फलाम खानी उत्खननको लागि पुनः अध्ययन गरिँदै
रुकुम । रुकुम पूर्वमा फलाम खानीको विस्तृत अध्ययन पुनः थालिएको छ । भूमे गाउँपालिकामा फलाम खानी भएको पत्ता लागेपछि भूगर्भविद्ले गत साताबाट उत्खननको लागि सम्भाव्यता अध्ययन सुरु गरेका हुन् । खानी तथा भूगर्भ विभागका भूगर्भविद् सुजन देवकोटा र सौनक भण्डारीको समूहले भूमे-३ स्थित झुम्लाबाङमा अध्ययन सुरु गरेको हो । आर्थिक अभावले सो क्षेत्रको विस्तृत अध्ययन अहिलेसम्म अघि बढ्न सकेको थिएन । भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठले गाउँपालिकाको विभिन्न क्षेत्रमा फलाम खानीको बारेमा अध्ययन सुरु भएको बताएका छन् । हाल फलाम खानी पत्ता लागेको भनिएको ठाउँमा एक सय वर्षअघिसम्म तामा खानी उत्खनन हुने गरेको स्थानीयले जानकारी दिएका छन् । तत्कालीन समयमा तामा खानी उत्खनन गर्दा भूमे गाउँपालिकाको २, ३, ४ र ५ नम्बर वडाको विभिन्न ठाउँमा बनेका ठूला खाडल र सुरुङ अहिले पनि देख्न सकिने अध्यक्ष श्रेष्ठले जानकारी दिए । गत वर्ष तीनै ठाउँमा फलाम रहे नरहेको अध्ययन गर्दा फलाम खानी रहेको पत्ता लागेपछि अहिले उत्खननको लागि विस्तृत अध्ययन थालिएको उनले बताए । ‘गत साल गरिएको अध्ययनबाट हाम्रो गाउँपालिकाको झुम्लाबाङमा फलाम खानी भएको कुरा पत्ता लाग्यो’, अध्यक्ष श्रेष्ठले भने, ‘झुम्लाबाङमा फलाम खानी रहेको पत्ता लगेको छ ।’ रुकुम पूर्वमा हालसम्म खानी तथा भूगर्भ विभागले फलाम र तामा खानीको बारेमा तीन पटकसम्म अध्ययन गरिसकेको जनाइएको छ । रासस
अमेरिकन चेम्बर अफ कमर्स नेपालको अध्यक्षमा निर्मलकाजी श्रेष्ठ
काठमाडौं। अमेरिकी लगानीमा नेपालमा संचालित व्यवसायीहरुको छाता संस्था अमेरिकन च्याम्बर्स अफ कमर्स नेपाल (एमच्याम)को अध्यक्षमा निर्मलकाजी श्रेष्ठ निर्वाचित भएका छन् । संस्थापक अध्यक्ष अजित बिक्रम शाहको दुई वर्षे कार्यकाल सकिएसँगै आइतबार सम्पन्न एमच्यामको वार्षिक साधारणसभाले मेटलाइफ, अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी नेपालका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । सात सदस्यीय कार्यसमितिमा श्रेष्ठसहित लिपफ्रग टेक्नोलोजीका कैलाशराज विजयानन्द, पठाओ नेपालका अशिममान सिंह बस्न्यात, गो फोर्डका आकाश गोल्छा, लक्ष्मी सनराइज बैंकका मनिष थापा, मोघा इनर्जीका समर्थ मोघा र बोटलर्स नेपाल लिमिटेडका स्नेह राजभण्डारी निर्वाचित भएका छन् । संस्थाको उपाध्यक्ष, सचिव र कोषाध्यक्षको चयन संस्थाको सञ्चालक समितिले आगामी बैठकबाट गर्नेछ । एमचयामको स्थापनामा शाहको योगदानलाई सम्मान गर्दै शाहलाई संस्थापक अध्यक्षको रुपमा बोर्डको मानार्थ सदस्यमा राखिएको नवनिर्वाचित अध्यक्ष श्रेष्ठले बताए। त्यसैगरी, अभिनव ल च्याम्बर्सका सेमान्त दाहाल मानार्थ सदस्यको रुपमा कार्यसमितिमा रहने छन् । श्रेष्ठले आफू नेतृत्वको टिममा उर्जाशील पदाधिकारी तथा सदस्यहरू रहेको भन्दै