विकासन्युज

बैंकका कर्मचारी पक्राउ पर्दा समग्र बैंकिङ क्षेत्र त्रसित र भयभित छ : सिबिफिन

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले कर्जा दुरुपयोगको विषयलाई लिएर बैंकका कर्मचारी पक्राउ पर्दा समग्र बैंकिङ क्षेत्र त्रसित र भयभित बन्न पुगेको बताएको छ । सिबिफिनले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै धितो र कर्जा प्रवाहका विषयमा प्रचलित नियम तथा अन्तर्राष्ट्रिय बैंकिङ अभ्यासबारे गहिरो अध्ययन एवं जानकारीबिनै बैंकरमाथि धरपकड भएको आरोपसमेत लगाएको छ । ‘धितो र कर्जा प्रवाहका विषयमा सतही जानकारीका आधारमा कुनै पेसाकर्मीलाई दोषी करार भए जसरी नै नियन्त्रण लिइनुले समग्र बैंकिङ क्षेत्र त्रसित र भयभित बनेको छ भने समग्र लगानीकर्ता समेत सोचमग्न बनेका छन्’, परिसंघले विज्ञप्तिमार्फत भनेको छ, ‘समग्र अर्थतन्त्रमा नै महत्वपूर्ण टेवा पुर्याइरहेका बैंकिङ क्षेत्रका कर्मचारीमा परेको मनोवैज्ञानिक सन्त्रासले भोलि राष्ट्रकै भविष्यमा पर्ने असरप्रति गम्भीर बनिदिन आग्रह गर्दछौँ ।’ बैंक तथा वित्तीय संस्थाका गतिविधि नियामक नेपाल राष्ट्र बैंकको सुक्ष्म निगरानीमा रहने हुँदा बैंकभित्र कुनै पनि बदमासी भए तत्काल राष्ट्र बैंकले कारबाही गर्ने गरेको सिबिफिनको दाबी छ । ‘कर्जा प्रवाह गर्दा व्यक्तिगत लाभ हुने र बैंकलाई नोक्सानी हुने गरी बदमासी गर्ने सम्बद्ध व्यक्तिहरुलाई प्रचलित कानूनअनुसार कारबाही हुनुपर्दछ र हुँदै आएको पनि छ’, उसले विज्ञप्तिमा भनेको छ, ‘व्यावसायिक/व्यापारिक कर्जा, पूर्वाधार तथा विकास निर्माणको आयोजनामा ऋण लगानी गर्दा उक्त परियोजनाको सम्भाव्यता, लागत, परियोजनासँग रहेको धितोसम्पत्ति, मौज्दात, आसामीसँग लिनुपर्ने/उठाउनुपर्ने रकम र सम्भावित आम्दानीसम्मलाई मध्यनजर गरेर ऋण लगानी हुने गरेको तथ्य जगजाहेर नै छ ।’ बैंकिङ क्षेत्रमा कर्जा प्रदान गर्नु, कर्जाको अवस्था हेरी सम्भावित जोखिम व्यवस्थापन गर्नु र खराब कर्जा असुलउपर गर्ने कार्य गर्नु सामान्य बैंकिङ प्रक्रिया रहेको हुँदा असल नियतबाट गरिएका कार्यलाई बेवास्ता गर्दै अनाहकमा कारबाहीको भागिदार बनाइनु न्यायसङ्गत नहुने सिबिफिनको तर्क छ । यस्ता कार्यले बैंकिङ क्षेत्रका कर्मचारीको सामाजिक जीवन र प्रतिष्ठामा मात्र नभई बिनाधितो वा परियोजना धितोमा कर्जा प्रवाहको अभ्यासमा समेत असर पर्ने उसले जनाएको छ । रासस  

