नवप्रवर्तनकारी उद्यमीलाई पुरस्कृत गर्न उद्योग मन्त्रालयद्वारा प्रस्ताव आह्वान
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नवप्रर्तनकारी उद्यमीहरुलाई पुरस्कृत प्रदान गर्न प्रस्ताव आह्वान गरेको छ । मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै ख्याती आर्जन गरेका उद्यमीहरुलाई प्रस्ताव पेश गर्न आह्वान गरेको हो । मन्त्रालयका अनुसार सूचना, प्रविधि, कृषि, उर्जा, प्रविधि विकास, रोजगारी सिर्जना, उपकरणजन्य आविस्कार लगायतका क्षेत्रमा नवप्रवर्तनकारी ज्ञान सीप र क्षमताको प्रयोग गरी ख्याती आर्जन गरेका उद्यमीहरुले आफ्नो प्रस्ताव पेस गर्न सक्छन् । आइतबारबाट तीस दिनको समयभित्र प्रस्ताव पेस गर्न सकिने मन्त्रालयले जनाएको छ । मन्त्रालयको सूचना र आवेदकले भर्नुपर्ने फारमको ढाँचा ।
भेनेजुएलामा महँगी ३१८ प्रतिशतले वृद्धि, तर पेट्रोलको मूल्य लिटरको २.६७ रुपैयाँ
काठमाडौं । विश्वमा एउटा यस्तो देश छ जहाँ मुद्रास्फीति सबैभन्दा बढी छ । त्यहाँ खाद्य वस्तु निकै महँगो भएको छ, तर अर्कातर्फ पेट्रोलको मूल्य भने सबैभन्दा कम छ । त्यहाँ जति सस्तो पेट्रोल पाइन्छ, त्यो अन्त कुनै पनि देशमा पाइँदैन । त्यो देश दक्षिण अमेरिकामा अवस्थित छ र त्यसको नाम हो भेनेजुएला । तर, त्यहाँका जनताले खाद्यान्न (खाद्य मुद्रास्फीति) का लागि निकै संघर्ष गरिरहेका छन् । एक अध्ययनका अनुसार दक्षिण अमेरिकी देश भेनेजुएलासँग विश्वको कुल कच्चा तेल भण्डारको १८.२ प्रतिशत छ। यही कारण त्यहाँ पेट्रोलको मूल्य सबैभन्दा सस्ताे छ । भेनेजुएलामा एक लिटर पेट्रोलको मूल्य ०.०२ डलर अर्थात २.६७ रुपैयाँ पर्छ । यो मूल्य भनेको एक लिटर पानीको मूल्यभन्दा पनि निकै कम हो । यस्तो अवस्थामा १० लिटरको ट्यांकी भरे २६.७३ रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । सबैभन्दा महँगो खाद्य वस्तु कुनै समय यो देश विश्वको धनी राष्ट्रको सूचीमा थियो । तर, आज विश्वकै सबैभन्दा बढी मुद्रास्फीति भएको देशका रूपमा चिनिएको छ । खाद्यवस्तु यति महँगो भएको छ कि लाखौं जनता भोकै सुत्न बाध्य छन् । यहाँबाट मानिसहरू पलायन हुने अवस्था छ । सञ्चारमाध्यमका अनुसार गरिब जनताले आफ्नो खानपिनका लागि फोहोरमै फ्याँकिएको खानाको सहारा लिइरहेका छन् । वर्ल्ड अफ स्ट्याटिस्टिक्सका अनुसार यहाँ मुद्रास्फीति दर ३१८ प्रतिशत छ । रोयटर्सको रिपोर्टअनुसार कोरोना महामारीपछि मुलुकमा मुद्रास्फीति तीव्र गतिमा बढेको छ । यहाँका एक नागरिक कारमेन मेन्डोजाले खानाको लागि विभिन्न मुद्राको सहारा लिने बताए । उनको निवृत्तिभरण, सम्पत्ति भाडामा लिने र उनका दुई छोरीहरूले स्पेनबाट प्रतिमहिना लगभग १ सय ५० डलर