विकासन्युज

६७ वटा नर्सिङ क्याम्पसले शिक्षामन्त्रीलाई बुझाए चाबी

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) बाट सम्बन्धन प्राप्त ६७ वटा शैक्षिक संस्थाले पढाइ सञ्चालन गर्न नसकिने भन्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईलाई चाबी बुझाएका छन्। आफूहरूले विसं २०५७ देखि प्रवीणता प्रमाणपत्र तहको नर्सिङ कार्यक्रम सञ्चालन गरिरहेका भए पनि चिकित्सा शिक्षा आयोगको असहयोगका कारण २०७८ सालदेखि भने नयाँ भर्ना अवरुद्ध भएको शिक्षालय सञ्चालकहरूले बताएका छन् । मन्त्री राईले भने आफ्नो प्रयासले मात्रै प्राविधिक शिक्षालय सञ्चालकको माग पूरा गर्न कठिन हुने बताए। यस विषयमा प्रधानमन्त्री, स्वास्थ्यमन्त्री लगायत सरोकारवाला निकायका अधिकारीसँग छलफल गरेर समस्या समाधानका लागि आफूले पहल गर्ने उनले बताए । यी शिक्षालयमा २०७७ सालमा भर्ना भएका विद्यार्थीको अन्तिम र वार्षिक परीक्षासमेत २०८० मङ्सिर २६ गते सम्पन्न भइसकेको छ । नयाँ विद्यार्थी नभएका कारण संस्था बन्द भएकोले चाबी मन्त्रीलाई बुझाइएको ती संस्थाको साझा संस्था फोरम फर हेल्थ एन्ड टेक्निकल साइन्सका महासचिव निर्मल सापकोटाले बताए । ती शिक्षालयका सम्पूर्ण शैक्षिक पूर्वाधार प्रयोगविहीन अवस्थामा पुगेको सापकोटाले बताए । सापकोटाका अनुसार हरेक शिक्षालयमा कार्यरत १५ जना नर्सिङ प्रशिक्षक १० जना प्रशासनिक कर्मचारी गरी देशभरमा एक हजार पाँच जना नर्सिङ प्रशिक्षक तथा ६७० जना प्रशासनिक कर्मचारीलाई बाध्यात्मक रूपमा बेतलबी बिदामा पठाइएको छ । नर्सिङ विषयमा विद्यार्थी भर्नासम्बन्धी निर्णय नहुने हो भने उनीहरुलाई सेवामा फर्काउन नसकिने सापकोटाले बताए । उनले भने, ‘नर्सिङ कार्यक्रम बन्द रहेकोले शिक्षण संस्थामा भएको करोडौँको लगानी धराशयी भएको छ । अर्कातर्फ यसै वर्ष मात्र स्टाफ नर्स विषय अध्ययन गर्न चाहने १२ हजार विद्यार्थीमध्ये १० हजारभन्दा बढी विद्यार्थी र अभिभावकले अध्ययनकै लागि बिदेसिनु वा मन फेरेर अर्को विषय अध्ययन गर्न बाध्य हुनु परेको अवस्था छ ।’ संसद्ले २०४९ सालमा निर्माण गरेको सिटिइभिटी ऐन, २०४९ ले यो विषयको अभिभावकत्व निर्वाह गर्ने जिम्मेवारी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को अध्यक्षको हैसियतले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रहने व्यवस्था छ । ‘मन्त्रीज्यूबाट बन्द भएको शिक्षण संस्थामा भर्ना खोली नर्सिङ शिक्षामा अध्ययनको अवसर, शिक्षक तथा कर्मचारीको रोजगारीको अवसर, शिक्षण संस्थाको आर्थिक लगानीको सुरक्षाको प्रत्याभूति हुने अपेक्षा हामीले राखेका छौँ,’ शिक्षण संस्थाको चाबी मन्त्रीलाई हस्तान्तरण गर्दै सापकोटाले भने । उनीहरूले बिहीबार नै आफूहरूको समस्या समाधानको पहल गरिदिन अनुरोध गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्लगायतका निकायलाई पनि ज्ञापनपत्र बुझाएका छन् । चिकित्सा शिक्षा ऐनमा भएको व्यवस्था अनुसार एक सय शैयाको अस्पताल हुने शैक्षिक संस्थालाई मात्रै नर्सिङ पढाइको अनुमति दिन सकिने भन्दै चिकित्सा शिक्षा आयोगले ती कलेजमा भर्नाको अनुमति नदिएको कलेज सञ्चालकहरूको भनाइ छ । गाेरखापत्रबाट ।

