विकासन्युज

सानिमा रिलायन्स लाईफले गर्यो विद्यालयमा बीमा सचेतता कार्यक्रम

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले मन्थली माध्यमिक विद्यालय रामेछापमा एक बीमा सचेतता कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयमा कार्यरत शिक्षक तथा कक्षा ११ र १२ मा अध्ययनरत ८० जना विद्यार्थी बिच उक्त कार्यक्रम आयोजना गरिएको थियो । बिमा सचेतता कार्यक्रममा क्षेत्रीय प्रमुख बलराम खत्री, तालिम विभाग प्रमुख ज्ञानेन्द्र देव भट्ट, शाखा प्रमुख रामहरि केसि प्रधानाध्यापक टंक प्रसाद दाहाल, सहायक प्रधानाध्यापक चन्द्र सिङ धामी लगायतको उपस्थिति रहेको थियो । कम्पनीले विभिन्न स्थानमा सञ्चालन गर्दै आएको यस्ता कार्यक्रमले समुदायमा बीमाको आवश्यकता र महत्वको जानकारी हुन गई बीमा प्रति सकारात्मक सन्देश प्रवाह हुने विश्वास लिएको छ ।

सुदूरपश्चिममा उपेक्षित उष्णप्रदेशीय रोगको जोखिम बढ्दै

कञ्चनपुर । उपेक्षित उष्णप्रदेशीय (गर्मी क्षेत्रमा हुने) रोगको जोखिम सुदूरपश्चिम क्षेत्रमा बढ्दै गएको छ । विभिन्न प्रकारका भाइरस, ब्याक्टेरिया, परजीवी, ढुसी र विषाक्त पदार्थका कारणले उष्णप्रदेशमा बस्ने व्यक्तिलाई असर गर्दै आएको छ । व्यक्ति बिरामी मात्रै नभएर ज्यानसमेत जाने गरेको जनाइएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका कीटजन्य अधिकृत (कार्यक्रमका फोकल पर्सन)हेमराज जोशीले रोगलाई उपेक्षित गरेकै कारण बल्झिँदै व्यक्तिको ज्यान जाने गरेको बताए  । उनका अनुसार विश्व स्वास्थ्य सङ्गठनको उपेक्षित उष्णप्रदेशीय रोगहरूको सूचीमा २१ रोगको समूह सूचीकृत गरिए पनि नेपालमा हालसम्म ११  रोगमात्रै पाइएको छ । यसमा डेङ्गु र चिकनगुनिया, रेबिज, ट्रकोमा (खस्रे रोग) कुष्ठरोग, कालाजार, टेनियासिस र न्यूरोसिस्टाइसर्कोसिस (फिते जुका), हात्तीपाइले, माटोबाट सर्ने जुका, इसेटोमाक्रोमोब्लास्टोमाइकोसिस, अन्य डिप माइकोसेस, सर्पदंश, लुतो र अन्य इक्टोपारासाइटलगायत छन् । ‘यस्ता रोगबाट विश्वमा एक अर्ब बढी मानिसलाई प्रत्येक वर्ष असर पर्ने गरेको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क छ’, उनले भने, ‘नेपालमा पनि यी रोगको सङ्क्रमणबाट बर्सेनि लाखौँ व्यक्ति प्रभावित हुने गरेका छन्, सुदूरपश्चिममा यी रोगको सङ्क्रमण बर्सेनि झनै बढ्ने गरेको छ, रोग निदानका प्रयास पनि हुँदै आएका छन् ।’ यी रोग मुख्यतया पर्याप्त सरसफाइको कमी, रोग बाहक सङ्क्रामक कीटहरू, घरपालुवा जनावरसँग नजिकको सम्पर्कमा रहने व्यक्तिसँगै गरिबीको रेखामुनि रहेका व्यक्ति बढी जोखिम रहने गरेको अधिकृत जोशीले बताए । ‘स्वास्थ्यसम्बन्धी विश्वव्यापी एजेण्डामा यी रोगबारे विरलै मात्र चर्चा हुने गरेको छ’, उनले भने, ‘यस क्षेत्रमा काम गर्नका लागि सीमित स्रोतसाधनमात्रै उपलब्ध हुन्छ, अध्ययन-अनुसन्धान कम हुने गरेकाले पनि यी रोगलाई उपेक्षित रोग भन्ने गरिन्छ ।’ उपेक्षित उष्णप्रदेशीय रोग समुदायमा सामाजिक बहिष्करणसँग जोडेर हेर्ने गरिने भएकाले सबैभन्दा बढी गरिबीको रेखामुनि रहेका व्यक्ति बढी प्रभावित हुने गरेको उनको भनाइ छ । उनका अनुसार केही उपेक्षित उष्णप्रदेशीय रोग जनस्वास्थ्य समस्याको रूपबाट निवारण हुँदै आएको छ भने केही निवारण र रोकथामको रणनीतिमा कार्य भइरहेको छ । नेपालले सन् २०१८ मा ट्रकोमा निवारण गरेको छ । यसको प्रमाणीकरण विश्व स्वास्थ्य सङ्गठनबाट भइसकेको छ । देशमा कालाजार सन् २०२६, हात्तीपाइले, कुष्ठरोग र रेबिजलाई सन् २०३० मा निवारण गर्ने लक्ष्य लिएको छ । कालाजार जनस्वास्थ्य समस्याको रूपमा निवारण गर्ने लक्ष्यअनुरूप जिल्ला तहमा प्रति १० हजार जनसङ्ख्यामा एकभन्दा कममा सङ्क्रमण पुर्‍याउने, कालाजारबाट हुने मृत्युलाई एक प्रतिशतमा झार्ने रणनीति तय गरिएको छ ।  पछिल्लो दुई दशकमा कालाजारका बिरामीको सङ्ख्या ९० प्रतिशतले कमी आएको अधिकृत जोशीको भनाइ छ । ‘अन्य जिल्लामा कालाजारको लक्ष्य प्राप्ति भए पनि कालीकोट जिल्लामा मात्रै निवारणको लक्ष्य प्राप्त गर्न सकिएको छैन’, उनले भने । कुष्ठरोगको फैलावटलाई अवरुद्ध गरेर जिल्ला र स्थानीय तहमा निवारण गर्ने, स्थानीय तहस्तरमा लगातार पाँच वर्षसम्म १५ वर्षमुनिका बालबालिकामा नयाँ सङ्क्रमणलाई शून्यमा पुर्‍याउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय कञ्चनपुरका कीटजन्य फोकल पर्सन सिद्धराज भट्टले जानकारी दिए । कुष्ठरोगलाई सन् २०१० मा राष्ट्रियस्तरबाट जनस्वास्थ्य समस्याको रूपमा घोषणा भएअनुसार आर्थिक वर्ष २०७९/८० मा राष्ट्रियस्तरमा शून्य दशमलव ८५ प्रिभ्यालेस दरसँगै दुई हजार पाँच सय २२ नयाँ रोगी पहिचान गरिएको उनले उल्लेख गरे। हात्तीपाइले रोग एन्टिजेनेमिया दुई प्रतिशतभन्दा कम र माइक्रोफिलरिया एक प्रतिशतभन्दा कम पुर्‍याउने लक्ष्य रहेको उनको भनाइ छ । चौसठ्ठीवटा हात्तीपाइले एन्डेमिक जिल्लामध्ये आम औषधि सेवन सम्पन्न गरी ५३ वटा जिल्लामा सङ्क्रमणको प्रसारसम्बन्धी आम औषधि सेवन बन्द गरिएको छ । सात जिल्लामा आम औषधि सेवनको कार्य जारी रहेको छ । हात्तीपाइलेको रुग्णतासम्बन्धी ४९ जिल्लाबाट तथ्याङ्क सङ्कलन गरिएको छ । हालसम्म हात्तीपाइलेका कारणबाट ४१ हजार पाँच सय ३५ जनामा हाइड्रोसिल तथा गोडामा सुजनलगायतको शारीरिक समस्या देखा परेको फोकल पर्सन भट्टले बताए ।  डेङ्गु रोगको रोकथाम र नियन्त्रणको प्रयास हुँदै आएको छ । सन् २००४ मा डेङ्गुको पहिलो केस रिपोर्ट भएदेखि प्रत्येक वर्ष बिरामीको सङ्ख्या बढ्दै गएका छन् । सन् २०२३ मा ७७ वटै जिल्लामा ५२ हजार बढी व्यक्तिमा डेङ्गुको सङ्क्रमण भई २० जनाको मृत्यु भएको निर्देशनालयले राखेको तथ्याङ्कमा उल्लेख गरिएको छ । “गत आवमा कुकुरको टोकाइबाट अस्पताल आउने बिरामीको सङ्ख्या एक लाखभन्दा बढी थियो’, तथ्याङ्कअनुसार कुकुरको टोकाइबाट हुने रेबिजलाई सन् २०३० सम्म शून्यमा पुर्‍याउने लक्ष्य लिइएको छ ।’ आव २०७९/८० मा १० जनाको रेबिजबाट मृत्यु भएको प्रतिवेदनमा उल्लेख गरिएको भए पनि बर्सेनि रेबिजबाट सय बढीको मृत्यु हुने गरेको अनुमान छ । सर्प दंशबाट आव २०७९/८० मा नौ हजार बढी व्यक्ति प्रभावित भएकामा जसमध्ये एक हजार दुई सय २३ जनालाई विषालु सर्पले डसेको थियो । देशभर एक सय १० वटा सर्पदंश उपचार केन्द्रमार्फत उपचार हुने गरेको छ । सन् २०१५ मा भएको सर्वेक्षणअनुसार भौगोलिक क्षेत्रका आधारमा १२ देखि ३४ प्रतिशत स्कुलमा अध्ययनरत विद्यार्थीमा माटोबाट सर्ने जुकाको सङ्क्रमण देखा परेको थियो । आव २०७९/०८० मा पाँच लाख ५० हजार जनामा जुकाको सङ्क्रमण देखिएको छ । रासस

