विकासन्युज

आइआइएमएस कलेजमा दीक्षान्त समारोह सम्पन्न, पाँच सय जना विद्यार्थी दीक्षित

काठमाडौं । आइआइएमएस कलेजमा दीक्षान्त समारोह सम्पन्न भएको छ । शनिबार काठमाडौंको होटल मेरियटमा एक भव्य समारोहका बीच सो समारोह सम्पन्न भएको हो । दीक्षान्त समारोहमा टेलर्स विश्वविद्यालयका उच्च स्तरीय प्रतिनिधि, विद्यार्थी, अभिभावक, कलेज परिवार र विभिन्न क्षेत्रका सयौं व्यक्तिहरुको सहभागीता रहेको थियो । समारोहमार्फत् बिआइटी र बिएचएम अध्ययन पूरा गरेका पाँच सय जना विद्यार्थीहरु दीक्षित भएको कलेजका ग्रोथ एन्ड डेभलपमेन्ट सर्भिस डाइरेक्टर बृहत बोस्वाले विकासन्युजलाई बताए । आइआइएमएस कलेजले मलेसियाको प्रतिष्ठित टेलर्स विश्वविद्यालमा सम्बन्धन लिएर बिसिएस, बिएचएम र विविए कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

जहाँ किताबी ज्ञान मात्रै होइन, व्यावहारिक सीप पनि सिकाइन्छ

तनहुँ । व्यास नगरपालिका–१० दुम्सीस्थित शिव माध्यमिक विद्यालयमा पछिल्ला समय विद्यार्थीको आकर्षण बढ्दै गएको छ । विद्यालयले किताबी ज्ञानसँगै विद्यार्थीको रुचि अनुरुप व्यावहारिक सीप दिन थालेपछि विद्यार्थीको आकर्षण बढेको हो । सोही वडा निवासी आश्रुत लामिछाने कक्षा १० मा अध्ययनरत छन् । पढाइसँगै उनले सीपमूलक तालिम पनि लिएका छन् । पञ्चेबाजाअन्तर्गत उनले अहिले मज्जाले ढलाकी बजाउन सिकेका हुन् । विद्यालयले सिक्दै, पढ्दै कार्यक्रमअन्र्तगत एक महिने पञ्चेबाजासम्बन्धी प्रशिक्षण दिएपछि उनी ढलाकी बजाउन निपूण बनेका हुन् । ‘सुरुमा कसरी बजाउने होला भन्ने सोचेको थिएँ’, उनले भने, ‘प्रशिक्षकले दिएको ज्ञानलाई व्यवहारमा लागू गर्दै निरन्तरको प्रयासपछि अहिले ढलाकी बजाउन सक्षम बनेको छु ।’ लामिछाने जस्तै कक्षा १० मा अध्ययनरत शिशिर सापकोटा टेम्पो बजाउन सफल बनेका छन् । इच्छाशक्ति भए नसकिने भन्ने हुँदो रहेनछ विद्यार्थी सापकोटाले भने, ‘सुरुमा डर लागे जस्तो भएपनि अहिले मज्जाले बजाउन सकिन्छ ।’ विद्यालयले चितवनबाट प्रशिक्षक ल्याएर इच्छुक विद्यार्थीहरुका लागि पञ्चेबाजासम्बन्धी एकमहिने प्रशिक्षण दिएको शिक्षक धु्रव भण्डारीले जानकारी दिए । पञ्चेबाजामध्ये नरसिंहा बजाउने प्रशिक्षण दिने तयारी गरेका छौँ । उनले भने, ‘वाद्यबाजन र पञ्चे बाजा बजाउनसके पनि धेरैले नरसिंहा बजाउन सक्दैनन् ।’ विद्यालयमा पठनपाठन बन्द भएको समय र बिदाका दिनमा समाजमा हुने बिवाह, ब्रतवन्ध, पूजाआजालगायतका कार्यक्रममा पठाइने सोच बनाइएको सो विद्यालयले जनाएको छ । विद्यालयमा बाद्यबाजनका साथै नृत्य, टपरी बुन्ने, तरकारी खेती, आलुखेती, बत्ती कात्ने, कपाल काट्नेलगायतका सीप विद्यार्थीलाई दिएर संस्कारी बनाउन लागिएको प्रधानाध्यापक चन्द्रमणि कोइरालाले जानकारी दिए । समाजमा चलिआएका पुर्ख्यौली सीपहरु समेत लोप हुने अवस्थामा पुगेकाले विद्यार्थी सिकाएर व्यावहारिक बनाइएको छ । परियार समुदायले बजाउने पुख्यौली पञ्चेबाजा पछिल्लो समय लोपोन्मुख बन्ने खतरा बढेको छ भने आधुनिक बाजाले विस्थापित हुदै