विकासन्युज

सार्वजनिक गाडीको भाडा घट्यो

काठमाडौं । यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातको भाडादरमा दुई प्रतिशतले घटाएको छ । विभागले इन्धनको मूल्य घटाएसँगै गाडी भाडा पनि घटाएको हो ।  यात्रुवाहक सवारी साधन, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी सबैका हकमा यो गिरावट लागू हुनेछ । उपत्यका तथा अन्तर जिल्लामा भने भाडा घटेको छैन । वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार इन्धनको मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले घटबढ हुँदा स्वचालित रूपमा भाडा समायोजन गर्नुपर्ने व्यवस्था छ । तर, इन्धनको मूल्य १८ प्रतिशतभन्दा बढीले घट्दा पनि विभागले सबै प्रकारका सवारी साधनमा २ प्रतिशत मात्र भाडा घटाउने निर्णय गरेको हो ।  विभागले यात्रुवाहक सवारी साधनको २ प्रतिशत घटी, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको २ प्रतिशत घटी र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी २ प्रतिशत घटी हुने किसिमले भाडा घटाएको छ । यो नयाँ भाडा दर असार १८ गतेदेखि लागू हुने विभागले जनाएको छ । 

सम्पत्ति शुद्धीकरण विभागलाई राजनीतिक प्रतिशोधको औजार बनाइयो : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पती शुद्धीकरण अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राखेर विगतमा राजनीतिक प्रतिशोधको कुसंस्कार बसाइएको भन्दै सरकार त्यसलाई सुधार गर्न काम गरिरहेको बताएका छन् ।  प्रतिनिधि सभाको बिहीबारको बैठकमा सम्पती शुद्धिकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ माथि दफावार छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।  उनले विगतमा विभागमा उजुरी थुपारेर राजनीतिक प्रतिशोधका आधारमा मन नपरेको मान्छेलाई दुःख दिने काम गरिएको बताए । भविष्यमा आर्थिक अपराधको अनुसन्धानका लागि भविष्यमा छुट्टै प्राधिकरण गठन गर्ने विषयमा समेत छलफल अगाडि बढाउनुपर्ने बताए । सम्पती शुद्धीकरण विभाग हाल प्रधानमन्त्री कार्यालय मातहत नभई अर्थमन्त्रालय मातहत रहेको समेत स्पष्ट पारे । उनले भने, ‘माननीयज्यूहरुमा एउटा भ्रम पाए मैले सम्पती शुद्धीकरण अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय छ, अख्तियारअन्तर्गत दिनुपर्छ भन्नुभयो । पहिला यो विभाग प्रधानमन्त्री कार्यालयअन्तर्गत रहेको थियो । र व्यापक रुपमा उजुरी संकलन गरेर पोलिटिकल हर्यासमेन्टको कुसंस्कार बसाइएको थियो ।’ अर्थमन्त्री वाग्लेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत सम्पती शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता र अभियोजन गर्ने अधिकार रहेको उल्लेख गर्दै हाल १३ वटा निकायले यस्तो मुद्दा चलाउन सक्ने कानुनी व्यवस्था रहेको बताए । मुलुकलाई ग्रे लिष्टबाट बाहिर निकाल्नुपर्ने अर्जेन्सीको कारण सरकारले विधेयक ल्याएको दाबी गरे ।  

