विकासन्युज

एकल अङ्कमा घर कर्जा दिँदै राष्ट्रिय वाणिज्य बैंक, पाँच करोडसम्म पाइने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले एकल अंकमा कर्जा प्रवाह गर्ने भएको छ । बैंकले उपभोक्ता कर्जा निर्देशिका, २०७७ बमोजिम मेरो घर कर्जा योजना ल्याएको छ । घर खरिद, घर निर्माण तथा जग्गा खरीद गर्नका लागि अधिकतम पाँच करोड रुपैयाँसम्म दिईने मेरो घर कर्जाको ब्याजदर बेसरेटमा १.२० प्रतिशत प्रिमियम जोडिने छ । हाल बैंकको बेसरेट ८.२५ प्रतिशत छ यसमा १.२० प्रतिशत प्रिमियम जोड्दा वार्षिक ९.४५ प्रतिशत ब्याजदरमा बैंकले मेरो घर कर्जा लगानी गर्नेछ । कर्जा प्रशोधन तथा सेवा शुल्क एकपटकका लागि कर्जा रकमको ०.२५ प्रतिशत लाग्नेछ । कर्जा रकम मासिक किस्ताबन्दीमा (ईएमआई) भुक्तानी गर्ने गरी अधिकतम २० वर्षका लागि प्रदान गरिनेछ । यो कर्जा बैंकका देशभर रहेका सम्पूर्ण शाखा कार्यालयहरुबाट लिन सकिनेछ । हाल बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २८६ वटा शाखा कार्यालय, ३०५ वटा एटिएम र ७० वटा एक्स्टेन्सन काउन्टर रहेको छ ।

२८ करोडमा निर्माण गरिएको वीरगञ्जको होल्डिङ सेन्टर अलपत्र

पर्सा । कोरोना सङ्क्रमणको समयमा करिब दुई वर्ष अघि पर्साको वीरगञ्जस्थित भारतीय सीमानाकामा निर्माण गरिएका होल्डिङ सेन्टर यतिबेला प्रयोगविहीन अवस्थामा छन् । विसं २०७८ मा कोरोना रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले करिब २८ करोडको लागतमा यहाँ कूल ६० कोठे होल्डिङ सेन्टर निर्माण गरिएका हुन् । हालसम्म ती भवनको स्वामित्व हस्तान्तरण हुन नसक्दा प्रयोग गर्न सकिएको छैन । नेपाली सेनाले १३ भान्सा घर, २२ शौचालय, सामान्य लक्षण भएकाका लागि नौ सय श्यया र जटिल अवस्थाका बिरामीका लागि एक सय श्यया तथा तीन वातानुकलित कक्षसहित निर्माण गरेको उक्त होल्डिङ सेन्टर सुरक्षार्थ सेनाको टोली खटिएको छ । ‘होल्डिङ सेन्टरको स्वामित्व कसले लिने भन्ने निश्चित छैन’, पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले भने, ‘स्वामित्व निश्चित नहुँदा बिजुली र खानेपानी जडान गर्न सकिएको छैन ।’ होल्डिङ सेन्टरको स्वामित्व सङ्घीय सरकार, प्रदेश सरकार वा स्थानीय सरकार कसको हुने अझै निश्चित नभएकाले समस्या भएको उनले बताए । महानगरपालिकालाई स्वामित्वका लागि पत्राचार गरे पनि बजेट अभावका कारण स्वामित्व लिन नसकिने जवाफ पाएको प्रजिअ भुसालको भनाइ छ । ‘मधेस प्रदेश सरकार र स्वास्थ्य विभागलाई समेत पत्राचार गर्यौँ, तर जवाफ आएको छैन’, उनले भने । होल्डिङ सेन्टर सञ्चालनका लागि जिल्लाका सबै संयन्त्र तयार रहेको प्रजिअ भुसालले जानकारी दिनुभयो । विद्युत् प्राधिकरण र खानेपानी कार्यालयले होल्डिङ सेन्टरमा बिजुली र खानेपानी जडान गर्न स्वामित्व अनिश्चित भएकै कारण आनाकानी गरेको उनले बताए । पछिल्लो समय भारतमा कोरोना भाइरसको सङ्क्रमण पुनः बढ्दै गएकाले होल्डिङ सेन्टरको प्रयोग गर्नुपर्ने अवस्था आएको वीरगञ्ज महानगरपालिकाका स्वास्थ्य शाखा संयोजक अनिलकुमार यादवले बताए । ‘होल्डिङ सेन्टर सञ्चालन नहुँदा समस्या भएको छ’, उनले भने । भारतीय सीमा क्षेत्रमा वीरगञ्ज महानगरपालिकाले स्थापना गरेको हेल्थ डेस्कमा खटिएकी ल्याब टेक्निसियन निशा साहले भारतबाट आवतजावत गर्ने करिब दुुई सयदेखि तीन सय जनाको दैनिकरुपमा कोरोना सङ्क्रमण भएनभएको जाँच गरिरहेको बताए । कोरोना सङ्क्रमण पोजेटिभ देखिएकालाई होम क्वारेन्टिनमा बस्न सुझाव दिने गरेको उनको भनाइ छ । रासस

