विकासन्युज

मुग्लिन-पोखरा सडकको पश्चिम खण्डमा ७० मठमन्दिर भत्किने

तनहुँ । मुग्लिन-पोखरा सडक बिस्तार आयोजना अन्तर्गत तनहुँको पश्चिम खण्डमा करिब ७० वटा मठमन्दिर भत्किने भएका छन् । राजमार्गको सडक मापदण्डभित्र निर्माण गरिएका मठमन्दिरहरु भत्किने भएका आयोजनाले जनाएको छ । तनहुँ खण्डमा मात्रै बाह्र मन्दिर र दुई पार्क भत्किने छन् । प्रमुख जिल्ला अधिकारीको संयोकत्वमा गठित मुआब्जा निर्धारण समितिको हालै बसेको बैठकले मन्दिरको क्षतिपूर्तिका लागि मुआब्जा निर्धारण गरिसकेको छ । तनहुँ खण्डका लागि मात्रै रु ३४ लाख मुआब्जा वितरण गर्नुपर्ने देखिएको छ भने कोत्रेदेखि कास्कीको सेतीपुलसम्मको लगत लिने काम भैरहेको रेना आरडिइटी–एस कन्सल्टटेन्सीका परामर्शदाता कुमार श्रेष्ठले जानकारी दिए । मन्दिरको मुआब्जाका लागि मूल्याङ्कन भैसकेकाले सम्बन्धित समुहले वडाको सिफारिस, समुहको माइन्युटर र निवेदनलगायतका आवश्यक कागजपत्र आयोजना समक्ष पेश गर्नुपर्ने छ । पश्चिम सडकखण्ड अन्र्तगत दुई लेनको छ किलोमिटर दूरीमा अस्पाल्ट प्रविधिको कालोपत्र सम्पन्न भएको छ । ‘तनहुँ र कास्की खण्डमा गरी उक्त दुरीमा कालोपत्र गरिएको हो’, उनले भने, ‘पछिल्लो समय निर्माण कम्पनीले निर्माणको गति बढाएपछि अहिले भौतिक प्रगति १८ प्रतिशत पुगेको छ ।’ उक्त सडकखण्ड अन्तर्गत तनहुँको जामुनेदेखि पोखराको सेतीपुलसम्म ३८ दशमलव ८८ किलोमिटर दुरीमा पर्दछ । उक्त खण्डमा सडक विस्तार तथा स्तरोन्नति चीनको यनहुइै काइयुन हाइवे एन्डब्रिज कम्पनीले ठेक्का पाएको छ । आयोजनाले निर्माण कम्पनीलाई लक्ष्यअनुरुप कामको गति बढाउन निर्देशन दिएपछि निर्माणले गति लिएको मुग्लिन–पोखरा सडक आयोजना (पश्चिम खण्ड) का इञ्जिनियर नारायण पौड्यालले बताए । पश्चिम खण्डका लागि सात अर्ब ४० करोड ४६ लाख ८१ हजारमा ठेक्का सम्झौता भएको थियो । विसं २०७८ भदौबाट काम सुरु भएको यस खण्डको काम २०८१ भदौ १२ मा सम्पन्न गर्नुपर्ने सम्झौता छ । पृथ्वीराजमार्ग सडक बिस्तार पूर्वी र पश्चिम गरी दुई खण्डमा निर्माण भैरहेको छ । त्यसैगरी पूर्वी खण्डमा ५१ प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको छ । अहिले सडकको डिजाइन अनुरुप सडक केन्द्रबाट दायाँबायाँ २३/२३ मिटर सडक बिस्तार भैरहेको छ । दमौली र डुम्रे बजार क्षेत्रमा छ लेनको सडक बन्नेछ । राजमार्गको अन्य क्षेत्रमा भने चार लेनको सडक हुनेछ । आयोजनाको पूर्वी खण्डमा एकतर्फी ३२ किलोमिटर दूरीमा कालोपत्र गरिएको मुग्लिन–पोखराको पूर्वी खण्डका इञ्जिनियर बिष्णु पाण्डेले जानकारी दिनुभयो । पूर्वी खण्डमा ४१ दशमलव सात किलोमिटर छ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । पूर्वी खण्डका लागि रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा ठेक्का सम्झौता भएको हो । उक्त खण्डको सम्पन्न गर्नुपर्ने म्याद विसं २०८१ वैशाखसम्म छ । कोभिडको समयमा निर्माण स्थगित भएकाले नेपाल सरकारबाट छ महिना म्याद थप गर्ने प्रक्रियामा रहेको सो आयोजनाले जनाएको छ । रासस