यी हुन् मन्त्रिपरिषद् बैठकका ९ निर्णय

काठमाडौं । बिहीबार बसेको बैठकले महत्वपूर्ण ९ निर्णय गरेको छ । सरकारका प्रवक्ता सस्मित पोखरेल अनुसार सरकारले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई सरुवा गरेको छ ।  सरकारले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धर्मराज खड्का धनकुटालाई नियुक्त गर्ने निर्णय गरेको पोखरेलले बताए । उनका अनुसार सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा कैलालीका हिक्मतबहादुर रावललाई नियुक्त गरेको छ भने सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा मोरङका देवराज ढुंगानालाई नियुक्त गर्ने सरकारले निर्णय गरेको छ ।  यसैगरी शिक्षा १०औं संशोधन नियमावली, २०८३ स्वीकृत गर्ने र कमैया श्रम निषेध गर्ने सम्बन्धी पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत गरेको छ । सरकारले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेश गर्न स्वीकृति दिने, एग्रिमेण्ट अन्डर द युनाइटेड नेसन कन्भेन्सन अन द ल अफ द सी अन द कन्जर्भेसन एण्ड सस्टेनेबल युज अफ मरिन बायोलोजिकल डाइभर्सिटी अफ एरियाज बियोण्ड नेसनल जुरिसडिक्सनलाई अनुमोदनका लागि सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ ।  यस्तै, सरकारले राष्ट्रिय सदाचार नीति, २०८३ स्वीकृत गर्नुका साथै राष्ट्रिय विज्ञापन नीति, २०८३ स्वीकृत गरेको छ । 

गोरखापत्रको महाप्रबन्धकमा रावल नियुक्त, सुरक्षण मुन्द्रण केन्द्रमा ढुङ्गाना

काठमाडौं । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मतबहादुर रावललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले रावललाई महाप्रबन्धकमा नियुक्त गरेको हो ।  यस्तै, बिहीबारको बैठकले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा देवराज ढुंगाना लाई नियुक्त गरेको बताइएको छ ।    

अपडेट : कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

काठमाडौं । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा परेको यात्रुवाहक गाडी १४ जना सवार रहेको प्रारम्भिक अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क.प्र. ०२–००ख १०५५ नम्बरको गाडी आज सडकबाट करिब ४०० मिटर तल कर्णाली नदीमा खसेको थियो । दुर्घटनास्थल एक जना पहिचान नखुलेका पुरुषको शव फेला परेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । सो गाडी अनियन्त्रित भई नदीमा खसेको अनुमान गरिएको छ । दुर्घटनास्थलमा उद्धारका ३५ जनाको प्रहरी टोली उद्धारका लागि खटिएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

देउवा समूहको बैठक शुक्रबार, राष्ट्रिय भेलाको विषयमा छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पूर्व सभापति शेरबहादुर देउवा समूहका नेताहरूको बैठक शुक्रबारका लागि बोलाएका छन् । खड्काको निजी निवासमा बस्ने बैठकमा सातै प्रदेशमा हालै सम्पन्न प्रदेश भेलाको समीक्षा गर्नुका साथै आगामी राजनीतिक तथा संगठनात्मक रणनीतिबारे विस्तृत छलफल हुने जनाइएको छ । देउवा समूहका एक पूर्वपदाधिकारीका अनुसार प्रदेशस्तरीय कार्यक्रम सम्पन्न भइसकेकाले अब राष्ट्रियस्तरको भेला आयोजना गर्ने तयारीलाई अगाडि बढाउने विषय बैठकको मुख्य एजेन्डा हुनेछ । यसका साथै आगामी १५औँ महाधिवेशनलाई लक्षित गर्दै संगठनलाई थप सक्रिय र व्यवस्थित बनाउने विषयमा समेत नेताहरूबीच छलफल हुने बताइएको छ । बैठकमा १५औँ महाधिवेशनको तयारीका लागि सम्पर्क कार्यालय स्थापना गर्ने, राष्ट्रिय भेला आयोजना गर्ने, प्रदेश भेलाबाट आएका सुझाव तथा निष्कर्षको समीक्षा गर्ने र संस्थापनइतर पक्षको साझा रणनीति तय गर्ने विषयमा निर्णय हुन सक्ने नेताहरूले बताएका छन् । कांग्रेसभित्र महाधिवेशनको तयारी क्रमशः तीव्र बन्दै गइरहेका बेला संस्थापनइतर पक्षले देशव्यापी रूपमा संगठन विस्तार र कार्यकर्तासँगको संवादलाई प्राथमिकतामा राख्दै आएको छ । सातै प्रदेशमा सम्पन्न भेलामार्फत प्राप्त सुझावलाई समेटेर अब राष्ट्रिय भेलामार्फत साझा धारणा निर्माण गर्ने तयारी गरिएको नेताहरूको भनाइ छ । आगामी महाधिवेशनलाई लक्षित गर्दै संस्थापनइतर पक्षले आफ्नो संगठनात्मक संरचना थप मजबुत बनाउने र नेतृत्व चयनको रणनीतिलाई व्यवस्थित ढङ्गले अघि बढाउने तयारी गरिरहेको सन्दर्भमा शुक्रबारको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको कांग्रेस का एक नेताले बताए ।