गएको छ । पुख्र्यौली सम्पत्तिको संरक्षण एवं सम्बद्र्धन गर्न पनि विद्यालयले यसलाई प्राथामिकता दिएको हो । कक्षा ८,९ र १० कक्षाका विद्यार्थीलाई शिक्षाको साथै व्यावहारिक शिक्षा प्रदानमा जोड दिइएको उनको भनाइ छ । विद्यार्थीलाई पठनपाठनमा मात्रै केन्द्रित गर्दा पट्यार लाग्ने, दिक्क अनुभव गर्ने र पढाईमा ध्यान नदिने भएकाले यस्ता सीपमूलक शिक्षामा जोड दिइएको प्रधानाध्यापक कोइरालाले बताए । ‘नाचगानलगायत सीपमूलक शिक्षा प्रदान गर्न थालेसँगै विद्यार्थीहरु उत्साहित भएर सीप सिक्ने र पढ्ने कार्यमा रुचि लगाउने गरेका छन्’, उनले भने । ‘सीप सिकेका विद्यार्थीले आफूभन्दा तल्लो कक्षामा अध्ययनरत इच्छुक विद्यार्थीलाई पनि सिकाएर सीप हस्तान्तरण गर्न लगाइएको छ’, उनले भने, ‘विद्यार्थीबाट विद्यार्थीमा सीप हस्तान्तरण गरी पञ्चेबाजालाई सदाबहार जीवन्तता दिन लागिएको छ ।’ कक्षा १० मा अध्ययनरत विद्यार्थी एसइईपश्चात् अर्को विद्यालयमा जानुअघि सिकेको सीप आफूभन्दा पछिका पुस्तालाई सिकाउने व्यवस्था मिलाइएको सो विद्यालयले जनाएको छ । विद्यालयको भावि योजनामा प्लाम्बिङ र वाइरिङलगायतका सीपमूलक र आयआर्जनमूलकसम्बन्धी तालिम प्रदान गर्ने लक्ष्य रहेको छ । विद्यार्थीले मात्रै नभई शिक्षक शिक्षिक पनि वाद्यवादन बजाउन, गाउन र नाच्न उत्तिकै सक्षम बन्दै गएका छन् । कक्षा १ देखि ५ सम्म स्मार्ट टिभी र कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई स्मार्ट बोर्ड राखेर पठनपाठन गराउन थालिएको छ । समयको मागसँगै विद्यालयले प्राविधिक शिक्षालाई प्राथामिकता दिँदै आएको सो विद्यालयले जनाएको छ । दलित, जनजाति र सिमान्तकृत बालबालिकाको बाहुल्य रहेको यस विद्यालयमा हाल तीन सय विद्यार्थी अध्ययनरत छन् । रासस

एनआईसी एशिया लघुवित्तद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । एनआईसी एशिया लघुवित्तले १४ गते बिहीबार देखि सिसहनिया, छिन्चु, सिम्ली, थलह, बड्डिचौर,जुम्ला, नारायणपुर, दुर्गौली, पिपलटार,फर्पिङ, अमरगढी, भिमाद शाखा मार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मंसिर महिनामा सो कार्यक्रम सम्पन्न गरेको हो । विद्यार्थीहरुमा वित्तीय चेतना अभिवृद्धि गराउने उद्देश्यले एनआईसी एशिया लघुवित्त वित्तीय सस्थाले दर्जन बढि विद्यालयहरुका ३०० बढि विद्यार्थीलाई वित्तीय साक्षरतासम्बन्धी जानकारी दिएको हो । विशेष गरेर कार्यक्रमले बालबालिका एवम् युवा वर्गमा वित्तीय ज्ञान अभिवृद्धि गर्न मद्दत पुगेको र वित्तीय सेवा र पहुँचको अवसरबाट वञ्चित दुर्गम ग्रामीण क्षेत्रमा बसोबास गर्ने सर्वसाधारण र वित्तीय कारोबार बारे अनविज्ञ बिद्यार्थी भाई बहिनीहरु लाई केन्द्र बिन्दुमा राख्नु मूल कर्तव्य ठानेर बालबालिकाहरुमा विद्यालय तहमै वित्तीय प्रणालीको आधारभूत ज्ञान हासिल गराउने मूल उदेश्य यस कार्यक्रमले राखेको छ । आगामी दिनहरुमा यो कार्यक्रम थप प्रभावकारी हुने अपेक्षा गरिएको छ । संस्थाले हाल २८९ ओटा शाखामार्फत वित्तीय सेवा हरु दिँदै आएको छ ।