कामना सेवा विकास बैंकले गर्यो वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । विश्व वित्तीय सप्ताहको अवसरमा कामना सेवा विकास बैंकले बुधबार वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । विश्व वित्तीय सप्ताह किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्व बारेमा जागरण ल्याउने ‘अर्गनाइजेसन अफ इकोनोमिक्स कर्पोरेसन एण्ड डेभलपमेन्ट’ को संयोजनमा हरेक वर्ष मार्च २२ देखि २८ सम्म मनाउने गरिन्छ । उक्त सप्ताहको अवसरमा बैंकले विभिन्न साक्षरता कार्यक्रम आयोजना गदैंछ । विश्व वित्तीय सप्ताह अन्तर्गत कामना सेवा विकास बैंकले गोलबजार नगरपालिका, सप्तरीका सरकारी कर्मचारीलाई लक्षित गरि वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकका मधेश प्रदेशको प्रमुख दिमश अमात्यको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गोलबजार नगरपालिकाका उपमेयर मान्ती शाह, नगरपालिकाका १३ वडा कार्यालयका अध्यक्ष प्रतिनिधिहरु, वडाध्यक्षहरु, विभिन्न पदाधिकारीहरु तथा सरकारी कर्मचारीहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा बैंकको लहान शाखा प्रमुख श्री प्रकाश घिमिरेले प्रस्तुतिकरण दिएका थिए । जनप्रतिनिधि तथा कर्मचारीहरुलाई बैंकङ्ग सुविधा, बचत, ऋण तथा विभिन्न किसिमका डिजिटल कारोवारको जानकारी होस् भन्ने हेतुले उक्त कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रममा गोलबजार नगरपालिकासँग सम्बन्धित ६० जना भन्दा बढी महानुभावहरुको सहभागीता रहेको थियो । उक्त कार्यक्रममा वोल्दै नगरपालिकाका उपमेयर शाहले बैंकहरुले यस्ता वित्तीय साक्षरता कार्यक्रम गर्नाले बचत, ऋण तथा बैंकिङ कारोवारको बारेमा थप जानकारी प्राप्त गर्न सकेकोले यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन् । हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।

काठमाडौं उपत्यका बिहानैदेखि धुम्म, बढ्यो चिसो (फोटो फिचर)

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको महाशाखाले जानकारी दिएको छ । कोशी, मधेश प्रदेशका थोरै स्थानमा चट्याङसहित छिटपुटदेखि हल्का वर्षा तथा कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का हिमपात भइरहेको महाशाखाले बताएको छ। बुधबार दिउँसो कोशी,मधेस, बागमती र गण्डकी प्रदेशसहित देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, मधेश र बागमती प्रदेशको थोरै स्थानहरूमा साथै बाँकी देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । यसको असर उपत्यकामा पनि बिहानैदेखि प्रभाव परेको छ ।

गृहमन्त्रीमाथि छानविन गर्न संसदीय समिति गठन गर्नुपर्ने काँग्रेसको अडान यथावत

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सुर्यदर्शन सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता छानविन गर्न संसदीय समिति गठन गर्नुपर्ने मागलाई यथावत राखेको छ । बुधबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै नेपाली काँग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले गृहमन्त्रीमाथि संसदीय छानविन समिति बनाएर छानविन गर्नुपर्ने आफूहरुको माग यथावत रहेको बताएका हुन् । आगामी संसद बैठकमा सरकारले समिति बनाउन नमाने काँग्रेसले संसद अवरोध गरेको नभइ सरकारले नै गरेको हुने बताए । प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्रीलाई जोगाउन खोजेको भन्दै प्रधानमन्त्रीले बेइमानी र घात गरेको जानकारी दिए । ‘जवाफ दिने क्रममा प्रधानमन्त्रीले संसदभित्र र जवाफ दिनु अगाडी संसद बाहिर जसरी बोल्नुभयो, जसरी प्रश्तुत हुनुभयो । पेट काटेर चार-चार पैसा गरेर जम्मा गरेका, तपाई स्वयंलाई प्रत्यक्ष भेटेर पीडा पोखेका पीडितप्रतिको बेइमानी र घात होइन ? राज्यको कानूनप्रतिको खेलवाड होइन यो ? छातीमा हात राखेर आफैँले आफैलाई सोध्नुस् त प्रधानमन्त्रीज्यु । अझ गैरजिम्मेवार कुरा बाहिर गएर बोल्नुभयो उपप्रधानमन्त्रीले, प्रतिपक्षलाई च्यालेन्ज गर्दै, प्रतिपक्षले चार वर्ष सदन अवरुद्ध गरोस् । हामी सत्ता हाँकिरहन्छौँ । कसरी चल्छ सत्ता ? प्रतिपक्षले संसद बन्दाखेरी सरकार चल्छ ? त्यो कदापी पनि हुन सक्दैन’, उनले भने । उनले गृहमन्त्री रवि लामिछाने पटक-पटक गृहमन्त्री बन्न चाहेको भन्दै मन्त्री लामिछानेमाथि कानूनी र नैतिक प्रश्न रहेको बताए । उनले प्रतिपक्षलाई संसद अवरोध गर्न चुनौति दिएको भन्दै प्रतिपक्षले संसद अवरोध गरेमा सरकार नचल्ने बताए ।

चीनसँग बढ्यो व्यापारीको चहलपहल, व्यवसायीले दक्षिण छोडेर उत्तर रोजेका हुन् ?