एनसेल र ईएण्ड इन्टरनेसनलबीच नलेज सेयररिङका लागि रणनीतिक समझदारी

काठमाडौं । एनसेलले ग्राहकलाई उत्कृष्ट डिजिटल अनुभव प्रदान गर्न, नलेज सेयरिङ सम्बन्धी गतिविधिहरू सञ्चालन गर्न र मुख्य सेवा, सुविधा तथा प्लेटफर्महरू उपलब्ध गराउन ईएन्ड इन्टरनेसनलसँग रणनीतिक समझदारी गरेको छ । यो सम्झौतामा एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र ईएन्ड इन्टरनेसनलका चिफ बिजनेस अफिसर खालेद मोहम्मद रियदले बार्सिलोनामा भएको मोबाइल वल्र्ड कंग्रेसका अवसरमा हस्ताक्षर गरेका हुन् । ईएन्ड इन्टरनेसनल संयुक्त अरब इमिरेट्सको एतिसलात ब्रान्डको दूरसञ्चार कम्पनी चलाउने ईएन्ड ग्रुपको एउटा अंग हो । समझदारी पत्रअनुसार, दुवै पक्षले कस्टमर भ्यालु म्यानेजमेन्ट (सीभीएम) र एड्भान्स्ड एनालिटिक्स, बीटुसी र बीटुबी सेल्स एन्ड मार्केटिङ लगायतको व्यावसायिक सहायता, ग्राहक अनुभव, खरिद, नेटवर्क क्यापेक्स एन्ड ओपेक्स अप्टिमाइजेसन, इन्टरनेसनल क्यारियर एन्ड होलसेल, मोबाइल नेटवर्क कोड (एमएनसी) सर्भिसेज सपोर्ट र डिजिटल रूपान्तरण लगायतका क्षेत्रमा सहकार्य गर्नेछन् । यो सहकार्य आय बढाउन, नवीन सेवाहरू सञ्चानलमा ल्याउन, खरिद र नेटवर्क सुदृढीकरणमा बचत गर्न, अन्तर्राष्ट्रिय लामो दूरीको व्यवसाय र डिजिटल सोलुसन्स बढाउन महत्त्वपूर्ण हुनेछ । यसका लागि एनसेल र ईएन्ड इन्टरनेसनलले नेपालका ग्राहकको डिजिटल यात्रा सजिलो हुने गरी ठोस र प्रभावकारी कदम चालेको जनाएको छ । ईएन्ड इन्टरनेसनलसँगको यो रणनीतिक साझेदारी एनसेलको टेल्कोबाट डिजिटल टेकको बन्ने यात्राको महत्त्वपूर्ण उपलब्धि हो । सम्झौतापछि एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, ‘ईएन्ड इन्टरनेसनलको नेतृत्व र पार्टनर नेटवर्क प्रोग्रामको बृहत् अनुभवका साथ यो सहकार्यले एनसेललाई असीमित अवसर प्रदान गर्नुका साथै सशक्त बनाउने मा विश्वस्त छौ ।’ ईएन्ड इन्टरनेसनलका चिफ बिजनेस अफिसर खालेद मोहम्मद रियदले एनसेलसँगको साझेदारी नेपालका उपभोक्ता र व्यवसायीहरूलाई कनेक्टिभिटी र डिजिटल रूपान्तरणको लाभ दिलाउने नयाँ अध्याय भएको बताए । एनसेल र ईएन्ड इन्टरनेसनलले नेटवर्क अप्टिमाइजेसन, दुर्गम क्षेत्रका लागि लागतमैत्री समाधान, ग्रिनफिल्ड एनालिसिसका लागि अप्टिमाइजेसन, नेटवर्क कार्य सम्पादन मूल्यांकन (क्राउडसोर्सिङ), प्रत्यक्ष सोर्सिङमार्फत भ्यालु क्रियसन र सेवा लगायत अन्य क्षेत्रमा सहकार्य गर्नेछन् । एनसेलले क्यापेक्स र ओपेक्सलाई घटाउँदै ग्रामीण तथा दुर्गम क्षेत्रहरूमा भ्वाइस र डाटा सेवा प्रभावकारी बनाउने उद्देश्यले प्राविधिक समाधानहरूको डिजाइन र पहिचानमा नेतृत्व गर्नेछ । यस समझदारीअन्तर्गत हुने सबै रणनीतिक योजना र समन्वयबारे निरीक्षण तथा छलफल गर्न एनसेल र ईएन्ड इन्टरनेसनलले आ–आफ्नो तर्फबाट संयोजक तोक्नेछन् । ईएन्ड इन्टरनेसनल संयुक्त अरब इमिरेट्सको ईएन्ड ग्रुपको एउटा अंग हो । जसले विश्वबजारका आधुनिक, विश्वस्तरीय डिजिटल टेलिकम कम्पनीहरूको सञ्जाल बृहत् बनाउन मद्दत गर्छ । विश्वका १६ वटा देशमा रहेर यसले कनेक्टिभिटी सोलुसन्स, इन्क्लुसिभ फाइनान्सियल सर्भिसेज, रिच इन्टरटेनमेन्ट सर्भिसेज र सिमलेस बिजसेन ट्रान्सफर्मेसनमा काम गर्दै आएको छ । यसले अग्रणी डिजिटल क्षमता विकास तथा निर्माण गर्दै एक्विजिसन र रणनीतिक साझेदारी मार्फत मध्यपूर्व, अफ्रिका, एसिया र पूर्वी युरोपका विभिन्न मुलुकमा सेवाविस्तार गरेको छ ।

