विकासन्युज

इरानको भविष्य मोज्तबा खामेनेईको हातमा, के उनले सत्ता चलाउन सक्लान् ?

काठमाडौं । इरानले आइतबार मोज्तबा खामेनेईलाई देशको नयाँ सर्वोच्च नेता घोषणा गरेको छ । एसोसिएटेड प्रेस र रोयटर्सले इरानी सरकारी मिडियालाई उद्धृत गर्दै यस्तो जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । मोज्तबा खामेनेई हालै युद्धको सुरुवाती चरणमा मारिएका अयातोल्लाह अली खामेनेईका छोरा हुन् । उनी यस पदका लागि प्रमुख दाबेदार मानिएका थिए । अली खामेनेईले सन् १९८९ देखि मृत्यु नहुन्जेलसम्म इरानमा शासन गरेका थिए । मोज्तबा खामेनेईको नियुक्तिसँगै इरानको इस्लामिक रिभोलुसनरी गार्ड (आईआरजीसी) र अन्य कठोरपन्थी समूहहरूमा उनको नियन्त्रण हुनेछ । एसोसिएटेड प्रेसका अनुसार रिभोलुसनरी गार्डले उनको समर्थनमा वक्तव्य जारी गरेको छ । इरान समर्थित लेबनानी लडाकु समूह हेजबोल्लाहले पनि टेलिग्राममा मोज्तबा खामेनेईको तस्बिर राखी ‘आशीर्वादित इस्लामिक क्रान्तिका नेता’भनेर उल्लेख गरेको छ । यस नियुक्तिले इरानको शासनमा कठोरपन्थी शक्तिहरूको नियन्त्रण कायम रहने संकेत दिएको छ । साथै यो कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति सीधा चुनौतीको रूपमा पनि हेरिएको छ । ट्रम्पले इरानको नयाँ नेताको चयनमा अमेरिकाको पनि भूमिका हुनुपर्ने बताउँदै आएका छन् । ट्रम्पले यसअघि मोज्तबा खामेनेईलाई ‘हल्का तौलका नेता’  भनेर टिप्पणी गरेका थिए । उनले तेहरानमा आफ्नो स्वीकृति बिना नयाँ नेता चयन भए त्यो लामो समय टिक्न नसक्ने चेतावनी पनि दिएका थिए । ‘उसले हामीबाट स्वीकृति लिनुपर्छ,’ ट्रम्पले एबीसी न्यूजसँग भनेका थिए, ‘यदि उसले हामीबाट स्वीकृति पाएन भने ऊ धेरै समय टिक्दैन ।’ यस विषयमा ह्वाइट हाउसले तत्काल कुनै प्रतिक्रिया दिएको छैन । उता अमेरिकासँगै इरानविरुद्ध आक्रमणको नेतृत्व गरिरहेको इजरायल रक्षा बल (आईडीएफ) ले आइतबार सम्भावित नयाँ उत्तराधिकारीहरूलाई समेत लक्षित गर्ने चेतावनी दिएको छ । फारसी भाषामा एक्समा पोस्ट गर्दै आईडीएफले उत्तराधिकारी चयन प्रक्रियामा सहभागी हुनेहरूलाई समेत निशाना बनाइने चेतावनी दिएको हो । मोज्तबा खामेनेईले इरानको नेतृत्व गर्न सक्छन् त ? मोज्तबा खामेनेईले इरानको नेतृत्व गर्न सक्लान् कि सक्दैनन् भन्ने विषयमा मिश्रित धारणा देखिन्छ । धेरै विश्लेषकका अनुसार उनी लामो समयदेखि आफ्नो पिता अलि खामेनेईका नजिक रहेर पर्दापछाडिबाट प्रभाव जमाउँदै आएका व्यक्ति हुन् । विशेष गरी इरानको शक्तिशाली सुरक्षा निकाय इस्लामिक रिभोलुसनरी गार्ड कप्र्ससँग उनको निकट सम्बन्ध रहेको मानिन्छ, जसका कारण सत्ता सञ्चालनमा उनलाई संस्थागत समर्थन मिल्न सक्ने पश्चिमी विश्लेषकहरूको तर्क छ । तर धेरै पश्चिमी मिडियाले उनको अनुभव र वैधतामाथि प्रश्न पनि उठाएका छन् । उनी सार्वजनिक राजनीतिमा कहिल्यै ठूलो सरकारी पदमा देखिएका छैनन् र प्रायः पर्दापछाडि रहने व्यक्तिका रूपमा चिनिन्छन् । त्यसैले केही