इलाममा ड्रागन फ्रुटको खेती विस्तार हुँदै

इलाम । पछिल्लो समय इलाममा ड्रागन फ्रुटको खेती विस्तार भएको छ । गत वर्ष शून्य दशमलव पाँच हेक्टर जमिनमा लगाइएकामा यस वर्ष १० हेक्टर जमिनमा विस्तार भएको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ । ज्ञान केन्द्रका प्रमुख टोनी बर्देवाका अनुसार गत वर्ष तीन मेट्रिक टन उत्पादन भएको ड्रागन फ्रुट यस वर्ष तीन दशमलव दुई मेट्रिक टन उत्पादन भएको हो । माईजोगमाई गाउँपालिकाको सोयाङ, नामसालिङ इलाम नगरपालिकाको गोलाखर्क, माईखोला, भञ्ज्याङ तथा चुलाचुली गाउँपालिकाको तल्लो भू–भागलगायत क्षेत्रमा उक्त खेती विस्तार हुँदै गएको बर्देवाले बताए । ‘नयाँ खेतीमा किसानको आकर्षणलाई प्रोत्साहन दिन ज्ञान केन्द्रले अनुदान सहयोग सुरु गरेको छ,’ उनले भने, ‘व्यावसायिक फलफूल बगैँचा स्थापना सहयोग कार्यक्रमअन्तर्गत अनुदान दिइएका छौँ ।’ माईजोगमाई –५ सोयाङका लक्ष्मण खत्रीले चार रोपनी क्षेत्रफलमा प्रतिपिलर चारवटा बिरुवाका दरले एक सय ५० पिलर लगाएका छन् । ‘भर्खर ३०–४० पिलरबाट मात्र फल उत्पादन सुरु हुँदैछ, वार्षिक ८० हजार आम्दानी छ’, उनले भने, ‘कुनै दुई वर्षका, कुनै तेस्रो वर्षका बिरुवामात्र छन्, चार वर्षको म्याचोर्ड भएपछि त एउटै पिलरले ४० केजीसम्म उत्पादन दिने रहेछ ।’ खत्रीले इलाम बजारमा प्रतिकेजी पाँच सयका दरले बिक्री गर्दै आएका छन्। ‘उत्पादन बढ्दै गएपछि अन्य जिल्लाका बजार खोज्नुपर्ला, अहिलेसम्मको चैँ यहीँबाट खपत भइरहेको छ,’ उनले भने । झापाको प्यारोडाइज एग्रोफार्मबाट बिरुवा मगाएर त्यहाँको परामर्शबमोजिम खत्रीले खेती सुरु गरेको आउँदो जेठमा चार वर्ष पुग्छ । ‘इलाममा ड्रागन फ्रुटको खेती सुरु गर्ने सायदै म नै पहिलो होला, विज्ञको सुझाव र काम गर्ने लगनशीलताले मलाई सफल भएँ जस्तो लाग्छ,’ उनले  भने, ‘यसले वैशाखदेखि सुर भएर कात्तिकसम्म फल दिन्छ । स्वादिलो तथा पोषिलो यो फलको यति बेला बजारमा राम्रै माग छ ।’ इलाम गोलाखर्कका अर्का किसान सन्देश खड्काले ड्रागन फ्रुटलाई सजावट तथा फल उत्पादन दुवै प्रयोजनका लागि प्रयोग गरिने बताए । यो फलको खेती पानी कम पर्ने ठाउँहरुमा एकदम राम्रो हुने गरेको उनले बताए । ‘विशेषगरी सुगर र कोलेस्ट्रोलका बिरामीका लागि यो हितकर छ । यसमा प्रोटिनको प्रशस्त मात्रा पाइन्छ, जसले गर्दा सुगर र कोलेस्ट्रोललाई नियन्त्रणमा राख्न धेरै मद्दत गर्दछ,’ किसान  खड्काले भने । चिकित्सकका अनुसार यो भिटामिन र मिनिरल्सको राम्रो स्रोत हो । यो एन्टिअक्सिडेन्टको राम्रो स्रोत भएकाले बाथरोगका बिरामीहरुलाई धेरै लाभदायक छ । त्यतिमात्र हैन यसले मुटु पनि स्वस्थ राख्दछ । ड्रागन फ्रुट थोरै मलिलो माटो र तापक्रममा धेरै भिन्नता भएको ठाउँमा पनि रोप्न सकिने किसान बताउँछन् । उष्ण क्षेत्र यो खेतीका लागि उत्तम मानिने किसान खत्रीले बताए । यदि धेरै घाम लाग्ने ठाउँ छभने छाया प्रदान गरी राम्रो उत्पादन लिन सकिने उनको भनाइ छ । ‘यसका लागि हल्का बलौटेदेखि दोमट माटो उपयुक्त हुन्छ । प्राङ्गारिक मल धेरै भएको र पानीको निकास राम्रो भएको ठाउँ राम्रो मानिन्छ । माटो मसिनो हुने गरेर जोतेर झारहरु सफा गरी प्राङ्गारिक मल आवश्यकताअनुसार हाली बिरुवा रोप्न सकिन्छ’, उनले भने । यसको बीउबाट बिरुवा बन्न धेरै समय लाग्ने र बीउबाट फलमा मात्र गुणमा परिवर्तन आउने हुँदा फल राम्रो लाग्दैन त्यसैले व्यावसायिक खेती गर्न बीउबाट उत्पादित बिरुवाले सम्भव नहुने उनको सुझाव छ । ड्रागन फ्रुट खेतीका लागि थोपा सिँचाइ प्रयोग गर्नु उत्तम हुने विज्ञ बताउँछन् । छ गाउँपालिका र चार नगरपालिका भएको इलामका सबै पालिकामा यो खेती विस्तार भइसकेको छैन । तर हावापानी र तापक्रम मिल्ने क्षेत्रका किसान यस खेतीतर्फ आकर्षित भएको ज्ञान केन्द्रले जनाएको छ । वार्षिक ठूलो परिमाणमा बाहिरबाट आयात हुने ड्रागन फ्रुट जिल्लाका विभिन्न स्थानमा व्यावसायिक खेती सुरु हुँदा अनुदानमार्फत प्रोत्साहन दिएको ज्ञान केन्द्रका प्रमुक बर्देवाले बताए। बजारको उचित व्यवस्था गरी  किसानलाई थप अनुदान प्रदान गरेर स्थानीय तहले समेत प्रोत्साहन दिन सके नयाँ खेतीका रुपमा यो फल इलाममा फस्टाउने सम्भावना रहेको उनको भनाइ छ । रासस

