सन लाइफ क्यापिटलको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडाैं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सहायक कम्पनी सन लाइफ क्यापिटल लिमिटेडले विश्व वित्तीय सप्ताह २०२४(ग्लोबल मनि वीक)को अवसरमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले बालबालिका र युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले चैत्र ७ र ८ गते क्रमश चण्डी आदर्श सरल माध्यमिक विद्यालय ,चाकुपाट, ललितपुर र मल्पि इन्टरनेस्नल कलेज,चक्रपथ, काठमाण्डौमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । चैत्र ७ गते चण्डी आदर्श सरल माध्यमिक विद्यालय ,चाकुपाट, ललितपुरमा आयोजना गरिएको कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरुलाई वित्तिय बजार, धितोपत्र बजार सम्बन्धी जानकारी गराउनुका साथै लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरु, इन्टरनेट लगायत अन्य सामाजिक सञ्जालको प्रयोग गर्दा अपनाउनुपर्ने सतर्कताबारे विस्तृत जानकारी गराइएको कम्पनीले जनाएको छ । यस्तै चैत्र ८ गते मल्पि इन्टरनेशनल कलेज,चक्रपथ, काठमाण्डौ मा बीबीए आठौं सेमेष्टरका विद्यार्थीहरुलाइ बीमा क्षेत्र सम्बन्धि साक्षरता अभिवृद्धि गर्ने साक्षरता कार्यक्रम र वित्तीय बजार, धितोपत्र बजारमा केन्द्रित हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको कम्पनीले जनाएको छ ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका चिकित्सकबाट मिर्गौलाको सफल प्रत्यारोपण
कास्की । पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ । अस्पतालले आफ्नै जनशक्तिबाट बिहीबार सफल प्रत्यारोपण गरिएको हो । तनहुँको व्यास नगरपालिका–१० की ३५ वर्षीया सम्झना गुरुङको सफल प्रत्यारोपण गरिएको हो । उनलाई लमजुङ सुन्दरबजार नगरपालिका बस्ने बहिनी सुमिना गुरुङले मिर्गौला दान दिएकी थिइन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको सो अस्पतालमा प्रत्यारोपण सेवा सुरु भएको २० महिनापछि पहिलोपटक आफ्नै जनशक्तिबाट प्रत्यारोपण गरिएको हो । यसअघि २०७९ असारमा पहिलोपटक सहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले मिर्गौला प्रत्यारोपण गरेको थियो । पोखरामा प्रत्यारोपणका लागि केन्द्रले सहयोग गर्दै आएकामा पछिल्लो पटक अरुको सहयोग बिनानै यहीँकै चिकित्सकको टोलीले सो कार्य सफलतापूर्वक सम्पन्न गरेका हुन् । बिहीबार अस्पतालका युरो सर्जनद्धय डा प्रकाश क्षेत्री र डा अनुप चापागाई, नेफ्रोलोष्टि डा जुजुराम श्रेष्ठ र डा अमृत केसी, जनरल सर्जन डा डेभिड श्रेष्ठको टोलीले प्रत्यारोपण गरेको अस्पतालका सूचना अधिकारी सुमन भट्टराईले जानकारी दिए । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आठ वटा प्रत्यारोपणमा प्रत्यारोपण केन्द्रका चिकित्सकबाट गरिएकामा हिजो नवौँ प्रत्यारोपण पहिलो पटक प्रतिष्ठानका आफ्नै चिकित्सक र स्वास्थ्यकर्मीबाट गरिएको प्रतिष्ठानका निर्देशक डा भरतबहादुर खत्रीले बताए । अस्पतालकै जनशक्तिबाट सो कार्य सम्भव भएपछि प्रत्यारोपणका लागि पालो कुर्नुपर्ने अवस्था पनि कम हुँदै जाने उनले बताए। पश्चिमाञ्चल क्षेत्रीय अस्पताल मिर्गौला प्रत्यारोपण गर्दा बिरामीले रु चार लाख सम्म सहुलियत पाउने गरेका छन् । विपन्न नागरिकको औषधोपचार कार्यक्रमअन्तर्गत अस्पताल सूचीकृत भएसँगै यहाँ प्रत्यारोपण गर्नेले सो सहयोग पाउने जनाइएको छ । रासस