विश्लेषकका अनुसार यदि उनले नेतृत्व सम्हाले भने सुरुका वर्षहरूमा धार्मिक प्रतिष्ठान र सुरक्षा निकायहरूको प्रभाव निकै बलियो रहने सम्भावना छ । अर्कोतर्फ उनको चयनलाई लिएर केही टिप्पणीकारहरूले आलोचना पनि गरेका छन् । इरानियन रिभोलुसनपछि इरानमा राजतन्त्र अन्त्य भएको थियो, तर अहिले बुबाबाट छोरामा सत्ता सर्ने सम्भावनालाई केहीले ‘राजवंशीय शैलीको राजनीति’ भनेर व्याख्या गरेका छन् । त्यसैले पश्चिमी मिडियाको समग्र धारणा अनुसार मोज्तबा खामेनेई शक्तिशाली नेटवर्क भएका व्यक्ति भए पनि उनको नेतृत्वको प्रभाव र स्थायित्व कस्तो हुन्छ भन्ने कुरा अझै अनिश्चित मानिएको छ । खाडी देशमा इरानको आक्रमण जारी इरानले क्षेत्रीय सहयोगी देशहरूमा आक्रमण जारी राख्दा खाडी क्षेत्रका मुलुकहरूले पूर्वाधारमा थप क्षति पुगेको बताएका छन् । संयुक्त अरब इमिरेट्स (यूएई)ले इरानबाट आएको मिसाइल र ड्रोन खतरासँग जुधिरहेको जनाएको छ । यूएईको रक्षा मन्त्रालयका अनुसार देशको हवाई सुरक्षा प्रणालीले बलिस्टिक मिसाइलहरू अवरोध गरिरहेको छ भने लडाकु विमानहरूले ड्रोनहरू नष्ट गरिरहेका छन् । शनिबार साँझ दुबई र अबुधाबीमा मिसाइल खतराको चेतावनी दिँदै साइरन बजाइएको थियो । दुबईको २३ मरिना भवनमा खसेको भग्नावशेषले एक पाकिस्तानी चालकको मृत्यु भएको दुबई मिडिया अफिसले जनाएको छ। युद्धको असरले तेल महँगियो मध्यपूर्वका प्रमुख ऊर्जा उत्पादक देशहरूले उत्पादन घटाएपछि अमेरिकी कच्चा तेलको मूल्य आइतबार साँझ प्रति ब्यारेल १०० डलरभन्दा माथि पुगेको छ । युद्धका कारण होर्मुज जलडमरूमध्य प्रभावकारी रूपमा बन्द जस्तै भएपछि तेल बजारमा ठूलो अवरोध आएको छ । विश्वको करिब २० प्रतिशत तेल आपूर्ति यही मार्गबाट हुने भएकाले खाडी देशहरूलाई तेल निर्यात गर्न कठिन भएको छ । बहराइनले आइतबार ड्रोन आक्रमणबाट पानी प्रशोधन (डिसेलिनेसन) प्लान्टमा क्षति पुगेको जनाएको छ । यद्यपि पानी आपूर्तिमा असर नपरेको बताइएको छ । उता इरानले भने अमेरिकाले आफ्नो केश्म टापुमा रहेको पानी प्रशोधन प्लान्टमा आक्रमण गरेको आरोप लगाएको छ । इरानी विदेशमन्त्री अब्बास अराघचीका अनुसार यसले ३० वटा गाउँको पानी आपूर्तिमा असर पारेको छ । तर अमेरिकी सेनाले उक्त आरोप अस्वीकार गरेको छ । फेब्रुअरी २८ मा युद्ध सुरु भएयता इरानमा १ हजार ८५० भन्दा बढी मानिसको मृत्यु भएको बताइएको छ । जसमध्य कम्तीमा १ हजार ३३० सर्वसाधारण रहेका छन् ।  यस युद्धका कारण १ लाखभन्दा बढी इरानी नागरिक विस्थापित भएका छन् । (विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको सहयोगमा तयार पारिएको सामग्री) थप सामग्रीहरू : मध्यपूर्वको रापमा विश्व अर्थतन्त्र : केन्द्रीय बैंकहरूको ‘अग्निपरीक्षा’ र मुद्रास्फीति बढाउने जोखिम इरान : शून्यमा सत्ता, संकटमा शासन खाडी संकट गहिरिँदै : बीमा कम्पनीहरू पछि हट्दा विश्व ऊर्जा बजार त्रसित इरान र इजरायल : मित्रतादेखि कट्टर दुश्मनीसम्म, यस्तो छ नालीबेली

