आजदेखि काठमाडौंमा मेलम्चीको पानी वितरण, प्रधानमन्त्री प्रचण्डले शुभारम्भ गर्ने
काठमाडौं । आजदेखि काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण सुरु हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरबाट मेलम्ची खानेपानी पथान्तरण तथा पुनः वितरणको शुभारम्भ गर्ने कार्यक्रम छ । अनामनगर, मीनभवन, महाँकालचौर, रिगनी, भक्तपुर, खुमलटार, बालाजु र बाँसबारी क्षेत्रमा क्रमिकरूपमा पानी वितरण गरिने खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिए । सिन्धुपाल्चोकको अम्बाथानबाट बुधबारदेखि सुरुङमा छाडिएको पानी सुन्दरीजल आइपुगेको तथा खानेपानीको परिमाण मापन गरी क्रमिकरूपमा काठमाडौँका सबै क्षेत्रमा वितरण गरिने उनले बताए । प्रधानमन्त्री दाहालले मेलम्चीको पानी राजधानी ल्याउने व्यवस्था मिलाउन खानेपानीमन्त्री महिन्द्र राय यादवलाई निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनपछि खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी आयोजना मर्मत गरी पानी ल्याउन पहल गरेको हो । बाढी तथा पहिराका कारण अवरुद्ध भएको मेलम्चीको पानी पुनः काठमाडौँ ल्याइएको हो । गत पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबीच २८ दिनमा मेलम्चीको पानी काठमाडौँ ल्याउने सहमति भएको थियो । कूल २८ दिनको कार्ययोजनासहित पानी पथान्तरण सुरु गरिए पनि २१ दिनमै हेलम्बुबाट सुन्दरीजलमा पानी पथान्तरण गरिएको थियो । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँ ल्याइँदै छ । विसं २०७८ असार १ गते मेलम्ची खोलामा आएको बाढी पहिरोपछि आयोजनाको मुहान क्षेत्र क्षतिग्रस्त बनेको थियो । त्यसयता मेलम्चीको पानी काठमाडौँमा नियमित रूपमा वितरण गर्न सकिएको थिएन । मेलम्चीको पानी नियमितरुपमा काठमाडौँ ल्याउन सरकारले प्रयास जारी राखेको छ ।
नेपाल ताइवान स्वतन्त्रताको विपक्षमा छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल ताइवान स्वतन्त्रताको विपक्षमा रहेको बताएका छन् । आइतबार काठमाडौंमा चिनियाँ नयाँ वर्षको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । ताइवान चीनकै अभिन्न अङ्ग भएको बताउँदै उनले ‘ताइवान स्वतन्त्रता’ का सम्बन्धमा नेपालको प्रष्ट दृष्टिकोण रहेको र आफ्नो चीन भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यमा प्रष्ट पारे । उनले नेपाल एक चीन सिद्धान्तप्रति दृढ रहेको उल्लेख गर्दै नेपाल र चीन नजिकका छिमेकी र विश्वासिला मित्र भएको बताए । उनले शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा दुई देशको सम्बन्ध प्रगाढ रहेकोे समेत जनाए । ‘हामीले असल मित्रका रुपमा एकअर्काको संवेदशनीलतालाई नजिकबाट बुझेका छौँ । शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा हाम्रो सम्बन्ध रहिआएको छ । नेपाल एक चीन सिद्धान्तप्रति स्पष्ट र दृढ छ । आन्तरिक तथा वाह्य मामिलामा आएको परिवर्तनबाट हाम्रो प्रतिवद्धतामा कुनै हालतमा प्रभावित हुँदैन । ताइवान चीनकै अभिन्न अङ्ग हो । ‘ताइवान स्वतन्त्रता’का सम्बन्धमा नेपालको प्रष्ट दृष्टिकोण रहेको छ । मेरो चीन भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यमा यसलाई प्रष्ट पारिएको छ । हामी फेरि भन्न चाहन्छौँ हामी ताइवान स्वतन्त्रताको विपक्षमा छौँ ।’ उनले भने । प्रधानमन्त्री दाहालले चीनकाविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने स्पष्ट पारे । दुई देशको सभ्यता नदी र हिमशृङ्खलाले मात्र नजोडिएको भन्दै दुई देशका साझा संस्कृति र जनस्तरको सम्बन्ध पनि प्रमुख रहेको बताए ।