नेपालको पर्यटन प्रवर्द्धन गर्न व्यवसायीहरूको टोली मलेशिया प्रस्थान
काठमाडौं । मलेसियाबाट नेपालमा बढीभन्दा बढी पर्यटक आकर्षण गर्ने उद्देश्यले क्वालालम्पुरमा नेपालको पर्यटन प्रवर्द्धन गरिने भएको छ । उक्त प्रयोजनका निम्ति नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को नेतृत्वमा पर्यटन व्यवसायीको टोली मलेसियातर्फ प्रस्थान गरेको हो । मलेशियन एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (माट्टा) ले यही मार्च २२ देखि २४ सम्म अन्तर्राष्ट्रिय पर्यटन व्यापार मेला ‘माट्टा फेयर २०२४’ सञ्चालन गर्दैछ । उक्त फेयरमा सहभागी हुन नेपाली पर्यटन व्यवसायी नाट्टाको संयोजकत्वमा १४ पर्यटन व्यवसायी कम्पनीसहितको टोली मलेशिया गएको संस्थाले जनाएको छ । मेलामा नाट्टाका अध्यक्ष रमेश थापा, वरिष्ठ उपाध्यक्ष प्रमोद दाहाल, कोषाध्यक्ष राजकुमार देवकोटा तथा कार्यकारी सदस्य एवं माटा फेयरका संयोजक सुरेश अंगाइलगायत १४ पर्यटन व्यवसायी कम्पनीका प्रतिनिधि सहभागी रहेको नाट्टाले जनाएको छ । विगतमा नेपाल पर्यटन बोर्ड तथा नाट्टाको संयुक्त संयोजकत्वमा नेपाली पर्यटन व्यवसायीले यस्ता अन्तर्राष्ट्रिय पर्यटन व्यापार मेलामा सहभागिता जनाउने गरेका थिए । नाट्टाले अघिल्लो महिना स्पेनको मेड्रिड र बङ्गलादेशको ढाकामा सम्पन्न व्यापार मेलामा सहभागिता जनाइसकेको छ । मलेशिया नेपालका लागि आन्तरिक तथा बाह्य पर्यटनको उदयमान पर्यटन बजारको रुपमा परिचित छ । विशेषतः बिदा पर्यटन, सांस्कृतिक तथा धार्मिक पर्यटनका लागि मलेशियन पर्यटक नेपाल आउने गरेका छन् । पछिल्लो समयमा कैलाश मानसरोवर यात्राका लागि हिन्दू धर्मावलम्बी मलेशियाबाट नेपाल आउनेक्रम बढिरहेको नाट्टाले विज्ञप्तिमा उल्लेख गरेको छ । नाट्टाका अध्यक्ष थापाले संस्थाको पहलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालको प्रतिनिधित्व गरिरहेको र व्यवसायीलाई प्रोत्साहन गरी पर्यटन प्रवर्द्धनका कार्यक्रमलाई निरन्तरता दिएको बताए ।
राजस्व छलेको आरोपमा सिरहाको शारदा डिस्टीलरी सिल
काठमाडौं । राजस्व छली प्रकरणमा सिरहाको शारदा डिस्टीलरी सिल गरिएको छ । अन्तशुल्कको एउटा स्टीकरलाई दुई टुक्रा पारी मदिराको बोतलमा लगाएर राजस्व छलेको आरोपमा गोलबजारस्थित शारदा डिस्टीलरीको गोदाम सिल गरिएको आन्तरिक राजस्व कार्यालय लहानले जनाएको हो । आन्तरिक राजस्व विभागले प्रदान गर्ने स्टिकरलाई सरोकारवालाको मिलेमतोमै दुई टुक्रा पारेर प्रयोग गरी उद्योगले राजस्व छली गर्दै आएको विशेष सूचनाका आधारमा राजस्वको टोली गोदाममा पुगेको थियो । गोदामबाट शारदा डिस्टिलरीबाट उत्पादित मदिरासहित ३१५ कार्टुन मदिरा बरामद गरिएको छ । थप मदिरा कोठामा बन्द गरेर राखिएका कारण परिणाम यकिन हुन नसकेको बताइएको छ । साथै, उद्योगका प्रतिनिधि सुपरभाइजर लोकबहादुर बस्नेत र सिरहाको माडरस्थित आशीष जनरल स्टोरका प्रोपराइटर ललनकुमार यादव बयान दिन गएका थिए । दुबैजनालाई नियन्त्रणमा लिइएको बताइएको छ ।
