बालकुमारीमा प्रहरीको गोली लागेर एक पुरुषको मृत्यु, २ जना गम्भीर घाइते
काठमाडौं । ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक आन्दोलनकारीको मृत्यु भएको छ । प्रहरीको गोली लागेर घाइते भएका आन्दोलनकारी सुजन राउतको उपचारको क्रममा किष्ट अस्पतालमा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । उक्त स्रोतका अनुसार करिब २३ वर्षीय सुजन राउतको मृत्यु भएको हो । त्यस्तै भीड नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर थप दुई जना गम्भीर घाइते भएका छन् । घाइते भएका एक जनाको पाटन अस्पतालमा र अर्का एक जनाको किष्ट अस्पतालमा उपचार भइरहेको समेत जानकारी गराइएको छ ।
म्याग्दीमा सुन्तला बिक्रीबाट राम्रो आम्दानी
गलेश्वर । सुन्तला बिक्रीबाट यहाँका महिला किसानले राम्रो आम्दानी गर्दै आएका छन् । सुन्तला बिक्रीबाट राम्रो आम्दानी हुन लागेपछि रहरले सुन्तलाखेती गरेका महिला पनि व्यावसायिकरुपमा सुन्तलाखेतीतर्फ आकर्षित भएका हुन् । विगतमा यहाँको स्थानीय बजारमा मात्र बिक्री हुने सुन्तला सडकका कारण अहिले धेरैजसो बाहिरका जिल्लामा पुग्न थालेपछि किसानले राम्रो मूल्य पाएका छन् । सुन्तलाको राम्रो बगान भएका र व्यावसायिकरुपमा लागेका किसानले वार्षिक रु तीनदेखि आठ लाखसम्म आम्दानी गर्दै आएका छन् । यहाँका सबै स्थानीय तहमा सुन्तला उत्पादन हुने भए पनि विशेष गरेर बेनी नगरपालिकाको राखु, मरेक, सुर्केमेला, घतान, मङ्गला गाउँपालिकाको बरङ्जा, भेडाबारी, अर्मन, मालिका गाउँपालिकाको रुन्मा, बिम, ओखरबोट, धवलागिरि गाउँपालिकाको ताकम, रघुगङ्गा गाउँपालिकाको पिप्ले, भगवती, बेग, दोवा र अन्नपूर्ण गाउँपालिकाको दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा सुन्तला बढी उत्पादन हुने गरेको छ । म्याग्दीमा दुई सयभन्दा बढी सुन्तला बगैँचा छन् । म्याग्दीमा विशेषगरी सुन्तलाखेतीको रेखदेख र बिक्रीवितरणको जिम्मेवारी महिलाले लिएका छन् । यहाँका युवा अधिकांश विदेश भएकाले अरु खेतीपाती झैँ सुन्तलाखेती पनि महिलाकै कारण फस्टाएको र यसबाट भएको आम्दानीले महिला स्वावलम्बी बन्दै गएको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेकी मायादेवी पुनले बताइन्। पुनले सुन्तला बिक्री गरेर राम्रो आम्दानी गरिरहेको बताइन् । आफ्नो बगानमा रहेका सुन्तला र बिरुवा बिक्रीबाट वार्षिक रु ५० हजारदेखि डेढ लाखसम्म आम्दानी लिने गरेको उनको भनाइ छ । ‘मैले सुन्तला खेतीबाट राम्रो आम्दानी लिँदै आएकी छु’, कृषक पुनले भनिन्, ‘व्यावसायिकरुपमा सुन्तला खेतीबाट राम्रो आम्दानी लिन सकिन्छ ।’ सुन्तला खेतीलाई यहाँका महिला किसानको पेन्सनका रुपमा लिन सकिने म्याग्दीका अगुवा कृषक चन्द्रबहादुर कार्कीले बताए । बिरुवा हुर्काएपछि सय वर्षसम्म लाभ लिन सकिने भएकाले यो व्यवसाय वृद्धवृद्धाका लागि बाँच्ने आधार रहेको उनको भनाइ छ । ‘सुन्तलाखेती बुढेसकालको सहारा बनेको छ’, उनले भने, ‘एकपटक बिरुवा हुर्काएपछि लामो समयसम्म निरन्तर आम्दानी हुन्छ, सामान्यरुपमा बगानको हेरचाहमात्र गरे धेरै दुःख गर्न पर्दैन ।’ व्यावसायिक सुन्तला खेतीमा लागेका यहाँका महिला घरको अरु काम धन्दालाई भन्दा सुन्तलाको स्याहार सुसारलाई बढी ध्यान दिने गरेको बेनी नगरपालिका–३ राखु भकिम्लीकी कृषक धना पुनले बताइन् । ठेकेदारले बगानबाटै सुन्तला किन्ने गरेकाले बिक्रीका लागि कुनै समस्या नभएको उनको भनाइ छ । यस वर्ष सुन्तला बिक्री गरेर रु एक लाख ३० हजार आम्दानी गरेको उनले बताइन् । यहाँ उत्पादित सुन्तला बेनी, पोखरा हुँदै काठमाडौं र नारायणघाटसम्म पुग्ने गरेको स्थानीय किसानले बताएका छन् । सुन्तला बिक्रीबाट आम्दानी लिन थालेपछि महिलाको आम्दानीबाट नै घरखर्च धानिने, छोराछोरीको पढाइ खर्च पुग्ने र बचेको रकम बैंक तथा वित्तीय संस्थामा जम्मा गर्ने गरिएको रुन्माकी टीका विकले बताइन् । ‘सुन्तलाबाट हुने आम्दानीले नै घरखर्च, केटाकेटीको पढाइ लेखाइ पुग्ने भएपछि लोग्नेले विदेशमा कमाएको रकम बचत हुने गरेको छ । बिरामी हुँदा र भैपरी आउँदा कसैसँग हात थाप्नुपरेको छैन’, उनले भनिन् । पश्चिमी र उत्तरी म्याग्दीमा फलेका सुन्तलाको बजारमा राम्रो माग रहेको कृषि ज्ञानकेन्द्र म्याग्दीले जनाएको छ । बोक्रा पातलो तथा अन्य ठाउँको सुन्तलाको तुलनामा गुलियो हुने भएकाले यहाँका सुन्तलाको बजारमा छुट्टै स्थान रहेको कृषि ज्ञानकेन्द्र म्याग्दीका प्राविधिक श्यामशरण कुर्मीले बताए । सिँचाइ तथा आधुनिक प्रविधिको विकासमा जोड दिनसके अझ राम्रो आम्दानी गर्न सकिने उनको भनाइ छ । पछिल्लो समय यो क्षेत्रका धेरै महिला व्यावसायिक सुन्तलाखेती विस्तारमा जुटेको उनले बताइन् । यहाँका सुन्तला किसानलाई लक्षित गरेर प्रोत्साहनमूलक काम गरिरहेको स्थानीय जनप्रतिनिधिको भनाइ छ । आगामी दिनमा यसको थप विस्तारका लागि काम गर्ने रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए । म्याग्दीमा यतिबेला बगैँचाबाट सुन्तला टिपेर बजार पठाउन यहाँका महिला व्यस्त छन् । बेनी, पोखरा, काठमाडौं, चितवनलगायत ठाउँका व्यापारी सुन्तला खरिद गर्न किसानको बगैँचामै पुगेका छन् । म्याग्दीमा सात सय छ हेक्टर क्षेत्रमा सुन्तला जातका फलफूलको खेती भएको जिल्लास्थित ज्ञान केन्द्रले जनाएको छ । तीन सय ५५ हेक्टरभन्दा बढी जमिनको बोटले उत्पादन दिने गरेको छ । यहाँ गत वर्ष तीन हजार नौ सय पाँच मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि ज्ञानकेन्द्र म्याग्दीको तथ्याङ्क छ । रासस
मन्त्री ज्वालाको गाडीमाथि आगजनी गरेको आरोपमा पाँच जना पक्राउ
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको छ । आज रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले उक्त गाडीमा आगजनी गरेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए । उनले भने, ‘आन्दोलित युवाहरुको समूहले गाडीमा आगजनी गरेको हो, हामीले पाँच जना पक्राउ गरेका छौँ, मन्त्री ज्यूलाई प्रहरीले रेस्क्यु गरेर सिंहदरबार पुर्याएको छ ।’ ग्वार्कोस्थित इपिएस कार्यालयमा युवाहरु बिहानदेखि भेला भएर आन्दोलन गरिरहेका थिए । रासस
