एनएमबि बैंकले केआईओसीएचलाई नयाँ अस्पताल वार्ड निर्माण गर्नका लागि दियो २५ लाख
काठमाडौं । एनएमबि बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआईओसीएच)मा नयाँ अस्पताल वार्ड निर्माण गर्नका लागि २५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआईओसीएच) लाई सामाजिक उत्तरदायीत्व अन्तर्गत २५ लाख रुपैयाँ सहयोग गरेको हो । बैंकका अनुसार यस योगदानले अस्पतालमा बाल मैत्री वार्ड निर्माण गर्न मद्दत गरी बाल सवास्थ्य सुधार गर्ने प्रयासमा सहायता पुर्याउँनेछ । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी. र केआईओसीएचकाका अध्यक्ष डा. भगवान कोईराला बीच सहमति आदनप्रदान गरिएको छ । यस सहकार्यले बैंक र अस्पतालको बाल सवास्थ्य सेवा सुधार्ने संयुक्त प्रयासलाई सशक्त रुपमा दर्साउँदछ । एनएमबि बैंकले समाजमा दिगो सकारात्मक परिवर्तनको पहल गर्दै सामाजिक उत्तरदायीत्व अन्तर्गत विभिन्न कार्यहरु आयोजना गर्दै आईरहेको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १७१ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।
निजी शैक्षिक संस्था राज्यले किनिदिन माग
फाइल तस्बिर काठमाडौं । निजी तथा संस्थागत शैक्षिक संस्थाका सञ्चालकले आफ्नो संस्थालाई अनिवार्य रूपमा गुठी (ट्रस्ट) मा लैजाने बाध्यकारी कानुन नबनाउन सांसदहरूसँग माग गरेका छन् । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आइतबारको बैठकमा ती संस्थाका प्रतिनिधिले हाल सञ्चालमा रहेका शैक्षिक संस्थलाई गुठीमा लैजान खोज्नु गलत भएको बताए । बैठकमा बोल्दै निजी शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान) का अध्यक्ष रमेश सिलवालले उचित मुआब्जा दिने हो भने आफूहरू सबै निजी शैक्षिक संस्था राज्यलाई बुझाउन तयार रहेको बताए । हाल सञ्चालनमा रहेका सरकारी शैक्षिक संस्थाले समेत विद्यार्थीबाट शुल्क लिइरहेको उदाहरण प्रस्तुत गर्दै सिलवालले भने, ‘सकिन्छ भने सरकारी विद्यालयलाई पूर्ण निःशुल्क बनाऔँ । सरकारी कोषबाट पैसा लिने सबै व्यक्तिका छोराछोरीलाई सरकारीमै पढाउनुपर्ने नियम बनाऔँ । त्यसका लागि सहकार्य गर्न हामी तयार छौँ ।’ बैठकमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेनस (प्याब्सन)का अध्यक्ष डिके ढुङ्गानाले पाठ्यव्रmम, परीक्षा र अनुगमन पक्षलाई राज्यले जति कडाइ गरे पनि आफूहरूलाई स्वीकार्य हुने तर जसरी पनि विद्यालयहरू गुठीमा जानै पर्छ भन्ने व्यवस्था स्वीकार्य नहुने बताए । अहिले विदेशी विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित शैक्षिक संस्थामा पढ्ने विद्यार्थीबाट हरेक वर्ष अर्बौं रुपियाँ बाहिरिने गरेको तर्फ कसैले ध्यान नदिएको तर स्वदेशमै स्तरीय शिक्षा दिइरहेका शैक्षिक संस्थालाई मात्रै लपेट्ने नीति ल्याउन खोज्दा आफूहरूलाई समस्या परेको ढुङ्गाानाले बताए । राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसनका अध्यक्ष पाण्डव हमालले खर्बौं रुपियाँ लगानी गरेका