विकासन्युज

नेपाली बैंक डुब्ने अवस्था छैन : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाली बैंक डुब्ने अवस्था नरहेको बताएका छन् । सोमबार नेपाल बैंकर्स संघले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । पछिल्लो समय बैंकिङ क्षेत्रको विषयमा आएका हल्ला तथा भ्रमलाई चिर्दै उनले भने- ‘सानो झिल्कोले पनि विस्फोट हुन सक्छ, बैंकिङको विषयमा भ्रम फैलाउनु हुँदैन, जोगाउने प्रयासतर्फ लाग्नु पर्छ ।’ साथै, नबुझेकाहरुले बैंकलाई मिटरब्याजी भनेको बताउँदै उनले कुनै तथ्य तथ्यांक बिना मिटरब्याजी भन्न नपाइने समेत बताए । विगत १४ महिनाको आयात धान्ने विदेशिक मुद्रा रहेको बताउँदै उनले यो ठूलो स्ट्रेन्थ हो र राज्यले चाहेको खण्डमा प्रयोग गर्न सक्ने जानकारी गराए । तर, प्रयोग हुन भने नसकेको उनको भनाई छ । ‘बैंकरले सोचेनन्, ऋणीले घाँटी हेरेर ऋण लिनुपर्थ्यो । यसमा बैंकरको पनि दोष छ । हामीले हचुवाको भरमा ऋण दियौं,’ गभर्नर अधिकारीले भने- ‘बैंकिङ क्षेत्रमा खराब कर्जा बढेको छ, यो रियालिस्टिक पिक्चर हो ।’ सहकारीका बचतकर्ता र सञ्चालक बैंकसँग पनि ठोक्किएकाले पछिल्लो समय सहकारीको समस्या बैंकमा ट्रान्सफर भएको बताउँदै उनले सहकारीको नियमनका लागि सेकेन्ड टायर इन्सिच्युट आवश्यक रहेको भनाई राखे । साथै, गभर्नर अधिकारीले पछिल्लो समय निर्माण उद्योग पनि समस्यामा रहेकोले यो क्षेत्रको उद्वार गर्नुपर्ने बताए ।  

संसद परिसरमै लघुवित्त ऋणीहरुको विरोध प्रदर्शन

काठमाडौं । लघुवित्त ऋणीहरुले संसद भवनमा प्रवेश गरेर विरोध जनाएका छन् । सोमबार नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक सञ्चालन भइरहेको बेलामा लघुवित्त ऋणीहरुले परिसरमै पुगेर नारबाजी गरेका हुन् । लघुवित्तको ऋण तिर्न नसकेर समस्यामा परेका र पैदल हिँडेर काठमाडौंमा आन्दोलन गर्न आएका ऋणीहरु सोमबार संसद भवनभित्रै प्रवेश गरी प्रदर्शन गरेका हुन् । सरकारले संघीय संसद् वरपरको क्षेत्रलाई निषेधित क्षेत्र तोकेर प्रदर्शन गर्न निषेध गरेको छ । तर लघुवित्त ऋणीहरुले निषेधति क्षेत्र तोडेर प्रदर्शन गरेसँगै केही प्रदर्शनकारीहरु पक्राउ परेका छन् । उनीहरुले आफूहरु गोली खान पनि तयार रहेको भन्दै संसद परिसरभित्रै सुतेर विरोध जनाएका थिए ।