सरुवा वा अवकाशपछि पनि चार हजार बढी विमानस्थल प्रवेश पास सक्रिय

काठमाडौ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको प्रतिबन्धित क्षेत्रमा प्रवेशका लागि जारी गरिएका चार हजारभन्दा बढी प्रवेश पास कर्मचारी सरुवा, अवकाश, राजीनामा वा सेवा छाडिसकेपछि पनि प्रणालीमा सक्रिय रहेको पाइएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनमा गरिएको अध्ययन प्रतिवेदनले हाल कार्यरत नरहेका कर्मचारीको चार हजार ७२ वटा पास सक्रिय ‘एक्टीभ’ देखिएको पाइएको प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिईन् । उनका अनुसार प्रधानमन्त्री कार्यालयको निर्देशन र समन्वयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिबन्धित क्षेत्रमा प्रवेशका लागि जारी गरिएका उक्त सक्रिय रहेका पुराना प्रवेश पास निष्क्रिय गर्ने प्रक्रिया तीव्र बनाइएको छ । प्राधिकरणका महानिर्देशक मुकेश डङ्गोलका अनुसार हाल कार्यरत नरहेका तर प्रणालीमा सक्रिय देखिएका चार हजार ७२ प्रवेश पासमध्ये ५०७ वटा सङ्कलन गरी प्वाल पारेर नष्ट गर्ने तथा प्रणालीबाट निष्क्रिय गर्ने प्रक्रिया सुरु गरिएको छ । सरुवा भएर गएका कर्मचारीका पास फिर्ता गराउन सम्बन्धित निकायलाई परिपत्र जारी गरिएको, केही पास कर्मचारीले स्वेच्छाले फिर्ता गरेका र केहीलाई फोनमार्फत सम्पर्क गरी फिर्ता मागिएको महानिर्देशक डङ्गोलले जानकारी दिए । प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दाहालका अनुसार सरकारले विमानस्थलको सुरक्षा र संवेदनशीलतालाई उच्च प्राथमिकतामा राखेर आवश्यक सुधारका काम तत्काल कार्यान्वयन गरिरहेको छ । प्रधानमन्त्री कार्यालयले प्रभावकारी बनाउन सचिव गोविन्दबहादुर कार्कीलाई समन्वयको जिम्मेवारी दिएको छ । सोही समन्वयमा विमानस्थल सुरक्षासम्बन्धी अध्ययन, अनुगमन तथा सुधारका कामसमेत अघि बढाइएको छ । प्राधिकरणका अनुसार सन् २०२४ जनवरी १ देखि हालसम्म त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका लागि फोटोसहितका स्थायी प्रवेश पास १२ हजार ४०२ र फोटोरहित अस्थायी पास एक हजार ४१३ गरी कूल १३ हजार ८१५ थान जारी गरिएको छ । तीमध्ये फोटोसहितका सात हजार ६७७ पास सक्रिय र चार हजार ७२५ पास निष्क्रिय छन् भने फोटोरहित पासमध्ये एक हजार ३२८ सक्रिय तथा ८५ निष्क्रिय छन् । प्राधिकरणले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल निषेधित क्षेत्र प्रवेश अनुमति पत्र व्यवस्थापन कार्यविधि, २०८० (तेस्रो संशोधन) अनुसार प्रवेश पास निष्क्रिय गर्ने प्रक्रिया नियमित रूपमा सञ्चालन हुँदै आएको जनाएको छ । कार्यविधिको नियम २० अनुसार कर्मचारी सरुवा, अवकाश, राजीनामा वा अन्य कुनै कारणले जिम्मेवारीमा नरहेमा तीन दिनभित्र प्रवेश पास फिर्ता गर्नुपर्ने व्यवस्था छ । प्राधिकरणका अनुसार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका २०१ संस्था आबद्ध छन् । प्रत्येक संस्थाले आफ्नै नियमअनुसार कर्मचारी नियुक्त गर्ने भएकाले स्थायी, अस्थायी तथा ‘आउटसोर्सिङ’ कर्मचारीको वर्गीकृत विवरण तत्काल उपलब्ध नभएको जनाएको छ । महानिर्देशक डङ्गोलका अनुसार प्रवेश पास सामान्यतया दुई वर्षका लागि जारी हुने गरेको छ । प्रतिवेदनले यस्ता पास तत्काल निष्क्रिय नगरे विमानस्थल परिसर वा अन्यत्र दुरुपयोग हुन सक्ने जोखिम रहेको उल्लेख गर्दै अभिलेख व्यवस्थापनमा एकरूपता कायम गर्न पनि सुझावअनुसार प्रधानमन्त्री कार्यालयको निर्देशनमा निष्क्रिय बनाउने कामले तीव्र निरन्तरता दिइएको उहाँको भनाइ छ । विमानस्थलजस्तो संवेदनशील क्षेत्रको सुरक्षा एवं अन्य संवेदनशीलतालाई ध्यानमा राखेर यस क्षेत्रको सुधार तथा सुरक्षा चुस्तताका लागि प्रधानमन्त्री कार्यालयले ध्यान दिएको छ र सोही बमोजिम नै विमानस्थल प्रवेश पासका विषयमा अध्ययन गरेर तिनको दुरुपयोग पनि हुनसक्ने आशङ्कामा प्रधानमन्त्री कार्यालयले यो पहल थालेको हो ।  

