विकासन्युज

बीवाईडी डल्फिनलाई ‘बेस्ट बाई कार अफ युरोप–२०२४’ अवार्ड

काठमाडौं । बीवाईडीको पछिल्लो सफल मोडल डल्फिन युरोपकै प्रतिष्ठित अवार्ड ‘बेस्ट बाई कार अफ युरोप–२०२४’ अवार्ड जित्न सफल भएको छ । यो अवार्ड युरोपभर बिक्री हुने कारहरु मध्ये उत्कृष्टलाई ‘अटोबेष्ट’ले प्रदान गर्दै आएको छ । उक्त प्रतिस्पर्धामा डल्फिनले अवार्ड हात पर्दा ठूला कार निर्माताका बलिया प्रोडक्टलाई उछिन्न सफल भएको हो । उक्त प्रतिस्पर्धामा दोस्रो स्थानमा हुन्डाई कोना र तेस्रो स्थानमा जिपको एभेन्जर परेका थिए । यसका लागि अष्ट्रियाको टिसडार्फ सहरमा रहेको सर्किटमा सबै प्रतिस्पर्धीलाई उतारिएको थियो । त्यसको लागि युरोपभरका ३१ देशबाट आएका अटोबेष्ट पत्रकारहरुले मतदान गरेर डल्फिनलाई अवार्ड दिएका हुन् । उनीहरुले डल्फिनलाई फिचर लोडेड क्याविन, आकर्षक डिजाइन, सुरक्षामा अब्बल र गुणस्तरिय प्रविधिको प्रयोग भएको पर्फेक्ट कारको संख्या दिएका थिए । त्यसमा सुरक्षित र सफल ब्लेड ब्याट्रीको प्रयोगले सुरक्षामा नयाँ मानक स्थापित गरेको मानिएको छ । त्यसैले डल्फिनले २०.०५७ अंकसहित पहिलो स्थान सुरक्षित गर्न सफल भयो । अटोबेष्टका जुरीले पहिलो पटक कुनै पनि बीवाईडीको मोडललाई ‘बेस्ट बार्ई कार अफ युरोप २०२४ को अवार्ड दिएको हो । अवार्ड दिएपछि अटोवेष्टका अध्यक्ष भान भार्डीले भने, ‘बीवाईडी डल्फिनले बजारमा आएदेखि नै उत्कृष्ट पर्फमेन्स दिएको छ । हामीले दशककै सन्तुलित अटोवेष्ट प्रतिस्पर्धा गराएका छौं । यसमा डल्फिनले एक विद्युतीय साधनको रुपमा योग्य भएर शीर्ष उपाधि जित्न सफल भएको छ ।’ मूल्य र गुणस्तर जुरीहरुले डल्फिनको प्रशंसा गर्ने क्रममा यसको साइज, आरामदायीता र ड्राइभिङ प्लेजरलाई मुख्य आधार बनाएका थिए । सानो साइजमा धेरै स्पेश पाउन सकिने भएको कारण यसले संसारभर जो कोहीलाई लोभ्याइरहेको छ । अर्को यसको मूल्य पनि विश्वभर नै सबैलाई आश्चर्य चकित बनाउने खालको छ । नेपालमा पनि केबल ३९ लाख ८० हजारमा डल्फिन खरिद गर्न पाइन्छ । जुन सेग्मेन्टमा डल्फिन उपलब्ध छ, त्यो सेग्मेन्टमा अन्य प्रतिस्पर्धी नै छैनन् भन्न सकिन्छ । यसका साथै, बीवाईडीको ई–प्लेटफर्म ३.० को जुरीहरुले प्रशंसा गरेका थिए । सुरक्षित र फराकिलो युरो एनक्यापले गरेको क्र्यास टेष्टमा ५ स्टार रेटिङ पाउन सफल डल्फिन ३.० ई–प्लेटफर्म र ड्रागन फेस डिजाइनको कारण क्याविनमा प्रसस्त स्थान भएको कार हो । ह्याचव्याक सेग्मेन्टमा उपलब्ध डल्फिनको लम्बाई ४२९० एमएम, चौडाई छेउमा ऐना फोल्ड गरेको ठाउँसम्म २०१२ एमएम छ । डल्फिनमा २७०० एमएम लामो ह्वीलवेस दिइएको छ । यसमा ३४५ लिटर क्षमताको बुट स्पेश दिइएको छ । अन्तर्राष्ट्रिय स्पेकमा ६०.४ किलोवाट आवर क्षमताको ब्लेड ब्याट्री दिइएको छ । नेपालमा भने ५१ किलोवाट आवरको ब्याट्रीमा डल्फिन उपलब्ध छ । ब्लेड ब्याट्री बीवाईडीको आफ्नै उत्पादन ब्लेड ब्याट्रीबाट सुसज्जित भएकाले यसको टिकाउपन, सुरक्षा र पर्फमेन्स सबै उत्कृष्ट रहेको छ । यो ब्याट्री कोबाल्ट, म्यानेजेज र निकेल रहित छ । यसमा लिथियम आइरन फस्फेट (एलएफपी) को प्रयोग गरिएको छ । अटोबेष्ट अवार्ड हात पारेपछि बीवाईडी युरोपका प्रबन्ध निर्देशक मिचेल साउ भन्छन्, ‘यो पुरस्कार हाम्रा लागि निकै गर्वको कुरा हो । यही पेसामा रहेका जुरीको निर्णयबाट पाएको अवार्डले नयाँ गाडी किन्न चाहने ग्राहकको ध्यान तान्नेमा म विश्वस्त छु । यसले हामीलाई नयाँ प्रोडक्ट अझ उत्कृष्ट र कम मूल्यको ल्याउन प्रेरित गरेको छ ।’ अटोबेष्टका प्रमुख भान भार्डीले बीवाईडीका उत्पादन परिष्कृत हुँदै गएको प्रमाण यो अवार्ड भएको प्रतिक्रिया दिए । जुरीले निर्णय दिइसकेपनि यसको आधिकारिक घोषणा लक्जम्बर्गमा आयोजना हुन गइरहेको २३औं अटोवेष्ट गालामा गरिने छ ।