सांगठनिक र व्यवसायिक हितका लागि काम गर्ने बताए । उर्जा, पर्यटन तथा सूचना प्रविधि क्षेत्रमा प्राथमिकताका साथ लगानी भित्र्याउनका लागि आवश्यक पहल गर्ने अध्यक्ष श्रेष्ठको भनाइ छ। उनले आफ्नो कार्यकालमा लगानी तथा उद्यम सम्बन्धित विभिन्न सम्मेलनहरू नेपाल तथा अन्य मुलुकमा आयोजना गर्ने तथा अन्तरराष्ट्रिय सम्मेलन तथा मेलाहरुमा सहभागी हुने बताए। एमच्याम स्थापनाले छरिएर रहेका व्यवसायीहरूलाई संगठित गर्ने काम भएको थियो । संस्थापक अध्यक्ष शाहको दुई वर्षे कार्यकालमा एमच्याममा ४५ व्यवसाय आवद्ध भैसकेका छ न्। यस्तै एमच्याम स्थापनाको दुई वर्षभित्रै नेपालभन्दा ८ सय गुणा ठूलो अर्थतन्त्र भएको देश अमेरिकाको ’अमेरिकन च्याम्बर अफ कमर्स’सँग संघको आवद्धता प्राप्त गर्नु शाह कार्यकालको महत्वपूर्ण उपलब्धि हो । जसले नेपालमा अमेरिकी लगानीको सम्भावना समेत थप बढाएको छ । यससँगै एमच्याम नेपाल अमेरिकन च्याम्बर अफ कमर्सको विश्वव्यापि नेटवर्कको १३०औं सदस्य बनेको छ । यस्तै एमच्यामले आफ्ना व्यवसायीहरूको व्यवसाय प्रवद्र्धनका निम्ति मेम्बरशीप लर्निङ सिरिज सञ्चालन गर्दै आएको छ । जसले सदस्यहरूबीच नेटवर्किङ, फेलोशिप तथा एकअर्काका व्यवसायबारे नजिकबाट बुझ्ने र सहकार्य गर्ने समेत अवसर पाएका छन् । संघकै पहलमा अमेरिकी लगानी नेपालमा भित्र्याएका व्यवसायीहरू र नेपाल सरकारका विभिन्न निकायका प्रतिनिधिहरूबीच छलफलहरू भएको छ । जसले मुलुकमा लगानीको वातावरण राम्रो बनाउन ठूलो भूमिका खेलेको संघले जनाएको छ । युएसएड तथा विभिन्न संस्थासँग व्यवसायिक साझेदारी गर्दै अगाडी बढेको शाहले बताए । उनले सन् २०२४ जुन महिनामा नेपालका निजी कम्पनीहरूलाई अमेरिकामा लगानी तथा उद्यमसम्बन्धी कार्यक्रममा सहभागी गराउने र डिसेम्बरमा अमेरिकाको निजी क्षेत्रका प्रतिनिधिलाई नेपालमा बोलाएर कार्यक्रम गर्ने जानकारी दिए । यसका लागि अन्य संस्थाहरूसँग समेत सहकार्य गरेर अगाडि बढ्ने एमच्यामको योजना छ।
जाजरकोट भूकम्प : ९ करोड बराबरको खाद्यान्न क्षति
जाजरकोट । जाजरकोट भूकम्पबाट रु नौ करोडभन्दा बढी मूल्यको खाद्यान्न नष्ट भएको छ । चौतीस हजार पाँच सय एक घरमा भण्डारण गरिएको रु नौ करोड २६ लाख ५८ हजार नौ सय बराबरको खाद्यान्न पुरिएर नष्ट भएको कृषि विकास कार्यालय जाजरकोटले जनाएको छ । गत कात्तिक १७ गते रामीडाँडालाई केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट नौ हजार सात सय ९४ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । ६।