त्रिभुवन विमानस्थलबाट २८ हजार ९ सय अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २८ हजार ९ सय अमेरिकन डलरहित तीन जना नेपाली पक्राउ परेका छन्। बिहीबार पौने १२ बजे चीन जान लागेको बेलामा ४५ वर्षीया अनिता लामा, ३८ वर्षीया संगीता लामा र ४७ वर्षीय विनोद लामा २८ हजार ९ सय अमेरिकी डलरसहित पक्राउ परेका हुन् । उनीहरू चाइना साउर्थन को उडान नम्बर सीजेड ६०६८ नम्बरको उडानबाट चीन लागेका थिए । उनीहरूले अमेरिकी डलर चीन लैजान लागेको अवस्थामा चेकजाँच गर्दा उक्त डलर फेला परेको प्रहरीले जनाएको छ । आवश्यक अनुसन्धानका लागि कानुनी कारबाहीका लागि राजश्व अनुसन्धान विभागमा पठाइएको प्रहरीले जनाएको छ ।
अहिलेको प्रधान दायित्व स्थिति सम्हाल्नु हो, राजीनामाभन्दा व्यवस्थापन आवश्यक छ : उपसभापति शर्मा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा सम्बन्धमा उपसभापति विश्वप्रकाश शर्माले वर्तमान राजनीतिक परिस्थितिमा नैतिक जिम्मेवारीभन्दा पनि स्थितिको व्यवस्थापन प्रमुख दायित्व भएको बताएका छन् । शर्माले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अहिलेको समय आवेगमा निर्णय गर्नेभन्दा संस्थागत ढंगले समस्या समाधान गर्ने समय भएको स्पष्ट पारेका छन् । उनले आगामी बैठकमा प्रारम्भिक समीक्षा, राजीनामासम्बन्धी पत्रमाथि छलफल तथा त्यसलाई अस्वीकृत गर्ने प्रस्तावसमेत पेश हुने जानकारीसमेत दिए । शर्माका अनुसार पार्टीभित्र उत्पन्न परिस्थिति सम्हाल्न नेतृत्वले संयमता अपनाउन आवश्यक छ । ‘नैतिक जिम्मा लिन्छु भन्नु सकारात्मक हो, तर अहिलेको प्रधान विषय नैतिक दायित्व स्थिति सम्हाल्नु हो,’ उनले लेखेका छन् । शर्माले परिस्थितिको मूल्यांकन नगरी व्यक्तिलाई दोषारोपण गर्नु उचित नहुने धारणा पनि राखेका छन् । ‘डढेलो निभाउन पुगेको व्यक्तिलाई आगलागीको दोष बोकाउनु न्यायसंगत हुँदैन’ भन्दै उनले नेतृत्वप्रति लक्षित आलोचनालाई संयमित बनाउन आग्रहसमेत गरेका छन् ।
भारी वर्षा र हुरीको सम्भावना
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षा र हुरीको सम्भावना रहेकाले सचेत रहन आग्रह गरेको छ । प्राधिकरणले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै जोखिम न्यूनीकरणका लागि सचेत रहन आग्रह गरको हो । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनमा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षा र हिमपात हुने सम्भावना रहेको उल्लेख गरेको छ । साथै, दाङ, नेपालगञ्ज र लुम्बिनी प्रदेशका तराई क्षेत्रहरूमा तीव्र गतिमा हुरी चल्ने पनि अनुमान गरिएको छ । विभागले शनिबारसम्म विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा ११९ किलोमिटर प्रतिघण्टासम्मको तीव्र हुरी चल्ने सम्भावना रहेको जनाएको छ । हुरीका कारण रूख ढल्ने, कमजोर संरचना क्षतिग्रस्त हुने तथा विद्युत् र सञ्चार सेवा प्रभावित हुने जोखिम रहेको पनि बताइएको छ । प्राधिकरणका उपसचिव रामबहादुर केसीले प्रभावित क्षेत्रका बासिन्दा र यात्रुलाई अनावश्यक यात्रा नगर्न, घरको इन्धन बन्द गर्न, सुरक्षित स्थानमा बस्न र सवारी साधन सञ्चालन नगर्न विशेष सतर्कता अपनाउन आग्रह गरे । साथै, कमजोर संरचना र विद्युत् तारहरूमा जोखिम हुनसक्ने भएकाले विद्युत् उपकरण नचलाउन समेत उनको अनुरोध छ । विभाग मौसमसम्बन्धी नियमित पूर्वानुमान र सतर्कता जारी गर्दै आएको छ र सबैमा आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ ।
रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको निर्णयको फाइल झिकाउन सर्वोच्चको आदेश