६ महिनामा महानगरले उठायो ५ अर्ब राजस्व, घर वहालबाटै सवा अर्ब संकलन
काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष ०७९/८० को ६ महिनामा करिब ५ अर्ब राजस्व संकलन गरेकाे छ । महानगरपालिकाले चालु आवको ६ महिनामा ४ अर्ब ९० करोड ५१ लाख ९० हजार रुपैयाँ राजस्व संकलन गरेको हो । महानगरले विभिन्न शिर्षकमा संकलन गरेको राजश्व सार्वजनिक गरेको छ । महानगरले सम्पत्ति कर अन्तर्गत ६७ कराेड १७ लाख, ८३ लाख भूमी तथा मालपाेत कर, १ अर्ब १८ कराेड १५ लाख घर वहाल कर र ४ कराेड ५२ लाख रूपैयाँ पर्यटन शुल्क बापत कर संकलन गरेकाे छ ।
धौलागिरी लघुवित्तका सेयरधनीको पुर्पुरोमा हात, सेयर मूल्य ७५ प्रतिशत बढेपछि लाभांश गायब
काठमाडौं । गत कात्तिक २३ गते धौलागिरी लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत लाभांश प्रस्ताव गर्याे । संस्थाले आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पुँजी १३ करोड ३१ लाख रुपैयाँको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको थियाे । संस्थाले नेपाल राष्ट्र बैंकले स्वीकृति दिइसकेपछि साधारण सभाबाट लाभांश पारित गर्ने सूचनामार्फत् जानकारी गराएको थियो । तर, लाभांश घोषणा गरेको २ महिनापछि लघुवित्तले वितरण नगर्ने जानकारी गर्याे । लघुवित्त संस्थाको संचालक समितिको पुस २५ गते बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेश बहादुर बमले बताए । ‘गत वर्षको सञ्चित नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव सहितको प्रारम्भिक वित्तीय प्रतिवेदन राष्ट्र बैंकमा पठाएका थियाैं, धौलागिरी लघुवित्तको संचालक समितिको पुस २५ गते बसेको बैठकबाट लाभांश वितरण नगर्ने निर्णय गरेको छ,’ सीईओ बमले भने । संस्थाले लाभांश वितरण नगर्ने विषय नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई पनि जानकारी गराइसकेकाे छ । धौलागिरी लघुवित्त वित्तीय संस्थाका कम्पनी सचिव मीनप्रसाद जोशीका अनुसार लघुवित्तले लाभांश घोषणा नगरी प्रस्ताव मात्रै गरेको थियो । तर, लाभांश प्रस्तावसहित प्रारम्भिक प्रतिवेदन राष्ट्र बैंकमा पठाइएकोमा प्रोभिजन बढी गर्नु पर्ने भएपछि वितरण नगर्ने निर्णय गरिएको हाे । ‘लाभांश घोषणा नभई प्रस्ताव गरेर प्रारम्भिक प्रतिवेदन राष्ट्र बैंकमा पठाइएको जानकारी नेप्सेलाई गरेका छाैं । तर, राष्ट्र बैंकले प्रोभिजनिङ बढी गरायो, अहिलेको अवस्थामा बाँड्न मिल्ने वा नमिल्ने स्पष्ट धारणा केही पनि आएन,’ उनले विकासन्युजसँग भने, ‘अहिले पनि लघुवित्तप्रति नकारात्मक धारणा छ, बोनस खुवाएको भनेर चारैतिरबाट पर्ने दबाबलाई मध्येनजर गरी र घाटामा रहेकाले लाभांश नबाँड्ने निर्णय गरिएको हो ।’ यसअघि लघुवित्तले प्रस्ताव गरेको लाभांश ढिला गरी जानकारी गराएको भन्दै नेप्सेले गत कात्तिक २४ गते लघुवित्तको ३ दिन कारोबार स्थगन गरी स्पष्टिकरण सोधेको थियो । सर्भरमा समस्या आएका कारण ढिला भएको र आगामी दिनमा यस्ता समस्या नदोहोर्याउने प्रतिबद्धता जनाएसँगै कारोबार फुकुवा भएकाे थियाे । सेयरधनीलाई लाभांशको आश देखाएर अहिले आएर लघुवित्तले लाभांश नदिने घोषणा गर्दा सेयरधनीहरू पनि संस्थाप्रति असन्तुष्ट बनेका छन् । लाभांश प्रस्ताव गरेको दिन अर्थात् कात्तिक २५ गते यस लघुवित्तको सेयर मूल्य ५९० रुपैयाँ थियो । त्यसपछि निरन्तर बढेको सेयर मूल्य पुस २३ गतेका दिन सेयर मूल्य १ हजार ३५ रुपैयाँसम्म पुगेको थियो । तर, कम्पनीले पुस २५ गते लाभांश वितरण नगर्ने बताएपछि आइतबार पुस २९ गते सो लघुवित्तको सेयर मूल्य ८७२ रुपैयाँमा झरेको छ । यो अवधिमा लघुवित्तको सेयर मूल्य ४४५ रुपैयाँ अर्थात् ७५.