बैंकका ऋणी डिप्रेशनमा, मनोविदको सहायता लिँदै राष्ट्र बैंक

काठमाडौं । बैंकका ऋणीबाट ऋण उठाउन सकस भएपछि नियामक नेपाल राष्ट्र बैंकले ‘मनोविद’ (साइकोलोजिष्ट)को सहायता लिने भएको छ । बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर नियमित साँवा ब्याज भुक्तानी नगर्ने ऋणीहरूबाट सहजरूपमा ऋण असुल गर्नका लागि राष्ट्र बैंकले मनोविदहरूको सहायता लिने भएको हो । पछिल्लो समय उद्योगी व्यवसायीहरूले व्यावसायिक वातावरण बिग्रेकोले कम्पनीको आम्दानी समेत नभएकोले बैंकको साँवा ब्याज तिर्न समस्या भइरहेको गुनासो गरिरहेका छन् । ब्यापारमा सुस्तता सिर्जना हुँदा कतिपय उद्योगी व्यवसायीहरू मानसिक समस्याको शिकार हुन पुगेका छन् । कतिपयले आत्महत्या तथा आत्मदाह गरेका घटनाहरू पनि बेलाबखत बाहिरिने गरेका छन् । उद्योगी व्यवसायीहरूका यी विविध समस्याहरूलाई समाधान गर्दै उनीहरूबाट सहजरूपमा ऋण असुल गर्ने रणनीति बनाउन राष्ट्र बैंकले मनोविदहरूको सहकार्य तथा समन्वय गर्न लागेको हो । राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले समस्यामा परेका उद्योगी व्यवसायीहरूको मनोभावना बुझ्दै बैंकहरूको ऋण पनि असुल गर्ने रणनीतिका साथ मनोविदहरूसँग सहकार्य गर्ने तयारी भइरहेको बताए । उनका अनुसार अहिले अधिकांश उद्योगी व्यवसायी तथा ऋणीहरू मानसिक समस्याको शिकार बन्दा बैंकको ऋण उठ्न सकिरहेको छैन । सो समस्या समाधानका लागि राष्ट्र बैंकले यस्तो रणनीति अपनाउने तयारी थालेको हो । ‘व्यावसायिक वातावरण बिग्रदा व्यवासायीहरू समस्यामा परेका छन् । कतिपय व्यवसायीहरू ब्यापारकै कारण मानिसक समस्या (डिप्रेशन)को शिकार बनेका छन् । यो समस्याको समाधान गर्न हामीले मनोविदहरूसँग कसरी अगाडि बढ्ने भनेर सल्लाह गर्दैछौं,’ उनले भने, ‘यो विषयको समाधानका लागि मनोविदहरूसँग योजनाको प्रस्ताव मागिरहेका छौं ।’ मनोविद डा. पशुपति महतले अहिलेको परिस्थितीलाई माथि उकास्न आफूहरू तयार रहेको बताए । ‘मन्दीका कारण उद्योगी व्यवसायी निराशामा छन्, घरपरिवारको भविष्य उज्वल बनाउने उद्देश्य लिएर व्यवसाय चलाएका हुन्छन् । तर, व्यवसाय नचलेपछि, मन्दीमा गएपछि, उत्पादन गरेका वस्तुहरू बिक्री नभएपछि बैंकको कर्जा तिर्न सकिँदैन । बैंकले कर्जा दिएपछि उठाउनु दायित्व हो,’ उनले भने, ‘एकातिर बैंक र अर्काेतिर घरपरिवारको आवश्यकता पुरा गर्न नसक्ने दबाब हुन्छ । यी सबै दबाबले मान्छे निराशा (डिप्रेसन)मा जाने सम्भावना हुन्छ ।’ उनका अनुसार व्यक्ति आफैं डिप्रेशनमा गएको थाहा पाउँदैन । यदि थाहा पाएपनि विकल्प रोज्न नसक्ने उनको भनाइ छ । डिप्रेसन मानसिकको रोग हो र उपचार गरेर निको हुनुपर्छ भन्ने सोचाई नै नआउने उनले बताए । गत वर्ष संसद भवन अगाडि आत्मदाह गरेका व्यवसायी प्रेम आचार्य र अन्य केही व्यापारीले आत्महत्या गरेका घटना सुनाउँदै उनले भने, ‘डिप्रेसनमा जाँदा आत्महत्या गर्ने सम्भावना धेरै हुन्छ । परिवारका सबै सदस्यलाई मारेर आफू आत्महत्या गर्ने जोखिम पनि बढी हुन्छ । किनभने आफू भएन भने परिवारले पनि दुःख पाउन सक्छन् र दुःख पाउनु भन्दा मसँगै लैजान्छु भन्ने देखिन्छ ।’

