विकासन्युज

चितवन राष्ट्रिय निकुञ्जमा अब सहजै बाघ देख्न पाइने !

फाइल फाेटाे चितवन । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउनेको पहिलो चाहना बाघ हेर्ने हुन्छ । भनिन्छ भाग्यमानीले मात्रै बाघ देख्न पाउँछन् । अब भने यहाँ घुम्न आउनेलाई बाघ हेर्न भाग्य चाहिँदैन । भरतपुरतर्फबाट निकुञ्ज घुम्न जाने बाटोमै बाघ हेर्न पाइने भएको छ । निकुञ्जभित्र एक सय २८ वयस्क पाटेबाघ रहेको तथ्याङ्क छ । यद्यपि निकै कमले मात्रै निकुञ्ज घुम्दै गर्दा बाघ देख्न पाउँछन् । गतवर्ष निकुञ्जमा दुई लाख २५ हजार हाराहारी पर्यटक पस्दा बाघ देखेँ भन्नेको सङ्ख्या निकै कम थियो । बाघ हेर्ने अवसर भरतपुर भ्रमण वर्षले दिन लागेको हो । भरतपुर महानगरपालिका–६ देवनगरस्थित निकुञ्जको रेञ्जपोष्ट क्षेत्रमा दक्षिणकाली सामुदायिक वनभित्र वन्यजन्तु उद्धार केन्द्रमा बाघ देखाउन लागिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सकेसम्म सन् २०२४ जनवरी १ तारिखबाट नै पर्यटकका लागि बाघ देखाउने तयारी गरिएको छ । बन्दै गरेको खोर र मचान सम्पन्न गर्न दुई चार दिन ढिलो भए पनि पुस महिनाभित्र नै बाघ देखाउने तयारी छ । उनले भने, ‘अब यहाँ आउने पर्यटकलाई बाघ हेर्न धेरै दिन कुर्नुपर्दैन ।’ निकुञ्जले रु ५० लाखमा बाघका लागि पक्की खोर बनाउँदै छ । भरतपुर महानगरपालिकाले अर्को रु ५० लाख थप गरेर सडक र दुई मचान घर बनाउँदै छ । बीस हजारी ताल व्यवस्थापन बोर्डले टिकट काटेर बाघ देखाउने व्यवस्थापन हेर्दैछ । टिकटकबाट उठेको पैसाले बाघको पालनपोषण गरिने छ । निकुञ्जको कसरामा चार वटा र सौराहामा दुई वटा हिंस्रक बाघ छन् । तिनैमध्येका एक वा थप नियन्त्रणमा लिनुपर्ने अवस्था आएमा अर्को बाघ खोरमा राखेर देखाइँदैछ । त्यही उद्धार केन्द्रमा गैँडा, हात्ती, लगायतका वन्यजन्तु उद्धार गरेर ल्याइँदै छ । तिनीहरुको संरक्षणसँगै पर्यटकका लागि गन्तव्य बनाउन लागिएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्षमा यहाँ आउने पर्यटकका लागि दुर्लभ पाटे बाघ देखाउन लागिएको बताइन् । महानगरको अनुरोधमा निकुञ्जले बाघ हेर्ने व्यवस्था मिलाउन लागेको उनले बताइन् । उनले भनिन्, ‘वन्यजन्तु उद्धार केन्द्रमा हेर्नका लागि मचान र पुग्नका लागि सडकको व्यवस्थापन महानगरले गरिरहेको छ ।’ भरतपुर महानगरपालिकाको धेरै भागले निकुञ्ज छुने गर्दछ । यहाँको कसरा र मेघौलीबाट निकुञ्ज प्रवेश गर्न सकिन्छ । पर्यापर्यटनका हिसाबले निकै महत्त्वपूर्ण भएर पनि आवश्यक प्रचार नहुँदा पछि परेको महसुस गर्दै भ्रमण वर्षको आयोजना गरेको हो । महानगरको निकुञ्जसँगैको राप्ती नदी तटीय क्षेत्रमा पर्यटकीय सुविधासम्पन्न होटल छन् । शान्त र रमणीय ठाउँ भएका कारण पछिल्लो समय निकुञ्ज घुम्न आउने पर्यटक यसै क्षेत्रमा आउने गरेका छन् । रासस

गरिमा क्यापिटलले म्युचुअल फण्डको योजना व्यवस्थापकको रुपमा कार्य गर्न अनुमति पायाे