२०८१ सालमा कुन-कुन दिन बन्द हुन्छन् बैंक ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैकले वि.सं. २०८१ सालमा बैंक बिदा हुने सूची सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक भएको उक्त सूचीअनुसार २०८१ सालमा वैशाखदेखि चैतसम्ममा शनिबारबाहेक ४६ दिन बैंक तथा वित्तीय संस्थाहरु बिदा हुनेछन् । जसअनुसार नयाँ वर्ष र अन्तर्राष्ट्रिय मजदुर दिवसको दिन बैंक तथा वित्तीय संस्था पूर्ण रुपमा बन्द हुनेछन् । दशैंमा घटस्थापनासहित ६ दिन र तिहारमा ५ दिन बिदा हुने राष्ट्र बैंकले जनाएको छ । कूल बिदा हुनेमध्ये २३ दिन भने बैंकहरुले नगद भुक्तानी, ईसीसी, राष्ट्र ऋण व्यवस्थापन तथा आरटीजीएस लगायका आकस्मिक बैंकिङ सेवा बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म सञ्चालन गर्नेछन् । साथै, वर्षभरिको प्रत्येक शुक्रबार आधा दिन र प्रत्येक शनिबार पूर्ण बिदा हुने छ । प्रत्येक शुक्रबार बिहान १० बजेदेखि दिउँसो साढे एक बजेसम्म बैंकिङ्ग कार्यालय खुला हुने छन् भने कारोबार भने साढे १२ बजेसम्म मात्रै हुने छ । त्यस्तै, बैशाख १ देखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म बिहान १० बजेदेखि अपरान्ह ५ बजेसमम्म बैंकिङ कारोबार हुने राष्ट्र बैंकले जनाएको छ । सो अवधिमा बैंकिङ कारोबार भने बिहान १० देखि अपरान्ह ४ बजेसम्म हुने छ । १६ कात्तिकदेखि १५ माघसम्म भने कार्यालय समय बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म र बैंकिङ समय बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मात्रै हुने राष्ट्र बैंकले जानकारी गराएको छ । कुन कुन दिन हुन्छ बिदा ? [pdf id=467140]