४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधिसभा निर्वाचन जिते

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा होमिएका यातायात व्यवसायीमध्ये दुई जनाले मात्रै जित हासिल गरेका छन् ।  प्रत्यक्ष निर्वाचन प्रणालीमा होमिएका चार यातायात व्यवसायीमध्ये दुई जनाले मात्रै जित हासिल गरेका हुन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्षसमेत विजयबहादुर स्वाँरले कैलाली–२ बाट प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका थिए । तर उनी पराजित भएका छन् । उनको क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केपी खनालले १९ हजारभन्दा बढी मत ल्याएर विजयी भएका छन् । स्वाँरले ७ हजार २ सय मत ल्याएर चौथो स्थान हासिल गरेका छन् । अर्का पश्चिम यातायात व्यवसायी विष्णु खड्काले सुर्खेत–१ बाट उम्मेदवारी दिएका थिए । नेपाली कांग्रेसले खड्कालाई उम्मेदवार बनाएकोमा उनले २८ हजार ८ सय मत ल्याएर जित हासिल गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार ध्रुवकुमार शाहीले १८ हजार ८९० मत ल्याएका थिए । त्यस्तै, रास्वपाबाट उम्मेदवार बनेका कर्णाली यातायातका प्रमुख रमेश सापकोटाले सुर्खेत–२ बाट उम्मेदवारी दिएका थिए । उनले ३० हजार ८ सय मत ल्याएर जित हासिल गरेका छन् । सापकोटाका प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार नारायणकुमार खड्काले १६ हजार ३ सय मत ल्याएका थिए । अर्का यातायात व्यवसायी नेपाली कांग्रेसका उम्मेदवार भागवत मल्लले स्याङ्जा–२ बाट उम्मेदवारी दिएका थिए । तर उनले पराजय भोग्नुपरेको छ । सो क्षेत्रबाट रास्वपाका उम्मेदवार झविलाल डुम्रेले २५ हजारभन्दा बढी मत ल्याएर जित हासिल गरेका छन् । मल्लले २० हजार ८३० मत ल्याएर हार व्यहोर्नुपर्‍यो ।

अर्घाखाँचीमा समानुपतिक मतगणना सकियो, रास्वपा प्रथम

अर्घाखाँची । अर्घाखाँचीमा समानुपतिक मतगणनामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी प्रथम भएको छ । रास्वपाले प्रत्यक्षभन्दा चार हजार बढी बढी मत अर्थात् ३९ हजार ५८ मत प्राप्त गरेको छ । प्रत्यक्षतर्फ ३५ हजार २३ मत प्राप्त गरेको थियो ।      दोस्रोमा नेकपा (एमाले)ले २० हजार ४५१, नेपाली कांग्रेसले १७ हजार ६५१,  नेपाली कम्युनिष्ट पार्टीले तीन हजार ९७७, राष्ट्रिय जनमोर्चाले दुई हजार ३८८ र राप्रपाले ७२५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेले बताए ।       जिल्लामा एक लाख ७१ हजार ६५२ मतदाता रहेकामा समानुपतिकतर्फ ८८ हजार ७३३ मत प्राप्त भएको थियो । जसमा  दुई हजार ५७८ मत बदर भएका छन् । ८६ हजार १५५ मत सदर भएका थिए ।    