काठमाडौं । गरिमा क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट मङ्सिर २२ गते धितोपत्र सम्बन्धी ऐन तथा सो ऐन अन्तर्गत बनेको नियम तथा अन्य प्रचलित कानुनको अधिनमा रही सामूहिक लगानी कोषको योजना व्यवस्थापक र डिपोजिटरीको रुपमा कार्य गर्ने अनुमतिपत्र पाएकाे छ । कमलपोखरी, काठमाडौंमा मुख्य कार्यालय रहेको गरिमा क्यापिटल नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंक हो । यस संस्थाले हाल लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य डिम्याट तथा मेरोशेयर खाता सम्बन्धी) सेवा प्रवाह गर्दै आएको छ । यसैगरी, निकट भविष्यमा नै कोष सुपरिवेक्षक र कोष प्रवद्र्धकको प्रचलित कानून बमोजिम आवश्यक स्वीकृति लिई गरिमा म्युचुअल फण्ड अन्तर्गत विभिन्न बन्दमुखी तथा खुल्लामुखि योजनाहरु क्रमशः दर्ता तथा सञ्चालन गर्दै अगाडी बढ्ने जानकारी दिएकाे छ । गरिमा क्यापिटल, गरिमा विकास बैंकको सहायक कम्पनी हो । गरिमा क्यापिटल लिमिटेडका सम्पूर्ण सेवाहरु ग्राहक समक्ष पुर्याउन गरिमा विकास बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट सहजिकरण हुँदै आएको जनाएकाे छ । यस संस्थाले आफ्ना सेवाहरु अझ परिस्कृत र ग्राहकमैत्री तवरबाट प्रवाह गर्नको निमित्त विभिन्न नविनतम प्रविधिहरुको प्रयोग गर्दै अगाडि बढ्ने बैंकले बताएकाे छ।

वैदेशिक रोजगारीमा गएकाबाट आउनुपर्ने ३८ खर्ब रेमिट्यान्स हरायो : जिफन्ट

काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले वैदेशिक रोजगारीमा गएकाहरुबाट आउनुपर्ने ३८ खर्ब रेमिट्यान्स हराइरहेको बताएको छ । आइतबार अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवस, २०८० को अवसरमा काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यसबारेमा जानकारी गराइएको हो । जिफन्टले आर्थिक वर्ष २०७७/०७८ को तुलनामा २०७८/०७९ मा २७७ प्रतिशत र २०७९/०८० मा ३ सय प्रतिशतभन्दा बढी श्रमिक वैदेशिक रोजगारीमा गएको बताएको छ । आर्थिक वर्ष २०७७/०७८ मा ४२.२४ प्रतिशत र आव. २०७८/०७९ मा ४६.३२ प्रतिशत दक्ष श्रमिक विदेश गएकोमा २०७९/०८० मा ६६ प्रतिशत दक्ष श्रमिक विदेश गएको बताएको छ । आव २०७७/०७८ को तुलनामा (१ लाख ६६ हजार ६९८ जना विदेशिँदा ल्याएको ९ खर्ब ६१ अर्ब ५ करोड रेमिट्यान्स) को अनुपातमा आव२०७९/०८० मा वृद्धि भएको विदेशिनेको संख्या (अहिले ७ लाख ७१ हजार ३२७) जनाको अनुपातको आम्दानीको आधारमा नेपालमा रेमिट्यान्स ४४ खर्ब ४८ अर्ब वार्षिक रुपमा भित्रिनुपर्ने दाबी जिफन्टको छ । अदक्ष श्रमिकको तुलनामा दक्ष श्रमिक विदेशिनेको संख्या १५ प्रतिशतले बढी हुन्छ भन्ने मान्दा पनि कम्तीमा ७ खर्ब रेमिट्यान्स थप भइ कुल ५० खर्ब भन्दा बढी हुने रेमिट्यान्स भित्रिनुपर्ने जिफन्टका महासचिव लक्ष्मण शर्माले बताए ।उनले अहिले केवल १२ खर्ब मात्र नेपालमा रेमिट्यान्स आएको देखिएकाले वार्षिक ३८ खर्ब रेमिट्यान्स हराइरहेको दाबी गर्दै यसबारेमा अध्ययन गर्न आवश्यक रहेको बताए । ‘श्रमिकहरु अझै पनि विदेशिने क्रम बढ्दो छ, असुरक्षित क्षेत्रमा श्रमीकहरु प्रवेश गर्दै गरेको युद्धमा सहभागी भएका जस्ता डरलाग्दा तथ्यांकहरु पनि छन्, असुरक्षित ढंगले श्रमीकहरु विदेशिँदै जाँदा यदी युद्ध भयो भने नेपाली श्रमीकहरु युद्धमा पनि सहभागी हुने हुन् की भन्ने संकेत देखिन्छ, जुन प्रतिशतमा विदेशमा श्रमिकहरुको संख्या बढ्दो छ, तर रेमिट्यान्स बढीरहेको छैन, कतै न कतै यहाँ मिसमास भइरहेको छ भन्ने हामीलाई लागेको छ, यसलाई यस वर्ष हाइलाइट गरिरहेका छौँ’, उनले भने । उनले वैदेशिक रोजगारमा गएर श्रमिकहरुले कमाएको नेपालमा आउनुपर्ने रकम नेपालमा किन आएन ? भन्ने प्रश्न गरे ।