मुग्लिन पोखरा सडकखण्ड : जामुनेदेखि पोखरासम्म कालोपत्र तयारी

दमौली । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पश्चिम खण्ड तनहुँको जामुनेदेखि पोखरासम्ममा आगामी माघको तेस्रो सातादेखि कालोपत्र गर्न तयारी थालिएको छ । यसका लागि अहिले उक्त खण्डमा ‘बेस’ राख्ने काम भइरहेको मुग्लिन पोखरा सडक योजना पश्चिम खण्डका इन्जिनियर नारायणप्रसाद पौडेलले जानकारी दिए । केही समयदेखि निकै सुस्त काम भइरहेको यो खण्डमा अहिले कामको गतिले तीव्रता पाएको छ । हालसम्म यो खण्डको प्रगति १४ प्रतिशत मात्रै छ । सडक कालोपत्रका लागि करिब दुई किलोमिटर बेसको काम सकिएको पौडेलले बताए । उनले भने, ‘पुसको अन्तिम वा माघको सुरुदेखि कालोपत्र हुनेछ । त्यही अनुसार अहिले काम भइरहेको ।’ उनका अनुसार हाल चिनियाँ ५० र नेपाली ६० इन्जिनियर यो खण्डमा खटिएका छन् । त्यस्तै आयोजनास्थलमा चार सयभन्दा बढी नेपाली कामदार परिचालन गरिएको छ । सडक आयोजनासँग हाल २० किलोमिटर कालोपत्र गर्न आवश्यक सामग्री तयारी अवस्थामा रहेको जनाइएको छ । यो खण्डअन्तर्गत दुलेगौडा र मुख्य बजार क्षेत्रमा सडक ४६ मिटरको हुनेछ । जामुनेदेखि कुम्लेखोलामा १८ मिटर र बाँकी सडक २३ मिटरको कालोपत्र हुने जनाइएको छ । पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ । यो खण्डको ठेक्का सात अर्ब ४० करोड ४६ लाखमा लागेको थियो । पूर्वी खण्डमा भने काम तीव्र गतिमा अगाडि बढेको छ । आँबुखैरेनीदेखि जामुनेसम्मको पूर्वी खण्डमा करिब ४५ प्रतिशत काम सकिएको । पूर्वी खण्डमा १२.५ किलोमिटर एकतर्फी र दुई किलोमिटर दुईतर्फी कालोपत्र सकिएको छ । यसअघि एकतर्फी कालोपत्र सकिएको ठाउँमा दुईतर्फी रुपमा कालोपत्र गर्ने काम भइरहेको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । यसअघि आँबुखैरेनी गाउँपालिका–१ सत्रसयबाट सुरु गरेर मार्किचोकसम्म ३.५ र बन्दीपुर गाउँपालिका–१ नाहालदेखि छिर्कनेसम्म ५.५ किलोमिटर खण्ड एकतर्फी कालोपत्र भइसकेको छ । आँबुखैरेनीदेखि जामुनेसम्मको खण्डमा काम तीव्र गतिमा अगाडि बढेको उहाँको भनाइ छ । पूर्वी खण्डमा सडक फराकिलो बनाउने, पक्की पुल तथा कल्भर्ट निर्माणको कामले पनि गति लिएको छ । पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१.४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ । विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्क ९एडिबी०को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५/२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । ढाँचाअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ ।