माओवादीको ‘लालकिल्ला’ भत्काउँदै यातायातविज्ञ गजुरेल संसदीय यात्रामा

काठमाडौं । हिजोसम्म सडकका खाल्डाखुल्डी, सवारी दुर्घटना र अव्यवस्थित यातायात प्रणालीबारे सार्वजनिक रूपमा बारम्बार सरकारलाई प्रश्न गर्ने आवाज अब संसदमा गर्ने भएको छ । टेलिभिजन बहसदेखि नीतिमञ्चसम्म सडक सुरक्षा र पूर्वाधार सुधारका विषय उठाउने यातायात विज्ञ आशिष गजुरेल अब संसद्को रोस्ट्रमबाट नीति निर्माण गर्ने माननीय बन्न पुगेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट सिन्धुली निर्वाचन क्षेत्र नम्बर-२ मा उम्मेदवार बनेका गजुरेलले दशकौंदेखि वामपन्थीहरूको बलियो पकड रहेको क्षेत्रमा सानदार जित दर्ता गर्दै संसदीय यात्रा सुरु गरेका हुन् ।  मतगणनाको अन्तिम परिणाम अनुसार गजुरेलले १७ हजार ९४० मत प्राप्त गर्दै नेकपा माओवादी केन्द्र का प्रभावशाली नेता तथा पूर्वसांसद लेखनाथ दाहाल लाई ३ हजार १६० मतान्तरले पराजित गरे । दाहालले १४ हजार ७८० मत पाए। एमाले र कांग्रेसका उम्मेदवारहरू भने निकै पछाडि परे ।  यो क्षेत्र २०६४ सालदेखि माओवादीको गढ मानिन्थ्यो । विगतका चारमध्ये तीनवटा निर्वाचनमा माओवादीले नै जितेको थियो । तर यसपटक देशभर देखिएको रास्वपाको लहरले सिन्धुलीका पुराना राजनीतिक किल्लाहरू भत्काइदियो ।  झन् रोचक कुरा यही क्षेत्रमा २०७४ सालमा माओवादीबाट उनका काका हरिबोल गजुरेल विजयी भएका थिए । यसपटक भने त्यही भूमिमा आशिषले बाजी मारे । उनी राजनीतिमा अचानक देखिएका पात्र मात्र होइनन्, पूर्वाधार र यातायात व्यवस्थापन क्षेत्रमा लामो अनुभव बोकेका प्राविधिक विज्ञसमेत हुन् ।  जर्मनीको टेक्निकल युनिभर्सिटी अफ म्युनिखबाट ट्रान्सपोर्टेसन सिस्टममा मास्टर्स गरेका गजुरेल पेसाले इन्जिनियर हुन् । उनले नेपाल सरकारको लगानी बोर्डमा ७ वर्षभन्दा बढी पूर्वाधार विज्ञका रूपमा काम गरेका छन् । गजुरेलले नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशकका रूपमा दुई कार्यकाल नेतृत्व गरेका थिए । उनको कार्यकाललाई समितिको ‘स्वर्णिम समय’ भनेर समेत चर्चा गरिन्छ ।  उनकै नेतृत्वमा काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाह निर्माण सम्पन्न भई सञ्चालनमा आयो । साथै दोधारा–चाँदनी सुक्खा बन्दरगाह को वर्षौंदेखि रोकिएको निर्माण कार्य अघि बढाउने काम पनि उनले गरे । उनकै कार्यकालमा समितिको वार्षिक आम्दानी ८० करोड रुपैयाँबाट बढेर १८० करोड रुपैयाँ पुगेको थियो, जुन उनको व्यवस्थापकीय दक्षताको उदाहरण मानिन्छ । निर्वाचन अभियानका क्रममा गजुरेलले भावनात्मक नाराभन्दा पनि तथ्यमा आधारित योजना प्रस्तुत गरेका थिए ।  उनका अनुसार, ‘राजनीति शक्ति वा पदको साधन होइन, यो सार्वजनिक सेवा र समस्याको समाधान गर्ने थलो हो ।’ सिन्धुलीलाई पूर्व-पश्चिम राजमार्ग र मध्यपहाडी लोकमार्गसँग जोड्ने, स्थानीय उत्पादनलाई बजारसँग जोड्ने र डिजिटल पहुँच विस्तार गर्ने स्पष्ट योजनाले मतदाताको मन जितेको विश्लेषण गरिएको छ ।  अहिलेसम्म सडक र मिडियाबाट सरकारलाई सुझाव दिने गजुरेल अब आफै नीति निर्माणको केन्द्रमा पुगेका छन् । यातायात, आपूर्ति व्यवस्थापन र पूर्वाधार विकासका क्षेत्रमा उनको अनुभव संसद्मा उपयोगी हुने अपेक्षा गरिएको छ । एक सफल इन्जिनियर, लेखक र प्रशासकको छवि बनाएका गजुरेलको संसदीय यात्राले सिन्धुली-२ मात्र होइन, देशकै पूर्वाधार विकासमा नयाँ दृष्टि थप्ने विश्वास गरिएको छ । रास्वपाको घण्टीसँगै सिन्धुलीमा सुरु भएको परिवर्तन अब राष्ट्रिय नीति निर्माणमा कति गुञ्जिन्छ, त्यसतर्फ धेरैको नजर केन्द्रित भएको छ ।

