विकासन्युज

राष्ट्रिय सहकारी बैंकले निक्षेप र कर्जामा घटायो ब्याज, अब कुन खातामा कति ?

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । सहकारी बैंकले पुस ६ गतेदेखि लागू हुने गरी बचत तथा कर्जामा नयाँ ब्याजदर निर्धारण गरेको हो । बैंकले बचततर्फ न्यूनतम २ प्रतिशतदेखि अधिकतम ९.२५ प्रतिशतसम्म ब्याजदर तोकेको छ । यसअघि मंसिरमा बैंकले बचततर्फ न्यूनतम ३.५० प्रतिशतदेखि अधिकतम १०.२५ प्रतिशतसम्म ब्याजदर तोकेको थियो । पुसमा साधारण बचत खातामा २ प्रतिशतदेखि ३ प्रतिशत, विशेष बचतमा ३.२५ प्रतिशत, सुपर बचतमा ३.५ प्रतिशतदेखि ४ प्रतिशत तोकिएको छ । यस्तै, एनसिसिएल समुन्नत बचत खातामा न्यूनतम ३.५० प्रतिशतदेखि अधिकतम ४.५ प्रतिशत, एनसिसिएल प्रिमियम बचतमा ४ प्रतिशतदेखि ४.५ प्रतिशत तोकिएको छ । यस्तै, अनिवार्य नियमित बचतमा ८ प्रतिशत र क्रमिक बचतमा ८ प्रतिशतदेखि ९ प्रतिशत, मुद्दती निक्षेपमा न्यूनतम ७.२५ प्रतिशतदेखि अधिकतम ९.२५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार कर्जा तर्फ विभिन्न विभिन्न शिर्षकमा ८ प्रतिशतदेखि १२.२५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरिएको छ । यसअघि मंसिरमा बैंकले ८.५० प्रतिशतदेखि १३.७५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको थियो । बैंकका अनुसार घर घडेरी खरिद तथा भवन निर्माण कर्जाको स्वः लगानी नियमानुसार हुनेछ । लघुवित्त कर्जा, गरिबि निवारण कर्जा, सबल सहकारी कर्जा र दिगो सहकारी कर्जा लगानीको ब्याजदर संस्था वर्गीकरणको आधारमा फरक गरीने जनाएको छ । साथै, मुद्दती निक्षेपको बिड रेट ९.२५ प्रतिशतसम्म प्रस्ताव गर्न सकिने बैंकले जनाएको छ । अपाङ्ग, दलित र महिलाद्वारा संचालित संस्थालाई प्रकाशित ब्याजदरमा ०.५ प्रतिशतसम्म थपघट गर्न सकिने छ । यस्तो सुविधा दोहोरो हुनेगरी प्रदान गरिने छैन ।

नेपाल राष्ट्र बैंकले माग्यो ६७ जना कर्मचारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले ठूलो संख्यामा कर्मचारी मागेको छ । केन्द्रिय बैंकले विभिन्न पदका लागि ६७ जना कर्मचारी मागेको हो । बैंकले प्रशासनतर्फ अधिकृत तृतीय स्तरको सहायक निर्देशक पदका लागि १९ जना, लेखा तथा लेखापरीक्षणतर्फ सहायक निर्देशक पदकै लागि ५ जना, वाणिज्य कानुनतर्फ २ जना, सूचना प्रविधितर्फ ६ जना सहायक निर्देशक मागेको हो । यस्तै, सहयाक द्धितिय स्तरको सहायक पदका लागि २० जना, कानुनतर्फ ४ जना र सूचना प्रविधि पदमा ११ जना कर्मचारी मागेको हो । रिक्त रहेका उक्त पदहरू खुला प्रतियोगिताद्वारा पूर्ति गर्ने राष्ट्र बैंकले जनाएको छ । योग्य नेपाली नागरिकहरूले आज पुस ६ गतेदेखि अनलाइन माध्यममार्फत दरखास्त फाराम पेश गर्नु पर्नेछ । पुस २६ गतेसम्म तोकिएको दस्तुर र माघ ४ गतेसम्म दोब्बर दस्तुरमा आवेदन दिन सकिनेछ ।