शैक्षिक संस्थालाई अकस्मात् गुठीमा लैजान खोज्नु भनेको आफूहरूलाई मृत्युदण्ड दिएसरह हुने बताए । बैठकमा बोल्ने निजी शैक्षिक संस्थाका अधिकांश प्रतिनिधिले माध्यमिक शिक्षा परीक्षा (एसइई) नियमित रूपमा सञ्चालन गर्नुपर्ने सुझाव दिएका थिए । प्रतिनिधि सभामा दर्ता भएको विद्यालय शिक्षा सम्बन्धी कानुुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा समावेश गर्नुपर्ने विषयमा सुझाव लिन समितिले निजी शैक्षिक संस्थाका प्रतिनिधिलाई बैठकमा बोलाएको हो । विधेयकको दफा ४ मा हाल प्रचलित कम्पनी कानुुन बमोजिम सञ्चालनमा रहेका संस्थागत विद्यालय ऐन प्रारम्भ भएपछि शैक्षिक गुठीका रूपमा सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ तर उक्त विधेयकमा सांसदहरूले गरेको संशोधन प्रस्तावमा भने निश्चित मिति नै तोकेर संस्थागत विद्यालयलाई शैक्षिक गुठीका रूपमा लैजाने व्यवस्था गर्नुपर्ने उल्लेख छ । गाेरखापत्रबाट ।
अध्यक्ष करण चौधरीको अध्यक्षतामा नाडाको नयाँ केन्द्रीय कार्य समिति गठन
काठमाडौं । नवनिर्वाचित अध्यक्ष चौधरीको अध्यक्षतामा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ । चौधरीको अध्यक्षतामा बसेकोे नाडा केन्द्रीय कार्यसमितिको पहिलो बैठकले नाडाको विधान २०७१ को संशोधित विधान २०८० बमोजिम पदाधिकारीहरु सर्बसम्मत रुपमा निर्वाचित गरेको हो । बैठकले निवर्तमान अध्यक्ष डा. धु्रव थापा, बरिष्ठ उपाध्यक्षमा आकाश गोल्छा, संस्थागत उपाध्यक्षमा पुष्कर ओझा र तेजनारायण साह, अन्य उपाध्यक्षमा राजनबाबु श्रेष्ठ र निराकार श्रेष्ठलाई चयन गरेको छ । त्यसैगरी सो बैठकले महासचिवमा, सुरेन्द्रकुमार उप्रेती, सचिवमा विक्रम सिंहानिया, कोषाध्यक्षमा मिलनबाबु मल्ल, सहकोषाध्यक्षमा पंकज अग्रवाललाई निर्वाचित गरेको छ । संस्थागत सदस्यहरुमा सञ्जयकुमार श्रेष्ठ, कुलबहादुर क्षेत्री, कृष्णप्रसाद श्रेष्ठ, गणेशप्रसाद भट्टराई, भद्र भण्डारी पनि निर्वाचित भएका छन् । त्यसैगरी केन्द्रीय कार्य समितिको सदस्य पदमा सुनिल रिजाल, प्रकाश कपुरी, कपिल शिवाकोटी, प्रदिपमान प्रधान, यमुना श्रेष्ठ, संजयकुमार खेतान, नवराज भुषाल, ऋद्धि कार्की, दिपेन्दकुमार मिश्र,र सौरभ थापा नर्वाचित भएका छन् । यसै परिप्रेक्ष्यमा नाडाको उक्त विधान बमोजिम नव निर्वाचित अध्यक्ष चौधरीले मेघराज पौडेल, निलमणी पाठक र सोहन श्रेष्ठलाई सोही केन्द्रीय कार्य समितिको सदस्य पदमा मनोनित गरेको छ ।
इपानद्वारा ऊर्जा व्यापारसम्बन्धी सम्झौताको स्वागत
काठमाडौं । निजी क्षेत्रका ऊर्जा उद्यमीले नेपाल र भारतबीच सम्पन्न दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सम्झौताको स्वागत गरेको छ । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)द्वारा आईतबार आयोजित पत्रकार सम्मेलनमा दीर्घकालीन विद्युत् व्यापार सम्झौताले बजार सुनिश्चित गरेको उल्लेख गरिएको छ । आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्नेगरी दुई देशबीच भएको दीर्घकालीन विद्युत् व्यापार सम्झौताले बजार सुनिश्चित गरेको इपानले जनाएको छ । सन् १९७१ देखि नेपाल र भारतबीच विद्युत् आदानप्रदान हुँदै आएकोमा सन् २०१४ मा विद्युत् व्यापार सम्झौता (पीटीए) भएको थियो । सोही सम्झौतामा टेकेर पछिल्लो समय नेपालबाट विद्युत् अल्पकालीन रुपमा भारतमा निर्यात हुँदै आएको थियो । चालू आवमा मात्रै नेपालबाट रु १५ अर्बभन्दा बढीको विद्युत् भारत निर्यात भएकोमा निजी क्षेत्रले निर्माण गरेका जलविद्युत् आयोजनाको ठूलो हिस्सा रहेको थियो । भारतीय विदेशमन्त्री एस जयशङ्करको नेपाल भ्रमणका क्रममा २०८० पुस १९ गते भारतसँगभ एको दीर्घकालीन विद्युत् व्यापार सम्झौताबाट नेपालको निजी क्षेत्रले ठूलो लाभ लिन सक्ने इप्पानको विश्वास छ । जेठमा सम्पन्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा विद्युत् निर्यातको प्रारम्भिक समझदारी भएकोमा अहिले आएर भएको सम्झौताको ऐतिहासिक महत्व रहेको इप्पानको ठम्याइ छ । यो सम्झौतासँगै अब नेपाल विद्युत् प्राधिकरणले रोकी राखेको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) पूर्णरुपमा खुला हुनुपर्ने तथा निजी क्षेत्रलाई विद्युत् निर्यातका लागि अनुमतिपत्र दिने, बैंक तथा वित्तीय संस्थाले ऊर्जामा लगानी बढाउनुपर्नेमा जोड दिइएको छ । सरकारले ऊर्जा उत्पादनका लागि थप सहुलियत घोषणा गर्ने तथा ऊर्जा आयोजना निर्माणका लागि हाल देखिएका नीतिगत, प्रशासनिक तथा प्रक्रियागत समस्याको समाधानका लागि सरकार थप सक्रिय भई तुरुन्तै अघि बढ्नुपर्ने माग पनि इप्पानको छ । इप्पानका अध्यक्ष गणेश कार्कीले सरकारले सहजीकरण गरिदिएमा निजी क्षेत्रले पाँच वर्षमै १० हजार मेगावाट विद्युत् उत्पादन गर्न सक्ने बताउनुभयो । सम्झौताले नेपालको ऊर्जा विकासमा महत्त्वपूर्ण अवसर सृजना भई थप ढोका खुल्दै जाने अध्यक्ष कार्कीको भनाइ छ । यसले नेपाल र भारतबीचको बिजुली व्यापारमा वृद्धि भई नेपालको अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पार्ने तथा निर्यात वृद्धि र आयात न्यूनीकरणमा ठूलो योगदान पुर्याउने पनि अध्यक्ष कार्कीले बताए । यो सम्झौतापछि दीर्घकालीन रुपमा विद्युत् व्यापारका लागि निजी क्षेत्रका कम्पनीलाई बाटो खुला गर्ने गरी सरकारले थप नीतिगत व्यवस्था गर्ने अपेक्षा रहेको इप्पानका पूर्वअध्यक्ष कृष्णप्रसाद आचार्यले बताए। यसका लागि नेपाल तथा भारत सरकारले दुई देशका निजी क्षेत्रलाई विद्युत् व्यापारका लागि निर्वाध रुपमा पहुँच दिने गरी थपकार्य तुरुन्तै अघि बढाउनुपर्ने र यसका लागि आवश्यक सहयोग गर्न ऊर्जा उत्पादकको साझा संस्थाको हैसियतमा इप्पान सदैव तयार रहेको पनि आचार्यले बताए । ऊर्जा क्षेत्रका समस्या समाधान गर्ने गरी अधिकार सम्पन्न एकद्वार प्रणालीमा आधारित विशेष डेस्क स्थापना गरी चुस्तदुरुस्त रुपमा काम गर्नु आवश्यक रहेको इप्पानका महासचिव बलराम खतिवडाले बताए ।
ग्लोबल आईएमई बैंकको वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
