विकासन्युज

स्थानीय अर्थतन्त्र बलियो बनाउन एडिबीको १६ अर्ब ६० करोड सहयोग

काठमाडौं । एसियाली विकास बैंक (एडिबी)ले १६ अर्ब ६० करोड रुपैयाँको वित्तीय सहायता उपलब्ध गराउने भएको छ । एडिबीले नेपालको दिगो पर्यटन प्रवर्द्धन गर्दै स्थानीय बासिन्दालाई गुणस्तरीय जीवनयापनमा सघाउने उद्देश्यले जीवनयापान सुधार परियोजना कार्यान्वयन गर्न उक्त सहायता उपलब्ध गराउने भएको हो । पर्यटनका माध्यमबाट स्थानीय अर्थतन्त्रलाई सबल बनाउन देवदह, लुम्बिनी सांस्कृति, सैनामैना, सिद्धार्थनगर र तिलोत्तमा नगरपालिकाका साथै जनकपुर उपमहानगरपालिका र पोखरा महानगरपालिकाको आर्थिक वृद्धिमा सघाउन उक्त वित्तीय ‘प्याकेज’ एडिबीले बिहीबार स्वीकृत गरेको हो । बैंकको प्रधानकार्यालय मनिलाबाट बिहीबार जारी प्रेस विज्ञप्तिअनुसार जलवायु एवं प्रकोप प्रतिरोधी सहरहरू निर्माण गरी नेपालको स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन र दिगो आर्थिक विकास गर्ने नेपालको सरकारको रणनीतिमा सघाउन उक्त प्याकेज स्वीकृत गरिएको हो । उक्त वित्तीय प्याकेजअन्तर्गत ६० करोड रुपैयाँ अनुदान सहायता हो । सहरी विकास तथा भवन निर्माण विभाग र सम्बन्धित नगरपालिकाले जीवनयापान सुधार परियोजना कार्यान्वयन गर्नेछन् । रासस

अपर तामाकोशी हाइड्रोले बाँडफाँड गर्यो शतप्रतिशत हकप्रद सेयर

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरको हकप्रद सेयर बाँडफाँड भएको छ । हाइड्रोले निष्काशन गरेको शतप्रतिशत हकप्रद सेयर मंसिर २८ गते बिहीबार बाँडफाँड भएको हो । कम्पनीले गत भदौ १८ गतेदेखि असोज २२ गतेसम्म एक सय अंकित दरको १० करोड ५९ लाख रुपैयाँ बराबरको सेयर साविक सेयरधनीहरुलाई निष्काशन गरेको थियो । उक्त सेयर नागरिक लगानी कोषको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा तथा सनराईज क्यापिटलको सह निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निष्काशन तथा बिक्री खुल्ला भएको थियो । कूल ६ लाख ४३ हजार २९३ जना कायम साधारण सेयरधनीले ५ करोड १८ लाख ९१ हजार कित्ता सेयरको लागि आवेदन दिएका थिए । जसमध्ये भौतिक तथा सिआस्वा मार्फत आवेदन दिने ३ लाख ३५ हजार २३० जना सेयरधनीहरुबाट जम्मा ३ करोड ४८ लाख ९७ हजार ३९६.३४ कित्ता सेयरका लागि दरखास्त प्राप्त भएको थियो । जसमा १ हजार २२२ जना सेयरधनीहरुले जम्मा २५ हजार ९२६.३४ कित्ता हकप्रद सेयरको लागि बढी माग गरेका थिए । त्यसैले उक्त २५ हजार ९२६.३४ कित्ता सेयर बाँडफाँडमा समावेश नगर्ने गरी कायम सेयरधनीहरुलाई हक अनुसार ३ करोड ४८ लाख ७१ हजार ४७० कित्ता हकप्रद सेयर बाँडफाँड भएको हो निष्काशन तथा बिक्री प्रबन्धकले जानकारी गराएको छ ।

