घोराही सिमेन्टको १५ प्रतिशत बोनस सेयर सूचीकृत
काठमाडौं । घोराही सिमेन्ट इन्डष्ट्रिको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको १५ प्रतिशत बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भएको हो । यससँगै संस्थाको ५९ लाख ५७ हजार ८५१ कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ । हाल संस्थाको ४ करोड ५६ लाख ७६ हजार ८५७ कित्ता सेयर नेप्सेमा सूचीकृत छन् । जसमध्ये संस्थापकको ८० प्रतिशत अर्थात ३ करोड ६५ लाख ४१ हजार ४८६ कित्ता र सर्वसाधारणको २० प्रतिशत अर्थात ९१ लाख ३५ हजार ३७१ कित्ता सेयर रहेका छन् ।
महिला न्यायाधीशको उपस्थितिले समान न्याय प्रवर्द्धन हुन्छ : प्रधानन्यायाधीश
काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकामा महिला न्यायाधीशको उपस्थितिले समान न्यायको प्रवर्द्धन हुने बताएका छन् । महिला न्यायाधीशको प्रथम राष्ट्रिय सम्मेलनको शुक्रबार शुभारम्भ गर्दै प्रधानन्यायाधीश श्रेष्ठले सम्मेलनले न्यायापालिकाका महिला न्यायाधीशको बढ्दो सहभागिताले दुरगामी प्रभाव पार्ने बताए । प्रधानन्यायाधीश श्रेष्ठले न्यायका क्षेत्रमा महिला सहभागिता विस्तारै वृद्धि हुँदै गएको र कानुन पढ्ने महिला विद्यार्थीको सङ्ख्या पनि बढ्दो रहेको बताए । उनले संविधानले समानुपातिक सहभागिताको व्यवस्था गरेको र विस्तारै महिला न्यायाधीशको सङ्ख्या पनि बढ्दै जाने बताए । प्रधानन्यायाधीश श्रेष्ठले आफूले न्यायालयको नेतृत्व सम्हालेदेखि नै सुधारका लागि काम प्रारम्भ गरेको र न्यायिक सुधारका कामलाई निरन्तरता दिएको बताए । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले संविधानले समानुपातिक सहभागिता रहने व्यवस्था गरेपनि सोचेअनुरूप न्याय क्षेत्रमा महिलाको उपस्थित हुन नसकेको धारणा राखे । उनले सम्मेलन गर्न सक्ने महिला न्यायाधीश हुनु आफैमा महत्त्वपूर्ण भएको र कलेजदेखि नै महिला सहभागितामा बढाउनुपर्नेमा जोड दिए । मन्त्री गिरीले सर्वोच्च अदालतले कानुन बनाउन दिएको निर्देशनात्मक आदेशअनुसार कानुन बनाउने विषयलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले पहिला एक/दुई जना मात्रै महिला न्यायाधीश भएको स्मरण गर्दै महिला न्यायाधीशको सम्मेलन गर्ने अवसर प्राप्त हुनु सबैभन्दा खुशीको क्षण भएको बताए । उनले महिला न्यायाधीशको शारीरिक, भावना, विचार र जिम्मेवारीहरू धेरै भएपनि महिलाको दुःख, बेदना महिलाले नै बुझ्ने विश्वास व्यक्त गरे । पूर्वप्रधानन्यायाधीश कार्कीले महिलाले दोहोरो/तेहोरो जिम्मेवारी पूरा गरेर पनि न्यायाधीशका रूपमा न्याय दिन सक्ने बताए । सर्वोच्च अदालतका न्यायाधीश तथा न्यायाधीश समाज नेपालमा अध्यक्ष सपना प्रधान मल्लले नेपालीको इतिहासमा महिला न्यायाधीशहरू संगठित हुने र सञ्जालमा आबद्ध हुने अवसर मिलेको बताए । उनले सम्मेलनमा महिला न्यायाधीशको समस्या र चुनौती पहिचान गरी व्यावसायिक दक्षता वृद्धि गर्ने उद्देश्यले सम्मेलनको आयोजना गर्न लागेको स्पष्ट पारे । न्यायाधीश मल्लले समानुपातिक हिसाबले कानुन आएपनि न्याय र प्रतिनिधित्वको जरुरी भएको बताए । उनले फरक खाले हिंसा भोगेका महिला भएको हुँदा लैङ्गकिक न्याय जरुरी छ भने । महिला न्यायाधीशको नेतृत्व अभिवृद्धि र महिला न्यायाधीशको अर्थपूर्ण र गुणात्मक सहभागिताका अभिवृद्धि गर्नेलगायत समग्र विषयमा सम्मेलनमा छलफल गरिने उनको भनाइ छ । महान्यायाधिवक्ता डा दिनमणि पोखरेलले महिला न्यायाधीशको इजलासमा मुद्दा पर्यो भने न्याय हुन्छ भन्ने सन्देश सम्मेलनले दिने र यस्ले महिला न्यायाधीशमा थप उर्जा प्रदान गर्ने बताए । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले महिला न्यायाशीधद्वारा दिइने न्याय अझ विवेकपूर्ण हुने र न्याय क्षेत्रमा लाग्ने महिलालाई थप प्रोत्साहन र उर्जा मिलोस भन्ने शुभकामना व्यक्त गरे । न्याय प्रतिष्ठान नेपालका कार्यकारी निर्देशक वैधनाथ उपाध्यायले ‘श्रीमान’ भन्ने शब्द पितृसत्तात्मक सोचको उपज भएको र यसबारे समीक्षा गर्ने बेला भएको उल्लेख गर्दै सम्मेलनले महिला न्यायाधीशको क्षमता र नेतृत्व विकासका साथै न्याय क्षेत्रमा लाग्न थप प्रोत्साहन पुग्ने विश्वास व्यक्त गरे । शुक्रबार र शनिबार दुई दिनसम्म चल्ने सम्मेलनमा न्यायिक समुदायभित्र सहयोग, सशक्तीकरण र वकालतको अनुभव, विचार आदानप्रदान गर्नुका साथै न्यायिक क्षेत्रमा काम गर्ने महिलाबीच एकता र सञ्जाल निर्माण, नेतृत्व विकास र सशक्तीकरणलगायतको विषयमा छुट्टाछुट्टै कार्यशाला हुनेछ । नेपालमा सर्वोच्च अदालतमासहित कूल ४३ महिला न्यायाधीश छन् । तीमध्ये सर्वोच्च अदालतमा तीन, उच्च अदालतमा मुख्य न्यायाधीश एक र न्यायाधीश २१, जिल्ला न्यायाधीश १८ गरी छन् । सम्मेलनमा ४३ महिला न्यायाधीशसहित आठजना अवकाशप्राप्त महिला न्यायाधीश सहभागी छन् । अहिले नेपालमा १० दशमलव ५४ प्रतिशत महिला न्यायाधीश छन् । राष्ट्रिय न्यायिक प्रतिष्ठान र न्यायाधीश समाज नेपालको संयुक्त आयोजनामा ‘न्यायिक प्रणालीमा लैङ्गिक समानताको अभिवृद्धिः हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ सुरू भएको सम्मेलन शनिबार घोषणापत्र जारी गर्दै सम्पन्न हुनेछ ।
लाभांश घोषणा गरेको मैलुङ खोलाको सेयर कारोबार रोक्का
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले मैलुङ खोला जलविद्युत कम्पनीको सेयर कारोबार रोक्का गरिदिएको छ । नेप्सेले संस्थासँग तीन दिने स्पष्टिकरण माग्दै कम्पनीको सेयर कारोबार रोक्का गरिदिएको हो । कम्पनीले सेयर कारोबार खुला भएको समयमा लाभांश घोषणा सम्बन्धी निर्णय गरेको भन्दै नेप्सेले कारबाही स्वरुप कम्पनीको सेयर कारोबार रोकिदिएको हो । कम्पनीको चैत ७ गते दिउँसो साढे ३ बजे बसेको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई २.२२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । तर, कम्पनीले उक्त सूचना नेप्सेलाई चैत ८ गते बिहान ११ बजेर १७ मिनेट अर्थात नियमित कारोबारको समयमा जानकारी गराइएको बताइएको छ । यससँगै धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनिमय २२(१) मा भएको व्यवस्था बमोजिम धितोपत्रको मूल्यमा प्रभाव पार्ने निर्णय वा सूचना नेप्सेलाई जानकारी सोहि दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि नै सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने उल्लेख छ । तर कम्पनीले त्यसको विपरित अर्थात कारोबार खुला रहेको समयमा लाभांश सम्बन्धी जानकारी गराएको भन्दै नेप्सेले कम्पनीको कारोबार स्थगन गरेको हो । साथै, यस विषयमा के भएको हो ? के कारणले समयमा नै जानकारी दिन नसकेको हो ? भन्दै यसमा नेप्सेले कम्पनीसँग यसको स्पष्टिकरण माग गरेको छ । जसको लागि तीन कार्यदिनको समय दिइएको छ ।