नेपाल ल्यूव आयलको ३० प्रतिशत लाभांश घोषणा, डाक्यो ३२औं साधारणसभा

काठमाडौं । नेपाल ल्यूव आयलले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको पुस १ गते बसेको बैठकले गत वर्षको नाफाबाट ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कूल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले उक्त लाभांश पारित गर्न पुस २५ गते काठमाडौंमा बिहान साढे ११ बजे ३२औं वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । कम्पनीको सभाले बोनस सेयर वितरण स्वीकृतपश्चात् पुँजी वृद्धि र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधनको प्रस्ताव पारित गर्नेछ । कम्पनीले लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि मंसिर पुस १० गतेदेखि पुस २४ गतेसम्म सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा पुस ९ गतेसम्म कायम सेयरधनीहरुले मात्रै साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् ।

एनआईसी एशिया लघुवित्तको स्वतन्त्र सञ्चालकमा सरिता गौतम नियुक्त

काठमाडौं । एनआईसी एशिया लघुवित्तको स्वतन्त्र सञ्चालकमा सरिता गौतम नियुक्त भएकी छिन् । पौष १ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गौतमलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त स्वतन्त्र सञ्चालक सरिता गौतमले आइतबार प्रचलित कानून तथा नियमानुसार संस्थाका अध्यक्ष सन्तोष कुमार राठी समक्ष शपथ ग्रहण गरी पद बहाल गरेकी छन् । करिब १० वर्षको विभिन्न क्षेत्रहरुमा कार्यानुभव रहेको सरिता गौतम नेपाल धितोपत्र बोर्डको विभिन्न विभागमा अधिकृत तहमा समेत कार्यरत थिइन् । यस संस्थाका प्रमुख कार्यकारी अधिकृत, लक्ष्मण चालिसेले उच्चतम अनुभव प्राप्त व्यक्तिलाई १९५औँ सञ्चालक समितिको बैठकले संस्थाको स्वतन्त्र सञ्चालकमा नियुक्त गरेकोमा खुशी प्रकट गर्दै स्वागत गरेका थिए । साथै, नवनियुक्त स्वतन्त्र सञ्चालकको कार्य अनुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्त वित्तीय संस्थाहरु माझ अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाको रुपमा स्थापित गराउन अझै थप सहयोग पुग्ने संस्थाको विश्वास रहेको समेत बताए ।

रू रू जलविद्युतको १०.५२ प्रतिशत लाभांश घोषणा, पारित गर्न डाक्यो १८औँ साधारणसभा

काठमाडौं । रू रू जलविद्युत परियोजनाले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको पुस १ गते बसेको बैठकले गत वर्षको नाफाबाट १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पूँजीको १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले उक्त लाभांश पारित गर्न पुस २५ गते काठमाडौंमा बिहान साढे १० बजे १८औं वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । कम्पनीले लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि पुस १७ गते सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा पुस १६ गतेसम्म कायम सेयरधनीहरुले मात्रै साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् ।

जीवन विकास लघुवित्तको १४.७३ प्रतिशत लाभांश घोषणा

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तको सञ्चालक समितिको पुस १ गते बसेको बैठकले गत वर्षको नाफाबाट १४.७३६९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पूँजी १ अर्ब १८ करोड २० लाख ३४ हजार रुपैयाँको १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७३६९ प्रतिशत नगद गरी कूल १४.७३६९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिनेछ ।