आजको मौसम : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले वर्षा र हिमपात

  काठमाडौं । पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणालीका कारण आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम बदली रहनुका साथै उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हिउँदे मौसमको विशेष बुलेटिन निकालेर उक्त प्रणालीका कारण आजदेखि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा तथा बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको जनाएको हो । साथै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही भू–भागमा तथा बागमती र कोशी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । ती दुवै मौसमी प्रणालीका कारण आज अपराह्नबाट नेपालको सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादलहरू सर्ने क्रममा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका अन्य पहाडी भू–भागका धेरै स्थानमा साधारणतया बदली रहनेछ । साथै उक्त प्रणालीका कारण बुधबार र बिहीबार तापक्रम घटेर हल्का चिसो बढ्न सक्ने सम्भावना रहेको छ । यस मौसमी प्रणालीका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई÷यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । आउँदो शुक्रबारबाट क्रमशः सुदूरपश्चिम प्रदेशबाट मौसममा सुधार हुँदै जाने पनि महाशाखाले पूर्वानुमान गरेको छ । महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा हाल पश्चिमी वायुको प्रभावले देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । साथै देशका तराई भू–भागका केही स्थानमा हुस्सु÷कुहिरो लागेको छ । दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भेगमा आंशिकदेखि मौसम मुख्यतया सफा रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानका साथै बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । ती प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानका साथै पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । रासस

१ सय रुपैयाँमै कामना सेवा विकास बैंकको ५ लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक समूहको सेयर बिक्री गर्ने भएको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरूको ५ लाख बढी कित्ता सेयर आज माघ १७ गतेदेखि बिक्रीमा राखेको हो । बैंकका विभिन्न संस्थापक सेयरधनीहरूको नाममा रहेको ५ लाख ९ हजार ८९२ कित्ता सेयर बिक्रीमा राखिएको हो । उक्त सेयरको मूल्य न्यूनमत १ सय रुपैयाँ तोकेको छ । इच्छुक लगानीकर्ताहरूसो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । इच्छुक लगानीकर्ताले माघ २३ गतेभित्र बोलपत्र पेस गर्नुपर्नेछ । सो सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । लगानीकर्ताले न्यूनतम २ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन्।

नाडेप लघुवित्तले डाक्यो १७औं साधारण सभा, मुख्य एजेण्डा के-के छन् ?