अर्थतन्त्र चलायमान बनाउन संवाद परिषद्लाई सक्रिय बनाऔं : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवसायी र आम उपभोक्ताको मनोबल बढाउँदै अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले निजी क्षेत्रको सुझावअनुसार संवाद परिषद्लाई थप सक्रिय बनाउन आग्रह गरेका छन् । नुवाकोट उद्योग वाणिज्य संघद्वारा आयोजित सातौं नुवाकोट महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष ढकालले भने, ‘अर्थतन्त्रलाई चलायमान बनाउँदै व्यवसायी तथा आम उपभोक्ताको मनोबल वृद्धि गर्न परिषद्लाई थप चुस्त र सक्रिय बनाई निजी र सरकारी संवाद जरुरी छ । यसका लागि हामीले दिएको सुझाव अनुसार प्रधानमन्त्रीज्यूले संवाद परिषद्लाई सक्रिय बनाउनुभएको छ । यसलाई थप सक्रिय बनाउन आवश्यक छ ।’ स्थानीय मेला महोत्सवले अर्थतन्त्र र आर्थिक गतिविधि बढाउन सहयोग गर्ने बताउँदै उनले यसलाई महासंघ विशेष महत्वका विभिन्न स्थान आयोजना गर्ने गरेको जानकारी गराए । ‘मेला महोत्सवले स्थानीय उत्पादनको प्रवद्र्धनमा, स्थानीयस्तर व्यावसायिक गतिविधिहरु बढाउन, स्थानीय वस्तु तथा सेवाको बजार विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको हुन्छ । मेला महोत्सवहरु महासंघका आफ्ना कार्यक्रमहरु हुन् । त्यसले आजको यस भव्य महोत्सवको आयोजक नुवाकोट उद्योग वाणिज्य संघलाई विशेष धन्यवाद दिन चाहन्छु,’ उनले भने । अध्यक्ष ढकालले श्रीलंकामा देखिएको आर्थिक समस्यालाई केन्द्रित गरी नेपाल सरकार र अन्य नियामक निकायले लिएका नीति नियमले अर्थतन्त्रलाई संकुचित गरेको उल्लेख गरे । ‘अहिले अर्थतन्त्रका सबै बाह्य सूचकहरु ठिक छन् । विप्रेषण अहिलेसम्मकै धेरै आएको छ । वैदेशिक मुद्राको संचिति पनि उत्तिकै बढेको छ । यति हुँदाहुँदै पनि आम उपभोक्ता, व्यवसायी तथा लगानीकर्ताको मनोबल बढ्न सकेको छैन । त्यसैले, निजी क्षेत्रको सुझाव र प्रधानमन्त्रीज्यूको अगुवाईमा सक्रिय बनेको संवाद परिषद्लाई थप सक्रिय बनाउँदै अर्थतन्त्रलाई गति दिन आवश्यक छ,’ उनले भने । धार्मिक ऐतिहासिक कला संस्कृतिको सम्वर्द्धन, दिगो आर्थिक विकासको लागि व्यावसायिक प्रवर्द्धन भन्ने नारासहित शुक्रबारबाट शुरु भएको सातौं नुवाकोट महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका हुन् ।

साइमेक्स इंकले ‘बीवाईडी चाइनिज न्यु इयर कप’ नेपाल-चीन फ्रेन्डसिप फुटबल खेलको प्रयोजन गर्ने