घोराही सिमेन्टको १५ प्रतिशत लाभांश घोषणा

काठमाडौं । हालै प्रिमियम मूल्यमा आईपीओ बिक्री गरेको घोराही सिमेन्ट इण्डष्ट्रीले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले उक्त लाभांश पारित गर्न पुस २८ गते दाङको घोराहीमा तेस्रो वार्षिक साधारणसभा बिहान ९ बजे बोलाएको छ । कम्पनीको सभाले बोनस सेयर वितरण गर्दा हुन आउने खंडित सेयरलाई पछि समायोजन गर्ने गरी यथावत राख्ने विशेष प्रस्ताव पारित गर्नेछ । सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालक नियुक्त गर्नेछ । आर्थिक वर्ष २०७९/८०को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि पुस १६ गते सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्जमा अघिल्लो दिनसम्म कायम सेयरधनीहरूले मात्रै बैंकको साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् ।

लाभांश पारित गर्न सपोर्ट लघुवित्तले डाक्यो साधारणसभा, सञ्चालकको भत्ता संशोधन गर्ने

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभा आह्वान गरेको छ । लघुवित्त सञ्चालक समितिको पुस ५ गते बसेको बैठकले नवौं वार्षिक साधारणसभा पुस २७ गते सुनसरीमा बिहान साढे ९ बजे बोलाएको हो । लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ०.६८४२ प्रतिशत नगद गरी कूल १३.६८४२ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । लघुवित्तको सभाले बोनस सेयर वितरण पश्चात् जारी तथा चुक्ता पुँजी वृद्धि र पबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव अनुमोदन गर्नेछ । सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व १ जना गरी ५ जनाको निर्वाचन गर्नेछ । सञ्चालकहरूको भ्रमण भत्ता र बैठक भत्ता संशोधन र कुनै उपयुक्त संस्थासँग मर्जर गर्न सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिनेछ । आर्थिक वर्ष २०७९/८०को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । लघुवित्तले लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि पुस १६ गते सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्जमा अघिल्लो दिनसम्म कायम सेयरधनीहरूले मात्रै बैंकको साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् ।

एलपी ग्यासमा १ अर्ब रुपैयाँ नोक्सानी बेहोर्दै निगम, स्वचालित मूल्य लागू गर्ने

काठमाडौं । नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक नागेन्द्र साहले निगमले गर्ने कूल कारोबारको २० प्रतिशत हिस्सा एलपी ग्यासको रहेको जानकारी दिँदै ग्यासमा स्वचालित मूल्य कायम गर्न नसक्दा मासिक १ अर्ब रुपैयाँ नोक्सानी बेहोर्दै आएको बताएका छन् । मुख्यसचिव डा.बैकुण्ठ अर्यालले खाना पकाउने एलपी ग्यासमा स्वचालित मूल्य प्रणाली लागू गरिनुपर्ने बताएका छन् । नेपाल एलपी ग्यास उद्योग सङ्घको २४औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले विविध कारणबाट स्वचालित मूल्य लागू हुन नसकेको भए पनि अब कार्यान्वन गर्नुपर्ने बताएका हुन् । उपभोक्ता सचेतना अभिवृद्धि गर्न व्यवसायीको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै अर्यालले ग्यास सिलिन्डरको सुरक्षामा ध्यान दिन व्यवसायीलाई आग्रह गरे । जनचेतना जगाउन सरकार र व्यवसायीले संयुक्त अभियान चलाउनुपर्नेमा उनले जोड दिए । मुख्य सचिव आर्यालले कोरोनाको बेलामा ग्यास अभाव हुन नदिन व्यवसायीले खेलेको भूमिका सराहनीय रहेको बताए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दवाडीले निजी क्षेत्रलाई सहयोग गर्न मन्त्रालय तयार रहेको स्पष्ट पारे । उनले उपभोक्ताको हित संरक्षण गर्न र उपभोक्ता सचेतना बढाउन सरकार प्रतिबद्ध रहेको बताउ । नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेश अग्रवालले व्यावसायिक प्रयोजनका लागि ठूलो क्षमताका सिलिन्डर प्रयोगमा ल्याउन सहजीकरण गर्न आग्रह गरे । उनले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई सुझाव दिए । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्र चलायमान गर्न ब्याजदरलाई एकल अङ्कमा सीमित गर्नुपर्ने बताए । सरकारलाई सहयोग गर्न व्यवसायी तयार रहेको उल्लेख गर्दै उनले सरकारी सेवा एकद्वार प्रणालीमार्फत प्रवाह गर्नुपर्ने बताए । नेपाल उद्योग वाणिज्य महासङ्घ, वस्तुगत परिषद्का सभापति हेमराज ढकालले पछिल्लो समय अर्थतन्त्रमा सुधार देखिएको उल्लेख गर्दै सरकारको समेत प्रयासबाट अर्थतन्त्र सहज हुँदै जाने विश्वास व्यक्त गरे । नेपाल उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेशका अध्यक्ष दिनेश श्रेष्ठले सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने बताए । अफ्ठ्यारो अवस्थामा पुगेका व्यवसायीलाई सरकार छ भन्ने महसुस गराउनुपर्ने उनको भनाइ छ । ग्यास बिक्रेता महासङ्घका अध्यक्ष चन्द्र थापाले ग्यास कारोबारलाई व्यवस्थित गर्न सरकारको सहयोग आवश्यक रहेको बताए । स्थानीय तहमार्फत ग्यासको सुरक्षित प्रयोगसम्बन्धी सचेतना बढाउनुपर्नेमा उनको सुझाव छ । उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले ग्यासको प्रयोगबाट हुनसक्ने क्षति न्यूनीकरण गर्न उपभोक्ता सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिए । सङ्घका अध्यक्ष शिवप्रसाद घिमिलेले ग्यास उद्योगमा निजी क्षत्रको ३० अर्ब लगानी रहेको जानकारी दिए । ग्यास उद्योग क्षेत्रबाट राजस्व सङ्कलनमा ठूलो योगदान भएको उनको भनाइ थियो । विसं २०२८ मा पहिलो पटक बालाजुमा नेपाल ग्यास स्थापना भएपछि नेपालमा ग्यासको कारोबार सुरु भएको थियो । हाल देशभर ५८ वटा ग्यास उद्योग छन् । कार्यक्रममा निगमका पूर्वकार्यकारी निर्देशक उमेशप्रसाद थानीलाई सम्मान गरिएको थियो ।

क्रेस्ट माइक्रोले ल्यायो बचत र सुरक्षा दुबै हुने बीमा योजना, प्रतिहजार ५० रुपैयाँसम्मको रिटर्न ग्यारेन्टी

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले सिएमएल लघु सावधिक जीवन बीमा (रेगुलर र सिंगल) योजना ल्याएको छ । बीमित वर्गको आयश्रोत, बचत र सुरक्षालाई ध्यानमा राख्दै कम्पनीले सिएमएल लघु सावधिक जीवन बीमा (रेगुलर र सिंगल) नामक नयाँ सावधिक बीमा योजना ल्याएको हो । यो योजनाले न्यून बीमाशुल्कमा बचत तथा सुरक्षा एकै साथ प्रदान गर्दछ । यो योजना अन्तर्गत जोखिम बहनको अतिरिक्त बीमितलाई बीमालेख अवधिभर बचत गर्न प्रोत्साहन समेत गर्दछ । यसको प्रमुख विशेषता रेगुलर बीमाशूल्क भुक्तानी गर्ने बीमालेखमा ४५ रुपैयाँ प्रतिवर्ष प्रतिहजार र सिंगल बीमाशूल्क भुक्तानी गर्ने बीमालेखमा ५० रुपैयाँ प्रतिवर्ष प्रतिहजार ग्यारेन्टी रिटर्न हो । कम्पनीका अनुसार यो बीमालेख १८ वर्षदेखि ६० वर्ष उमेर सम्मको ग्राहकले खरिद गर्न सक्नेछन् । कम्तीमा ५ वर्ष र अधिकतम २५ वर्ष अवधि रहेको यो बीमालेखमा न्यूनतम बीमांक रकम दश हजार रुपैयाँ रहेको छ । बीमितले आफ्नो सुविधा अनुसार एकल, वार्षिक, अर्धवार्षिक वा त्रैमासिक रुपमा बीमाशूल्क भुक्तानीको विकल्प रोज्न सक्नेछन् । कम्पनीका अनुसार बीमा अवधि पुरा नहुँदै वा ७० वर्ष नपुग्दै बीमितको निधन भएमा बीमांक रकम तथा ग्यारेन्टी गरिएको रकम एकमुष्ठ भुक्तानी पाउनेछन् ।

एसइईमा कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने, नल्याए ननग्रेड हुने

