रिडी पावरको हकप्रद सेयर बाँडफाँट, वैशाख २० बाट पैसा फिर्ता
काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले गत चैत्र २९ गतेदेखि लिलामीमार्फत बिक्रीमा ल्याएको सर्वसाधारण समूहको ११ लाख ३५ हजार ६५७ कित्ता अवितरित हकप्रद सेयर बाँडफाँट गरको छ । वैशाख ९ गतेसम्म परेको बोलपत्रहरू वैशाख १३ गते खोलिएकोमा वैशाख १७ गते निष्कासनकर्ता कम्पनीको सञ्चालक समितिले उक्त हकप्रद सेयर बाँडफाँट गरेको हो । कम्पनीका अनुसार बाँडफाँडमा नपरेका आवेदकहरूको सेयर वापतको रकम वैशाख २० गतेबाट आईपीएसमार्फत आवेदकले उल्लेख गरेको बैंक खातामा जम्मा गराइने छ । साथै, बाँडफाँटको अन्तिम मूल्य १४८.१० रुपैयाँ रहेकोमा उक्त मूल्यमा बोलपत्र पेस गर्नेहरूको हकमा सापेक्षिक भारअनुसार समानुपातिकरूपमा सेयर बाँडफाँड गरिएको कम्पनीले बताएको छ ।
कृति भेन्चर फण्डले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने, डाक्याे साधारण सभा
काठमाडौं । कृति भेन्चर फण्ड लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ । सभा आगामी जेठ ८ गते काठमाडौं गैरीगाउमा रहेको टीम कर्पोरेट सेन्टरमा दिउँसो ४ बजे सुरु हुनेछ । सभामा बोनस सेयर जारी गर्ने, सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने,आईपीओ निष्कासनका लागि प्रबन्धपत्र तथा नियमावलीमा कुनै फेरबदल, थपघट वा सामान्य संशोधन गरी सम्बन्धित निकायबाट स्वीकृती गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र कम्पनी गाभ्नेरगाभिने विशेष प्रस्ताव पारित गरिनेछ । उक्त सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा गत आवको लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण पारित गरिनेछ ।
स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपाल सफल छ : स्वास्थ्यमन्त्री
वासिङ्टन । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक र कानुनी व्यवस्थासहित गरिबी निवारण, स्वास्थ्य सेवा प्रणाली, बाल मृत्युदर घटाउने तथा औसत आयु वृद्धिमा नेपालले सफलता प्राप्त गरेको बताएका छन् । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या तथा विकास आयोगको ५७औं बैठकलाई न्युयोर्कमा सम्बोधन गर्दै उपप्रधानमन्त्री यादवले स्वास्थ्य सेवाको विकासलाई उच्च प्राथमिकता दिएर तदनुरुप काम भइरहेको बताए । मन्त्री यादवले तीन दशक अगाडि कायरोमा सम्पन्न जनसङ्ख्या तथा विकास आयोगको बैठकमा उपस्थित एक सय ७९ देशले स्वीकृत गरेको कार्यक्रम कार्यान्वयनलाई सरकारले प्राथमिकता दिएको बताए । उनले सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हासिल गर्न हरसम्भव प्रयत्न भएको जानकारी दिए । उनले भने, ‘नेपालले संविधानमा नै प्रजनन अधिकार, सुरक्षित मातृत्व, लैङ्गिक समानता, मानवअधिकारजस्ता मौलिक अधिकारलाई सुनिश्चित गरेको छ । आफ्ना नागरिकको जीवनस्तर उठाउन नीतिगत व्यवस्थाका साथै योजना तथा कार्यक्रम कार्यान्वयनमा जोड दिँदै आएको छ ।’ युवा जनशक्तिलाई स्वदेशमै रहने वातावरण बनाउन सरकार क्रियाशील रहेको बताउँदै मन्त्री यादवले शिक्षा, स्वास्थ्य, प्रविधि, व्यवसाय, क्षमता अभिवृद्धिका लागि बाह्य लगानी अपरिहार्य भएकोमा जोड दिए । मन्त्री यादवले नयाँ जनसङ्ख्या नीति निकट भविष्यमा सार्वजनिक गर्ने जानकारी दिए । उनले जलवायु परिवर्तनका कारण उत्पन्न विषम परिस्थितिप्रति चिन्ता समेत व्यक्त गरे । उपप्रधानमन्त्री यादव नेतृत्वको प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापालगायत सहभागी थिए ।