कबुलियत वनमा लगाइएको अम्रिसो बेचेर तीन करोड बढी आम्दानी

मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को पहाडी क्षेत्रमा रहेका कबुलियत वनमा लगाइएको अम्रिसोबाट तीन करोडभन्दा बढी आम्दानी भएको छ । गत आर्थिक वर्षमा सो वनमा लगाइएको अम्रिसोबाट दुई सय ५१ मेट्रिक टन अम्रिसोे उत्पादन भएको थियो । यसबाट तीन करोड २६ लाख ३५ हजार आठ सय ५० आम्दानी भएको डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी हरिप्रसाद गौतमले जानकारी दिए । ‘डिभिजन वन कार्यालयले वनमा आश्रित घरपरिवारलाई आयमूलक पेसामा जोड्न पहाडी क्षेत्रमा अम्रिसो खेतीलाई प्रोत्साहन गर्दै आएको छ’, उनले भने, ‘यसै वर्ष ५५ हजार बोट अम्रिसोको बिरुवा पहाडी क्षेत्रमा वितरण गरी रोपिएको छ, यसले थप क्षेत्रफल बढ्ने र क्रमशः अम्रिसोबाट हुने आम्दानी बढाउँदै लैजाने छ ।’ अम्रिसो व्यापारीले खरिद गरी भारत, बङ्गलादेशसम्म निर्यात गर्ने गरेको सूचना अधिकारी गौतमले बताए । यसबाहेक स्थानीय बजार कावासोती, दलदले, नारायणगढ र बुटवलमा अम्रिसोको कुचो बिक्री हुने गरेको छ । पहाडी क्षेत्रको जीविकोपार्जनमा अम्रिसो वरदानजस्तै बनेको कबुलियत वन जिल्ला सुपरभाइजर तुलबहादुर रानाले बताए । उनका अनुसार जिल्लाको पहाडी क्षेत्रलाई चार भागमा विभाजन गरी यहाँ रहेका कबुलियत वनमा अम्रिसो खेती लगाउने गरिएको छ । यसअनुसार हुप्सेकोट गाउँपालिकाको राम्चे क्षेत्रमा १९ वन समूह छन् । यी वन समूहमा अम्रिसो खेती गर्ने घरधुरी सङ्ख्या एक सय ९० रहेको छ । बौदीकाली गाउँपालिकाको रुचाङ क्षेत्रका २५ वन समूहमा दुई सय २८ घरधुरी, बुलिङटार गाउँपालिका क्षेत्रका २५ समूहमा तीन सय २५ र हुप्सेकोट क्षेत्रका २५ समूहमा तीन सय २५ घरधुरी अम्रिसो खेतीमा आबद्ध छन् । ‘चार क्षेत्रमा गरी एक हजार ६८ घरधुरी कबुलियत वनमा आबद्ध भएर अम्रिसो खेती गर्दै आएका छन्’, उनले भने, ‘सामूहिक रूपमा अम्रिसो खेती गर्ने र आएको रकम प्रतिघर बाँड्ने गरिएको छ ।’ नवलपरासी (बर्दघाट सुस्तापूर्व)को पहाडी क्षेत्रमा बस्ने अधिकांश सर्वसाधारणको आम्दानीको बलियो स्रोत अम्रिसो बन्दै गएको हुप्सेकोट गाउँपालिका–५ का वडाअध्यक्ष पदमबहादुर रानाले बताए । ‘केही वर्ष पहिलेसम्म नाङ्गा पाखाका रूपमा रहेको पहाड अहिले आम्दानीको स्रोत बनेको छ’, उनले भने, ‘बर्सेनि अम्रिसोको कुचो बिक्री गरेर एक परिवारले तीन लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् ।’ हुप्सेकोट–५ राम्चेका श्यामबहादुर राईले पनि अम्रिसो बेचेर वार्षिक करिब ९५ हजार आम्दानी गर्ने गरेको बताए । ‘धान लगाउने खासै ठाउँ छैन, सबै पाखोबारी छ, लगाएको धानले बढीमा चार महिना पुग्छ’, उनले भने, ‘पहाडको पाखामा अम्रिसो खेती गरी आम्दानी हुन थालेपछि यसबाट चामल खरिद गरेर वर्षभरि खानपुग्ने भएको छ ।’ प्रत्येक दुई–दुई वर्षमा काट्न सकिने भएकाले पनि कृषक बर्सेनि फरक–फरक ठाउँमा यो खेती गरेर आम्दानी लिने गरेको बुलिङटार गाउँपालिका–४ देउरालीका मीनबहादुर आलेले बताए । उनले वार्षिक अम्रिसो बिक्री गरेर करिब ६० हजार आम्दानी गर्ने गरेका छन् । ‘यहाँ पाखोबारी धेरै रहेकाले सिँचाइका लागि आकाशे पानीको भर पर्नुपर्ने अवस्था छ, यसले अन्य खाद्यबाली गर्न नसकिने हुनाले अम्रिसो खेती गर्ने गरेका छौँ’, उनले भने। प्रत्येक वर्ष जेठ अन्तिमदेखि असार १५ गतेसम्म अम्रिसो लगाउने गरिन्छ भने मङ्सिरदेखि फागुनसम्म अम्रिसो काट्ने गरिएको छ । रासस ।

