साउदी अरबबाट रेमिट्यान्स पठाउने तामाङले पाए सिटी एक्सप्रेसको मेगा बम्पर उपहार
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘विदेशबाट सिटी पठाऔं, पठाको भन्दा १० गुणा बढी पाऔं’ योजना अन्तर्गत मेगा बम्पर उपहार ‘आफुले पठाएको भन्दा १० गुणा बढी पाउने’ बिजेताको नाम घोषणा गरेको छ । विजेताको नाम हास्य कलाकार साथै सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर जितु नेपाल र कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डनको बिशेष उपस्थितीमा विद्युतीय प्रणालीद्वारा छनोट भएको हो । सोअनुसार साउदी अरबबाट रेमिट्यान्स पठाएका राजु तामाङ विजेता भएका छन् । उनले आफुले पठाएको रकम ५३ हजार ७५ रुपैयाँको १० गुणा गरेर ५ लाख ३० हजार ७ सय ५० रुपैयाँ जित्न सफल भएका छन् । सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत असोज १५ देखी मङ्सिर १५ गतेसम्म चल्ने गरी दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै लगातार ६१ दिनसम्म चल्ने यो उपहार योजना घोषणा गरेको थियो । सोही योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई जनही एक लाख रुपैयाँ, हरेक हप्ता ५ जनालाई जनही २५ हजार रुपैयाँ साथै ६१ दिन लगातार हरेक दिन १०० जना विजेताहरुलाई जनही ५०० रुपैयाँको वालेट टप् अप् र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफुले पठाएको रकमको १० गुणा बढी रकम पाउने योजनामा रहेको थियो । जसअन्तर्गत ६१०० जनाले दैनिक उपहार (रु ५०० को वालेट टप् अप), ४५ जनाले साप्ताहिक उपहार जनही २५ हजार रुपैयाँ र २ जनाले मासिक उपहार जनही एक लाख रुपैयाँ जित्न सफल भईसकेका छन् । सिटी एक्सप्रेस मनी ट्रान्सफरले विगत १७ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ ।
आवश्यकताअनुसार मन्त्रिमण्डल फेरबदल हुन सक्छ : मन्त्री शर्मा
काठमाडौं । सञ्चार तथा सूचनाप्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले आवश्यकताअनुसार मन्त्रिमण्डल परिवर्तन गर्न सकिने बताएकी छिन् । आईतबार मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै उनले यस्तो बताएकी हुन् । उनले अहिले सत्ता गठबन्धन र सरकारमा मन्त्री फेरबदलको कुनै चर्चा नरहेको पनि स्पष्ट पारिन् । सरकार आफ्नो उद्देश्यमा अविचलित रहेको बताउँदै उनले सरकारले लय नगुमाएको र सरकारको प्राथमिकता समृद्धि, सुशासन कायम गर्ने, सेवा प्रवाहलाई चुस्त, दुरुस्त बनाउनु रहेको बताइन् । ‘सरकारले लय गुमायो की भन्ने चिन्ता छ, हामीले लय गुमाएका छैनौँ । सरकारको प्राथमिकता भनेको समृद्धिमा पुग्ने, सुशासन कायम गर्ने, सेवा प्रवाहलाई चुस्त, दुरुस्त बनाउने हो । सरकार आफ्नो नीति र उद्देश्यमा विचलित छैन । सरकार आफ्नो उद्देश्यमा अविचलित छ । मन्त्रीहरुको जिम्मेवारी हेरफेरको कुराहरु छ, यो विषयमा कुनै छलफल भएको छैन, आवश्यकताअनुसार परिवर्तन यस्तो हुन सक्दैन भन्न त सकिँदैन तर अहिलेको सन्दर्भमा त्यस्तो छलफल भएको छैन । अहिले मन्त्रीहरु केही परिवर्तन हुन्छ की भन्नेकुरा छैन । यो हाम्रो गठबन्धन र राजनीतिक दलभित्र भएको छैन, यो सम्भावना तत्काल छैन ।’ उनले भनिन् । प्रवक्ता शर्माले सरकार आफ्नो नीति र उद्देश्यमा विचलित नरहेको समेत स्पष्ट पारेकी छिन् ।