अब बैंकका ऋणीहरूको मनोवैज्ञानिक परीक्षण गरिने
काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका ऋणीहरूको मनोवैज्ञानिक परीक्षण गरिने भएको छ । नेपाल राष्ट्र बैंकले साइकोमेट्रिक स्कोरिंग सोलुसन कर्जा सूचना केन्द्रलाई हस्तान्तरण गरेसँगै ऋणीहरूको व्यवहार र कर्जा भुक्तानी क्षमताको मनोवैज्ञानिक परीक्षण गरिने भएको हो । राष्ट्र बैंकसँगको समझदारीबमोजिम तयार भएको साइकोमेट्रिक स्कोरिंग सोलुसन बिहीबार अन्तर्राष्ट्रय वित्त निगमले कर्जा सूचना केन्द्र लिमिटेडलाई हस्तान्तरण गरिएको हो । राष्ट्र बैंकका अनुसार नयाँ ऋणीको व्यवहार र कर्जा भुक्तानी क्षमताको मनोवैज्ञानिक परीक्षण गर्ने उद्देश्यका साथ उक्त प्रणाली तयार गरिएको हो । यस प्रणालीबाट विगतमा कर्जा नलिएका र बिनाधितो सानो आकारका कर्जा लिन चाहने ऋणीको मनोवैज्ञानिक परीक्षण हुने राष्ट्र बैंकले जनाएको छ । यसको कार्यान्वयनसँगै नेपालमा वित्तीय समावेशीकरणको प्रवद्र्धनमा समेत सहयोग पुग्ने अपेक्षा राखिएको राष्ट्र बैंकको भनाइ छ ।
लोकसभा चुनाव नजिक दिल्लीका मुख्यमन्त्री केजरीवाल गिरफ्तार
एजेन्सी । भारतमा सन् २०२४ को लोकसभा चुनाव नजिकिँदै गर्दा नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल गिरफ्तारमा परेका छन् । पर्वतन निर्देशनालय (इडी)ले मदिरा सम्बन्धी नीतिमा भएको भ्रष्टाचारको आरोपमा मुख्यमन्त्री केजरीवालाई पक्राउ गरेको भारतका सञ्चारमाध्यमहरुले जनाएका छन् । इडीले बिहीबार राती केजरीवाललाई उनकै आवासबाट गिरफ्तार गरेको थियो । गिरफ्तारपछि उनको मेडिकल चेकअप गरिएको छ । साथै उनलाई आज नै अदालत पेस गरेर थप अनुसन्धानको लागि इडीले हिरासतमा राख्न अनुमति लिने बताइएको छ । मुख्यमन्त्री केजरीवालको गिरफ्तारीपछि आम आद्मी पार्टीले विरोध प्रदर्शन शुरु गरेको छ भने भने पार्टीको तर्फबाट सर्वोच्च अदालत जाने बताइएको छ । मुख्यमन्त्री केजरीवालको गिरफ्तारीलाई लिएर भारतीय कांग्रेसका नेता राहुल गान्धीले डराएको तानसाहले एक मरेको लोकतन्त्र बनाउन चाहेको बताएका छन् । अर्की कांग्रेसकी नेतृ प्रियंका गान्धीले चुनावको बेलामा मुख्यमन्त्रीको टार्गेट गरेर गिरफ्तारी गर्नु एकदमी गलत र असंवैधानिक भएको बताएकी छन् । त्यस्तै, समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवले पनि अब भारतीय जनता पार्टी सत्तामा नआउने डरले विपक्षी दलका नेताहरुलाई गिरफ्तार गरेको भन्दै यसले नयाँ जनक्रान्ती जन्माउने प्रतिक्रिया दिएका छन् ।