सेयर बजारमा लगानीका केही सूत्र 

विसं २०३३ देखि औपचारिक सुरुवात भएको नेपालको पुँजी बजार ‘ओपन क्राइ सिस्टम’देखि अर्धस्वचालित प्रणाली पार गर्दै नेप्से आजको अभौतिक कारोबारको अवस्थामा आइपुगेको छ । तर, पनि नेपालको पुँजी बजार पूर्णतः विकास हुन सकेको छैन । आजका दिनसम्म पनि अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप पुँजी बजार विकास र विस्तार हुननसक्नु विडम्बनापूर्ण नै छ । २१ औं शताब्दीको आवश्यकता र माग अनुरूपको विश्व परिवेशसँग प्रतिस्पर्धा गर्नसक्ने बनाउन नेपालको पुँजी बजारको विकासमा धेरै काम गर्नुपर्ने देखिन्छ । आर्थिक विकासका लागि पुँजी बजारको विकास अपरिहार्य छ । तर चार दशकको यात्रा गरिसक्दा पनि यो बजार अझै बामे सर्दै गरेको अवस्थामा छ । त्यसैले यसको विकास र विस्तारमा सरकार, नियामक निकाय, लगानीकर्तासहित अन्य सरोकारवालाले ध्यान दिन जरुरी हुन्छ । पुँजी बजारको विकास र विस्तारका लागि लगानीकर्ताले उठाँउदै आएको र सम्बन्धित निकायमा बुझाएको बजार सुधारको ५८ बुँदे माग अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सहमति भए बमोजिम कार्यान्वयन हुन सकिरहेको छैन । पुँजी बजार सुधार विस्तारका लागि उठाइएका काम कार्यान्वयनमा लानुको सट्टा अध्ययनको नाममा समितिमाथि उपसमिति गठन गर्ने कार्य हुँदै आएको छ । यस्तो कार्यले लगानीकर्ताको पुँजी बजारप्रतिको भरोसा छुट्दै गएको छ । बजार विस्तारका लागि उठाइएका जायज मागको समयमै सम्बोधन हुन सकेको छैन । यसले सरोकारवाला जिम्मेवारीबाट पन्छिएर पुँजी बजार विकासमा बाधक बनेको देखाउँछ । यसरी सम्बन्धित निकायहरु आआफ्नो जिम्मेबारीबाट विमुख रहँदा पुँजी बजार धारायसी बन्दै गएको छ । पुँजी बजारलाई प्रविधिमैत्री बनाएर लगानीकर्तालाई सूचना प्रविधि नीति लागु गरी बजारमा सहज रुपमा क्षमता अभिवृद्धि गर्दै बजारको विकास र विस्तारको स्वच्छ, पारदर्शी र अत्याधुनिक बनाउँदै लैजानु पर्ने आजको टट्कारो आवश्यकता हो । लगानीकर्ताको हकहित संरक्षण गर्दै, संस्थागत सुशासन कायम गर्दै पुँजी बजारको जोखिमलाई न्यूनीकरण गर्दै, पुँजी बजारको विकास गर्ने कार्यमा दतचित्त भएर लाग्नु नै आजको आवश्यता हो । नियामक निकायले लगानीकर्ता समस्यामा पर्दा ‘बलेको आगोमा घिउ थप्ने काम’ गर्नु हुँदैन । सरकारको अग्रसरतामा बजारको समस्या पहिचान र त्यसको सम्बोधनको प्रयास गर्नुपर्छ । मुकदर्शक नबनी सङ्कट परेका बेला उद्धार गर्नुपर्छ । अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्ने हो भने सेयर बजारमा आउने समस्याका कारण पहिचान गरेर निराकरणको प्रयास त्यहाँका सरकारले गर्ने गरेका छन् । त्यसैगरी यहाँको सरकारले पनि अर्थतन्त्रको ऐना मानिने पुँजी बजारप्रति सकारात्मक बन्न सक्नुपर्छ । विभिन्न परिस्थितिले बजारलाई प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । प्रत्यक्ष प्रभाव पार्ने कुराले बजारलाई घटाउन सहयोग पुर्याउँछ । जस्तो कि देशको राजनितिक अवस्था, अन्तर्राष्ट्रिय आर्थिक मन्दी, प्राकृतिक प्रकोप, तरलता र सरकारको पुँजी बजारप्रतिको दृष्टिकोण, समय समयमा हुने नीतिगत परिवर्तन आदिले बजार प्रत्यक्ष रुपमा प्रभावित बन्छ । साथै, समय समय फैलने अफवाले पनि बजारलाई प्रत्यक्ष रुपमा प्रभावित बनाउँछ । बजारमा अहिले नयाँ-नयाँ कम्पनी थपिने र सोही अनुपातमा सेयर संख्या थपिने क्रम बढ्दो छ । सेयर संख्या थपिँदै जाने तर बजारको विस्तार नहुने कारण बजारमा नकारात्मक असर परिरहेको छ । जसका कारण बजारको विकास एवं विस्तारमा प्रतिकूल असर परेको छ । बैंकमा आउने तरलताका कारण बजारमा नकारात्मक असर पर्छ । यता, लगानीकर्ताको अर्को टाउको दुखाइको विषय मार्जिनकल पनि हो । कहिले काहिँ बैंकहरुले लगानीयोग्य पुँजीको कृत्रिम भुत देखाई बेलाबेलामा सेयर बजारमा चलखेल गर्ने गरेका छन् । यसले पनि बेलाबखत सेयर बजार प्रभावित बनाउँदै आएको छ । पुँजी बजारका पूर्वाधारमा सुधार तथा विकासका लागि पछिल्लो समय धितोपत्र बोर्डले पुँजी बजारमा उल्लेखनीय सुधार तथा विकासका कार्य गरेको छ । यसका अलावा पुँजी बजारमा नीतिगत, भौतिक र प्राविधिक पाटामा अझै सुधार गर्नुपर्ने छ । साथै, शिक्षण तथा जनचेतना अभिवृद्धिलाई क्रमिक रुपमा बढाउँदै लानुपर्ने देखिन्छ । बजारबारे ज्ञान नहुँदा पुँजी भएर पनि सेयर बजारमा आउन चाहने लगानीकर्ता हच्किनु पर्ने स्थिति छ । हाम्रो बजारमा सेयर साक्षरताको अझै कमी छ । त्यस्तै, पुँजी बजारको विकास