लगातार दोस्रो दिन बढ्यो नेप्से, कारोबार ४ अर्बमाथि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार दोस्रो दिन पनि बढेर बन्द भएको छ । बिहीबार नेप्से परिसूचक ८.७८ अंकले बढेर २६६१ अंकमा पुगेको हो । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ । बुधबार ३ अर्ब ८६ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ४ अर्ब ११ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बजार बढे पनि अधिकांश कम्पनीको सेयर मूल्य भने घटेको छ । आज १०८ कम्पनीको मूल्य बढ्दा १५२ कम्पनीको मूल्य घट्यो भने १३ कम्पनीको मूल्य स्थिर रह्यो । बैंकिङ समूहको सूचक २.०४ प्रतिशतले बढेपछि समग्र बजारमा सकारात्मक प्रभाव परेको हो । यस्तै फाइनान्स समूह ०.२८ प्रतिशत, जीवन बीमा ०.१६ प्रतिशत र माइक्रोफाइनान्स समूह ०.०५ प्रतिशतले उकालो लागे । यस्तै विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा, अन्य तथा व्यापार समूहका सूचकमा गिरावट आएको छ । कालंगा हाइड्रोपावर, स्नो रिभर फल्स, सानीगढ हाइड्रोपावर र अपर लोहोरेखोला जलविद्युत कम्पनीको सेयर मूल्य १५ प्रतिशतले बढेको छ।  धौलागिरि लघुवित्तको सेयर मूल्य १३.६७ प्रतिशत, आत्मनिर्भर लघुवित्तको १०.०९ प्रतिशत तथा क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ९.५३ प्रतिशतले बढेको छ । भुजुङ हाइड्रोपावरको सेयर मूल्य ९.४३ प्रतिशतले घट्दा सामुदायिक लघुवित्त ७.८३ प्रतिशत, सीवाईसी लघुवित्त ७.२३ प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैंक ५.५६ प्रतिशतले ओरालो लागेका छन् । कारोबार रकमका आधारमा लक्ष्मी सनराइज बैंक, रिलायन्स स्पिनिङ मिल्स, नबिल बैंक, ग्लोबल आईएमई बैंक, आँखुखोला जलविद्युत कम्पनी र साहस ऊर्जा अग्रस्थानमा रहे ।