विकासन्युज

हिमपातका कारण जर्मनीमा ७०० उडानहरू रद्द : बस-रेल सेवा स्थगित

जर्मनी । भारी हिमपातका कारण शनिबार जर्मनीको म्युनिख विमानस्थल हुँदै हुने करिब ७६० उडानहरू रद्द गरिएका छन् । सीएनएनले विमानस्थलका प्रवक्तालाई उद्धृत गर्दै जनाए अनुसार हिमपातका कारण म्युनिखमा बस, ट्राम र केही रेल सेवाहरू समेत बन्द गरिएको छ । जर्मनीको राष्ट्रिय रेलवे कम्पनी ड्युचे बानका अनुसार म्युनिखको केन्द्रीय रेल स्टेशन आगमनका लागि बन्द गरिएको छ भने, लामो दूरीका अन्य यातायातका सेवाहरू पनि स्थगन गरिएको छ । रेल यातायात सोमबारसम्म ‘गम्भीर रूपमा प्रभावित’ हुने पनि कम्पनीले जनाएको छ । यसबाट ठूलो सङ्ख्यामा यात्रुहरू म्युनिखको मुख्य स्टेशनमा अलपत्र परेको जर्मनीमा आधारित अखबार सुदेट्च जेतुङलाई उद्धृत गर्दै समाचार सम्प्रेषण गरिएको छ। प्रकाशनसँग कुरा गर्दै एकजना यात्रुले भने, ‘म एक बजेदेखि यही ठाउँमा बसेको छु।’ अर्का यात्रुले सीएनएनसँग आफूहरू त्यहाँबाट बाहिर निस्कन पाउँछौं कि पाउछदैनौं भन्ने जिज्ञासा राखेका छन् । शनिबार, प्रहरीले म्युनिखका जनतालाई अत्यावश्यक नभएसम्म सवारी साधन प्रयोग नगर्न आग्रह गरेको छ। यसैबीच, दक्षिणी बाभेरियाका केही भागहरूमा मानिसहरूलाई घरबाट बाहिर ननिस्कन भनिएको पनि सीएनएनले म्युनिख प्रहरी प्रवक्तालाई उद्धृत गर्दै जनाएको छ । यसैबीच, बायर्न म्युनिख र युनियन बर्लिनबीच शनिबार हुने भनिएको फुटबल खेल पनि ‘सुरक्षा जोखिम र ट्राफिक अवस्थाका कारण’ स्थगित गरिएको बायर्न म्युनिखले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ । शनिबार, म्युनिखमा ४४ सेन्टिमिटर हिउँ परेको सीएनएनले बाभेरियन सार्वजनिक प्रसारक बेइरिस्चर रुन्डफङ्कलाई उद्धृत गर्दै उल्लेख गरेको छ । म्युनिखमा शनिबार ४५ सेन्टिमिटर हिउँ परेको थियो जुन सन् १९३३ पछिको डिसेम्बरको पहिलो रेकर्ड हो। यसअघि २९ डिसेम्बर १९३८ मा ४४ सेन्टिमिटर हिउँ परेको थियो। बाभेरियामा यसपालि १७ वर्षयताकै भारी हिमपात भएको छ । बाक्लो हिमपातसँगै यहाँको उडान र गुडान दुवै यातायात प्रत्यक्ष रूपमा प्रभावित हुने गर्दछ। रासस