र विस्तारका लागि हामीले उठाएका जायज मागको सम्बोधन यथा समयमा नहुने र सम्बन्धित निकाय आआफ्नो जिम्मेवारीबाट बिमुख रहँदा पुँजी बजार अस्थिर रहेको देखिन्छ । पछिल्लो समय अभिभावक मानिने सरोकारवालाको घाँटी अँठ्याउने नीतिले थिलथिलो भएको पुँजी बजारमा लगानीकर्ताको अपेक्षाको चाङ धेरै छ । घट्दो बजारमा सेयरको कुरा सुन्ने बित्तिकै नाक खुम्च्याउनेहरु र सेयरबारे जानकारी नै नभएकाले समेत निरन्तरको बढ्दो बजारसँगै चासो देखाउने गरेको पाइन्छ । सेयर बजारलाई कतातिर डोहो¥याउने भन्ने कुरा लगानीकर्ताको मनोविज्ञानले नै तय गर्ने विषय हो । बजार एकै दिनमा घट्दा लगानीकर्ताले यति गुमाए र बजार बढ्दा यति कुम्लाउन सफल भए भन्ने जस्ता समाचार सम्प्रेषण गर्ने मिडियाले लगानीकर्तालाई सबैभन्दा बढी भ्रमित र आशावादी पनि पार्ने गरेको पाइन्छ । यस्ता हेडलाइनका समाचारमा पनि ध्यान पुर्याउने गर्नुपर्छ । त्यस्तै, निरन्तर घट्दो बजारमा गुमनाम दुलोभित्र पसेर हराइरहेका बजार पण्डितहरु दुई चार दिन बजार के बढेको हुँदैन, बजारले आफ्नो बाटो तय ग¥यो “अब छिट्टै यति सय चुम्छ, उति सय चुम्छ’ जस्ता गाना बजाना सुरु गर्छन् । यस्तो गतिविधि देख्दा बजारका पण्डित भनाउँदाले खर्बौँको बजारसँग लङ्गुरबुर्जाको जस्तो व्यवहार गरेको पनि देख्न सकिन्छ । सेयर बजार भनेको दुई दिनको बजार होइन । दुई चार दिन बढ्दैमा संसार नै जितिने अनि दुई चार दिन घट्दैमा संसार नै सकिने पनि होइन । बजारको आफ्नै लय हुन्छ, आफ्नै चाल हुन्छ । विभिन्न परिस्थितिले बजारलाई प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । सेयर बजारमा लगानीकर्ताका दुई प्रमुख शत्रु हुन् : लोभ र त्रास । यसबाट लगानीकर्ता सदैव टाढा बस्नुपर्छ । लोभले बजार बढ्दा अब सधैँ बढ्छ, बढि नै रहन्छ, कुनै बेला घट्छ पनि भनेर सोच्ने फुर्सद नै हुँदैन । यता, डर र त्रासले बजार घट्दा अब सधैँ घट्छ, घटि नै रहन्छ, कुनै दिन अवश्य बढ्छ भन्ने विश्वास नै हुँदैन । सेयर बजार सधैँ बढ्दैन अनि सधैँ घट्दैन पनि । बढेपछि घट्छ अनि घटेपछि बढ्छ । बजारका यी दुई प्रमुख शत्रु चिनेर समयअनुसार चल्ने लगानीकर्ता नै हो बजारबाट कमाउने अनि सधैँ टिकिरहने । जहाँ अबसर हुन्छ, त्यहाँ चुनौती अवश्य पनि हुन्छ । सेयर बजारलाई जति अवसरको खानीका रुपमा लिइन्छ, यसमा चुनौती पनि त्यतिकै हुन्छन् भन्ने बिर्सनु हुँदैन । आफूसँग भएको राम्रो कम्पनीको सेयर मूल्य सोचेजस्तो नबढ्ने तर आधारभूत पक्ष कमजोर भएका कम्पनीको मूल्य तीव्र बेगले बढ्दा आफ्नो सुनलाई पित्तल सम्झेर पित्तललाई चाहिँ सुन सम्झेर पोर्टफोलियो परिवर्तन गर्ने धेरै भेटिन्छन्, जुन सबैभन्दा घातक पनि हुनसक्छ । हल्लाको भरमा जस्तोसुकै कम्पनीमा पनि आँखा चिम्लेर लगानी गर्ने लगानीकर्ता पनि त्यत्तिकै भेटिन्छन् । र, तिनै मृत्युको मुखसम्म पुग्ने गरेका पनि छन् । आफूसँग भएको धातु सुन हो कि हैन आफैले चिन्न सक्नुपर्छ । बजारमा पित्तलको भाउ घट्न लागेको हल्ला सुनेर आफ्नो सुन पित्तलमा बेच्न हतारिनु पनि लगानीकर्ताकै बेवकुफी हुन जान्छ । आफूले संस्था बलियो र दिगो छानेर कम जोखिमयुक्तमा लगानी गर्नु पर्दछ । युवा सिङ्गो देश बोक्नसक्ने मेरुदण्ड हुन्; आफैंमा ऊर्जाशील शक्तिले भरिएको युगका सुन्दर बिहानी हुन् । आजका युवा नै भोलिका कर्णधार हुन्, भोलिका दिनमा सबै क्षेत्रको नेतृत्व लिने अहिलेका युवाले नै हो । त्यसैले युवा सेयर बजारमा आवद्ध हुनु एकदमै जरुरी रहेको छ । लगानीका केही सूत्र  थोरै रकमले व्यापार व्यवसाय गर्न सकिन्न तर सानोभन्दा सानो बचत पनि सेयरमा लगाएर आम्दानी गर्न सकिन्छ । सुरुमै धेरै कमाउन नसकिएला तर त्यो समय कमाउने भन्दा पनि सिक्न, बुझ्ने अभ्यस्त हुने, बेला हो । पढाइमै धेरै समय खर्चिनु पर्ने हुँदा अन्य कामको लागि समय हुँदैन तर सेयर बजारलाई धेरै समय दिनु जरुरी छैन । पत्रपत्रिका, मिडिया, सामाजिक सञ्जाल, साथी भाइबाट पनि सेयर बजारबारे जानकारी लिन सकिन्छ । युवा अवस्थामा खर्च गर्ने मात्र थाहा हुन्छ । आम्दानी र बचतमा अरुको भर पर्नुपर्ने हुँदा यसबारे केही थाहा हुँदैन र थाहा पाउन आवश्यक पनि ठानिँदैन । तर यही बेलादेखि युवाले आम्दानी, खर्च, बचत र व्यवस्थापनबारे ज्ञान पाए भने अभिभावकमा पनि आर्थिक भार कम हुन जान्छ । यसका लागि सेयर बजार उत्तम विकल्प हो । पछिल्लो समयमा आएर सेयर बजारमा युवाको संलग्नता बढ्दै गएको पाइन्छ । खाजा खर्च, फजुल खर्च कटाएर सेयर बजारमा लगानी गर्ने