विकासन्युज

१२ वाणिज्य बैंकको लाभांश

काठमाडौं । २० वटा वाणिज्य बैंकमध्ये हालसम्ममा १२ बैंकले गत आर्थिक वर्ष २०७९/८०को मुनाफाबाट लाभांश घोषणा गरेका छन् । माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, एनआईसी एशिया बैंक, सिटिन्स बैंक, सिद्धार्थ बैंक, स्ट्याण्डर्ड चार्टड बैंक, ग्लोबल आइएमई बैंक, नेपाल एसबिआई बैंक, नबिल बैंक, लक्ष्मी सनराइज बैंक र राष्ट्रिय बाणिज्य बैंकले गत वर्षको नाफाबाट लाभांश वितरण गरेका हुन् । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरि कूल १४ प्रतिशत लाभांश वितरण गरेको हो । असोज १८ गते सम्पन्न बैंकको २५औं वार्षिक साधारणसभाले उक्त लाभांश पारित गरिसकेको छ । एभरेष्ट बैंकले आर्थिक वर्ष २०७९/८०को नाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र १०.५३ प्रतिशत नगद गरी कूल २०.५३ लाभांश वितरण गरेको हो । उक्त लाभांश असोज ३० गते सम्पन्न २९औं वार्षिक साधारणसभाले पारित गरिसकेको छ । सानिमा बैंकले आर्थिक वर्ष २०७९/८०को नाफाबाट चुक्ता पूँजीको ९ प्रतिशत बोनस सेयर र ५.७ प्रतिशत नगद गरी कूल १४.७० लाभांश वितरण गरेको हो । उक्त लाभांश कात्तिक २ गते सम्पन्न १९औं वार्षिक साधारणसभाले पारित गरिसकेको छ । एनआईसी एशिया बैंकले सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको २९ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद गरी कूल ३०.५ लाभांश वितरण गरेको हो । उक्त लाभांश असोज २८ गते सम्पन्न २६औं वार्षिक साधारणसभाले पारित गरिसकेको छ । सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट चुक्ता पुँजीको ५.७९ प्रतिशत नगद लाभांश वितरण गरेको हो । उक्त लाभांश असोज २६ गते सम्पन्न १७औं वार्षिक साधारणसभाले पारित गरिसकेको छ । सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पूँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १९० रुपैयाँको ४.२१ प्रतिशत अर्थात् ५९ करोड ३१ लाख ८८ हजार १६६ रुपैयाँ बराबरको नगद लाभांश वितरण गरेको हो । उक्त लाभांश मंसिर ५ गते सम्पन्न २२औं वार्षिक साधारणसभाले पारित गरिसकेको छ । स्टयान्डर्ड चार्टर्ड बैंकले हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत लाभांश वितरण गरेको हो । उक्त लाभांश मंसिर २४ गते सम्पन्न ३७औं वार्षिक साधारणसभाले पारित गरिसकेको छ । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट चुक्ता पूँजीको १ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ८ प्रतिशत नगद गरी कूल ९ प्रतिशत लाभांश वितरण गरेको हो । उक्त लाभांश मंसिर २८ गते सम्पन्न १७औं वार्षिक साधारणसभाले पारित गरिसकेको छ । नेपाल एसबिआई बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी १० अर्ब १२ करोड ६ लाख २८ हजार रुपैयाँको ३.७५ प्रतिशत बोनस सेयर र ६.८० प्रतिशत नगद गरी कूल १०.५५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । बैंकको पुस १३ गते सम्पन्न ३०औं वार्षिक साधारणसभाले उक्त लाभांश पारित गरिसकेको छ । नबिल बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत नगद लाभांश वितरण गरेको हो । उक्त लाभांश पुस १२ गते सम्पन्न ३९औं वार्षिक साधारणसभाले पारित गरिसकेको छ । लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०७९/८०को नाफाबाट चुक्ता पुँजीको ७ प्रतिशत बोनस र ०.३७ प्रतिशत नगद (करसहित) गरी कूल ७.३७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न बैंकले २३औं वार्षिक साधारणसभा पुस २६ गते अग्रवाल भवन कमलपोखरी काठमाडौंमा दिनको २ बजे आह्वान गरेको हो । राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार रुपैयाँको ५.५ प्रतिशत अर्थात् ८६ करोड ५५ हजार ७३८ रुपैयाँ बराबरको नगद प्रस्ताव गरेको हो । उक्त लाभांश पारित गर्न बैंकले पुस २९ गते १७औं वार्षिक साधारणसभा आह्वान गरेको छ ।

