२७ वर्षीय अर्बपति जसले बनाए ३ महिनामा ९८ अर्बको कम्पनी
एजेन्सी । भारतमा मुकेश अम्बानी र गौतम अडानीजस्ता धेरै धनी व्यापारीहरू बस्छन् । त्यस्तै धेरै कम उमेरका एक युवा व्यापारी जो अहिले व्यापारिक जगतमा चर्चामा छन् । जसले मात्र तीन महिनामा अर्बौंको कम्पनी बनाए । त्यसपछि उनी देशकै कान्छो अर्बपति बने । उनी हुन् २७ वर्षीय पर्ल कपुर । कपुरले मे २०२३ मा ‘जाइबर ३६५’ लन्च गरेका थिए । तीन महिनामा यो स्टार्टअपले युनिकर्नको स्थान हासिल गर्यो । युनिकर्न कम्पनीमा ती कम्पनी समावेश हुन्छन् जसको मूल्य १ अर्ब डलर वा त्यसभन्दा बढी हुन्छ । यो स्टार्टअप वेब३ र एआई बेस्ड ओएसमा आधारित छ । जुन रिटेल क्षेत्रमा तीव्र गतिमा विकास भइरहेको छ । जाइबर ३६५ को मुख्यालय लन्डनमा छ । जसको अपरेसन अहमदाबादबाट भइरहेको छ । जुन भारतमा मात्रै नभई एसियामा पनि सबैभन्दा छिटो बढ्ने युनिकर्नको सूचीमा आएको छ । जाइबर ३६५ को मूल्य १ अर्ब २० करोड डलर अर्थात ८,८ अर्ब ४० करोड रुपैयाँबराबर छ । यो कम्पनी पर्लले स्थापना गरेका हुन् । जो कम्पनीका संस्थापक र सीईओ हुन् । कम्पनीको ९० प्रतिशत सेयर पर्लको नाममा छ । उनको कुल सम्पत्ति १ अर्ब १० करोड डलर अर्थात ९१ अर्ब २९ करोड रुपैयाँबराबर छ । उनले हालै १० करोड डलरको फन्ड प्राप्त गरेका छन् । जसमा कृषि कम्पनी एसआरएएम एण्ड एमआरएएम ग्रुपले ८.३ प्रतिशत लगानी गरेको छ ।
हिमालयन रिले २० अर्ब पुँजी पुर्याउन ८० प्रतिशत हकप्रद जारी गर्ने
काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले हकप्रद सेयर निष्काशन गरेर २० अर्ब पुँजी पुर्याउने भएको छ । कम्पनीले चुक्ता पुँजीको ८० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने योजना बनाएको हो । नेपाल बीमा प्राधिकरणले दुईटै पुनर्बीमा कम्पनीहरूलाई एक वर्षभित्र २० अर्ब पुँजी पुर्याउन सर्कुलर जारी गरेको थियो । पुँजी वृद्धिको योजना पेस गर्न १५ दिनभित्र योजना पेस गर्न प्राधिकरणले निर्देशन दिएको थियो । सोही बमोजिम हिमालयन रिइन्स्योरेन्सले ८० प्रतिशत हकप्रद सेयर जारी गरेर पुँजी पुर्याउने योजना बनाएको हो । हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ रहेको छ । चुक्ता पुँजीको कम्पनीले ४ प्रतिशत अर्थात् ४० करोड रुपैयाँ बराबरको बोनस सेयर प्रस्ताव गरेको छ । बोनस सेयर वितरण पश्चात् कम्पनीको पुँजी १० अर्ब ४० करोड रुपैयाँ पुग्ने छ । कम्पनीले १० अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजीको ८० प्रतिशत अर्थात् १० सेयर बराबर ८ सेयर अनुपातमा ८ अर्ब ३२ करोड रुपैयाँ हकप्रद सेयर निष्कानश गर्नेछ । हकप्रद सेयर निष्काशन पश्चात् कम्पनीको पुँजी १८ अर्ब ७२ करोड रपैयाँ पुग्नेछ । बाँकी रहेको पुँजी बोनस सेयर वितरण गरेर २० अर्ब पुर्याउने योजना कम्पनीको छ । कम्पनीले हकप्रद सेयर निष्काशन र लाभांश प्रस्ताव पारित गर्न फागुन २० गते राष्ट्रिय सभा गृह काठमाडौंमा तेस्रो वार्षिक साधारण सभा बिहान ११ बजे बोलाएको छ । कम्पनीको सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२१ प्रतिशत नगद लाभांश पारित गर्नेछ । सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक समूहको तर्फबाट रिक्त पदका लागि एक जना सञ्चालक र सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्नेलगायतका प्रस्तावहरू पनि पारित गर्नेछ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ कम्पनीले फागुन ७ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले फागुन ६ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् ।
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । महासंघका अनुसार आज सुनको मुल्य तोलामा ५ सयले घटेको छ । शुक्रबार १ लाख १८ हजार ५ सयमा कारोबार भएको सुनको मुल्य आज प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार तेजावी सुन प्रतितोला १ लाख १७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मुल्य भने स्थिर रहेको छ । महासंघको अनुसार आज चाँदी प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइहरेको छ ।
अख्तियारद्वारा ६ महिनामा २६ जना व्यवसायीमाथि भ्रष्टाचारको मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालु आर्थिक वर्ष (आव) मा २६ जना व्यवसायीमाथि मुद्दा दायर गरेको छ । अख्तियार दूरुपयोग अनुसन्धान आयोगको प्रतिवेदनअनसार चालु आवको ६ महिनामा राजस्व चुहावट, गैरकानुनी लाभ वा हानी लगायतका विषयमा २६ जना व्यवसायीहरु विरुद्ध मुद्दा दायर गरेको हो । प्रतिवेदन अनुसार चालु आवको पहिलो त्रैमासिक अवधिमा १९ जना व्यवसायी र दोस्रो त्रैमासिक अवधिमा ७ जना व्यवसायीलाई आयोगले अदालतमा मुद्दा दायर गरेको छ । आयोगले सप्लायर्स, निर्माण व्यवसायी, इनर्जी कम्पनी लगायतका व्यवसायीहरु विरुद्द राजस्व चुहावट, गैरकानुनी लाभ लगायतका विषयमा अदालतमा मुद्दा दायर गरेको हो । आयोगले चालु आर्थिक वर्षको ६ महिनामा ८१ वटा आरोपत्र अदालतमा दर्ता गरेको छ । जसमा १५६ जना कर्मचारी, २४ जना निर्वाचित पदाधिकारी, ६० जना मनोनित पदाधिकारी, २६ जना व्यवसायी र २९ जना अन्य विभिन्न क्षेत्रका व्यक्तिहरु रहेका छन् । आयोगले ६ महिनाको अवधिमा आरोपपत्र दायर गरेका व्यक्तिहरु विरुद्ध २ अर्ब ६३ करोड ३२ लाख ८७ हजार ८०३ रुपैयाँ बराबरको बिगो रहेको उल्लेख गरेको छ । चालु आवको ६ महिनामा विभिन्न अदालतबाट ११९ वटा मुद्दाको फैसला प्राप्त भएको र आयोगले मुद्दाको फैसलामा चित्त नबुझेर ८२ वटा मुद्दाको पुनरावलोकन दर्ता गरेको जनाएको छ । गत आवदेखि सरेर आएका र चालु आवमा दर्ता भएका गरेर आयोगमा अहिलेसम्म २२ हजार १२७ वटा उजुरी परेको छ । जसमध्ये आयोगले १२ हजार ७२ वटा उजुरी छानबिनको क्रममा रहेको, १३७ वटा उजुरी विस्तृत छानबिनको प्रकृयामा अगाडि बढेको, १३४५ वटा उजुरी कारबाहीको लागि लेखि पठाइएको, ९४५ वटा उजुरी गाभिएको र २७२९ वटा उजुरी तामेलिमा राखिएको जनाएको छ ।
जलवायु परिवर्तनको असरले माघमै फुल्यो लालीगुराँस
लमजुङ । चैत-वैशाखमा फुल्ने लालीगुराँस यस वर्ष माघ महिनामै फुलेको छ । बेँसीसहर नगरपालिका–७ स्थित डिभिजन वन कार्यालय लमजुङका प्रमुख डिभिजन वन अधिकृत दीपकप्रसाद पण्डितका अनुसार राइनास नगरपालिकाको राइनासकोट, क्व्होलासोथर गाउँपालिका वडा नं १ रापासिङ, वडा नं ६ पसगाउँ, मस्र्याङ्दी गाउँपालिका वडा नं ३ सिउरुङलगायत जिल्लाका अधिकांश स्थानमा समयअगावै लालीगुराँस फुल्न थालेको हो । जिल्लामा चैत-वैशाखतिर फुल्ने लालीगुराँस जलावायु परिवर्तनको मुख्य कारणले माघमै फुलेको उनको भनाइ छ । यस वर्ष माघको पहिलो हप्ताबाटै लालीगुराँस फुल्न थालेको बताइएको छ । राइनास नगरपालिकाका प्रमुख खड्गबहादुर गुरुङले राइनासकोटमा लालीगुराँस फुल्न थालेसँगै वन राताम्मे देखिन थालेको बताए । यसरी समयअगावै लालीगुराँस फुल्नु जलवायु परिवर्तनको असर देखिएको उनको भनाइ छ । यहाँ आउने पर्यटकको मुख्य आकर्षणको केन्द्र लालीगुराँस फूल हुन थालेको उनले बताए । विसं २०७५ फागुनदेखि ११ घरबाट सुरुआत भएको यहाँको घरबास सिङ्गो गाउँ अर्थात् १७ घरमा सञ्चालनमा रहेका छन् । बाइसे-चौबिसे राज्यकालमा लमजुङका राजा यशोबह्म शाहका कान्छा छोरा द्रव्य शाहले राज्य सञ्चालन गरेर राइनासकोटमा बसेको इतिहास बुझ्न र घरबासमा रमाउन आउने पर्यटक गाउँमा फुलेको लालीगुराँससँग भुल्न थालेका छन् । रासस
१ अर्बको कुमारी सबल योजना आजदेखि बिक्री खुला
काठमाडौं । कुमारी क्यापिटलले आज माघ २८ गतेदेखि कुमारी सबल योजना नामक म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गरेको छ । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन १ अर्ब रुपैयाँको १० वर्ष अवधिको बन्दमुखी योजना बिक्री खुला गरेको हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँका दरले १० करोड इकाई बिक्री खुला गरेको हो । जसमध्ये १ प्रतिशत अर्थात् १० लाख इकाई योजना व्यवस्थापक कुमारी क्यापिटल, १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रवर्धक कुमारी बैंक र बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई छुट्याइएको छ । क्यापिटलको उक्त फण्डमा फागुन २ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त समयमा पर्याप्त आवेदन परेन भने फागुन १३ गतेसम्म आवेदन समय लम्बिनेछ । लगानीकर्ताहरूले फण्डमा न्यूनतम १ सय इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन सक्ने छन् । फण्डको निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ । लगानीकर्ताहरूले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् आवेदन दिन सक्ने छन् ।
महुली लघुवित्तले लाभांश नदिने
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट लाभांश नदिने भएको छ । माघ २७ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश नदिने घोषणा गरेको हो । त्यस्तै, संस्थाले कम्पनीको नाफा नोक्सान, हिसाव र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने लगायतका वित्तीय विवरणहरु अनुमोदनको लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने छ । उक्त विवरणहरु स्वीकृत भएपछि संस्थाको साधारण सभाले पारित गर्ने छ ।
एकान्त स्थानमा सवारीसाधन पार्किङ नगर्न अनुरोध
काठमाडौं । नेपाल प्रहरीले हराएका दुई सय ५२ मोटरसाइकल फेला पारी सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेको छ । विभिन्न मितिमा हराएका ती मोटरसाइकललाई चालु आर्थिक वर्षको छ महिनामा ती मोटरसाइकल हस्तान्तरण गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा फेला परेका दुई सय ५२ सवारीसाधन सम्बन्धित व्यक्तिलाई जिम्मा लगाएको कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । उनका अनुसार शुक्रबारमात्रै पनि १७ दुईपाङ्ग्रे सवारीसाधन खोजी गरी ट्राफिक प्रहरीले हस्तान्तरण गरेको छ । यसमा १४ वटा मोटरसाइकल र तीनवटा स्कुटर रहेका छन् । यस्तै प्रहरीले अवैधरूपमा नेपाल भित्रिएका १२ सवारीसाधन भन्सार कार्यालयमा बुझाइएको प्रवक्ता भट्टले बताए । चालु आर्थिक वर्षको हालसम्म चोरीका २० सवारीसाधनसहित चोरीमा संलग्न २४ जना व्यक्तिलाई कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमै र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौं उपत्यकाका बौद्ध, माछापोखरी, कालोपुल, बाफल, कालिमाटी, दरबारमार्ग, सिंहदरबार, नारायणटार, कपन, गहनापोखरी, बालाजु, बूढानीलकष्ठ, चुनदेवी, फर्पिङ र नयाँबसपार्कलगायतका स्थानमा दुईपाङ्ग्रे सवारीसाधन ट्राफिक प्रहरीले फेला पारेको थियो । आफ्नो सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेनलक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरन जडान नगर्दा चोरीका घटना बढ्ने गरेको छ । सवारीसाधन चोरी तथा हराउनबाट रोक्न विभिन्न उपाय अवलम्बन गर्नुका साथै मानिसको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रवक्ता भट्टले सर्वसाधारणमा अनुरोध गर्नुभएको छ । सवारीसाधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ । रासस