गरेको पाइन्छ जुन राम्रो कुरा हो । अझ भन्ने नै हो भने स्कुल तहदेखि नै सेयर शिक्षा दिन जरुरी छ । पाठ्यक्रममा पनि यसलाई समावेश गर्न सके धेरै राम्रो हुन्छ । सरकार र धितोपत्र बोर्डले आफ्ना मातहतमा रहेका निकायलाई काम गर्न दबाब सिर्जना गरिदिएर कडा निर्देशन गरिदिने हो दिने हो भने हाम्रो पुँजी बजार पनि आधुनिक, प्रविधिमैत्री, अन्तर्राष्ट्रिय स्तरको र सबै नेपालीको पहुँचमा पुग्नसक्ने थियो । बेलाबखत सरकार र नियामक निकायले बेलाबेलमा गलत निर्णय र गलत अभिव्यक्ति दिएका कारण लगानीकर्तामा अन्यौल सिर्जना भई सेयर बजार बारम्बार कोमामा पुग्ने गरेको छ । आम लगानीकर्ताको भावनामा गम्भीर असर पार्दै पुँजी बजारप्रति निरुत्साहित बनाएको छ । बजार विस्तारका काम कार्यान्वयनमा देखिएको कमजोरी र रणनीतिक काम अवरुद्ध हुँदा, नियमनकारी निकायको उदासीनताले पुँजी बजारमा बेलाबेलमा गम्भीर समस्या ल्याउँदै लगानीकर्ताको बिचमा चरम निराशाको अवस्था उत्पन्न हुने गरेको छ । ५० लाखभन्दा बढी लगानीकर्ताको सम्पत्तिको सुरक्षामा गम्भिर चुनौती देखा पर्छन् । त्यसैले नेपाल सरकारले पनि पुँजी बजारप्रति हेर्ने दृष्टिकोण स्पष्ट र सकरात्मक हुनुपर्छ । आर्थिक विकासका लागि पुँजी बजारको विकास अपरिहार्य छ । चार दशक बढीको समयमा काटिसक्दा पनि यो बजार अझै बामे सर्दै गरेको अवस्थामा रहेको हुँदा यसको विकास र विस्तारमा सरकार, नियामक निकाय, लगानीकर्तासहित अन्य सरोकारवालाले ध्यान दिनु जरुरी छ । सङ्कटमोचनका लागि नीतिगत र कानुनी कदम  धितो बोर्डको नेतृत्वले बजारको तत्कालीन कारोबार र पुँजीकरण मात्र नहेरी दीर्घकालीन र दिगो विकास एवम् लगानीकर्ताको हित संरक्षणका लागि काम गर्नुपर्छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत सेयर कर्जामा लगाएको सेयर धितो कर्जाको सीमा हटाउनु पर्छ । बजारको सुधार अनि अगाडि बढाइएका सेयर कारोबार वृद्धि र व्यवस्थापनका प्रयासले कारोबारी र लगानीकर्तालाई केही आकर्षित त गर्ला, तर दीर्घकालसम्म टिकाउन मुस्किल हुन्छ । अहिलेको अवस्थालाई अवसरका रुपमा लिँदै धितो बोर्डको नेतृत्वले बजारको तत्कालीन कारोबार र पुँजीकरण मात्र नहेरी दीर्घकालीन र दिगो विकास एवम् लगानीकर्ताको हित संरक्षणका लागि काम गर्नुपर्छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत सेयर कर्जामा लगाएको सेयर धितो कर्जाको सीमा हटाउनु पर्छ । पुँजी बजारमा प्रविधिको उपयोग बढ्दै कारोबारमा सहजता सँगै बढ्दो लागत, तथ्यांक भण्डारण, सुरक्षा र उपयोग तथा प्रविधिकै दुरूपयोगबाट लगानीकर्तामा हुने हानी, बजार सञ्चालन र व्यवस्थापनमा आइपर्ने चुनौतीका साथै डिजिटल डिभाइडबाट बजार पहुँच वा बहिष्करणको सम्भावनालाई प्रभावकारी ढङ्गले सम्बोधन गरिनुपर्छ । प्रविधिकै दुरूपयोग गर्दै सीडीएसले लगानीकर्ताको जानकारी–स्वीकृतिबिना डिम्याट खाताबाट सेयर झिक्ने, मर्चेन्ट बैंकरले बैंक खातामा पैसा राख्ने र झिक्ने काम गरेको छ । यस्तो गैरकानुनी काम अन्त्य गर्नुपर्छ । बजार पुँजीकरण र सूचकांकको विश्वसनीयता कायम गर्न पारदर्शिता, विधिमा एकरूपता कायम गर्नुका साथै बाँडफाँड नीतिमा पुनरावलोकन, आइपिओ, हकप्रद र बोनसको बाँडफाड र सूचीकरण, मर्ज वा प्राप्ति गरेका कम्पनीको सूचीकरण र आरम्भिक मूल्य गणनामा आवश्यक निर्देशन र नियमन हुनुपर्छ । कारोबारलाई सहज बनाउन चुस्त र प्रभावकारी कारोबार प्रणाली, सिडिएस तथा डिपी, बैंक तथा वित्तीय संस्था र दलालबीच कारोबार, सेयर तथा भुक्तानी राफसाफका लागि ‘सिस्टम इन्टिग्रेसन’ र कानुनी प्रावधान हुनुपर्छ । अनलाइन कारोबार प्रणालीलाई विश्वसनीय र प्रभावकारी बनाइनु पर्छ । औसत लागत गणना र स्वघोषणाको विद्यमान प्रणालीमा सुधार गर्दै नेप्से वा सिडिएससी र सफ्टवेयरबाटै वैज्ञानिक र व्यावहारिक लागत गणना र कर निर्धारणको व्यवस्था गरिनु पर्छ । कम्पनीको व्यावसायिक र वित्तीय सूचनामा शुद्धता, यथार्थपरकता, पर्याप्तता र एकरूपताका लागि त्रैमासिक विवरणको ढाँचामा पुनरावलोकन गर्दै विभिन्न उपसमूहका कम्पनीको विवरणमा एकरूपता, सार्वजनिक सूचनाप्रति कम्पनीका सम्बन्धित पदाधिकारीलाई जिम्मेवार बनाउँदै र गलत सूचना प्रवाहबाट हुने हानि–नोक्सानीमा क्षतिपूर्ति तथा कारबाहीको व्यवस्था, सार्वजनिक सूचनाको पर्याप्तता, यथार्थता र शुद्धताको परीक्षण गरिनुपर्छ । (पोखरेल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष हुन् ।सेजन स्मारिका ‘अर्थनीति २०८०’बाट साभार)