काठमाडौं । पछिल्लो समय नेपाली व्यवसायीहरूको रोजाइ चिनियाँ बजार पर्न थालेको छ । व्यवसायीहरूले वस्तु आयातका लागि चिनियाँ बजार छनोट गर्न थालेपछि नेपालको चीनसँगको व्यापार पनि बढ्दै गएको तथ्यांकले देखाएको हो । चिनियाँ बजारमा नेपाली व्यवसायीको चहलपहल बढ्न थालेको संकेत पनि तथ्यांकले देखाएको छ । २०७२ सालको भूकम्पपछि सुस्त रहेको चीनसँगको व्यापार चालु वर्षमा उल्लेख्य रूपमा बढेको तथ्यांकले देखाएको छ । चीनले लामो समयसम्म केरुङ र तातोपानी नाका बन्द गरेर वस्तु आयात निर्यातमा कडाइ गरेको थियो । सो कडाइले नेपाल र चीनबीचको व्यापारमा प्रभाव परेको थियो । तर, अहिले सो नाका खुलेपछि चीनको बजारमा नेपाली व्यवसायीको चहल पहल बढ्न थालेको हो । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार आठ महिनाको अवधिमा चीनबाट हुने आयात ३३.६७ प्रतिशत बढेको छ भने निर्यात २७५.४८ प्रतिशतले वृद्धि भएको छ । यो अवधिमा चीनबाट १ खर्ब ९४ अर्ब ८७ करोड ४४ लाख रुपैयाँबराबरको आयात भएकोमा कुल १ अर्ब ९५ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा चीनबाट १ खर्ब ४५ अर्ब ७८ करोड ५७ लाख रुपैयाँबराबरको आयात भएको थियो भने ५१ करोड ९३ लाख रुपैयाँबराबरको निर्यात भएको थियो । यस्तै, आठ महिनाको अवधिमा भारततर्फको आयात २.८३ प्रतिशतले घटेको छ भने निर्यात पनि ७.६८ प्रतिशतले घटेको छ । आठ महिनाको अवधिमा भारतबाट कुल ६ खर्ब ३८ अर्ब १७ करोड ७७ लाख रुपैयाँको आयात भएकोमा ६८ अर्ब ५१ करोड १७ लाखको निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा भारतबाट कुल ६ खर्ब ५६ अर्ब ८० करोड रुपैयाँको आयात भएको थियो भने कुल ७४ अर्ब २१ करोड ८६ लाख रुपैयाँबराबर निर्यात भएको थियो । चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा कुल वस्तु निर्यात ३.९९ प्रतिशतले घटेर १ खर्ब ६१ करोड ७४ लाख रुपैयाँ कायम भएको छ भने आयात २.६६ प्रतिशतले घटेर १० खर्ब ३० अर्ब २२ करोड २६ लाख रुपैयाँ कायम भएको छ । यो अवधिमा कुल व्यापार घाटा ९ खर्ब २९ अर्ब ६० करोड ५२ लाख रुपैयाँ कायम रहँदा भारतसँगको व्यापार घाटा ५ खर्ब ६९ अर्ब ६६ करोड ४९ लाख रुपैयाँ र चीनसँगको व्यापार घाटा १ खर्ब ९२ अर्ब ९२ करोड ४२ लाख रुपैयाँबराबर रहेको छ । यस्तै, चीनबाट आयात हुने प्रमुख ४६ वटा वस्तुहरूमध्ये १२ वटा वस्तुको मात्रै आयात घटेको छ । अन्य वस्तुहरूको आयात ठूला परिमाणमा बढेको देखिन्छ । भारतबाट आयत हुने प्रमुख ५१ वटा वस्तुहरूमा २८ वटा वस्तुको आयात घटेको देखिन्छ भने २१ वटा वस्तुको आयात बढेको छ । भारतमा कडाइ, चीनमा सहज निर्यात परिषद्का अध्यक्ष नरेश लाल श्रेष्ठले अहिले भारतले केही वस्तुहरूको आयातमा कडाइ गर्दा विगतको तुलनामा भारतसँगको व्यापार घटेर चीनसँगको बढेको बताए । उनका अनुसार भारतले भटमास र पाम तेलमा भन्सार दर बढाएर कडाइ गरेको छ भने प्लाइउडमा पनि कडाइ गरेको छ । त्यसले पनि निर्यातमा केही कमी देखिएको हो । ‘हामीले भारतमा बढी निर्यात गर्ने भनेको प्लाइउड हो, अहिले भारतले त्यसमा कडाइ गरेको छ, वस्तुको माग भारतमा घटेको छ, भटमास र पाम आयलमा पनि भन्सार बढाउँदा निर्यात कम भइरहेको छ, त्यसको प्रभावस्वरुप भारततर्फको व्यापार बढेको देखिएको