महाकाली सिँचाइ तेस्रो चरण : पाँच प्याकेजमा नहर निर्माणको ठेक्का सम्झौता

महेन्द्रनगर । राष्ट्रिय गौरवको आयोजना महाकाली सिँचाइ अन्तर्गत तेस्रो चरणको मूलनहर निर्माण अघि बढाउन थप पाँच वटा प्याकेजमा ठेक्का सम्झौता भएको छ । महाकाली सिँचाइ आयोजना तेस्रो चरण कार्यालयका सूचना अधिृकत इञ्जिनियर उमेश गुप्ताले मूलनहर अन्तर्गत २८ किलोमिटरसम्मको नहर र्निाणको अन्तिम चरणमा पुगेको बताए । ‘शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वतर्फ केही भागमा नहर निर्माण बाँकी छ’, उनले भने, ‘अबको दुई/तीन महिनामा काम पूरा हुन्छ ।’ आयोजनाले २८ किलोमिटरदेखि ४८ किलोमिटरसम्मको मूलनहर निर्माणका लागि हालै करिब दुई अर्ब रुपैयाँको लागतमा पाँच वटा ठेक्का सम्झौता गरिसकेको गुप्ताको भनाइ छ । ‘कैलालीको मालाखेतीसम्म नहर निर्माणका लागि ठेक्का सम्झौता भएर अहिले ठेकेदारले काम सुरु गर्दैछन्’, उनले भने, ‘त्यसका लागि आवश्यक तयारीमा जुटेका छौँ ।’ उनका अनुसार भारतीय पक्षले नियमित पानी दिनका लागि संयुक्त उद्घाटन लगायतका प्रक्रियामा गृहकार्य अघि बढाएको खबर प्राप्त भएको छ । सोहीअनुसार आफूहरुले समन्वय गरिरहेको उनको भनाइ छ । महाकाली नदीमा नेपालतर्फ सिँचाइका लागि पानी दिन बनेको मूल नहरको इन्टेक (गेट) परीक्षणदेखि निर्माण भएको मूल नहरमा पानी परीक्षणसमेत भइसकेको छ । आयोजनाका अन्तर्गत हाल २२ वटा शाखा नहर निर्माणका चरणमा छन् । जसमध्ये २० र २१ नम्बर शाखा नहरमा मुआब्जाको विषयले अल्झन रहेको आयोजनाले जनाएको छ । ‘शाखा नहरमा पर्ने जग्गाको कबिर ६०/७० प्रतिशत मुआब्जा रकम दिइसकेका छौँ’, उनले भने, ‘मुआब्जा दिन रकम अभाव भएपछि मन्त्रालयमा माग गरेका छौँ ।’ कञ्चनपुरसँगै कैलालीको मालाखेती क्षेत्रको गरी कूल ३३ हजार पाँच सय हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य छ । रासस

गुराँस लघुवित्तले लाभांश वितरण नगर्ने

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट लाभांश नदिने भएको छ । गत मंसिर १६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सो घोषणा गरेको हो । त्यस्तै, संस्थाले कम्पनीको नाफा नोक्सान, हिसाव र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने लगायतका वित्तीय विवरणहरु अनुमोदनको लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने छ । त्यसपछि साधारणभाले स्वीकृत गर्ने छ ।

कर नतिर्ने साढे दुई सय सहकारीलाई कारबाही गर्दै महानगर, को-को परे ?

काठमाडौं । काठमाडौं महानगरपालिकालाई कर नबुझाउने सहकारी संस्थाहरूको संख्या बढेको छ । महानगरभित्र सञ्चालित विभिन्न सहकारीहरूले लामो समयदेखि व्यवसायिक तथा बहाल कर नतिरेको भन्दै कारबाहीको प्रक्रिया अगाडि बढाएको हो । महानगरका अनुसार काठमाडौं महानगरभित्र सञ्चालित साढे दुई सय सहकारी संस्थाहरूले कर नतिरेको महानगरको भनाइ छ । काठमाडौं महानगरपालिका राजश्व विभागका निर्देशक ध्रुब कुमार काफ्लेले सहकारीलाई महानगरले कर बुझाउन पटक-पटक आग्रह गरे पनि हालसम्म कर नतिरेको उनको भनाइ छ । उनका अनुसार सहकारीबाट कर संकलन गर्न महानगरलाई सकस नै परेको छ । उनका अनुसार ती सहकारीहरूले महानगरलाई विगत दुई/तीन वर्षदेखिको कर भुक्तानी गर्न बाँकी छ । महानगरले कर बुझाउनका लागि पटक/पटक सूचना प्रकाशन गर्दै आए पनि कर बुझाउन अटेर गरेको काफ्लेको भनाइ छ । कर नबुझाउने सहकारीहरूलाई महानगरले कारबाहीको प्रक्रिया अगाडि बढाउनेछ । ‘महानगरको तर्फबाट गर्नुपर्ने सहजीकरण हामी गर्छौं, सहजीकरण गर्दागर्दै पनि उहाँहरूले कर बुझाउन अटेर गर्नुभयो भने व्यवसाय बन्द गर्न सक्ने अवस्थामा महानगर पुग्नेछ,’ उनले भने । आगामी पुस मसान्तभित्र कर बुझाउने सहकारीलाई महानगरले कर छुटको व्यवस्था पनि गरेको उनको भनाइ छ । ‘पुष मसान्तसम्म कर बुझाए भने सहकारीहरूलाई कर छुट हुन्छ, ती सहकारीले १० प्रतिशतसम्म छुट पाउँछन्, कर भुक्तानी भएन भने उनीहरूले जति वर्ष अघिदेखि कर बुझाएका छैनन्, सोही अवधिदेखिको जरिवाना लाग्छ, छुट पनि पाउँदैनन्,’ उनले भने । यसअघि महानगरपालिकाले बचतकर्ताको रकम हिनामिना गरेको भन्दै ७९ वटा सहकारीलाई कारबाहीको लागि प्रहरीसमक्ष पत्र पठाएको थियो । यस्तै, महानगरभित्र सञ्चालित सहकारीको विषयमा उजुरी पनि बढेको छ । महानगर क्षेत्रभित्र भएका सहकारीहरूमा सर्वसाधारणले बचत रकम जोखिममा परेको भन्दै उजुरी गर्न थालेका हुन् । यस्तै कर नतिर्ने तीन वटा लघुवित्तलाई पनि महानगरले कर तिर्न आग्रह गरेको छ । महानगरले आदर्श, मानुषी र राष्ट्रिय उत्थान लघुवित्तले पनि कर नतिरेकोले कर तिर्न आग्रह गरेको हो । महानगरले पुस मसान्तसम्म कर बुझाउँदा १० प्रतिशत छुट हुने व्यवस्था पनि गरेकाे छ । महानगरले वर्षमा ६ किस्तामा कर तिर्न सकिने व्यवस्था पनि गरेकाे छ । पुस १६ गते अपडेट कर ननिर्ते सहकारीको सूचिमा २५९ वटा सहकारीहरू रहेकोमा सूचि नम्बर ५१ मा रहेको इमानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २०८० साल असोज २६ गते महानगरपालिकालाई बुझाउनु पर्ने सबै कर बुझाएको र सोही मितिमा नविकरण गरेको उक्त सहकारीका प्रबन्धक अप्सरा बुढाथोकीले जानकारी दिइन् । सहकारीले आर्थिक वर्ष २०८०/८१ का लागि ३५ हजार ७४० रुपैयाँ महानगरलाई कर बुझाएको रसित समेत विकासन्युजमा पठाउँदै सूचिबाट नाम हटाउन आग्रह गरेकी छिन् । उक्त सूचि महानगरपालिकाले उपलब्ध गराएको हो । सम्पादक यी हुन् कर नतिर्ने सहकारी [pdf id=449725]