दाउन्नेमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । वर्षाका कारण दाउन्ने क्षेत्रमा सडक भासिएको स्थान चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध भएको हो ।      विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित सडक भासिएको स्थानमा वर्षाका कारण सडक सतह चिप्लो भएपछि सोमबार बिहानदेखि सवारी आवतजावतमा समस्या भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताए ।      'बिहान करिब १० बजेपछि सडक चिप्लो भएसँगै सवारीसाधन चलाउन कठिनाइ भएको छ', उनले भने, 'उक्त स्थानमा करिब १०० देखि १५० वटा सवारीसाधन दुवैतर्फ लामबद्ध अवस्थामा रोकिएका छन् ।'      अहिले पनि सिमसिम पानी परिरहेकाले तत्काल सडक सञ्चालनमा समस्या आउने जनाइएको छ । सुरक्षाकर्मी तथा सडक आयोजनाले सडक खुलाउने प्रयास गरिरहेको प्रहरी उपरीक्षक खड्काले जनकारी दिए ।  

भावी अर्थमन्त्रीका रुपमा हेरिएका स्वर्णिमको दोस्रो संसदीय यात्रा

दमौली । नेपालको सार्वजनिक नीति र अर्थतन्त्रका बहसमा लामो समयदेखि परिचित नाम हो डा. स्वर्णिम वाग्ले । अर्थशास्त्री, नीतिगत विज्ञ र योजनाविद्का रूपमा पहिचान बनाएका डा. वाग्ले पछिल्ला वर्षमा सक्रिय राजनीतिमा प्रवेश गर्दै अहिले तनहुँ क्षेत्र नं १ बाट दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।      डा. वाग्ले ३८ हजार ४० मतसहित विजयी भएका छन् । गत उपनिर्वाचनमा उनी यही क्षेत्रबाट ३४ हजार ९११ मतसहित विजयी भएका थिए ।      गोरखा जिल्लामा जन्मिएका वाग्ले सामान्य परिवेशमा हुर्किएका हुन् । बाल्यकालदेखि नै अध्ययनमा रुचि राख्ने उनी उच्च शिक्षाका लागि विदेश पुगे । अर्थशास्त्रमा गहिरो अध्ययन गर्दै उनले  ‘पिएचडी’ पूरा गरे ।      अध्ययनका क्रममा उनले विकास अर्थशास्त्र, सार्वजनिक नीति र आर्थिक सुधारका विषयमा विशेष अनुसन्धान गरेका थिए । यही अध्ययनले उनलाई अन्तरराष्ट्रियस्तरका नीति बहसमा सहभागी गरायो ।      उच्च शिक्षापछि डा. वाग्लेले विभिन्न अन्तर्राष्ट्रिय संस्थामा काम गरे । विशेषगरी संयुक्त राष्ट्रसङ्घसँग आबद्ध कार्यक्रममा उनले विकास, गरिबी न्यूनीकरण र आर्थिक नीतिका विषयमा काम गरे ।      स्वदेश फर्किएपछि उनले राष्ट्रिय योजना आयोगको उपाध्यक्षको जिम्मेवारी सम्हाले । त्यहाँ रहँदा देशको दीर्घकालीन विकास योजना, आर्थिक नीति सुधार र सुशासनका विषयमा महत्त्वपूर्ण योगदान दिएका थिए ।  लामो समय नीतिगत क्षेत्रमा काम गरेपछि डा. वाग्लेले नीति मात्र बनाउने होइन, त्यसलाई कार्यान्वयन गर्ने राजनीतिक नेतृत्व पनि आवश्यक रहेको महसुस गरे । यही सोचका साथ उनी रास्वपामार्फत राजनीतिमा प्रवेश गरेका थिए । उनको राजनीतिमा प्रवेशलाई धेरैले ‘प्राविधिक नेतृत्वबाट राजनीतिक नेतृत्वतर्फको यात्रा’ का रूपमा हेरेका छन् ।      तनहुँ क्षेत्र नं १ बाट निर्वाचन लड्दा उनले विकास, सुशासन, रोजगारी र आर्थिक सुधारका विषयलाई मुख्य ‘एजेन्डा’ बताए । मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनले नयाँ सोच र परिणाममुखी राजनीतिका कुरा राखे ।  डा. वाग्ले आज नेपाली राजनीतिमा ‘नीतिगत क्षमता भएको नेतृत्व’ का रूपमा चिनिन्छन् । अर्थतन्त्र र विकास नीतिमा उनको अनुभवले संसद्मा फरक आवाज थप्ने अपेक्षा गरिएको छ । उनलाई धेरैले बालेन्द्र शाह नेतृत्व सरकारको अर्थमन्त्रीका रुपमा पनि हेरेका छन् । रासस