नेपाल टेलिकमको सञ्चालक पदका लागि निर्वाचन तालिका सार्वजनिक

काठमाडौं । नेपाल टेलिकमले निर्वाचन तालिका सार्वजनिक गरेको छ । कम्पनीले निर्वाचनका माध्यमबाट एक जना सञ्चालक नियुक्त गर्ने भएको हो । कम्पनीको सञ्चालक समितिमा समूह–ग (सर्वसाधारण)बाट प्रतिनिधित्व गर्ने सेयरधनीहरूको तर्फबाट एक जना सञ्चालक पदको निर्वाचन तालिका सार्वजनिक गरेको हो । निर्वाचन अधिकृत कृष्णजीषी घिमिरेका अनुसार पुस २३ गते मतदाता नामावली प्रकाशन गरिनेछ । साथै, पुस २४ गते मतदाता नामावलीमा दावी विरोध गर्ने र छानविन गरी अन्तिम नामावली सार्वजनिक गर्ने उनले बताए । उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने समय भने पुस २५ गते तोकेको छ भने उम्मेदवारको विरोधमा पुस २६ गते उजुरी दिनु पर्नेछ । कम्पनीका अनुसार पुस २९ गते निर्वाचन हुनेछ भने सोही दिन मतगणना गरिनेछ ।

सुपर हेवा पावरको साढे २४ लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । सुपर हेवा पावर कम्पनीले जगेडा सेयर बिक्री गर्ने भएको छ । कम्पनीले २४ लाख ५० हजार कित्ता साधारण सेयर बिक्रीमा राखेको हो । कम्पनीको पुस १२ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम रहेका सेयरधनीहरूले मात्र निजको नाममा कम्पनीमा अभिलेख कायम सेयरको अनुपातमा खरिद गर्न पाउने गरी सेयर जारी गर्न स्वीकृत गरेको थियो । कम्पनीले उक्त सेयरको मूल्य १ सय रुपैयाँ तोकेको छ । उक्त सेयर खरिद गर्न सेयरधनीहरूलाई ३५ दिनभित्र आवेदन पेश गर्न कम्पनीले आग्रह गरेको छ । यदि सो समयमा जगेडा सेयरधनीहरुले सकार गर्न बाँकी रहेमा सेयरधनीभन्दा बाहिरका लगानीकर्तालाई बिक्री गर्ने कम्पनीले बताएको छ ।

एनआईसी एशियाले सिधैं जम्मा गर्यो सेयरधनीहरूको बैंक खातामा लाभांश

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ । सेयरधनीहरूको हितग्राही खातामा अद्यावधिक गराएको बैंक खातामा नगद लाभांश जम्मा गरेको लघुवित्तले जनाएको छ । लघुवित्तको पुस ६ गते सम्पन्न छैठौं वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीहरूलाई १५ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको थियो । सोही नगद लाभांश सेयरधनीहरूको बैंक खातामा जम्मा गरेको लघुवित्तले जनाएको छ । हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीहरूलाई तत्काल गर्न लघुवित्तले आग्रह गरेको छ । साथै डिम्याट नगराएका सेयरधनीहरुले डिम्याट खोलि अभौतिकीकरण गराई बैंक खाता अद्यावधिक गराउनु पर्ने र सोही बैंक खातामा लाभांश जम्मा गर्ने जनाएको छ । नगद लाभांश बैंक खातामा नगएका सेयरधनीहरूको विवरण सेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटलको वेभसाइटमा हेर्न सकिनेछ । साथै सेयर धितोमा राखी उपभोग गर्दै आएका सेयरधनीहरूले नो अब्जेक्सन लेटर वा कर्जा चुक्ता भएको प्रमाणपत्र बुझाउनु पर्नेछ ।