शिवम् सिमेन्ट्सले विद्यालयलाई दियो बस र व्याग

काठमाडौं । सिमेन्ट उद्योग शिवम् सिमेन्ट्सले हेटौंडा–१७, हटिया मकवानपुरस्थित लक्ष्मी आधारभुत विद्यालयलाई स्कुल बस तथा भरतपुर–१५, मंगलपुर चितवन स्थित विश्वप्रकाश माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको लागि स्कुल व्याग वितरण गरेको छ । शिवम् सिमेन्ट्स लिले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त स्कुल बस तथा स्कुलव्यागहरु वितरण गरेको हो । उद्योग तथा खानी क्षेत्रका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई विगतका वर्षहरुमा पनि विभिन्न शैक्षिक सामाग्रीहरुको वितरण, छात्रबृत्ती कोषको स्थापना तथा न्यानो कपडाहरु वितरण जस्ता कार्यहरु गर्दै आइरहेको छ । शिवम् सिमेन्ट्सले विगतका दिनहरुमा पनि आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उद्योग क्षेत्रका विभिन्न विद्यालयहरुमा छात्रवृत्तीको स्थापना, न्यानो कपडा वितरण, स्कुलबस, स्वास्थ्य सिविर, विपन्न परिवारको लागि खाद्यान्न वितरण, आइसोलेसन बेड निर्माणको लागि आर्थिक सहयोग, डाईलेशिस मेसिन, अक्सीजन प्लान्टको निर्माण, एम्बुलेन्स हस्तान्तरण, सडक निर्माण, डिप ट्यूव बोरिङ, बृक्षारोपण आदी जस्ता कार्यहरु गर्दै आइरहकेको छ । क्वालिटीको मामलामा नो कम्प्रमाइज भन्दै गुणस्तरीय उत्पादन तथा विक्रि वितरण गर्दै, देशको विभिन्न ठुला–ठुला राष्ट्रिय गौरवका आयोजनाहरुमा आफ्नो महत्वपुर्ण भुमिका निभाउदै आएको शिवम् सिमेन्टले सिमेन्ट जगतमै पहिलो पटक नापतौल तथा गुणस्तर विभागबाट प्रदान गरिने एनएस क्लालिटी अवार्ड २०१९ बाट पुरस्कृत हुन सफल भएको छ । ओपीसी सीमेन्ट मात्र उत्पादन गर्दै आएको शिवम् सिमेन्ट गुणस्तरीय एवम् उत्कृष्ट उत्पादन हो । सन् २००९ मा नेपालका केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी उक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम प्लस सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताको कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरुद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको असली ओपीसी सिमेन्ट बन्न सफल भएको कम्पनीले दाबी गरेको छ ।