४ म्याग्निच्युटको भूकम्पले भत्किएका ३४ हजार पाँच सय एक घरमा भण्डारण गरिएको धान, मकै, गहुँ, र कोदोजस्ता अन्न तथा खाद्यान्न पुरिएर नष्ट भएको कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी टोपेन्द्र विश्वकर्माले दिएको जानकारीअनुसार २८ लाख २८ हजार सात सय २५ किलो धान सहित मकै, गहुँ, कोदोलगायत अन्न पुरिएर नष्ट भएको छ । जाजरकोट भूकम्पले जिल्लाभर रु पाँच करोड ४१ लाख ४२ हजार एक सय ७२ बराबरका पशुपन्छीको क्षति भएको छ । जाजरकोटमा मात्र भूकम्पबाट ९० हजार पाँच सय ६७ मानिस प्रत्यक्षरुपमा प्रभावित भएका छन् । खाद्यान्न भण्डारण गर्न आग्रह कृषि क्षेत्रमा जोडिएका अधिकांश मानिस अन्यत्र काममा पनि सम्लग्न हुनुपर्ने भएकाले भूकम्प प्रभावित क्षेत्रमा खाद्यान्न समस्या हुने हो कि भन्ने चिन्ता थपिएको छ । खेतबारी लगाएको अन्नबाली भएको ठाउँमा अस्थायी टहरादेखि त्रिपाल टाँग्ने काम भएकाले खाद्यान्न उत्पादनमा कमी आउने जनाइएको छ । जिल्लाको बारेकोट गाउँपालिका बर्सेनि खाद्यान्न अभाव हुने क्षेत्र हो । जिल्ला प्रशासन कार्यालयले खाद्यान्न जोहो गरेर भण्डारण गर्न आग्रह समेत गरेको छ । रासस
एनआईसीले १७६ प्रतिशत सेयर कर्जा बढाउँदा नबिलले दियो पौने ११ अर्ब, पछ्याउँदै एभरेष्ट
काठमाडौं । वाणिज्य बैंकहरूले सेयरधितो कर्जा बढाएका छन् । यसअघि केही सुस्ताएका बैंकहरूले पछिल्लो समय सेयरधितो कर्जा बढाउन थालेका हुन् । वाणिज्य बैंकहरूले असोजसम्म प्रवाह गरेको सेयरधितो कर्जा एक वर्षअघिकै हाराहारीमा हो । यसअघि नेपाल राष्ट्र बैंकले सेयरधितो कर्जामा कडाइ गरेपछि केही हच्किएका बैंकहरूले पछिल्लो केही महिना यता भने सेयर धितो राखेर लगानीकर्तालाई सजिलै कर्जा प्रवाह गरिरहेका छन् । नेपाल राष्ट्र बैंकले सेयरधितो कर्जामा लगाइएको १२ करोडको सीमा हटाएर १५/२० करोड कायम गरेको छ । चालु आर्थिक वर्षको असोजमा बैंकहरूले लगानीकर्तालाई ६३ अर्ब ३३ करोड २३ लाख रुपैयाँ सेयरधितो कर्जा प्रवाह गरेका छन् । जुन गत आर्थिक वर्षको असोजको तुलनामा ४.९४ प्रतिशत धेरै हो । गत वर्षको असोजम्म बैंकहरूले ६० अर्ब ३४ करोड ८१ लाख रुपैयाँ सेयरधितो कर्जा प्रवाह गरेका थिए । गत असोजसम्म अधिकांश बैंकहरूले घटाउँदा पनि सेयर कर्जा २ अर्ब ९८ करोड ४० लाख रुपैयाँले कर्जा बढाएका हुन् । राष्ट्र बैंकको तथ्याङ्कअनुसार सबैभन्दा धेरै सेयर कर्जा बढाउनेमा एनआईसी एशिया बैंक रहेको छ । यस बैंकले गत वर्षको तुलनामा १७६ प्रतिशत अर्थात् २ अर्ब २५ करोड बढाएर ४ अर्ब ५८ करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेको हो । यस्तै, एभरेष्ट बैंकले ७२.५६ प्रतिशत अर्थात् ५५ करोड रुपैयाँ बढाएर १ अर्ब ३१ करोड रुपैयाँ, नबिल बैंकले ६०.५० प्रतिशत अर्थात् ४ अर्ब ७ करोड रुपैयाँ बढाएर १० अर्ब ८० करोड रुपैयाँ, प्राइम बैंकले २५.७३ प्रतिशत अर्थात् ८२ करोड ६३ लाख रुपैयाँ बढाएर ४ अर्ब ३ करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेका हुन् । यसैगरी नेपाल बैंकले २२.८८ प्रतिशत अर्थात् ८२ करोड ९५ लाख रुपैयाँ बढाए ४ अर्ब ४५ करोड रुपैयाँ, सिद्धार्थ बैंकले ६.६० प्रतिशत अर्थात् २४ करोड ८३ लाख रुपैयाँ बढाएर ४ अर्ब ५२ करोड रुपैयाँ र कृषि विकास बैंकले १.