विकासन्युज

पुर्वाधार निर्माण सम्पन्न गर्न संकटकाल घोषणा गर्छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संकटकाल घोषणा गरेर भएपनि पुर्वाधार निर्माण सम्पन्न गर्ने बताएका छन् । आफू प्रधानमन्त्री भएको वर्ष पूरा भएको अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पुर्वाधार निर्माण सम्पन्न गर्न आवश्यक परे संकटकाल घोषणा गर्ने बताए । साथै, पुर्वाधारण निर्माणका लागि दुई सिफ्टमा काम गर्ने परिपाटीको विकास गर्ने उनको भनाइ छ । एक वर्षअघि ३ महिनामात्रै धान्ने विदेशी मुद्रा हाल इतिहासकै उच्च रहेको उनको भनाइ छ । साथै, सधैं घाटामा जाने सार्वजनिक संस्थान नाफामा जान लागेको उनले बताए । यही साता प्रधानमन्त्री कार्यालयको संरचना परिवर्तन गर्ने उनले बताए ।

समाजमा चारैतिर हिनतावोधको आगो लगाइरहेको देखेको छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले नेपाली समाजमा चारैतिर हिनतावोधको आगो लगाइरहेको देखेको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले आज देशबासीका नाममा सम्बोधन गर्दै केही व्यक्तिहरुले सो हिनताबोधलाई समेत मलजल गर्ने बताए । ‘अहिले नेपाली समाजमा चारैतिर हिनतावोधको आगो लगाइरहेको देखेको छु । एकथरीले त मलजल गर्न खोजिरहेका छन्’, उनले भने ।

जुम्लामा हवाई सेवाको टिकट व्यवस्थित गरिँदै

जुम्ला । हिमाली जिल्ला जुम्लामा हवाई सेवाका लागि टिकट व्यवस्थित गरिने भएको छ । स्थानीय प्रशासनको आयोजनामा जनप्रतिनिधि, एयरलाइन्सका प्रतिनिधि, नागरिक समाज, मानव अधिकार आयोग र पत्रकार सहभागी बैठकमा विमानस्थलमा हरेक वायुसेवा कम्पनीले यात्रुको नाम लेखेर पारदर्शिता गराउनुपर्ने र भोलिपल्टको उडानको टिकट अघिल्लै दिन वितरण गर्नुपर्ने निर्णय भएको नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालयका प्रमुख सन्तोष अधिकारीले जानकारी दिए। वायुसेवा कम्पनीले दश सिट बिरामी, अशक्त, सुरक्षाकर्मी र अन्य आकस्मिक काम परेका व्यक्तिका लागि सिट सुरक्षित गर्ने भएको छ । सीता एयरलाइन्सको हकमा भने सात सिट सर्वसाधारणका लागि एक दिन अगावै वितरण हुने प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताए । सर्वसाधारण नागरिक र आन्तरिक पर्यटकका लागिसमेत टिकट पाउन अब सहज हुने विश्वास गरिएको प्रजिअ घिमिरेको भनाइ थियो । नागरिक समाजका अध्यक्ष राजबहादुर महतले कुनै पनि हालतमा विमानस्थलको द्वारबाहिर कार्यालय खोल्नुपर्ने र टिकट वितरणमा पारदर्शिता हुनुपर्ने बताए। हवाई उडान क्षेत्रको टिकट सर्वसाधारणको पहुँचसम्म पुग्नुपर्ने आवश्यकताको विषय हो । पहिलो चरणमा जुम्लामा हुने उडानमा टिकट प्रणाली व्यवस्थापन गरी कार्यान्वयमा ल्याउनुपर्ने जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यको भनाइ थियो । लामो समयदेखि जहाजको टिकट वितरण सहज नहुँदा यहाँका नागरिकले सास्ती खेपिरहेको स्थानीय पत्रकार पूर्णप्रसाद चौलागाईले बताए । नेपालगञ्जदेखि जुम्लासम्म हप्ताको एकपटक नेपाल वायुसेवाको एयरलाइन्स र नियमित रुपमा समिट एयरले उडान गर्दै आएका छन् । सीता र तारा एयरले समेत जुम्लाका लागि उडान भर्दै आएका छन्  । रासस

बजेट दुरुपयोगको बेथिति अन्त्य गर्दैछौं : अर्थमन्त्री

चितवन । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट दुरुपयोगको बेथिति अन्त्य हुने बताएका छन् । १७ औं चितवन हात्ती तथा पर्यटन महोत्सवको उद्घाटन गर्दै उनले ३ करोडभन्दा कमको आयोजना केन्द्रले अगाडि नबढाउने, १ करोडभन्दा कमको आयोजना प्रदेशले नहाल्ने र १ करोडभन्दा तलको आयोजना स्थानीय सरकारले नै गर्नेगरी कार्यविधि आईसकेकाले अब बेथिति नहुने बताएका हुन् । राष्ट्रिय गौरवको आयोजनाबाहेक चार गुणाभन्दा बढी भुक्तानी नगर्ने निर्णय भएको उनले बताएका छन् । अर्को बर्षबाट बहुवर्षे आयोजनामा बजेट नराख्ने र ठेकदारले दाबी गर्ने परम्पराको अन्त्य हुने उनको भनाई छ । ‘जति बजेट आवश्यक हो, त्यो मन्त्रालयले माग गर्ने व्यवस्था हुँदैछ । यसले आन्तरिक बजेटमा अनुशासन, बेथितिको अन्त्य हुँदैछ’, उनले भने । कार्यक्रममा मन्त्री डा. महतले चितवन गतिशील जिल्ला भएकाले यहाँका आदिवासी थारुहरुको यो जिल्लाको संस्कृति, सभ्यता, भाषा र रितिरिवाज संरक्षण गर्न तथा संसारलाई चिनाउन ठूलो भूमिका रहेको बताए । उनले ‘संसारभरिका पर्यटकका लागि यहाँका वन्यजन्तु, थारुहरुको संस्कृति र पम्परा यहाँको आकर्षण बनेको र उनीहरुको संरक्षणमा सरकार कटिबद्ध रहेको बताए । उनले देशभरिकै विभिन्न स्थानबाट बसाइसराइ गरेर चितवनमा बसोबास गरेका विभिन्न पृष्ठभूमिका नागरिक समुदायले यहाँको विकासमा महत्वुपूर्ण भूमिका खेलेको बताए । अहिले आर्थिक सूचकहरु विस्तारै सकरात्मक हुँदै गएको बताउँदै उनले अहिलेसम्मकै बढी विदेशी पर्यटक आगमन भएको कुरा कार्यक्रममा राखेका छन् । आन्तरिक पर्यटक पनि बढेको र यसले सौराहको पर्यटन, व्यवसाय र रोजगारी वृद्धि हुने उनको भनाई छ । उनले भने, ‘सेयर बजार उकालो लागेको छ, जग्गा कारोबारमा आएको शिथिलता पनि घट्दैछ । विदेशबाट आएको विप्रेषण पनि बढिरहेको छ, ब्याजदर कम हुँदै गएको छ, ऋणीलाई चैतसम्म भाका दिइएकाले उनीहरुलाई पनि राहत पुग्नेछ । बैंकबाट कर्जा पनि विस्तारै बढिरहेको छ । मूल्यवृद्धि साढे ५ प्रतिशतमा झरेको छ । यसले बिजनेश व्यापारको लागत कम गर्नेछ ।’ तथ्यांकमा अर्थतन्त्र सकारात्मक बाटोमा गइरहेकाले अवसरलाई उपयोग गर्नुपर्छ भन्ने भाष्य अगाडि बढाउन जरुरी रहेको उनको भनाई थियो । नेपालको जलविद्युत, कृषि ब्यापार, पर्यटन र सूचना प्रविधिले नेपालको अर्थतन्त्रलाई अर्को तहमा पुर्याउने बताए ।