पर्यटकीय सम्पदाबाटै म्याग्दीको समृद्धि

म्याग्दी । प्राकृतिक, सांस्कृतिक, भौगोलिक, जातीय र जैविक विविधताका साथै ऐतिहासिक सम्पदा म्याग्दीका पर्यटकीय सम्पदा हुन् । हिमाल, अग्ला पहाड, वनजङ्गल, नदी, झरना, तालतलैया, ऐतिहासिक र धार्मिकस्थल, विभिन्न जातजातिका विविधतायुक्त कलासंस्कृति, रहनसहन र जीवनशैली म्याग्दीको पर्यटन विकासका आधार मानिएको छ । संसारको सातौँ अग्लो हिमाल हो धौलागिरि आठ हजार एक सय ६७ मिटरको उचाइमा रहेको छ भने १०औँ अग्लो हिमाल अन्नपूर्णको उचाइ आठ हजार ९१ मिटर छ । फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगले पहिलोपटक सन १९५० जुन ३ तारिखका दिन अन्नपूर्ण प्रथम आरोहण गरेर इतिहास रचेका थिए । अरु थुप्रै मनमोहक हिमालको जिल्ला पनि हो म्याग्दी । यहाँ नीलगिरि, चुरेन, गुर्जा, मानापाथीलगायत हिमाल छन् । साहसिक मुटु भएकाहरू हिमाल चढ्छन् । पदयात्राका लागि पनि यहाँ राम्रा पदमार्ग छन् ।  धवलागिरि हिमालको आधार शिविर हुँदै मुस्ताङ निस्कने धौलागिरि चक्रिय, धौलागिरि आइसफल र सेञ्चुरी पदमार्ग । धेरैजसो पर्वतारोही र पदयात्री नाउरा, बगर, दोभान, इटाली आधार शिविर हुँदै मुस्ताङको मार्फा निस्कन सकिने चक्रीय धौलागिरि पदमार्गमा हिँड्छन् । अन्नपूर्णका प्रथम आरोही सम्मानमा मौरिस हर्जोग पदमार्ग सञ्चालनमा ल्याइएको छ । अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ गाउँदेखि अन्नपूर्ण प्रथमको आधार शिविर जोडिन्छ यो पदमार्ग । नारच्याङ हँुदै एकै दिनमा आधारशिविर पुग्न सकिन्छ । यो पदमार्ग रमणीय, मनमोहक र प्राकृतिक सौन्दर्ययुक्त छ । नारच्याङदेखि हुमखोलासम्म गाडी र हुमखोलादेखि फुतफुते, भुसकेत हुँदै आधारशिविर पुग्न सकिन्छ । अन्नपूर्ण आधारशिविर फराकिलो र समथर भूगोलमा छ । आधारशिविर नजिकैको नारच्याङ पञ्चकुण्ड ताल यहाँको अर्को विशेषता हो । पदयात्रामा फुतफुतेलगायतका झरनाका साथै विभिन्न जातका गुराँस, वन्यजन्तु, पक्षी तथा वनस्पति अवलोकन गर्न सकिन्छ । अन्नपूर्ण पदमार्गमा होटल तथा लज सुविधा छैन । त्यसैले पर्वतारोही तथा पदयात्रीले क्याम्पिङ गर्नुपर्छ । अक्करे पहाड, जङ्गल, ग्रामीण जीवनशैली, स्थानीय कला संस्कृति, प्राकृतिक तातोपानी कुण्ड, वनजङ्गल अवलोकन गर्न पाउनु धौलागिरि पदमार्गका आकर्षण हुन् । भोङभोङे, मिस्तुङ कुना, लामो छहरा, कुलिवाङ, तातोपानी र झुम्टोगोठ छहराको रमणीय दृष्यावलोकन गर्न पनि पाइन्छ । पदमार्गको इटालियन क्याम्पदेखि माथि होटल तथा लज सुविधा नभएकाले पदयात्रा गर्दा क्याम्पिङ गर्नु पर्ने बाध्यता छ । धवलागिरि गाउँपालिकाको ताकम, बेनी नगरपालिकाको ज्यामरुककोट, बेनीबजारको बेनी कोत, रघुगङ्गा गाउँपालिकाको भगवती कोत म्याग्दीका ऐतिहासिक कोतघर हुन् । चौबिसे राज्यका पालाका हातहतियार र सामग्री राखिएका कोतघरमा दसैंको समयमा विशेष पुजाआजा हुने गर्छ । पहाडी भूगोल र हिमालको दृश्यावलोकन गर्न सकिने उच्च स्थानमा रहेका कोतघरका हतियार इतिहासका साक्षी हुन् । कालीगण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल चट्टानमाथि रहेको गलेश्वर पश्चिमको पशुपतिनाथका रुपमा परिचित छ । सत्ययुगमा सतीदेवीको गला पतन भएकाले गलेश्वर नाम रहेको किम्बदन्ती छ । यहाँ शिवालय, राधाकृष्ण मन्दिर, कहिल्यै नसुक्ने जलबराह कुण्ड पनि छन् । पौलस्त्य ऋषिका नाति लंकाका राजा रावण जन्मिएको ठाउँ पौलस्त्य–पुलहाश्रम म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरस्थित पछैमा पर्छ । पौलस्त्य मन्दिर नजिकै रावणको नाभी गाडिएको भन्ने ढुङ्गा (पत्थर) छ । बेनी नगरपालिकाको गाजनेमा रहेको नेपालमै फरक स्वरूपको पाँच सय वर्ष पुरानो जगन्नाथ मन्दिरभित्र जगन्नाथ, डिम्ब महाराज, गणेश, रामलक्ष्मण, कृष्ण, बलराम, नृसिंह, चतुर्बाहुका मूर्ति छन । ऋषिमुनि र माताहरूले तपस्या गरेर ज्ञान आर्जन गरेको बेनी नगरपालिकाको स्वर्गाश्रममा आन्तरिक र बाह्य पर्यटक जाने गर्छन् । जनैपूर्णिमा पर्वका अवसरमा विशेष पूजाआजा हुने रघुगङ्गा गाउँपालिकाको रिखार पनि म्याग्दीको प्रसिद्ध