माछापुच्छ्रे बैंकद्धारा सुदुरपश्चिमको विद्यालयमा ८ वटा शौचालय निर्माण
काठमाडौं । माछापुच्छ्रे बैंकले सुदुरपश्चिम प्रदेशको कैलालीमा रहेको श्री शैलेश्वरी उच्च माध्यामिक विद्यालय परिसरमा ८ वटा शौचालय निर्माण गरी हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो । बैंकले निर्माण गरेका ८ वटा शौचालयहरु चैत ८ गते बिहीबारका दिन एक औपचारिक कार्यक्रमकाबीच विद्यालय व्यवस्थापन समिति एंव विद्यालय प्रशासनलाई हस्तातरण गरिएको हो । उक्त शौचालय हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि गोदावरी न.पा.वडा नं.०६ का वडा अध्यक्ष जहरु साउदले माछापुच्छ्रै बैंकले कैलाली जिल्लाको सरकारी स्कुललाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे । साथै, उनले आगामी दिनमा पनि माछापुच्छ्रे बैंकले जस्तै अन्य संघसंस्थाहरुले पनि स्थानिय निकायहरुसंग मिलेर अन्य यस्तै कामहरु गर्दै गएको खण्डमा देशका हरेक सरकारी विद्यालयको शैक्षिक गुणस्तरमा उल्लेख्य सुधार हुँदै जाने विश्वास व्यक्त गरे । कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंकका महाप्रबन्धक प्रसिद्धराज अर्यालले बैंकले आफ्नो विद्यालय संचालनका लागि अति आवश्यक पर्ने शौचालयको असुविधाका कारण पठनपाठनमा समेत समस्या भईरहेको जानकारी पाए पश्चात बैंकले उक्त शैलेश्वरी उच्च माध्यामिक विद्यालयको अवस्था अवलोकन गरी उक्त पूर्वाधारहरु निर्माण गरेको जानकारी गराउँदै भविष्यमा पनि अन्य यस्ता थुपै सामाजिक कार्यमा सहयोग गर्न बैंक सधै अग्रसर रहने प्रतिबद्धता व्यक्त गरे । त्यस्तै साही कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थपन समितिका अध्यक्ष खगराज पाठकले माछापुच्छ्रे बैंकले आफ्नो विद्यालयप्रति गरेको सामाजिक कार्यको सराहना गर्दै यस्ता सहयोगले विद्यालय संचालनका लागि उत्प्रेरणा मिल्ने बताए । १८०० भन्दा बढि विद्यार्थी र ३५ जना शिक्षक/कर्मचारी कार्यरत उक्त विद्यालयमा भएको अस्थायी शौचालयको अवस्था निक्कै नै खराब रहेको हुदाँ विद्यार्थी एंव शिक्षकहरुले भोगिरहेको समस्यालाई मध्यनजर गरि बैंकले विद्यालय परिसरमा ८ वटा शौचालय तथा सेफ्टी ट्याङ्कीको निर्माण गरेको हो । बैंकले निर्माण गरेका ८ वटा शौचालयहरुमध्ये २ वटा विद्यालयका कर्मचारी, ३ वटा महिला तथा ३ वटा पुरुष विद्यार्थीले प्रयोग गर्नेछन् । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरुमा विभिन्न संघसंस्थाहरुसंग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तिय साक्षरता, दिगो विकास लगायतका क्षेत्रहरुमा काम गर्दै आएको छ ।