पठाउँछन्, तर यसले पनि मासिक खर्च धान्दैन । फलस्वरूप खाद्यान्न र औषधीका लागि समेत संघर्ष गर्नुपरेको उनी बताउँछिन् । ३२ वर्षीया यासेलिन गार्सियाले रोयटर्सलाई बताइन् कि उनी चुरोट र अन्य सामान बेचेर महिनामा २० डलर कमाउँछिन्, तर १५ अन्डा, ३ किलो मकैको पिठो र केही अन्य अन्नमात्र किन्न सक्षम छिन् । कसरी बन्यो यो देशको यस्तो हालत ? अब तपाईंको मनमा यस्तै प्रश्न उठ्न सक्छ कि यो देशको हालत कसरी भयो ? वास्तवमा सन् १९९९ मा ह्युगो चाभेज राष्ट्रपति भएपछि देशमा समाजवादी व्यवस्था लागू भएको थियो । चाभेजले अमेरिकासँगको सम्बन्ध तोडेर चीन र रुसबाट अर्बौं डलर ऋण लिन थाले । सरकारले यो रकम कल्याणकारी कार्यक्रममा धेरै खर्च गर्यो र सबै कुराको मूल्य तोक्यो । देशको जग्गा सरकारी सम्पत्ति घोषित भयो । चाभेजको मृत्युपछि निकोलस मदुरो राष्ट्रपति बने र उनले पनि पुरानो व्यवस्थालाई निरन्तरता दिए । तिनीहरूले एक कदम अगाडि बढे र मुद्रास्फीतिको तथ्यांक दिन बन्द गरे । जथाभाबी छापियो नोट जब ऋणको बोझ बढ्यो, मदुरोले अर्थतन्त्रको वास्ता नगरी ऋण तिर्नका लागि जथाभाबी पैसा छापे । जसका कारण मुद्राको मूल्यमा उल्लेखनीय गिरावट आयो । यससँगै तेल निर्यातमा निर्भरताले पनि देशलाई समस्यामा पारेको छ । जब कच्चा तेलको मूल्य घट्यो, यो देशमा मुद्रास्फीति चरम सीमामा पुग्यो। विशेषगरी कोभिड महामारीको समयदेखि मुद्रास्फीति निकै तीव्र गतिमा बढेको छ । एजेन्सीको सहयोगमा
बैंकहरूले ऋणको ब्याजलाई सिंगल डिजिटमा ल्याउनुपर्छ, मिटरब्याजी जस्तो हुनु हुँदैन : अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका बैंकहरू मिटरब्याजी जस्तो हुन नहुने बताएका छन् । आईतबार झुलाघाट-चिवाभञ्ज्याङ यात्रा अन्तर्गत नुवाकोटमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले बैंकले निर्मम साहु, मिटरब्याजी तरिकाले नभएर विकासको लागि सहयोगी र अनकुल संस्थाको रुपमा काम गर्न आवश्यक रहेको बताए । बैंकहरुले जुन शर्तमा व्यवसायीहरुलाई ऋण दिएको हो त्यो शर्त पालना गर्न आवश्यक रहेको बताउँदै बैंक र ऋणहरुबीच ब्याजदर लगायतका विषयमा शर्त पालना नभएर दुवै पक्षबीचको सहमतिमा ब्याजदर घटबढ गर्नुपर्ने बताए । उनले पछिल्लो समय बैंक र ऋणीहरुबीचको सहमतिमा ब्याजदर घटबढ गर्ने नियमावलीमा लेखिएको भएपनि घट्ने हुँदै नहुने तर बढ्ने मात्रै भइरहेको टिप्पणी गरे । उनले बैंकले एकलौटी ब्याज बढाउन नपाउने व्यवस्था गर्नुपर्ने अवस्था सिर्जना भएको उल्लेख गरे । ‘अहिलेको अवस्थामा रहेको ऋणको ब्याजलाई सिंगल डिजिटमा ल्याउनुपर्छ । रिस्टक्चरिङ गर्नुपर्छ । अलिकति म्याद थप गरेर उद्यम व्यवसायहरू अप्ठ्यारोमा परेको बेलामा