काठमाडौं । सवोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) का सभापति रवि लामिछानेसँग सम्बन्धित मुद्दामा महत्त्वपूर्ण आदेश जारी गरेको छ । अदालतले बिहीबार (आज) उक्त पार्टीका सभापति लामिछाने जोडिएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने निर्णयबारे फाइल झिकाउन आदेश दिएको हो । यो आदेश महान्याधिवक्ता सविता भण्डारीले अभियोगपत्र संशोधन गर्ने निर्णयविरुद्ध दायर रिटमाथि सुनुवाइ गर्दै दिइएको हो । न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले महान्यायाधिवक्ताको कार्यालयले सबै प्रतिवादीविरुद्धको मुद्दा फिर्ता लिने भनी २ फागुनमा गरेको निर्णय पेश नभएको भन्दै उक्त निर्णय अनिवार्य रूपमा पेश गर्न आदेश दिएको छ । साथै इजलासले आगामी सुनुवाइका लागि ९ चैतमा पेसी तोक्दै हेर्न नमिल्ने न्यायाधीशबाहेकको इजलासमा मुद्दा पेश गर्न निर्देशन दिएको छ । आइतबारदेखि सुरु भएको सुनुवाइ तीन दिनसम्म हेर्दाहेर्दैमा राखेर निरन्तर बहस भएको थियो । यस मुद्दामा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुष बडाल र युवराज पौडेल सफलले रिट दायर गरेका थिए । रिट निवेदकहरूले महान्यायाधिवक्ता कार्यालयको निर्णयलाई प्रथम दृष्टिमै गैरकानुनी, बदनियतपूर्ण र स्वेच्छाचारी भएको दाबी गर्दै उक्त निर्णय बदर गर्न माग गरेका छन् ।
नवनिर्वाचित सांसदको सपथ चैत १२ गते दिउँसो १२ बजे
काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ बाट निर्वाचित सांसदहरूको सपथ ग्रहण चैत १२ गते दिउँसो १२ बजे गराइने भएको छ । संसद् सचिवालयका प्रवक्ता एकराज गिरीका अनुसार सोही दिन सपथ कार्यक्रम आयोजना गर्ने तयारी गरिएको हो । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको अन्तिम मत परिणाम निर्वाचन आयोगले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रस्तुत गरेको छ । अन्तिम परिणाम सार्वजनिक भएसँगै नवनिर्वाचित सांसदहरूको सपथको मिति तय गरिएको संसद् सचिवालयले जनाएको छ । निर्वाचन परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले १२ सांसद निर्वाचित गराउँदै उल्लेख्य उपस्थिति जनाएको छ । त्यसैगरी नेपाली कांग्रेसले ३, नेकपा एमालेले २५ तथा नेपाल कम्युनिष्ट पार्टीले १६ सांसद निर्वाचित गराएका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीले समान ४–४ सांसद जितेका छन् भने एक स्वतन्त्र सांसद पनि प्रतिनिधि सभामा रहने भएका छन् ।
राष्ट्रपति समक्ष आयोगद्वारा निर्वाचन प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोग नेपालले गत फागनु २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को प्रतिवेदन पेस गरेको छ । राष्ट्रपति पौडेल समक्ष राष्ट्रपति भवन शितल निवासमा आज आयोजित कार्यक्रममा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले सो प्रतिवेदन पेस गरेका हुन् । सो अवसरमा राष्ट्रपति पौडेलले कठिन र जटिल परिस्थितिमा पनि मन, वचन र कर्मले अहोरात्र लागीपरी निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा खुशी प्रकट गरे । उनले निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारीसहित सम्बद्ध सबै पक्षलाई धन्यवाद व्यक्त गरे । 'फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गरी आयोगले आफ्नो जिम्मेवारी सफलतापूर्वक पूरा गरेको छ, जसले निर्वाचन आयोग र निर्वाचन प्रणालीप्रति आम नागरिकको विश्वास अभिवृद्धि भई लोकतन्त्र अझ मजबुत भएको मैले अनुभूत गरेको छु,' राष्ट्रपति पौडेलले भने ।