हो,’ उनले भने । उनका अनुसार विगतका चीनतर्फको नाका बन्द हुँदा व्यापार नभएको र अहिलेको खुल्दा व्यापार बढेको हो । रसिया र युक्रेनबिचको युद्धले पनि मागमा कमी आएको उनको तर्क छ । तथ्यांकअनुसार जिंक शिट, पार्टिकल बोर्ड, जुस, तयारी पोसाक, अदुवा लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, अलैंची, चिया, ऊनी गलैंचा लगायतका वस्तुको निर्यात घटेको छ । यस्तै, तयारी पोशाक, सवारी साधान तथा स्पेयर पार्टपुर्जा, हवाइजहाज स्पेयर पार्टपुर्जा, विद्युत्तीय उपकरण, एम.एस. तार, छड, बार तथा क्वाइल लगायतका वस्तुको आयात बढेको छ भने कच्चा सोयाविन तेल, सुन, धान तथा चामल, पेट्रोलियम पदार्थ, कच्चा पाम तेल लगायतका वस्तुको आयात घटेको छ । नेपाल राष्ट्र बैंकका सह-प्रवक्ता डा.डिल्लीराम पोखरेल पनि अहिले चिनियाँ नाका खुलेपछि चहल पहल बढेको बताउँछन् । उनले विगतमा चीनतर्फको केरुङ र तातोपानी नाका बन्द हुँदा व्यापार पनि कम भएको र अहिले नाका खुला हुँदा व्यापार बढेको देखिएको धारणा राखे । सुस्ताए भारततर्फका भन्सार आयात-निर्यातमा आएको उचार चढावको प्रभाव भन्सार कार्यालयमा पनि देखिएको छ । भारततर्फका भन्सार कार्यालयको व्यापार घटेको देखिन्छ भने चीनतर्फका भन्सार कार्यालयको व्यापार बढेको देखिन्छ । निर्याततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा, तथा तातोपानी बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको देखिन्छ । यस्तै, आयाततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, नेपालगञ्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ । तथ्यांकअनुसार विराटनगर भन्सार कार्यालयबाट आयात ९.८६ प्रतिशत कमी आएर १ खर्ब १२ अर्ब ४५ करोड २१ लाख रुपैयाँबराबरको कारोबार भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस भन्सार कार्यालयबाट १ खर्ब २४ अर्ब ७५ करोड ७४ लाख रुपैयाँबराबरको आयात भएको थियो । यस्तै, सबैभन्दा बढी आयातको हिस्सा भएको भारततर्फको भन्सार कार्यालय बिरगञ्ज भन्सार कार्यालयबाट हुने आयात पनि घटेको छ । गत आर्थिक वर्षको फागुनमा ३ खर्ब ९१ अर्ब ३ करोड रुपैयाँबराबरको आयात भएकोमा चालु आर्थिक वर्षको फागुनमा ३ खर्ब ५३ अर्ब ४ करोड रुपैयाँ बराबरको आयात भएको देखिन्छ । कैलाली भन्सार नाका २१.५८ प्रतिशत कमी आएर १४ अर्ब ७४ करोड २२ लाख रुपैयाँबराबरको कारोबार भएको छ । झापाका मेची भन्सार कार्यालयमा ९.८ प्रतिशतको घटेर २८ अर्ब १४ करोड रुपैयाँ बराबरको आयात भएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट हुने कारोबारमा ठूलो गिरावट आएको छ । चीनतर्फका भन्सार कार्यालयमा भने कारोबार बढेको देखिन्छ । रसुवा भन्सार कार्यालयबाट हुने आयात १११.८८ प्रतिशतले बढेर ३५ अर्ब बढीको आयात भएको छ । तातोपानी भन्सार कार्यालयबाट हुने आयातमा पनि ठूलो छलाङ मारेको छ । यो भन्सार कार्यालयबाट कुल आयात २२२.८ प्रतिशत बढेर २३ अर्ब १४ करोड ८३ लाख रुपैयाँको आयात भएको छ । यस्तै, निर्यातमा पनि अधिकांश चीनका भन्सार कार्यालयको व्यापार बढेको देखिन्छ भने भारततर्फका भन्सार कार्यालयको व्यापार बढेको देखिन्छ । तर, कारोबार रकम भने चीनभन्दा भारततर्फका भन्सार कार्यालयको उच्च छ ।