एनसेल सेयर खरिद बिक्री प्रकरणमा सरकारको संलग्नता छः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एनसेल सेयर खरिद बिक्री प्रकरणमा सरकारको संलग्नता भएको आरोप लगाएका छन् । बिहीवार तेह्रथुममा महाकाली-मेची अभियानअन्तर्गत आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । एनसेल बेच्ने तयारी भइरहेको भन्दै सरकारको संलग्नता बिना बेचिन नसक्ने दाबी गर्दै उनले खर्बौंको कारोबार हुने र खर्बौंको मूल्य पर्ने कम्पनी केही अर्बमा मात्रै बिक्री गर्न लागिएको बताए । उनले देशलाई घाटा पारेर सरकारले जालझेल गरी अर्को कम्पनीमा कौडीका मोलमा नामसारी गर्न लागेको समेत बताए । त्यस्तै, चार वर्षमा नेपाल सरकारकै स्वामित्वमा आउने कम्पनी कौडीका मूल्यमा सरकारले जालझेर गरेर बेच्न लागेको उनले भनाइ छ । उनले नागरिकहरुले सरकारको संलग्नता छ भनेपनि सरकार बोल्न नसकेको उनले बताए । सरकार कतिबेला ढल्छ भन्ने टुंगो नभएको जिकिर गर्दै ओलीले यस्तो सरकार ढल्नै पर्ने र यो सरकार आफ्नै बोझले ढल्ने बताए ।

बालकृष्ण खाँणलाई ३० लाख धरौटीमा छाड्न आदेश

काठमाडौं । उच्च अदालत पाटनले नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । खाँणलाई थुनामा पठाउनुपर्ने भनी जिल्ला अदालत काठमाडौंले दिएको आदेश बदर गर्दै उच्च अदालतले धरौटीमा छाड्न आदेश गरेको हो । उच्च अदालत पाटनका प्रवक्ता तिर्थराज भट्टराईले अदालतको फैसला सुनाउँदै न्यायाधीश कृष्णराम कोईरालाको इजलासले खाँणलाई ३० लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश जारी गरेको बताए । उनले न्यायाधीश कृष्णराम कोईरालाको इजलासले यसअघि नै जनक पाण्डेले व्यक्त गरेको रायलाई समर्थनको रायसँगै जिल्ला अदालतको आदेश बदर भएको बताए । यसअघि उच्च अदालतमा दुई न्यायाधीशहरुबीच राय बाझिएपछि तेस्रो न्यायाधीशको रायका लागि खाँणले दिएको निवेदन बिहीबार तेस्रो न्यायाधीश कोईरालाको इजलासमा पेश भएको हो ।  

चिसोका कारण किर्गिजस्तानका विद्यालयमा अनलाइन पढाइ

काठमाडौं । अत्यधिक चिसोका कारण किर्गिस्तानका सबै विद्यालयहरू डिसेम्बर १३ देखि १५ सम्म अनलाइन माध्यमबाट सञ्चालन गरिएका छन् । किर्गिजस्तानको हाइड्रोमेटियोरोलोजी एजेन्सीका अनुसार देशका केही क्षेत्रहरूमा तापक्रम माइनस ३५ डिग्री सेल्सियसमा झर्ने अनुमान गरिएको छ। यसै गरी किर्गिस्तानको पहाडी क्षेत्रमा हिमपातका कारण हिमपहिरोको सम्भावना उच्च रहेको आपतकाली मन्त्रालयले जनाएको छ । यातायात मन्त्रालयले वर्षाका कारण केही पहाडी सडक र नाका आवतजावत गर्न बन्द गरेको जनाएको छ । यहाँका सडकहरू हिँउले सेताम्य भएका छन् । रासस

बैंक तथा बीमा कम्पनीले मर्जर र एफपीओमा कर तिर्नुपर्ने, सरकारको पक्षमा सर्वोच्चको फैसला