४९ प्रतिशत अर्थात् १ अर्ब १७ करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेका हुन् । एक दजर्न वाणिज्य बैंकले भने गत असोजसम्म कर्जा प्रवाह घटाएका छन् । सिटिजन्स बैंकले २.२६ प्रतिशत अर्थात् ८ करोड ८१ लाख रुपैयाँ घटाएर ३ अर्ब ८० करोड रुपैयाँ, कुमारी बैंकले ३ प्रतिशत अर्थात् ११ करोड ९१ लाख रुपैयाँ घटाएर ३ अर्ब ७६ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ४.८९ प्रतिशत अर्थात् २२ करोड १० लाख रुपैयाँ घटाएर ४ अर्ब २९ करोड रुपैयाँ कर्जा प्रवाह गरेका हुन् । यस्तै, ग्लोबल आइएमई बैंकले ७.८९ प्रतिशत अर्थात् ५३ करोड ४२ लाख रुपैयाँ घटाएर ६ अर्ब २३ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकले १५.५६ प्रतिशत अर्थात् ६१ करोड ४४ लाख रुपैयाँ घटाएर ३ अर्ब ३४ करोड रुपैयाँ, प्रभु बैंकले १८.६८ प्रतिशत अर्थात् ८२ करोड ३५ लाख रुपैयाँ घटाएर ३ अर्ब ५८ करोड रुपैयाँ, हिमालयन बैंकले २५.९२ प्रतिशत अर्थात् ८७ करोड ९१ लाख रुपैयाँ घटाएर २ अर्ब ५१ करोड रुपैयाँ मात्रै कर्जा प्रवाह गरेका हुन् । यस्तै, सानिमा बैंकले २५.९९ प्रतिशत प्रतिशत अर्थात् ४२ करोड ८८ लाख रुपैयाँ घटेर १ अर्ब २२ करोड रुपैयाँ, नेपाल एसबिआई बैंकले २६.७६ प्रतिशत अर्थात् ८७ लाख रुपैयाँ घटाएर २ करोड ३९ लाख रुपैयाँ, एनएमबि बैंकले २७.३७ प्रतिशत अर्थात् ४१ करोड १० लाख रुपैयाँ घटाएर १ अर्ब ९ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा (एनआईएमबि) बैंकले ४२.१२ प्रतिशत अर्थात् १ अर्ब ८७ करोड रुपैयाँ घटाएर २ अर्ब ५६ करोड रुपैयाँ र माछापुच्छ्रे बैंकले ४९.२२ प्रतिशत अर्थात् ४९ करोड २३ लाख रुपैयाँ घटाएर ५० करोड ७८ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका हुन् ।
एक दजर्न बढी ठेकेदार कम्पनी कालोसूचीमा
काठमाडौं । विभिन्न आयोजना अलपत्र तथा समयमा काम पुरा नगर्ने १२ कम्पनीलाई सरकारले कालोसूचीमा राखेको छ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद तथा अनुगमन कार्यालयले १२ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको हो । सार्वजनिक निकायले कालोसूचीमा राख्न सिफारिस गरेअनुसार खरिद कार्यालयले गोलबजार ४ सिराहा ठेगाना रहेको आदर्श कन्स्ट्रक्सन कम्पनीलाई ३ वर्ष कालोसूचीमा राखेको छ । यसका मुख्य व्यक्ति सरोज कुमार शाह हुन् । यस्तै, पोखरा महानगरपालिका–८ कास्कीको त्रिवेणी निर्माण सेवा तथा मख्य व्यक्ति लक्ष्मण पाण्डेय र नेपालगञ्जको गंगोत्री देवी निर्माण सेवा तथा मुख्य व्यक्ति बम बहादुर कुर्मीलाई २ वर्ष कालोसूचीमा राखिएको छ । यस्तै, पाँचथरको कमल कन्स्ट्रक्सन, बाँकेको अनामिका कन्स्ट्रक्सन, भावेश कन्स्ट्रक्सन, काठमाडौं, टेकुको ऊर्जा–कृशभ मस्ट जेभीलाई डेढ/डेढ वर्ष (१ व्र्ष ६ महिना)कालोसूचीमा राखिएको छ ।
अस्पतालले मृत घोषणा गरी घाट लैजान लागेका एक व्यक्ति जीवितै