युवा पुस्ताको प्रतिनिधि : २६ वर्षीय मनिष खनालको संसदीय यात्रा

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं– २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मनिष खनाल युवा पुस्ताको प्रतिनिधि राजनीतिक नेतृत्वका रूपमा चर्चा आएका छन् ।  २६ वर्षकै उमेरमा सङ्घीय संसद् पुग्न सफल भएका खनाललाई नयाँ पुस्ताको आकांक्षा र वैकल्पिक राजनीतिक सोच बोकेको अनुहारका रूपमा हेरिएको छ । मध्यविन्दु नगरपालिका–६, टाँडी निवासी खनालको जन्म २०५६ असार ११ गते भएको हो । विद्यालय तहसम्मको अध्ययन स्थानीयस्तरमै सम्पन्न गरी उच्च शिक्षाका लागि काठमाडौं पुगेका खनालले नेपाल ल क्याम्पसबाट कानुन विषयमा स्नातक गरेका छन् । कानुन अध्यायनकै क्रममा उनले देशको राजनीतिक अवस्थाबारे नजिकबाट बुझ्ने अवसर पाएको बताए । पुराना राजनीतिक दलको अभ्यासप्रति असन्तुष्टि व्यक्त गर्दै वैकल्पिक राजनीतिक शक्ति आवश्यक ठानेपछि उहाँ तत्कालीन विवेकशील साझा पार्टीमा आबद्ध बने । विसं २०७६ मा जनकपुरमा सम्पन्न विवेकशील नेपाली दलको महाधिवेशनबाट खनाल २० वर्षकै उमेरमा केन्द्रीय सदस्य निर्वाचित भएका थिए, जसले उनलाई राष्ट्रिय राजनीतिमा उदाउँदो युवा नेतृत्वका रूपमा चिनाएको थियो । काठमाडौं बसाइँका क्रममा उनले माइतीघर मण्डल केन्द्रित विभिन्न आन्दोलन, नागरिक अभियान तथा सरकारको खबरदारी कार्यक्रममा सक्रिय सहभागिता जनाएका थिए । पछिल्लो समय ‘जेनजी’ आन्दोलन र युवा केन्द्रित नागरिक अभियन्ताको रूपमा पनि उनको संलग्नता देखिएको थियो । राजनीतिक सक्रियताका साथै खनालले संसदीय अभ्यासको अनुभव पनि बटुलेका छन् । उनले रास्वपाका सांसद असिम शाहको स्वकीय सचिवका रूपमा कार्यरत रहँदै संसद् र नीतिनिर्माण प्रक्रियाबारे व्यावहारिक अनुभव हासिल गरेका थिए । यसपटकको प्रतिनिधिसभा निर्वाचनमा रास्वपाबाट उम्मेदवार बनेपछि उनको चर्चा झन् बढेको थियो ।  