सहयोग गर्नुपर्छ । कहिले कहिले व्यवसाय डुब्न लाग्यो भने सहायता गरेर त्यसलाई थप ऋण दिएर उठाउने र आफ्नो ऋण लिने गर्नुपर्छ । अप्ठ्यारोमा पर्यो भनेदेखि धकेलिदियो भने यो गज्जबको जग्गा रहेछ लिलामीमा गयो भने यो कम्पनीले किन्छ, यस्तो मान्छेले किन्छ, महँगोमा बेच्न सकिन्छ लिलाम गरिहाल्यौं भन्ने खालको भन्ने तरिका उपयुक्त हुँदैन । बैंकले निर्मम साहुजी होइन, मिटरब्याजी तरिका होइन बैंकले विकासको लागि सहयोगी र अनकुल संस्थाको रुपमा काम गर्नुपर्छ ।’ उनले भने । ‘बैंकले के बुझ्नुपर्छ भने डिपोजिट कर्ताहरू र ऋण लिएर बैंक चलाइदिनेहरू नै बैंकका आधार हुन् । लोन लिए न बैंक चल्छ पैसा थुपारेर बैंकले के गर्छ ? डिपोजिट गर्नेहरुको ब्याज कसरी फिर्ता गर्छ ?’ प्रश्न गर्दै उनले भने- ‘त्यसकारण अहिले ऋण लिनेहरू फालाफाल भएको हुनाले अहिले बैंकहरूले ऋण लिनेहरूको महत्व बुझेका छैनन् । ऋण लिनेले नै हो बैंकहरु चलाइदिने, ब्याज तिरिदिने पैसा गतिशील बनाइदिने त्यसकारण यो सम्बन्ध तनावको रुपमा होइन सुमधुर सम्बन्धनको रुपमा बनाउनुपर्छ । आइएलओको सिद्धान्तको रुपमा विकास गर्नुपर्छ ।’ अध्यक्ष ओलीले वर्तमान सरकारले सर्वभम सत्ताको सम्मान गर्न नसकेको टिप्पणी गरे । उनले आफू प्रधानमन्त्री भएको बेला बनाएको पोखरा विमानस्थलमा वर्तमान सरकारले उडान भर्न नसकेको भन्दै आपत्ति जनाए । चिनियाँ ठेकेदारले विमानस्थल बनायो भन्दैमा उडान गर्न नदिने विषयलाई सरकारले मान्ने काम राम्रो नभएको उनको भनाई छ । अध्यक्ष ओलीले नेपाल विकासको फड्को मार्न चाहेकाले जसले सस्तोमा बनाइ दिन्छ उसैलाई बनाउन दिनुपर्ने बताए । उनले जसले सस्तोमा सामान दिन्छ उसको किन्ने र महँगोमा जसले हाम्रो सामान किन्छ उसैलाई सामान बेच्नुपर्ने बताए ।
एप्पलले भारतमा हरेक वर्ष ५ करोड आइफोन बनाउने
काठमाडौं । एप्पलको प्रमुख आपूर्तिकर्ता फक्सकनले गत महिना भारतमा करिब १ खर्ब ३० अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेको थियो । एप्पलका आपूर्तिकर्ता कम्पनीहरूले भारतमा उत्पादन–लिंक इन्सेन्टिभ योजनाअन्तर्गत प्राप्त अनुदानमा उत्पादन क्षमता बढाउँदैछन् । वाल स्ट्रीट जर्नलका अनुसार कर्नाटकमा फक्सकनको कारखानाले अप्रिलमा उत्पादन सुरु गर्ने अपेक्षा गरिएको छ । वार्षिक २ करोड मोबाइल उत्पादन गर्ने लक्ष्य राखिएको छ । यसमा प्रायजसो आइफोनहरू उत्पादन हुनेछन् । कम्पनीले दोस्रो कारखाना पनि स्थापना गर्ने तयारी गरिरहेको छ । एप्पलले गत आर्थिक वर्षमा भारतमा ५ खर्ब ८० अर्ब रपैयाँभन्दा बढी मूल्यका आइफोनहरू एसेम्बल गरेको थियो । तमिलनाडुमा पनि आईफोन बनाउने टाटाको योजना टाटा समूहले तमिलनाडुमा पनि आइफोन निर्माण गर्ने योजना बनाएको छ । दुई वर्षमा २० वटा एसेम्बली लाइन र ५० हजार कर्मचारी हुनेछन् । उक्त समूहले आइफोन बनाउन कर्नाटकमा विस्ट्रोनको कारखाना खरिद गरिसकेको छ । टाटाले देशको सबैभन्दा ठूलो आइफोन एसेम्बली प्लान्ट निर्माण गर्न एप्पलको महत्वाकांक्षालाई ट्याप गर्ने योजना बनाएको छ ।
