३६ जनाबाट सुरु १ हजार ५१ पुगे सेयर सदस्य, पुँजी ४ करोड २० लाख रुपैयाँ
काठमाडौं । कास्कीको लेखनाथस्थित रुपातालमा विभिन्न जातका १० हजार माछाका भुरा छाडिएको छ । रुपाताल सहकारीले रजत वर्षको अवसर पारेर तालको आयआर्जनमा सहयोग पुग्ने गरी माछाका भुरा छाडिएको हो । रुपा गाउँपालिका र पोखरा महानगरपालिका-३२ मा पर्ने रुपाताल पुनःस्थापना तथा मत्स्यपालन सहकारी संस्थाले यस वर्षलाई रजत वर्षका रूपमा मनाउने योजनासहित तालमा विभिन्न जातका माछाका भुरा छाडिएको संस्थाका अध्यक्ष रामबहादुर थापाले जानकारी दिए । ‘वि.सं २०५८ मा ३६ जना सेयर सदस्यबाट सुरु गरिएको रुपाताल सहकारीले सफलतापूर्वक २५ वर्ष पार गरेको अवसरमा ‘प्राकृतिक सम्पदाको संरक्षण गरौँ, दिगो उत्पादनमा जोड दिउँ’ भन्ने मूल नाराका साथ यस वर्षलाई रजत वर्ष मनाउने घोषणा गरिएको हो,’ अध्यक्ष थापाले भने । स्थापनाकालमा ३६ जना सेयर सदस्यको ५ हजार रुपैयाँ संकलन गरेर १ लाख ८३ हजार ६०० पुँजीबाट सञ्चालित संस्था अहिलेसम्म आइपुग्दा १ हजार ५१ सेयर सदस्यमार्फत ४ करोड २० लाख ४० हजार रुपैयाँ सेयर पुँजी पुगेको उनले बताए । तालमा माछाको भुरा छोड्दै बेगनास मत्स्य अनुसन्धान केन्द्रका प्रमुख डा. मोहम्मद इकवाल हुसेनले तालको प्राकृतिक सौन्र्दयतालाई नबिगारी तालमार्फत आयआर्जनमा जोडिने गरी माछापालनलाई अगाडि बढाइएको बताए । ताल मानव जातिका साथै जलचर प्राणीका लागि अनिवार्य भएकाले यसको सौन्दर्यलाई नबिगारी भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्नेमा उनले जोड दिए । उनले तालमा माछाको साथमा सिपीबाट मोती निकाल्न सकिने परीक्षण सफल भएकाले रुपाताल माछाका लागि मात्र नभई सिपीका लागि पनि प्रमाणित भएको तथ्य प्रस्तुत गरे । सहकारीका संस्थापक अध्यक्ष लेखनाथ ढकालले स्थापनाकालदेखिको अवस्था र सहकारीको जोडबलमा नेपाल सरकारबाट रुपताल संरक्षणको परियोजना ल्याउन सफल भएको धारणा राखे । पूर्वअध्यक्ष शिवराज अधिकारीले पुराना अनुभवीको साथ र नयाँको जोशलाई भरपुर रूपमा उपयोग गरी यस ताललाई कसरी सुन्दर र आकर्षक बनाउन सकिन्छ भन्नेबारेमा साझा अवधारण बनाउनुपर्ने सुझाव दिए ।
नागरिकता र २ वटा फोटो आज बुझाउनुपर्ने, बुधबार समानुपातिक सांसदलाई प्रमाणपत्र दिइने
काठमाडौं । निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका उम्मेदवारलाई प्रमाणपत्र वितरण गर्ने भएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत कृष्णबहादुर राउतका अनुसार चैत ५ गते बिहान ११:३० बजे आयोग परिसरमा निर्वाचित भएको प्रमाणपत्र वितरण गरिनेछ । राजनीतिक दलको तर्फबाट छनोट भई पेस भएका उम्मेदवारको विवरण आयोगले सार्वजनिक गर्दै निर्वाचित भएको घोषणा गरेको छ । आयोगले राजनीतिक दलको तर्फबाट निर्वाचित भएका प्रतिनिधिसभा सदस्यलाई सक्कल नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र, दुईप्रति पासपोर्ट साइजको फोटोसहितको विवरण आज उपलब्ध गराइदिन आग्रह गरेको छ । गत फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा विभिन्न ६ राजनीतिक दलले राष्ट्रिय दलको मान्यता पाएका छन् । समानुपातिक निर्वाचन प्रणालीतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले ५७, नेपाली कांग्रेसले २०, नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले १६, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले ९, श्रम संस्कृति पार्टीले ४ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ सिट पाएका छन् । कुल २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत १६५ र समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना निर्वाचित हुने व्यवस्था छ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारलाई प्रमाणपत्र वितरण गरेपछि यसपटकको निर्वाचन प्रक्रियाले पूर्णता पाउनेछ ।