ज्योति क्यापिटलको अध्यक्षमा बराल नियुक्त

काठमाडाैं । ज्योति क्यापिटलको अध्यक्षमा प्रकाश बराल नियुक्त भएका छन् । क्यापिटलको पौष १ गते आईतबार सम्पन्न सञ्चालक समितिको ४५ औं बैठकले ज्योति विकास बैंकबाट सञ्चालक मनोनित भई आएका बैंकका नायव प्रमुख कार्यकारी अधिकृत प्रकाश बराललाई क्यापिटलको अध्यक्ष पदमा नियुक्त गरेको हो । बैंकिङ्ग क्षेत्रको उच्च व्यवस्थापन तहमा १४ वर्ष भन्दा बढीको अनुभव बोकेका प्रकाश बराल मिति २०८० पौष १ गते देखि लागू हुनेगरी यस ज्योति क्यापिटलको सञ्चालक समितिको अध्यक्षमा चयन भएका हुन् । प्रकाश बरालसंग भारतको बिडिओ इन्टरनेशनलका साथै नेपाल बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड तथा एन आई सी एशिया बैंक लिमिटेडको उच्च व्यवस्थापन तहमा कार्य गरेकोे अनुभव रहेको छ । यसका साथै, एन आई सी एशिया लघुवित्त वित्तीय संस्थामा समेत सञ्चालकको भूमिका निर्वाह गर्नुभएका श्री बरालको अन्य विभिन्न संस्थाहरुमा समेत सफल कार्य गरेको अनुभव रहेको छ । भारतको आई.सि.ए.आईबाट चार्टर्ड एकाउन्टेन्सी गरेका प्रकाश बरालले त्रिभुवन विश्वविद्यालयबाट एल एल.बि को साथै अर्थशास्त्रमा स्नातकोत्तर समेत गरेका छन् । नव नियुक्त सञ्चालक समितिका अध्यक्ष प्रकाश बरालको यस क्षेत्रमा रहेको लामो कार्य अनुभव तथा कुशल व्यवस्थापकीय क्षमताले आगामी दिनमा यस क्यापिटलको व्यवसाय विस्तार एवं क्यापिटलबाट प्रदान गरिने सेवालाई सर्वोत्कृष्ट बनाउन उल्लेख्य योगदान गर्नुहुनेछ भन्नेमा यस क्यापिटल विश्वस्त रहेको छ । ज्योति विकास बैंकको सहायक कम्पनीको रुपमा रहेको यस क्यापिटलको चुक्ता पुंजी २१ करोड रहेको छ । हरेक ग्राहकहरुको सम्पन्नताको सहयात्री बन्ने अभिलाषा बोकेको यस क्यापिटलले नेपाल धितोपत्र वोर्डमा मर्चेन्ट बैंकरको कार्य गर्न अनुमती प्राप्त गरी लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श, धितोपत्रको प्रत्याभूति सेवा प्रदान गरिरहेको छ ।

होन्डा डियो १२५ को बिक्री–वितरण सुरु

काठमाडौं । नेपालका लागि होण्डाको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले अत्याधुनिक ‘स्मार्ट’ प्रविधिहरु र थप ‘पावर’ले भरपुर होन्डा डियो १२५ स्कुटरको बिक्री–वितरण सुरु गरेको छ । नेपालमा सर्वाधिक बिक्री हुने होन्डाका दुईपाङ्ग्रे सवारीसाधनहरु मध्येमा ग्राहकवर्गद्वारा अत्यधिक रुचाईएको होन्डा डियो स्कुटरको सो पछिल्लो संस्करणमा वर्तमान प्रविधिमैत्री पुस्ताको आवश्यकता र सन्तुष्टिका लागि नविन विशेषताहरु समाहित रहेको कम्पनीको भनाइ छ । साथै, १२५ सीसी क्षमताको इञ्जिनका साथ सो स्कुटर रोमान्चक यात्राको भरपर्दो र शक्तिशाली सहयात्री बन्ने कम्पनीको विश्वास छ । स्मार्ट चाबीले अनलक र स्टार्ट हुने सो स्कुटरमा ’साईड स्ट्यान्ड’ लगाउँदा ‘स्टार्ट’ बन्द हुने प्रविधि, कम इन्धनमा अधिकतम माइलेज दिने पीजीएम–एफआई सिस्टम लगायतका अत्याधुनिक प्रविधिहरु उपलब्ध छन् । स्याकार ट्रेडिङले स्कुटरको बुकिङ र विक्री धमाधम भइरहेको जनाएको छ । यो स्कुटरको मूल्य २ लाख ९९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