गृहमन्त्री श्रेष्ठ अस्पतालबाट ‘डिस्चार्ज’

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । बाँसबारीस्थित सहिद गङ्गालाल हृदय केन्द्रमा उपचार गराइरहेका मन्त्री श्रेष्ठ स्वास्थ्यलाभपछि डिस्चार्ज भएको गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी गराए । यही मङ्सिर १९ गते केन्द्रमा भर्ना उनको मुटुको एन्जियोप्लास्ट गरिएको थियो । मन्त्री श्रेष्ठको उपचारमा केन्द्रका चिकित्सक डा अरुण मास्केसहितको चिकित्सकको टोलीले उपचार गरेको थियो । मन्त्री श्रेष्ठलाई स्वास्थ्य लाभको कामना गर्न अस्पतालमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलगायत पुगेका थिए ।

अष्ट्रेलियामा विदेशी मूलका व्यक्तिको खाली घरको कर बढाउने

अष्ट्रेलिया । अष्ट्रेलिया सरकारको घोषणा अस्ट्रेलिया सरकारले भाडाको सङ्कट कम गर्ने प्रयासस्वरूप विद्यमान घरका विदेशी खरिदकर्तालाई शुल्कमा नाटकीय वृद्धि गर्ने घोषणा गरेको छ । अष्ट्रेलियामा भाडामा कोठा पाउन कठिन बनेपछि लेबर पार्टीले खाली घर नराख्न प्रोत्साहन गर्न र कोठा भाडा पाउने अवस्थालाई सहज बनाउन नयाँ बर्षको शुरूमा नै नयाँ कानुन ल्याई घरका विदेशी खरिदकर्ताले घरलाई खाली राखेमा बढी कर तिनुपर्ने व्यवस्था गर्न लागेको हो । घर निर्माण घट्दै जाँदा सेप्टेम्बर ३० सम्मको अवधिमा भाडाको मूल्य १४ वर्षयताकै सबैभन्दा तीव्र स्तरमा अर्थात् ७.६ प्रतिशतले बढेको छ । कोषाध्यक्ष जिम चाल्मर्सले भने,’अस्ट्रेलियाको ग्रामिण क्षेत्रमा धेरै घरहरू खाली छन् । तर कोठाभाडा पाउन कठिन हुने गर्छ ।’ स्काई न्यूज अष्ट्रेलियासँगको अन्तर्वार्तामा उनले भने, ‘अष्ट्रेलियालीहरूका लागि पर्याप्त आवासीय भवन उपलब्ध छैन ।’ सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’यी उपायहरूले विदेशीहरूलाई विद्यमान स्टक किन्नुको सट्टा नयाँ आवास विकासमा लगानी गर्न प्रेरित गर्ने लक्ष्य राखेको छ ।’ काम वा अध्ययनका लागि अष्ट्रेलियामा बसोबास नगरेसम्म विदेशीहरूले पहिले नै स्थापित घरहरू किन्न प्रतिबन्ध लगाएका छन्, र उनीहरूले सामान्यतया घर छोड्दा घरलाई बेच्नु पर्दछ । छ महिनाभन्दा बढीको लागि घर खाली राखेमा निर्माणसम्पन्न घरहरूको विदेशी मालिकहरूले एक उच्च वार्षिक अतिरिक्त शुल्क तिर्नुपर्ने हुनेछ । त्यो शुल्क ९हाल विदेशी लगानी शुल्कको समान० नयाँ योजना अन्तर्गत दोब्बर हुनेछ । यसको समग्र प्रभाव विद्यमान घरहरू खाली छोड्ने विदेशीहरूको लागि वार्षिक शुल्कमा छ गुणा वृद्धि हुनेछ । तथापि, यो स्पष्ट छैन कि अष्ट्रेलियामा अवस्थित घरहरूको विदेशी स्वामित्व भाडा बजारको लागि ठूलो समस्या हो । अस्ट्रेलियाका अर्थमन्त्रीका अनुसार स्थापित घरका विदेशी मालिकहरूबाट लगाइएको खाली घरका लागि शुल्कले वार्षिक करिब ५० लाख अष्ट्रेलियन डलर मात्र उठाउँछ । चाल्मर्सका अनुसार एउटा रिपोर्टले गत वर्ष २३ वटा मात्र यस्ता ‘उल्लङ्घन’ भएको सङ्केत गरेको छ। सरकारले भाडाका लागि आवास निर्माण परियोजनामा विदेशी लगानीकर्ताको शुल्क पनि घटाउने बताएको छ । रासस