चैते धानको समर्थन मूल्य तोक्न २५ जिल्लामा स्थलगत अध्ययन गर्दै सरकार
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभागले चैते धानको समर्थन मूल्य तोक्न अध्ययन थालेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्चित गर्न विभिन्न २५ जिल्लामा स्थलगत अध्ययन थालेको हो । अध्ययनका क्रममा धानको उत्पादनमा लाग्ने खर्च तथा बिउ, मल, श्रम, मुद्रास्फीति र बजार मूल्यको विश्लेषण गरी उत्पादन लागत आधारमा न्यूनतम् समर्थन मूल्य निर्धारण गरिने विभागले जनाएको छ । विभागको टोलीले स्थलगत अध्ययन गरेपछि निर्धारण गरिने वैज्ञानिक मूल्य कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा सिफारिस गरेर पठाइने विभागका महानिर्देशक प्रकाश सञ्जेलले जानकारी दिए । स्थलगत अध्ययन प्रक्रियाले किसानद्वारा उत्पादित धानको सही मूल्य सुनिश्चित गर्न सहयोग गर्ने उनले विश्वास व्यक्त गरे । मन्त्रालयले उत्पादन लागत, ढुवानी खर्च, बजार मूल्य तथा अन्य सान्दर्भिक आधार समेटेर प्रतिक्विन्टल मूल्य प्रस्ताव गर्ने विभागका महानिर्देशक सञ्जेलले बताए । ‘उक्त प्रस्ताव मन्त्रिपरिषदमा पेस हुन्छ । त्यसपछि मन्त्रिपरिषदबाट निर्णय भएपछि सार्वजनिक गरिनेछ । सोही आधारमा धानको चिस्यान मापदण्डसमेत मूल्याङ्कन गरिनेछ,’ विभागका महानिर्देशक प्रकाश सञ्जेलले भने । धानको १८ प्रतिशतसम्म चिस्यान भएमा तोकिएको मूल्य लागू हुने जनाउँदै उनले १८ प्रतिशतभन्दा बढी चिस्यान भएमा तौल घटाउने नियम लागू गरिने उल्लेख गरे । उनका अनुसार सम्पूर्ण प्रक्रिया पूरा भएपछि मन्त्रिपरिषद् बैठकले मूल्य तोक्नेछ । यसरी तोकिएको मूल्य आधिकारिक रूपमा सार्वजनिक गरिने विभागका महानिर्देशक सञ्जेलले जानकारी दिए । सरकारले तोकेको मूल्यमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत धान खरिद हुने जनाएको छ । सरकारले गत वर्ष प्रतिक्विन्टल २ हजार ८०० समर्थन मूल्य तोकेको थियो ।
नेप्सेमा साढे ७ अर्ब रुपैयाँको बोनस सेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का साढे ७ अर्ब रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को ७ महिनामा विभिन्न कम्पनीको ७ अर्ब ४९ करोड रुपैयाँको बोनस सेयर सूचीकृत भएको हो । चालु आवको ७ महिनामा २१ अर्ब ९६ करोड रुपैयाँको साधारण सेयर (आईपीओ) सूचीकृत हुँदा ९ अर्ब ६४ करोड रुपैयाँको हकप्रद सेयर सूचीकृत भएको छ । यसअवधिमा ७ अर्ब ५० करोड रुपैयाँको म्युचुअल फन्ड, ३ अर्ब ४० करोड रुपैयाँको डिबेन्चर, ९२ करोड ५० लाख रुपैयाँको एफपीओ र २ करोड २९ लाख रुपैयाँको अन्य गरी कुल ५० अर्ब ९४ करोड रुपैयाँको थप सेयर नेप्सेमा सूचीकृत भएका छन् । समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले १३ अर्ब १३ करोड रुपैयाँको म्युचुअल फण्ड, ६ अर्ब ६४ करोड रुपैयाँको साधारण सेयर, ४ अर्ब ४१ करोड रुपैयाँको हकप्रद सेयर, २० करोड रुपैयाँको डिबेन्चर र ५ करोड रुपैयाँको एफपीओ गरी कुल २४ अर्ब ४२ करोड रुपैयाँको सेयर निष्काशनका लागि अनुमति दिएको छ ।
कालंगा हाइड्रोले चैत १० गतेदेखि आईपीओ बिक्री खुला गर्ने, क-कसले आवेदन दिन पाउँछन् ?