काठमाडौं । ग्लोबल आईएमई बैंकले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मधेश र गण्डकी प्रदेशमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बैंकले मधेश प्रदेश अन्तर्गत सिरहा जिल्ला सुखिपुर नगरपालिका वडा नं. ८ स्थित सुखिपुर स्वास्थ्य चौकीमा १७० र गण्डकी प्रदेश म्याग्दी जिल्ला अन्र्नपुर्ण गाँउपालिका वडा नं. ६ पोखरे आधारभुत बिद्मालयमा १८० भन्दा बढि महिलाहरुको स्वास्थ्य चेकजाँच गरी स्थानिय महिलाहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गरेको हो । नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सञ्चालित उक्त शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरु निःशुल्क रुपमा उपलब्ध गराएको हो । प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गर्नेछ, जसलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिनेछ । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय सूचक अनुसार मुलुककै सबैभन्दा ठुलो बैंक वाणिज्य बैंक हो । देशका ७७ वटै जिल्ला तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क/वैदेशिक प्रतिनिधि कार्यालय सहित १,१०० भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । ग्लोबल आइएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ ।
म्याग्दीको राखुगाउँबाट डेढ करोडको सुन्तला बिक्री
गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–३, भकिम्ली राखुगाउँका कृषकले सुन्तला बिक्री गरेर रु डेढ करोडभन्दा बढी रकम गाउँमा भित्र्याउन सफल भएका छन् । यस वर्ष जिल्लामा समग्रमा सुन्तलाको उत्पादन घटेको जनाइएको छ । राखुगाउँका एउटै किसानले रु पाँच लाखदेखि रु नौ लाखसम्म सुन्तला बिक्री गरेर आम्दानी गरेका छन् । राखुकी मनकुमारी पुनले यस वर्ष रु नौ लाखको सुन्तला बिक्री भएको बताए । उनले विगत डेढ दशकदेखि नर्सरी स्थापना गरी सुन्तलाको बिरुवा उत्पादन गर्दै आएका छन् । अगुवा कृषक पुनले यस वर्ष अन्यत्र जिल्लाबाट आएका व्यापारीलाई बोटबाटै सुन्तला बिक्री गरेको बताए । सुन्तला उत्पादनका लागि जिल्लामै प्रख्यात मानिने तल्लो र माथिल्लो राखुमा रहेका ६५ घरधुरीले यस वर्ष करिब डेढ करोडको सुन्तला फलाएको अर्का अगुवा कृषक खिम पुनले जानकारी दिए । सो गाउँका कृषकले न्यूनतम ३० हजारदेखि नौ लाखसम्मको सुन्तला उत्पादन गरेका छन् । यस वर्ष नयाँ बोटले समेत फल दिएकाले आम्दानी बढेको सुन्तला जोन कार्यक्रमका संयोजकसमेत रहेका खिम पुनले जानकारी दिए । ‘उत्पादन घटे पनि आम्दानी घटेको छैन, सुन्तला खेतीमा लागेका कृषकले घरआँगनमै लाखौँ कमाएका छन्’, उनले भने । राखुबाट सुन्तला खरिद गरी सुर्केमेलाको सडकमा ग्रेडिङ गरी काठमाडौँ पठाउन लागेका कृषक पुनले जिल्लामा सबैभन्दा धेरै सुन्तला उत्पादन हुने राखु क्षेत्रको सुन्तला खरिदमा व्यापारीले प्रतिस्पर्धा गर्दा किसानले उचित मूल्यसमेत पाएको बताए । यहाँका सुन्तला यस वर्ष काठमाडौँका व्यापारीले बोटबाट नै खरिद