काठमाडौं । साइमेक्स इंकले ‘बीवाईडी चाइनिज न्यु इयर कप’ नेपाल–चीन फ्रेन्डसिप फुटबल खेलको प्रयोजन गर्ने भएको छ । बीवाईडी अटो इन्डष्ट्री कम्पनी लि. को नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले ‘बीवाईडी चाइनिज न्यु इयर कप’ नेपाल–चाइना फ्रेन्डसिप फुटबल खेलको प्रयोजन गर्ने भएको हो । चिनियाँ राजदूतावास, नेपाल पर्यटन बोर्ड र राष्ट्रिय खेलकुद परिषदद्वारा आयोजना गरिने सो महत्त्वपूर्ण खेल आगामी फेब्रुअरी १० मा दशरथ रंगशालामा हुनेछ । बीवाईडी चाइनिज न्यु इयर कपमा चीनको किन्घाई युथ फुटबल टिम र नेपालको यु–२१ फुटबल टिमबिच प्रतिस्पर्धा हुनेछ । खेलले चीन र नेपालबिचको मित्रता र सांस्कृतिक सम्बन्ध तथा संस्कृति र समुदायबिचको सम्बन्धलाई अझै मजबुत बनाउने कम्पनीले बताएको छ । इभेन्टको मुख्य प्रायोजकको नाताले साइमेक्स इंक प्रालिले दुई देशबिचको गहिरो सम्बन्धलाई अझै बलियो बनाउन भूमिका खेल्ने विश्वास लिएको छ । क्लिन इनर्जी र सस्टेनेबल मोबिलिटी सोलुसनका लागि विश्वमै नेतृत्व गरिरहेको बीवाईडी उत्कृष्टता, नवीनता र सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध रहेको छ । ‘बीवाईडी चाइनिज न्यु इयर कप’ जस्तो पहलबाट आपसी समझदारी र सहयोग प्रवद्र्धन हुने र दुवै देशका जनताको जीवनस्तर उकास्न सहयोग पुग्ने बताइएको छ ।

कामना सेवा विकास बैंकका ग्राहकले भिगोर सुपर क्लिनिकमा छुट पाउने

काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकले भिगोर सुपर स्पेसियालिटि क्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टरसँग सम्झौता गरेको छ । बिहिबार भएको सम्झौता अनुसार ग्राहक र कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा २० प्रतिशत छुट पाउनेछन् । ग्राहक तथा कर्मचारीले बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यस्तो छुट पाउने जनाइएको छ । सम्झौताबाट बैंकसँग आवद्ध सम्पूर्ण ग्राहक र कर्मचारीले लाभ लिने विश्वास रहेको बैंकले उल्लेख गरेको छ । हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।