काठमाडौं । कालंगा हाइड्रो लिमिटेडले चैत १० गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री गर्ने भएको हो । कम्पनीले जारी पुँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ४९ करोड रुपैयाँको अंकित मूल्य १ सय दरका ४९ लाख कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् १४ करोड रुपैयाँको १४ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई छुट्याएको छ । स्थानीयलाई छुट्याएको सेयरमध्ये ९ लाख १० हजार कित्ता बझाङको केदारस्युँ गाउँपालिका-४ र ५, बित्थडचिर गाउँपालिका-६ र ८, बुंगल नगरपालिका-३, ४, ६, ८ र ५, बैतडीको डिलासैनी गाउँपालिका-१ र २, दार्चुलाको शैल्यशिखर नगरपालिका-१ का स्थानीयलाई र ४ लाख ९० हजार कित्ता बझाङको केदारस्युँ गाउँपालिका, बित्थडचिर गाउँपालिका र बुंगल नगरपालिका, बैतडीको डिलासैनी गाउँपालिका र दार्चुलाको शैल्यशिखर नगरपालिकाका स्थानीयलाई बिक्री गरिनेछ । साथै सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता सेयरमा श्रम स्वीकृती लिई विदेशमा रोजगार गरिरहेका नेपालीले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम २० हजार कित्ता सेयरसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीयले चैत २४ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिमा पूर्ण बिक्री नभएमा २०८३ वैशाख ९ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले छिटोमा चैत १५ गते र ढिलोमा चैत २४ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले बिक्री प्रबन्धकका साथै आयोजनाको कार्यालय, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको केदारस्युँ-१, ग्लोबल आइएमई बैंकको जयपृथ्वी नगरपालिका-१०, बझाङ्ग, गोकुलेश्वर, शैल्यशिवर-९, दार्चुला शाखा, कुमारी बैंकको छबिसपाथिभारा गाउँपालिका र डिलासैनी गाउँपालिका र कृषि विकास बैंकको बुंगल नगरपालिका-४ मा रहेका शाखाबाट आवेदन दिन सक्नेछन् । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।
कोशी, बागमती र गण्डकीमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहनका साथै हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको र बाँकी भू-भागमा आंशिक बादल लागेको छ । कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी र हिमाली भू-भागका थोरै स्थानमा हल्का वर्षा र हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थान र बाँकी हिमाली भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकोछ ।
समृद्ध राष्ट्र बनाउन विदेशमा रहेका नेपालीको सहकार्य र लगानी आवश्यकः प्रधानमन्त्री कार्की
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादन मूलक क्षेत्रमा आकर्षित गर्ने र गैर आवासीय नेपालीहरूको पुँजीलाई सुरक्षित र पारदर्शी रूपमा परिचालन गर्ने नीति सरकारको प्राथमिकतामा रहेको बताएकी छिन् । त्यसका लागि दीर्घकालीन लगानी संरचना निर्माण गर्ने सरकारको नीति रहेको उनको भनाइ छ । काठमाडौंमा आयोजित गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को १२औँ महाधिवेशन तथा विश्व सम्मेलनको समापन समारोहमा प्रधानमन्त्री कार्कीले विश्वभर फैलिएका नेपालीहरू नेपालको सद्भावना दूत रहेको उल्लेख गर्दै उनीहरूको योगदानको प्रशंसा गरिन् । उनले गैर आवासीय नेपालीहरूलाई नेपालको विकास र समृद्धिको यात्रामा सक्रिय रूपमा सहभागी हुन आह्वान गर्दै विदेशमा सिकेको ज्ञान, सीप, अनुभव र पुँजीलाई मातृभूमिको विकासमा उपयोग गर्नुपर्नेमा जोड दिइन् । प्रधानमन्त्री कार्कीले हालै सम्पन्न महाधिवेशनबाट सङ्गठनभित्र देखिएको विभाजन अन्त्य भई एउटै मञ्चमा एकता कायम हुनु सकारात्मक भएको बताइन् । उनले एकता र