राप्ती हाइड्रोको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त भएको छ । सो सम्बन्धमा दुबै संस्थाबीच एक आपसमा सम्झौता भइसकेको छ । कम्पनीले शतप्रतिशत हकप्रद निष्काशन गर्न उक्त क्यापिटललाई बिक्री प्रबन्धमा नियुक्त गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ६१ करोड २७ लाख रुपैयाँ छ । शतप्रतिशत हकप्रद सेयर निष्काशनपश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब २२ करोड रुपैयाँ नाघ्ने छ ।
शौर्य सिमेन्ट र स्काई होल्डिङ्ग बिजनेस ग्रुपको संयुक्त कन्ट्रयाक्टर मिट सम्पन्न
काठमाडौं । शौर्य सिमेन्ट ई. लिमिटेड र स्काई होल्डिङ्ग बिजनेस ग्रुप पब्लिक लिमिटेडको संयुक्त आयोजनामा कन्ट्रयाक्टर मिट सम्पन्न भएको छ । होल्डिङ ग्रुपका सल्लाहकार युवक राजभण्डारीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बागमती प्रदेशका भौतिक पूर्वाधार विकास पूर्वमन्त्री कृष्णलाल भडेल, निर्माण व्यवसायी संघ भक्तपुरका अध्यक्ष कृष्ण प्रसाद अवाल तथा शौर्य सिमेन्टका ब्रान्ड प्रबन्धक अनुज महत, क्षेत्रीय बिक्री प्रबन्धक रोशन बहादुर कडायत र प्राविधिक प्रमुख दिवस देवकोटा एवम् भक्तपुरका विभिन्न निर्माण क्षेत्रमा कार्यरत कन्ट्र्याक्टरलगायत उपस्थित थिए । कार्यक्रममा उपस्थित उनीहरूले भक्तपुरमा निर्माण हुने भौतिक संरचनामा निर्माण सामाग्रीको छनौट, बिक्री वितरण, प्रविधि मैत्री निर्माण सामाग्रीलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । उक्त कार्यक्रममा शौर्य सिमेन्टको प्रयोग, प्रविधि, गुणस्तर, उत्पादन क्रममा गरिने परीक्षण प्रविधि, वातावरण मैत्री प्राविधिक जानकारी एवम् शौर्य सिमेन्टद्वारा आयोजित विभिन्न सामाजिक व्यावसायिक उत्तरदायित्वका कार्यहरूको पनि जानकारी गरिएको थियो । कम्पनीका क्षेत्रीय बिक्री प्रबन्धक रोशन बहादुर कडायतद्वारा भक्तपुरका बासिन्दाहरूलाई सुपथ मूल्यका साथै सहज रूपमा सिमेन्टको उपलब्धता सुनिश्चित गर्न स्काई ग्रुपसँग साझेदारी गरिएको जानकारी कार्यक्रम मार्फत दिइएको थियो । कार्यक्रममा देशमा आर्थिक संकटको कारणले सबै निर्माण व्यवसायीहरू असहज अवस्थामा रहेको र उत्पादक कम्पनीहरूद्वारा सहजीकरणको अपेक्षा रहेको कुरा निर्माण व्यवसायीद्वारा राखिएको थियो । शौर्य सिमेन्ट ईन्डष्ट्रिज लिमिटेड सिराहा जिल्लाको मिर्चैयामा अवस्थित शौर्य सिमेन्टको उत्पादन क्षमता चार हाजार ५०० मेट्रिक टन रहेको छ र दैनिक रूपमा ८० हजार बोरा सिमेन्ट उत्पादन गर्दछ । यो नेपालकै उत्कृष्ट र सबैभन्दा ठूलो सिमेन्ट उत्पादक मध्ये एक रहेको छ। कम्पनीद्वारा ४३/५३ ग्रेड ओ.पि.सि., पि.पि. सि.सिमेन्ट उत्पादन र बिक्री वितरण गर्दै आएको छ ।
साधना लघुवित्तद्वारा लघुबीमा क्षतिपुर्ति दाबी वितरण कार्यक्रम सम्पन्न