काठमाडौं । बैंक तथा बीमा कम्पनीले मर्जर तथा एफपीओमा कर तिर्नुपर्ने भएको छ । सर्वोच्च अदालतले मर्जर तथा एफपीओमा कर लाग्ने सरकारको निर्णयलाई सदर गरेसँगै बैंक तथा बीमा कम्पनीले कर तिर्नुपर्ने भएको हो । बिहीबार भएको सुनुवाईपछि कर असुल्ने सरकारको निर्णय विरुद्ध बैंकर र बीमकले दायर गरेको रिटमा अदालतले सरकारको निर्णयलाई सदर गरिदिएको हो । सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा न्यायाधीशहरु आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल, सुष्मालता माथेमा कुमार रेग्मीको संबैधानिक इजलासले सरकारको उक्त निर्णय सदर गरिदिएको हो । यसअघि बैंकर र बीमकले मर्जर तथा एफपीओको कर असुल्ने निर्णय विरुद्ध परमादेश माग्दै अदालतमा रिट हालेका थिए । विभिन्न १५ वटा वाणिज्य बैंक र २ बीमा कम्पनीहरुले एफपीओ र मर्जर तथा एक्विजिशनको बार्गेन पर्चेज गेनमा कर असुल्ने सरकारको निर्णयविरुद्ध गत भदौ २९ गते सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका थिए । बैंकहरुले एफपीओमा र मर्जर/एक्विजिशनको बार्गेन पर्चेज गेनको रकममा लादिएको करबारे दुई वटा रिट दर्ता गराएका थिए । नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि, नबिल, सानिमा, सिद्धार्थ, सिटिजन्स, एनआइसी एशिया, कुमारी, हिमालयन, प्राईम, प्रभु, ग्लोबल आइएमई, लक्ष्मी सनराइज, माछापुच्छ्रे र नेपाल एसबिआई बैंकले संयुक्त रुपले मुद्दा हालेका थिए । त्यस्तै, बैंकहरु अदालत गएपछि प्रिमियममा एफपीओ निष्काशन गरेका नेपाल लाइफ इन्स्योरेन्स र शिखर इन्स्योरेन्सले पनि अदालतमा मुद्दा दायर गरेका थिए । नेपाल लाइफले असोज २ गते र शिखरले असोज २१ गते सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थिए ।

सेरेसको थ्रि एस सुविधासहितको शोरुम पोखराको नागढुंगामा

पोखरा । पोखराको नागढुंगामा सेरेसले आफ्नो तेस्रो अत्याधुनिक शोरुमको उद्घाटन गर्दै आफ्नो सञ्जाललाई बलियो बनाएको छ । कम्पनीले पोखरामा थ्रि एस (सेल्स, सर्भिस र स्पेयर पार्टस्) शोरुम स्थापना गरेको हो । नेपालमा सेरेस ईभीहरुको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटो कर्पले पोखरामा डिलरशिपका लागि थापा मोटर्स प्रालिसँग साझेदारी गरेको हो । शोरुमले ब्रान्डको पहुँचलाई थप वृद्धि गर्ने तथा उत्साही र सम्भावित ग्राहकहरूलाई सेरेस ईभीको अन्वेषण गर्ने हबको रूपमा काम गर्ने कम्पनीले जनाएको छ । अग्रज उद्यमीहरू लगायत अन्य महत्वपूर्ण व्यक्तित्वहरूको उपस्थिति रहेको उद्घाटन समारोहमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापती, पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, एम.ए.डब्लु ग्रुपका चिफ अपरेटिङ अफिसर केशव चन्द्र सेनले शोरुमको उद्घाटन गरेका छन् । उक्त अवसरमा आ–आफ्नो धारणा राख्दै सेरेसको उपस्थितिसँगै पोखरामा विद्युतीय गाडीको माग बढ्ने र सेरेस लोकप्रिय हुने विश्वास व्यक्त गरे । शोरुम उद्घाटनको अवसरमा २ जना ग्राहकलाई थापा मोटर्सले सेरेस इभी हस्तान्तरण गरेको छ । सेरेस थ्रि र मिनी इभी हस्तान्तरण गरिएको हो । सेरेसले सन् २०२३ मा विश्वको सबैभन्दा दु्रत विकास हुँदै गरेको अटोमोबाइल ब्रान्डहरूमध्ये एकको रूपमा मान्यता प्राप्त गरेको छ । जसले विद्युतीय सवारी साधनहरूमा गुणस्तर र नवीनताप्रति आफ्नो प्रतिबद्धता देखाएको छ । हुवाएसँगको साझेदारीले उन्नत विद्युतीय सवारी प्रविधिप्रतिको सेरेसको समर्पणलाई अझै प्रगाढ बनाएको छ ।