सन सेक्युरिटिजले युनिग्लोब स्कुलका विद्यार्थीलाई सेयरबजारको ज्ञान दिने

काठमाडौं । सन सेक्युरिटिज (ब्रोकर नं. ६४) र युनिग्लोब सेकेण्डरी स्कुलबीच सम्झौता भएको छ । वित्तिय साक्षरता कार्यक्रम सञ्चालनका लागि दुई कम्पनीबीच शुक्रबार एक सम्झौता भएको हो । सन नलेज पार्टनरशिप कार्यक्रम अन्तरगत भएको उक्त सम्झौतामा सन सेक्युरिटिज प्रालिले युनिग्लोब कलेज अन्तरगत १० +२ मा अध्ययनरत विद्यार्थीहरुलाई वर्षैभरी सेयर बजार र यसका विभिन्न पक्षहरुसँग सम्बन्धित निःशुल्क तालिम, वर्कसप तथा सेमिनार कार्यक्रम आयोजना गर्नेछ । यसका साथै प्राथमिक बजारमा गरिने लगानीका विभिन्न पक्षहरुका साथै धितोपत्रको दोश्रो बजार अन्तरगत गरिने कारोबार तथा लगानी सँग सम्बन्धित आधारभूत तथा प्राविधिक विश्लेषणका तालिमहरु प्रदान गर्नेछ । सम्झौता अन्तरगत युनिग्लोब कलेजका विद्यार्थी तथा तिनका परिवार र शिक्षक एवं कर्मचारीहरुलाई सन सेक्युरिटिज प्रा.लि.ले तालिमका साथै बजारसँग अझै नजिक बनाउन उनीहरुलाई आवश्यक हुने डिम्याट खाता, मेरो शेयर निशुल्क प्रदान गर्नुका साथै ब्रोकर कारोबार खाता खोल्ने सुविधा प्रदान गर्नेछ । साथै कलेजसँगको समन्वयमा १० +२ मा अध्ययनरत विद्यार्थीहरुलाई एकेडेमिक हिसाबले उपयुक्र्त हुने गरी गेष्ट लेक्चरहरु समेत प्रदान गर्ने कम्पनीले जनाएकाे छ । सम्झौतामा कलेजका तर्फबाट प्रिन्सिपल डा. गणेश रेग्मीले हस्ताक्षर गरेका थिए भने सन सेक्युरिटिजका तर्फबाट कार्यकारी अध्यक्ष कृष्ण गिरीले हस्ताक्षर गरेका थिए । सम्झौता कार्यक्रममा बोल्दै सन सेक्युरिटिजका अध्यक्ष कृष्ण गिरीले कम्पनीको कार्यक्रमल विद्यालय तहबाटै विद्यार्थीहरुलाई नेपालको सेयर बजारको बारेमा सैद्धान्तिक ज्ञानका साथै प्रयोगात्मक ज्ञान दिने कोशिश गरेको र यस्तो किसिमको कार्यक्रमले भविष्यमा पूँजीबजारका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा सहयोग पुर्याउने बताए । उनले उक्त कार्यक्रमले दक्ष तथा ज्ञान भएका लगानीकर्ताहरु वृद्धि हुने तथा यसले समग्र पूँजीबजारलाई नै प्रत्यक्ष तथा अप्रत्यक्ष ढंगबाट सहयोग पुग्ने अपेक्षा गरेको बताए ।

सिटिजन्स बैंकद्वारा बालबालिकालाई न्यानो कपडा वितरण

काठमाडौं । सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आमा घर, गोदावरीका बालबालिकालाई न्यानो कपडा सहयोग प्रदान गरेकोे छ । आमा घर आफ्नो घर र परिवार गुमाएर जोखिममा रहेका घरबारविहीन बालबालिकालाई हेरचाह गर्ने संस्था हो । अभावमा रहेका बालबालिकालाई घर, उत्कृष्ट शिक्षा, स्वास्थ्य र हेरचाह प्रदान गर्न समर्पित आमा घरमा हाल ४६ जना बालबालिका आश्रित रहेका छन् । चिसो मौसमलाई मध्यनजर गर्दै बालबालिकाहरुको पठनपाठन र दिनचर्यामा समेत मद्दत पुगोस भनेर संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हो । बैंकको यस कार्यबाट आमा घरका बालबालिका लाभान्वित भएका छन् । आमा घरमा आज आयोजित एक समारोहका बीच सहयोग स्वरुप न्यानो कपडा हस्तान्तरण गरिएको हो । समारोहमा आफू उपस्थित हुन नपाएता पनि बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले आफ्नो संस्थाले सहयोग स्वरूप न्यानो कपडा बालबालिकाहरुलाई दिन पाउँदा समाज प्रतिको उत्तरदायित्व बोध गरेको सन्देश व्यक्त गरे । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको कुरा जानकारी गराएको छ ।