NEB भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले विद्यार्थीले २०८० सालमा सञ्चालन हुने एसइई परीक्षामा कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने बताएका छन् । नेशनल प्याप्सन भक्तपुरले शैक्षिक वर्ष २०८० को एसइईमा सम्मिलित हुने विद्यार्थीका लागि आयोजित परीक्षा मार्गनिर्देशन कार्यक्रममा उनले २०८० मा एसइई परीक्षा हुँदैन भन्ने भ्रममा नपर्न विद्यार्थीलाई आग्रह गरे । बोर्डका अध्यक्ष डा शर्माले भने, ‘एसइईमा अब एनजी (कुनै विषयमा ३५ प्रतिशत अङ्क नल्याएमा ननग्रेड हुन्छ) प्रणाली लागू हुँदैछ । यस वर्षकै एसइई परीक्षाबाट नयाँ ग्रेडिङ प्रणाली लागू गर्ने भएकाले अब उच्च शिक्षा अध्ययन गर्नका लागि विद्यार्थीले एसइईमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने हुन्छ ।’ कार्यक्रममा प्रसिद्ध उत्प्रेरक डा ताराप्रसाद गिरीले स्कुल जीवनमा नै भविष्य बनाउनु पर्ने भन्दै शिक्षक एवं आमाबुबाको मार्गनिर्देशनमा हिँड्ने व्यक्ति सफल हुने बताए । मार्गनिर्देशनमा नेशनल प्याप्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काले अक्षराङ्क प्रणालीका कारण नपढे पनि उत्तीर्ण भइन्छ भन्ने विद्यार्थी र अभिभावक अझै भ्रममा रहेको बताए । उनले यस्ता भ्रममा नपरी सिकाइलाई मजबुद बनाउँदै लैजान विद्यार्थीलाई आग्रह गरे । कार्यक्रममा पूर्व परीक्षा नियन्त्रक तथा उपसचिव अर्जुनबहादुर रायमाझी, नेशनल प्याप्सनका केन्द्रीय सदस्य जिबि खड्कालगायतले कोभिडका कारण बिग्रिँदै गएको पढाइको पद्धतिलाई विद्यालय, अभिभावक तथा विद्यार्थी सबैले सुधारेर लैजानुपर्नेमा जोड दिए । रासस

सिजी यूट्युब च्यानलमा ‘मनका कुरा’ प्रस्तुत गर्दै बसन्त चौधरी

काठमाडौं । उद्यमी तथा साहित्यकार बसन्त चौधरीले सिजी यूट्युब च्यानलमा मनका कुरा प्रस्तुत गर्ने भएका छन् । चौधरीले पुस ६ गतेदेखि हरेक शुक्रबार साँझ ८ बजे ’मनका कुरा विथ बसन्त चौधरी’ नामक कार्यक्रम नियमित रुपमा प्रस्तुत गर्ने भएका हुन् । सिजी इन्टरटेनमेन्टले आफ्नो स्थापनाको १३ वर्षपछि पुनः सक्रिय रूपमा कार्यक्रमहरू प्रस्तुत गर्ने योजना अनुसार अब आफ्नै यूट्युब च्यानल शुरू गर्न लागेको हो । विभिन्न गीत, छोटा चलचित्र तथा कथानक चलचित्र भिसा गर्ल’ उत्पादन र प्रसारण गरिसकेको सिजी इन्टरटेनमेन्टले बिहीबार पत्रकार सम्मेलन मार्फत सो जानकारी गराएको हो । वसन्त चौधरीले सञ्चालन गर्ने कार्यक्रममा विभिन्न क्षेत्रका चर्चित व्यक्तिहरूसँगको अन्तरङ कुराकानी प्रस्तुत हुनेछ । यही २०२४ को जनवरीदेखि सिजी इन्टरटेनमेन्टले आफ्ना कार्यक्रमहरूलाई अझ विस्तारित गर्ने क्रममा श्रव्य-दृश्यका अन्य सामग्रीहरू पनि तयार गर्ने योजनामा रहेको छ । यस्ता कार्यक्रमहरू उत्पादन गर्नका लागि सिजी इन्टरटेनमेन्टले आफ्नो छुट्टै स्टुडियोको स्थापना समेत गरिसकेको छ । चलचित्र निर्माण, लघु चलचित्र, स्ट्याण्ड-अप कमेडी, सांगितिक कार्यक्रम तथा म्यूजिक भिडियो आदि जस्ता स्तरीय कार्यक्रमहरूको निर्माण तथा नयाँ प्रतिभाहरूलाई प्रोत्साहित गर्ने नीति अनुरूप सिजी इन्टरटेनमेन्टको यूट्युब च्यानल प्रभावकारी रूपमा नियमित प्रसारण हुने समेत जानकारी गराइएको छ ।