बैंकिङ सडकबाट चल्ने अवस्था आयो, सरकारले साथ दिएन : अध्यक्ष केसी

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकिङ क्षेत्र सडकबाट चल्ने अवस्था आएको बताएका छन् । संघले सोमबार आयोजना गरेको कार्यक्रममा बैंकिङ क्षेत्रलाई सरकारले साथ नदिएको गुनासो गर्दै उनले यस्तो बताएका हुन् । संघले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले बैंक समस्यामा छन् भन्ने ह्लला गलत रहेको र यस्तो भ्रममा नपर्न सर्वसाधारणलाई आग्रह गरेका छन् । एनएमबि बैंकका सीईओसमेत रहेका केसीले अमेरिकाको मुद्रास्फीति र बेरोजगार बढिरहेकोले ब्याज घट्छ कि घट्दैन भन्ने दुविधा रहेको बताए । मुद्रास्फीति घट्दो अवस्थामा रहेकोले अब स्थीर अवस्थामा जान सक्ने उनको भनाई छ । ‘सरकारको पुँजीगत खर्च बढ्न नसक्दा समस्या छ, रेमिट्यान्स बढ्दै गइरहेको छ, वैदेशिक व्यापार पनि बढ्दो छ, माग कमले केही समस्या छ,’ उनले भने । वैदेशिक मुद्रा सञ्चिति बढ्नु राम्रो भए पनि यसको प्रयोग गर्नतर्फ जान्नुपर्ने उनको भनाई छ ।

एमसीडोडोका एक्सेसरिज नेपाली बजारमा, यस्तो छ मूल्य

काठमाडौं । एक्सेसरिज ब्राण्ड एमसीडोडोका उत्पादनहरु नेपाली बजारमा उपलब्ध हुने भएको छ । एडुटेक इन्टरनेशनलले आइफोन प्रयोगकर्ताहरुका लागि लक्षित गर्दै उक्त ब्राण्डलाई नेपालमा भित्र्याएको हो । कम्पनीका अनुसार एमसीडोडोको नेपालका लागि अधिकृत विक्रेता एडुटेक इन्टरनेशनलले हाल नेपाली बजारमा विभिन्न मोडलका फास्ट चार्जर, टीडब्लुएस इयरबडहरु, वायरलेस पावरबैंक, यूएसबी केवल, म्यागनेटिक फोन केश लगायतका उत्पादनहरु उपलब्ध गराउँदै आइरहेको छ । उक्त एक्सेसरिजहरु एमपीआई (मेड फर आइफोन) सटिफाइड छन् । नेपाली बजारमा एमसीडोडोका ५०० मुल्य देखि १२,००० हजार रुपैयाँ मुल्यसम्मका एकसेसरिजहरु रहेका छन् । बढ्दो आइफोनप्रतिको लोकप्रियतालाई मध्यनजर गर्दै प्रयोगकर्ताहरुलाई सहजिकरण गर्न एडुटेकले एमसीडोडोको विभिन्न एक्सेसरिजहरु-आइफोनमा प्रयोग गर्न मिल्ने चार्जर, डाटा केबल, इयरबडहरु ल्याएको छ । उक्त एक्सेसरिजहरु विभिन्न कलर अप्सनमा प्रयोगकर्ताहरुले देशभरका विभिन्न रिटेल पसलहरु तथा दराजबाट खरिद गर्न सक्नेछन् । एमसीडोडोका उत्पादनहरु उच्च गुणस्तरिय, सुरक्षित, भरपर्दो र प्रयोगका लागि सहज अवधारणामा निर्माण गरिएका छन् । यसका उत्पादनहरु यूरोप, अमेरिका, दक्षिण एशिया लगायतका १०० भन्दा बढि देशहरुमा उपलब्ध छन् ।