रियलमी सि ५३ अब नयाँ भेरिएन्टमा

काठमाडौं । रियलमीको रियलमी सि ५३ ६+१२८ जीबी भेरिएन्ट बजारमा उपलब्ध भएको छ । आफ्ना ग्राहकहरुलाई नयाँ–नयाँ प्रविधि प्रदान गर्ने रियलमीको प्रतिबद्धता अनुरुप सि ५३ को ६+१२८ जीबी भेरिएन्ट बजारमा ल्याइएको कम्पनीले जनाएको छ । उत्कृष्ट क्यामरा, स्लीक डिजाइन र अत्याधुनिक प्रविधिका लागि लोकप्रिय ४/१२८ जीबी भेरियन्टको रियलमी सि ५३ को सफलताको आधारमा  नयाँ ६/१२८ जीबी भेरियन्टले उपभोक्ताहरूका लागि अझ बढी इमर्सिभ अनुभव दिने विश्वास कम्पनीले लिएको छ । रियलमी सि ५३ : क्यामेरा च्याम्पियन १०८ मेगापिक्सेल अल्ट्रा क्लियर क्यामेरा सहितको रियलमी सि ५३ ले ग्राहकहरुलाई फोटोग्राफिको प्रशस्तै डाइमेन्सनहरु एक्स्प्लोर गर्ने अवसर प्रदान गर्छ । यस सेगमेन्टकै पहिलो १०८ मेगापिक्सेल क्यामेरा र सबैभन्दा ठूलो क्यामरा सेन्सरले उत्कृष्ट कलर, ब्यालेन्सड हाइलाइट र स्याडोज तथा डिप टेक्सचर शटहरू प्रदान गर्दछ । यो अत्याधुनिक क्यामेराले कम उज्यालोमा पनि उच्च क्ल्यारिटी डिटेलड तस्बिर खिच्न सक्छ । ७.९९ एमएम अल्ट्रा स्लिम र प्रिमियम च्याम्पियन डिजाइनका साथ रियलमी सि ५३ ले सुन्दरतालाई पुनः परिभाषित गर्दै कम्प्याक्ट, लाइट वेट डिभाइसमा अलग स्टाइल प्रदान गर्दछ । १८ वाट क्विक चार्जको सुविधा भएको रियलमी सि ५३ मा शक्तिशाली ५००० एमएएचको विशाल ब्याट्री राखिएको छ जसले गर्दा दिनभरी फोन चलाउँदा पनि समस्या हुँदैन । रियलमी सि ५३ मा १२ जिबी सम्मको डायनामिक ¥यामको साथ सिमलेस मल्टिटास्किङ र एप ह्यान्डलिङ गर्न सहज हुन्छ । १७.१३ सेन्टिमिटर (६.७४ इन्च) ९० हर्जको डिस्प्ले र ठूलो स्क्रिन साइजले ग्राहकहरुलाई उत्कृष्ट गेमिङ अनुभव  प्रदान गर्दछ । अक्टा–कोर चिपसेटले एडभान्स टेकनोलोजी र इफिसियन्ट प्रोसेसिङ क्षमताहरूको साथमा उत्कृष्ट पर्फरमेन्स तथा अनुभव सुनिश्चित गर्दछ । ६+१२८ जीबी भेरिएन्टको रियलमी सि ५३ आकर्षक च्याम्पियन गोल्ड कलरमा रु. १८ हजार ९९९ मा उपलब्ध छ ।