१५ वर्ष विदेशमा पसिना बगाएका किसान भन्छन् : कृषिबाट विदेशमाभन्दा राम्रो कमाई

गलेश्वर । वैदेशिक रोजगारीका क्रममा कतारमा सात वर्ष बिताएपछि गाउँ फर्किएका म्याग्दीको मालिका गाउँपालिका–६ का सङ्केत पुनलाई दोस्रो पटक विदेश जान मन लागेन । पाँच वर्षअघि २०७४ सालमा कतारबाट दिच्याम फर्केपछि गाउँमा बाँझै रहेको तीन रोपनी जग्गालाई खनजोत गरेर पुनले तरकारी र सुन्तला खेती सुरु गरे । अहिले उनको बारीमा मौसमी र बेमौसमी तरकारी फलिरहेका छन् । गत वर्ष तरकारी बेचेर चार लाख रुपैयाँ आम्दानी भएको पुनले बताउँदै यस वर्षदेखि सुन्तला र कागती खेतीसमेत विस्तार गरेको जानकारी दिए । बेनी नगरपालिका–२ बञ्चरेढुङ्गाका ५३ वर्षीय हरिलाल घिमिरेको युवावस्था साउदी अरबको चर्को घाममा पसिना बगाउँदैमा बित्यो । तीन दशकअघि २० वर्षे उमेरमा साहुसँग ऋण लिएर मुग्लानको बाटो समाएका घिमिरेले दश वर्ष साउदी अरब र पाँच वर्ष भारतमा काम गर्दा पनि राम्रो कमाइ गर्न नसकेपछि घर फर्किए । घर फर्केर आफ्नै खेतको माटोमा पसिना बगाउन थालेपछि भने घिमिरेको जीवनमा हरियाली छाउन थालेको छ । जीवनको उर्बर समय मुग्लानमा पसिना बगाउँदै बिताए पनि राम्रो कमाइ गर्न नसकेपछि स्वदेशमा फर्किएर तरकारी खेतीमा लागेको भन्दै हरिलालले अहिले जीवनको उत्तरार्धमा व्यावसायिक तरकारी खेतीले प्रशस्त आम्दानी भइरहेको बताए । पुन र घिमिरेजस्तै बेनी–२ खबराका शोभित शर्मा, चन्द्रबहादुर कार्की, रोहोटेका चन्द्रबहादुर घिमिरे, मङ्गला–५ का टीकाकुमारी खत्रीलगायत किसानले गाउँकै थोरै खेतबारीमा पनि व्यावसायिक रुपमा गरेको तरकारी र फलफूल खेतीबाट मनग्गे आम्दानी गर्न सफल भएका छन् । अधिकांश नेपालीहरू विदेशी भूमिमा आफ्नो पसिना बगाइरहेको अवस्थामा म्याग्दीका केही जाँगरिला युवायुवतीले आफ्नै माटोमा मनग्गे आम्दानी गर्न सफल भएका मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले बताए ।  उनका अनुसार पछिल्लो समय आफ्नै देशमा केही गर्नुपर्दछ भनेर खाडीमुलुकबाट गाउँ फर्केर व्यावसायिक कृषिमा लागेका युवाको सङ्ख्या बढ्दै गएको छ । सन् २०२१ मा कोरोना महामारीको समयमा युएईबाट गाउँमा फर्केर तरकारी खेती सुरु गर्नुभएका मालिकाकै टेकबहादुर सिउथानीको बारीमा बाह्रै महिना तरकारी खेती हुने गरेको छ । तरकारी खेतीबाटै खर्च चल्न थालेपछि विगतमा जस्तो उहाँलाई अहिले घरखर्च चलाउन विदेश जानुपरेको छैन । युट्युब हेरेर तरकारी खेतीको सुरुआत गरेको बताउने सिउथानीले तरकारी बिक्री गरेर वार्षिक तीन लाख रुपैयाँको हाराहारीमा कमाइ हुने गरेको बताए । ‘पहिला विदेशको भूत चढ्यो, विदेश गए पछि के के न गरिएलाजस्तो लाग्यो र ऋणधन गरेर विदेश गएँ । विदेश गएको अर्को वर्ष कोरोना महामारी सुरु भयो । काम नपाएपछि गाउँमा फर्केर सुरु गरेको तरकारी खेतीले अहिले खानबस्न समस्या छैन’, उनले भने । सिउथानीले मोबाइलमा युट्युब हेरेर बेमौसमी तरकारी खेती गर्ने तरिका सिकेको बताए । ‘थोरै जग्गामा पनि मौसमी तथा बेमौसमी तरकारीखेती गरेर मनग्गे आम्दानी गर्न सकिँदोरहेछ भन्ने कुरा थाहा पाएपछि व्यवसायिक खेती सुरु गरेको थिएँ’, उनले भने, ‘सुरुसुरुमा तरकारी खेतीबाट खासै राम्रो कमाइ गर्न नसके पनि हिम्मत हारिन । विदेशमा कमाउन नसकेको मान्छेले माटोमा पसिना बगाएर के कमाउला भनेर गिज्याए पनि म काममा निरन्तर लागिरहेँ ।’ अहिले सिउथानीको खेत बारीमा गोलभेँडा, काँक्रो, करेला लटरम्मै फलेका छन् । खेतबारीमा फलेका तरकारीसँगै सिउथानीको घरपरिवारमा खुसी र सन्तुष्टि पनि छाएको छ । म्याग्दीमा पछिल्लो समय तरकारी र फलफूल खेतीप्रति युवाको आकर्षण बढ्दै गएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार जिल्लाका एक सय बढी व्यक्ति व्यावसायिक तरकारी खेतीमा लागेका छन् । त्यसैगरी फलफूल खेतीतर्फ पनि उत्तिकै आकर्षण छ । यस वर्ष जिल्लाबाट २० करोड रुपैयाँ मूल्य बराबरको सुन्तला निकासी भएको केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख सञ्जीव बास्तोलाका अनुसार यस वर्ष जिल्लामा सात सय ५५ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादनयोग्य भूमि रहेकामा चार सय हेक्टर क्षेत्रफलमा मात्रै सुन्तला लगाइको थियो । उक्त क्षेत्रफलमा तीन हजार छ सय मेट्रिक टन सुन्तला फल्दा न्यूनतम मूल्य प्रतिकिलो ५५ रुपैयाँका दरले बिक्री गर्दा पनि कृषकले १९ करोड ८० लाख आम्दानी गरेका उनले जानकारी दिए । यहाँ उत्पादन भएको सुन्तला जिल्ला सदरमुकाम बेनीका साथै पोखरा, काठमाडौं, चितवन, मुग्लिनलगायतका बजारमा निकासी भएको केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख बास्तोलाले म्याग्दीका अधिकांश बगैँचाको सुन्तला निकासी भइसकेको भन्दै यस वर्ष सबैभन्दा बढी बेनी–३ भकिम्लीबाट निकासी भएको जानकारी दिए । जिल्लाको भकिम्ली, राखु, मरेक, सुर्केमेला, बरञ्जा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा दुई सयभन्दा बढी सुन्तला बगैँचा रहेका कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा छ । कृषि ज्ञान केन्द्र, स्थानीय तहको कृषि शाखा र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सुन्तला जोनका प्राविधिकले म्याग्दीका विभिन्न ठाउँमा क्रप कटिङ विधिबाट सुन्तला उत्पादनको अवस्था अध्ययन गरेका थिए । केन्द्रकी सूचना अधिकारी सम्झना शर्माले प्रतिहेक्टर ११ मेट्रिक टनको अनुपातमा सुन्तला फलेको बताउनुभयो ।  केन्द्रका अनुसार आव २०७८/०७९ मा  दुई हजार एक सय ८० मेट्रिक टन सुन्तला उत्पादन हुँदा १३ करोड जिल्लामा भित्रिएको थियो भने गत आवमा करिब तीन हजार मेट्रिक टन सुन्तला उत्पादन हुँदा १९ करोड बढी आम्दानी भएको थियो । यस वर्ष मङ्सिरको अन्तिम सातादेखि सुन्तला टिप्न सुरु भएको थियो । रासस

डीडीसीमै थन्कियो सवा १ अर्बको पाउडर दुध र मख्खन

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी)मा ठूलो परिमाणमा पाउडर दुध र मख्खन थन्किएका कारण किसानलाई रकम भुक्तानीमा पनि समस्या देखिएको छ। डीडीसीले दैनिक रुपमा विभिन्न जिल्लाका कृषकमार्फत १ लाख ४० हजार लिटर दुध खरिद गर्दै आए पनि बजारमा दैनिक ९० हजार लिटरमात्र बिक्री हुँदा  समस्या देखिएको हो । संस्थानका उपमहाप्रवन्धक एवम् सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले डीडीसीमा ठूलो मात्रामा पाउडर दुध र मख्खन थुप्रिँदा समस्या देखिएको बताए । ‘हामीले मासिक ४२ लाख लिटर दुध किसानमार्फत खरिद गर्छौँ तर बजारमा बिक्री २७ लाख लिटर हाराहारीमा मात्र हुन्छ, प्रत्येक महिना १५ लाख लिटर बराबरको पाउडर थुप्रिँदा समस्या भएको हो,’ उनले भने । दैनिक ५० हजार लिटर दुधको मख्खन र पाउडर दुध बनाएर भण्डारण गर्दै आएको उनको भनाइ छ । डिडिसीले गर्मी बढेपछि दहीको बिक्रीवितरण बढ्ने अपेक्षा गरेको छ । डीडीसीमा हाल सवा १ अर्ब रुपैयाँ बराबरको पाउडर दुध र मख्खन मौज्दात रहेको उपमहाप्रबन्धक अधिकारीले जानकारी दिए । उनका अनुसार हाल संस्थानमा ९ लाख किलो पाउडर दूध र सात लाख किलो मख्खन मौज्दात छ । संस्थानले हाल विभिन्न ४३ जिल्लामा उत्पादन भएको दुध आफ्नै चिस्यान केन्द्र र विभिन्न सहकारीमार्फत खरिद गर्दै आएको छ । दुग्ध विकास संस्थान मातहतमात्र हाल देशभर ६४ चिस्यान केन्द्र छन् । डीडीसीले हाल गुणस्तरका आधारमा चार प्रतिशत फ्याट र आठ प्रतिशत ‘एसएनएफ’ रहेको दुधको न्यूनतम ६७ देखि अधिकतम ७२ रुपैयाँमा खरिद गर्ने गरेको छ । संस्थानले  खरिद गरेको दुध न्यूनतम प्रतिलिटर ८४ देखि १२४ रुपैयाँसम्म बिक्री गर्दै आएको छ । डीडीसीले दही प्रतिलिटर १५० रुपैयाँ तथा घिउ वितरकलाई प्रतिकिलो १ हजार ८० रुपैयाँमा बिक्री गर्दै आएको छ । रासस

काठमाडौं महानगरका औषधि पसल मापदण्डविपरीत, बन्द फ्रिजमै खोप भण्डारण

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका ११८ औषधि पसलले आधारभूत मापदण्डसमेत पालना नगरेको जनाएको छ । कामपा स्वास्थ्य विभागले गएको असोज २१ गतेदेखि औषधि पसलको अनुगमन थालेको थियो । अहिलेसम्ममा वडा नं १, २ र ३ का धेरै र अन्य वडामा गरिएको अनुगमनका क्रममा उक्त कमजोरी पत्ता लगाइएको विभागको भनाइ छ । वडा नं १४ कलङ्कीमा सञ्चालित मिसन फार्मेसीले फ्रिज नचलाई खोप भण्डारण गरेको पाइयो । यसरी भेटिएका तीन प्याकेट (३० वटा) एन्टिरेविज भ्याक्सिन, टिटी खोप नौ थान र तीन थान इन्सुलिन जफत गरिएको कामपाको स्वास्थ्य विभागका निमित्त प्रमुख सजिना महर्जनले जानकारी दिए । अनुगमनका क्रममा औषधि राख्ने फ्रिजमा ‘कोल्ड चेन’ कुनैमा पनि नभेटिएकाले औषधि पसलमा कुनै पनि खोप नलगाउन नागरिकलाई आग्रह गरिएको छ । ‘औषधि पसलले, फ्रिज तथा खोप भण्डारण गर्ने कक्षमा आवश्यक पर्ने तापक्रम नमिलाउनु गम्भीर लापरबाही हो । जनस्वास्थ्यका दृष्टिले चरम गल्ती हो ।’ अनुगमनको अवस्था बुझिसकेपछि कामपाको उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डङ्गोलले भनिन्, ‘यस्ता ठाउँमा सुधारको मौका दिन सकिँदैन ।’ औषधि पसल दर्ता गर्दा एउटाका नाममा प्रमाणपत्र छ । पसलमा अर्कै व्यक्ति बसेको पनि अनुगमनका क्रममा भेटिएको छ । अनुगमनका क्रममा भेटिएका केही प्रतिनिधि पसलबाहेक धेरैमा समस्या देखिएको कामपाको भनाइ छ । कामपाले गत मङ्सिरमा महानगर क्षेत्रभित्र सञ्चालित औषधि पसललाई प्रचलित व्यवस्थाअनुसार कानुनी दायरामा आउनका लागि सार्वजनिक सूचनामार्फत आग्रह गरेको थियो ।  सूचनाको बेवास्ता गरेको भन्दै कामपाले अनुगमन सुरु गरेको हो । अवस्थामा सुधार नगर्नेलाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (झ) ९, महानगरपालिका जनस्वास्थ्य ऐन २०८० को दफा ५३ अनुसार कारबाही हुनेछ । औषधि पसल सञ्चालन गर्न कामपामा अनुमति लिनुपर्छ, फार्मेसी पढेकाले मात्रै औषधि पसल सञ्चालन र बिक्रीवितरण गर्नुपर्ने कानुनी व्यवस्था छ । हाल कामपामा दुई हजार छ सय औषधि पसल सञ्चालनमा रहेको बताइएको छ । औषधि पसलको यो प्रवृत्तिमा तत्काल सुधारको खाँचो रहेको बताउँदै कामपाले गत असोजदेखि नियमित अनुगमन गरिरहेको छ । अनुगमनका क्रममा समस्या देखिएका पसललाई कारबाहीको दायरामा ल्याउने कामपाले जनाएको छ । रासस

नागढुंगा सुरुङमार्ग ब्रेक थ्रु हुने अवस्थामा थियो, सरकारले गर्दा ठप्प भयो : सांसद अर्याल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं सांसद डोलप्रसाद अर्यालले ब्रेक थ्रु हुने अवस्थामा रहेको नागढुंगा सुरुङमार्गको काम सरकारकै कारण ठप्प रहेको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा शुन्य समयमा बोल्दै उनले सरकारले स्थानीयवासीसँग गरिएको प्रतिवद्धताहरु कार्यान्वयन नगरेका कारण सो सुरुङ मार्गको निर्माण कार्य ठप्प हुने गएको बताएका हुन् । उपसभापति अर्यालले सरकारले सो सुरुङ मार्ग अघि बढाउने बेलामा स्थानीयसँग गरेको सम्झौता कार्यान्वयन नहुँदा हाल दैनिक करिब डेढ करोड रुपैयाँ जरिवाना तिर्नुपर्ने अवस्था आएको जिकिर समेत गरे । उनले भने, ‘ब्रेक थ्रु गराउने तयारी गरिएको नागढुंगा सुरुङ मार्गको काम अहिले सरकारकै कारण ठप्प छ । स्थानीयवासीसँग गरिएको प्रतिवद्धताहरु कार्यान्वयन नगरेकै कारण सरकारले अहिले दैनिक झन्डै डेढ करोड रुपैयाँ जरिवाना तिर्नुपर्ने अवस्था आईलागेको छ ।’ उपसभापति अर्यालले स्थानीयको माग तत्काल सम्बोधन गरी सो सुरुङमार्गको निर्माण कार्य सुचारु गराउन पनि सरकारको ध्यानाकर्षण गराए । सरकारले सो सुरुङ मार्ग यही साता ब्रेक थ्रु गर्ने घोषणा गरेको थियो । तर स्थानीयवासीको अवरोधको कारण अन्तिम समयमा आएर त्यसको निर्माण कार्य ठप्प भएको उपसभापति अर्यालको भनाई थियो ।

सरकारलाई सभामुखको रुलिङः सांसदका प्रश्नको जवाफ फागुन २१ गतेको बैठकमा दिनू

काठमाडौं । सभामुखको देवराज घिमिरेले संसद बैठकमा सांसदहरुले उठाएका विभिन्न समसामयिक विषयहरुको जवाफ आगामी फागुन २१ गते बस्ने बैठकमा दिन सरकारलाई रुलिङ गरेका छन् । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा पनि प्रतिपक्ष दल नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीले बालकुमारी घटनामा दोषी करार मन्त्रीको राजीनामा नआएको र प्रधानमन्त्रीले पनि संसदमा आएर कुनै जवाफ नदिएको भन्दै बैठक अवरोधको प्रयास गरेका थिए । त्यस्तै मिटरब्याज, लघुवित्त र सहकारी पीडितहरुको समस्या समाधानमा जिम्मेवार नभएको, रुसी सेनामा नेपाली भर्ती भएको विषय लगायतमा प्रतिपक्ष दलहरुले पटक पटक सरकारलाई प्रश्न सोधेपनि उत्तर नपाएको भन्दै आन्दोलन जारी रहेको बताएका थिए । लगत्तै सभामुख घिमिरेले आफूले यस अघिको बैठकमा पनि सरकारलाई बैठकमा उपस्थित भएर जवाफ दिन निर्देशन दिइसकेको बताए । उनले सभाको फागुन २१ गते बस्ने बैठकमा समसामयिक विषयहरुको सन्दर्भमा जवाफ दिन सरकारलाई रुलिङ गरे । उनले भने– ‘माननीय सदस्यहरुले उठाउनुभएको विषयका सम्बन्धमा यस अघिका बैठकहरुमा सरकारलाई बैठकमा उपस्थित भइ जवाफ दिन स्पष्ट निर्देशन दिइसकिएको व्यहोरा म जानकारी गराउँदछु । म यसलाई फेरि भन्दछु, माननीय सदस्यहरुले उठाउनुभएको विषयको सम्बन्धमा यस अघिका बैठकहरुमा सरकारलाई बैठकमा उपस्थित भई जवाफ दिन स्पष्ट निर्देशन गरिसकेको व्यहोरा जानकारी गराउँछु । माननीय सदस्यहरुले आजको बैठकमा पनि विभिन्न विषयका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउँदै जवाफको माग गर्नुभएको छ, आज र यसअघि उठेका विषयहरुमा सभाको मिति २०८० साल फागुन २१ गते बस्ने बैठकमा उपस्थित भइ जवाफ दिन नेपाल सरकारलाई म निर्देश गर्दछु ।’ सभामुखको रुलिङसँगै प्रतिनिधि सभाको बैठक सहज रुपमा सुचारु भएको छ ।