६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य प्राप्त हुने सम्भावना बढेको छ : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य प्राप्त हुने सम्भावना बढेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाजको २० औं साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अर्थतन्त्र बिस्तारै लयमा फर्किरहेकाले चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य प्राप्त हुने सम्भावना पनि बढेर गएको बताए । मुलुकको आर्थिक अवस्था निराशाजनक नरहेको जिकिर गरे । सामाजिक सञ्जालमा नकारात्मक कुरा भएपनि तथ्यले मुलुकको अर्थतन्त्र लयमा फर्किंदै गएको देखिएको अर्थमन्त्री महतको दाबी थियो । हरेक क्षेत्रको आर्थिक गतिविधि बढेकाले मुलुकको अर्थतन्त्र लयमा फर्किएको पुष्टि भएको तर्क समेत गरे । अर्थमन्त्री महतले तथ्यहरुलाई लिएर सकारात्मक छलफललाई अघि बढाउने हो भने मुलुकको आर्थिक गतिविधिले अझ बढावा पाउने विश्वास समेत व्यक्त गरे । ‘अहिले हाम्रो अर्थतन्त्र बिस्तारै लयमा फर्किएको छ, विदेशी रेमिट्यान्स पनि स्वदेशमा आइरहेको छ, बैंक ब्याजदर पनि धेरै छलफलपछि कम हुँदैछ, शेयर मार्केट पनि बढेको छ, जग्गाको कारोबार पनि बढेको छ, अत्याधिक अवस्थामा शेयर र जग्गामा अत्याधिक कारोबार हुँदाखेरी माग आपूर्तिको बीचमा ठूलो असन्तुलन भयो, त्यसले गर्दा त्यहाँ शिथिलता आएको थियो, त्यसकारण अब यो कुरा जो तथ्य सामुन्ने छ, त्यसको आधारमा छलफल चलाउने हो भने सकारात्मक माहोल बन्छ, त्यसो हुनाले आर्थिक वृद्धिको हाम्रो ६ प्रतिशतको लक्ष्य पनि करिव हामीले प्राप्त गर्ने सम्भावना देखिँदैछ’, उनले भने । सो अवसरमा अर्थमन्त्री महतले सार्वजनिक पुस्तकालयहरुको व्यवस्थापनका लागि सरकारले आवश्यक बजेटको व्यवस्था गर्ने आश्वासन समेत दिए ।
गभर्नर अधिकारीविरुद्धको मुद्दामा अदालतको कारण देखाउ आदेश जारी
काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्धको मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ । अधिकारीको शैक्षिक योग्यताविरुद्ध बिहीबार दायर गरिएको रिट निवेदनमा शुक्रबार सुनुवाई गर्दै सर्वोच्चले सरकारका नाममा उक्त आदेश जारी गरेको हो । सर्वोच्चका न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले अधिकारीलाई गभर्नर पदमा नियुक्त गर्नुको कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको हो । अब यसको सुनुवाई आगामी माघमा हुने बताइएको छ । बिहीबार मात्रै अधिवक्ताहरू दीपक राज जोशी, प्रतापसिंह ठुकरी, दामोदर तिम्सिना र चुडामणी भण्डारीले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, अर्थमन्त्रालय