सेन्ट्रल फाइनान्सका विभिन्न शाखाहरूले गरे वित्तीय साक्षरता कार्यक्रम
काठमाडौं । सेन्ट्रल फाइनान्सका विभिन्न शाखा कार्यालयहरूले ग्लोबल मनी विक २०२४ अन्तर्गत सप्ताहव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेका छन् । ‘प्रोटेक्ट योर मनी, सेक्योर योर फ्युचर’ भन्ने नारासहित सञ्चालित कार्यक्रमअन्तर्गत डकाहा, बिर्तामोड, विराटनगर र बर्दिबास शाखाले वित्तीय साक्षरता तथा प्रभातफेरी सञ्चालन गरेका हुन् । सिन्धुली, डकाहास्थित सरस्वती क्याम्पसमा आयोजित उक्त कार्यक्रम डकाहा शाखा प्रमुख दीपेश पाण्डेले बैंक तथा वित्तीय संस्थाहरूबारे विद्यार्थीलाई जानकारी दिएका छन् । विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, क्याम्पस प्रमुख, शिक्षक-शिक्षिका, कर्मचारी तथा क्याम्पसका व्यवस्थापन संकायका विद्यार्थी उपस्थित थिए । संस्थाको बिर्तामोड शाखाले पनि ग्लोबल मनी विक २०२४ अन्तर्गत बिर्तामोडस्थित महेन्द्र रत्न सेकेन्डरी स्कुलमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्यो । कार्यक्रममा उक्त शाखाका प्रमुख प्रकाश फुँयालले बचतको विकासले दैनिक जीवनयापन सहज हुने र छरिएका साना रकमलाई एकत्रित गरी पुँजी बनाउन सकिने बताए। यस्तै, विराटनगर शाखाले विराटनगरस्थित रामसीता माविमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो । शाखाका प्रमुख शेखर पोखरेलले बैंक तथा वित्तीय संस्थाबारे विद्यालयमा अध्ययनरत विद्यार्थीलाई जानकारी र सुसूचित गर्नुका साथै डिजिटल बैंकिङलगायत बचतका आवश्यकताको विषयमा आफ्ना विचार राखेका थिए । महोत्तरीस्थित संस्थाको बर्दिबास शाखाले बर्दिबासका अन्य बैंक वित्तीय संस्थाहरूसँग मिलेर वित्तीय साक्षरता जागरणका लागि प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको हो । बैंक वित्तीय संस्था तथा डिजिटल बैंकिङलगायत वित्तीय जानकारी तथा जनचेतनामूलक प्लेकार्डहरूसहित आयोजित कार्यक्रममा संस्थाको कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
प्रहरीका पेट्रोलपम्प २४सै घण्टा सञ्चालन हुने, गृहमन्त्रीले दिए निर्देशन
काठमाडौं । नेपाल प्रहरीद्वारा सञ्चालित पेट्रोल पम्पहरु अब २४सै घण्टा सञ्चालन हुने भएका छन् । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित नेपाल प्रहरीको केन्द्रीय कार्यालय नक्साल, सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोक र कास्कीको पोखरामा सञ्चालित पेट्रोलपम्प अबदेखि २४सै घण्टा सञ्चालन हुने भएका हुन् । उपप्रधानमन्त्री लामिछानेले पेट्रोलपम्प २४सै घण्टा खुला गर्न आदेश दिएसँगै चैत ८ गतेदेखि पम्पहरू खुला रहने नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । यसअघि प्रहरीद्वारा सञ्चालित पेट्रोलपम्पहरू बिहान ६ बजेदेखि राति ११ बजेसम्म सञ्चालित हुँदै आएका थिए । उनले भने, ‘मन्त्रीज्यूले २४सैँ घण्टा खुला गर्न आदेश दिनु भएसँगै हामीले पेट्रोलपम्प पम्प खुला गरेका छौँ ।’ रासस