सुपरमाई हाइड्रोको उत्पादन बन्द, दैनिक ५ लाख घाटा

काठमाडौं । इलाममा सञ्चालित सुपरमाई हाइड्रोपावरको उत्पादन स्थानीयद्वारा बन्द गरिएको छ । हाइड्रोले छोड्नुपर्ने जति पानी खोलामा नछोडेको र स्थानीयको माग सम्बोधन नगरेको भन्दै स्थानीयवासीले सोमबार रातिदेखि उत्पादन बन्द गराएका हुन् । इलाम नगरपालिका र माईजोगमाई गाउँपालिकाबीचको माईखोलामा हाइड्रोपावर सञ्चालित छ । स्थानीयले खोलाको पानी हाइड्रोमा जान नदिई बगरमा पानी कटाइदिएको स्थानीय हरि भण्डारीले जानकारी दिए । सो हाइड्रोपावरले माईजोगमाई–५ सोताङमा ३० घण्टा सडक मर्मतका लागि स्काभेटर उपलब्ध गराउने भन्दै स्थानीयलाई पटकपटक झुक्याएका कारण हाइड्रोको उत्पादन बन्द गर्नुपरेको उनले बताए । ‘खोलामा छोड्नुपर्ने २० प्रतिशत पानीसमेत उहाँहरूले छोड्नु भएको छैन,’ उनले भने । सुरुमा स्थानीयवासीले माग गरेको ३० घण्टा सडक मर्मतका लागि स्काभेटर दिने भनिएको र वडाबाट सिफारिस लिएर आउन आग्रह भएको थियो । माईजोगमाई गाउँपालिका–५ वडा कार्यालयको सिफारिससहित जाँदासमेत स्काभेटर उपलब्ध नगराएपछि उत्पादन बन्द गराउनु परेको बताइएको छ । स्थानीयवासीले सोमबार रातिदेखि नै जाग्राममा बसेर उत्पादन बन्द गराएका हुन् । सबै पानी खोलातर्फ लगाइदिएपछि उत्पादन पूर्ण रूपमा बन्द भएको छ । माग पूरा नभएसम्म आन्दोलन नरोकिने स्थानीयको भनाइ छ । हाइड्रो सञ्चालकले स्थानीयका माग पूरा नगर्ने, पूरा गर्ने भनेर झुक्याउने गरेपछि उत्पादन बन्द गरिदिएको स्थानीयको भनाइ छ । सोमबार राति ११ बजेदेखि नै हाइड्रोतर्फ गएको पानी खोलातर्फ कटाइदिएको जनाइएको छ । हाइड्रोका प्रमुख कार्यकारी अधिकृत दिनेश बर्तौलाले स्थानीयका माग पूरा गर्ने भन्दाभन्दै उत्पादन बन्द गरिदिएको बताए । उनले हाइड्रोको गेटसमेत बन्द गरेको जानकारी दिए । स्थानीयवासीले पटकपटक माग बढाउने गरेको उहाँको भनाइ छ । पछिल्लो समय शेयर लगानीमार्फत ५० हजार बढी सञ्चालक रहेको हाइड्रोको एकल निर्णय गर्न नपाइने भएकाले माग पूरा गर्न समय लागेको हाइड्रोले जनाएको छ । उत्पादन बन्द भएपछि सो हाइड्रोले दैनिक पाँच लाख बढी घाटा बेहोर्नुपर्छ । हाइड्रोपावर सात दशमलव आठ मेघावाट क्षमताको छ । रासस

स्वदेशमै फलाम उत्खनन् गर्दै सरकार

काठमाडौं । सरकारले छिमेकी मुलुकबाट आयत हुँदै आएको फलामलाई रोक्नका लागि नेपालमै फलाम उत्खनन्को कार्य अगाडि बढाएको छ । खानी तथा भूगर्भ विभागले गरेको अध्ययनका क्रममा गण्डकी प्रदेशको नवलपरासी (पूर्व) मा पर्ने हुप्सेकोट गाउँपालिका–५ को पश्चिम नाम्जाकोटदेखि पूर्वी धौवादी क्षेत्रमा फलाम रहेको तथ्य फेला पारेसँगै उत्खनन् कार्यलाई अगाडि बढाइएको हो । विभागले गरेको अध्ययनका क्रममा हुप्सेकोटको धौवादीको १० किलोमिटर क्षेत्रमा फलामको ठूलो खानी पत्ता लागेसँगै मन्त्रिपरिषद्को विसं २०७६ भदौ ४ गतेको निर्णयबाट ‘धौवादी फलाम कम्पनी लिमिटेड’ स्थापना गरी अध्ययनको कार्यलाई अगाडि बढाइएको हो । उक्त कम्पनी विसं २०७६ असोज ९ गते कम्पनी रजिष्टार कार्यालयमा ‘धौवादी फलाम कम्पनी लिमिटेड’को नाममा दर्ता भएर २०७६ फागुनदेखि सञ्चालित छ । कम्पनीले हाल फलामको गुणस्तर र भण्डारण क्षमताको अध्ययन गर्नुका साथै फलाम रहेको क्षेत्रमा भौगर्भिक अध्ययन, ड्रिलिङ कार्य, रसायनिक परीक्षण र फलामको धाउ कित्ताकाट तथा नक्शाङ्कन सम्पन्न गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) डा जनकबहादुर चन्दले जानकारी दिए । ‘सीमित स्रोतसाधन र जनशक्तिबाट सञ्चालित धौवादी कम्पनीले भौगर्भिक अध्ययन, ड्रिलिङ, रासायनिक परीक्षण गर्नुका साथै आर्थिक र व्यावसायिक सम्भाव्यता अध्ययनसमेत गरिरहेको छ’, उनले भने । कम्पनीले उद्योगको लागि पूर्वी नवलपरासीको कावासोती र देवचुली नगरपालिकाको लोकाहा क्षेत्रमा जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढाइसकिएको चन्दले बताए । कूल ४१ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको धौवादी फलाम खानीबाट निकाल्न सकिने परिणाम र गुणस्तरका बारेमा सरकारले यसअघि चीनको सिचुआन इन्स्टिच्यूट अफ मेटालोजिकल जियोलोजी एन्ड एक्स्प्लोरेसन छेन्दुमा पाँच टन फलाम परीक्षणका लागि पठाइसकेको उनले जानकारी दिए । चिनियाँ प्रयोगशालाले उक्त खानीमा औद्योगिक उत्पादन गर्न सकिने फलाम रहेको जानकारी गराएको थियो । कम्पनीले यहाँको प्रस्तावित औद्योगिक क्षेत्र र  प्रशोधन क्षेत्रकोसमेत अध्ययन गरिएको छ भने खानी पहुँच सडक मार्ग निर्माण र विद्युत्को कामलाई समेत अगाडि बढाइसकेको छ । कम्पनीले नेपालमै पहिलो पटक धातुजन्य पदार्थको लागि सात स्थानमा एक हजार एक सय ६४ मिटर गहिराइसम्म ड्रिलिङ कार्य गरी फलामको भण्डारको प्रमाणीकरण सम्पन्न गरेको डा चन्दले बताए । उनका अनुसार कम्पनीले व्यावसायिक रुपमा आर्थिक दृष्टिकोणले सम्भाव्य छ की छैन भन्ने बारेमा अध्ययन गरिरहेको छ । उत्खनन्का लागि लाग्ने खर्चसम्बन्धी अध्ययन भइसकेको भन्दै चन्दले कम्पनीले गरेको अध्ययनको प्रतिवेदन अन्तिम चरणमा पुगेको बताए । उनका अनुसार अहिले फलाम छिमेकीमूलुक भारतबाट आयात भइरहेको छ । धौवादी क्षेत्रमा फलाम उत्पादन भए २० देखि २५ प्रतिशत व्यापार घाटा प्रतिस्थापन गर्न सकिने कम्पनीले जनाएको छ । उक्त क्षेत्रमा नौ करोड ९० लाख टन फलाम भए पनि नौ करोड ६० लाख टनमात्र उत्खनन् गर्न सकिने डा चन्दको भनाइ थियो । कम्पनीका अध्यक्ष एवम् खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले खानी विभागले विसं २०६८ देखि नै फलाम खानीको अध्ययन गर्दै आएको बताए । ‘नेपालमा रहेको फलाम खानीबाट फलाम उत्पादन गरी बिक्रीवितरण गर्न सके मुलुकको अर्थतन्त्रमा समेत टेवा पुग्थ्यो’, उनले भने । महानिर्देशक घिमिरेले खानी तथा भूगर्भ विभागले देशभरका साना तथा ठूला खानीको अध्ययन अनुसन्धान गर्दै आएको बताए । उनका अनुसार विभागले हाल पूर्वी रुकुमको झुलावाङमा फलाम उत्खनन्को काम गर्दै आएको छ । कम्पनीले धौवादी फलाम कम्पनीबाट अनुसन्धान गरेको सम्भाव्यता अध्ययन प्रतिवेदन सकारात्मक आउने घिमिरेको भनाइ थियो । उनका अनुसार धौवादी फलाम कम्पनी सञ्चालनमा आएमा वार्षिक दुई हजार व्यक्तिले प्रत्यक्षे रोजगारी पाउनेछन् । सो कम्पनीबाट वार्षिक दुई खर्ब बराबरको फलाम उत्पादन हुने हुँदा व्यापार घाटामासमेत कमी आउने अपेक्षा गरिएको छ । कम्पनी सञ्चालनमा आउँदा व्यापारघाटामा कमी, रोजगारी सिर्जना, फलामजन्य कच्चा पदार्थको आयतमा कमी, पूर्वाधार औद्योगिक विकासमा टेवा पुग्ने विश्वास सरकारले लिएको छ । त्यस्तै, निर्माणमुखी सामग्रीको अभावलाई उच्च गुणस्तरको गिट्टीले परिपूर्ति गर्ने, विभिन्न देशमा परीक्षणमा रहेको ‘ग्रिन इनर्जी हाइड्रो’ बाट कोइलाजस्ता बढी कार्बन उत्सर्जन गर्ने तेलजन्य पदार्थलाई भविष्यमा विस्थापित गर्नसक्ने लक्ष्य लिइएको छ । रासस

नेपाल क्लियरिङ हाउसद्वारा मुक्तिनाथ विकास बैंक सम्मानित

काठमाडौं । नेपाल क्लियरिङ हाउसले मुक्तिनाथ विकास बैंकलाई सम्मान गरेको छ । नेपाल क्लियरिङ हाउसले आफ्नो  १५औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको कार्यक्रममा मुक्तिनाथ विकास बैंकलाई विकास बैंक समूहमा सर्वाधिक विद्युतिय कारोवार गर्ने विधाबाट सम्मनित गरेको छ । काठमाडौंमा भएको उक्त कार्यक्रममाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले सो पुरस्कार ग्रहण गरेका थिए । साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटियम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटर्वक भिसा नेटर्वकमा आवद्ध अन्य जुन सुकै बैंकको एटियम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

रमेश हमालको २ वर्षे कार्यकाल: लगानीकर्ता खुसी, स्वार्थ समूहबाट आलोचित