तथा राष्ट्र बैंकलाई विपक्षी बनाई अधिकारीको नियुक्त तत्काल बदर हुनु पर्ने मागसहित रिट दर्ता गराएका थिए । उनीहरुले राष्ट्र बैंक ऐन २०५८ को दफा २० अनुसार गभर्नर पदमा नियुक्त हुन आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यताबिनै अधिकारीलाई नियुक्त गरिएको भन्दै रिट दायर गरेका थिए । सरकारले अधिकारीलाई २०७६ साल २४ चैतमा केन्द्रीय बैंकको गभर्नरमा नियुक्त गरेको थियो । नेपाल राष्ट्र बैंक ऐनको दफा २० मा भएको गभर्नरको योग्यतासम्बन्धी व्यवस्थामा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित वा कानुनमा स्नातकोत्तर भई त्यही क्षेत्रमा अनुभव हासिल गरेको हुनुपर्ने उल्लेख छ ।
वाईवाई र करेन्ट चाउचाउबीच ट्रेडमार्क विवादः अदालतको अन्तरिम आदेश वाईवाईको पक्षमा
काठमाडौं । उच्च अदालत पाटनले यशोदा फुड्सलाई वाईवाई चाउचाउको ट्रेडमार्क नक्कल गरि करेन्ट चाउचाउ उत्पादन र बिक्री वितरण नगर्न आदेश दिएको छ । यशोदा फुड्सद्वारा उत्पादीत करेन्ट चाउचाउले वाईवाई चाउचाउको ट्रेडमार्क नक्कलगरि बजारीकरण गरेको भन्दै वाईवाई उत्पादक सीजी फ्ड्सले उच्च अदालत पाटनमा मुद्दा हालेको थियो । उच्च अदालतले पुस ११ गते यशोदा फुड्सलाई यस्तो कार्य नगर्न अन्तरकालिन आदेश जारी गरेको हो । वाईवाईले नेपाल र अन्तर्राष्ट्रिय जगतमा आर्जन गरेको ख्यातीलाई दुरूपयोग गर्न र उपभोक्तालाई झुक्याउने नियतले यशोदा फुड्सले वाईवाईको ट्रेडमार्क नक्कल गरेको सीजी फ्ड्सको दावी रहेको छ । यशोदा फुड्सले वाईवाईको नक्कल गरि उक्त नक्कललाई आफ्नो ट्रेडमार्कका रुपमा दर्ता गर्न समेत कोशिस गरेको थियो । अदालतले यशोदा फुड्सको उक्त आवेदन नं. ०९८२२२ को दर्ता प्रकृयालाई समेत रोक्न उद्योग विभागलाई आदेश दिएको छ ।
बालकुमारीमा युवाहरूले जलाए मन्त्रीको गाडी
काठमाडौं । ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको गाडीमा आगजनी भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस)को विषयलाई लिएर प्रदर्शन उत्रिएका युवाले मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेका हुन् । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले बा २ झ ५८६१ नम्बरको सरकारी गाडीमा आगो लगाएको बताइएको छ । गाडीमा आगो लगाएको खबर आएपनि प्रहरी टोली पनि त्यहाँ पुगेको ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले बताए । युवाहरूले सडक पनि अबरुद्ध पारेका छन् । अहिले बालकुमारी क्षेत्र तनावग्रस्त छ ।
सूर्यविनायक-धुलिखेल सडक निर्माणमा बजेटको अभाव, व्यवस्थापन नभए समयमै नसकिने