छोरीबुहारीको अध्ययन थलाे बन्यो गुप्तेश्वर क्याम्पस

गण्डकी । पर्यटकीय नगरी पोखराको महत्वपूर्ण धार्मिक एवं पर्यटकीय क्षेत्र छोरेपाटनमा सञ्चालित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस स्थापनाकालदेखि नै छोरी बुहारीको अध्ययनको थलो बन्दै आएको छ । पोखरा महानगरपालिका–१७ छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफाको आम्दानीबाट क्याम्पस स्थापना गरी सञ्चालनमा आएसँगै यस क्षेत्रका छोरी बुहारीलाई  शिक्षा आर्जनमा सहज भएको हो । गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिले २०६५ सालदेखि स्थापना गरी यज्ञशाला भवनको दोस्रो तल्लाबाट सुरु भई अहिले आफ्नै आधुनिक सुविधा सम्पन्न भवनमा सञ्चालन हुँदै आएको उक्त क्याम्पसमा हाल कूल नौ सय २९ विद्यार्थी अध्ययनरत छन् । यसमध्ये ६९८ (७३ प्रतिशत) छोरीबुहारी अध्ययनरत रहेको क्याम्पस प्रमुख धर्मराज बरालले जानकारी दिए । उनका अनुसार व्यवस्थापन र शिक्षाशास्त्र सङ्कायतर्फ विविएस, बीएड, विएचएम, विआइएम र एमविएस  विषयमा स्नातक तहका कक्षा सञ्चालन भइरहेका छन् । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पसमा कास्की, स्याङ्जा, पर्वत, तनहुँ, लमजुङ, दाङलगायत जिल्लाका विद्यार्थी अध्ययनरत छन् । गुणस्तरी शिक्षामा जोड दिएका कारण क्याम्पसमा विद्यार्थीको आकर्षण बढेको उनको दाबी छ । क्याम्पसले विभिन्न सङ्कायबाट सर्वोत्कृट अङ्क ल्याउने जेहेन्दार एवं विपन्न वर्गका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम सुवेदीका अनुसार क्याम्पसलाई व्यवस्थितरुपमा सञ्चालन गर्नका लागि पर्यटकीयस्थल डेभिजफलको उत्तरी भेगमा गुफाले रु तीन करोडभन्दा बढी लगानीमा खरिद गरेको पाँच रोपनी छ आना र पछि थप गरिएको १३ आना गरी छ रोपनी तीन आना जग्गामा भवन निर्माण गरिएको छ । उनले भने, ‘विश्वविद्यालय अनुदान आयोग र गुप्तेश्वर गुफा व्यवस्थापन समितिको आर्थिक सहयोगमा तेस्रो तल्ला थप्ने काम भइरहेको छ ।’ भारतीय दूतावासको रु चार करोड १० लाखको सहयोगमा भवन निर्माण गरिएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी ३३ विद्यार्थीबाट सुरु गरिएको क्याम्पस सञ्चालनमा गुफाको रु २५ करोडभन्दा बढी लगानी भइसकेको गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बास्तोलाले जानकारी दिए । आव २०७९/८० मा कूल रु चार करोड ६७ लाख आम्दानी गरेको क्याम्पसको रु चार करोड ८४ लाख खर्च भएको उनले बताए । छात्रवृत्ति कोषमा एक करोड शैक्षिक क्षेत्रको विकासमा योगदान पु¥याउने उद्देश्यका साथ क्याम्पसको विभिन्न सङ्काय र तहमा नियमितरुपमा अध्ययनरत जेहेन्दार, दलित, जनजाति तथा आर्थिकरुपमा पिछडिएका  विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने लक्ष्यका साथ सङ्घसंस्था एवं शिक्षाप्रेमीका तर्फबाट रु एक करोड छ लाख बराबरको सातवटा अक्षयकोष स्थापना गरिएका छन् । गुप्तेश्वर महादेव गुफा अक्षय कोष रु एक करोड, खगराज कला साहित्य उत्थान अक्षयकोष रु एक लाख एक हजार, लिलाकुमारी स्मृति अक्षयकोष एक लाख, प्रा डा भूपति ढकाल(कमल) पुर्खाको स्मरण रु दुई लाख २२ हजार दुई सय २२, इन्द्रेणी बचत तथा ऋण सहकारी संस्था अक्षयकोष रु ५० हजार, लक्ष्मी पौडेल जेहेन्दार तथा गरिब छात्रवृत्ति अक्षयकोष रु ५२ हजार र धर्मकला पौडेल स्मृति अक्षयकोष रु ५१ हजार एक सय ५१ रहेका छन् । अक्षयकोषको व्याजबाट चालू आवमा एक सय ३३ विद्यार्थीले रु १२ लाख छात्रवृत्ति वितरण गर्ने कार्यक्रम छ । विश्वविद्यालय अनुदान आयोगबाट १८ विद्यार्थीले विभिन्न विधामा छात्रवृत्ति प्राप्त गर्न सफल भएका छन् । क्याम्पसमा पूर्णकालीन र आंशिक गरी कूल ३४ शिक्षक र ११ कर्मचारी कार्यरत छन् । रासस