हस्तकलाका सामग्री युरोप निर्यात २० प्रतिशतले घट्यो
काठमाडौं । युरोप महाद्विपमा भइरहेको युद्धको प्रभाव नेपालको हस्तकला उद्योगमा देखा परेको छ । हस्तकला महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले युरोपमा २० प्रतिशतले हस्तकला निर्यात घटेको जानकारी दिए । उनका अनुसार युरोपमा हाते कागज, पस्मिना, फेल्ट लगायतका सामग्री बढी मात्रामा निर्यात हुने गर्छन् । गत वर्ष ६ अर्बको हस्तकला युरोपमा निर्यात भएको थियो । यसवर्ष गतवर्षको तुलनामा २० प्रतिशतले घटेको अध्यक्ष शाक्यले बताए । ‘युरोपमा युद्धको प्रभाव हस्तकला व्यापारमा पर्न गएको छ’, उनले भने, ‘यद्यपि अरु मुलुकमा निर्यातको अवस्था मध्यम छ ।’ हस्तकला महासङ्घको तथ्याङ्क अनुसार प्रत्येक वर्ष १२ अर्ब रुपैयाँको हाराहारीमा हस्तकला तथा मूर्तिकला निर्यात हुने गरेको छ । मङ्सिरदेखि पुसमा मात्रै आठ अर्ब रुपैयाँको निर्यात भएको छ ।
भाषा र संस्कृतिमार्फत विश्वका नेपालीलाई जोड्न प्रधानमन्त्रीको आग्रह
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वका विभिन्न मुलुकमा रहेका नेपालीभाषी र नेपाली मूलका नागरिकलाई आफूले आर्जन गरेको सीप, ज्ञान र पुँजी मातृ तथा पितृभूमि नेपालका लागि खर्च गर्न आग्रह गरेका छन् । एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ)का प्रतिनिधिमण्डलसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री दाहालले राष्ट्रियता फरक भए पनि मातृ तथा पितृभूमि एउटै भएका कारण सबैलाई जोड्ने अभियान सकारात्मक रहेको भन्दै यस अभियानमार्फत विश्वका नेपालीभाषीलाई जोड्न आग्रह गरेका हुन् । प्रधानमन्त्री दाहालले भाषा र संस्कृतिका माध्यमबाट विश्वभर छरिएर रहेका नेपालीलाई जोड्ने एएनओको अभियान सकारात्मक रहेको उल्लेख गर्दै सो अभियानका लागि नेपाल सरकारका तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । विश्वका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीभाषीको गत चैत ६ मा थाइल्याण्डको राजधानी बैंककमा भएको भेलाले नेपाली जातिलाई एकीकृत गरी नेपाली भाषा र संस्कृतिको संरक्षण गर्न एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) गठन गरेको थियो । प्रधानमन्त्री दाहालले कला र संस्कृतिमार्फत नेपालीभाषीलाई जोड्ने अभियान सञ्चालन गरेकामा धन्यवाद दिँदै नयाँ अभियानका लागि शुभेच्छा प्रकट गरे । एएनओका अध्यक्ष डिल्लीराम अधिकारीले हालसम्म सरकारबाट प्राप्त सहयोग र शुभेच्छाका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा साथ र समर्थन रहने अपेक्षा गरे । उनले भने, ‘यो अभियानलाई नेपाली भाषा, कला, संस्कृतिको दूतकारुपमा संसारभर पुर्याउनेछौँ । साथै अभियानले भावी पुस्तालाई समेत नेपालसँग जोड्दै नेपालीपनको जगेर्ना र प्रचारप्रसार गर्न सहयोग पुग्ने र देशको विकासमा थप टेवा पुग्नेछ ।’ साथै यस संस्थाले प्रवासमा बस्ने नेपाली जातिका लगानीकर्तालाई नेपालमै आई लगानी गर्ने वातावरणलाई प्रोत्साहित गर्न र लगानीको उचित प्रतिफल आफ्नै पुर्खाको पहिचान जोडिएको देशको शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा लगाई सामाजिक काम गर्न अभिप्रेरित पनि गर्नेछ । भेटमा संस्थाका उपाध्यक्ष वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, महासचिव चुडामणि भट्टराईसहितका पदाधिकारी सहभागी थिए । विश्वका २७ देशका नेपाली मूलका सामाजिक अभियन्ताको प्रतिनिधित्व रहेको बैंकक भेलालाई पहिलो महाधिवेशनको स्वरुप दिएर भुटानमा जन्मी हाल अमेरिकामा बसोबास गर्दै आएका नेपाली मूलका समाजसेवी डिल्ली अधिकारीको अध्यक्षतामा ५४ सदस्यीय कार्यसमिति गठन गरिएको थियो । रासस
डिशहोमका ग्राहकले ३ हजारमा वार्षिक रिचार्ज गर्न सक्ने
काठमाडौं । नयाँ वर्ष २०८१ को सुरुवात संगै डिशहोमले आफ्ना ग्राहकहरुको लागि ‘डिशहोम मिसन ८१’ योजना लिएर आएको छ । यस योजनामा डिशहोमका ग्राहकहरुले मात्र ३ हजार रुपैयाँमा डिशहोमको वार्षिक रिचार्ज गर्न सक्नेछन् । कम्पनीका अनुसार ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्ती मार्फत रिचार्ज गर्न सक्नेछन् । नेपालभर रहेका डिशहोमका डिलर तथा सव डिलरहरु मार्फत ग्राहकहरुले फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गरि यो योजनामा सहभागिता जनाउन सक्नेछन् । फन्ड ट्रान्फर बारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम विक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिने कम्पनीले जनाएकाे छ ।
नेपाल टेलिकमले ल्यायो स्प्रिङ अफर, यस्ता छन् सुविधा
काठमाडौं । नेपाल टेलिकमले स्प्रिङ अफर २०८० अन्तर्गत विभिन्न आकर्षक प्याक तथा सुविधाहरु उपलब्ध गराएको छ । यस अन्तर्गत कम्पनीले विभिन्न सुविधा सहितका नयाँ भ्वाइस तथा डाटा प्याकेज सञ्चालनमा ल्याएको छ । कम्पनीका अनुसार १८ रुपैयाँमा १ दिन सम्म सबै नेटवर्कमा कल गर्न सकिने (अल नेट) २५ मिनेट अल नेट अल टाइम भ्वाइस प्याक उपलब्ध छ भने ३५ रुपैयाँमा २ घण्टा सम्म प्रयोग गर्न सकिने २ हावर डाटा प्याक उपलब्ध छ । यी बाहेक विभिन्न दरका भ्वाइस, डाटा र एसएमएस प्याक समेत उपलब्ध छन् । नयाँ भ्वाइस प्याकेज अन्तर्गत सबै नेटवर्कमा प्रयोग गर्न सकिने १०१ मिनेट, १५० मिनेट र ५३५ मिनेट भ्वाइस प्याक उपलब्ध हुनेछ भने ३५ दिन सम्म जुनसुकै समय र जुुनसुकै नेटवर्कमा पनि प्रयोग गर्न सकिने १४०० मिनेट अल नेट भ्वाइस प्याक ५९९ रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नयाँ डाटा प्याकेज अन्तर्गत २४ रुपैयाँमा १ हावर भ्वाईस एण्ड डाटा प्याकेज उपलब्ध हुनेछ । सो प्याकेज खरिद गरेमा एक घण्टा सम्म कम्पनीकै नेटवर्कमा (अन–नेट) अनलिमिटेड कल गर्न र डाटा चलाउन सकिन्छ । त्यसैगरी २० रुपैयाँमा १ दिनका लागि ६०० एमबी डे डाटा प्याक र ८० रुपैयाँमा ३ दिन सम्म चलाउन सकिने तथा १०९ रूपैयाँमा ७ दिन सम्म चलाउन सकिने ३ जीबी डाटा प्याक उपलब्ध हुनेछ । यी वाहेक ३९९ रूपैयाँमा २८ दिन सम्म चलाउन सकिने १३ जीबी डाटा प्याक उपलब्ध हुनेछ । यसैगरी प्रिपेड तथा पोस्टपेडमा उपलब्ध सजिलो अनलिमिटेड प्याकहरु परिमार्जन गरिएको छ भने नयाँ प्याकेजको रुपमा सजिलो एक्जिक्युटिभ प्याक सञ्चालन भएको छ । जीएसएम टुजी वा थ्रीजी सिम प्रयोगकर्ताहरुलाई फोरजी प्रयोग गर्न प्रोत्साहित गराउने उद्देश्यले नयाँ आकर्षक अफर उपलब्ध गराइने भएको छ । यसरी टुजी वा थ्रीजी प्रयोगकर्ताले आफ्नो सिमलाई फोरजीमा एक्टिभेट गरेमा ३ जीबी डाटा, १०० मिनेट भोल्टी भ्वाइस कल र ५० अन–नेट एसएमएस सुविधा उपलब्ध हुने कम्पनीको भनाइ छ । यो अफर शुक्रबारदेखि उपलब्ध हुने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
ब्याजदर घटाएर रिकभरीमा लागे विकास बैंक, कुनको ब्याज कति घट्यो ?
काठमाडौं । विकास बैंकहरूले बैशाख महिनाका लागि ब्याजदर घटाएका छन् । बैंकिङ क्षेत्रमा तरलता सहज हुँदै गएपछि विकास बैंकहरू पनि निरन्तर ब्याजदर घटाइरहेका छन् । निरन्तर घटिरहेको ब्याजदरलाई बैशाखमा पनि निरन्तरता दिएका हुन् । विकासन्युजलाई प्राप्त तथ्यांकअनुसार १५ वटा विकास बैंकहरूले मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.२४ प्रतिशत घटाएका छन् भने संस्थागततर्फ भने ०.०९ प्रतिशत ब्याजदर घटाएका छन् । बैशाखमा विकास बैंकहरूको औसत ब्याजदर व्यक्तिगततर्फ ७.०५ प्रतिशत छ भने र संस्थागततर्फको ७.०५ प्रतिशतमा झरेको छ । सप्तकोशी डेभलपमेन्ट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) कुमार खड्का बैंकहरूमा तरलता सहज भएकाले ब्याजदर घटाइएको बताउँछन् । उनका अनुसार अहिले ब्याजदर घटाएर बैंकरहरू रिकभरीमा जोड दिइरहेको उनको भनाइ छ । ‘विकास बैंकहरूमा प्रयाप्त तरलता छ । कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कम्र्फटेबल छ । कर्जा प्रवाह खासै छैन । कर्जाको माग नै आएको छैन । त्यसैले बैंकहरूले ब्याजदर घटाएर रिकभरीमा फोकस भएका छन्,’ उनले भन् । एक्सलडेभलपमेन्ट बैंकका कम्पनी सचिव श्याम बहादुर बोहोराका अनुसार बैंकमा पैसा थुप्रिएर बसेको र जम्मा भएको पैसा लगानी हुन सकिरहेको छैन । एक्सलको सीडी रेसियो ८०/८१ प्रतिशतमा रहेको उनले बताए । कर्जाको माग पहिलाको तुलनामा कम भएकाले ब्याजदर घटाउनु परेको उनको भनाइ छ । ‘प्रादेशिक स्तरका विकास बैंकलाई व्यवसाय गर्न गाह्रो छ । प्रादेशिक बैंकलाई राम्रो व्यवसाय नै आउँदैन । राम्रो राम्रो व्यवसाय ठूला बैंकले लिन्छन्,’ उनले भने, ‘अर्थतन्त्र सुस्त रहेकाले व्यापारीहरू पनि गाह्रो अवस्थामा छन् । उद्योगी व्यवसायीहरूले पनि बैंकको ब्याज तिरेर लगानी गर्न सक्ने वातावरण बनेको छैन ।’ घरजग्गा र सेयर बजारमा बहार आएपछि अन्य क्षेत्र पनि चलायमान हुने गरेको उनले सुनाए । उनका अनुसार घरजग्गा र पुँजी बजार अहिले सुस्ताएका कारण उत्साह छाएको छैन । ग्रीन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरि बहादुर खड्का सीडी रेसियो सहज भएकाले निक्षेपको ब्याजदर घटाएको बताउँछन् । अहिले बैंकहरूले ब्याजदर घटाएर रिकभरीमा जोड दिइरहेको उनले बताए । ब्याजदर घट्दा नयाँ ऋणीलाई कर्जा प्रवाह गर्न सहज हुने उनको भनाइ छ । ‘ब्याजदर घट्दा नयाँ ऋणीलाई कर्जा प्रवाह गर्न सजिलो हुन्छ । र, पुराना ऋणीलाई पनि राहत हुन्छ,’ उनले भने, ‘निक्षेपको ब्याजदर घट्दा बैंकको लागत पनि घट्न पुग्छ । लागत घटेपछि आधार दर पनि घट्छ । त्यसपछि कर्जाको ब्याजदर पनि घट्दा ऋणीलाई सहज हुन्छ । नयाँ उद्योग व्यवसाय खुल्न सकछन् ।’ सिन्धु विकास बैंकले व्यक्तिगततर्फ स्थिर राखेर ८.५१ प्रतिशत र संस्थागततर्फ ०.४० प्रतिशत घटेर ६.८१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकले व्यक्तिगततर्फ ०.५५ प्रतिशत घटाएर ८.५ प्रतिशत र संस्थागततर्फ ०.६० प्रतिशत घटेर ७.५ प्रतिशत ब्याजदर तोकेका छन् । महालक्ष्मी विकास बैंकले व्यक्तिगततर्फ ०.३५ प्रतिशत घटाएर ७.७५ प्रतिशत र संस्थागततर्फ ०.७० प्रतिशत घटेर ६.७५ प्रतिशत, कामना सेवा विकास बैंकले व्यक्तिगततर्फ ०.१५ प्रतिशत घटाएर ८ प्रतिशत र संस्थागततर्फ ०.३ प्रतिशत घटाएर ६.७५ प्रतिशत ब्याजदर तोकेका छन् । एक्सल डेभलपमेन्ट बैंकले व्यक्तिगततर्फ ०.१५ प्रतिशत घटाएर ८.२५ प्रतिशत र संस्थागततर्फ ०.२० प्रतिशत घटेर ७.२५ प्रतिशत, कर्पाेरेट डेभलपमेन्ट बैंकले ०.११ प्रतिशत घटाएर व्यक्तिगततर्फ ९ प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याजदर तोकेका छन् । लुम्बिनी विकास बैंकले व्यक्तिगततर्फ ०.३० प्रतिशत घटाएर ७.७५ प्रतिशत र संस्थागततर्फ स्थिर राखेर ७.५ प्रतिशत, ज्योति विकास बैंकले व्यक्तिगततर्फ ०.३० प्रतिशत घटाएर ७.७५ प्रतिशत र संस्थागततर्फ ०.७० प्रतिशत घटाएर ६.७५ प्रतिशत, सांग्रिला डेभलपमेन्ट बैंकले व्यक्तिगततर्फ ०.३० प्रतिशत घटाएर ७.७५ प्रतिशत र संस्थागततर्फ ०.८० प्रतिशत घटाएर ६.२५ प्रतिशत ब्याजदर तोकेका छन् । गरिमा विकास बैंकले व्यक्तिगततर्फ ०.