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालको कार्यकाल आगामी पुस २० गते सकिँदैछ । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेका हमाल आफ्नो २ वर्षे कार्यकाल सकेर पुस २० गते बोर्डबाट बाहिरिँदैछन् । तत्कालीन अध्यक्ष भिष्मराज ढुंगाना सर्वाेत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएपछि सरकारले निलम्बन गरेको थियो । उनको बाँकी रहेको कार्यकाल पुरा गर्न हमाललाई बोर्डको अध्यक्षमा नियुक्त गरिएको थियो । अहिले पनि दोहोरिने इच्छा रहेको बुझिएको छ । यद्यपि, हमालले भने यो विषयमा आफ्नो औपचारिक धारणा राखिसकेका छैनन् । छोटो अवधिका लागि अध्यक्ष बनेका हमालले यो अवधिमा धेरै काम गरेर देखाए भने उनका केही प्रयास असफल भए। विभिन्न स्वार्थ समूहकाे चेपुवामा परेका हमालको आलोचना पनि प्रशस्त भयो। तर, सेयर लगानीकर्ता भने उनको प्रशंसा नै गर्छन् । लगानीकर्ता राजु पौडेल हमालको कार्यकाल सेयर बजारका लागि उत्साहजनक रहेको बताउँछन् । पुराना ब्रोकर कम्पनीको सिण्डिकेट तोडेर नयाँ ब्रोकर कम्पनीलाई लाइसेन्स दिँदा लगानीकर्ताहरूलाई फाइदा भएको उनको भनाइ छ । बुक बिल्डिङ विधिमार्फत् आईपीओ जारी गर्न लगानीकर्ताहरूले लामो समयदेखि माग गर्दै आएकोमा अध्यक्ष हमालले त्यो पुरा गरेर राम्रो कामको सुरुवात गरेको उनको भनाइ छ । हमालले नयाँ ब्रोकर थपेर पुराना ५० वटा ब्रोकरको सिण्डिकेट तोड्न सफल भए । जुन सेयर लगानीकर्ताहरूका लागि सबैभन्दा ठूलो उपलब्धि हो । बैंकहरूले सिआश्वा शुल्क बढी भएको भनेर आलोचना पनि हुने गरेको थियो । त्यसमा हमालले हस्तक्षेप गरे र  शुल्क पनि घट्यो । यसमा अध्यक्ष हमालले लगानीकर्ताबाट स्यावासी पाए । कुनै पनि बैंक तथा वित्तीय संस्था मर्जरमा जाँदा लामो समय कारोबार रोक्का हुन्थ्यो, लगानीकर्ताहरू खरिदबिक्री गर्नबाट बञ्चित हुन्थे, यी सबै प्रवृत्तिलाई अन्त्य गर्न अध्यक्ष हमाल केही हदसम्म सफल पनि बने । उनले गरेको अर्को महत्वपूर्ण काम भनेको सर्वाेत्तम सिमेन्टको आईपीओ प्रक्रियालाई अगाडि बढाए । त्यही बुक बिल्डिङका कारण यसअघिका अध्यक्ष भीष्मराज ढुंगाना र नेप्सेका सीईओ चन्द्रसिंह साउँदको जागिर चैट भएको थियो । तर, उनले सो विषयलाई सहज रूपमा अगाडि बढाए । लगानीकर्ता पौडेलले संस्थापक सेयरको लकिङ अवधि खुल्नुअघि ३० दिन अगाडि नै जानकारी दिनु पर्ने व्यवस्था लागू गरेको भन्दै अध्यक्ष हमालको प्रसंशा गरे । ‘कतिपयलाई लकिङ पिरियड कहिले खुल्छ भनेर थाहा हुँदैन, प्रमोटरले सेयरको सप्लाइ दिने र नयाँ लगानीकर्ताहरू फस्ने सम्भावना हुन्छ, जस्तो शिवम्, माउन्टेन इनर्जीमा धेरै लगानीकर्ता फसे, त्यसैले यो पहल पनि राम्रो हो,’ उनले भने । उनका अनुसार नेपाल स्टक एक्सचेञ्जको सेवा गए जुग्रेको छ । हालै मात्र सिस्टम ढिला चलेर साढे ११ बजेपछि मात्रै बजार खुलेको थियो । नेप्सेले गरिरहेको मनोपोलीलाई तोडेर नेपालको पुँजी बजार अन्तर्राष्ट्रिय बजारमा पुर्याउन नयाँ स्टक एक्सचेञ्ज ल्याउन अध्यक्ष हमालले पहल गरे । नयाँ स्टक एक्स्चेञ्जको लाइसेन्स हात पार्न ठूला व्यवसायीहरु  प्रतिस्पर्धामा आए । लाइसेन्स कसले