ईपीएस परीक्षामा थप २० हजारको आवेदन

काठमाडौं । दक्षिण कोरियाका लागि उत्पादनतर्फको कोरियन भाषा परीक्षा (ईपीएस)मा थप २० हजार ९०४ जनाले आवेदन दिएका छन् । उच्च अदालत पाटनको आदेशसँगै वैदेशिक रोजगार विभाग अन्तर्गत रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले उत्पादनतर्फ पुनः आवेदन माग गरेको थियो । त्यसमा त्यो सङ्ख्याको आवेदन परेको हो । उच्च अदालत पाटनले शुक्रबार बालकुमारी घटनापछि पानीजहाज बनाउने काम (सिप बिल्डिङ)का लागि कोरियन भाषा परीक्षामा सहभागी भएका कसैलाई पनि उत्पादन क्षेत्रको परीक्षा आवेदनबाट वञ्चित नगराउन आदेश दिएको थियो । त्यसपछि गत पुस १६ गते पुनः आवेदन खुला गरेको थियो । उत्पादनतर्फ थप आवेदनसहित अहिलेसम्मकै धेरै १ लाख ६४ हजार ७१६ जनाको आवेदन परेको ईपीएस शाखाले जनाएको छ । सो शाखाका अनुसार गत साउनमा भएको सिप बिल्डिङको परीक्षामा सहभागी हुन पुस १६ देखि १८ सम्म आवेदन माग गरिएको थियो । त्यसमा आवेदन नपरेपछि पुनः २० गतेसम्म समय थप गरेर आवेदन सङ्कलन गरिएको सो शाखाले जनाएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनः सुदूरपश्चिम प्रदेशबाट ३ सदस्यको चयन हुँदै

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचन २०८० अन्तर्गत सुदूरपश्चिम प्रदेशबाट रिक्त हुन लागेका तीन पदमा आगामी माघ ११ गते निर्वाचन हुँदैछ । सुदूरपश्चिम प्रदेशबाट पदावधि सकिन लागेका महिला, अपाङ्गता तथा अल्पसङ्ख्यक र अन्य समूह (खुला) गरी तीन पदका लागि निर्वाचन हुन लागेको निर्वाचन अधिकृतको कार्यालय कैलालीले जनाएको छ । महिला कोटाबाट निर्वाचित नेकपा (एमाले)का इन्दु कडरिया (कञ्चनपुर), अपाङ्गता तथा अल्पसङ्ख्यक कोटाबाट निर्वाचित नेकपा (माओवादी केन्द्र)का महेशकुमार महरा (डडेलधुरा) र अन्य कोटाबाट निर्वाचित सोही पार्टीका हरिराम चौधरी (कैलालीका)को पदावधि आगामी फागुनमा सकिँदैछ । प्रदेशसभा सदस्य, स्थानीय पालिकाका प्रमुखउपप्रमुख÷अध्यक्ष उपाध्यक्ष रहेको निर्वाचनमण्डलले राष्ट्रियसभा सदस्यका लागि हुने निर्वाचनमा मतदान गर्न पाउने राष्ट्रियसभा सदस्य निर्वाचन ऐनमा व्यवस्था छ । सुदूरपश्चिम प्रदेशसभामा ५३ सदस्य रहेकोमा बझाङ जिल्लाको प्रदेशसभामा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित पृथ्वीबहादुर सिंहको केही महिनाअघि दुर्घटनामा परेर निधन भएको थियो । प्रदेशका सबै ९ जिल्लामा गरी ८८ स्थानीय तह छन् । प्रदेशसभा सदस्य र पालिका तहका प्रमुख उपप्रमुखरअध्यक्ष उपाध्यक्ष गरेर यो प्रदेशमा जम्मा मतदाता २२८ छन् । प्रदेशसभाका सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुख÷अध्यक्ष उपाध्यक्षको मतभार भने फरक रहेको छ । प्रदेशसभामा सबैभन्दा ठूलो दल कांग्रेसका (निधन भएका एक जनाबाहेक) १८ सदस्य छन् । माओवादी केन्द्र का ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका सात, नेकपा (एकीकृत समाजवादी) का चार, राप्रपाका एक र स्वतन्त्र एक सदस्य छन् । पालिका तहका प्रमुख उपप्रमुखरअध्यक्ष उपाध्यक्षमा सबैभन्दा बढी सङ्ख्यामा कांग्रेसका छन् । दोस्रो स्थानमा एमाले र तेस्रो स्थानमा माओवादी केन्द्र छ । निर्वाचन आयोगद्वारा प्रकाशित राष्ट्रियसभा सदस्य २०८० अन्तर्गतको निर्वाचन कार्यक्रमअनुसार आइतबार निर्वाचन अधिकृतको कार्यालय कैलालीमा मतदाताको अन्तिम नामावली प्रकाशन गरिएको छ । आज उम्मेदवारीको मनोनयन दर्ता गर्ने कार्यक्रम छ । पुस २४ मा उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २५ र २६ गते मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, २६ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने, २७ मा उम्मेदवारको नाम फिर्ता लिने, २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र माघ ११ गते मतदान गर्ने कार्यक्रम छ । निर्वाचनका लागि उम्मेदवारीको मनोनयन गर्ने दिन नजिकिएसँगै दल उम्मेदवार छनोटमा लागेका छन् । राष्ट्रियसभा सदस्यको पद रिक्त हुनुभन्दा ३५ दिनअगावै निर्वाचन गरी सदस्य चुन्नुपर्ने कानुनी व्यवस्था छ ।

