मौसवी र रक्षामन्त्री अजिज नासिरजादेहको मृत्यु भएको छ । अमेरिका र इजरायलले गरेका आक्रमणहरूमा अन्य धेरै उच्च सैन्य अधिकारीहरू पनि मारिएका छन्। बीबीसी पर्सियनका अनुसार मौसवीको मृत्युको पुष्टि इरानी संस्था ‘द फाउन्डेसन फर द प्रिजर्भेसन अफ मोनुमेन्ट्स एण्ड डिसेमिनेशन अफ सेक्रेड डिफेन्स भ्यालुज’ ले गरेको हो । इरानी संस्थाले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘शनिबार भएका आक्रमणहरूमा मौसवीसँगै रक्षामन्त्री अजिज नासिरजादेह, रिभोलुसनरी गाड्र्सका कमान्डर मोहम्मद पाकपुर र सुप्रिम डिफेन्स काउन्सिलका अध्यक्ष अली शामखानी पनि मारिएका छन् ।’ विज्ञप्तिका अनुसार, ‘उनीहरू डिफेन्स काउन्सिलको बैठकका क्रममा मारिएका हुन् र मृत्यु हुने अन्य व्यक्तिहरूको नाम पछि सार्वजनिक गरिनेछ ।’ शृङ्खलाबद्ध हमलाहरू विशेष गरी इरानको उच्च सैन्य नेतृत्वलाई लक्षित गरी गरिएको पाइएको छ । यस आक्रमणमा हालसम्म कम्तीमा २०१ जनाको मृत्यु भएको आधिकारिक पुष्टि भए तापनि कतिपय अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले मृतकको संख्या एक हजार नाघेको अनुमान गरेका छन् । यो घटनामा सैन्य अधिकारीहरू मात्र नभई ठुलो संख्यामा सर्वसाधारण र बालबालिकाहरू पनि मारिएका छन् । विशेष गरी दक्षिणी इरानको मिनाबस्थित एउटा प्राथमिक विद्यालयमा भएको बमबारीमा १०८ जना बालबालिकाले ज्यान गुमाएका छन् । आक्रमणमा परी ७५० भन्दा बढी व्यक्ति घाइते भएका छन् र कतिपय क्षेत्रमा सञ्चार सेवा अवरुद्ध भएकाले क्षतिको पूर्ण विवरण आउन अझै बाँकी छ। यस घटनाले मध्यपूर्वमा तनावलाई चरम सीमामा पुर्याएको छ भने इरानले यसको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ ।