हिमालयन हाइट होटलमा जुवातास खेलिरहेका दशजना पक्राउ
काठमाडौं । जुवा खेलिरहेको अवस्थामा प्रहरीले राजधानीबाट १० जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१३ तहाचलस्थित काठमाडौं महाराजगञ्ज बस्ने ३३ वर्षीय निर्मल पण्डितको भोवन हिमालयन हाइट होटलमा जुवातास खेलिरहेको अवस्थामा पण्डितसमेत १० जनालाई मङ्गलबार राति प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई रु ५५ हजार तीन सय, आठ हजार भारतीय मुद्रा र एक बुक ताससहित फेला पारी पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ । रासस
टेरामक्स खरिद प्रक्रियामा गडबढी देखियो, तत्काल अनुसन्धान गरियोस् : संसदीय समिति
काठमाडौं । सार्वजनिक लेखा समितिले टेरामक्स प्रविधि खरिदसँग सम्बन्धित सम्पूर्ण प्रक्रियाहरुलाई यथास्थितिमा राख्दै शीघ्र अनुसन्धानको निष्कर्षमा पुग्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । सार्वजनिक लेखा समितिको बुधवार बसेको बैठकले टेरामक्स खरिद प्रक्रियामा गड्बडी भएको १५ बुँदे निष्कर्ष निकाल्दै यसको अनुसन्धान प्रक्रियालाई निष्कर्षमा पुर्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको हो । समितिले यसको अनुसन्धानको प्रगति विवरण हरेक ३० दिनमा समितिलाई बुझाउन पनि भनेको छ । समितिले अधिकारको दुरुपयोग भएको देखिएमा र राज्यलाई हानी, नोक्सानी हुने गरी काम भएको पाइएमा सम्बन्धितलाई हदैसम्मको कारबाहीका लागि माग दाबीसहित कानून बमोजिम प्राथमिकताका साथ अभियोजन प्रक्रियामा लैजान आयोगलाई निर्देशन दिएको छ । समिति बैठकको निर्देशनबारे सभापति ऋषिकेश पोखरेलले भने ‘यससँग सम्बन्धित सम्पूर्ण प्रक्रियाहरुलाई हालमा यथास्थितिमा राख्दै उल्लेखित विषयहरुसहित यो प्रणाली खरिद गर्ने सम्बन्धमा हालसम्म सम्भावित कार्यहरुको सुक्ष्म विश्लेषण तथा अनुसन्धान गरी सैद्धान्तिक, नीतिगत र सर्वोच्चको परमादेशसहित उल्लंघन भएको यो समिति ठहर गर्दछ । र अनुसन्धान गरी शीघ्र निष्कर्षमा पुग्न र हरेक ३० दिनमा प्रगति विवरण समितिमा उपलब्ध गराउन । अधिकारको दुरुपयोग भएको देखिएमा, राज्यलाई हानि, नोक्सानी हुनेगरी कार्य गरे, गराइएको पाइएमा सम्बन्धितलाई हदैसम्मको कारबाहीका लागि माग दाबीसहित कानुन बमोजिम प्राथमिकताका साथ अभियोजन प्रक्रियामा लैजान समिति अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन गर्दछ ।’ समितिले टेरामक्स खरिद प्रक्रियामा शर्तहरु टेण्डरको दौरानमा पटक-पटक फेरिएको उल्लेख गरेको छ । तत्कालिन मन्त्रालयका सचिवालयका सदस्यहरु नै टेरामक्स प्रविधिको बजार व्यवस्थापक रहेको देखिएको समितिले निष्कर्ष निकालेको छ । त्यस्तै, लागत आधार बनाउने विज्ञ नै सप्लायर्ससँग सम्बन्धित रहेको, अल्जेरिया र इरानमा यही कम्पनीले यही प्रणाली न्युन मूल्यमा उपलब्ध गराएपनि नेपालमा भने त्यसको तुलना र बजार विश्लेषण नगरी प्रक्रिया अगाडी बढाएकोप्रति आशंका व्यक्त गरेको छ । अख्तियारको पत्रपछि ठेक्का व्यवस्थापनमा मिलेमतो भनि दूरसञ्चार प्राधिकरणले रद्द गरेको भएपनि पछि सर्वोच्चको फैसलापछि कुनै विश्लेषण नगरी ठेक्का बन्दोबस्त गरेको देखिएको पनि समितिको ठहर छ । त्यसैगरी, भुक्तानी स्थानीय मुद्रामा गर्नुपर्ने शर्त भएकोले विधि सफ्टवेयरको भुक्तानी स्थानीय मुद्रामा गर्दा कर छली हुनसक्ने समितिको अनुमान छ । स्थानीय मुद्रा डलरमा सटही गर्दा समयको परिवर्तन र बजार भाउमा फरक परी करिव ५० करोड रुपैयाँ नोक्सानी हुने देखिएको समिति सभापति पोखरेलको भनाई छ । उनकाअनुसार विमानस्थल भन्सार कार्यालयले आएका सामानहरुको प्रश्न उठाइ राजश्व अनुसन्धान र सम्पत्ति शुद्धिकरणलाई पत्राचार गरेको देखिएको र आयातित सामान भन्सारमा सम्बन्धित कम्पनीको भएपनि भन्सार छुटाउने काममा प्राधिकरणको सक्रियता रहेको भन्दै यसप्रति प्रश्न उब्जिएको छ । उनले विदेशी भुक्तानी दिनुपर्दा राष्ट्र बैंकको स्वीकृति अनिवार्य लिनुपर्ने व्यवस्था भएपनि नविल बैंकले गरेको भुक्तानीमा राष्ट्रबैंको स्वीकृति नदेखिएकोले यसको सबै प्रक्रिया रोक्नुपरेको उल्लेख गरे ।
सहकारीसँग १ करोड बढी घुस लिएको अभियोगमा प्रमुख प्रशासकीय अधिकृत पक्राउ
पर्वत । ठगीको आरोपमा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली कार्यालयबाटै पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयको टोलीले आज दिउँसो पराजुलीलाई कार्यालयबाटै पक्राउ गरेको हो । प्रमुख प्रशासकीय अधिकृत पराजुली कास्कीको सहकारी रजिस्ट्रारको कार्यालय पोखरामा सेवारत हुँदा सहकारीको रकम ठगी प्रकरणमा मुछिएका थिए । सहकारी रजिस्ट्रार रहेका बेला निजले मित्रमिलन बचत तथा ऋण सहकारीको कार्यक्षेत्र विस्तार गर्ने क्रममा घूस लिएको आरोप थियो । कास्की प्रहरीको अनुरोधमा पर्वत प्रहरीले निजलाई पक्राउ गरेर कास्की पठाएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले जानकारी दिए । तत्कालीन रजिस्ट्रार पराजुलीलाई रू एक करोड पाँच लाख घूस लिएको आरोप लागेको छ । रासस
युनाईटेड मोदी हाइड्रोपावरले हकप्रद सेयर जारी गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
काठमाडौं । युनाईटेड मोदी हाइड्रोपावरले हकप्रद सेयर जारी गर्ने भएको छ । उक्त सेयर निष्काशनको लागि हाइड्रोपावरले बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटललाई नियुक्त गरेको छ । बुधबार सिटिजन्स क्यापिटल र युनाईटेड मोदी हाइड्रोपावरबीच कमलादीमा हाइड्रोपावरको साविकको सेयरधनीहरुको लागि हकप्रद सेयर निष्काशन सम्बन्धी सम्झौता भएको हो । उक्त सम्झौतामा युनाईटेड मोदी हाइड्रोपावरका तर्फबाट अध्यक्ष नरेन्द्र बल्लभ पन्त तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे । सम्झौता अनुसार सिटिजन्स क्यापिटल मार्फत निकट भविष्यमा युनाईटेड मोदी हाइड्रोपावरको हकप्रद सेयर साधारणसभाबाट पारिद भए पश्चात निष्काशन हुनेछ । युनाईटेड मोदी हाइड्रोपावर अन्तर्गतको पर्वत जिल्लामा अवस्थित रहेको १० मेगावाट उत्पादन क्षमता रहेको ‘तल्लो मोदी – १ जलविद्युत आयोजना’ २०६९ मंसिर देखि नै संचालनमा आईसकेको छ ।
एकैदिन तीन कम्पनीको सेयर मूल्य समायोजन, कसको भाउ कति घट्यो ?
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा एकैदिन तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । बुधबार मात्रै हाथवे इन्भेष्टमेन्ट नेपाल, तारागाउँ रिजेन्सी होटल र फर्ष्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको हो । यी तीन वटै कम्पनीको बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । जसमध्ये हाथवेको १० प्रतिशत बोनस सेयरको लागि सेयर मूल्य समायोजन भएको हो । बुधबार प्रतिकित्ता ७९६.५० रुपैयाँमा अन्तिम कारोबार भएको कम्पनीको सेयर मूल्य घटेर ७२४.०९ रुपैयाँमा झरेको छ । यससँगै अबको कारोबारमा कम्पनीको सेयर प्रतिकित्ता ७२४.०९ रुपैयाँलाई आधार मानेर हुनेछ । त्यस्तै, तारागाउँ रिजेन्सीको पनि ४ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको छ । यससँगै कम्पनीको सेयर मूल्य घटेर प्रतिकित्ता ८३६.६३ रुपैयाँमा छ । जुन बुधबार प्रतिकित्ता ८७०.१० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । त्यसैगरी, फर्ष्ट माइक्रोफाइनान्सको पनि ७.५० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको छ । बुधबार प्रतिकित्ता ६६९ रुपैयाँमा अन्तिम कारोबार भएको संस्थाको सेयर मूल्य समायोजन भएर प्रतिकित्ता ६२२.३३ रुपैयाँमा झरेको हो ।
सिमेन्टमा भएको मूल्यवृद्धि खारेज गरी आम उपभोक्तालाई राहत दिन महासंघको माग
काठमाडौं । स्वतस्र्फूत रुपमा हुनुपर्ने मूल्यवृद्धिलाई बेवास्ता गरी खुल्ला बजार अर्थतन्त्रको सिद्धान्त विपरित कार्टेलिङ गरी हालै बजारमा सिमेन्टको भाउ बढाइएको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । अव्यवहारिक एवं अवैज्ञानिक ढंगले सिमेन्ट उद्योगीहरूले कार्टेलिङ गरी हालै प्रति बोरा १ सय मूल्यवृद्धि गरिनु कानून विपरितको दण्डनीय अपराध भएको महासंघका महासचिव रोशन दाहालद्धारा बुधवार जारी विज्ञप्तिमा उल्लेख छ । ‘विगतमा पनि कार्टेलिङ गरी पटक पटक भएका यस किसिमका मूल्यवृद्धिका कारण अन्ततः पूर्वाधार खर्च बढ्न गई नेपाल सरकारका सार्वजनिक निकायहरूलाई नै ठूलो आर्थिक बोझ थपिएको विदितै छ’, महासंघको विज्ञप्तिमा लेखिएको छ । म्याद थपमा देखिएको जटिलतासँगै हाल निर्माण व्यवसायीहरूको अरबौं भुक्तानी नहुँदा निर्माण उद्योग नै धराशायी भएको स्थितिमा सिमेण्टमा भएको मूल्यवृद्धि अविलम्ब खारेज गरी आम उपभोक्तालाई राहत दिन महासंघले पुनः नेपाल सरकारका सम्बन्धित् निकाय समक्ष जोडदार माग गरेको छ ।
थ्री स्टार हाइड्रोपावरको अध्यक्षमा उद्ववराज शिवाकोटी नियुक्त
काठमाडौं । थ्री स्टार हाइड्रोपावरको अध्यक्षमा उद्ववराज शिवाकोटी नियुक्त भएका छन् । पुस ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शिवाकोटीलाई सञ्चालक समितिको अध्यक्षको पदमा नियुक्त गरेको हो । कम्पनीका अनुसार थ्री स्टार हाइड्रोपावरको सञ्चालक समितिका अध्यक्ष कुमार खरेलले राजीनामा दिएसँगै कम्पनीले उक्त पदमा शिवाकोटीलाई नियुक्त गरेको हो ।
प्रिमियमबाट उठेको रकमले भवन निर्माण गर्छौं, कम्पनीलाई उचाइमा पुर्याउँछौं : सीईओ पौडेल
काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेलले प्रिमियमबाट उठेको रकम भवन निर्माणमा लगानी गर्ने बताएकी छिन् । बुधबार आईपीओ बाँडफाँट कार्यक्रममा बोल्दै सीईओ पौडेलले प्रिमियमबाट संकलन भएको रकम कम्पनीको भवन निर्माणमा लगानी गर्ने बताएकी हुन् । ‘प्रिमियमबाट उठेको रकम कम्पनीको भवनमा लगानी गर्छाैं या, त्यो भएन भने राम्रो कम्पनीमा लगानी गर्छौं,’ उनले भनिन् । हाल यस कम्पनीको रजिष्टर्ड (केन्द्रीय) कार्यालय काठमाडौंको नक्सालमा रहेको छ । कम्पनीले अंकित मूल्य १ सय रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा ३ करोड कित्ता सेयर सर्वसाधारण लगानीकर्तालाई बिक्री गरेको हो । जसबाट कम्पनीले ३ अर्ब १८ करोड रुपैयाँ प्रिमियम रकम संकलन गरेको हो । कम्पनीलाई जगबाटै बलियो बनाउने गरी काम गरिरहेको उनले बताइन् । साथै कम्पनीको व्यवसाय अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने योजना रहेको उनको भनाइ छ । ‘हिमालयन रिइन्स्योरेन्स पब्लिक कम्पनी बन्यो, अब कम्पनीलाई उचाइमा पुर्याउने उद्देश्य छ, आन्तरिक बजारमा व्यवसाय गरिरहेको छ, हाम्रो उद्देश्य आन्तरिक बजारमा मात्रै सीमित नभएर विदेशमा पनि काम गर्छाैं,’ उनले भनिन् । उनका अनुसार ३ वर्षको अवधिमा कम्पनीले २९ वटा अन्तर्राष्ट्रिय बजारमा काम गरिरहेका छ । नेपालको पहिलो रेटेड कम्पनी भएकाले अन्तर्राष्ट्रिय ब्राण्डेड कम्पनी बनाउने उनले बताइन् । तत्काल लगानीकर्तालाई लाभांश दिनेभन्दा पनि कम्पनीको उद्देश्य दीर्घकालसम्म टिकिरहने उनको भनाइ छ । ‘अन्तर्राष्ट्रिय बजारमा छाईरहेका छौं, अन्तर्राष्ट्रिय बजारमा नेपाल र हिमालयन रिइन्स्योरेन्सको नाम उचाईमा पुर्याउने योजना छ, ५० वटा देशका मार्केटले हामीलाई विश्वास गरेर अफर गरेका छन्, २९ वटा देशमा पुगिसकेका छौं,’ उनले भने, ‘रिइन्स्योरेन्सको व्यवसायमा सधैं राम्रो व्यापार हुँदैन, ननप्रोफिटेबल बिजनेश पनि लिनु पर्ने हुन्छ, त्यसमा अण्डरराइटिङ गाइडलाइन अनुरुप अघि बढ्नु पर्छ, पहिला आफू बलियो हुनुपर्छ, तुरुन्तै धेरै लाभांश दिने होइन, दीर्घकाल टिक्ने नाफायोग्य व्यवसाय गर्छाैं ।’ उनका अनुसार तत्काल फाइदा देखाएर लगानीकर्तालाई खुसी बनाउने भन्दा पनि दीर्घकालसम्म लगानीकर्तालाई टिकाउने उद्देश्य हो । सकेसम्म छिटो वार्षिक साधारणसभा गर्ने तयारी रहेको उनले बताइन् ।