हात पार्ने भन्ने विषयमा ठूलो शक्ति संघर्ष भयो । यो विषय मन्त्रिपरिषदमा मात्र होइन, संसद र अदालतसम्म पुग्यो । सबै निकायबाट सहमति लिएर लाइसेन्स दिने हमालको प्रयास अझैसम्म सफल भएको छैन । धितोपत्र बोर्डका एक कार्यकारी निर्देशकले हमालले दुई वर्षको अवधिमा धेरै काम गरेको बताए । ती कर्मचारीका अनुसार हमालले व्यक्तिगतभन्दा पनि संस्थागत स्वार्थका लागि धेरै काम गरेका छन् । लामो समयदेखि ब्रोकर संख्या थप्नु पर्ने र बैंकहरूले पनि ब्रोकरको लाइसेन्स पाउनु पर्ने माग उठ्दै आएको थियो । यसअघिका अध्यक्षहरूले सो कार्य गर्न सकेका थिएनन् । अध्यक्ष हमालको कार्यकालमा नयाँ ब्रोकरको संख्या थपियो । साथै, प्रतिस्पर्धात्मक माध्यमबाट जसले पनि ब्रोकर कम्पनी सञ्चालन गर्न सक्छ भन्ने वातावरण बनेको छ । यसले पारदर्शीता कायम भएको ती कर्मचारीको बुझाइ छ । ‘उहाँको कार्यकालमा प्राइभेट इक्विटी भेन्चर क्यापिटल सफलतापूर्वक कार्यान्वयनमा आएको छ, बुक बिल्डिङ्ग विधिबाट आईपीओ निष्काशन गर्न अनुमति छिटाे दिने प्रक्रियामा ब्रेक थ्रु भयो, प्रतिस्पर्धाको माध्यमबाट नयाँ ब्रोकर कम्पनीहरूले लाइसेन्स पाए, व्यक्तिगत तथा संस्थागत, बैंकले पनि सहायक कम्पनीकारूपमा ब्रोकर कम्पनीको लाइसेन्स पाए,’ ती कर्मचारीले भने । ब्रोकर कम्पनीले शाखा विस्तार गर्दा बोर्डको स्वीकृति लिनु पर्ने व्यवस्था हटाएर प्रक्रिया पुर्याउने कम्पनीले ब्रोकर शाखा थप्न पाउने व्यवस्था उनकै सक्रियताबाट भयो । प्रक्रिया पुर्याएर बोर्डमा आवेदन दिने सबै कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिने काम उनकै कार्यकालमा भएको ती कर्मचारीको भनाइ छ । जबकी आईपीओ निष्कानमा उनको कार्यकालमा धेरै कम्पनीले निष्काशन गरेर ऐतिहासिक रकेर्ड नै ब्रेक भएको उनको दाबी छ । तर, धमाधम आईपीओ निष्कानशका लागि अनुमति दिँदा सप्लाइ बढेका कारण पछिल्लो समय बोर्डले स्वीकृत प्रक्रियामा ढिलासुस्ति गरेको उनले बताए । ती कर्मचारीका अनुसार हमालले २ वर्षमा थुप्रै काम गरेपनि कार्यकाल भने विवादरहित भने बन्न सकेन । तर, काम गर्दै जाँदा सामान्य विवाद हुनु स्वभाविक हुने उनी बताउँछन् । ती कर्मचारीका अनुसार हमालसँग काम गर्न पनि सहज भएको अनुभव सुनाए । ‘उहाँमा सकेसम्म छिटो काम सक्नुपर्छ भन्ने सोच छ, निजी क्षेत्रबाट आउनु भएकाले काम नरोकेर फटाफट गर्नुपर्छ,’ उनले भने, ‘उहाँले कर्मचारीहरुको भत्ता बढाउनु भयो, पहिलाका अध्यक्षहरुले बढाउन नसकेको भत्ता उहाँले बढाउनु भयो, ४० प्रतिशतसम्म भत्ता वृद्धि भयो, कर्मचारीले पाउने तलब भने नेपाल सरकारले तोके सरह नै पाउने हो ।’ उनको कार्यकालमा कम्पनी तथा व्यक्तिलाई कारवाही पनि बढे । सूचीकृत कम्पनी, ब्रोकर कम्पनी लगायतलाई कारवाही भएको छ । इन्साइडर ट्रेडिङ गर्नेहरू पहिलाे पटक कारवाहीमा परे । यस्ता काराेबारी विरूद्ध उनको पालामा मुद्दा दायर भएको छ । हमालले आफ्नो कार्यकालमा एसएमईज र नयाँ स्टक एक्सचेञ्ज सञ्चालनमा ल्याउन खोजेका थिए । तर, त्यो पुरा हुन सकेन । कहाँ चुके हमाल ? हमालले धेरै कामहरूमा सफलता प्राप्त गरेपनि केही काममा भने उनी चुकेका छन् । सेयर बजार प्यानिक तथा चरम बियरिसबाट गुज्रिरहेको बेला धमाधम प्रिमियममा आईपीओ निष्काशन गर्न अनुमति दिएर ध्वस्त पारेको आरोप लगानीकर्ता पौडेलले लगाए । ‘बजार बुलिसमा भएको भए सप्लाई पचाउँथ्यो तर, बियरिसमा धेरै आईपीओ आए, जलविद्युत कम्पनीले धमाधम हकप्रद सेयरको अनुमति पाए, फण्डामेन्टल कमजोर भएका कम्पनी रिपब्लिक मिडिया, सोना कम्पनी, रेटिङमा नै चलखेल गरेको घोराही सिमेन्टमा बढी चलखेल भएको कुरा पनि सुनियो तर त्यसमा उनले प्रष्ट पार्न सकेनन्, उनी मौन बसे,’ उनले भने । सर्वसाधारणको रकम फस्ने गरी कमजोर कम्पनीलाई समेत आईपीओ निष्काशन गर्न स्वीकृति दिएको आरोप ब्रोकर व्यवसायीको छ । ‘प्रिमियम थप्नका लागि नियमावली संशोधन गरे, नयाँ कम्पनी सूचीकृत हुँदा कडाइ हुनु पर्नेमा उल्टै भइरहेको नियम खुकुलो बनाए, उद्यमीका लागि त्यो ठिकै होला तर, पब्लिकको लागि गलत हो किनभने कर्पाेरेट गभर्नेन्स नभएका कम्पनीमा जोखिम र म्यानुपुलेसन गर्ने ठाउँ रहन्छ, त्यसमा ओभरलुक भयो, यो सबै बुकबिल्डिङ बाट गरेको भए राम्रो हुने थियो,’ ती ब्रोकरले भने । उनका अनुसार जलविद्युत कम्पनीको हकप्रद सेयरमा पनि नियन्त्रण हुन सकेन । नेगेटिभ नेटवर्थ भएका कम्पनी, जसमा लगानी गरेकै दिन भ्यालू घट्ने कम्पनीले पनि राइट सेयरको अनुमति पाएको उनको भनाइ छ । उनका अनुसार नेप्सेको प्रतिस्पर्धी बनाउन नयाँ स्टक ल्याउने तयारी गरे । तर, नाफा कमाइरहेको संस्थालाई निजीकरण गरेर नयाँ स्टक ल्याउने तयारी गरेको भए राम्रो हुने उनको भनाइ छ । राज्यको सम्पत्ति जोगाउनु पनि नियामकको दायित्व हो । तर, त्यसलाई नजरअन्दाज गरेर सिधैं निजी कम्पनी ल्याउन तिर लागेको आरोप उनको छ । अर्का ब्रोकर व्यवसायीले उनको कार्यकाललाई बजार इन्डेक्ससँग जोडे । हमालको कार्यकालमा बजार इन्डेक्स घटेकोले उनको कार्यकाल सफल भएको मान्न नसकिने उनको बुझाइ छ । ‘इण्डेक्स राम्रो भएको भए उहाँले राम्रो काम गर्नु भयो भन्ने देखिन्थ्यो, उहाँको कार्यकालमा सेयरको सप्लाइ अत्यधिक बढ्यो, लगानीकर्ता जुनरूपमा बढाउनु पथ्र्याे त्यो भन्दा बढी सप्लाइको फ्लो बढ्यो, बजारलाई यो राम्रो होइन, बजारको इण्डेक्स खासै नबढेको हुँदा त्यहि अनुरुपमा उहाँको कार्यकाल लिने हो,’ ती ब्रोकर व्यवसायीले भने । उनका अनुसार हमालले बजार विस्तारमा भने प्रभावकारी काम गरे ।