‘नियमित जाँच गरे मुखसम्बन्धी रोगले जटिलता निम्त्याउँदैन’

काठमाडौं । ‘अ ह्याप्पी माउथ इज अ ह्याप्पी बडी’ अर्थात् मुख स्वस्थ भए शरीर पनि चङ्गा हुन्छ । यो यस वर्षको विश्व मुखस्वास्थ्य दिवसको नारा हो । स्वस्थ मुख उचित पाचनका लागी आवश्यक छ, सर्वोत्कृष्ट पोषणका लागी यसले खानालाई मिहिन बनाउनमात्र सघाउँदै अपितु स्वस्थ मुस्कान र आत्मसम्मान जोगाउन मद्दत गर्छ । यो नाराले प्रवाह गर्ने सन्देश यही हो भन्छन् दन्तचिकित्सकहरू । मुख स्वस्थ भयो भने सम्पूर्ण शरीर नै नीरोगी रहन्छ । मुख अस्वस्थ नहुँदा नै हामी बोल्न, चपाउन र मुस्कुराउन सक्छौँ । आज मार्च २०, संसारभर विविध चेतनामूलक कार्यक्रमका साथ विश्व मुख स्वास्थ्य दिवस मनाइँदै छ । दाँत, गिजा र सम्पूर्ण मुख–अनुहार प्रणालीको स्वास्थ्यलाई मुख स्वास्थ्यको रूपमा बुझ्न सकिन्छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले मुख स्वास्थ्यलाई मुख एवं अनुहारको दुखाइ, मुख तथा घाँटीको क्यान्सर, मुखको सङ्क्रमण, जन्मदै तालु तथा ओठ चिरेको (खुँडे) गिजासम्बन्धी रोग, दाँत कीराले खाने तथा झर्ने, दाँतमा प्वाल पर्ने तथा मुखसम्बन्धी अन्य रोगबाट मुक्त हुने अवस्थाको रूपमा व्याख्या गरेको छ । हाम्रो देशको सन्दर्भमा हेर्ने हो भने अधिकांशमा दाँत कीराले खाने, गिजाबाट रगत आउने, गिजा फुल्ने र पाक्ने, दाँत हल्लिने समस्या भएका बिरामी पाइन्छन् । स्वास्थ्यसम्बन्धी वेबसाइट मायो क्लिनिक डटकमका अनुसार शरीरका अन्य भागजस्तै मुख पनि कीटाणुले भरिएको हुन्छ, तथापि ती कीटाणु प्रायः हानिकारक हुन्छन् । तर मुख भनेको पाचन नलीमा प्रवेश गर्ने माध्यम भएकाले यदि त्यो स्वस्थ्य भएन भने हानिकारक कीटाणुले शरीरभर रोग निम्त्याउन सक्छ । कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरका वरिष्ठ दन्तचिकित्सक डा बुद्धिमान श्रेष्ठले बालबालिकामा बढीजसो दाँत कीराले खाने र वयस्कमा गिजाको बढी समस्या हुने गरेको बताउँछन् । उनका अनुसार सुर्तीजन्य पदार्थको सेवन गर्ने अधिकांशलाई मुखभित्र सेतो घाउ बढी मात्रामा देखिने गरेको छ, जुन मुख क्यान्सरको प्रारम्भिक लक्षण पनि हो । उहाँ मुख नै शरीरको प्रवेशद्वार भएकाले यो नै स्वास्थ्य भएन भने घर (शरीर) नै स्वस्थ्य नहुने बताउँछन् । उनी भन्छन्, ‘मुखस्वास्थ्य सम्पूर्ण शरीरको स्वास्थ्यसँग जोडिन्छ । गर्भवतीको मुख स्वस्थ्य नहुँदा समय नपुगी बच्चा जन्मिन सक्ने र बच्चा कम तौलको जन्मिने हुन सक्छन् । साथै मुख र गिजा सफा भएन भने यसले मधुमेह, मुटुरोग र क्यान्सरसम्मको जोखिम निम्त्याउन सक्छ ।’ डब्ल्युएचओका अनुसार चिनीको खपत, सुर्ती, मदिरा सेवन र सरसफाइको कमी मुखसम्बन्धी समस्याका मुख्य कारक हुन् । मुखसम्बन्धी समस्या विश्वव्यापीरूपमा नसर्ने रोग बन्दै गएको छ । मुख स्वास्थ्यमा खासगरी दाँत कीराले खाने, गिजासम्बन्धी रोग र मुखको क्यान्सर जनस्वास्थ्यका प्रमुख समस्याका हुन् । विश्वमा क्यान्सरको सूचीमा मुखको क्यान्सर १३औँ नम्बरमा पर्छ, यसमा ओठको क्यान्सर बढी हुने गरेको छ । बढ्दो सहरीकरण र जीवनयापनमा आएको परिवर्तनसँगै मुखका रोग पनि बढिरहेका छन् । यो मुख्यतया ‘टुथपेस्ट’को गुणस्तर, उच्च चिनीयुक्त खानाको सेवन, मुखको उपचारमा कमजोर पहुँचका कारण बढ्दो छ । नेपाल डेन्टल एशोसिएसनका महासचिव डा विश्वप्रकाश ठाकुरले धेरै बिरामी दाँतको दुखाइ र जटिल समस्या आएपछि मात्र चिकित्सककहाँ आउने प्रवृत्ति रहेको अनुभव सुनाउँछन् । उनी शरीरका अन्य अङ्गको स्याहार गरेजस्तै दाँतको पनि त्यसरी नै स्याहार गर्नुपर्ने आवश्यकता औँल्याउँदै भन्छन्, ‘मुख नै स्वस्थ भएन भने अरु रोग लाग्ने सम्भावना हुन्छ । दाँतको कुनै पनि समस्या आज वा भोलि नै हुँदैन, नियमित जाँच गर्दा जटिल समस्या हुन पाउँदैन ।’ डा. ठाकुर अहिले ३० देखि ३५ वर्षको उमेरमा र्नै दाँत झरेर नक्कली दाँत राख्नुपर्ने अवस्था आएको भन्दै धेरै जनाले ‘ब्रस’ राम्ररी नगर्नाले समस्या बढी भएको बताउँछन् । मुखस्वास्थ्यलाई प्राथमिकतामा राख्न र यसका लागि पर्याप्त बजेट छुट्याउन आवश्यक भएको उनी औँल्याउँछन् । डब्लुएचओको पछिल्लो अध्ययन ग्लोबल ओरल हेल्थ स्टेटस रिपोर्ट (२०२२) अनुसार मुखसम्बन्धी रोगले विश्वभर तीन अर्ब ५० करोड मानिस पीडित हुने गरेका तथा तिनमा हरेक चारजनामध्ये तीन जना मध्यम आय भएका देशका नागरिक छन् । त्यसैगरी विश्वव्यापी अनुमानित दुई अर्ब मानिस स्थायीरूपमा नै दाँत कीराले खाने समस्याबाट पीडित छन् भने ५१ करोड ४० लाख बालबालिकामा दाँतको कीराले खाने समस्या छ । त्यसैगरी एक अर्बलाई गिजाको जटिल समस्या देखिने गरेको छ । डब्ल्युएओकै अध्ययनले ६० देखि ९० प्रतिशत स्कुले बालबालिकामा दाँत कीराले खाने समस्या रहेको र त्यो ज्येष्ठ नागरिकमा झन् बढी रहेको बताउँछ । डब्ल्युएओको ओरल हेल्थ कन्ट्री (नेपाल) प्रोफाइल २०२२ का अनुसार उपचार नगरिएको कीराले खाएको दुधे दाँतको समस्या एकदेखि नौ वर्षमा ५१ दशमलव दुई प्रतिशत, पाँच वर्षमाथिका स्थायी दाँतको समस्या ३१ दशमलव पाँच प्रतिशतलाई र गिजाको समस्या १५ वर्षमाथि १४ दशमलव आठ प्रतिशत र २० वर्षमाथिलाई दाँत नहुने समस्या एक दशमलव चार प्रतिशत देखिएको जनाएको छ । सङ्ख्या अझै पनि हुनसक्ने भए पनि नियमित अध्ययन–अनुसन्धान नभएकाले कति प्रतिशत समस्याबाट पीडित छन् भनेर आकलन गर्न सकिएको छैन । त्यसैगरी नेपाल नेशनल ओरल हेल्थ पाथफाइन्डर सर्भे २००४ मुख स्वास्थ्यसम्बन्धी अध्ययनमा नेपालमा पाँच–छ वर्षका ५७ दशमलव पाँच प्रतिशत, १२–१३ वर्षका २५ दशमलव छ प्रतिशत, १५–१६ वर्षका बच्चामा २६ दशमलव तीन, ३५–४४ वर्षका ५७ दशमलव पाँच प्रतिशत तथा ५० वर्षभन्दा माथिका ६९ दशमलव छ प्रतिशत व्यक्तिमा दाँतमा कीरा लाग्ने समस्या देखिएको थियो । अध्ययनले महिलामा दाँतमा कीरा लाग्ने समस्या बढी देखाएको थियो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालकी सामुदायिक दन्त चिकित्सक डा सिर्जना दाहाल दुखाइ नभएसम्म अस्पताल नआउने भएकाले जनतामा चेतना जागृत गर्न आवश्यक भएको बताउनुहुन्छ । नेपालको सन्दर्भमा हेर्ने हो भने मुखसम्बन्धी सेवा सबैको पहुँचमा पुग्न सकेको छैन । जति छ, त्यो पनि सर्वसुलभ छैन । सरकारीबाहेक निजी अस्पताल तथा क्लिनिकमा मुखस्वास्थ्यको उपचार महँगो छ । डब्ल्युएओले पनि कम र मध्यम आय भएका देशमा मुखसम्बन्धी उपचारको पर्याप्त सेवा उपलब्ध नभएको बताउँदै आएको छ । स्टेप्स् सर्भे नेपाल २०१९ को अध्ययनले १५ देखि ६९ उमेर समूहका ८९ दशमलव नौ प्रतिशतले दैनिक एक वा दुईपटक दाँत माझ्ने गरेको जनाएको छ । नियमित दाँत माझ्ने सङ्ख्या धेरै भए पनि नियमित आफँै स्वाथ्य संस्थासम्म जाने प्रतिशत भने कम छ । सर्भेले ५४ दशमलव पाँच प्रतिशत बयस्कमा मुखसम्बन्धी जाँचका लागि जानुपर्छ भन्ने धारणा छैन । वीर अस्पताल दन्त विभागका गिजारोग विशेषज्ञ सहप्राध्यापक डा. रञ्जिता श्रेष्ठ नियमित जाँचले पछि हुने दाँतको दुखाइलगायत गिजाको समस्याबाट राहत मिल्ने बताउँछिन् । उनी भन्छिन्, ‘रोग नै लाग्न दिएनौँ भने खर्च हुँदैन । दाँतको उपचार चरणबद्ध हुन्छ त्यसैले बढी खर्च लाग्ने हुन्छ । पहिलाभन्दा आम मानिस अलि सजग भए पनि सबै सचेत छैनन् ।’ वीर अस्पतालमा दाँतको उपचार सेवा लिन ३० को टिकट काटे पुग्छ । अरु सेवा पनि निजीभन्दा आधा सस्तो रहेको डा. श्रेष्ठ बताउँछिन् । ‘सरकारी अस्पतालमा निजीभन्दा सस्तो सेवा उपलब्ध छ । सरकारले आँखा, मुटुको जस्तैै मुख स्वास्थ्यसम्बन्धी छुट्टै अस्पताल बनाए धेरै बिरामीलाई राहत मिल्थ्यो होला ।’ डा. श्रेष्ठ भन्छिन्, ‘अहिले ब्रस नगर्ने मान्छे सायदै कोही होला । बच्चाको दाँत नै नआए पनि गिजा सफा कपडाले पुछिदिनुपर्छ । साढे दुई वर्षसम्म दुधेदाँत आइसक्छ । नरम ब्रसले दाँत सफा गरिदिनुपर्छ । धेरै अभिभावकले दुधेदाँत झरेर अर्को आउँछ भनेर ध्यान दिनुहुँदैन तर त्यो कीराले खायो भने पछि आउने दाँत नराम्रो आउने सम्भावना हुन्छ ।’ विज्ञहरूले मुख स्वास्थ्यलाई राम्रो बनाउन छ–छ महिनामा दाँत जाँच गराउने, दैनिक बिहान र बेलुका दिनमा दुईपटक ब्रस गर्ने, खाना खाइसकेपछि कुल्ला गर्ने बानी बसाल्ने, ‘कोल्डड्रिङक्स’को सेवन कम गर्ने तथा चुरोट, गुट्खा, सुपारीलगायत सुर्तीजन्य पदार्थ सेवन नगर्ने सुझाव दिएका छन् । रासस

पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव काठमाडौंमा, प्रवेश निःशुल्क

काठमाडौं । पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव काठमाडौंमा आयोजना हुने भएको छ । चैत्र १६ देखि १८ गते अर्थात मार्च २९ देखि ३१ सम्म चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डमा आयोजना हुने चलचित्र महोत्सवमा ३७ देशका ४ दर्जनबढी विभिन्न विधाका चलचित्रहरु प्रदर्शन गरिनेछ । पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवको राष्ट्रिय निर्णायकको रूपमा नायिका आँचल शर्मा, कलाकार मोहन निरौला, अभिनेत्री सुष्मा कार्की, चलचित्रकर्मी मोहन राई, पत्रकार शान्ती प्रिय, जय निशान्त र सुवास प्रधान रहेका छन् । त्यस्तै अन्तराष्ट्रिय निर्णायकमा पोल्याण्डकी म्याग्डालेना जुज्जिक, जर्मनीकी डर्क गिल्सन, सर्बियाकी लजुबिन्का स्टोजानोभिक, जर्मनीका जान स्लेंक, भारतका मुश्ताक अली अहमद खान, क्रोएसियाका इभा गालोभिक, कोरियाकी मिरियम ग्लेजर छन् । तीन दिने चलचित्र महोत्सवमा फिल्म प्रदर्शनसँगै प्यानल डिस्कशन र मास्टर क्लास पनि राखिएको छ । चलचित्र विकास बोर्डमा मार्च ३० अर्थात् चैत्र १७ गते सर्बियाकी लजुबिन्का स्टोजानोभिकले चलचित्र सम्बन्धी कार्यशाला दिनेछिन् भने मार्च ३१ मा भारतका मुश्ताक अली अहमद खानले मास्टर क्लास दिने भएका छन् । महोत्सवको आयोजक रहेको नेपाल संस्कृति तथा चलचित्र केन्द्रले महोत्सवको तालिकासमेत सार्वजनिक गरेको छ । महोत्सवमा नेपाली चलचित्र चिसो मान्छे, महापुरुष, छक्का पञ्जा ४ लगायत अन्य विभिन्न विधाका चलचित्रहरुका साथै विदेशी ३ दर्जनजति चलचित्रहरु समावेश भएका छन् । कुनै पनि चलचित्रहरु हेर्न पैसा नलाग्ने र कार्यक्रममा प्रवेश निःशुल्क रहेको जनाइएको छ । अन्य चलचित्र महोत्सवले प्रवेश शुल्क लिने गरेको तर यो महोत्सवमा कसैलाई पनि प्रवेश र चलचित्र हेर्न कुनै पैसा नलाग्ने भएको कारण सर्वसाधारण, विद्यार्थी, चलचित्रकर्मी लगायत सबैलाई समान रुपमा समेट्न सकिने आयोजक टीमले बताएको छ । मानव अधिकार, सामाजिक न्याय र दिगो विकासका विषयलाई केन्द्रमा राखेर चलचित्र महोत्सवको आयोजना गर्न लागिएको नेपाल संस्कृति तथा चलचित्र केन्द्र (एनसीएफसी) ले जनाएको छ । चलचित्र महोत्सवको अन्तीम दिन सात राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायकहरुको मूल्यांकनको आधारमा महोत्सवमा सहभागी १५ स्वदेशी र १५ वटा विदेशी फरक फरक विधाका उत्कृष्ट फिल्महरुलाई पुरस्कृत समेत गरिनेछ । यो महोत्सवमा उत्कृष्ट चलचित्र, उत्कृष्ट लघुचलचित्रमात्र नभएर उत्कृष्ट महिला चलचित्र, उत्कृष्ट बालबालिका चलचित्र, उत्कृष्ट सांस्कृतिक चलचित्र, उत्कृष्ट वातावरणीय चलचित्र, उत्कृष्ट डकुमेन्ट्री लगायत धेरै विधाहरु भएकाले अन्य विधालाई पनि प्रोत्साहन गरेको कारण यो चलचित्र महोत्सव अझ बढी महत्वपुर्ण रहेको महोत्सव निर्देशक सन्तोष सुवेदी बताउँछन् । नेपालमा विधाअनुसारको विषयवस्तुमा कम फिल्म बन्छ, कि त बन्दै बन्दैन । बनेपनि त्यसलाई प्रदर्शन गर्ने स्थान र प्रोत्साहन गर्ने संस्था छैन । विषयगत चलचित्रहरु उत्कृष्ट बन्दा पनि तिनिहरुले स्थान पाउँदैनन्, पाईहालेपनि प्रतिस्पर्धामा पछाडी नै राखिन्छ । तर यो महोत्सवले सबैलाई समेट्न सकेको उनको दावी छ । अझ महोत्सवको पछिल्लो संस्करणमा अन्य विधाहरु पनि थप्दै जाने सुवेदी बताउँछन् । चलचित्र महोत्सव गर्नु आफैमा पनि च्यालेन्जीङ कार्य हो र यसमा सरकारी तथा सम्बन्धित निकायहरु आफै अग्रसर भएर कार्य गर्नुपर्नेमा मौन बस्नु र सहयोग नगर्नु दुःखद कुरा भएको उनको भनाई छ । मुटुको शल्यक्रिया भएको केहि महिनापछि पनि सक्रिय भएर महोत्सवको आयोजना गरेर देशलाई अन्तराष्ट्रिय रुपमा चिनाउन पाउँदा आफैलाई गौरव लाग्ने गरेको सुवेदीले बताए । उनले तीनदिने चलचित्र महोत्सवमा चलचित्रकर्मी, कलाकार, रंगकर्मी, विद्यार्थी, पत्रकार, राजनितिज्ञ लगायत सबैलाई उपस्थित हुनको लागि अनुरोधसमेत गरेका छन् ।