गरेका उनले जानकारी दिए । राखुमा कुलबहादुर गर्बुजा, जशीकला रोका, भीमकुमारी घर्ती, खिरमती राना, थबहादुर पुन, जसबहादुर घर्ती मगरलगायते सात लाखभन्दा बढीको सुन्तला फलाएका छन् भने सुन्तला बिक्री गरेर रु चार लाखभन्दा धेरै कमाउने कृषकको सङ्ख्या हरेक वर्ष बढ्दै गएको छ । परम्परागत खेतीबाली लगाउन छाडेर व्यावसायिक सुन्तला खेती गर्दै आइरहेका राखुका राजेन्द्र रोका र मनबहादुर बुढाथोकीले यस वर्ष नयाँ बिरुवा थपेका छन्। सुन्तला खेतीले कृषकको जीवनस्तरमा समेत परिवर्तन आएपछि गत वर्षदेखि गाउँभरि नै सुन्तलाका थप बिरुवा रोपिएको वडाध्यक्ष पदम पुनले बताए । हरेक वर्ष नयाँ बिरुवा वितरण, कृषि ज्ञान केन्द्रसहित विभिन्न निकायबाट समेत प्रोत्साहनका साथै कृषक आफ्नै अगुवाइमा समेत सुन्तलाको खेती विस्तारमा सक्रिय रहेको उहाँको भनाइ रहेको छ । सुन्तला खरिदका लागि ठूला ट्रक लिएर व्यापारी गाउँमा नै आएका छन् । टाढाटाढाबाट आउन थालेपछि सडकसमेत व्यवस्थित बनाइएको छ । अन्नबालीभन्दा सुन्तला खेती गर्दा नगद आम्दानी हुन थालेपछि राखुका स्थानीय सुन्तला खेतीतर्फ आकर्षित हुँदै गएपछि अहिले बाँझो जमिनसँगै घरआँगनसमेत सुन्तलाको लटरम्मै बोटले पहेलपुर भएको छ । रासस
नागरिक लगानी कोषले १० अर्ब ३६ करोड बैंकको मुद्दतीमा लगानी गर्दै
काठमाडौं । नागरिक लगानी कोषले वाणिज्य बैंकहरूको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कोषले १० अर्ब ३६ करोड ८४ लाख ४४ हजार रुपैयाँ बैंकहरूको मुद्दतीमा जम्मा गर्ने भएको हो । कोषका अनुसार बैंकको एक वर्षे मुद्दती निक्षेपमा उक्त रकम जम्मा राख्ने भएको हो । बैंक तथा वित्तीय संस्थाबाट लिन चाहेको रकम ब्याजदर तथा ब्याज भुक्तानी गर्ने समयाबधी उल्लेख गर्न कोषले आह्वान गरेको छ । उक्त निक्षेप लिन चाहेका बैंकहरूले पुस २४ गते दिउँसो २ बजेभित्र लाहाछाप सहित सिलबन्दी प्रस्ताव बुझाउन कोषले आग्रह गरेको छ । उक्त रकममा माघ २७ गतेसम्मको भुक्तानी म्याद समाप्त हुने मुद्दती निक्षेप समेत समावेश गरिएको कोषले जनाएको छ ।
राष्ट्र बैंकले भक्तपुरको सानोठिमीमा भौतिक संरचना निर्माण गर्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले भवन निर्माण गर्ने भएको छ । राष्ट्र बैंकले सानोठिमी भक्तपुरस्थित बैंकको जग्गामा भौतिक संरचना निर्माण गर्ने जनाएको छ । राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले भौतिक संरचना निर्माण गर्ने भएकाले आह्वान गरेको बोलपत्र खोल्ने भएको हो । भौतिक संरचना निर्माण गर्न २०७९ मंसिर २३ गते बोलपत्र आह्वान गरेको थियो । उक्त आह्वान पत्र २०७९ माघ १० गतेको सूचना मार्फत रद्द भएको जानकारी गराएको बोलपत्र उच्च अदालत, पाटनले सार्वजनिक खरिद ऐन, २०६३ को दफा २२ र राष्ट्र बैंक खरिद विनियमावली, २०७१ को विनियम ५९ बमोजिम बोलपत्र खोलिने भएको हो । माघ १० गते दिउसो १ बजे राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग काठमाडौंमा बोलपत्र खोल्ने भएको हो ।