आन्तरिक राजश्व कार्यालय बाग्लुङद्वारा द क्लिफ सम्मानित

काठमाडौं  । द क्लिफ नेपाललाई आन्तरिक राजश्व कार्यालय, बाग्लुङले उत्कृष्ट करदाताको सम्मान गरेको छ । पर्वत जिल्लामा दर्ता रहेका करदाताहरू मध्ये सेवा र उद्योग अन्तर्गत सबैभन्दा बढी आयकर दाखिला गरेकाले राष्ट्रिय कर दिवस २०८०को अवसरमा कार्यालयले सम्मान गरेको हो । कार्यालयका प्रमुख कर अधिकृत शालिकराम आचार्यले क्लिफका अध्यक्ष राजु कार्कीलाई कर दिवस(२०८० का सन्दर्भमा आयोजित कार्यक्रममा सम्मानपत्र हस्तान्तरण गरेका हुन् । राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथी पर्वत र बाग्लुङ बलेवा जोड्ने गरि बनाइएको द क्लिफमा विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बन्जी जम्प सञ्चालन हुँदै आएको छ । बन्जी र स्विङसँगै क्लिफमा रिसोर्ट, विश्वकै अग्लो ब्यवसायिक स्काइ साइक्लिङ, स्काइ क्याफे, वाल क्लाइम्बिङ, गुलेली पिङ, क्रेजी ब्रीज, स्काइ ग्लाइडिङ, स्काइ क्याफे लगायत गतिविधि सञ्चालनमा छन् ।

एक करोड फिरौती मागेको आरोपमा तीनजना पक्राउ

मकवानपुर । मकवानपुरमा १ करोड फिरौती मागेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–९ का ३३ वर्षीय निश्चल पौडेल, ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्री रहेका छन् । तीनैजनाले यही मङ्सिर १९ गते राति हेटौँडा–९ का सूर्यप्रसाद पौडेलबाट फिरौती रकम मागेका थिए । प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार उनीहरुले पौडेलको घरमा गोली प्रहार गरेका थिए । फिरौती माग्ने निश्चल सूर्यप्रसादका भतिजा हुन् । तीनैजना आरोपितलाई प्रहरीले आज सार्वजनिक गरेको छ । प्रहरी उपरीक्षक रिजालका अनुसार पक्राउ परेको समूहले सूर्यप्रसादको घरमा पाँच राउण्ड गोली प्रहार गरेको थियो । घटनाको मुख्य योजनाकार निश्चल रहेको उनले बताए । ‘निश्चलले नै सूर्यप्रसादको घरमा गोली हान्न लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ’, प्रहरी उपरीक्षक रिजालले भने । उनीहरुले चलाएको गोलीबाट मानवीय क्षति भने भएको छैन । ‘फिरौती रकम माग्न तर्साउने उद्देश्यले घरको भित्तामा गोली हानेको पाइएको छ’, उनले भने, ‘फिरौती नदिए जे पनि हुनसक्छ भनेर आरोपितहरुले फोनबाट धम्की दिएको खुलेको छ ।’ प्रहरीले योजनाकार निश्चलको साथबाट पेस्तोलसहित २० थान गोली बरामद गरेको छ । आरोपितहरुले हेटौँडा–४ मा कोठा भाडामा लिएर लागुऔषधको कारोबारसमेत गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले तीनैजनाको साथबाट दुई मोटरसाइकल, दुई ग्राम खैरो हिरोइन, पाँच थान मोबाइल र रु ५० हजार बरामद गरेको छ । पक्राउ परेका तीनै जनामाथि प्रहरीले ज्यान मार्ने उद्योग, लागुऔषध कारोबार र हातहतियारसम्बन्धी मुद्दा चलाइने प्रहरीले जनाएको छ । रासस