पर्यटकको बसाइ लम्ब्याउने रामपुरको चिन्ता

पाल्पा । कालीगण्डकी सभ्यतासँग जोडिएको स्थलसमेत हो, पाल्पाको पर्यटकीय गन्तव्य रामपुर । भूगोलले चिटिक्क सजिएको वरपर डाँडाकाँडाले घेरिएको काठमाडौँ उपत्यकाकै झल्को दिने गन्तव्य पनि हो यो । लामो समयसम्म सडक सञ्जालले नजोडिँदा मौलिक पहिचान नै कताकता हराए जस्तै बनेको यो स्थल सडक पूर्वाधारकै अभावमा लामो समयसम्म विकासमा पछि परेको थियो । विकास अभावका कारण जिल्ला सदरमुकाम तानसेनबाट दुर्गमको निशानामा पर्थ्यो । रामपुर ठूला सहरसँग जोडिएला भन्ने स्थानीयवासीको कल्पना पनि थिएन । बत्तीमुनिको अँध्यारोमा रहेको रामपुर अहिले देशकै ठूला सहरसँग सिधा सडकमार्गले जोडेपछि आशालाग्दो र भविष्यमा मुलुककै नमुना पर्यटकीय सहर बन्ने सम्भावना बोकेको छ । सडक सुविधा पुगेपछि बस्ती बाक्लिदै गयो, व्यापार व्यावसाय धमाधम खुल्न थाले । रामपुर कस्तो होला भन्ने कौतुहलता सबैमा थियो तर आउने वातावरण बनेको थिएन । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर सडकमार्ग खुलेपछि रामपुरमा पर्यटक भित्रिन थालेका छन् । विभिन्न ठाउँ–ठाउँबाट घुमघाम गर्न आउनेको चहलपहल देखिन्छ । हिजो सडक समस्याले पर्यटक आउन सक्ने वातावरण बनेन, अहिले सडक जोडिएपछि पर्यटक आउँछन्, अवलोकन गर्छन्, लगत्तै फर्कन्छन् ।बाहिरबाट घुम्न आएका पर्यटकलाई यहीँ बस्ने वातावरण नबन्दा आयस्रोतको माध्यमका रुपमा पर्यटन व्यावसायलाई बनाउन नसकिरहेको अवस्था छ । कालीगण्डकी करिडोर सडकको कारणले पछिल्लो समय रामपुर आउने पर्यटकको आकर्षण बढ्दो छ तर बाँस नै बस्ने अति न्युन छन्, केही ठाउँ अवलोकन गरेर अन्यत्र नै बसोबास गर्न आफ्नो गन्तव्य तय गर्ने गरेको पूराना पत्रकार बासुदेव ढकाल बताउँछन् । ‘रामपुरलाई आधार मानेर आवतजावत गर्ने यात्रु तथा पर्यटकले बाँस बस्न त परै जाओस् खाजा समेत नखाइकन यसो हेरेर अन्यत्र गएर बसोबासको गन्तव्य तय गर्दछन्, पर्यटक भुलाउने वातावरण सरोकारवालाले तयार पार्नुपर्दछ, विकासले मात्रै पर्यटक बस्ने वातावरण बन्दैन’ उनले भने । बाहिरबाट घुम्न आएका पर्यटक रामपुरमै बसोबास गर्ने वातावरण तय नगर्दासम्म यहाँको आयस्रोतमा बृद्धि नहुने पुराना पत्रकार ढकालको अनुभव छ । रामपुरमा होटल व्यावसाय खुल्ने क्रम बढे पनि बसोबासका लागि बाहिरी होटलको तुलनामा बाहिरबाट आउने पाहुनालाई आदर सत्कार छैन, एक ठाउँमा पुगेको पर्यटकलाई अन्य ठाउँमा घुम्ने वातावरण बनाउन एक अर्काबीच समन्वय नहुनु, पर्यटकलाई बस्ने माध्यम बनाउन समन्वयको खाँचो रहेको छ । कालीगण्डकी नदीसँग जोडिएको कालीगण्डकी उपत्यका, कला संस्कृतिको उर्वरभूमि, चारैतिर डाँडाकाडाँले घेरेको बीचको समथर भागमा अवस्थित रामपुर आफैँमा सुन्दर छ । पाल्पा जिल्लाकै समथर उपत्यका, विकासको प्रचुर सम्भावना बोकेको यो क्षेत्र अहिले चारैतिरको केन्द्र भागमा अवस्थित छ । पूर्वमा कालीगण्डकी करिडोर सडकमार्गले नारायणघाटसँग सिधा जोडेको, उत्तर पूर्वमा पोखरा भिमाद हुँदै रामपुर जोडिएको सडक, परिश्चममा बुटवल तानसेन रामपुर सडकखण्ड, दक्षिणमा रामपुर मित्याल अरुणखोला सडकखण्डले जोडिएको छ । तराई, पहाडसँग सिधा जोडिएको रामपुर हिजोआज धेरै यात्रुले यहीँ ठाउँ भएर ओहोरदोहार गर्ने गर्छन् । पर्यटकीय सम्भावना बोकेका सबै क्षेत्रमा पूर्वाधार निर्माण, रामपुरमा लोपोन्मुख अवस्थामा रहेका दरैँ, कुमाललगायतका विभिन्न समुदायको भेषभूषा, सांस्कृतिक पहिचान जोगाउने, साँझमा विभिन्न समुदायको मौलिक पहिचान झल्कने संस्कृति देखाउने वातावरण, स्थानीय स्वाद दिन ठाउँ–ठाउँमा घरबास सञ्चालन गर्नुपर्ने बताउँछन्, पर्यटन क्षेत्रमा तल्लिन लक्ष्मीनारायण गुठी संरक्षण समितिका अध्यक्ष बुद्धिप्रकाश रेग्मी । उनी भन्छन्, ‘अहिले हरेक व्यक्ति आफूले आर्जन गरेको धनबाट केही रकम परिवार, साथीभाइसँग घुमघाम गर्न जाने प्रचलन बढेको छ, सवारी साधनमा सहजरुपमा पुग्ने सडक गाउँमा पुगेपछि सहर बजारमा भन्दा गाउँको विकास र प्राकृतिक सुन्दरतामा धेरै लोभिन थालेकाले स्थानीयपनलाई जोड दिइयो भने पर्यटक बस्ने वातावरण बन्नेछ।’ बाहिरबाट आएका पर्यटक बस्ने वातावरण बनाउन बेला–बेलामा सरोकारवाला निकायसंग आन्तरिक पर्यटन प्रवद्र्धनसम्बन्धी सुझाव लिने, रामपुर नगरपालिकाले अनुदान दिएर बनेका पर्यटकीय तथा धार्मिक संरचनामा आगन्तुक पुस्तिका राख्नुपर्ने, थोरै भएपनि प्रवेश शुल्क उठाउने, नगरपालिकाले लगानी गरेको क्षेत्रमा बनेका संरचनाबाट आयआर्जनको वातावरण बनाउनु सकियो भने स्थानीयलाई पनि आर्थिक लाभ मिल्नेछ । रामपुर नगरपालिकाले ऐतिहासिक, पर्यटकीय, धार्मिक क्षेत्रमा पूर्वाधार विकास, सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, विजुली बत्तीलगायतको क्षेत्रमा जोड दिएको छ ।सडकमार्गको पहुँच र द्रूततर विकासले रामपुर हेर्नकै लागि भनेर टाढा-टाढाबाट गन्तव्य तय गरेर आउँछन् । खाने बस्ने ठाउँको लागि भने अन्यत्र गन्तव्य बनाएका कारण पर्यटकीय क्षेत्रबाट रामपुरले आयस्रोत लिन सकिरहेको छैन । प्रचार-प्रसार, एक अर्काबीचको समन्वय नहुनु, पर्यटकीय क्षेत्रमा बनेका संरचनाको रेखदेख, आयस्रोतमा कम चासो, पर्यटन क्षेत्रलाई व्यावसायिक रुपमा अंगाल्न नसक्नु, युवाको वैदेशिक रोजगारमा आकर्षण बढ्नु जस्ता कारणले रामपुर भित्रिएका पर्यटकलाई एक÷दुई दिन बस्ने वातावरण बनाउन सकिएको छैन । रामपुरमा आएका आन्तरिक तथा बाह्य पर्यटकलाई बसोबास गर्ने वातावरण बनाउन विभिन्न ठाउँ-ठाउँमा घरबास सञ्चालन गर्ने, स्थानीय उत्पादन बढाउने, कला संस्कृती, लोपोन्मुख वस्तुको संरक्षण गर्ने कार्यमा नगरपालिकाले जोड दिएको नगर प्रमुख रमणबहादुर थापा बताउँछन् । कुमाल समुदायको विद्यार्थीको बाहुल्यता रहेका विद्यालय कृष्णादेवी मावि, नवदुर्गा माविमा माटोको भाडा