कानुनको विद्यार्थी भएकाले जनताका जायज मागलाई संसद्माार्फत उठाउने र कानुन निर्माण प्रक्रियामा सक्रिय भूमिका खेल्ने लक्ष्यसहित राजनीतिमा आएको नव निर्वाचित खनालले बताउनुभयो । युवा पुस्ताको आवाज, पारदर्शीता, जवाफदेहिता र सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने उनको प्रतिबद्धता रहेको छ । स्थानीय र प्रदेश सरकारसँग समन्वय गर्दै नीतिगत रूपमा समाधान गर्नुपर्ने विषयमा अध्ययन अनुसन्धानसहित अघि बढ्ने योजना रहेको उनले बताए । गाउँबाट अध्ययन सुरु गरी राष्ट्रिय राजनीतिसम्मको यात्रा तय गरेका खनाललाई नवलपरासी (बर्दघाट सुस्तापूर्व)–२ का मतदाताले युवा पुस्ताको भरोसा र परिवर्तनको अपेक्षासहित सङ्घीय संसद्मा पठाएका छन् । निर्वाचन परिणामअनुसार खनालले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार तिलबहादुर महतलाई २५ हजार ५९२ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । महत उक्त क्षेत्रमा लगातार तेस्रो पटक उम्मेदवार रहेका थिए ।  त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार ओमबहादुर घर्तीले १४ हजार ७१३ मत तथा नेपाल कम्युनिष्ट पार्टीका गणेशमान महतोले एक हजार ५३८ मत प्राप्त गरेका थिए । रासस  

तेस्रो सर्किट लागेसँगै बन्द भयो सेयर बजार

काठमाडौं । सेयर बजारमा तेस्रो सर्किट लागेसँगै बजार बन्द भएको छ । सेयर बजारमा निरन्तर तेस्रो सर्किट अर्थात् ६ प्रतिशतले बढेसँगै बजार बन्द भएको हो । सोमबार बजार खुलेको एक घण्टामै सेयर बजार बन्द भएको हो । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६ प्रतिशत अर्थात् १६२.४३ अंकले बढेर २ हजार ८७५ अंकमा पुगेर बन्द भएको हो । साथै, २६१ कम्पनीको ११ लाख ४३ हजार ६७६ कित्ता सेयर ४ हजार ५१ पटक खरिदबिक्री हुँदा ५५ करोड ५९ लाख ६३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज विभिन्न तीन कम्पनी कर्पोरेट डेभलपमेन्ट बैंक, शिवश्री हाइड्रोपावर र हिमालयन रिइन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।