धार्मिकस्थल हो । तीन हजार ४०० मिटर उचाइमा अवस्थित म्याग्दीको धार्मिकस्थल मालिका धुरी प्राकृतिक रुपमा सुन्दर र रमणीय छ । मनोकांक्षा पुरा हुने जनविश्वासका साथ मालिकामा चण्डी, ज्येष्ठ र कात्तिक पूर्णिमामा विशेष पूजाआजा गर्ने भक्तजनको घुइँचो लाग्छ । बिम, बिमवाङ, दुखु, हिदी, टोड्के र ठाडाखानीको बाटो भएर पुगिने मालिकाबाट २० भन्दा बढी हिमशृङ्खलालाई नजिकबाट अवलोकन गर्न सकिन्छ । बिम हुँदै मालिका धुरीमा जाने बाटोमा पर्ने बराह ताल र प्रभुचेला आश्रम पनि यस क्षेत्रका आकर्षण हुन् । धवलागिरि गाउँपालिका–१ मा अवस्थित गुर्जा गाउँलाई ‘लुकेको वस्ती’, ‘दुरवस्ती’, ‘एकल वस्ती’ तथा जीवित मानव सङ्ग्रहालय पनि भन्ने गरिन्छ । गुचुमुच्च बस्ती । परम्परागत ढुङ्गा र माटोबाट बनेका परम्परागत घरहरू । छन्त्याल जातिको जीवनशैली, सभ्यता र संस्कृति बुझ्ने आँखीझ्याल हो गुर्जा । चुरेन, पुथा र गुर्जा हिमालको जरामा बसेको बस्तीले पर्यटकलाई लोभ्याउँछ । जडीबुटीको भण्डार पनि हो गुर्जा गाउँ । यहाँ यार्सागुम्बा, जटामसी, निरमसी, सतुवा, कुट्कीलगायत धेरै थरिका बहुमुल्य जडीबुटी पाइन्छ । त्यसैले त गुर्जालाई ‘हर्बल हव’ उपमा समेत दिइन्छ ।  मुना–लुलाङ हुदै एक दिन पुरै हिँडेर गुर्जा गाउँमा पुगिन्छ । पर्यटकका लागि गाउँमा होमस्टे सुविधा छ । त्यहाँदेखि गुर्जा हिमालको आधारशिविर पुग्न चार घण्टा, चुरेन पुग्न २ दिन र पुथाको आधारशिविर पुग्न २ दिन ४ घण्टा लाग्छ । गुर्जा माथि बस्ती नभएकाले क्याम्पिङ गर्नुपर्ने हुन्छ । हिमाल आरोहणका अतिरिक्त वन्यजन्तु, पंक्षि, झरना, ग्रामीण बस्ती, जीवनशैली, वनस्पति र जडीवुटीको अवलोकन गर्न पाउनु धौलागिरि, गुर्जा, चुरेन र पुथा हिमालको आधारशिविरको आकर्षण हो । गुर्जा हुँदै डोल्पा जोड्ने पश्चिम धौलागिरि र ढोरपाटन शिकार आरक्ष जोड्ने पदमार्ग पहिचान भएको छ । बसन्त ऋतुमा गरिने महसिकार गुर्जाको थप आकर्षण हो । म्याग्दीको घोडेपानी, पुनहिल, मोहरेडाँडा र फूलबारी क्षेत्रमा लालीगुराँसको घना जङ्गल छ । नेपालमा पाइने ३२ मध्ये ८ प्रजातिका गुराँस यहाँ पाइन्छन् । गुराँसे जङ्गलको पृष्ठभूमिमा हिमाल र सूर्योदयका दृश्यमा रम्न पाउँदा बेग्लै आनन्दको अनुभूति हुन्छ । म्याग्दीको पोखरेबगरदेखि गाडी र कास्कीको नयाँपुल, घान्द्रुक भएर पुगिने घोडेपानीमा आमा समूहले संग्रहालय पनि सञ्चालन गरेका छन् । पर्यटकका लागि घोडेपानीमा सुविधायुक्त होटल छन् । घोडेपानीबाट करिब एक घण्टा उकालो चढेपछि पुनहिल (तीन हजार २१० मिटर) पुगिन्छ । पुनहिलबाट हिमालको लामो लर्कन देखिन्छ । त्यसैगरी पुनहिलबाट करिब चार घण्टा हिँडेपछि पुगिने अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्ग अन्तरगत तीन हजार ३०० मिटर उचाइको मोहरेडाँडाबाट धौलागिरि, गुर्जा, अन्नपूर्ण, माछापुच्छ्रेलगायत १६ भन्दा बढी हिमाल देखिन्छन् । घोडेपानीका साथै नागी, हम्पाल, लेसपार, राम्चे हँुदै पुगिने मोहरेडाँडामा सामुदायिक लज सञ्चालन गरिएको छ । प्यारीभारानी ताल, फुलबारी, कालीसार, करवाकेली थान र संग्रहालय, आलडाँडा, करबाकेली पदमार्ग, टिकोट घोडेपानी–पुनहिल आसपासका सहायक गन्तब्य हुन् । तीन हजार ६६० मिटर उचाईको सुन्दर हिलस्टेशन खोपाराबाट हिमालको लामो लर्कन, सूर्योदय र सूर्यास्तको मिठास देखिन्छ । हिमचुली, अन्नपूर्ण प्रथम, अन्नपूर्ण साउथ, बराह शिखर, निलगिरि साउथ, टुकुटे पिक, मानापाथी हिमाल र धौलागिरि हिमशृङखला देखिने खोपारामा भेडाबाख्रा र चौरी गाईको गोठ थप आकर्षण हुन् । खोपाराबाट एक दिन र एक बिहान हिँडेपछि पुगिने चार हजार ६३० मिटर उचाईमा, बराह शिखर हिमालको फेदीमा रहेको खयर भारानी प्रख्यात शक्तिपिठ हुन् । मनोकामना पूरा हुने विश्वासका हरेक बर्ष जनै पूर्णिमाका दिन यहाँ मेला लाग्छ । पाउद्वार गाउँदेखि खोपारा हुँदै खयरतालसम्म व्यवस्थित पदमार्ग छ । घोडेपानी, शिख, पाउद्वार र नारच्याङबाट एकै दिनमा पुग्न सकिने खोपारामा पाउद्धार पर्यटन सहकारी संस्थाले सामुदायिक होटल सञ्चालन गरेको छ । बयली र ढाडँखर्क खोपाराका सहायक