गुणस्तरीय जनशक्ति उत्पादनमा जोड दिऔँ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय मापदण्डबमोजिमको गुणस्तरीय जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताएका छन् । चिकित्सा शिक्षा आयोगको १३ औँ बैठकलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्रीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश, सन्दर्भ र आवश्यकताको अध्ययन विश्लेषण गरी गुणस्तरीय जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए । उत्पादित जनशक्ति र सम्मानजनक रोजगारीबीच तालमेल हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री दाहालले स्वास्थ्यजस्तो संवेदनशील विषयमा गुणस्तरमा सम्झौता नहुने स्पष्ट पारे । ‘गुणस्तरका मापदण्ड परिपालना र कार्यान्वयनमा आयोग क्रियाशील हुनैपर्दछ’, प्रधानमन्त्रीले भने, ‘दक्ष जनशक्ति उत्पादन वृद्धिका साथै गुणस्तरीय अध्ययन अध्यापनका न्यूनतम मापदण्डको परिपालनसमेत उत्तिकै अनिवार्य र महत्वपूर्ण छ ।’ प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बाहिरी मुलुकबाट नेपालमा चिकित्सा शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीका लागि नेपालको चिकित्सा शिक्षा प्रणाली आकर्षणको केन्द्रका रूपमा स्थापित हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले आयोगबाट प्रस्तुत प्रतिवेदनमा विदेशी विद्यार्थीको सङ्ख्या बढ्दै जानुले चिकित्सा क्षेत्रमा आकर्षण बढ्दै गएको देखिएको बताए।
१३ सयले घट्यो सुनको मूल्य, चाँदी प्रतितोला १५ सय रुपैयाँ
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घटेको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार प्रतितोला १३ सय रुपैयाँले घटेर १ लाख २६ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य पनि घटेर प्रतितोला १ लाख २५ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । साथै, शुक्रबार चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले घटेर १५ सय रुपैयाँमा कारोबार भएको छ ।
कामना सेवा विकास बैंकले गर्यो वित्तीय साक्षरता कार्यक्रम
काठमाडौं । विश्व वित्तीय सप्ताहको अवसरमा कामना सेवा विकास बैंकले बिहीबार वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । विश्व वित्तीय सप्ताह किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्व बारेमा जागरण ल्याउने ‘अर्गनाइजेसन अफ इकोनोमिक्स कर्पोरेसन एण्ड डेभलपमेन्ट’ को संयोजनमा हरेक वर्ष मार्च २२ देखि २८ सम्म मनाउने गरिन्छ । उक्त सप्ताहको अवसरमा बैंकले विभिन्न साक्षरता कार्यक्रम आयोजना गदैंछ । ग्लोबल मनी विक २०२४ अन्तर्गत कामना सेवा विकास बैंकले अमलटारी, पोखरामा इको टुरिजम कृषि समुह तथा इको टुरिजम युथ क्लबको सहर्कायमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा क्लबका अध्यक्ष तथा क्लबका ४० जना भन्दा बढी सदस्यहरुको सहभागीतामा बैंकका कवासोती शाखा प्रमुख हरि प्रसाद साप्कोटा तथा डण्डा शाखा प्रमुख टिकाराम अधिकारीले प्रस्तुतिकरण गरेका थिए । बैंकङ्ग सुविधा, बचत, ऋण तथा विभिन्न किसिमका डिजिटल कारोवारको जानकारी होस् भन्ने हेतुले उक्त कार्यक्रम गरिएको थियो । बैंकहरुले यस्ता वित्तीय साक्षरता कार्यक्रम गर्नाले बचत, ऋण तथा बैंकिङ कारोवारको बारेमा थप जानकारी प्राप्त गर्न सकेकोले यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्नेमा सहभागीहरुको भनाई रहेको थियो । हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।