नुवाकोटका शालिकराम घिमिरे सम्पर्क विहीन, खोजी गरिदिन परिवारको आग्रह

काठमाडौं । नुवाकोट विदुर नगरपालिका ११ गेर्खु निवासी ५३ वर्षीय शालिकराम घिमिरे केही दिनदेखि सम्पर्क विहीन भएका छन् । उनी सम्पर्क विहीन भएपछि परीवारका सदस्यले खोजी गरिदिन प्रहरीमा निवेदन दिएका छन् । घिमिरे सोमबार विहान ६ बजे काठमाडौ तारर्केश्वर नगरपालिका सानो पुल स्थित आफन्तको घरबाट चिया पिउन जाने भन्दै निस्किएका थिए । ५ दशमलव ६ फिट उचाइका वर्ण रातो , खैरो ज्याकेट कपडाको कालो पाईन्ट ढाँका टोपि लगाएका घिमिरे मोबाइलबाट समेत सम्पर्क विहिन छन । बेपत्ता भएको भोलिपल्ट तनहुँको देवघाटमा सिसिटिभी फुटेजमा देखिएको र हालसम्म सम्पर्कमा नआएकाले र आफन्तकोमा समेत नगएकाले खोजीकार्यको लागि सहयोग गरिदिन परिवारले आग्रह आग्रह गरेका छन् । त्यस्तै, प्रहरीले पनि शालिकराम घिमिरेलाई कतै भेटे नजिकैको प्रहरी कार्यालय तथा आफन्तहरुलाई बुझाइदिन वा ९८५१०४५४१४ वा सम्पर्क गर्न आग्रह गरेको छ ।