३० प्रतिशत घटाएर ७.७५ प्रतिशत र संस्थागततर्फ ०.१० प्रतिशत घटाएर ६.५० प्रतिशत, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले व्यक्तिगततर्फ ०.५५ प्रतिशत घटाएर ८.५ प्रतिशत र संस्थागततर्फ ०.६० प्रतिशत घटेर ७.५ प्रतिशत ब्याजदर तोकेका छन् । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र मुक्तिनाथ विकास बैंकले ०.३० प्रतिशत घटाएर व्यक्तिगततर्फ ७.७५ प्रतिशत र संस्थागततर्फ ६.७५ प्रतिशत र कर्णाली डेभलपमेन्ट बैंकले ०.५ प्रतिशत ब्याजदर घटाएर व्यक्तिगततर्फ ९ प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याजदर तोकेका छन् । विकास बैंकहरूले घटाएको ब्याजदर चैत १ गतेदेखि लागू हुनेछ ।
३ महिनामै एमडीआरटी बने नेशनल लाइफका अभिकर्ता
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सबाट ३ महिना भित्रै ३ जना अभिकर्ताहरु एमडीआरटी-२०२५ बन्न सफल भएका छन् । कम्पनीको विभिन्न शाखामा आवद्ध रही कार्य गर्ने अभिकर्ताहरु शशीकला तामाङ, नेत्र बहादुर राउत र बिमल न्यौपानेले ३ महिना भित्रै अभिकर्ताहरुको सर्वोच्च संस्था मिलियन डलर राउण्ड टेवल २०२५ मा छनौट हुन सफल भएका हुन् । एमडीआरटी-२०२५ को लक्ष्य पुरा गर्न सफल अभिकर्तालाई कम्पनीले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ । एमडीआरटी-२०२५ को लक्ष्य पुरा गर्ने अभिकर्ताहरुले आगामी ९ महिना भित्र सिओटी (कोर्ट अफ द टेवल) र टिओटी (टप अफ द टेवल) को लक्ष्य समेत पुरा गर्ने गरी बीमा व्यवसायलाई अगाडी बढाउने धारणा व्यक्त गरेका थिए । एमडीआरटीमा तोकिएको प्रिमियमको ३ गुणा प्रिमियममा सीओटी र ६ गुणा प्रिमियममा टीओटी छनौट हुने प्रावधान रहेको छ ।
भोजपुरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले गर्यो बीमा सचेतना कार्यक्रम
काठमाडौं । सगरमाथा लुम्बिनी (सलिको) इन्स्योरेन्स कम्पनीले नेपाल बीमा प्राधिकरण र टेम्केमैयुङ गाँउपालिका सँगको समन्वयमा बुधबार सचेतना गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको अध्यक्षता नेपाल बीमा प्राधिकरण कोशि प्रदेश प्रमुख विनोद कुमार पोखरेल गरका थिए भने कार्यक्रमको प्रमुख अतिथि टेम्केमैयुङ गाँउपालिका अध्यक्ष सरोज बस्नेत रहेका थिए । कार्यक्रमको संचालन भने सलिको भोजपुर शाखाका प्रमुख सन्तोष तिवारी गरेका थिए । उक्त कार्यक्रममा स्वागत मन्तवय राख्ने क्रममा सलिको इन्स्योरेन्स कम्पनी कोशि प्रदेश प्रमुख नारायण गौतमले कार्यक्रम संचालन गर्नुको उद्धेश्य र कम्पिनिले हालसम्म गरेका गतिविधिहरु बारे प्रकास पारे र आगामि दिनहरुमा सलिको इन्स्योरेन्सको कृषि, पशुपन्छि तथा जडिबुटि बीमाले अधिकतम कृषकहरुलाई समेटेर लैजाने प्रतिबद्धता