विकासन्युज

६ महिनामा औद्योगिक क्षेत्रमा एक खर्ब छब्बिस अर्ब लगानी प्रतिबद्धता

काठमाडौं । चालु आर्थिक वर्षको छ महिनामा २११ स्वदेशी उद्योग दर्ता भएका छन् । उद्योग विभागको तथ्याङ्क अनुसार छ महिनामा सानाठुला र मझौला गरी २११ उद्योग दर्ता भएका हुन् । ती उद्योगमा एक खर्ब २६ अर्ब रुपियाँ लगानी प्रतिबद्धता जनाएको छ । सरकारले चालु आवमा कुल ३६५ वटा नयाँ उद्योग दर्ता हुने लक्ष्य राखेको छ । दर्ता भएका उद्योगमा २८ वटा ठुला उद्योग, १६ वटा मझौला उद्योग र १६७ वटा साना उद्योग छन् । चालु आर्थिक वर्षमा ठुला उद्योग ८०, मझौला ८५ र साना दुई सय वटा उद्योग दर्ता गर्ने लक्ष्य छ । छ महिनामा सबैभन्दा धेरै साना उद्योग दर्ता भएको विभागको तथ्याङ्कले देखाएको छ । चालु आवको पहिलो छ महिनामा उद्योग दर्ताको सङ्ख्या गत आवको यसै महिनाको तुलनामा वृद्धि भए पनि लगानी प्रतिबद्धतामा भने कमी आएको छ । विभागको तथ्याङ्क अनुसार गत आव २०७९/८० को पहिलो छ महिनामा १४५ उद्योग दर्ता भएका थिए । जसको कुल प्रस्तावित लगानी एक खर्ब ३९ अर्ब रुपियाँ रहेको थियो । यस वर्ष पुसमा मात्र कुल ३२ उद्योग दर्ता भएका छन् । यसमा १२ अर्ब ३१ करोड रुपियाँ लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । यस वर्ष दर्ता भएका उद्योगले कुल १३ हजार ६७० रोजगारी सिर्जनाको लक्ष्य राखेका छन् । पुसमा मात्र दर्ता भएका उद्योगले दुई हजार १८१ रोजगारी सिर्जनाको लक्ष्य राखिएको छ । यस्तै चालु आवको पहिलो छ महिनामा प्रत्यक्ष विदेशी लगानी (एफडिआई) भने २२ अर्ब ३३ करोड रुपियाँ बराबरको स्वीकृति भएको छ । यो वर्ष कुल ३८ अर्ब विदेशी लगानी भित्र्याउने लक्ष्य रहेको छ । पुसमा मात्र एक अर्ब ७३ करोड रुपियाँको विदेशी लगानी प्रतिबद्धता आएको छ । छ महिनामा विदेशी लगानीका २२६ वटा उद्योग दर्ता भएका छन् । पुस महिनामा मात्र २७ वटा उद्योग दर्ता भएको उद्योग विभागले जनाएको छ । यी उद्योगले १२ हजार १६७ जनालाई रोजगारी दिने प्रतिबद्धता जनाएका छन् । विदेशी लगानी प्रतिबद्धता सबैभन्दा धेरै पर्यटन, सेवामूलक र ऊर्जा क्षेत्रमा रहेको विभागले जनाएको छ । यसैबिच चालु आवको साउनदेखि नै मुलुकमा भित्रिने विदेशी लगानीमा सुधार हुँदै गएको देखिएको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार गत साउनदेखि मङ्सिरसम्म तीन अर्ब ९२ करोड रुपियाँ विदेशी लगानी भित्रिएको छ । गत वर्ष सो अवधिमा ६० करोड ५९ लाख रुपियाँ भित्रिएको थियो । लगानीका लागि अनुकूल वातावरणसँगै नीतिगत सुधार पनि भएका कारण वैदेशिक लगानी बढ्दै गएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । गोरखापत्रबाट ।

