विदेशी मुद्रा १८ खर्ब १६ अर्ब पुग्यो, एक वर्ष बढीको आयात धान्ने
काठमाडौं । विदेशी मुद्रा सञ्चिती १८ खर्ब १६ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ६ महिनामा १८ प्रतिशत बढेको हो । गत असारसम्म १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ विदेशी मुद्रा सञ्चिती थियो । राष्ट्र बैंकका अनुसा अमेरिकी डलरमा असारसम्म ११ अर्ब ७१ करोड रहेको थियो भने पुसमा १६.९ प्रतिशतले वृद्धि भई १३ अर्ब ६९ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति ६ महिनामा १८.९ प्रतिशतले वृद्धि भई १६ खर्ब २३ करोड रुपैयाँ पुगेको छ । गत असारमा १३ खर्ब ४५ अर्ब ७८ करोड रुपैयाँ थियो । बैंक तथा वित्तीय संस्था ११.८ प्रतिशतले वृद्घि भई २ खर्ब १६ अर्ब ३५ करोड रुपैयाँ कायम भएको छ । गत असारसम्म १ खर्ब ९३ अर्ब ५९ करोड रहेको राष्ट्र बैंकले जनाएको छ । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८०÷८१ को ६ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.५ महिनाको वस्तु आयात र १२.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३३.८ प्रतिशत, १००.९ प्रतिशत र २७.७ प्रतिशत रहेका छन् । २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.६ प्रतिशत, ८३ प्रतिशत र २५ प्रतिशत रहेका थिए ।
६ महिनामा आयो ७ खर्ब ३३ अर्ब रुपैयाँ रेमिट्यान्स
काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा रेमिट्यान्स २५.३ प्रतिशत बढेर ७ खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २२.६ प्रतिशतले वृद्धि भई ५ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ७ हजार ९७० र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ३५ हजार ४३५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ७५ हजार ६४३ र १ लाख ४२ हजार ५४८ रहेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २४ प्रतिशतले वृद्धि भई ७ खर्ब ९९ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २२.७ प्रतिशतले बढेको थियो ।
एक अर्बमा बनेको अमरपुर-ढुङ्गेसाँघु १३२ केभी प्रसारण लाइन निर्माण सुरु
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पाँचथरको हिलिहाङ गाउँपालिकास्थित अमरपुर सबस्टेसनदेखि ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित ढुङ्गेसाँघु सबस्टेसनसम्मको अमरपुर-ढुङ्गेसाँघु १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सुरु गरेको छ । झापाको लखनपुरदेखि (दमक सबस्टेसन) अमरपुर सबस्टेसनसम्मको काबेली करिडोर १३२ केभी प्रसारण लाइन र सुनसरीस्थित इनरुवा सबस्टेसनदेखि सङ्खुवासभाको वसन्तपुर हुँदै ढुङ्गेसाँघुसम्मको कोशी करिडोर २२० केभी प्रसारण लाइनलाई एक आपसमा आवद्ध गर्न अमरपुर-ढुङ्गेसाँघु लाइन निर्माण सुरु गरिएको हो । कोशी करिडोरअन्तर्गत वसन्तपुर-इनरुवा खण्ड सञ्चालनमा आइसकेको छ । वसन्तपुर-ढुङ्गेसाँघु खण्ड