राष्ट्रियसभा सदस्य निर्वाचन : उम्मेदवारी मनोनयन आज

काठमाडौं । राष्ट्रियसभा सदस्यको रिक्त १९ पदका लागि आगामी माघ ११ गते हुने निर्वाचनको आज उम्मेदवारी मनोनयनपत्र दर्ता हुँदैछ । सातै प्रदेश मुकाममा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म हुनेछ । उम्मेदवारी मनोनयन दर्ता गर्नुअघि आयोगका तर्फबाट गरिनुपर्ने सम्पूर्ण तयारी र कार्य जिम्मेवारी पूरा गरिएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिए । यस निर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख मतदाता छन् । कानुनी व्यवस्थाअनुरुप प्रदेशसभा सदस्य पाँच सय ४९ र पालिका प्रमुख र उपप्रमुख गरी जम्मा २०४७ जनाको मतदाता नामावलीमा स्वीकृत भएको छ । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ५३ तथा पालिका प्रमुख र उपप्रमुखको मतभार १९ कायम गरिएको छ । उक्त निर्वाचनमा प्रदेशसभा सदस्यको कूल मतभार २९ हजार ९७ र पालिका प्रमुख र उपप्रमुखको कूल मतभार २८ हजार चार सय ६२ रहने छ । आयोगका अनुसार मतदाताको अन्तिम नामावली आइतबार प्रकाशन भइसकेको छ । यस्तो छ निर्वाचन कार्यक्रम उम्मेदवारीउपर यही पुस २४ गते दाबीविरोध र उजुरी, २५ र २६ गते जाँचबुझ गरी उम्मेदवारीको नामावली प्रकाशन हुनेछ भने २७ गते नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ प्रदान गरिने छ । यस निर्वाचनमा सात प्रदेशमा एक–एक मतदानस्थल र दुई–दुई मतदान केन्द्र कायम गरिएको छ । मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । स्थायी सदनका रुपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ सदस्यको कार्यकाल प्रत्येक दुई वर्ष पूरा सकिन्छ । यस निर्वाचनमा विभिन्न प्रदेश र क्षेत्रबाट महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र अन्य समुदायबाट सदस्यको चयन हुनेछ । –––