गन्तब्य हुन् । बेनी–जोमसोम सडकमै पर्ने महभिर र दानाको रुप्से झरना म्याग्दी हुँदै मुस्ताङ जाने आउनेका लागि रमाउने थलो हुन् । धवलागिरि र अन्नपूर्ण हिमालको बीच भएर बग्ने, शालिग्राम पाइने विश्वको एकमात्र, कालीगण्डकी नदीले निर्माण गरेको विश्वकै गहिरो अन्धगल्छी रुप्से झरनाको नजिकै छ । बेनी–जोमसोम सडकअन्तर्गत नागढुङ्गादेखि पाँच मिनेट गाडी र १५ मिनेट उकालो हिँडेपछि पुगिने नारच्याङ झरना पनि पर्यटकीय सम्भावना बोकेको प्राकृतिक स्थल हो । छङछङ सुसाउँदै झर्ने सुन्दर र आकर्षक देखिने झरनामा पर्ने इन्द्रेणीले मनै हराउँछ । बेनी नगरपालिका–४ सिंगामा रहेको तातोपानी कुण्ड प्राकृतिक उपचारस्थलका रुपमा परिचित छ । बिरे नुनको गन्धमा निस्कने पानी सङ्कलन गरिएको पोखरीमा स्नान गरेर छाला, ग्यास्ट्रिक, वाथ, चोटपटक लागेको स्वास्थ्य समस्या निको भएको बिरामीहरू बताउँछन् । बेनी बजारदेखि आठ किलोमिटर टाढा रहेको सिंगा तातोपानी बजारमा पाहुनाका लागि आरामदायी होटल सुविधा छ । अन्नपूर्ण गाउँपालिकाको भुरुङ्ग तातोपानीमा प्राकृतिक रुपमा निस्कने तातोपानी सङ्कलन गरिएका दुईओटा पोखरी र धारामा स्नान गर्न सकिन्छ । अन्नपूर्ण चक्रीय पदमार्ग र मुस्ताङ भ्रमण गर्ने पर्यटकका लागि विश्रामस्थल बनेको भुरुङ्ग तातोपानीमा सुविधासम्पन्न होटल तथा लज छन् । अन्नपूर्णको पाउद्वार, रातोपानी, सेकार्कु, रघुगङ्गाको दर्मीजा, धवलागिरिको बगर र गुर्जाको तातोपानी कुण्ड पनि पर्यटकीय हिसाबले सम्भावनायुक्त छन् । रघुगगा गाउँपालिकाको रुइसेमा भुमे मन्दिर, नौलि बराह, देउराली मन्दिरलगायतका धार्मिक स्थल छन् भने घनाजङ्गल र जडीबुटी पाइन्छ । रुइसेदेखि ४५ मिनेट  उकालो पैदलयात्रापछि पुगिने करिब २६ सय मिटर उचाईमा अबस्थित भेडीओडारबाट धौलागिरि, माछापुच्छे, अन्नपूर्ण, निलगिरि, मनास्लु हिमाल, सूर्योदय, पहाडी भूगोल, गुरासे जङ्गलको अवलोकन गर्न सकिन्छ । धौलागिरि आइसफल पदमार्गको प्रवेशबिन्दुमा रहेको रुइसे गलेश्वरदेखि एक घण्टा गाडीको यात्रा गरेपछि पुगिन्छ । भगवती मैदानमा रहेको ऐतिहाँसिक कोत मन्दिरको धार्मिक महत्व छ । दुई हजार पाँच सय मिटर उचाइमा रहेको टोड्केको स्वच्छ हावापानी र शान्त वातावरणले तन/मन दुबै चङ्गा बनाउँछ । गुराँसे जङ्गलको टाकुरामा रहेको टोड्केबाट धौलागिरि, गुर्जा, मानापाथी, निलगिरि, अन्नपूर्ण, माछापुच्छे« र लमजुङ हिमालको लामो लस्कर देखिन्छ । टोड्केमा स्वर्गद्वारी मन्दिर र सिद्धथान छन् । मन्दिरभित्र रहेका शिवलिङ्ग र महाप्रभूले प्रयोग गरेका खराउ ऐतिहासिक सम्पदा हुन् । झिँ, पूर्णगाउँ र बाखेतको बाटो भएर पुगिने धौलागिरि सेञ्चुरी पदमार्गको प्रवेशद्वार टोड्केमा रिसोर्र्ट तथा होमस्टे सञ्चालन भएको छ । बागलुङ, रुकुम र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षको घुस्तुङ र बार्से ब्लकसहित १५ प्रतिशत क्षेत्रफल म्याग्दीको धवलागिरि गाउँपालिकामा पर्छ । वन्यजन्तुको सिकार, समथर भूगोल, चरन क्षेत्र, बुकी पाटन, पक्षी, वनस्पति, हिमशृङ्खलाको अवलोकनका लागि ढोरपाटन परिचित छ । म्याग्दीको धारापानी–ताकम–मुना–लमसुङ–मरेनी हुँदै एक दिन र लमसुङ–गुर्जा–गुर्जाघाट हुँदै दुई दिन पैदल हिँडेर ढोरपाटन पुगिने पदमार्गमा पर्ने नर्जा झरना थप आकर्षण हो । ढोरपाटन सिकार आरक्ष जाने र गुरिल्ला पदमार्गमा पर्ने ३४१० मिटर उचाइमा जलजलाबाट पहाडी भूगोल, सूर्योदय र प्राकृतिक सौन्दर्यको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ । नागबेली परेर बगेका म्याग्दी र कालीगण्डकीको दोभानमा रहेको बेनी बजारदेखि धवलागिरि हिमालसम्मको दृश्य देखिने खबराको लभ्लीहिल (मायालु डाँडा) बेनी बजार नजिकैको नयाँ गन्तव्य हो । त्यसैगरी बेनी नगरपालिकाको भकिम्ली र काठेखोला गाउँपालिकाको सिमानामा रहेको बेलको जस्तो आकारको रुप भएको बेलढुङ्गा पहाडी भूगोल, सूर्योदय र हिमशृङ्खलाको दृष्यावलोकनका लागि गन्तव्य बनेको छ । यिनै प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाहरुको उपयोगमा नै म्याग्दीको समृद्धि जोडएको छ । रासस