निर्माण अन्तिम चरणमा छ । काबेली करिडोर सञ्चालनमा छ । हिलिहाङ गाउँपालिका अध्यक्ष, वडाध्यक्ष, स्थानीय बासिन्दालगायतको उपस्थितिमा सोमबार अमरपुर-ढुङ्गेसाँघु १३२ केभी प्रसारण लाइनको टावर निर्माण शिलान्यास गरिएको छ । करिब १९ किलोमिटर प्रसारण लाइनमा ६७ वटा टावर निर्माण गर्नु पर्नेछ । उक्त प्रसारण लाइनबाट २ सय मेगावाट विद्युत् प्रवाह गर्न सकिने छ । काबेली नदी जलाधार क्षेत्रमा निर्माण भएका र हुने जलविद्युत आयोजनाहरुको विद्युत्लाई विश्वसनीय तथा प्रभावकारी रुपमा प्रवाह गर्न अमरपुर-ढुङ्गेसाँघु १३२ केभी प्रसारण लाइन सुरु गरिएको आयोजना प्रमुख अनुप गौतमले बताए । आयोजना प्रमुख गौतमकाअनुसार, कोशी र काबेली करिडोर प्रसारण लाइन एक आपसमा आवद्ध हुने भएकाले कुनै कारणले काबेली करिडोरमा समस्या आएमा उक्त लाइनमा जोडिएको विद्युत् कोशी करिडोरतर्फ पठाउन सकिन्छ । यसले गर्दा पूर्वी नेपालको राष्ट्रिय प्रसारण ग्रीडको विश्वसनीयता बढ्नुकासाथै स्थानीय विद्युत् आपूर्ति पनि विश्वसनीय, गुणस्तरीय र सुदृढ बन्ने छ । तमोर नदी जलाधार क्षेत्रमा निर्माणाधीन र निर्माण हुने जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत् ढुङ्गेसाँघु सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा समाहित हुने छ । नेपाल सरकारको करिब एक अर्ब २० करोड रुपैयाँ लगानीमा आर्थिक वर्ष २०७५र७६ मा आयोजना सुरु गरिएको हो । प्रसारण लाइन निर्माणका लागि २०७९ सालमा ठेक्का सम्झौता भएको थियो । आयोजनाअन्तर्गत अमरपुर तथा ढुङ्गेसाँघु सबस्टेसनमा दुई/दुईवटा लाइन बे निर्माण गरिने छ । यसका अतिरिक्त स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि ढुङ्गेसाँघु सबस्टेसनमा ११ केभीका संरचना निर्माण गरिने छ । लाइन बे र ११ केभीका संरचना बनाउन चालू आर्थिक वर्षमा ठेक्का लगाइने छ । आयोजनाअन्तर्गतका सम्पूर्ण कामहरु आर्थिक वर्ष २०८१/८२मा सक्ने लक्ष्य राखिएको आयोजना प्रमुख गौतमले जानकारी दिए । रासस
प्रोगेसिभ फाइनान्सको अध्यक्षमा महर्जन नियुक्त
काठमाडौं । प्रोगेसिभ फाइनान्सको अध्यक्षमा लक्ष्मी प्रसाद महर्जन नियुक्त भएका छन् । माघ २२ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले महर्जनलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नेशनल लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तको माघ २२ गते बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत लाभांश वितरण गर्ने वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तको हाल चुक्ता पूँजी १ अर्ब ८ करोड ४२ लाख ६ हजार २१९.५३ रुपैयाँ रहेको छ । जसमा ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश (करसहित) छन् । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भइ आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।
रक्तदान किन आवश्यक र कतिपटक गर्न सकिन्छ ?
रगतबिनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । स्वेच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ । नेपालमा बर्सेनि करिब तीन लाख युनिट रगत चाहिन्छ तर जहिल्यै अभावका समाचार आइरहेका हुन्छन् । पछिल्लो समय बाढी, पहिरा, भूकम्पजस्ता प्राकृतिक कारणदेखि सडक दुर्घटना एवं स्वदेशमै अनेक जटिलखालका रोगहरूको शल्यक्रियाको सुविधा पनि उपलब्ध भएसँगै रगतको माग आकासिएको छ । ब्लड बैंकहरूले पनि आवश्यक मात्रामा सेवाग्राहीलाई रगत उपलब्ध गराउन सकिरहेका छैनन् । योग्य व्यक्तिहरूले पनि रक्तदान नगर्ने प्रवृत्तिले गर्दा देशमा रगतको अभाव भएको छ । स्वस्थ शरीर, मानसिक सन्तुलन ठीक, कम्तीमा १८ वर्ष पूरा भई ६० वर्ष ननाघेको र कम्तीमा ४५ केजी तौल भएको, मलेरिया, क्षयरोग, जन्डिस, मधुमेह तथा एचआइभी/एड्स नलागेको व्यक्ति रक्तदान गर्न योग्य मानिन्छन् । गर्भवती र महिनावारीको समयमा र सुत्केरी भएको छ महिनाभन्दा अगाडि रक्तदान गर्नु हुँदैन । रक्तदान गर्दा कतिपय मुटुजन्य रोगका समस्या र कतिपय मधुमेहजन्य रोगका समस्या निदान हुने विभिन्न स्वास्थ्य अनुसन्धानले प्रमाणित गरेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विकसित देशमा एक हजारमा ३३ दशमलव चार जना, विकाशोन्मुख देशमा ११ दशमलव सात जना र अल्पविकसित देशमा चार दशमलव छ जनाले मात्र रक्तदान गर्ने गर्दछन् । विश्वको जनसङ्ख्याको दुई प्रतिशतले मात्र रक्तदान गर्दा पनि बिरामीको उपचारको लागि रगत अभाव हुँदैन भन्ने तथ्याङ्क छ । रक्तदान किन आवश्यक छ ? वैज्ञानिकहरूले चिकित्सा क्षेत्रमा अकल्पनीय आविस्कारहरू गरी क्यान्सर, मिर्गौला प्रत्यारोपण, ठूला एवं जटिल रोगहरूको उपचार पनि सम्भव गराएका छन् तर त्यस्ता रोगहरू उपचार गर्न मानव जीवनका लागि नभई नहुने रगतको विकल्प भने दिनसकेका छैन । प्राकृतिक प्रकोपका कारण बर्सेनि लाखौँले जीवन गुमाउने गर्दछन् भने करोडौँको सङ्ख्यामा घाइते हुन्छन् । त्यस्तै मानव निर्मित सडक दुर्घटना, युद्धजस्ता कारणले समेत बर्सेनि ठूलो सङ्ख्यामा मानवीय क्षति हुने गरेको छ । यसका अलावा सरुवा रोगलगायत विभिन्न प्रकोपका कारण लाखौँको ज्यान जान्छ । साथै गरिब परिवारका गर्भवती, सुत्केरी तथा नवजात शिशुको रगतमा हेमोग्लोबिनको मात्रा कम भएकालाई उपचार गर्न रगत आवश्यक पर्दछ । कुनै पनि बिरामीको उपचारका क्रममा रगत आवश्यक हुन गएमा अर्को स्वस्थ मानिसलाई रक्तदान गराउनुबाहेक अर्को विकल्प छैन । आफ्नो शरीरको अमूल्य रगतबाट अरुको जीवन बचाउन सकिने भएकाले नै रक्तदानलाई जीवनदान भन्ने गरिएको हो । हामीले शरीरमा भएको रगत दान नगरे पनि तीन महिनामा त्यो रगत त्यत्तिकै खेर जान्छ । खेर जाने रगत दान गर्दा कसैको ज्यान बच्छ भने किन नगर्ने भन्ने भावनाको विकास हुन जरुरी छ । त्यसैले रक्तदानभन्दा अर्को ठूलो पुण्य काम केही हुँदैन । रक्तदान कतिपटक गर्न सकिन्छ ? मानिसको शरीरमा रगत बोनम्यारोमा बन्छ । शरीरमा हरेक १२० दिनमा नयाँ रगत बन्दै जाने र पुरानो रगत नष्ट हुने गर्दछ । पुरुषमा ७६ र महिलामा ६६ मिलीलिटर प्रतिकिलोग्राम रगत हुन्छ । मानिसलाई दैनिक काम गर्नका लागि ५० मिलीलिटर रगत प्रतिकिलोग्राम आवश्यक पर्दछ । एकजना स्वस्थ एवं ४५ किलोग्राम तौल भएको व्यक्तिले आठ मिलीलिटर प्रतिकिलोग्राम अर्थात् तीन सय ६० मिलीलिटर रगत सजिलैसँग दान गर्न सक्छ । यो रगत दिँदा हाम्रो शरीरमा कुनै कमजोरी हुँदैन । दान गरेको रगतको परिणाम कुनै पनि तीन सय ६० मिलीलिटर पेय पदार्थबाट र दैनिक खानपानबाट केही दिनमा आफैँ बनेर पूर्ति हुने भएकाले रक्तदान गर्न सकिन्छ । रगत निकाल्दा यसले कमजोरी बनाउँदैन तर आफ्नो शरीरमा सञ्चालन भएको रगत एकाएक निकाल्दा रगतका कोशिका र नसाहरूमा केही गडबड भने हुन्छ । यसले कसैकसैलाई केही अप्ठ्यारो हुन्छ तर तरल पदार्थको यथेष्ट खाएका एक–दुई दिनमा नै यथारूपमा आउँछ । एउटा स्वस्थ व्यक्तिको शरीरमा चारदेखि पाँच लिटर रगत हुन्छ । त्यसमध्येबाट ३५० मिलीलिटर मात्र रगत लिइरहेका हुन्छौँ । दुर्घटना, प्रसूति, शल्यक्रिया तथा अन्य रोगका कारण शरीरमा रगतको कमी भएका बिरामीलाई रगत दान गरी उनीहरूलाई बचाउन सकिन्छ । विश्वभरि रक्तदान गर्नेमध्ये एक प्रतिशतभन्दा कमले मात्र सयौँपटक रक्तदान गर्न सकेका छन् । नेपालको परिपेक्ष्यमा १८ वर्ष पूरा भएका, ६५ वर्ष ननाघेका र ४५ किलो वजनका भएका व्यक्तिले हरेक ९० दिनमा रक्तदान गर्न सक्छन् । अमेरिका र क्यानडामा हरेक ५६ दिनमा रक्तदान गर्न सकिन्छ भने १६ वर्ष पुगेका र ७५ वर्ष ननाघेका व्यक्तिहरूले वर्षमा छ पटकसम्म रक्तदान गर्न सक्छन् । रक्तदानप्रति युवाको आकर्षण कसरी बढाउने ? नेपालमा पछिल्लो समय रक्तदानबारे सचेतना त बढेको छ, तर अभावलाई पूर्ति गर्न सकेको छैन । दाताहरू पनि रक्तदान गर्न सहजरुपमा उपस्थिति हुँदैनन् । रगतको स्रोत स्वस्थ्य युवाहरू नै हुन् । रक्तदान जीवनदान भन्ने कुरा सबैलाई थाहा छ । रगत दिएर अरुलाई बचाउन सकिन्छ भन्ने पनि थाहा छ, तर पनि युवाहरू रक्तदानमा सहभागी हुँदैनन । आमरूपमा रक्तदान गर्नुपर्छ भन्ने चेतना जगाउन जरुरी छ । अहिले काठमाडौँमा प्रतिदिन झण्डै पाँच सय युनिट रगत चाहिन्छ । तर स्वयंसेवीहरूबाट करिब एक सय ५० युनिटमात्र रगत दान गरेको पाइन्छ । यसले गर्दा दैनिक झण्डै तीन सय बिरामीले रगत नपाउने स्थिति छ । नेपालको जनसङ्ख्या करिब तीन करोडमध्ये एक प्रतिशतले पनि रक्तदान गरेका छैनन् । देशभरिमा झण्डै सवा तीन लाख युनिट रगत चाहिन्छ । गत वर्ष लगभग दुई लाखले मात्र रक्तदान गरेका थिए । प्रविणता प्रमाणपत्र तहमा अङ्ग्रेजी पाठ्यपुस्तकको ‘द ब्लड डोनर’ पाठबाट प्रेरित भई रक्तदान कार्यमा आफूलाई समर्पण गरेको मैले विगत ४० वर्षदेखि निरन्तर रक्तदानको माध्यमबाट बिरामीलाई नयाँ जीवन दिँदै आएको छु । युवाहरूमा रक्तदानको महत्वबारे अवगत गराउन विद्यालय, विश्वविद्यालयका पाठ्यक्रमहरूम रक्तदानसम्बन्धी पाठ्यसामग्री समावेश गर्नु जरुरी छ । पाठ्यपुस्तकमा रक्तदानबारे एउटा सानो पाठ राखिदियो भने ती विद्यार्थीलाई रक्तदान गर्न उत्पे्ररणा मिल्छ । रक्तदानको महत्वबारे समाजमा अझै अनेक अविश्वास, भ्रम र चेतनाको अभाव रहेको पाइन्छ । त्रिवि मातहतको सरस्वाती क्याम्पसको समाजशास्त्र विभागले सन् २०२२ मा गरेको रक्तदानबारे सामाजिक बुझाइसम्बन्धी अध्ययनमा पनि अझै यो अवस्था रहेको पाइएको छ । अध्ययनमा नेपालमा रक्तदानको दर न्यून रहेको, अत्यावश्यक अवस्थामा बाहेक रक्तदान गर्न तयार नरहेको, रक्तदान गर्दाका असर र फाइदाबारे जानकारी नभएको, सामाजिक चेतनाको अभाव, रक्तदानका लागि उत्प्रेरणा बढाउन नसकिएकोलगायतका विषय औँल्याएको छ । अर्को कुरा रक्तदानसम्बन्धी काम गर्ने नेपाल रेडक्रसको रक्तसञ्चार सेवा, नेपाल सरकारको केन्द्रीय रक्त ब्यूरोले रक्तदान कार्यक्रम बढाउनका लागि स्थानीय सङ्घसंस्थालाई प्रोत्साहन गर्नुपर्छ । रक्तदानको अभियान ‘म एक्लैले यस संसारलाई दयारुपी संसारमा बदल्न सक्दिन तर संसाररुपी पानीमा एउटा पत्थर फ्याँकेर समाज सेवाको हलचल मच्चाइ मानव सेवाका लागि मनुष्यमा दया पैदा गर्न सक्छु’ भन्ने मदर टेरेसाको भावनाबाट प्रेरित भएर नै मैले पनि रक्तदानको अभियानलाई विश्वव्यापी बनाउन खोजेको हुँ । मान्छेहरूलाई बचाउन सकुँ र समुदायलाई पनि उत्प्रेरणा दिने नै मेरो अभियान रहेको छ । रगत दान गर्दा कमजोरी भइन्छ भन्नेहरूका लागि रक्तदान गरेर कमजोरी हुँदैन भनेर बुझाउनु मेरो अर्को उद्देश्य हो । बिरामीलाई रगत उपलब्ध गराउन, युवाहरूलाई रक्तदान गरेर कमजोर भइँदैन भनेर बुझाउनका लागि १९९० डिसेम्बर ५ मा रक्तदान गरेको एक घण्टापछि विभिन्न जिल्लाहरूमा साइकलयात्रा गरेको थिएँ । सन् २०२२ नोभेम्बरसम्म विश्वका छवटै महादेशका १४ वटा देशमा पुगी त्यहाँ बसोबास गरेका नेपाली समुदायमा रक्तदान गर्न उत्पे्ररणा गरेको छु र आफूले पनि दुई सय पाँचपटक रक्तदान गरेको छु । यस अभियानबाट छ सय १५ जना बिरामीलाई बचाउन सक्नु आफैँमा असाधारण काम हो भन्ने लाग्दछ । प्राकृतिक प्रकोप, दुर्घटना र युद्धमा घाइते भएका मानिसलाई बचाउन रगतको ठूलो भूमिका हुन्छ । रगत खेर जाने चिज होइन, यो सबैलाई चाहिने कुरा हो, असह्य भएर पनि अरुलाई रगत दिनु र उसलाई बचाउनु चानचुने कुरा होइन । मेरो रक्तदानको यात्रा एउटा देश वा भूगोलमा सीमित छैन । मैले आफ्नै साधन, स्रोत, समयमा यो अभियानलाई विश्वव्यापी बनाउने जमर्को गरेको हुँ । यसले विश्वमा नेपालको परिचय गराउन मद्दतमात्र पुगेको छैन, मानवीय भावनाको विस्तार पनि भएको छ । अझै ५० वर्षसम्म पनि रगतको विकल्प आउन कठिन रहेकाले देश र विदेशमा पुगेर रक्तदानको आवश्यकता, महत्व र उपयोगिताका बारेमा जनचेतना बढाउने मेरो अभियान कायमै रहनेछ । रासस (प्रस्तुत विचार लामो समयदेखि अमेरिकामा बस्दै आएका र हालै नेपाल भ्रमणमा आएका मैनालीसँग गरेको कुराकानीमा आधारित)
नेपालमा रोजगारीका लागि आउने विदेशीको सङ्ख्या बढ्दै
काठमाडौं । रोजगारीका लागि नेपाल आउने आप्रवासी श्रमिकको सङ्ख्या पछिल्लो पटक बढेको छ । गत आर्थिक वर्ष २०७९/८० को छ महिनाको तुलनामा चालु आवको २०८०/८१ सो अवधिमा रोजगारी खोज्दै नेपाल आउने विदेशीको सङ्ख्या बढेको हो । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार चालु आवमा विदेशी विकास साझेदारले सञ्चालन गरेका परियोजना तथा प्रतिष्ठानमा काम गर्न एक हजार १४१ विदेशी श्रमिकले श्रम स्वीकृति लिएका छन् । गत वर्षको साउनदेखि पुस महिनासम्म श्रम स्वीकृति लिनेको सङ्ख्या ९१८ थियो । विभागका अनुसार जसमा नयाँ श्रम स्वीकृति लिने ४६७ जना रहेका छन् भने श्रम नवीकरण गर्ने ६६३ जना रहेका छन् । नेपालमा दक्ष श्रमिक नपाएको अवस्थामा विदेशी श्रमिक राख्न पाउने व्यवस्था अनुसार विदेशीलाई नेपालमा काम गर्ने अनुमति प्रदान गरिएको छ । विभागले सार्वजनिक गरेको तथ्याङ्कमा नेपालमा रोजगारीका लागि करिब ८० देशका नागरिकले श्रम स्वीकृति लिएकामध्ये सबैभन्दा बढी चिनियाँ नागरिक छन् । चालु आवको पहिलो छ महिनामा श्रम स्वीकृति लिएका विदेशी श्रमिकमध्ये ७७२ जना चिनियाँ रहेका छन् । अन्य बेलायत, अमेरिका, जापान, दक्षिण कोरिया, अस्टे«लिया, भारत, श्रीलङ्का, बङ्गलादेश जर्मनीलगायतका देशका रहेका छन् । विभागका निर्देशक मणिनाथ गोपले नेपालमा सञ्चालन भइरहेका चीनका ठुला परियोजनामा आवश्यक साना ठुला प्राविधिक चिनियाँ नै ल्याइने गरेकाले अन्य देशको तुलनामा चिनियाँ नै धेरै भएको बताउनुभयो । उहाँका अनुसार अन्य देशबाट ठुला प्रोजेक्टमा माथिल्ला पदमा मात्रै आफ्ना देशका नागरिक ल्याउने गरेको तर चीनले भने अधिकांश प्राविधिक आफ्नै देशबाट ल्याउने गरेको छ । श्रम ऐनमा नेपालमा सञ्चालन भएका प्रतिष्ठानले पाँच प्रतिशत मात्र विदेशी श्रमिक राख्न सकिने प्रावधान छ । विदेशीले काम गर्ने कतिपय परियोजनाले नेपाली श्रमिक कटौती गरी विदेशी श्रमिक यथावत् राख्ने गरेको पाइए पनि त्यसको अनुगमन हुन सकेको छैन । नेपाली श्रमिकलाई प्राथमिकता दिई यहाँ उपलब्ध हुन नसकेका दक्ष र सिपयुक्त विदेशी जनशक्तिलाई मात्रै श्रम स्वीकृति दिनुपर्ने विज्ञहरूको सुझाव छ । नेपालमा काम गर्ने विदेशीको श्रम स्वीकृति अधिकतम छ वर्षसम्म नवीकरण हुने व्यवस्था छ । यसै गरी एकै प्रकृतिको कामका लागि श्रमस्वीकृति लिने श्रमिकको सिप नेपालीलाई सिकाएर विदेशीलाई प्रतिस्थापन गर्नुपर्ने नियम पनि छ । नेपालमा रहेका एयरलाइन्स, इलेक्ट्रोनिक कम्पनी, खानेपानी, नहर तथा हाइड्रोपावर कम्पनीमा काम गर्न धेरै विदेशीले विभागबाट श्रम स्वीकृति लिने गरेका छन् । आजको गोरखापत्रबाट ।
गण्डकी गाउँपालिकामा गर्भवती तथा दीर्घरोगीको निःशुल्क स्वास्थ्य बीमा
गोरखा । गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका गर्भवती तथा दीर्घरोगीका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरुआत गरेको छ । चालु आर्थिक वर्ष २०८०-०८१ मा विनियोजित बजेटमार्फत पालिकाभित्रका सबै गर्भवती तथा दीर्घरोगीका लागि स्वास्थ्य बीमा गर्न सुरु गरेको गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिनाले जानकारी दिए । ‘पालिकाले दीर्घरोगी र गर्भवतीका लागि वार्षिक रु एक लाखसम्मको स्वास्थ्य बीमाको थालनी गरेको छ’, उनले भने, ‘स्वास्थ्य बीमा कार्यक्रमले लक्षित परिवारमा अबदेखि सहज स्वास्थ्य सेवाको पहुँच पुग्नेछ ।’ गाउँपालिकाले वडा नं ६ बाट विश्व ‘क्यान्सर’ दिवसका अवसर पारेर स्वास्थ्य बीमा कार्यक्रमको थालनी गरेको छ । आग्रीडाँडा सामुदायिक स्वास्थ्य एकाइमा ‘क्यान्सर’पीडित परिवार तथा गर्भवतीलाई स्वास्थ्य बीमा फारम उपलव्ध गराएर बीमा कार्यक्रमको औपचारिक सुरुआत गरिएको उनको भनाइ छ । कार्यक्रम सुरु भएसँगै पालिकाभित्रका सबै गर्भवती तथा सूचीकृत भएका दीर्घरोगीलाई निःशुल्क स्वास्थ्य बीमा उपलव्ध गराउँदै जाने प्रमुख तिमल्सिनाले जानकारी दिए । ‘कार्यक्रमबाट गर्भवतीको सुत्केरी हुँदा लाग्ने खर्च तथा आमा र बच्चाको स्वास्थ्योपचारमा खर्च न्यूनीकरण हुनेछ’, उनले भने, ‘नियमितरूपमा औषधि सेवन गर्नुपर्ने तथा उपचार गर्नुपर्ने दीर्घरोगीका लागि कार्यक्रमले उपचारका लागि थप सहज हुनेछ भन्ने अपेक्षा गरिएको छ ।’ गण्डकी गाउँपालिकाभित्र अहिलेसम्म सूचीकृत भएका ८४ दीर्घरोगी छन् । दीर्घरोगी तथा गर्भवतीलाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमका लागि गाउँपालिकाले चालु आर्थिक वर्षका लागि रु १० लाख बजेट विनियोजन गरेको थियो । कार्यक्रम अब निरन्तर चल्नेछ । बीमा गर्दा गर्भवती तथा दीर्घरोगीका परिवारका पाँच जना सदस्यको समेत निःशुल्क स्वास्थ्य बीमा हुने गाउँपालिकाले जनाएको छ । रासस