समेत ब्यक्त गरे । सलिको इन्स्योरेन्स कम्पनीका कृषि विभाग प्रमुख उमेश ढकालले कृषि, पशुपन्छि तथा जडिबुटि बीमा गर्ने प्रकृया, बीमालेखका किसिम, बीमालेखमा भएका ब्यवस्थाहरु, बीमाशुल्क, दाबी प्रकृया, बीमालेखले रक्षावरण गर्ने र नगर्ने अवस्थाहरु लगायतका विषयमा जानकारी गराए । टेम्केमैयुङ गाँउपालिका अध्यक्ष सरोज बस्नेतले कृषि बीमा आजको आवश्यता रहेको र राज्यले प्रदान गरेको ८० प्रतिशत अनूदानको दायरामा टेम्केमैयुङ गाँउपालिका अधिकतम कृषकहरु समाबेश हुनपर्ने कुरामा जोड दिए । गाँउपालिकाले कृषकहरुको आर्थीक भार कम गर्ने उदेश्यका साथ थप १० प्रतिशत अनूदान समेत प्रदान गर्ने योजनाका साथ काम अगाडी बढिरहेको जानकारी सहभागिहरु समक्ष गराए । नेपाल बीमा प्राधिकरण कोशि प्रदेश प्रमुख विनोद कुमार पोखरेलले यस्ता बीमा सम्बन्धि सचेतना कार्यक्रम प्राधिकरणले तीव्रताका अनिवार्य रुपमा संचालन गर्दै आएको साथै बीमकहरुले समेत अनिवार्य बेला बेलामा संचालन गनुपर्ने महत्वपुर्ण कार्यक्रम रहेको जानकारी गराए । उनले बीमा सम्बन्धित कुनै पनि सल्लाह, सुझाव, वा गुनासो भए नेपाल बीमा प्राधिकरणमा जानकारी गराउनु हुन समेत सहभागीहरुलाई आग्रह गरे । कार्यक्रमा टेम्केमैयुङ गाँउपालिका अध्यक्ष, वडा अध्यक्षहरु, कृषि तथा पशु शाखा प्रमुख, नेपाल बीमा प्राधिकरण, सहकारी, कृषक समुह, तथा कृषकहरु गरी जम्मा ३८ जना सहभागिहरुको उपस्थिती रहेको थियो ।
दक्षिण एसियाकै पहिलो पर्यटकीय गाउँ सिरुबारी, ग्रामीण जीवनशैली झल्किने
ढोरपाटन । ढुङ्गा, माटो र काठबाट परम्परागत शैलीमा बनेका घर । ढुङ्गा नै बिछ्याएर बनाइएका बाटो । सिङ्गो बस्ती नै सफा र सुन्दर देखिन्छ । यो सिरुबारी गाउँको विशेषता हो । स्याङ्जाको आँधीखोला गाउँपालिका–१ स्थित सिरुबारी गाउँ दक्षिण एसियाकै पहिलो पर्यटकीय गाउँ हो । गुजुमुज्ज परेको गुरुङ बस्ती । आफ्नै वेषभूषा र संस्कृतिले भरिएको छ । यो गाउँ घरबास (होमस्टे) सञ्चालन गर्नेहरुका लागि पाठशाला नै हो । नेपालको पूर्वदेखि सुदूरपश्चिमसम्मका घरबास सञ्चालक यहाँ आएर ज्ञान र सीप लिने गर्दछन् । क्याप्टेन स्वर्गीय रुद्रमान गुरुङको परिकल्पनामा विसं २०५४ मा सिरुबारी घरबास सञ्चालनमा आएको थियो । सत्ताइस वर्ष अगाडि स्थापना भएर सञ्चालनमा आएको सिरुबारी घरबास पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ हुन थालेको छ । सडक सञ्जालको सहज पहुँच र प्रचारप्रसारले गर्दा दिनप्रतिदिन यहाँ आउने पर्यटक बढिरहेका छन् । गुरुङ समुदायको कला, संस्कृति र रहनसहनसँगै यहाँको बाक्लो बस्तीले धेरैलाई आकर्षित गर्ने गरेको छ । हाल २१ वटा घरमा घरबास सञ्चालनमा छन् । दैनिक एक सय ६० जना पाहुन राख्नसक्ने