मन्त्रिपरिषद्का १६ निर्णय : विद्युत् खपत बढाउनेदेखि कर्जा सूचना व्यवस्था फिर्ता गर्नेसम्म
काठमाडौं । सरकारले विद्युत खपत वृद्धि तथा खनिज इन्धन न्युनिकरण सम्बन्धी कार्ययोजना २०८० स्वीकृत गरेको छ । मंसिर २८ गते बसेको मन्त्रिपरिषद्का बैठक सार्वजनिक गर्दै सरकारका प्रवक्ता रेखा शर्माले यस्तो बताएकी हुन् । उनकाअनुसार सरकारले क्यानेडियन स्वयंसेवक परिचालनसम्बन्धी समझदारी पत्र स्वीकृत गर्ने, फिनल्याण्डमा होलसिन्कीमा आयोजना हुने इन्टु साइटुको २२ औं वार्षिक बैठक तथा तालिममा सहभागी हुन उपमहालेखापरीक्षक पदमराज पौडेललाई उपस्थित हुन स्वीकृत दिने, हुन्सा खोला जलविद्युत आयोजनाको लागि ताप्लेजुङ जिल्लाको फत्ताङलुङ गाउँपालिकास्थित करिव ३२९ रोपनी जग्गा प्राप्ति गर्न स्वीकृति दिने, पूर्व-पश्चिम विद्युतीय ल्याण्डमार्गको निजगढ-बर्दीवास खण्डमा पर्ने घर, टहरा तथा जग्गाहरुको मुआब्जा राहतस्वरुप क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति दिने, नेपाली सेनाका उपरथि अशोकराज सिग्देललाई रथी दर्जामा बढुवा गरी पदस्थापन गर्ने, नेपाली सेनाका सहायक रथी सन्तोषवल्लभ पौडेललाई उपरथि दर्जामा बढुवा गरी पदस्थापन गर्ने निर्णय गरेको छ । त्यस्तै सरकारले नेपाल र कतार सरकारबीच सांस्कृतिक क्षेत्रमा एकआपसमा सहयोग आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्न स्वीकृति दिने, दुनु नगरपालिका दैलेख, फलेवास नगरपालिका पर्वत, गलकोट नगरपालिका वागलुङ, जलजला गाउँपालिका पर्वत, कालिमाटी गाउँपालिका सल्यान, पाँचखपन नगरपालिका संखुवासभा, छत्रदेव गाउँपालिका अर्चखाँची, अहर्नमा गाउँपालिका सिरहा, गल्छी गाउँपालिका धादिङ, गलबजार नगरपालिका सिरहा, मध्यपुर थिमी नगरपालिका भक्तपुर, बर्दिवास नगरपालिका महोत्तरी, हैरनगर गाउँपालिका सुनसरी र राजपुर नगरपालिका रौतहटलाई स्थानीय तहको परियोजनाका लागि जग्गा प्राप्ति गर्न स्वीकृत दिने निर्णय पनि गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेकी शर्माले सरकारले नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन राष्ट्रिय नीति स्वीकृत गर्ने, वन्यजन्तु बासस्थान व्यवस्थापन कार्यविधि, २०८० स्वीकृत गर्ने, हात हतियार खरखजाना नियमावली १२ औं संशोधन, २०८० स्वीकृत गर्ने, कर्जा सूचना सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सम्बन्धित मन्त्रालयमा फिर्ता गर्ने, राष्ट्रिय वृहत जलधार व्यवस्थापन रणनीति स्वीकृत गर्ने निर्णय गरेको बताइन् । प्रवक्ता शर्माले सरकारले कर्जा सूचना सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सम्बन्धित मन्त्रालयमा फिर्ता गर्ने, राष्ट्रिय वृहत जलधार व्यवस्थापन रणनीति स्वीकृत गर्ने, नेपाल परराष्ट्र सेवा समूहीकरणतर्फ राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त एक पदमा सहसचिव सेवा लम्साललाई बढुवा गर्ने, राजपत्राङ्कित विशिष्ट श्रेणीका श्री सुरेश आचार्यसमेतका सात जना सचिवहरुको सरुवा गर्ने निर्णय गरेको पनि बताइन् ।