आइएमई लाइफको दोस्रो त्रैमासमा खुद नाफा २३ करोड, २ अर्ब १० करोड बीमाशुल्क आर्जन

काठमाडौं  । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । समीक्षा अवधिसम्म कम्पनीको खुद नाफा २३ करोड ४७ लाख २५ हजार रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्ष २०७९/८० को सोही अवधिसम्मको तुलनामा ९६.१४ प्रतिशतले बढी हो । गत वर्ष सोही अवधिसम्म कम्पनीले ११ करोड ९६ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । दोस्रो त्रैमाससम्म कम्पनीले २ अर्ब १० करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन १२.३३ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ८७ करोड ६८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । समीक्षा अवधिसम्म कम्पनीले १ अर्ब ९९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ७९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिसम्मको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ११.२० प्रतिशत बढी हो । कम्पनीको चुक्तापुँजी ४ अर्ब रुपैयाँ रहेको छ। समीक्षा अवधिमा कम्पनीले शेयर प्रिमियम शीर्षकमा १ अर्ब ५३ करोड रुपैयाँ सञ्चित गरेको छ । यस अवधिमा कम्पनीको महाविपत्ति कोषमा १५ करोड ३५ लाख रुपैयाँ र सञ्चित जगेडा कोषमा ८५ करोड २ लाख रुपैयाँ रहेको छ । दोस्रो त्रैमाससम्म कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) ११.७४ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १७७.२७ रुपैयाँ रहेको छ ।

मेट लाइफ ‘एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स‘ बाट सम्मानित

काठमाडौं । मेट लाइफ नेपाल २०२३ को एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स इन्स्योरेन्स विधामा सम्मानित भएको छ । यस अवार्डले मेटलाइफको उत्कृष्ट व्यावसायिकता र सामाजिक उत्तरदायित्वका साथै ग्राहक र समुदायका विकासशील आवश्यकताहरू अनुरूप नवीन र रचनात्मक समाधानहरूको लागि निरन्तर प्रतिबद्धतालाई प्रतिनिधित्व गर्ने कम्पनीको भनाई छ । मेट लाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले व्यक्तिगत रूपमा अवार्ड ग्रहण गर्ने क्रममा भने, ‘यो सम्मानले हाम्रो कर्मचारी तथा अभिकर्ता टोलीको जोश र समर्पणलाई झल्काउँछ र तृप्ति र आशावादी भावना जगाउँछ । यसले हाम्रो आफ्नै मापदण्डहरू पार गर्ने, निरन्तर रूपमा आविष्कार गर्ने र बीमा क्षेत्रमा अझ ठूलो प्रभाव पार्ने हाम्रो दृढ संकल्पलाई प्रेरणा दिन्छ ।’ कर्पोरेट उत्कृष्टताका लागि एचआरएम नेपाल अवार्ड २०२१ मा एचआरएम नेपालद्वारा स्थापना गरिएको र ग्रोथ सेलरहरूको स्वायत्त सहायक संस्था कर्पोरेट क्लब नेपालद्वारा आयोजना गरिएको हो । यस अवार्ड समारोह सकारात्मक परिवर्तन गर्ने उत्कृष्ट व्यक्तिगत र संस्थागत योगदानहरू लाई मान्यता दिने वार्षिक कार्यक्रम हो । यस समारोहमा बिविन्न क्षेत्रका विशेषज्ञहरु र सरकारी प्रतिनिधिहरू उपस्थित हुन्छन् । मेट लाइफको सहायक कम्पनीको रुपमा संयुक्त राज्य अमेरिकामा दर्ता भएको अमेरिकन लाइफ ईन्स्योरेन्सको शाखाको रुपमा मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालनमा आएको हो । नेपालमा मेटलाइफले उपभोक्ता तथा व्यवसायहरुलाई जीवन बीमा, दूर्घटना तथा स्वास्थय बीमा, र कर्मचारी लाभ (समूह बीमा) जस्ता सुविधाहरु प्रदान गरिरहेको छ ।

‘चोकोफन बिगफन’ अब नयाँ प्याकमा

काठमाडौं । सुजल फुड्सले आफ्नो उत्पादन ‘चोकोफन बिगफन’ नयाँ प्याकमा बजारमा ल्याएको छ । चोकोफन बिगफन मा चकलेटले भरिएको क्रिस्पि, क्रन्ची वेफर ४ तहहरु छन् । त्यसमाथी भ्यानिला स्ट्राइप्सको स्वाद रहेको कम्पनीले जनाएको छ । आकर्षक चम्किलो रातो र सुनौलो रङमा आएको चोकोफन बिगफन अब नयाँ प्याकेजिङ आकर्षित रहेको कम्पनीले जनाएको छ । स्वाद र नयाँ प्याकेजिङले अहिलेको उपभोक्ताको रुचाई र प्राथमिकतालाई सम्बोधन गर्नेछ । नयाँ प्याकमा बिगफनको लोगोलाई अझै प्रस्ट र आकर्षक रुपमा देखाएको छ । चोकोफन बिगफन १५ ग्राम मात्र १० रुपैयाँमा जार र प्याकेटमा उपलब्ध छ । चोकोफन बिगफनको नयाँ प्याकको बजार प्रबर्धन ‘हृयाप्पी न्यू इयर प्याक टु यू’ भन्ने नाराका साथ बजारमा ल्याएको हो । सुजल फुड्सले विगत ५० वर्षदेखि बबलगम, ललिपप, टफी, क्यान्डीलगायत बिक्रि वितरण गर्दै आएको छ । कम्पनीको लोकप्रिय ब्राण्डमा चोकोफन, क्रेभ, रसिलो, फ्रेशो, क्यान्डीम्यान, फ्रेसडेन्टलगायत छन् ।

एनआइबिएल स्टेबल फन्डमा ७ करोड ८५ लाख कित्ता सेयरका लागि आवेदन

काठमाडौं । एनआइबिएल स्टेबल फन्डमा हालसम्म ७ करोड ८५ लाख भन्दा बढी कित्ता सेयरका लागि आवेदन परेको छ । एनआइएमबि एस क्यापिटलको योजना व्यवस्थापन तथा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको कोष प्रवद्र्धनमा रहेको एनआइबिएल म्युचुअल फण्ड अन्तर्गत ‘एनआईबिएल स्टेबल फण्ड’मा उक्त आवेदन परेको हो । बन्दमुखी योजनाको १ अर्ब रकम बराबरको १० करोड इकाईहरू प्रति इकाई अंकित मूल्य १० रुपैयाँका दरमा माघ २ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला भैरहेको छ । उक्त निष्काशनमा शुक्रबार दिउँसो साढे १२ बजेसम्ममा ३५ हजार ३३५ जना आवेदकले ७ करोड ८५ लाख ८१ हजार ५२० इकाई खरिदका लागि आवेदन दिएका हुन् । त्यसमध्ये ३ हजार ८५७ जना आवेदन मार्फत सेयर खरिदका लागि माग भएको १ करोड ३० लाख ६० हजार ८७० इकाईहरु रद्द भएका छन् । यस निष्काशन तथा बिक्री माघ २ देखि छिटोमा माघ ५ गतेसम्मका लागि खुल्ला गरिएकोमा उक्त अवधिभर माग बमोजिम आवेदन प्राप्त नभएकाले यहि माघ १६ गतेसम्मका लागि आवेदन मिति थप गरिएको छ ।

चिया टिप्न हातेमेसिन प्रदान गर्दै सूर्योदय नगरपालिका

इलाम । गत वर्ष चिया टिप्ने तरिका नमिल्दा सूर्योदय नगरपालिका-१ का जगन्नाथ अधिकारीले चियाको प्रतिकेजी मूल्य ३५ मात्र पाए । नगरपालिकाले लागू गरेको चियाको न्यूनतम समर्थन मूल्य ४० छ तर चियाको मुना ४० प्रतिशत अनिवार्य हुनुपर्छ । किसानले चिया टिप्दा मुना छुट्याएर नटिप्ने र पात धेरै मिसाएर टिप्ने भएका कारण न्यूनतम समर्थन मूल्य नै पाउन सकेका छैनन् । ‘चिया टिप्ने हातेमेसिन भएचाहिँ भनेजस्तै हुने थियो, फेरि यसरी टिप्नुपर्छ भनेर तालिम पनि पाएका छैनौं’, अधिकारीले भने । सूर्योदय नगरपालिकाले यस वर्ष किसानलाई चिया टिप्न हातेमेसिन वितरण गर्दैछ । उत्पादनलाई गुणस्तरीय बनाउन नगरपालिकाले किसानलाई हातेमेसिन वितरण गर्न लागेको नगरप्रमुख रणबहादुर राईले बताए । ‘यस वर्ष हातेमेसिन ५० प्रतिशत अनुदानमा दिंदैछौं । हामीले जथाभावी चिया टिपेर हाम्रो ब्राण्ड बिगारिरहेका छौं’, नगरप्रमुख राईले भने, ‘यसले हाम्रो चियाको भविष्य बिग्रन्छ । चियाको मुना एकातिर र पात एकातिर गरेर बिक्री गर्यौँ भने गुणस्तरीय चिया उत्पादन हुन्छ, अन्तर्राष्ट्रिय बजारमा राम्रो मूल्यमा बिक्री हुन्छ । तर टिपाइमै समस्या भयो भने यसबाट दीर्घकालीन उपलब्धि हासिल हुन सक्दैन ।’ किसान समूह, चिया सहकारी संस्था अन्य सहकारी संस्था र सूर्योदय नगरपालिकाको साझेदारीमा किसानले ५० प्रतिशतमा हातेमेसिन प्राप्त गर्न लागेका हुन् । ‘त्यो मेसिन पट्रोल र डिजेलले होइन ब्याट्रीबाट चल्छ ।  अन्तर्राष्ट्रिय चिया बजारको मान्यतामा कुनै पनि पेट्रोल र डिजेलले चल्ने मेसिनलाई मान्यता नदिने भएका कारण ब्याट्रीबाट चल्ने मेसिन वितरण गर्न लागेका हौं’, उनले भने, ‘चियालाई ‘अग्र्यानिक’ बनाउन पालिका लागिरहेको छ ।’ एउटा व्यापारीले व्यापार परिवर्तन गर्न जति सजिलो छ, किसानले खेती परिवर्तन गर्न नहुने भन्दै उनले चियाको दीर्घकालीन समाधान नभए यहाँका किसानलाई समस्या हुने बताए । ‘व्यापारीलाई कहिल्यै घाटा हुँदैन । उसले आफ्नो व्यापार परिवर्तन गर्न सक्छ । तर किसानले सजिलै चियाखेती परिवर्तन गर्न सक्दैन । ठुलो घाटा भनेको किसानलाई हुने हो । त्यसैले हामी सचेत बनेर गुणस्तरीय चिया टिपौं’, उने भने । राम्ररी टिपेको चिया ४० देखिमाथि रु दुई सयसम्म पनि बिक्री भइरहेको उनको भनाइ छ । ‘गुणस्तरीय चिया टिपौं न । चियाको न्यूनतम समर्थन मूल्य रु ४० हो । तर चियाको मुना ४० प्रतिशतचाहिँ हुनुपर्छ,’ उनी भन्छन्, ‘चालिस प्रतिशत मुना भएको चियालाई कुनै उद्योगले रु ४० दिएन भने नगरपालिकामा आउनुहोस् हामी दिलाउँछौं ।’ सूर्योदयको मात्र नभई समग्र देशको चियाको टिपाइमा नै सुधार आवश्यकता भएकाले किसानलाई यस कुरामा सचेतना तालिम गराउने र आवश्यक अनुदान उपलव्ध गराउने विषयमा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड संवेदनशील बन्नुपर्ने राईले बताए । ‘बोर्डले किसानलाई सचेतना गराउनुपर्छ, कसरी चिया टिप्नुपर्छ भनेर सिकाउनुपर्छ, किसान ठगिएको छन् कि ? ४० पतिशत मुना भनेको के हो भन्ने कुरा बोर्डले ‘अवार्नेस्’ गर्नुपर्छ’, उनले भने । चिया बिक्री नहुनुको कारण उत्पादन गुणस्तरीय नभएर हो । किसानले पाएका दुःखमा समाजसेवी, अभियान्तालगायत सबैले साथ दिनुपर्ने राई बताउँछन् । सूर्योदय नगरपालिकामा ६२ भन्दा बढी चिया प्रशोधन उद्योग छन् । तीमध्ये सूर्योदय टी एशोसिएसनमा ५२ वटा उद्योग आबद्ध छन् । यहाँ तीन हजार हाराहारी किसानको हरियो चियापत्ती प्रशोधन गरिन्छ । यहाँका उद्योगमा सूर्योदय नगरपालिकाको मात्र होइन माइजोगमाई, रोङलगायतका किसानले उत्पादन गरेको हरियो पत्तीसमेत प्रशोधनका लागि पुग्ने गरेको छ । यहाँको तयारी चिया भारतसहितका तेस्रो मुलुकसम्म पुग्ने गरेको छ । नगरपालिकाले किसानलाई हरियो चियापत्तीको मूल्य प्रतिकिलो ४० दिने व्यवस्थासहित ‘हरियो चियाको गुणस्तर मापदण्ड कार्यान्वयन कार्यविधि’ पारित गरेको पाँच वर्ष भयो । चिया उद्योगी र किसानसमेतको सहभागितामा कार्यविधि पारित गरिएको थियो । किसानले उद्योगलाई बेच्ने हरियोपत्तीमा अनिवार्य दुई पात एक सुइरोसहित निश्चित गुणस्तर कायम हुनुपर्ने कार्यविधिमा उल्लेख छ । कार्यविधिले किसानदेखि हरियो चिया सङ्कलक, उद्योगी, विक्रेतालगायत सबैले चियामा निश्चित गुणस्तर कायम राख्नुपर्ने व्यवस्था गरेको छ । गुणस्तर कायम भए–नभएको अनुगमन नगरपालिकाले नै गर्ने व्यवस्था पनि कार्यविधिमा छ । नेपालमा १२ हजार ६६ हेक्टरमा चियाखेती लगाइएको छ । देशभरमै बढी चिया उत्पान हुने जिल्ला इलाम हो । यहाँ छ हजार नौ सय ९५ बगान रहेका छन् । सूर्योदय नगरपालिकालाई चियाको राजधानी नै भन्ने गरिएको छ । देशभरका ११ हजार ४१ बगानबाट १० करोड ८० हजार किलो हरियो पत्ती उत्पादन हुन्छ । रासस