बनाउने सीप प्रदान गर्ने, रामपुर नगरभित्र रहेका पर्यटकीय, धार्मिक र ऐतिहासिक क्षेत्रको प्रवद्र्धन र विकास गर्ने, सबै समुदायको पहिचान झल्कने कला, संस्कृतिको उजागर गर्ने, कृषि तथा पशुपंक्षीपालन, घरेलु उद्यम, महिला उद्यमशीलताको विकास गर्ने योजना अनुरुप नगर सरकार अगाडि बढेको नगर प्रमुख थापाको भनाइ छ । ‘रामपुर नगरपालिका बुटवल, नारायणघाट, पोखरा जस्ता ठूला–ठूला सहरको केन्द्र भागमा रहेकाले यो क्षेत्र नमुना सहर बन्नेछ,’ उनले भने, ‘यहाँको पर्यटन विकास गर्न कालीगण्डकी नदीको किनारमा पैदलमार्ग बनाउने, पैदलमार्गका विभिन्न स्थानमा घरबास सञ्चालन, स्थानीय उत्पादन खरिद बिक्रि गर्न कोशेली घर निर्माण, विभिन्न जातका फलफुलका विरुवा लगाउने, प्याराग्लाईडिङ सञ्चालन, कालीगण्डकी नदीमा नियमित जलयात्रा सञ्चालन गरेर बाहिरबाट आउने पर्यटक रामपुरमै बस्ने वातावरण तयार पार्नेछौँ ।’ नगर प्रमुख थापाका अनुसार कालीगण्डकी नदीको किनारमा पैदलमार्ग निर्माण गर्न रु एक करोड २० लाख रकम विनियोजन गरिएको छ । रामपुरलाई केन्द्रबिन्दु मानेर ठूला सहर बजारमा आवतजावत गर्ने क्रम बढेकाले यसवर्ष हरियाली सहर निर्माणको कार्य गर्ने र अर्को वर्ष सडक बत्ती जडानको काम गर्ने नगर सरकारको योजना छ । यहाँ शैक्षिक अवलोकनका लागि ठुलो समुहमा शिक्षक, विद्यार्थी तथा शिक्षासँग सरोकारवालाको समूह आउनेजाने क्रम बाक्लिदै गएको छ । पारिवारिक जलयात्राका लागि उत्तम मानिएको विश्वकै एकमात्र शालिग्राम शिला पाइने धार्मिक, पर्यटकीय नदी कालीगण्डकी, त्रेता युगमा भगवान् रामचन्द्रले बनवास जाँदा बसोबास गरेको रामतपोभूमि, स्नान गरेको कालीगण्डकीको तट रामघाट, तपस्या गरेको गुफा, भात पकाएर खाएको रामचुलो, रामचन्द्रकी पत्नी सीता रजश्वला हुँदा रामले रामघाटबाट बाँण हानेर स्नान गर्न बनाएको सीताकुण्ड यहाँका प्रख्यात ऐतिहासिक ठाउँ हुन् । तालपोखरा, बुद्धपार्क, गौशाला तातोपानीधाम, सिद्धबाबाधाम, पर्यटकीय क्षेत्र रहेको राम्चे सामुदायिक वन, रानीवन तथा वडभान सामुदायिक वन, ज्याग्दी बृहत् पार्क, बाँघको ढाडक्षेत्र, लखन थापापार्क, शालिग्राम संग्राहालय टापुधाम, छाङ्दी झरना, बाँदरकुने क्षेत्र, घट्टार, बशिष्ठगुफा, रामजानकी मन्दिर, मौलाकालिका मन्दिर, कालीगण्डकी नदीले घेरेको खैरेनी सामुदायिक वन लगायतका क्षेत्र घुम्न लायकका छन् । यहाँ पर्यटक लक्षित विभिन्न भौतिक संरचना तयार पारिएको छ । निजी सवारीसाधनमा करिब तीन घन्टामा रामपुर–गैडाँकोट, रामपुरदेखि भिमाद हुँदै पोखरा, रामपुर–बुटवलसम्म सहजै पुगिन्छ । दूरीको हिसावले छोटो यात्रा पर्ने भएकाले हिजोआज निजी सवारीसाधनमा पाल्पा सदरमुकाम तानसेन, अर्घाखाँची, गुल्मी, स्याङ्जालगायतका यात्रुले रामपुरलाई आधार बनाएर कालीगण्डकी करिडोर सडकमार्ग प्रयोग गरेर नारायणघाट, काठमाडौँसम्मको यात्रा गरिरहेका छन् । रासस