डिजिटल युगमा महिला नेतृत्वको आवश्यकता, साइबर सुरक्षा कार्यक्रम सम्पन्न
काठमाडौं । साइबर सुरक्षामा महिलाको नेतृत्वदायी भूमिका सुदृढ बनाउन केन्द्रित ‘सुरक्षित डिजिटल भविष्यका लागि महिला सशक्तीकरण : साइबर सुरक्षा नेतृत्व निर्माण’ कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ । क्यान महासंघअन्तर्गतको सफ्टवेयर एन्ड सर्भिसेस कमिटीले सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसन तथा इन्फरमेसन सेक्युरिटी रेस्पोन्स टिम नेपालसँगको सहकार्यमा आयोजना गरेको कार्यक्रम सिफलस्थित टेक्सस कलेज अफ म्यानेजमेन्ट एन्ड आइटीमा रूपमा सम्पन्न भएको हो । कार्यक्रममा क्यान महासंघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीले डिजिटल सुरक्षासँगै महिलाको समग्र सुरक्षा सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याउँदै साइबर सुरक्षामा महिला नेतृत्व विकास आजको प्रमुख आवश्यकता भएको बताए । उनले पछिल्ला सामाजिक घटनाक्रम सन्दर्भित गर्दै महिलाका लागि डिजिटल सुरक्षा मात्र नभई आत्मरक्षा तालिमसमेत आवश्यक रहेकोमा जोड दिए । कार्यक्रमको सुरुआतमा टेक्सस कलेज अफ म्यानेजमेन्ट एन्ड आइटीका आइटी निर्देशक डा. सुमन थपलियाले स्वागत मन्तव्य व्यक्त गरेका थिए । त्यसैगरी क्यान महासंघकी अध्यक्ष सुनयना घिमिरे पाण्डे तथा महासचिव चन्द्र विलास भुर्तेलले सूचना प्रविधि क्षेत्रमा महिला सहभागिता वृद्धि र नेतृत्व विकासको रणनीतिक महत्त्वबारे धारणा राखेका थिए । प्राविधिक सत्रअन्तर्गत नेपाल दूरसञ्चार प्राधिकरणकी उपनिर्देशक रोजा किरण बासुकलाले ‘साइबर सुरक्षाको अग्रपंक्तिमा महिलाः सुरक्षित डिजिटल भविष्यको निर्माण’ विषयमा प्रस्तुति दिँदै नीतिगत तथा संस्थागत तहमा महिला नेतृत्व आवश्यक रहेको बताइन् । इनसाइट टेक्नोलोजीका कार्यकारी निर्देशक सुमन कुमार शर्माले साइबर सुरक्षामा करियरका सम्भावना, चुनौती र महिला सहभागिता बढाउने उपायबारे प्रस्तुतीकरण गरेका थिए । त्यसैगरी मोनाल टेककी संस्थापक मोना न्याछ्यों श्रेष्ठले उदीयमान साइबर जोखिम, डिजिटल सुरक्षा चुनौती तथा विविधतायुक्त नेतृत्वको आवश्यकता विषयमा प्रकाश पारेकी थिइन् । कार्यक्रमको अन्त्यमा आयोजित प्यानल छलफलमा नेपाल बैंक लिमिटेडकी कार्ड तथा डिजिटल बैंकिङ डिभिजन प्रमुख बन्दना शर्मा, रोजा किरण बासुकला, सुमन कुमार शर्मा र मोना न्याछ्यों श्रेष्ठ सहभागी रहेका थिए । छलफलमा बैंकिङ सुरक्षा, नियामक चुनौती तथा साइबर सुरक्षामा महिलाको भूमिका र सम्भावनाबारे अन्तरक्रिया गरिएको थियो । आयोजकका अनुसार उक्त कार्यक्रमले नेपालमा साइबर सुरक्षा जनशक्ति विकास, महिला नेतृत्व प्रवर्द्धन तथा लैङ्गिक समानता प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
राप्रपाको संसदीय दलको नेतामा शाही
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसदीय दलको नेता ज्ञानबहादुर शाहीलाई बनाउने निर्णय गरेको छ। बिहीबार (आज) पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले शाहीलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ । त्यस्तै, बैठकले प्रमुख सचेतकमा खुश्बु ओलीलाई बनाउने निर्णय गरेको छ । शाही जुम्लाबाट निर्वाचित भएका हुन् भने ओली समानुपातिक सांसद हुन् । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राप्रपाले प्रत्यक्षतर्फ १ सिट र समानुपातिकमा ४ सिट प्राप्त गरेको छ । दलको नेता चयन भएका शाही राप्रपाबाट प्रत्यक्ष निर्वाचित एक्ला सांसद हुन् । उनी जुम्लाबाट निर्वाचित भएका हुन् ।