युवा उद्यमी कार्की सम्मानित

काठमाडौं । युवा उद्यमी राज कार्की राष्ट्रिय युवा उद्यमी २०८० बाट सम्मानित भएका छन् । अग्लेश्वरी हिल्स विकास कोषले आयोजना गरेको दोश्रो जीवन्त नेपाल म्युजिक अवार्ड–२०८० मार्फत् कार्की सम्मानित भएका हुन् । नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरीक उड्डयन राज्यमन्त्री माननीय शुशिला श्रीपाली ठकुरीले उनलाई सम्मान गरेकी हुन् । बागबजारस्थित सुट्मालाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कार्की कपडा सिलाई कटाइको बजारलाई आधुनिकीकरण गरेर थप उचाइमा पु¥याउने अभियानमा छन् । रामेछापको सुनापति दोरम्बा सैलुङ र खाडादेवीको पर्यटन प्रबर्द्दन गर्ने उद्देश्यले स्थापना भएको अग्लेश्वरी हिल्स विकास कोषले मुलुकलाई आ-आफ्नो क्षेत्रबाट सेवा र योगदान पु¥याएका व्यक्तिलाई सम्मान गरेको हो । कार्की नेपाल कपडा तथा सिलाई व्यवसायी संघ काठमाडौंका अध्यक्ष समेत हुन् । उनी विगत एक दकदेखि कपडा सिलाइ कटाइमा सक्रिय छन् ।

महोत्सवमा ८५ लाखको जुत्ताचप्पल बिक्री

झापा । नेपाली जुत्ताचप्पल उद्योगी समूह र बिर्तामोड सिटी सेन्टर इन्भेस्टमेन्ट प्रालिले बिर्तामोडमा आयोजना गरेको ‘प्रथम जुत्ताचप्पल व्यापार महोत्सव’मा दश दिनमा रु ८५ लाखको कारोबार भएको छ । यही पुस ९ गते देखि माघ ९ गतेसम्म महोत्सव सञ्चालन हुनेछ । महोत्सवको दश दिनमा ६० हजारले मेला अवलोकन गरेका नेपाली जुत्ताचप्पल उद्योगी समूहका पूर्व अध्यक्ष होम उपाध्यायले बताए । एक महिनामा एक लाख ५० हजार दर्शकलाई अवलोकन गराउने भन्दै रु तीन करोडको जुत्ताचप्पल बिक्री गर्ने लक्ष्य रहेको उनले जानकारी दिए । बिर्तामोड सिटी सेन्टर इन्भेस्टमेन्ट प्रालिका सञ्चालक उमेश राउतले महोत्सवमा आठ कम्पनीका १५ ब्रान्डका तीन हजार डिजाइनका जुत्ताचप्पल बिक्रीका लागि राखिएको बताए । पछिल्लो समय स्वदेशमा उत्पादित गुणस्तरीय जुत्ताचप्पलले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गरिरहेको जनाउँदै नेपाली जुत्ताचप्पल उद्योगी समूहका पूर्व अध्यक्ष उपाध्यायले सामूहिक ब्रान्डिङ र शोरुमको अभ्यास थालिएको बताए । उनका अनुसार महोत्सवमा २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था रहेको छ । हाम्रो जुत्ता घर नामक फेसबुक पेज लाइक गर्नेहरुलाई सामान खरिदमा दुई प्रतिशत ‘क्यास ब्याक’ अफर दिइएको आयोजकले जनाएको छ । व्यापारी टीका उप्रेतीले महोत्सवमा उत्साहजनक व्यापार भइरहेको बताए । “दैनिक एउटा स्टलबाट रु २५ हजारसम्म बिक्री भइरहेको छ । आगामी दिनमा अझ बढ्ने आशा गरेका छौँ”, उनले भने ।