सेयर बजारमा उछाल, परिसूचक २७ अंकले बढ्दा ५ अर्ब माथिको कारोबार

काठमाडौं । साताको पहिलो दिनको सेयर बजारमा नेप्से परिसूचक २७ अंकले बढेको छ । कारोबार खुलेलगत्तै घटेर १९५१ बिन्दुसम्म झरेको परिसूचक कारोबार बन्द हुँदासम्म २७.७५ बिन्दुले बढेर २०२२.३५ बिन्दुमा पुगेको छ । जुन गत बिहीबारको तुलनामा १.३९ प्रतिशतले बढी हो । बजारमा कारोबार रकममा पनि सुधार आएको छ । एकैदिनमा ५ अर्ब १५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो कारोबारको तुलनामा २ अर्बले बढी हो भने गत ६ महिना यताकै सर्वाधिक हो । गत असार १३ गतेको बजारमा ५ अर्ब ९७ करोड र त्यसपछिको असार १७ गतेको बजारमा ५ अर्ब ८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । त्यसयता भने हालसम्म ५ अर्बको कारोबार हुन सकेको थिएन । कारोबारमा आएका २९५ वटा स्क्रीप्समध्ये सबैभन्दा बढी हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन २५ करोड १२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य पनि बढेर प्रतिकित्ता १४६ रुपैयाँ पुगेको छ । त्यस्तै, अन्य चार कम्पनीको १० करोड माथिको सेयर कारोबार भएको छ । सोनापुर मिनिरल्स एण्ड आयलको १६ करोड ६५ लाख, रिलायबल नेपाल लाइफ इन्स्योरेनसको १६ करोड १५ लाख, शिवम् सिमेन्टको १४ करोड ५ लाख र अरुण काबेली पावरको १२ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा १८५ कम्पनीको सेयर मूल्य बढेको छ भने ५२ वटा कम्पनीको सेयर मूल्य घटेको छ । मूल्य बढ्नेमा पनि ११ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको छ । जसमा बोटलर्स नेपाल (बालाजु), रिडि पावर कम्पनी, शिवश्री हाइड्रोपावर, बलेफी हाइड्रोपावर, दोर्दी खोला जलविद्युत कम्पनी, विध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, सगरमाथा जलविद्युत कम्पनी, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी, रावा इनर्जी डेभलपमेन्ट, थ्री स्टार हाइड्रोपावर र हाथवे इन्भेपटमेन्ट नेपाल रहेका छन् । जसको सेयर मूल्य १०/१० प्रतिशतले बढेको छ । उछाल आएको बजारमा पनि बैंकिङ्ग, म्यूचुअल फण्ड र ट्रेडिङ्ग समूह ओरालो लागेका छन् भने बाँकी समूह उकालो लागेका छन् ।

