काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवामा नियुक्ति तथा पदोन्नति लिएको आरोपमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा सहायकस्तर पाँचौं तहमा कार्यरत हिरालाल काफ्लेविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार अर्जुनचौपारी गाउँपालिका–२ का वडा सचिवसमेत रहेका काफ्लेले अध्ययन नै नगरी भारतको आसामस्थित बोर्ड अफ सेकेन्डरी एजुकेसन आसामबाट सन् १९९८ मा एसएलसी सरहको एचएसएलसी (रिपिटर्स) परीक्षा उत्तीर्ण गरेको झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेका थिए ।
उक्त प्रमाणपत्रका आधारमा उनले २०५७ सालमा तत्कालीन अर्जुनचौपारी गाउँ विकास समितिमा कार्यालय सहायक पदमा अस्थायी नियुक्ति लिएको, त्यसपछि विभिन्न चरणमा स्थायी नियुक्ति, पदोन्नति र तहवृद्धि हुँदै २०७९ सालमा सहायकस्तर पाँचौं तहमा पुगेको अख्तियारको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ ।
आयोगका अनुसार नक्कली प्रमाणपत्र प्रयोग गरी सरकारी सेवामा नियुक्ति, पदोन्नति तथा आफूले नपाउने ओहदा, लाभ र सुविधा लिएको ठहर गर्दै उनीविरुद्ध साविक भ्रष्टाचार निवारण ऐन, २०१७ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कारबाहीको माग गर्दै बिहीबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।
अख्तियारले काफ्लेलाई भ्रष्टाचारसम्बन्धी कानुनी व्यवस्थाअनुसार सजायको मागदाबी गरेको जनाएको छ ।