२६ अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम ५ अर्बमा सीमित

काठमाडौं । सेयर मूल्य मापक नेप्से परिसूचक २६ अंकले घटेको छ । बजारमा परिसूचक २६.३६ अंकले घटेर २०२२.९२ बिन्दुमा झरेको छ । जुन अघिल्लो कारोबारको तुलनामा १.२८ प्रतिशतले घटी हो । बजारमा कारोबार रकम ५ अर्ब २४ करोड रुपैयाँमा सीमित भएको छ । कारोबारमा आएका ३०४ वटा स्क्रीप्समध्ये सोनापुर मिनिरल्स एण्ड आयलको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन २८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । घटेको बजारमा पनि ८ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । सबैभन्दा बढी तेह्रथुम पावर कम्पनीको १० प्रतिशत, मुक्तिनाथ कृषि कम्पनीको ९.९९ प्रतिशत, नेपाल वेयरहाउजिङ्ग कम्पनीको ९.९८प्रतिशत, धौलागिरी लघुवित्त वित्तीय संस्थाको ९.९६ प्रतिशत, सिंगटी हाइड्रो इनर्जीको ९.९६ प्रतिशत, नेपाल हाइड्रो डेभलपर्सको ९.७७ प्रतिशत, माथिल्लो मैलुन खोला जलविद्युतको ९.७१ प्रतिशत र विध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य ९.६१ प्रतिशतले बढेको छ । बजारमा सबैभन्दा बढी मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६.६९ प्रतिशतले घटेर प्रतिकित्ता ७१०.१० रुपैयाँमा झरेको छ ।

प्राधिकरणले १० हजार मेगावाट विद्युत् निर्यातका लागि पीपीए पूर्णरूपमा खुल्ला गर्नुपर्छ : इप्पान

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादनहरूको संस्था, नेपाल (इप्पान) ले १० हजार मेगावाट विद्युत् निर्यातको लागि विद्युत् खरिद सम्झौता (पीपीए) पूर्ण रूपमा खुल्ला गर्नुपर्ने बताएको छ  । १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यातका लागि भएको दीर्घकालीन सम्झौतासँगै नेपाल विद्युत् प्राधिकरणले रोकेर राखेका पीपीए पूर्णरूपमा खुल्ला गर्नुपर्ने इप्पानले बताएको हो । आइतबार इप्पानले एक कार्यक्रमको आयोजना गर्दै बिजुली निर्यातका लागि भएको सम्झौता स्वागत योग्य रहेको बताएको छ । इप्पानका महासचिव बलराम खतिवडाले आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यातमा निजी क्षेत्रको महत्वपूर्ण योगदान रहने बताए । बिजुली निर्यात गर्न निजी क्षेत्रको संलग्नताविना असम्भव रहेको बताउँदै  निजी क्षेत्र विद्युत् निर्यातमा सहयोग गर्न तयार रहेको खतिवडाकाे भनाइ छ । इप्पानका अनुसार अल्पकालीन बजारमा नेपालले करिब ५ सय मेगावाट बराबरको बिजुली निर्यात गरिरहेको छ । सम्झौताले नेपाल र भारतबीचको बिजुली व्यापारमा वृद्धि भई नेपालको अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पार्ने तथा निर्यात वृद्धि र आयात न्यूनीकरणमा ठूलो योगदान पुर्याउने इप्पानका अध्यक्ष गणेश कार्कीले बताए । ‘नेपालको ऊर्जा विकासमा आगामी दिनमा महत्वपूर्ण अवसरहरू सिर्जना भई अझ ऊर्जा विकासमा अग्रसर हुनका लागि थप ढोकाहरू खुल्दै जाने हाम्रो ठहर छ, ‘उनले भने, ‘नेपालले यति मात्र हैन यो भन्दा बढी निर्यात गर्न सक्छ,  यसको लागि सरकारले पनि पहल गर्नुपर्छ ।’ उनले ५ सय मेगावाटसम्मको विद्युत् विकास गर्नमा निजी क्षेत्र सक्षम रहेको बताउँदै यसका लागि सरकारले सहजीकरणको वातावरण मिलाउनु पर्ने पनि बताए । सरकारले आगामी १२ वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादनको लक्ष्यसहित गर्न लागेको मार्गचित्र कार्यान्वयन छिटो गर्नुपर्ने पनि कार्कीको सुझाव छ । हाल नेपालमा २८ सय ३७ मेगावाट विद्युत् उत्पादन भइरहेकोमा त्यसमा निजी क्षेत्रले मात्रै २१ सय ७५ मेगावाट योगदान पुर्याइरहेको छ । त्यस्तै निजी क्षेत्रबाट सञ्चालित २० हजार मेगावाट बराबरका आयोजनाहरु निर्माणको चरणमा रहेको इप्पानले जनाएको छ ।