कामना सेवा विकास बैंकले पनि सरकारलाई बुझायो कर

काठमाडौं । कामना सेवा विकास बैंकले पनि सरकारलाई करबापत २ करोड ६२ लाख रुपैयाँ बुझाएको छ । चालु आर्थिक वर्षको बजेट मार्फत सेयर प्रिमियम र पर्चेज गेनमा कर लाग्ने सरकारको व्यवस्थाअनुसार बैंकले २ करोड ६२ लाख ६६ हजार ५ सय ८६ रुपैयाँ ठूला करदाता कार्यालयमा आयकर स्वरुप बुझाएको हो । हालै सर्वोच्च अदालतको निर्णयका आधारमा बैंकले हकप्रद सेयरहरु बोलकबोल प्रकृया मार्फत बिक्री गर्दा प्राप्त भएको प्रिमियम रकम र बैंक मर्जर हुँदाको स्वाप अनुपातको भिन्नताको कारण कामना सेवाको आयको आयकार दायित्व भुक्तानी गरेको संस्थाले जानकारी गराएको छ ।

एनआईसी एशिया बैंक र एआई अनसरी एक्सचेन्जबीच रेमिट्यान्स सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक र एआई अनसरी एक्सचेन्जबीच रेमिट्यान्स सम्झौता भएको छ । दुवै कम्पनीले संयुक्त अरब इमिरेट्स (युएई) मा रहँदै आएका नेपालीहरुलाई रेमिट्यान्स पठाउन सहज बनाउन व्यवसायिक समझैता पत्रमा हस्ताक्षर गरेको हो । युएईमा रहेको उक्त कम्पनीका २५० भन्दा बढी शाखा कार्यालयहरु तथा डिजिटल च्यानल (वेबसाइट तथा मोबाइल एप) बाट नेपालमा रकम पठाउन सहज हुने विश्वासले साझेदारी गरेको दुवै कम्पनीले बताएको छ । अब एआई अनसरी एक्सचेन्जबाट यस बैंकका साथै नेपालका जुनसुकै बैंकका खाता तथा वालेटमा तुरुन्त रकम पठाउन सकिनेछ । यस्तै, एआई अनसरी एक्सचेन्ज कम्पनीबाट पठाइएको रकम एन आई सी एशिया बैंकका ३६० शाखा कार्यालय, १११ विस्तारित काउन्टर, ५५ वटा शाखा रहित बैंकिङ्ग इकाई र १६ हजार भन्दा बढी रेमिटेन्स एजेन्टहरूमार्फत सहजै भुक्तानी लिन सकिनेछ । साथै, यस बैंकको मोबाइल बैंकिङ्ग एप (एन आई सी एशिया मोबाइल बैंक) भित्र रहेको रेमिट्यान्स आइकनमा ट्याप गरेर रिसिभ रेमिट भित्र आफुलाई प्राप्त रकम र युनिक पिन विवरण राखेपश्चात् रकम खातामा गई रेमिटेन्स रकम सहजै बुझ्न सकिने व्यवस्था समेत रहेको बैंकले जनाएको छ । एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६५६ एटिएम, १११ वटा विस्तारित काउन्टर एवं ५५ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ । देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल २३ अर्ब ५८ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा अर्ब ६६ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाउन बैंक सफल भएको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशत भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।