४२ प्रतिशतले बढेको छ । यो बिचमा सेयरधनीले लाभांश पाउने आशमा सेयर खरिद गरेको देखिन्छ । तर, अन्ततः संस्थाले लाभांश वितरण नगर्ने बताएपछि सेयरधनी पुर्पुरोमा हात लगाएर बस्न विवश बनेका छन् । यस विषयमा नियामक भने मौन देखिएका छन् । लाभांश वितरण गर्ने प्रस्ताव गरेर अन्ततः वितरण नगर्ने फ्रड काम गरेको संस्थाप्रति पुँजी बजारको नियामक नेपाल धितो बोर्ड र बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मौन छन् । लाभांशको लोभ देखाएर सेयरधनीलाई सेयर खरिद गर्न उत्साहित बनाएको धौलागिरी लघुवित्तप्रति नियामक पनि उदार देखिएका छन् । नेप्सेका एक कर्मचारी संस्थाहरूले राष्ट्र बैंकको नीतिको लुपहोलको प्रयोग गर्दै सेयर मूल्यमा खेलिरहेको बताउँछन् । उनका अनुसार लाभांश प्रस्ताव गरेपछि राष्ट्र बैंकले रोक्न चाहेमा रोकिने र स्वीकृति दिएमा घोषणा गर्ने अभ्यासले सेयरधनीलाई मर्का भइरहेको छ । यसका लागि राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भइसकेपछि मात्रै लाभांश प्रस्ताव गर्नु पर्ने नीति बनाउनु पर्ने उनको भनाइ छ । अहिलेको अभ्यासले बढ्दो बजारमा सेयरधनी ठूलो नोक्सानमा पर्न सक्ने खतरा हुने उनको भनाइ छ । धितोपत्र बोर्डका कार्यकारी निर्देशक विनय देव आचार्यले यस विषयमा सेबोनले एक्सन लिने बताए । ‘यो कसरी भयो, हामी अध्ययन गर्छौं, गलत भएको छ भने कारवाही गर्छौं, सुरुमा लाभांश प्रस्ताव गरेर पछि वितरण गर्दिनँ भन्न मिल्दैन, राष्ट्र बैंकले पनि के कति कारणले नदिएको हो, त्यो विषय पनि खुलाउनुपर्छ, त्यो विषय नखुलाएर वितरण गर्दैनौं भन्न मिल्दैन,’ उनले भने । युनिक नेपाल लघुवित्तको २० प्रतिशत लाभांश गायब युनिक नेपाल लघुवित्तविरुद्ध अदालत जाने लगानीकर्ताको चेतावनी, अध्यक्ष हमाल भन्छन् : कारबाही गर्छौं
गरिमा विकास बैंकको लाभांश पारित, चुक्ता पुँजी ५ अर्ब ६८ करोडमाथि
काठमाडौं । गरिमा विकास बैंकको प्रस्तावित १० प्रतिशत लाभांश पारित भएको छ । आइतबार सम्पन्न कम्पनीको १७औं वार्षिक साधारण सभाले प्रस्तावित ९.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५० प्रतिशत नगद लाभांश पारित गरेको हो । उक्त लाभांश पुस १६ गतेसम्म कायम सेयरधनीले पाउने भएका छन् । हाल ५ अर्ब १८ करोड ७६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको विकास बैंकको साधारणसभाबाट पारित ९.५० प्रतिशत बोनस सेयर वितरणपश्चात ५ अर्ब ६८ करोड ५ लाख रुपैयाँ पुगेको छ । सभाले विकास बैंकको अधिकृत पुँजी वृद्धि गरी ५ अर्ब ७० करोड रुपैयाँ बनाउने, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षक नियुक्ति गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ । हाल बैंकको १२३ शाखा कार्यालय र ५१ वटा एटीएम सञ्चालनमा रहेका छन् । साथै बैंकले हालसम्म करिब ८० अर्ब रुपैयाँ निक्षेप संकलन गरी करिब ६९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
बुटवल पावरको लाभांशसँगै एफपीओ जारी गर्ने प्रस्ताव पारित