आजदेखि न्युरोडको पार्किङ्ग धरहरा क्षेत्रमा

काठमाडौं । गत मङ्गलबारदेखि न्युरोडमा कालोपत्र सडकमाथि सवारी पार्किङ निषेध गरेको काठमाडौं महानगरपालिकाले नवनिर्मित धरहरा क्षेत्रमा रहेको पार्किङ भवनबाट पार्किङ सेवा दिने भएको छ । कामपाले उक्त सेवा आज माघ १४ गतेदेखि सर्वसाधारणका लागि निःशुल्करूपमा उपलव्ध गराउन लागेको जनाएको छ । धरहरासँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा भोलिदेखि निःशुल्क पार्किङ सेवा उपलव्ध हुने भएको हो । कामपाले न्यूरोडमा कालोपत्र सडकमाथि सवारी पार्किङ निषेध गरेपछि सवारी चालकलाई सहज पार्किङस्थल उपलव्ध गराउने क्रममा उक्त स्थानबाट सेवा दिन लागिएको हो । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले भने, “यसअघि काठमाडौँ टावर (साविक पुरानो बसपार्क)मा निःशुल्क पार्किङ सेवा उपलव्ध गराइसकिएको छ । सरोकारवालासँगको समन्वयमा भोलिदेखि धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा सेवा उपलव्ध गराउन लागेका हौँ ।” पाण्डेका अनुसार ५० हजार स्क्वायर फिट क्षेत्रफल निःशुल्क पार्किङका लागि उपलव्ध हुनेछ । शहीदगेटबाट नयाँ सडक जाँदा बायाँपट्टि काठमाडौँ मलबाट खिचापोखरीतर्फ लाग्ने सडकबाट पार्किङ गर्ने ठाउँमा पुगिन्छ । गएको दसैँदेखि छठपर्वसम्मको अवधिमा वडा कार्यालयले साझेदार र स्थानीय क्लबहरूसँगको सहकार्यमा निःशुल्क पार्किङ सेवा दिएको थियो ।

बाक्लो हुस्सु र शीतलहरले हवाई उडान प्रभावित

काठमाडौं । नेपालगञ्ज विमानस्थलबाट हुने हवाई उडान प्रभावित भएका छन् । शीतलहर र बाक्लो हुस्सुका कारण भिजिविलिटी नहुँदा शनिबार सो विमानस्थलबाट हुने कुनै पनि उडान नभएको नेपालगञ्ज विमानस्थल राँझाका प्रमुख सुरेश खनालले जानकारी दिए । प्रमुख खनालले नेपालगञ्ज विमानस्थलबाट पहाडी जिल्ला सिमीकोट, हुम्ला, बाजुरा र रारा जाने समिट र तारा एयरलाइन्सको ६ जहाजको उडान नभएको उल्लेख गर्दै काठमाडौँ जाने श्री एयरलाइन्सको २, यती एयरलाइन्सको १ र बुद्ध एयरलाइन्सको ६ उडान नभएको बताए । यसबाहेक श्रीएयरलाइन्सको माउन्टेन फ्लाइट पनि भएको छैन । बाक्लो हुस्सु र शीतलहरका कारण यहाँको जनजीवन प्रभावित भएको छ । नेपालगञ्जमा स्थानीयले विभिन्न चोकमा दाउरा बालेर आगो तापेको दृश्य जतासुकै देख्न पाइन्छ । केही साताअघि चिसो बढेको भन्दै नेपालगञ्ज उपमहानगरपालिकाले सामूहिकरूपमा आगो ताप्न दाउरा वितरण गरेको थियो ।