बढ्यो घरजग्गा व्यवसाय, मंसिरमा वर्षकै धेरै कारोबार
काठमाडौं । मंसिर महिनामा घरजग्गाको कारोबार अघिल्लो महिनाको तुलनामा झण्डै दोब्बरले वृद्धि भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार लिखत पारित, नामसारी संख्या र राजस्व आम्दानीमा कात्तिक महिनाको तुलनामा वृद्धि भएको हो । विभागका अनुसार मंसिर महिनामा ४१ हजार आठ सय ५१ वटा घरजग्गाको लिखत पारित भएको छ, जुन संख्या अघिल्लो महिनामा २६ हजार ४६ मात्रै थियो । त्यस्तै, मंसिर महिनामा तीनहजार दुई सय २४ वटा घरजग्गाको नामसारी भएको थियो, जुन संंख्या अघिल्लो महिनामा एक हजार नौ सय २३ वटा रहेको थियो । घरजग्गाको कारोबार संख्याम वृद्धि हुँदा सरकारले सो क्षेत्रबाट राजस्व आम्दानी पनि बढाएको छ । मंसिर महिनामा सरकारले जग्गाको कारोबारबाट ९६ करोड ४५ लाख चार हजार आठ सय ९७ रुपैयाँ पुँजीगत लाभकर वापत आम्दानी गरेको छ । कात्तिक महिनामा भने सरकारले घर जग्गाको कारोबारबाट पुँजीगत लाभकार वापत ७७ करोड नौ लाख १६ हजार २७ रुपैयाँ मात्रै आम्दानी गरेको विभागको तथ्यांकमा उल्लेख छ । चालु आर्थिक वर्षको पाँच महिनामा सबैभन्दा धेरै घरजग्गाको कारोबार मंसिर महिनामा भएको विभागको तथ्यांकले देखाएको छ । चालु आर्थिक वर्षको साउन महिनामा लिखत पारित ३९ हजार दुई सय ६३ र नामसारी तीन हजार एक सय ५९, भदौ महिनामा लिखत पारित ३५ हजार छ सय ८६ र नामसारी दुई हजार आठ सय ४३ वटा भएको थियो भने असोज महिनामा ३९ हजार आठ सय ८१ लिखत पारित र तीन हजार दुई सय ३७ वटा नामसारी भएको थियो ।
आयल निगमको निमित्त कार्यकारीमा नागेन्द्र शाह
काठमाडौं । नेपाल आयल कर्पोरेसनको निमित्त प्रबन्ध निर्देशकमा नागेन्द्र शाह नियुक्त भएका छन् । कर्पोरेसनका प्रमुख उमेश थानीले राजीनामा दिएपछि अर्को व्यवस्था नभएसम्मको लागि शाहले निमित्त कार्यकारीको जिम्मेवारी पाएका हुन् । निगमलाई मन्त्रालयले सिनियर कर्मचारीको सूची मागेको थियो । सोअनुसार निगमले शुक्रवार नागेन्द्र शाह, वीरेन्द्र गोइत र दिपक बरालको नाम पठाएको थियो । निगमको ‘सिनियरिटी’ मा शाहपछि गोइत र बरालको नाम पठाइएको जानकारी गराइएको छ ।
१५ हजार युवालाई सफ्टवेयर डेभलपमेन्ट तालिम दिँदै महानगर, ५ हजारलाई स्वरोजगार बनाउने
काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि सफ्टवेयर डेभलपमेन्ट तालिम सुरु गरेको छ । चालु आर्थिक वर्षबाट कार्यान्वयनमा आएको ‘रोजगारी र आय वृद्धि काठमाडौंको समृद्धि’ कार्यक्रमअन्तर्गत महानगरले ३४ विधामा १५ हजार युवालाई सीपमूलक तालिम दिने भएको छ । तीमध्ये ५ हजार व्यक्तिलाई रोजगार तथा स्वरोजगार बनाउने लक्ष्यसहित तालिम कार्यक्रम थालिएको महानगरले बताएको हो । राष्ट्रिय सभा गृहमा तालिम शुभारम्भ गर्दै सामाजिक समितिका संयोजक रामकुमार के. सी. ले भने, ‘काठमाडौँ कोही पनि युवाले बेरोजगार बस्नु नपरोस् भन्ने हाम्रो उद्देश्य हो । हामीले प्रदान गरेको निःशुल्क तालिम रोजगारमूलक तथा स्वरोजगारमूलक हो । हामी युवालाई आफैँ उद्यम गर्न सक्षम बनाउँछौँ । रोजगार क्षेत्रमा जान चाहनेलाई योग्य बनाउँछौं ।’ तालिमबाट व्यक्तिमा भएको सिप रोजगारका लागि योग्यता मापन गर्न सक्ने क्षमता हुनेछ । कार्यक्रममा समितिका सदस्य महेश नेपालीले भने, ‘क्षमता भएका तर योग्यताका लागि पेश गर्नु पर्ने प्रमाण पत्र नभएका युवालाई तालिमबाट प्रतिस्पर्धी र योग्य जनशक्ति बनाउँछौं । यसरी सिकेको सिप स्वरोजगारबाट आयमा रुपान्तरण गर्न सकिनेछ ।’ त्यस क्रममा सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले महानगर गौरव र स्वर्णिम योजनाबाट अपेक्षा गरिएको उपलब्धीका विषयमा चर्चा गर्दै, तालिमबाट बजारका लागि प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने लक्ष्य पूरा गराउन कार्यक्रम थालनी भएको उल्लेख गरे । पहिलो ब्याचको तालिमको नतिजा अन्य तालिममा पनि प्रतिबिम्बित हुने भएकोले यसलाई सफल बनाउन प्रशिक्षक र प्रशिक्षार्थी दुवैको समान भूमिका हुने उनको भनाइ थियो । प्रशिक्षार्थीको सक्रियताले नतिजा मापन हुने उल्लेख गर्दै कार्यक्रममा सामाजिक विकास विभागका प्रमुख बिमला कोइरालाले भनिन्, ‘महानगरपालिकाले तालिम दियो । कस्तो हुँदो रहेछ हेरौँ भनेर तालिम लिने होइन । लिएको तालिमबाट म केही गर्छु भन्ने सोच राख्नुपर्छ । यसकारण तपाईँहरुको इच्छाशक्तिलाई सक्रिय बनाउनुपर्छ ।’ २ महिने तालिमका लागि २४४ जनाले आवेदन दिएका थिए । उनीहरुमध्ये सूचकका आधारमा छानिएका ४० जनालाई २ सिफ्टमा विभाजन गरेर तालिम आयोजना गरिएको फोकल पर्सन शान्ता पहाडीले जानकारी दिइन् । सफ्टवेयस विकास तालिम पाठ्यक्रमको उद्देश्य सहभागीलाई सफ्टवेयर विकास सम्बन्धी एकीकृत ज्ञान र सिप प्रदान गर्नु हो । १२५ घण्टे यो तालिममा ७५ घण्टा अन द जब तालिममा आधारित हुन्छ । सिकाइको २० प्रतिशत सिद्धान्त र ८० प्रतिशत प्रयोगात्मक कक्षा हुनेछ । कम्प्युटर बिज्ञान, सूचना प्रविधि, इञ्जिनियरिङ्जस्ता विषयमा भर्खर स्नातक तह उत्तीर्ण गरेका, अन्य गैर प्राविधिक क्षेत्रबाट प्राविधिक क्षेत्रमा आउन तीब्र इच्छा भएका कोडिङ् तथा प्रविधिको विकासमा लाग्न जोश भएका व्यक्तिहरुलाई तालिममा सहभागी गराइएको छ । मोडलिङ्, व्रेम स्ट्रमिङ्, दृश्य संकेतको प्रयोग, व्यक्तिगत कार्यशाला तथा सामुहिक कार्यशाला, प्रदर्शन तालिमका विधि हुन् । प्रोग्रामिङ्को आधारभूत ज्ञान, कम्प्युटर साक्षरता, तालिम लिएर केही गर्न सक्छु भन्ने प्रतिवद्धता, अंग्रेजी भाषाको ज्ञान भएका, इन्टरनेट र व्यक्तिगत कम्प्युटर वा ल्यापटपमा पहुँच भएका आवेदकलाई तालिममा छनोट गरिएको हो । यसरी तालिम पाएका ९० प्रतिशत सहभागी रोजगारी क्षेत्रमा गएको वा स्वरोजगार भएको, रोजगारमा गएकाहरुको कार्य सम्पादनबाट रोजगारदाता सन्तुष्ट भएको, अहिलेभन्दा ५० प्रतिशत बढी आम्दानी गर्न थालेको तालिम सफलताको सूचकका रुपमा राखिएको छ । सिपमूलक तालिमका ३४ बिधामध्ये १० विधामा सरकारी तालिम प्रदायक कार्यालयसँगको सहकार्य हुनेछ । यसमा इलेक्ट्रिसियन, प्लम्बरिङ्, कम्प्युटर हार्डवेयर, मोटरसाइकल मर्मत तालिम, हलुका सवारी साधन मर्मत तालिम प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीइभीटी) सँगको सहकार्यमा हुनेछ । यस्तै फास्टफुड, चाइनिज, इन्डियन कुकिङ्, बारिस्ता, बार टेन्डिङ् वेटर वेट्रेस र पर्यटक पथ प्रदर्शक (टुरिष्ट गाइड) तालिम नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानसँगको सहकार्यमा हुनेछ । तालिमबाट उत्पादन भएका जनशक्तिलाई अवसर प्रदान गर्ने विषयमा यस अघि उद्योग तथा वाणिज्य क्षेत्र, विकास साझेदारसहित क्षेत्रगत छलफल भइसकेको छ । यसरी तालिम दिएका युवालाई अर्को स्वर्णिम योजना ‘श्रम वैङ्क’ मा आवद्ध गराएर रोजगारदातालाई आवश्यक परेका जनशक्ति प्राप्त गर्न सक्ने व्यवस्था मिलाइनेछ । बेरोजगार, युवा (महिला, पुरुष), रोजगारी गुमाएर बसेकाहरु, विदेशवाट सिप सिकेर तथा काम गरेर फर्केका (अहिले काम खोज्दै गरेका), सिप नजानेका, सिप जानेका तर स्तरोन्नति गर्नुपर्ने अवस्थामा रहेका व्यक्ति तालिमका लक्षित वर्ग हुन् । तालिमका लागि सार्वजनिक सूचनामार्फत आव्हान गरिएको थियो । तालिम लिन इच्छुकले कुनै न कुनै विधामा अवसर प्राप्त गर्न सकनु भनेर फाराम भर्दा आफूलाई रुचि लागेको क्षेत्रमध्ये पहिलो रुचि भएको विधालाई १ त्यसपछिा दोस्रो रुचिको क्षेत्रलाई २ गर्दै क्रमशः ३, ४ र ५ नम्बर दिन लगाइएको छ । यसमा आफूले राजेका ५ विधामध्ये कुनै न कुनै विधामा तालिम प्राप्त गर्न सकिन्छ ।
उखु किसानको ५२ करोड बक्यौता तत्काल भुक्तानी दिने सरकारको निर्णय
काठमाडौं । सरकारले उखु किसानहरूलाई भुक्तानी दिन बाँकी ५२ करोड रूपैयाँ तत्काल भुक्तानी दिने निर्णय गरेको छ। आइतबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा बसेको बैठकले उखु किसानहरूको बाँकी भुक्तानी तत्काल उपलब्ध गराउने निर्णय गरेको हो । बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महत, कृषिमन्त्री डा. बेदुराम भुसाल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, मुख्यसचिव डा. बैकुण्ठ अर्याल, अर्थ मन्त्रालय, कृषि मन्त्रालय र उद्योग मन्त्रालयका सचिवहरू लगायत उपस्थित थिए । बैठकमा प्रधानमन्त्री प्रचण्डले कृषि क्षेत्र र किसानहरूलाई प्राथमिकतामा राखेर उत्पादनमुखी नीति, योजना र कार्यक्रम बनाउन एवं कार्यान्वयनमा तत्परता देखाउन मन्त्री र सचिवहरूलाई निर्देशन समेत गरेका छन् ।