साढे ७ अर्बमा ठेक्का सम्झौता भएको पृथ्वीराजमार्गको पश्चिम खण्ड २० किमि ६ लेनको बन्ने
तनहुँ । पृथ्वी राजमार्गको मुग्लिन-पोखरा खण्ड विस्तार कार्य भइरहेको छ । गत दुई वर्षदेखि यस खण्डलाई दुई भागमा विभाजन गरी राजमार्ग स्तरोन्नति तथा विस्तार हुँदै आएको छ । पश्चिम खण्डमा ३८.८८ किलोमिटर दूरी पर्दछ । उक्त दूरीमध्ये करिब बीस किलोमिटर दूरीमा छ लेनको सडक हुने आयोजनाले जनाएको छ । तनहुँको कोत्रेदेखि पोखराको गगनगौँडासम्म छ लेन सडक हुनेछ । सडकको चौडाइ ४६ मिटरका हुने मुग्लिन-पोखरा सडक आयोजना (पश्चिम खण्ड)का इञ्जिनियर नारायण पौड्यालले जानकारी दिए । राजमार्गको पश्चिम खण्डमा बाह्र वटा मोटरेवल पुल निर्माण भइरहेको र एक सयको हाराहारीमा कल्र्भड निर्माण हुनेछ । मुग्लिनदेखि जामुनेसम्म पूर्वी खण्ड र जामुनेदेखि पोखरासम्म पश्चिम खण्डमा काम भइरहेको छ । पूर्वी खण्डमा ३८ प्रतिशत काम भएको छ भने पश्चिम खण्डमा जम्मा १२ प्रतिशत काम भएको छ । पूर्वी खण्डमा ४१.४५ किलोमिटर र पश्चिम खण्डमा ३८.८८ किलोमिटर दूरीमा निर्माण कार्य भइरहेको आयोजनाले जनाएको छ । भित्ता कटिङ्ग,सडक चौडा, वाल, कल्र्भड र पुल निर्माण लगायत काम पनि भइरहेको छ । पश्चिम खण्डमा यस कारण ढिलाइ पश्चिम खण्डमा धेरै बजार क्षेत्र परेकाले खानेपानी तथा विद्युतको पोल र तार हटाउन नसकिएका कारण निर्माण कार्यमा ढिलाइ हुन गएको हो । पूर्वी खण्डभन्दा पश्चिम खण्डमा करिब छ महिना ढिलो गरी काम सुरु गरिएको हो । पूर्वी खण्डको तुलनामा पश्चिम खण्डमा निर्माण कम्पनीले कम जनशक्ति परिचालन गरेका कारणले पनि सोचेअनुरुप प्रगति हुन नसकेको इञ्जिनियर पौड्यालले बताए । उक्त सडक खण्डमा निर्माण हुने चार लेन सडकमध्ये जामुनेबाट कुम्लेखोलासम्म कालोपत्र गर्न लागिएको छ । कालोपत्रका लागि ग्राबेल विच्छाउन थालिएको छ । करिब एघार किलोमिटर दूरी दुई लेनको भए पनि यस आर्थिक वर्षमै कालोपत्र गर्ने लक्ष्य रहेको छ । उक्त खण्डमा सडक विस्तार तथा स्तरोन्नति कार्य चीनको यनहुइ काइयुन हाइवे एन्ड ब्रिज कम्पनीले पाएको छ । पश्चिम खण्डका लागि रु सात अर्ब ४० करोड ४६ लाख ८१ हजारमा ठेक्का सम्झौता गरिएको थियो । वि.सं.२०७८ भदौदेखि काम सुरु गरिएको यो खण्डको काम २०८१ भदौ १२ मा सम्पन्न गर्नुपर्ने गरी सम्झौतामा उल्लेख छ । रासस
डुङ्गा चढेर रमाउँछन् रारा पुगेका पर्यटक