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा आह्वान गरेको छ । लघुवित्त सञ्चालक समितिको माघ १५ गते बसेको बैठकले १७औं वार्षिक साधारण सभा फागुन ११ गते बिराटनगरमा बिहान ११ बजे बोलाएको हो । लघुवित्तको सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, कुनै एक वा एकभन्दा बढी उपयुक्त वित्तीय संस्थाहरु एकआपसमा गाभ्ने गाभिने वा प्राप्ती गर्ने सम्बन्धमा संचालक समितिलाई अख्तियारी प्रत्यायोजन गर्ने छ । साथै, मिर्मिरे लघुवित्तसँग मर्जरको प्रक्रिया अन्तिम चरणमा पुगेको अवस्थामा मर्जर सम्बन्धि सैद्धान्तिक सहमति प्राप्त गरेका संस्थाका संचालकहरूको तोकिएको कार्यकाल समाप्त भई निर्वाचन गर्नुपर्ने अवस्था भएतापनि मर्जरपश्चात् पुनः निर्वाचन नभएसम्म संचालक पदमा बहाल रहन सक्ने भएकोले मिति २०७६ पुस २८ गते सम्पन्न १३ औं बार्षिक साधारणसभाद्धारा निर्वाचित संचालकहरु मर्जर पश्चात प्रचलित कानून बमोजिम पुनः निर्वाचन नभएसम्मको लागि यथावत बहाल रहने प्रस्ताव पारीत गर्नेछ । सभाले आर्थिक वर्ष २०७९/८०को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । वार्षिक साधारणसभा प्रयोजनका लागि माघ २४ गते सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा माघ २३ गतेसम्म कायम सेयरधनीहरू मात्रै साधारणसभामा सहभागी हुन सक्ने छन् ।

कुमारी बैंकका ५ संस्थापक बाहिरिँदै, बिक्रीमा राखे सेयर

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको ४ लाख ५८ हजार १२४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । बैंकले संस्थापक सेयरधनीहरू भरत रेग्मीको नाममा रहेको ६९ हजार ४१९ कित्ता, निशा केसीको ४४ हजार ३६५ कित्ता, संगीता केसीको ३ लाख ४१ हजार ७१९ कित्ता, पबित्रा थापाको १ हजार ७५९ कित्ता र खडग बहादुर थापा मगरको ८६२ कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकले बिक्रीमा राखेको उक्त सेयरको मूल्य तोकेको छैन । बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले उक्त सेयर खरिद गर्न ३५ दिनभित्र विवरण खुलाई निवेदन दिनुपर्नेछ । बैंकका अनुसार म्यादभित्र संस्थापक सेयरधनीहरूबाट आवेदन नपरेमा संस्थापकभन्दा बाहिर सेयर बिक्रीको प्रक्रिया अघि बढ्ने छ ।

नेपालमै छाप्न थालियो हुलाक टिकट

smart काठमाडौं । नेपालमा पहिलो पटक हुलाक टिकट छपाइ सुरु भएको छ । सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले आफ्नो छापाखानाबाट टिकट छपाइ गर्न थालेको छ । यसअघि नेपालका हुलाक टिकट भारत, इन्डोनेसियालगायत अन्य मुलुकमा छापिने गरेको थियो । हुलाक टिकट छपाइका लागि चाहिने कच्चा पदार्थ भने जनक शिक्षाले अहिले पनि विदेशबाट नै ल्याएको हो । जनक शिक्षाले राजनीतिज्ञ, सहिद, विभिन्न प्रकारका फूल र अन्य वनस्पतिलगायत १४ प्रकारका हुलाक टिकट छपाइ गरिरहेको छ । जनक शिक्षाले आउने चैतसम्म एक करोड तिस लाख थान टिकट छाप्ने सम्झौता हुलाक सेवा विभागसँग गरेको छ । तीमध्ये चार प्रकारका रैथाने वनस्पतिका दस लाख थान टिकट छापिने छ । चार जना राष्ट्रिय व्यक्तित्वमध्ये साहना प्रधान, कामी बुढा, रामवृक्ष यादव र नेत्रलाल पौडेल ‘अभागी’ को चित्र अङ्कित टिकट १० लाख थानको दरले कुल चालिस लाख थान छापिने छ । बाँकी ८० लाख थान टिकट छ प्रकारका सामग्री, धार्मिक स्थललगायतको चित्र अङ्कित हुने जनक शिक्षाका प्रवक्ता रवीन्द्र शर्माले बताए । यसअघि जनक शिक्षाले विद्यालय तहको पाठ्यपुस्तक छपाइ तथा बिक्रीवितरण, माध्यमिक शिक्षा परीक्षा (एसइई) र कक्षा १२ को प्रश्नपत्र र आन्तरिक राजस्व विभागको स्टिकरलगायतका सामग्री पनि छाप्ने गरेको थियो । निर्वाचनको समयमा मतपत्र पनि जनक शिक्षाले नै छाप्ने गरेको छ । हुलाक टिकट छपाइका लागि जनक शिक्षाले छापाखाना वरपर नेपाली सेनाको नेतृत्वमा कडा सुरक्षा व्यवस्था मिलाएको छ । जनक शिक्षाको सेक्युरिटी प्रेसमा हुलाक टिकट छपाइ भइरहेको छ । जहाँ ३५ कर्मचारी खटाइएको छ । यसरी छापिएका टिकटको मूल्य ५, १० र १३ रुपियाँ तोकिएको छ । विदेशमा छपाइ हुँदा प्रति टिकट सरदर एक रुपियाँ पर्ने गरेको थियो । जनक शिक्षामा भने ९५ पैसामै छपाइ सम्भव भएको जनक शिक्षाका प्रबन्ध सञ्चालक अनिल झाले जानकारी दिए । यसअघि विदेशमा टिकट छपाइ गर्दा ठुलो परिमाण छापिने गरेको थियो । विभिन्न सरकारी कार्यालयमा निवेदन लेख्दा, पत्र पठाउँदा वा अन्य प्रकारको फाराम भरेर बुझाउँदा हुलाक टिकट टाँस्नु अनिवार्य छ । तर पछिल्लो समय यस्ता अधिकांश काम अनलाइन माध्यमबाट हुन थालेकाले हुलाक टिकको प्रयोग अत्यन्त कम हुन थालेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