काठमाडौं । साधना लघुवित्तले वित्तीय साक्षरता र लघुबीमा क्षतिपुर्ति दाबी वितरण कार्यक्रम सम्पन्न गरेको छ । वित्तीय संस्थाको नवलपरासी जिल्ला स्थित शाखा कार्यालय सुनवलले सुनवल न.पा वडा नं ४ स्थित सुनवल चोकमा सो कार्यक्रम संचालन भएको थियो । वित्तीय साक्षरता कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले लघुवित्त संस्था गरिब तथा विपन्न परिवारलाई जिविको पार्जन तथा स–सना व्यवशायको माध्यमबाट नेपालमा गरिबी न्यूनिकरणमा महत्वपु्र्ण भुमिका निर्वाह गरेको र लघुवित्त संस्थाबाट लिएको कर्जा नियिमत तिर्न तथा कर्जा मिनाहा हुने भ्रमबाट मुक्त हुनु पर्ने कुरामा जोड दिएका थिए । हाल केहि व्यक्तिहरु लघुवित्त संस्थाको क्रृण मिनाहा हुन्छ भन्ने कुराको भ्रममा रहेको, लघुवित्त संस्थाले बाणिज्य बैंकहरुबाट होलसेल कर्जा लिएर खुद्ररा रुपमा न्युन मार्जिन हाल मार्जिन माइन्समा भएपनि सेवा प्रवाहलाई निरन्तरता गरिरहेकोले स्थानिय निकायको पदाधिकारी तथा समाजको बुद्धिजिवीहरुले कर्जा लिएपछि कर्जा तिर्नुपर्ने कुरालाई राम्रोसँग बुझाउनु पर्ने आवश्यक्ता रहेको, हल्लाको पछि नलागी यथार्थ कुरा पता लगाउन तथा लघुवित्त संस्थाको सेवा प्रवाहमा कमि कजोरी देखिएमा नेपाल राष्ट्र बैंकमा गुनासो राख्न सकिने भनि जानकारी गराउनु भएको थियो । सुनवल नगरपालिका वडा नं ४ का वडा सदस्य तेज वहादुर गुरुङ्गले वित्तीय संस्थाले पूँजीको अभावमा व्यवसाय गर्न नसकेका व्यक्तिहरुलाई ससानो कर्जा मार्फत् उद्यमशिल बनाउनुको साथै सदस्यको परिवारमा विपदको घडिमा समेत राहत पु–याई उदाहरणिय कार्य गरेकोमा धन्यवाद व्यक्त गर्दै वित्तीय संस्थाको सफलताको कामना गरे । यसैगरी एनएमवि बैंक सुनवल शाखा प्रमुख अर्जुन ज्ञवालीले वित्तीय संस्थाले बचत कर्जाको कारोबारसँगैं सामाजिक उत्तरदायित्व प्रति समेत खेलेको भूमिकाको प्रशंशा गर्दै वित्तीय संस्थाले आगामी दिनमा ग्राहक मैत्री सेवामा अग्रणी संस्थाको रुपमा आफ्नो पहिचान बनाउने विश्वास व्यक्त गरे । उल्लेखित कार्यक्रममा शाखा कार्यालय सुनवलमा आवद्ध केन्द्र नं ११६ मा आवद्ध सदस्य भुमिकला गैह्रेको असमायिक निधन भएकोमा हार्दिक श्रद्धाञ्जली व्यक्त गरि निजको श्रीमान भुपराज गैह्रेलाई बीमा क्षतिपुर्ति बापत ३ लाख २५ हजार निजको नाममा रहेको कर्जा भुक्तानी गरि बाँकी १ लाख १५ हजार नौ सय पन्ध्र वडा प्रतिनिधि र प्रमुख कार्यकारी अधिकृतले संयुक्त रुपमा क्षतिपुर्ति रकम वित्तरण गरेका थिए । वित्तीय संस्था हाल ३१ जिल्लामा ९३ वटा शाखा कार्यालय मार्फत १ लाख ५ हजार सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको साथै लगभग ५० हजार जना व्यक्तिहरुलाई लघुउद्यम तथा व्यवशाय गर्न कर्जा उपलब्ध गराएर रोजगारी सिर्जना गरेको, वित्तीय संस्थाले कर्जा, बचत, बीमा, रेमिटान्स मात्र नभई गैर वित्तीय सेवा पनि प्रदान गर्दै आएको र भविष्यमा आफ्नो सेवा प्रवाहलाई देशको विभिन्न भुभागमा बिस्तार गरि कार्यक्रम संचालन गर्ने लक्ष्य रहेको प्रमुख कार्यकारी अधिकृत न्यौपानेले बताए । कार्यक्रममा सुनवल न।पा वडा नं ४ का वडा सदस्य तेज बहादुर गुरुङ, साधना लघुवित्त बित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपाने, लेखा अधिकृत चिरञ्जीवी चापागाई, एनएमवि बैंक सुनवल शाखाका प्रमुख अर्जुन ज्ञवाली, साधना लघुवित्त वित्तीय संस्थाका स्टेशन अधिकृत भुमिनन्द जैसी, शाखा कार्यालय सुनवलका शाखा प्रमुख कृष्ण रावल, स्थानिय समाजसेवी, बुद्धिजिवी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
धुम्बाराहीको अकामा होटल ‘रमडा’ को नामबाट सञ्चालन हुने, छिट्टै सेयर जारी गर्ने
काठमाडौं । काठमाडौंको धुम्बाराहीमा रहेको अकामा होटल विश्व प्रसिद्ध ब्राण्ड ‘रमडा’ (रमडा वाई विन्डम) को नामबाट फ्रेन्चाइजमा सञ्चालन हुने भएको छ । विन्डम होटल एण्ड रेस्टुरेन्टसँग फ्रेन्चाइजका लागि बुधबार एक कार्यक्रमबीच अकामा होटल र रमडाबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । विगत चार वर्षदेखि सञ्चालनमा उक्त होटल मंसिर २९ गते स्तरोन्नति भई पाँच तारे होटलको मान्यता पाइसकेको छ । अकामा होटलको व्यापार प्रवर्द्धन तथा व्यवसायिक विस्तारका लागि अमेरिकन चेन ब्राण्ड ‘रमडा’ सँग फ्रेन्चाइजका लागि सम्झौता गरेको होटलका अध्यक्ष विनय कुमार श्रेष्ठले बताए । सन् २०१९ को फेब्रुअरीबाट ‘सफ्ट लन्च’ भई सोही वर्षको अन्त्यबाट पूर्ण रूपमा सञ्चालनमा आएको अकामा होटल १२० भन्दा बढी देशमा पुगेको ‘रमडा वाई विन्डम ब्राण्डबाट सञ्चालित हुनु सबैका लागि गौरवको क्षण रहेको कम्पनीले बताएको छ । यसबाट नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने र विश्व बजारमा नेपालको प्रचारप्रसारमा समेत मद्दत पुग्ने कम्पनीले विश्वास राखेको छ । ९ रोपनी क्षेत्रफलमा फैलिएको अकामा होटलमा सुपेरीयर ९५, डिलक्स -६, डिलक्स स्विट-४, फेमिलि स्विट -२, प्रेसिडेन्टल स्विट-१ गरी जम्मा १०८ कोठाहरु र २ सय बेड संख्या छन् । न्युनतम् २० देखी ६५० जनासम्म कभर गर्ने विभिन्न किसिमका ५ वटा हलहरु साथै स्पेशल चाउवेला रेष्टुरेष्ट समेत गरी तिन वटा रेष्टुरेष्टहरु तथा आउटडोर स्वमिङ्ग पुल, जिम, स्टिम, साउना, ज्याकुजी र स्पा रहेको पनि कम्पनीले बताएको छ । अकामा होटलमा हाल १३० जना विभिन्न तहका कर्मचारीहरू कार्यरत छन् । यस होटलमा दुई तला बेसमेन्टसहितको पार्किङ सुविधा समेत रहेको छ । कम्पनीले अकामा होटलको निकट भविष्यमा सर्वसाधारणका लागि सेयर जारी गर्ने पनि बताएकाे छ ।
बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्ने बताएका छन् । राजर्षिजनक विश्वविद्यालयको सातौं सभालाई बिहिबार सम्बोधन गर्दै प्रधानमन्त्रीले विद्यार्थीको बौद्धिक पोषणका निम्ति तपाईंहरूको साधना, क्षमताको पूर्ण परिचालन एवं रचनात्मक तत्परताबाट पलायन रोक्न सकिने बताएका हुन् । राजर्षिजनक विश्वविद्यालयबाट बाहिर निस्कने प्रत्येक स्नातकमा शिक्षाको वर्तमान तस्वीर र भविष्य अन्तर्निहित हुने उल्लेख गर्दै प्रधानमन्त्रीले शिक्षा पद्धतिलाई युगानुकूल परिस्करण गर्दै लैजानुपर्नेमा जोड दिए । राष्ट्रको नेतृत्व गर्न योग्य जनशक्तिको उत्पादन आजको प्रमुख कार्यभार भएको उल्लेख गर्दै उनले शिक्षामा गुणात्मक सुधार ल्याउनुपर्ने उनको भनाई छ । प्रधानमन्त्री प्रचण्डले विश्वव्यापीकरणको सबैभन्दा ठूलो प्रभाव शिक्षा क्षेत्रमा परिरहेको वर्तमान परिप्रेक्ष्यमा विश्वविद्यालयहरूको नीति, पाठ्यक्रम, शिक्षा विधि, कार्यशैलीमा गुणात्मक सुधार गर्नुपर्ने अवस्था आएको उनको भनाई छ । उनले भने, ‘नवप्रवर्तनमा आधारित प्रतिस्पर्धी शिक्षामा जोड दिनुपर्छ मेरो अपेक्षा त्यही छ ।’ विश्वविद्यालय स्थापनाको छोटो अवधिमा प्राविधिक विषयका चिकित्सा शिक्षा, व्यवस्थापन र कम्प्युटर प्रविधि विषयहरूमा स्नातक र स्नातकोत्तर तहको शैक्षिक कार्यक्रम सञ्चालन गरेकोमा आभार प्रकट गर्दै अपेक्षित सफलताका निम्ति क्रियाशील हुन प्रधानमन्त्रीले सुझाव समेत दिएका छन् । विश्वविद्यालयको जग्गा र भवन पूर्वाधारको अभावमा झेल्नुपरेका कठिनाइहरू अर्थतन्त्रमा आउने सुधारसँगै क्रमशः सम्बोधन गरिने विश्वास पनि दिलाउँदै प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयका अन्य प्राज्ञिक कार्यक्रमहरू व्यवस्थित तुल्याउन सरकारको तर्फबाट गर्नुपर्ने नीतिगत र व्यवस्थापकीय सहयोगमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । मधेस प्रदेश ज्ञान बिज्ञानको केन्द्र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्पूर्ण मधेश प्रदेशलाई ज्ञान–विज्ञानको केन्द्र भएको बताएका छन् । राजर्षिजनक विश्वविद्यालयको सातौँ सभालाई आज संबोधन गर्दै प्रधानमन्त्रीले राजा जनकले ज्ञानी ऋषिमुनीहरूसँग शास्त्रार्थ गरेर ज्ञानको सर्वोच्चता सिद्ध गरेकोसमेत उल्लेख गरेका छन् । प्रधानमन्त्रीले भने, ‘सङ्घीय संरचनाअन्तर्गत मधेश प्रदेशमा रहेको सम्पूर्ण मधेश प्रदेशलाई पुनः ज्ञान विज्ञानको केन्द्रको रूपमा विकास गर्ने सरकारको नीति छ ।’ ज्ञानको दीप प्रज्वलित गर्ने उद्देश्यले राजर्षिजनकको नाममा विश्वविद्यालय खोलिनु प्राचीन सभ्यता, संस्कृति र सांस्कृतिक धरोहरप्रतिको अगाध आस्था भएको प्रधानमन्त्रीले उल्लेख गरेका छन् । विश्वविद्यालयको आवश्यकता र औचित्यबोध गर्दै नीतिगत र प्राज्ञिक मार्गदर्शन गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले भने, ‘वर्तमान नेतृत्वले विश्वविद्यालयको गरिमा र प्राज्ञिक छवि निर्माणका निम्ति अनवरत पहल लिएको छ । यहाँहरूको अथक प्रयास, अटल प्रतिवद्धता, प्राज्ञिक कर्मका निम्ति आभार व्यक्त गर्दछु ।’ रासस
निर्यातका लागि नेपाली उत्पादनहरु मौलिक हुनुपर्छ : अर्थमन्त्री डा. महत
काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक वृद्धि, रोजगारी सृजना, राजश्व बृद्धि, र दिगो विकासलाई प्रवर्द्धन गर्न निर्यातकर्ताहरूले खेल्दै आएको भूमिका महत्वपूर्ण रहेको बताएका छन्। निर्यात व्यवसायी महासंघ नेपाल (फिन) को स्थापना दिवस तथा चौथो बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले निर्यात व्यापारलाई देशको अर्थतन्त्रको मेरुदण्डका रुपमा विकास गर्न आवश्यक रहेको औंल्याए । अर्थमन्त्री डा. महतले महासंघको भूमिकाको प्रशंसा गर्दै भने, ‘तमाम निर्यात व्यवसायी साथीहरुको समर्पण र कडा परिश्रमले विश्व बजारमा नेपाली उत्पादनको बजार माग उकास्न र हाम्रो निर्यात क्षमता विस्तार गर्न महत्वपूर्ण योगदान रहदै आएको छ ।’ मन्त्री महतले निर्यात व्यवसायी महासंघ नेपालले उठान गरेका सवालहरु सबै जायज मागहरु रहेको उल्लेख गर्नुहुँदै सरकारले चाहदा चाहदै पनि देशमा आर्थिक स्रोतको कमीका कारण तत्काल सम्बोधन गर्न नसिएको र निकट भबिष्यमा निर्यातकलाई सहुलियत उपलब्ध गराईने प्रतिबद्धता व्यक्त गरे । त्यसैगरी उनले भारतसँगको व्यापार सम्झौंताबाट फाईदा लिन छाडेर साफ्टाको बिषय उठाउन आवश्यक नरहेको प्रष्ट पारे । उनले निर्यात क्षेत्रको भविष्य निकै राम्रो रहेको बताउनुहुँदै निर्यातमुखी अर्थतन्त्रका लागि सरकारले वातावरण तयार पार्न सक्दो प्रयास जारी राख्ने समेत उल्लेख गरे । डा. महतले नेपाली उत्पादनहरु उच्च प्रविधियुक्त भन्दा पनि मौलिक हुनुपर्नेमा जोड दिए । उत्कृष्ट निर्यातकर्ताहरू सम्मानित बार्षिकोत्सवको अवसरमा महासंघले उत्कृष्ट निर्यातकर्ताहरूलाई सम्मान गरेको छ । सोही अवसर माझ निर्यात बुलेटिन २०८० का अतिथि सम्पादक सरोज ओझा र कथा नेपाललाई कदर पत्र प्रदान गरिएको थियो । फिनका अध्यक्ष शंकर प्रसाद पाण्डेको अध्यक्षता सम्पन्न कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव बैकुण्ठ अर्याल, सांसद् गणेश पराजुली, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, वाणिज्य सचिव नारायण प्रसाद शर्मा दवाडी, राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवाली, नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु, फीनका सल्लाहकार पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा, पूर्व सचिव चन्द्र कुमार घिमिरे, युरोपियन युनियनका नेपाल प्रतिनिधि एवं राजदूतहरु अतिथिका रुपमा कार्यक्रममा सहभागी थिए ।
सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढ्यो
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा ५०० रुपैयाँले बढेको हो । सुनचाँदी व्यवसायीका अनसार बिहिबार छापावाला सुनको मूल्य बढेर एक लाख १९ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदी भने तोलामा १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ ।
कर प्रशासनमा चार्टर्ड एकाउण्टेन्सलाई प्रवेश गराउन सकारात्मक छु : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले कर प्रशासनमा चार्टर्ड एकाउण्टेन्सहरुलाई प्रवेश गराउन सकारात्मक रहेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित चार्टर्ड एकाउन्टेन्स संस्थाको २७ औं वार्षिकोत्सव एवं छैटौं दिक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । चार्टड एकाउण्टेन्सहरुले पेशागत कर्तव्य पालना गर्ने सिलसिलामा आउने लोभ, लालसा अथवा डर धम्कीबाट नहिच्किचाइ आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक वहन गर्ने हो भने सुशासन सुनिश्चित रहेको बताए । उनले सार्वजनिक क्षेत्रदेखि लिएर निजी क्षेत्रमा समेत सुशासन सुनिश्चित हुने बताए । बेरुजुको वर्गीकरण गरेर गम्भीर प्रकृतिका समस्यालाई प्राथमिकताका आधारमा समस्या समाधान गर्नुपर्ने जानकारी दिए । ‘चार्टड एकाउण्टेन्सहरुले जुन प्रतिक्रिया यहाँ गर्नुभएको छ । पेशागत कर्तव्य पालना गर्ने सिलसिलामा आउने लोभ, लालसा अथवा डर धम्कीबाट किञ्चित नहिच्किचाइ आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक वहन गर्ने प्रतिज्ञा गर्दछु भनेर जुन प्रतिज्ञा गर्नुभएको छ । यति सम्झिएपछि धेरै कुरा सुध्रिन्छ । लेखा र चार्टडमा ठिक हुने बित्तिकै धेरै कुरा ठिक ठाउँमा आउँछ । बेरुजुको वर्गीकरण गरेर कुन गम्भीर खालको हो, कुन टेक्निकल इररको कारण हो, कुन सिरियस समस्या छ, त्यसको आधारमा सिरियसलाई पहिलो प्राथमिकता दिनुपर्ने आवश्यकता छ । त्यसलाई म गम्भीरताका साथ लिन्छु’, उनले भने । मन्त्री महतले देशको अर्थतन्त्रले बिस्तारै लय समातिरहेको बताए ।