इनरुवा । अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जीवितै रहेको पाइएको छ । विराटनगरस्थित मेट्रो न्यूरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा राखेर दाहसंस्कारका लागि पठाएका इनरुवा नगरपालिका–३ का ४५ वर्षीय प्रताप सदा मुसहरलाई घाटमा लैजान लाग्दा जीवित नै पाइएको हो । इनरुवाका सामाजिक व्यक्तित्व तथा प्रतापका छिमेकी पहल कटुवालका अनुसार उनलाई शनिबार बिहान उपचारका क्रममा मेट्रो न्युरो अस्पताल भर्ना गरिएको थियो । स्थानीय बसचोकमा आउने जाने गाडीमा सामान लोड अनलोड गरी जीविकोपार्जन गर्दै आएका सदा गाडीमा सामान लोड गर्ने क्रममा लडेर बेहोस भएका थिए । मेट्रो न्युरो अस्पताल भर्ना गरिएका सदाको उपचारका क्रममा राति मृत्यु भएको अस्पतालले घोषणा गरेको थियो । सदाको दाहसंस्कारका लागि उनीहरूको जातीय संस्कार र परम्परा अनुसार सबै तयार गरी मलामीसमेत जुटेर घाट लैजान लाग्दा उनी जीवित पाइएको थियो । सबै आफन्त छरछिमेक भेला भई स्थानीय सुनसरी खोलामा दाहसंस्कारका लागि लैजान लाग्दा केही व्यक्तिले उनी जीवित रहेको जस्तो देखेपछि उनलाई पानी र दूध खुवाएको स्थानीयले बताएका थिए । त्यसपछि सदाको स्वास्थ्य सुधार हुँदै सामान्य बन्दै गएको र घरमै राखिएको समाजसेवी कटवालले जानकारी दिए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
हालै आईपीओ बिक्री गरेको भगवति हाइड्रोको लाभांश घोषणा, डाक्यो साधारणसभा
काठमाडौं । सर्वसाधारण लगानीकर्तालाई आईपीओ जारी गरेको पहिलो वर्ष नै भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको मंसिर २४ गते बसेको बैठकले गत वर्षको नाफाबाट १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजी ५७ करोड २० लाख ६४ हजार रुपैयाँको १०.५२६३ प्रतिशत अर्थात् ६ करोड २ लाख १७ हजार ३३६ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले उक्त लाभांश पारित गर्न पुस २४ गते काठमाडौंमा बिहान १० बजे २३औं वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि मंसिर पुस ५ गते सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा पुस ४ गतेसम्म कायम सेयरधनीहरुले मात्रै साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् ।
५ लाख कित्ता सेयर बेच्दै कामना सेवा विकास बैंक
काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरूको ५ लाख बढी कित्ता सेयर बिक्री गर्ने भएको हो । बैंकका विभिन्न संस्थापक सेयरधनीहरूको नाममा रहेको ५ लाख ९ हजार ८९२ कित्ता सेयर बिक्रीमा राखिएको हो । उक्त सेयरको मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकल जनाएको छ । बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले उक्त सेयर खरिद गर्न ३५ दिनभित्र विवरण खुलाई बैंकको प्रधान कार्यालय ज्ञानेश्वर काठमाडौंमा निवेदन दिनुपर्नेछ । बैंकको अनुसार म्यादभित्र संस्थापक सेयरधनीहरूबाट आवेदन नपरेमा संस्थापकभन्दा बाहिर सेयर बिक्रीको प्रक्रिया अघि बढ्ने छ ।