सहकार्यबाट मात्रै विश्वभर रहेका नेपालीहरूको साझा भावना बलियो बन्ने धारणा राखिन् । नेपालको संविधानले गैर आवासीय नेपालीलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहितको नागरिकताको व्यवस्था गरेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले यसले प्रवासी नेपाली र मातृभूमि बीचको सम्बन्ध अझ सुदृढ बनाएको बताइन् । नवनिर्वाचित अध्यक्ष डा. हेमराज शर्मासहित सङ्घको नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै उनले गैर आवासीय नेपालीहरूको योगदान आर्थिक मात्र नभई सामाजिक पुँजी निर्माणमा पनि महत्त्वपूर्ण हुने बताइन् । प्रधानमन्त्री कार्कीले नेपाललाई अवसरयुक्त र समृद्ध राष्ट्र बनाउन स्वदेश तथा विदेशमा रहेका सबै नेपालीहरूको सहकार्य, लगानी, ज्ञान र नवप्रवर्तन आवश्यक रहेको धारणा राखिन् । उनले यस महाधिवेशनबाट व्यक्त भएको एकता र प्रतिबद्धताले नेपालको विकास र समृद्धिका लागि नयाँ मार्गदर्शन दिने विश्वास व्यक्त गरिन् ।
एनआरएनएका १२ घोषणा: छुट्टै निकाय स्थापनादेखि सङ्कटमा परेकालाई उद्धारमा सहकार्य
काठमाडौं । ‘हाम्रो एकता, समृद्धिको आधार’ भन्ने मूल नारासहित आयोजित गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा वृहत् अन्तर्राष्ट्रिय एकता महाधिवेशन सम्पन्न भएको छ । सम्मेलनले नेपालको विकासमा प्रवासी नेपालीको लगानी, श्रमिक अधिकार र संस्थागत एकतालाई प्राथमिकतामा राख्दै १२ बुँदे घोषणापत्र जारी गरेको छ । फागुन ३० गतेदेखि चैत २ गतेसम्म काठमाडौंमा भएको सम्मेलनले विश्वभर छरिएका नेपाली समुदायलाई नेपालको समृद्धि, विकास तथा विश्वव्यापी रूपमा रहेका नेपालीको हित प्रवर्द्धनका लागि एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ । सम्मेलनले नेपालमा गैर आवासीय नेपालीहरूको लगानी भित्र्याउन कानुनी तथा नीतिगत सुधार गर्दै सहज वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ । सम्मेलनले रोजगारी सिर्जना, उद्यमशीलता विकास तथा भौतिक पूर्वाधार निर्माणमा प्रवासी नेपालीको लगानीलाई प्रोत्साहन गर्ने प्रतिबद्धता जनाएको छ । घोषणापत्रमा गैर आवासीय नेपालीको लगानी व्यवस्थापनका लागि छुट्टै निकाय स्थापना, बैंक खाता खोल्ने र लगानी फिर्ता लैजान सहज व्यवस्था गर्न सम्बन्धित ऐन तथा नियमावली संशोधन गर्न सरकारसँग माग गरिएको छ । सम्मेलनले मध्यपूर्वको पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै सङ्कटमा परेका नेपालीको उद्धार, राहत र पुनःस्थापनामा नेपाल सरकार तथा अन्तर्राष्ट्रिय निकायसँग सहकार्य सुदृढ गर्ने जनाएको छ । यसैगरी, विश्वका विभिन्न देशमा कार्यरत नेपाली श्रमिकहरूको सुरक्षा, अधिकार र सम्मानजनक रोजगारी सुनिश्चित गर्न सम्बन्धित देश, अन्तर्राष्ट्रिय संस्था तथा नेपाल सरकारसँग सहकार्य गर्ने प्रतिवद्धतासमेत व्यक्त गरिएको छ । घोषणापत्रमा प्रवासमा जन्मिएका दोस्रो पुस्ताका युवालाई नेपाली भाषा, संस्कृति र इतिहाससँग जोड्न शिक्षा, सांस्कृतिक कार्यक्रम तथा डिजिटल माध्यममार्फत पहल गरिने उल्लेख छ । सम्मेलनले जलविद्युत्, कृषि, पर्यटन, सूचना प्रविधि तथा नवप्रवर्तन मूलक उद्योगमा गैर आवासीय नेपालीको लगानी प्रवर्द्धन गर्दै लगानीमैत्री वातावरण निर्माणका लागि नेपाल सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ । यसैगरी, विश्वभर रहेका नेपालीहरूको ज्ञान, अनुभव र पुँजीलाई मातृभूमिसँग जोड्दै समृद्ध, समावेशी र आत्मनिर्भर नेपाल निर्माणमा योगदान गर्ने सामूहिक सङ्कल्प पनि गरिएको छ । सम्मेलनमा ४ हजार २८६ प्रतिनिधि सहभागी भएका थिए । तीमध्ये ४ सयभन्दा बढी प्रतिनिधि काठमाडौंमा भौतिक र बाँकी प्रतिनिधि अनलाइनमार्फत सहभागी भएका आयोजकले जनाएको छ ।