सरकारी कार्यालयले नै बुझाएनन् महसुल, प्राधिकरणले काट्यो विद्युत लाइन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण धनगढीले लामो समयदेखिको महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन विच्छेद (काट्न) गराउन थालेको छ । धनगढी विद्युत् वितरण केन्द्रले महसुल बुझाउन पटक-पटक ताकेता गर्दासमेत आनाकानी गर्दै आएका सरकारी कार्यालय तथा व्यक्तिगत ग्राहकको विद्युत् लाइन काट्न सुरु गरेको जनाएको छ । विद्युत प्राधिकरणले धनगढी र अत्तरियामा समयमै विद्युत् महसुल नबुझाउने २५३ ग्राहकको विद्युत् लाइन काटेको जनाएको छ । लामो समयदेखि विद्युत् महसुल नबुझाएका ग्राहकको बक्यौता रकम १ करोड ५३ लाख ४९ हजार ३६५ रुपैयाँ रहेको जनाइएको छ । वितरण केन्द्र धनगढीका प्रमुख मिथिलेशकुमार गोयलका अनुसार विद्युत् लाइन काट्न सुरु गरिएपछि १८० ग्राहकले महसुल बुझाएका छन् । एक महिनाको अवधिमा ती ग्राहकबाट ७८ लाख ३७ हजार ४९१ रुपैयाँ विद्युत महसुलबापतको रकम असुली भएको उनले जानकारी दिए । धनगढी विद्युत् वितरण केन्द्रले मालपोत कार्यालय, नापी, सडकलगायत गरी सातवटा सरकारी कार्यालयको लाइन काटेको छ । ती सात कार्यालयले ६ लाख २ हजार ६०७ रुपैयाँ विद्युत् महसुल बुझाउन बाँकी रहेको वितरण केन्द्रको तथ्याङ्कले देखाएको छ । लाइन काटिएका सरकारी कार्यालयबाट १ लाख ४८ हजार ६४० रुपैयाँ मात्र विद्युत् महसुलबापतको रकम असुली भएको वितरण केन्द्र प्रमुख गोयलले जानकारी दिए। धनगढी विद्युत् वितरण केन्द्रअन्तर्गत ७९ हजार बढी ग्राहक रहेका छन् । वितरण केन्द्रले समयमा विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काट्ने क्रमलाई निरन्तरता दिँदै जाने जनाएको छ । विद्युत् विनियमावलीमा मिटर रिडिङ भएको ६०औँ दिनसम्म पनि वक्यौता महसुल नबुझाएमा लाइन काट्ने व्यवस्था छ । लाइन काटेको छ महिनासम्म पनि वक्यौता महसुल नबुझाउने उपभोक्तालाई कालोसूचीमा राखी असुली प्रक्रिया अगाडि बढाउने प्रावधान रहेको जनाइएको छ ।