रासायनिक मल कारखाना खोल्ने प्रक्रियालाई अघि बढाइनेछ : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले आगामी आर्थिक वर्षमा रासायनिक मल कारखाना खोल्ने प्रक्रियालाई अघि बढाउने बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् । अर्थमन्त्री महतले किसानहरुलाई सहुलियतपूर्ण कर्जा, उन्नत प्रविधि तथा तालिम, सिंचाई सुविधा, मल, बीउको उपलब्धता, सुनिश्चित गरी कृषि उपजको उत्पादकत्व वृद्धि गरिने समेत बताए । उनले प्राकृतिक र प्राङ्गारिक मलमा आधारित खेतीलाई प्रोत्साहन गरिने पनि बताएका छन् । ‘रासायनिक मलको दिगो आपूर्ति व्यवस्था मिलाइनेछ । मुलुकमा नै रासायनिक मलको कारखाना खोल्ने प्रक्रियालाई अगाडि बढाइनेछ । प्राकृतिक र प्राङ्गारिक मलमा आधारित खेतीलाई प्रोत्साहन गरिनेछ । पहाडका टार र तपाई मधेशमा थप क्षेत्रमा सिंचाई सुविधा बिस्तार गर्न जोड दिइनेछ । सहुलियतपूर्ण कर्जा उन्नत प्रविधि, तथा तालिम, सिँचाई सुविधा, मल, बीउको उपलब्धता, सुनिश्चित गरी कृषि उपजको उत्पादकत्व वृद्धि गरिनेछ ।’ सभामा बोल्दै अर्थमन्त्री महतले भने । अर्थमन्त्री महतले पहाडका टार र तराई मधेशमा थप क्षेत्रमा सिंचाई सुविधा विस्तार गर्न जोड दिइने बताए ।

विदेशस्थित नेपाली नियोगहरुलाई लगानी वृद्धि र पर्यटन प्रवर्द्धनमा परिचालन गरिने

काठमाडौं । सरकारले विदेश स्थित नेपाली नियोगहरुलाई लगानी वृद्धि र पर्यटन प्रवर्द्धनमा परिचालन गरिने जनाएको छ । सोमबार संघीय संसदमा अर्थमन्त्री डा। प्रकाशशरण महतले आगामी आर्थिक वर्षको विनियोजन विधेयक प्रस्तुत गर्दै सो बताएका हुन् । ‘विदेशस्थित नेपाली नियोगहरुलाई वैदेशिक लगानी वृद्धि, पर्यटन तथा व्यापार प्रवर्द्धनमा परिचालन गरिनेछ’, विधेयकमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको उपस्थिति सबल बनाइनेछ ।’ त्यस्तै सरकारले आर्थिक कुटनीतिको माध्यमबाट विकसित एवम् उदयीमान अर्थतन्त्रबाट प्राप्त हुनसक्ने लाभको उपयोग गरिने नीति विधेयकमार्फत अगाडि सारेको छ ।  

पोखरा र भैरहवा विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न सरकारले पहल गर्ने

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले पोखरा भैरहवा विमानस्थलालाई पूर्ण क्षमतामा सञ्चालन गर्न सरकारले देखिएका अड्चनलाई हटाउने बताएका छन् । सोमबार संसदमा सरकारको विनियोजन विधेयक प्रस्ुतत गर्दै अर्थमन्त्री महतले ‘पोखरा र भैरहवा विमानस्थललाइई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन देखिएका अड्चनहरुलाई हटाइने’ बताएका हुन् । साथै उनले निजगढ विमानस्थलको लगानी ढाँचा टुंगो लगाई निर्माण प्रकृया अगाडि बढाउने बताए । निजी क्षेत्रसँगको सहकार्यमा पर्यटन क्षेत्रका लागि आवश्यक जनशक्ति विकास तथा मौलिक संस्कृति, सम्पदा वर रैथाने उत्पादनलाई पर्यटनसँग आवद्ध गरिने कार्यक्रम उनले विनियोजन विधेयकमा समावेश गरेका छन् ।