मुगु । नेपालको सबैभन्दा ठूलो र गहिरो ताल रारामा पर्यटक जोखिमपूर्ण डुङ्गा यात्रा गरी रमाउने गरेका छन् । मुगुको छायाँनाथ रारा नगरपालिका-९ मा अवस्थित रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले तालमा डुङ्गा चढेर वारपार गरी रमाउने गरेका हुन् । पर्यटकले डुङ्गामा सवार गर्दा सुरक्षाका लागि प्रयोग गरिने लाईफ ज्याकेट पुरानो भएर झुत्रा हुँदा पनि प्रयोग भइरहेकाले पर्यटकले जोखिम मोलेर तालको यात्रा गर्न बाध्य छन् । चितवनबाट रारा तालमा घुम्न आएका र्याफ्टिङ गाइड सुकबहादुर गुरुङले भने, ‘तालमा डुङ्गाबाट यात्रा गर्नेले ज्यानको जोखिम मोलेर गर्नुपर्ने रहेछ । यात्रुले प्रयोग गर्दै आएका लाइफ ज्याकेट सबै पुराना भइसकेका छन् । एक पटकमा दश जनासम्म बोक्ने डुङ्गाको क्षमता भए पनि यहाँ १४/१६ त कहिलेकाही २० जनासम्म राखेर सवार गरिएको छ ।’ क्षमता भन्दा बढी यात्रु सवार हुँदा दुर्घटनाको जोखिम बढेको गुरुङले बताए । ‘लाइफ ज्याकेट कुनैका खोल च्यातिएका, पेट र छातिमा बाँध्ने फिता नभएका अवस्थामा छन्’, उउनले भने, ‘यसले कुन बेला दुर्घटना निम्ताउँछ । सम्बन्धित निकायले बेलैमा यसतर्फ ध्यान दिनुपर्ने जरुरी छ ।’ यात्रुलाई भरपर्दो र गुणस्तरीय लाइफ ज्याकेट नहुँदा भगवानको भरोसामा तालमाथि यात्रा गर्नुपर्ने बाध्यता रहेको र्याफ्टिङ गाइड गुरुङको भनाइ थियो । ‘म ८० जनाको टिम लिएर रारा आउँदैछु । यस्तो अवस्था देखे के भन्लान? समय मै लाइफ ज्याकेट मध्यवर्तीक्षेत्र वा निकुञ्ज कार्यालयले फेर्नुपर्ने देखिएको छ’, पर्यटन घुमाउन ल्याउनु पूर्व व्यवस्थापनका लागि रारा पुगेका पर्यटन व्यवसायी डम्बर थापाले भने । यहाँका ज्याकेट तीन वर्षसम्म प्रयोग गर्न मिल्ने खालका रहेछन् भन्दै उनले यात्रुलाई सान्त्वना दिने खालका मात्रै रहेका बताए । रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकमध्ये दिनमा एकसय भन्दाबढीले तालको मिलिचौरदेखि हुटुसम्म डुङ्गा चडेर यात्रा गर्ने रारा राष्ट्रिय मध्यवर्ती क्षेत्र विकास समितिले जनाएको छ । नाम बताउन नचाहने डुङ्गा चालक भन्छन् ‘यहाँका डुङ्गा चालकले बिना तालिम अनुभवका आधारमा चलाउँदै आएका छौँ । लाइफ ज्याकेटका बारेमा निकुन्ज र मध्यवर्ती समितिलाई जानकारी गराएका छौँ तर सुनुवाइ भएको छैन ।’ समितिका कार्यालय सचिव लोकेन्द्र बमले कार्यालयको तथ्याङ्कअनुसार हालसम्म ७० वटा लाइफ ज्याकेट र आठ डुङ्गा रहेका जानकारी दिए । ‘निकुञ्जले ज्याकेट खरिद गरेको छ/सात वर्ष पुगिसकेको छ’, उनले भने, ‘कार्यालयले पनि यात्रुको सुरक्षाका लागि लाइफ ज्याकेटसम्बन्धी गुणस्तरीय चेकजाँच गरेको छैन ।’ डुङ्गाको सङ्ख्या कम भएकाले बढी यात्रु राख्नुपर्ने बाध्यता रहेको सचिव बमको भनाइ थियो । निकुञ्जका प्रमुख राजु घिमिरेले केही कुरामा सत्यता भए पनि बाहिर आए जस्तो सबै सत्यता नभएको बताए । सेवाग्राहीबाट आएका गुनासोलाई सकारात्मक सुझावका रुपमा लिँदै छिटो गुनासो सम्बोधन गरी रारा घुम्न आउने पर्यटकलाई भरपर्दो र सुरक्षित यात्राको अनुभूति दिलाउने उनको भनाइ थियो । यहाँ रहेका कमिकमजोरी क्रमशः सुधार गर्दै जाने निकुञ्जका मुख्य संरक्षण अधिकृत राजु घिमिरेले प्रतिबद्धता व्यक्त गरे । गत साउन १ गतेदेखि कात्तिक मसान्तसम्म आन्तरिक पर्यटक चार हजार चार सय ९०, सार्क मुलुकका २६ अन्य र विदेशी मुलुकबाट ९५ जनासहित चार हजार छ सय ११ पर्यटकले रारा भ्रमण गरेका राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । रासस
समय अगावै फुल्दै लालिगुराँस, लोप हुँदै पैयुँ
सुर्खेत । समुद्री सतहदेखि एक हजार तीन सय मिटरदेखि एक हजार आठ सय मिटरसम्म पैयुँ र गुराँस पाइन्छ । हेमन्त ऋतुको सुरुवातसँगै पैयुँ ढकमक्क फूल्न थाल्छ । गुराँस वसन्त ऋतुको प्रारम्भमा फूल्छ । हिउँद लागेसँगै पैयुँ फूल्न थाल्छ । यसको रस माहुरीका लागि प्रमुख आहारा हो । पैयुँ फूल्न थालेपछि पहाडी क्षेत्रमा गहुँखेती गर्न थालिन्छ । विभिन्न धार्मिक गतिविधिमा पैयुँका हाँगा प्रयोग गर्ने गरिन्छ । तर पछिल्लो समय पैयुँ हराउँदै गएको छ । गुराँस फूल्ने समयमा परिवर्तन आउन थालेको पाइएको छ । दैलेखको गुराँस गाउँपालिका–७ जिम्राका भीमबहादुर खड्का उमेरले ७३ वर्ष भए । उनले थाहा पाउने बेलादेखि नै घर वरपर पैयुँका बिरुवा प्रसस्त थिए । जब पैयुँ फुल्न थाल्थे त्यतिबेला वन ढकमक्क देखिन्थ्यो । तर केही वर्षदेखि पैयुँका बिरुवा हराउँदै गएको खड्का बताउँछन् । ‘पहिला त पैयुँ वनैभरी थियो’, उनी भन्छन्, ‘कात्तिक लाग्न थालेपछि फुलेर ढक्कमक्क हुन्थ्यो, पछिल्लो समय त यो बिरुवा हराउँदै गएको छ ।’ खड्का भन्छन्, ‘विवाह गर्दा, पूजाआजा गर्दा पैयुँ चाहिन्छ, कूल पूजा गर्दासमेत मौलो पैयुँकै हाल्नुपर्ने हुन्छ । तर अहिले यो पाउन छाडेको छ ।’ गुराँस– ८ का जगत विसी पनि पैयुँ लोप हुन थालेको देखेर अचम्मित बनेका छन् । ‘यो बिरुवा एकैपटक सबै ठाउँमा हराउँदै गएको छ, यसको कारण के होला ?’, उनी प्रश्न गर्छन्, ‘यो हराउनु सामान्य कुरा होइन ।’ पैयुँ नेपालको रैथाने वनस्पति हो । गुराँस–८ का महेश केसी पैयुँ हराउँदा यसले समग्र पर्यावरणमा असर पार्न सक्ने बताउँछन् । यसको संरक्षणमा सबैले चासो दिनुपर्ने उनको सुझाव छ । यही क्षेत्रमा लालिगुराँस प्रसस्त पाइन्छ । स्थानीयवासीका अनुसार गुराँस पहिला फागुनदेखि फुल्न थाल्थ्यो । तर अहिले पुस महिनादेखि नै फूल्न थालेको छ । गुराँस गाउँपालिकाको कालिका माविमा वातावरण विषय अध्यापन गराउँदै आउनुभएका शिक्षक लोकबहादुर खड्का लालिगुराँस फूल्ने समयमा परिवर्तन आएको बताउँछन् । ‘पहिला लालिगुराँस फूल्न थालेपछि वसन्त ऋतुको आगमन भयो भनेर बुझ्ने गरिथ्यो । यो फागुनदेखि फूल्न थाल्थ्यो । तर अहिले त पुसदेखि नै फुल्न सुरु गर्छ ।’ शिक्षक खड्का पहाडी क्षेत्रमा पाइने अन्य बिरुवा पनि फूल्ने समयमा परिवर्तन आएको पाइएको बताउँछन् । पैयुँलगायत वनस्पति हराउँदै जानु र फूल फुल्ने समयमासमेत परिवर्तन हुनुको कारण जलवायु परिवर्तनको असर भएको मध्यपश्चिम विश्वविद्यालयमा विज्ञान सङ्कायमा अध्यापन गराउँदै आएका प्रध्यापक डा पुष्पराज आचार्य बताउँछन् । उनी भन्छन्, ‘अहिले विश्वमै तापमानमा वृद्धि भइरहेको छ । जलवायु परिवर्तनको असर हरेक क्षेत्रमा परिरहेको छ । तापमान वृद्धीको असर फूल फूल्ने बिरुवामा अधिक पाइएको छ ।’ पैयुँ हराउँदै गएको बारेमा अध्ययन अनुसन्धान आवश्यक रहेको उनको भनाइ छ । रामप्रसाद गौतम ३० वर्षदेखि कृषि र वनको क्षेत्रमा काम गर्दै आएका छन् । उनले काठमाडौँमा नेपाल कृषि बीउबिजन केन्द्र स्थापना गरेर विभिन्न प्रजातिका बिरुवाको बीउ तथा बेर्ना वितरण गर्दै आएका छन् । पैयुँ नेपालका पहाडी क्षेत्रका वनमा आफै उम्रिने बिरुवा भए पनि गौतमले आफ्नो संस्थाबाट यो बिरुवाका बीउ र बेर्ना उत्पादन गरी वितरण गर्दै आएका छन् । ‘ पैयुँ लोप हुन थालेपछि यसको संरक्षणका लागि बीउ उत्पादन गर्न थालिएको हो’, उनले भने । कर्णाली प्रदेशको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता रेणुका न्यौपाने केही बिरुवाको संरक्षणका लागि काम भइरहेको बताउँछन् । ‘पैयुँ लोप हुँदै गएको विषयमा त खोज अनुसन्धान भएको छैन’, उनले भने । आगामी आर्थिक वर्षदेखि यस विषयमा प्रदेश सरकारले कार्यक्रम ल्याउने प्रवक्ता न्यौपानेले बताए । रासस
आइआइएमएस कलेजमा दीक्षान्त समारोह सम्पन्न, पाँच सय जना विद्यार्थी दीक्षित
काठमाडौं । आइआइएमएस कलेजमा दीक्षान्त समारोह सम्पन्न भएको छ । शनिबार काठमाडौंको होटल मेरियटमा एक भव्य समारोहका बीच सो समारोह सम्पन्न भएको हो । दीक्षान्त समारोहमा टेलर्स विश्वविद्यालयका उच्च स्तरीय प्रतिनिधि, विद्यार्थी, अभिभावक, कलेज परिवार र विभिन्न क्षेत्रका सयौं व्यक्तिहरुको सहभागीता रहेको थियो । समारोहमार्फत् बिआइटी र बिएचएम अध्ययन पूरा गरेका पाँच सय जना विद्यार्थीहरु दीक्षित भएको कलेजका ग्रोथ एन्ड डेभलपमेन्ट सर्भिस डाइरेक्टर बृहत बोस्वाले विकासन्युजलाई बताए । आइआइएमएस कलेजले मलेसियाको प्रतिष्ठित टेलर्स विश्वविद्यालमा सम्बन्धन लिएर बिसिएस, बिएचएम र विविए कार्यक्रम सञ्चालन गर्दै आएको छ ।