काठमाडौं । बुटवल पावर कम्पनीको लाभांश र एफपीओ जारी गर्ने प्रस्ताव पारित भएको छ । आइतबार सम्पन्न कम्पनीको ३१औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश र एफपीओ जारी गर्ने दुबै प्रस्ताव पारित गरेको हो । सभाले पारित गरेसँगै सेयरधनीले चुक्ता पुँजीको पाँच प्रतिशत नगद लाभांश पाउने छन् । उक्त लाभांश कम्पनीले नेपाल सरकारको आंशिक लगानी रहेका कारण कम्पनी ऐन, २०६३ बमोजिम नेपाल सरकारको स्वीकृति लिएर सेयरधनीहरुलाई सक्दो छिटो वितरण गर्ने बताएको छ । साथै, सो सभाले कम्पनीको प्रतिसेयर एक सय रुपैयाँ दरका एक करोड कित्ता शेयरहरु प्रचलित ऐन नियम बमोजिम प्रिमियम मुल्यमा थप सार्वजनिक निष्काशन गर्ने प्रस्तावलाई पारित गरेको छ । सो प्रयोजनका लागि कम्पनीको हालको जारी पुँजी ३ अर्ब ४० करोड ९० लाख रुपैयाँलाई बढाई ४ अर्ब ४० करोड ९० लाख रुपैयाँ पुर्याउने विशेष प्रस्ताव समेत पारित गरेको छ । कम्पनीले सञ्चालन गर्दै आएका ९.४ मेगावाटको आँधिखोला र १२ मेगावाटको झिमरुक जलविद्युत केन्द्रहरु नियमित रुपमा सञ्चालन भैरहेका छन् । साथै, सहायक तथा सम्वद्ध कम्पनीहरु मार्फत सञ्चालित ४ मेगावाट को खुदी जलविद्युत केन्द्र र ६० मेगावाटको खिम्ती प्रथम जलविद्युत केन्द्रको सञ्चालन सुचारु रुपमा हुँदै आएको छ । खिम्ती प्रथम जलविद्युत केन्द्रको स्वामित्वको आधा हिस्सा जुलाई २०२० देखी नेपाल विद्युत प्राधिकरणमा गएको छ । लमजुङ जिल्ला स्थित ३० मे.वा. को न्यादी जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भई २०७९ बैशाख २७ देखि संचालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणवाट निर्माण हुनु पर्ने खुदी सबस्टेशन तथा प्रशारण लाईन निर्माणमा ढिलाई भएका कारण आयोजनाले बैकल्पिक प्रशारण लाईन निर्माण गरी विद्युत आपूर्तिको व्यवस्था गरिएको छ । प्राधिकरणले यस आयोजनाबाट उत्पादित हुने विद्युत पूर्णरुपमा नलिएका कारण सो आयोजनाको आम्दानीमा प्रत्यक्ष असर पर्न गएको कम्पनीले जानकारी गराएको छ । ३७.६ मेगावाटको कावेली ए जलविद्युत आयोजनाको स्थानीय रुपमा वित्तिय लगानी जुटाएर निर्माण कार्य पुनः प्रारम्भ भई सन्तोषजनक रुपले कार्य प्रगति अगाडि बढीरहेको छ । यस आयोजनाको निर्माण कार्य २०८१ साल चैत्र मसान्तसम्म सम्पन्न गरी विद्युत उत्पादन हुने अपेक्षा गरिएको छ । तीन चिनियाँ लगानी कर्ताहरुसंगको संयुक्त लगानीमा मस्र्याङदी नदीमा निर्माणको चरणमा रहेका आयोजनाहरुमा १३५ मेगावाटको मनाङ मस्र्याङदी जलविद्युत आयोजना, १३९.२ मेगावाटको तल्लो मनाङ मस्र्याङदी जलविद्युत आयोजना र ३२७ मेगावाटको माथिल्लो मस्र्याङदी दोश्रो जलविद्युत आयोजना क्यासकेड अवधारणामा (कुल जम्मा ६०१ मेगावाट) अगाडि बढाउने क्रममा छन् । मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापनको कार्य सम्पन्न गरि यस आयोजनाको निर्माण कार्य चालु आर्थिक वर्षको चैत्र भित्रै शुरु गर्ने योजना रहेको छ । त्यस्तै, ७.९ मेगावाटको चिनोखोला जलविद्युत आयोजना पनि निर्माण तयारीको चरणमा रहेको छ । १७३.४७ मेगावाट क्षमताको अर्ध जलाशययुक्त मुगु कर्णाली जलविद्युत आयोजना अध्ययनकै क्रममा रहेको छ ।
छिमेक लघुवित्तको १५ प्रतिशत लाभांश पारित
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको १५ प्रतिशत लाभांश पारित भएको छ । आइतबार सम्पन्न संस्थाको २२औं वार्षिक साधारण सभाले सेयरधनीलाई आर्थिक वर्ष २०७९/८० को नाफाबाट १० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्तावलाई पारित गरेको हो । काठमाडौंंको मध्य वानेश्वरमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले हालसम्ममा ६९ जिल्लामा १९७ वटा शाखा मार्फत कुल ४ लाख १९ हजार बढी महिला सदस्यहरुलाई लघुवित्त कार्यक्रम मार्फत सेवा दिइरहेको छ । २०५८ सालमा स्थापना भएको यस संस्थाले आर्थिक वर्ष २०७९/८० मा १ अर्ब २ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । प्रस्तावित लाभांश पारितसँगै संस्थाको चुक्ता पुँजी बढेर २ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ ।