विकासन्युज

अभौतिक मुद्राको कारोबार गर्ने एक जना पक्राउ

काठमाडौं । अनलाइन सट्टेबाजी तथा अभौतिक मुद्रा कारोबार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा कालिका नगरपालिका-४ का ४४ वर्षीय नारायण श्रेष्ठ रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभुसन यादवका अनुसार पक्राउ परेका श्रेष्ठको खातामा अमेरिकन डलर ३३ हजार १५० दशमलव ३३ अर्थात् नेपाली ५० लाख ९८ हजार १८९ दशमलव २५ रहेको भेटिएको छ ।  उनको साथबाट एक थान मोबाइलसमेत बरामत गरिएको छ । बरामत गरिएको मोबाइल एपमा रहेको दुई लाख ९७ हजार ६२९ रुपैयाँ र उक्त खातामा रहेका रु १३ लाख ८२ हजार २० समेत प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका श्रेष्ठलाई अभौतिक मुद्रा सञ्चय तथा कारोबार र अनलाइन सट्टेबाजी कसुरमा म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ ।  

बागमती नदीमा घट्न थाल्यो पानीको बहाव

काठमाडौं । अहिले काठमाडौंस्थित बागमती नदीको गौरीघाट जलमापन केन्द्रमा नदीको बहाव सतर्कता तहभन्दा कम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  आइतबार (आज) अपराह्न सतर्कता तह पार गरेपछि विभागले नदी आसपास बसोबास गर्ने सर्वसाधरणलाई सोमबार बिहानसम्मका लागि सतर्कता अपनाउन आग्रह गरे पनि तत्कालका लागि बाढीको जोखिम हटेको छ ।  विभागका अनुसार आज अपराह्न गौरीघाटमा बागमती नदीको पानीको सतह २.४१ मिटर पुगेको थियो । जुन नदीको पानीको तह २.१ मिटरमाथि सतर्कता तह हो ।  विभागको बाढीविद् सरस्वती विष्टले नदीको बहाव घट्दो क्रममा रहेकाले चिन्ता दिन नपर्ने बताए ।  ‘अहिले उक्त नदीको जलसतह सतर्कता तह कम छ, जलसतह घटेर २ दशमलव २ मिटर नदीमा जल सतह पुगिसक्यो,’ उनले भने ।  विभागका अनुसार बागमती नदीको पानीको सतह २.७ मिटर पुगेमा खतरा तह पार गर्नेछ ।  विभागले नदी किनार, डुबान भइरहने बस्ती तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई अनावश्यक आवतजावत नगर्न, आवश्यक परे सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ ।  

सोमबार नेपाल भित्रिँदै १ हजार मेट्रिक टन डिएपि मल

काठमाडौं । नेपालमा सोमबार (भोलि) १ हजार २५० मेट्रिक टन डिएपि मल आइपुग्ने भएको छ ।  ग्लोबल टेन्डरमार्फतबाट खरिद गरिएको ३० हजार मेट्रिक डिएपि. मल भारतको कोलकात्ता बन्दरगाहमा १० जुलाईमा आइपुगेको थियो । सो मलमध्ये १ हजार २५० मेट्रिक टन मल १ गते नेपालतर्फ ढुवानी सुरु भएको र सो मल भोलि ४ गते नेपाल आईपुग्ने छ ।   बाँकी रहेको मल हाल कोलकाता बन्दरगाहमै प्याकेजिङ (ब्यागिङ) को काम भइरहेको छ ।  प्याकेजिङ सम्पन्न भएसँगै आइतबार (आज) अर्को एक रेक वीरगञ्ज चलान भएको छ । बाँकी क्रमशः नेपाल भित्रिने छ ।  त्यस्तै, ३० हजार मेट्रिक टन युरिया मल समेत कलकत्तामा आइपुगेको र हाल अनलोडिङ र ब्यागिङ भइरहेको हुँदा भोलि एक रेक वीरगञ्जका लागि लोडिङ गर्ने तयारी भइरहेको कृषि सामग्री कम्पनीबाट जानकारी प्राप्त भएको छ ।

राति १० बजेपछि नारायणगढ-मुग्लिन सडकमा सवारी आवागमन बन्द

काठमाडौं । स्थानीय प्रशासनले नारायणगढ-मुग्लिन सडक र चितवनतर्फको पृथ्वी राजमार्ग आज राति १० बजेदेखि बन्द गर्ने भएको छ ।  जिल्लाका विभिन्न स्थानहरुसहित धादिङलगायत जिल्लामा पहिरोको जोखिम  भएकाले नारायणगढ–मुग्लिन–काठमाडौं सडक राति १० बजेपछि बन्द रहने जनाएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनामा रातको समयमा सवारी सञ्चालन राखिरहँदा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सवारी बन्द गरिएको उल्लेa सरोकारवाला सुरक्षा निकायसँग समन्वय गरी मात्रै गर्न सूचनामा अनुरोध गरिएको छ । वर्षातका कारण शनिबार रातिसमेत यो सडक बन्द गरिएको थियो ।

रुकुमपूर्वमा ५.० म्याग्निच्युडको भूकम्प

काठमाडौं । रुकुमपूर्व केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आइतबार अपराह्न ४ बजेर ३० मिनेटमा ५.० म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।  भूकम्पको धक्का रुकुमपूर्वसहित आसपासका जिल्लामा समेत महसुस गरिएको छ । क्षतिको विवरण प्राप्त भएको छैन । 

कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा रहेको जनाएको छ । उपल्लो जलाधार क्षेत्रमा निaको जलसतह चार दशमलव ७८ मिटर पुगेको छ र बहाव बढ्दो क्रममा छ । आज राति पनि उपल्लो क्षेत्रमा वर्षाको सम्भावना रहेकाले सोमबार बिहानसम्म नदीले छ मिटरको सतर्कता तह पार गर्न सक्छ’, उनले भनिन् । विष्टका अनुसार नदीको जलसतह छ मिटर पुगेमा सतर्कता तह र सात मिटर पुगेमा खतरा तह पार गर्नेछ । नदी तटीय क्षेत्रका बासिन्दाले उच्च सतर्कता अपनाउनुपर्ने उनको भनाइ छ ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले सम्भावित बाढी जोखिमलाई ध्यानमा राख्दै कोशी ब्यारेजका ५२ वटा ढोका खोल्ने विषयमा सम्बन्धित निकायसँग समन्वय भइरहेको जानकारी दिए । उनले बाढीको अवस्था निरन्तर अनुगमन भइरहेको र आवश्यकताअनुसार पूर्वतयारी तथा प्रतिकार्यका सबै संयन्त्रलाई तयारी अवस्थामा राखिएको बताए। विभागले देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको पूर्वानुमान गरेसँगै बाढी, पहिरो र डुबानको जोखिम बढ्नसक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दा, यात्रु तथा स्थानीय तहलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

वर्षाले काठमाडौं अस्तव्यस्त, पानी जम्दा एउटै लेनबाट सवारी सञ्चालन

काठमाडौं । लगातारको वर्षापछि काठमाडौं उपत्यकाका विभिन्न सडक जलमग्न भएका छन् । ट्राफिक प्रहरीले सडक जलमग्न हुँदा सवारीसाधन आवतजावतमा असर पुगेको जानकारी दिएको छ । ट्राफिक प्रहरीले पानी जमेका सडकमा विशेष सतर्कताका साथ सवारी चलाउन चालकलाई आग्रह गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी नरेशराज सुवेदीले ट्राफिक व्यवस्थापन सामान्य रहे पनि सडकमा पानी जम्दा दुर्घटनाको जोखिम बढेको बताए ।  उनका अनुसार सडकमा पानी जमेपछि सवारीसाधन एउटै लेनबाट आवतजावत गर्नुपर्ने अवस्था सिर्जना हुँदा दुर्घटनाको सम्भावना बढ्ने गरेको छ ।   ‘अहिले ट्राफिक व्यवस्थापन सहज हुँदै गएको छ । आज सार्वजनिक बिदाको दिन भएर पनि सजिलो भयो । तर सडकमा पानी जम्दा दुर्घटनाको जोखिम भने बढिरहेको छ । एउटै लेनबाट सवारी सञ्चालन गर्नुपर्ने भएकाले थप सावधानी अपनाउनुपर्ने अवस्था छ’, उनले भने ।  सुवेदीले वर्षाका कारण अइतबार (आज) साँझ पनि माइतीघर, अनामनगरलगायत उपत्यकाका विभिन्न क्षेत्रमा सडक जलमग्न भएको जानकारी दिँदै दीर्घकालीन रूपमा प्रभावकारी ढल तथा पानी निकास व्यवस्थापन आवश्यक रहेको बताए ।  वर्षायाममा पानी जमेका सडकमा तीव्र गतिमा सवारी नचलाउन, सुरक्षित दूरी कायम गर्न तथा ट्राफिक प्रहरीको निर्देशन पालना गर्न सुवेदीको आग्रह छ ।

विदेश भ्रमणमा बाहिरियो २ खर्ब रुपैयाँ

काठमाडौं । गत आर्थिक वर्ष २०८२÷८३ को पहिलो ११ महिनामा नेपालीहरूले विदेश भ्रमणका क्रममा झण्डै २ खर्ब रुपैयाँ खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आवको साउनदेखि जेठ मसान्तसम्म विदेश भ्रमणमा कुल १ खर्ब ९३ अर्ब ६५ करोड रुपैयाँ बाहिरिएको छ। कुल भ्रमण व्ययमध्ये शिक्षातर्फ मात्रै १ खर्ब ३२ अर्ब २३ करोड रुपैयाँ खर्च भएको छ, जुन कुल भ्रमण व्ययको सबैभन्दा ठूलो हिस्सा हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विदेश भ्रमणमा २ खर्ब ३ अर्ब १८ करोड रुपैयाँ खर्च भएको थियो भने शिक्षातर्फको व्यय १ खर्ब २४ अर्ब ७५ करोड रुपैयाँ रहेको थियो ।  यसैबीच, समीक्षा अवधिमा नेपालको खुद सेवा आय ७२ अर्ब ५४ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ८२ अर्ब ७८ करोड रुपैयाँ रहेको थियो ।  सेवा खाताअन्तर्गत भ्रमण आय ०.१ प्रतिशतले घटेर ८२ अर्ब २२ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ८२ अर्ब ३३ करोड रुपैयाँ रहेको थियो ।