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं। नेपाली बजारमा आइतबार सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज सुन तोलामा १८ सय रुपैयाँले बढेको हो । आइतबार छापावाला सुनको मूल्य बढेर एक लाख २० हजार ८०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २० हजार २०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायीले जनाएको छ । साथै, चाँदी आज तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ५ सय ४५ रुपैयाँमा कारोबार भइरहेको हो ।

सर्पोट लघुवित्तको सीईओमा महेश कुमार चौधरी नियुक्त

काठमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा महेश कुमार चौधरी नियुक्त भएका छन् । मंसिर १५ गते शुक्रबार बसेको संस्थाको सञ्चालक समितिको बैठकले उनलाई सीईओ पदमा नियुक्त गरको हो । यससँगै नवनियुक्त सीईओ चौधरीले मंसिर १५ गतेबाटै सीईओको कार्यभार सम्हाल्ने गरी पदभार ग्रहण गरेका छन् । उनले आगामी ४ वर्षसम्म सीईओको कार्यभार सम्हाल्ने छन् ।

पक्की पुल निर्माणले बेनी–कोरला सडक सहज

बेनी । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर सडक आयोजनाअन्तर्गत बेनीबाट मुस्ताङको कोरलासम्मको सडकमा पक्की पुल निर्माणले तीव्रता पाएको छ । कालोपत्रसहित सडक स्तरोन्नति भइरहेको यस सडकखण्डअन्तर्गत बेनी–जोमसोम–कोरला खण्डमा अहिलेसम्म १६ मोटरेबल पुल निर्माण भइसकेका छन् । पक्की मोटरेबल पुल निर्माण हुन थालेपछि खोला–खोल्सामा जोखिमपूर्ण तरिकाले सवारी वारपार गराउनुपर्ने बाध्यता हटेको सवारी चालक विकास भण्डारीले बताए । ‘बेगखोलालगायतका धेरै खोलामा वर्षायाममा ज्यानै जोखिममा राखेर सवारी चलाउनुपथ्र्यो, कतिपटक त सवारीसाधन नै खोलाले बगाएका पनि थिए, अब यो समस्या विस्तारै कम हुँदै गएको छ’, उनले भने । आयोजनामार्फत १३ र सडक विभागअन्तर्गतको पुल महाशाखाले तीन गरी १६ मोटरेबल पुल निर्माण सम्पन्न भएको आयोजनाका इन्जिनियर विष्णु चापागाईँले जानकारी दिए। गलेश्वरस्थित राहुघाट, बेगखोला, तिप्ल्याङ, पोखरेबगर, दाना, मुस्ताङको लुप्राखोलामा मोटरेबल पुल निर्माण सम्पन्न भइसकेको छ । यस्तै मुस्ताङको छान्ताङखोला, लेतेखोला, लोमान्थाङ खोला, किम्लिङ खोला, नामडोक खोला, भर्माखोला, स्याङखोला र घट्टेखोलामा मोटरेबल पुल निर्माण सम्पन्न भई यातायात सञ्चालनमा आइसकेको आयोजनाले जनाएको छ । रुप्से झरना, मुस्ताङको खहरेखोला, सेताखोला, पाण्डाखोला र लेतेखोलामा पुल निर्माणका लागि प्रस्ताव गरिएको इन्जिनियर चापागाईँले जानकारी दिए । बेनी–जोमसोम–कोरला खण्डका विभिन्न आठ स्थानमा पक्की मोटरेबल पुल निर्माणाधीन अवस्थामा रहेको उनले बताए । यसैगरी पुल महाशाखामार्फत मुस्ताङको थापाखोला र बोक्सीखोलमा पुल निर्माणका लागि खरिद प्रक्रिया थालिएको छ । बाँकी स्थानमा पुल निर्माणका लागि आयोजनाले अध्ययन गरिरहेको जनाएको छ । पर्वतको मालढुङ्गाबाट बेनी हुँदै मुस्ताङस्थित चीनको सिमाना कोरला नाका जोड्ने दुई सय आठ किलोमिटर दूरीको मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडक विगत सात वर्षदेखि स्तरोन्नतिसहित कालोपत्र योजना सञ्चालन गरिएको छ । रासस