काठमाडौं । सूर्यविनायक-धुलिखेल, धुलिखेल-सिन्धुली-बर्दिबास सडक आयोजना कार्यालयलाई सूर्यविनायक-धुलिखेल सडकखण्डको काम अगाडि बढाउन सकस परेको छ । आयोजना कार्यालयलाई पर्याप्त बजेट उपलब्ध नहुँदा उक्त खण्डको काम तीव्र गतिमा गर्न समस्या भएको हो । बजेट अभावले गर्दा आयोजनाको उत्साहजनक प्रगति हुन नसकेको आयोजना कार्यालयका सूचना अधिकारी नारायण प्रसाद लामिछाने जानकारी दिए । ‘ठेकेदार कम्पनीले आफ्नो गतिमा काम गरिरहेको छ, तर अहिले बजेटको अभाव छ, बजेट नहुँदा ठेकेदार कम्पनीलाई रकम भुक्तानी गर्न सकेका छैनौं,’ उनले भने । गत आर्थिक वर्ष २०७९/८० बाट सुरु भएको उक्त आयोजना तीन वर्षभित्र सक्ने लक्ष्य राखी छुट्टाछुट्टै दुई चरणमा हाल काम भइरहेको छ । साँगादेखि धुलिखेल खण्ड र सूर्यविनायकदेखि साँगासम्म गरी ठेक्का दुई चरणमा भएको हो । कार्यालयले सूर्यविनायकदेखि साँगासम्मको खण्डको ठेक्का भ्याटसहित तीन अर्ब ८८ करोड र साँगादेखि धुलिखेलखण्ड चार अर्ब ५ करोड रुपैयाँमा लगाएको छ । समयमा बजेटको व्यवस्थापन नभए सडक विस्तारको काम रोकिन सक्ने अवस्थाको सिर्जना हुने उनको भनाइ छ । ‘बजेटको उपलब्ध सयमै भयो भने सडकको काम पनि समय अवधिभित्रै सकिन्छ, नभएर आयोजनाको समय अवधि लम्बिन्छ, बजेट अभावले ठेक्दार कम्पनी सयमै भुक्तानी गर्न सकिएन भने उनीहरूले पनि कामलाई निरन्तरता दिन मान्दैनन्,’ उनले भने । लामिछानेका अनुसार उक्त आयोजनाको लागि तत्काल करिब दुई अर्ब रुपैयाँ बजेट आवश्यक छ । साउनदेखि नै बजेट माग गर्दै आएता पनि नआएको उनले जानकारी दिए । चालु आर्थिक वर्ष २०८०/८१ मा सो आयोजनाको लागि ५४ करोड रुपैयाँ बजेटको विनियोजन भएको छ । उक्त बजेटमध्ये ३७ करोड रुपैयाँ खर्च भइ सकेको पनि लामिछानेले बताए । खर्च गर्न मिल्ने बजेट जति खर्च भइसकेको उनको भनाइ छ । उनका अनुसार सूर्यविनायक-धुलिखेल सडकखण्ड निर्माणमा गत आर्थिक वर्ष करिब ५६ करोड रुपैयाँ खर्च भएको थियो । अहिले वाल बनाउने, ड्रेन निर्माण तथा केही ठाउँमा ग्राबेल गर्ने तयारी साथै आवश्यक काम भइरहेको लामिछानेले जानकारी दिए । लामिछानेका अनुसार आयोजनाको आर्थिक प्रगति १२/१३ प्रतिशत साथै भौतिक प्रगति करिब १८/१९ प्रतिशत भएको छ । ‘अहिले धेरै आयोजनाको काममा बजेटको अभाव देखिएको छ, राष्ट्रिय गौरवको आयोजना नभएता पनि यो अत्यन्तै महत्वपूर्ण आयोजना हो,’ उनले भने, ‘बढ्दो सवारीको चाप रहेको यो खण्ड विस्तारका लागि समयमै बजेटको व्यवस्थापन साथै सहजीकरण भयो भने कामको प्रगति राम्रो हुन्थ्यो भने काम पनि समयमै सम्पन्न हुन्थ्यो,’ उनले भने । बजेट नहुँदा समस्या भयो : प्रवक्ता पोखरेल पर्याप्त बजेट नहुँदा सडक विभाग अन्तर्गतका धेरै आयोजनाको काम अगाडि बढाउन समस्या भएको विभागका प्रवक्ता रामहरि पोखरेलले बताए । उनका अनुसार अर्थ मन्त्रालयमा बजेटको माग गर्दा समेत बजेट नआएको उनको भनाइ छ । ‘पर्याप्त बजेट नहुँदा धेरै आयोजनालाई समस्या भइरहेको छ, बजेट सुनिश्चित भएकै आयोजनामा पनि बजेट आएको छैन, अर्थमन्त्रालयसँग बजेटको माग गरिरहेका छौं,’ उनले भने । गत र चालु आर्थिक वर्षको हालसम्म गरी सडक विभागले करिब १३ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको पनि पोखरेलले जानकारी दिए ।