सलकपुरमा ६ करोडको सुन्तला बिक्री, किसानका बारीमै पुग्छन् व्यापारी

इलाम । इलामको रोङ गाउँपालिका-६, सलकपुरका किसानले सुन्तला बिक्रीबाट मनग्य आम्दानी लिने गरेका छन् । यहाँ उत्पादित सुन्तला बोटबाटै बिक्री हुन थालेपछि किसान व्यावसायिक खेतीतर्फ आकर्षित भएका हुन् । यहाँ उत्पादित सुन्तला खरिदका लागि भारतीय र झापाका व्यापारी किसानका बारीमै पुग्ने गरेका छन् । स्थानीय सुन्तला किसान खगेन्द्र राईले अलैँची मासेर १५ रोपनी जमिनमा व्यावसायिकरूपमा सुन्तला खेती सुरु गरेको बताउनुभयो । करिब १० प्रतिशत क्षेत्रको सुन्तलाले यस वर्षदेखि आम्दानी दिन सुरु गरको उनको भनाइ थियो । ‘राम्रो उत्पादन गर्न सक्यो भने बजारको समस्या छैन,’ उनले भने, ‘स्थानीय वडाले सुन्तला खेतीलाई प्रोत्साहन गर्न प्राविधिक सहयोग निःशुल्क दिने गरेको छ ।’ वडा नम्बर ६ मा मात्र वार्षिक ८ सय ८० मेट्रिक टन सुन्तला उत्पादन हुने गरेको वडा कार्यालयले जनाएको छ । वडाको सलकपुर, कुवापानी र जौबारीलगायत क्षेत्रमा प्रतिहेक्टर १० दशमलव ३ मेट्रिक टनका दरले सुन्तला उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ । विगतमा विभिन्‍न रोगका कारण सुन्तला मर्न थालेपछि किसान निराश बनेका थिए । ज्ञान केन्द्रले किसानलाई सुन्तलामा लाग्ने रोग नियन्त्रण, जैविक मल बनाउने र सुन्तला हुर्काउने प्रविधिकाबारेमा तालिम सञ्‍चालन गरेसँगै उनीहरूमा उत्साह थपिएको केन्द्रका सूचना अधिकारी रुजन खड्काले बताए । सो वडाको करिब ९० हेक्टर जमिनमा सुन्तला खेती हुने गरेको उनले जानकारी दिए । खड्काका अनुसार केन्द्रले सुन्तला सुदृढीकरण कार्यक्रमअन्तर्गत ६ जना किसानलाई गत वर्ष १ लाख रुपैयाँका दरले अनुदानसमेत प्रदान गरेको थियो । चालु आर्थिक वर्षमा किसानले उक्त कार्यक्रम माग गर्दै कार्यालयमा निवेदन दर्ता गराएका छन् । केन्द्रका सूचना अधिकारी खड्काका अनुसार इलामका विभिन्‍न स्थानमा गरी ३ सय ६० हेक्टर बढी जमिनमा सुन्तलाको व्यावसायिक खेती हुने गरेको छ । वडा नम्बर ६ का वडाध्यक्ष सत्यम राईले विगतमा रोगका कारण धेरै सुन्तला खेती नष्ट भएपछि हाल नयाँ खेती विस्तार गर्ने काम भइरहेको जानकारी दिए । उनले सुरुमा वडाको सलकपुरमा हुँदै आएको सुन्तला खेती कुवापानी, जौबारी क्षेत्रमा विस्तार हुन थालेको बताए । राईले सलकपुरको स्वादिलो सुन्तला बोटमै टिपेर खानका लागि इलाम, झापा, मोरङ, सुनसरीबाट आन्तरिक पर्यटक घरबास (होमस्टे)मा बास बस्न तथा यहाँका प्राकृतिक सम्पदाको अवलोकन गर्न आउने गरेका बताए । उनका अनुसार यहाँ १४ वटा होमस्टे सञ्चालनमा छन् । होमस्टेमा बस्न आउने पाहुनालाई प्रतिकेजी ८० देखि ९० रुपैयाँका दरले बेच्ने गरिएको उनको भनाइ थियो । विसं २००४ मा दार्जिलिङबाट आएर बसोबास गरेका गौरीलाल लामाले यहाँ सुन्तला खेतीको सुरुआत गरेको वडाध्यक्ष राईले बताए । सुरुमा दार्जिलिङबाट बिरुवा ल्याएर खेती सुरु गरे पनि हाल पाल्पाबाट उन्‍नत जातका सुन्तलाको बिरुवा ल्याएर व्यावसायिक रुपमा खेती थालिएको उनको भनाइ थियो । सुन्तला खेतीबाट वार्षिक ५ करोड रुपैयाँदेखि ६ करोड रुपैयाँसम्म वडामा रकम भित्रिने गरेको वडाध्यक्ष राईले जानकारी दिए । यहाँ उत्पादित सुन्तला बिक्रीका लागि बजार खोज्नुपर्ने बाध्यता नभएको उनले बताए । ‘भारत तथा झापाबाट व्यापारीले सुन्तला नपाक्दै बोटबाटै खरिद गर्छन्,’ राईले भने, ‘किसानले उत्पादनमा मात्र ध्यान दिए पुग्छ, बजारको समस्या छैन ।’ उनका अनुसार यहाँका हरेक सुन्तला किसानले वर्षमा ५ लाखदेखि १५ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । उनले चालु आवमा वडाले सुन्तला किसानको समूह बनाएर अध्ययन, अनुसन्धान पनि हुने गरी नर्सरी खेती सञ्‍चालन गर्ने तयारी गरिरहेको जानकारी दिए । सुन्तला, अलैँची, अकबरे, अम्लिसो, महलगायत कृषिजन्य सामग्री उत्पादनले प्रसिद्ध सलकपुरमा विभिन्‍न ठाउँबाट कृषि तथा बोटबिरुवासम्बन्धी अध्ययनका लागि विद्यार्थीको समूह आउने गरेका वडाध्यक्ष राईले जानकारी दिए । उनका अनुसार यहाँ उत्पादित सुन्तला भारतको कोलकातामा हुने सुन्तला महोत्सवमासमेत प्रत्येक वर्ष लैजाने गरिन्छ । झापाको काँकडभिट्टा, धुलाबारी, बिर्तामोड, दमक, भद्रपुर मात्र नभई हरेक गाउँगाउँमा व्यापारीले ट्रकमै राखेर ‘आयो है सलकपुरको सन्तुला’ भन्दै घुमाएर बेच्न गरेका स्थानीय बताउँछन् । रासस