क्षमता यहाँका घरबासको छ । पाहुनाको आगमन बढ्न थालेपछि घरबास सञ्चालकले धान्न नसक्ने स्थिति आएको घरबास सञ्चालक बताउँछन् । यहाँ आउने जो कोही पर्यटकलाई गाउँको प्रवेशद्वारमा गुरुङ जातिको परम्परागत पहिरनमा सजिएका स्थानीयले स्वागत गर्छन् । बाजागाजाका साथ फूलमाला पहिर्याएर स्वागत गरी स्थानीयले पाहुनालाई गाउँ बीचमा रहेको गुम्बामा पुर्याउँछन् । गुम्बामा सगुन खुवाई बास बस्नका लागि घर तोकिन्छन् । पाहुनाहरु तोकिएकै घरमा गएर बस्ने गर्छन् । राति ८ बजे पाहुनालाई स्थानीय उत्पादनका परिकार खुवाएर करिब ११ बजेसम्म मौलिक संस्कृतिमा मनोरञ्जन प्रदान गरिन्छ । सिरुबारीमा पुग्ने पर्यटक यहाँको जनजीवन बुझ्न, कला, संस्कृतिमा झुम्न बढी रुचाउँछन् । पछिल्लो पाँच वर्षमा यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्न थालेको सिरुबारी सामुदायिक घरबासकी संयोजक उर्मिला गुरुङले बताइन् । उनका अनुसार पहिले विदेशी पर्यटक मात्रै आउने गरेकामा अहिले धेरै आन्तरिक पर्यटक पनि आउन थालेका छन् । केही वर्ष अगाडिसम्म ग्रामीण पर्यटन भन्ने विषय धेरैलाई जानकारी नहुँदा विदेशी पर्यटक मात्रै आउने गरेको भन्दै पछिल्लो समय धेरै ठाउँमा घरबास सञ्चालन भएसँगै प्रचारप्रसार र सरकारका पर्यटन प्रवर्द्धनसम्बन्धी विभिन्न नीतिका कारण आन्तरिक पर्यटकको पनि घुइँचो लाग्न थालेको गुरुङले बताइन् । पछिल्लो समय आन्तरिक तथा बाह्य गरी महिनामा झण्डै तीन हजारसम्म पर्यटक आउने गरेका उनको भनाइ छ । असार र साउनमा पर्यटक आगमन निकै कम हुने गरेको भन्दै असोजदेखि यहाँ सञ्चालित सबै घरबास दैनिकजसो भरिभराउ हुने संयोजक गुरुङले जानकारी दिइन् । पर्यटकको आगमनमा वृद्धि भएसँगै यहाँ आउनु एक/दुई दिन अगाडि नै ‘बुकिङ’ गर्नुपर्ने स्थिति आएको उनको भनाइ छ । पर्यटकले यहाँका घर, बाटो र स्वागत सत्कारलाई बढी मन पराउने प्रतिक्रिया दिने गरेका गुरुङले बताइन् । ‘अहिले धेरै पर्यटक आउन थालेका छन् । कहिलेकाहीँ त यहाँका घरबासले धान्नै मुस्किल हुन्छ’, उनले भनिन्, ‘सुरुमा विदेशी पर्यटकमात्रै आउने गरेकामा पछिल्लो समय ग्रामीण पर्यटनका बारेमा प्रचारप्रसारका साथै सरकारका विविध नीतिले आन्तरिक पर्यटक पनि बढ्न थालेका छन् ।’ सरकारले विसं २०६७ मा होमस्टे सञ्चालनसम्बन्धी कार्यविधि बनाएसँगै विस्तारै धेरै पर्यटकीय गन्तव्यमा होमस्टे सञ्चालनमा आउन थालेका गुरुङको भनाइ छ । ‘अहिले यहाँ हरेक महिना दुई हजार पाँच सयदेखि तीन हजारसम्म पाउना आउने गरेका छन् । यो वर्ष १५ हजार पाहुन आएका छन् । यो सङ्ख्या बर्सेनि बढिरहेको छ’, उनले भनिन् । सिरुबारी सामुदायिक घरबासका अध्यक्ष जीतेन्द्र गुरुङले संस्कृतिक कार्यक्रम तथा सरसफाइका कारण धेरै पर्यटक यहाँ आउने गरेका बताए । देश तथा विदेशबाट आउने हरेक पर्यटकले आफूहरुले गर्ने सत्कार, परम्परागत घर तथा वेषभूषाको प्रशंसा गर्ने गरेका उनको भनाइ छ । घरबासमा प्राङ्गारिक उत्पादनलाई प्राथमिकता दिने र पाहुनाले माग गरेअनुसारका परिकार उपलब्ध गराउने हुँदा धेरैको रोजाइमा सिरुबारी परेको अध्यक्ष गुरुङले बताए। ‘पाहुना आउनेबित्तिकै परम्परागत पोशाकमा बाजागाजासहित प्रवेशद्वारमा स्वागत गर्न पुग्छौँ । यसले पाहुनालाई बढी आकर्षित गरेको पाएका छौँ । यहाँको खाना, हाम्रो जनजीवन र मिलेको बस्ती उहाँहरुलाई बढी मन पर्दोरहेछ’, उनले भने । अध्यक्ष गुरुङले सडक सञ्जालको सहज पहुँच र विस्तारले पनि पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउँदै आएको बताइन् । ‘अहिले धेरैतिरबाट यहाँ आउने सडकको सुविधा भएको छ । यसले गर्दा आन्तरिक पर्यटकको आगमन बढेको हो’, उनले भने, ‘दिनदिनै पर्यटकको सङ्ख्या बढ्दा उत्साहित भएका छौँ । सङ्ख्या व्यवस्थापनमा केही समस्या भने हुने गरेको छ ।’ सिरुबारी पुग्ने जोकोही पाहुना यहाँको आतिथ्यता, खानाको परिकार र कलासंस्कृतिले लोभिने गर्छन् । एक पटक पुगेका पाहुनाले पुनः अर्को पटक आउने इच्छा राख्छन् । धेरैजसो पाहुनाहरु पारिवारिक घुमघाम र अध्ययन/अवलोकनका लागि यहाँ आउने गरेका अध्यक्ष गुरुङको भनाइ छ । उनका अनुसार सरुबारी आउनेले वास्तविक ग्रामीण जनजीवन बुझेर जाने गर्छन् । चितवनबाट घुम्न आएकी देवी शर्माले सिरुबारीमा वास्तविक ग्रामीण जीवनशैली देख्न पाइने बताइन् । खासगरी सहर बजारमा बस्नेले गाउँका परिवेश थाहा नहुने भन्दै बालबालिका लिएर यहाँको अध्ययन/अवलोकनमा आएको उनको भनाइ छ । सिरुबारी गाउँले कला, संस्कृति र परम्परा मात्र नभई एउटा इतिहास सिकाउने थलो रहेको शर्माले बताइन् । ‘यो गाउँले साँच्चिकै संस्कार सिकाउँदो रहेछ, म पहिलो पटक आएको यहाँका घर, बाटो र मानिसको व्यवहार देख्दा निकै खुसी लाग्यो’, उनले भनिन्, ‘सफा ठाउँ, रमणीय दृश्य, अतिथिको स्वागत र सत्कार गर्ने फरक शैली, खानपान र बासस्थानलगायत कुराले यहाँ आउनेलाई आकर्षित गर्दछ । अहिलेको परिवेशमा पनि यो गाउँको कला, संस्कृति र संस्कारले ठूलो पाठ सिकाउछ ।’ भैरहवाबाट सिरुबारी अवलोनका लागि आएका हरिप्रसाद ज्ञवालीले स्थानीयले प्रदर्शन गर्ने मौलिक गीत र नृत्यले आफू प्रभावित बनेको बताए । पछिल्लो समय धेरै ठाउँमा घरबास सञ्चालनमा आए पनि पुराना कला, संस्कृति भने कमैमात्रामा देखाउने गरेको उनको भनाइ छ । ज्ञवालीले गाउँमा रहेका सबै घरबासमा पुगेर व्यवस्थापनको अवलोकन गरेको सुनाउँदै यहाँको सुत्ने, खाना खाने ठाउँ र घरहरु बीचमा रहेको गल्लीले बजारकोसमेत झल्को दिने बताए । रासस