उपनिर्वाचन : इलाम २ मा मिलन लिम्बूसहित १६ जना उम्मेदवारको जमानत जफत
फिक्कल । प्रतिनिधिसभा इलाम क्षेत्र नं २ मा इलाम-२ मा सम्पन्न उपनिर्वाचनमा १६ जना उम्मेदवारको जमानत जफत भएको छ । मंगलबार बिहान निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिलन लिम्बूसहित १६ उम्मेदवारको जमानत जफत भएको हो । निर्वाचनमा सदर मत ६८ हजार ४ सय ७२ को १० प्रतिशत ६ हजार ८ सय ४७ भन्दा कम सदर मत पाएका १० राजनीतिक दलका र ६ स्वतन्त्र उम्मेदवारको जमान जफत भएको हो । चौथो स्थानमा रहेका रास्वपाका लिम्बूले ५ हजार ५० मतमात्र पाएका थिए । जमानत जफत हुनेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का जितबहादुर राई, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मङ्गोल नेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बू, नेशनल रिपब्लिक नेपालका धनराज रानामगर, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयन्त्रविक्रम शाह, राप्रपा नेपालका गणेशबहादुर चौहान र नेपाली जनता दलका रेशमबहादुर सुनार नेपाली छन् । यसैगरी, स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार शाही, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्यालको जमानत जफत भएको हो । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा ‘निर्वाचन प्रणालीअन्तर्गतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुनेछ,’ भनिएको छ ।
विप्रेषणको रकम जलविद्युत आयोजनामा लगानी गर्न समझदारी
काठमाडौं । विप्रेषण आप्रवाहको रकम जलविद्युत आयोजनामा लगानी गर्ने गरी रेमिट हाइड्रो परियोजना सञ्चालनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । सोमबार लगानी सम्मेलनको दोस्रो दिन हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्हरूबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । उक्त समझदारीमा राष्ट्रिय समन्वय परिषद्का तर्फबाट रमेश भट्ट कतार, राजकुमार श्रेष्ठ बहराइन, विनोद थापा मलेसिया, विनोद श्रेष्ठ इराक, विकास शाही युएई, विकल झा ओमन र टीकाराम खरेल जापानले हस्ताक्षर गरेका छन् । वैदेशिक रोजगारीमा भएको वृद्धिसँगै विप्रेषण आप्रवाह प्रत्येक वर्ष वृद्धि हुँदै आएको परिषद्को भनाइ छ । आर्थिक वर्ष २०६५र६६ मा कूल विप्रेषण आप्रवाह २ सय ९ अर्ब रहेकामा आर्थिक वर्ष २०७९र८० मा १ हजार २ सय अर्ब नाघेको परिषद्को तथ्यांकमा उल्लेख छ । यसले मुलुकको बाह्य क्षेत्रलाई मजबुद बनाउन तथा अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण योगदान दिएको एनआरएनए अभियन्ता विनोद श्रेष्ठले बताए । वैदेशिक रोजगारीमा संलग्न व्यक्तिहरुको हित सुरक्षित गर्ने गरी विप्रेषण आप्रवाहको रकमबाट बचत प्रवर्द्धन तथा लगानी योग्यपूँजी निर्माण गर्न र त्यस्तो पुँजी दिगो, प्रतिफलयुक्त लगानी हुने गरी मुलुकको आर्थिक तथा पूर्वाधार विकासमा उपयोग गर्न सकिने उनको भनाइ छ । यसैबीच, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले आयोजनाको कूल सेयर पुँजीको २९ प्रतिशत वैदेशिक रोजगारहरूका लागि छुट्याउने गरी हाल दुईवटा आयोजना निर्माणको चरणमा प्रवेश गर्न लागेको जानकारी दिएको छ । वैदेशिक रोजगारको विप्रेषण आप्रवाहको उपयोग गर्ने गरी विशेष प्रकृतिको ऋण उपकरणका माध्यमबाट यस्ता आयोजनाका लागि लगानी जुटाउन सकिने परिषद्को भनाइ छ । एनआरएनए कतारका अध्यक्ष रमेश भट्टले वैदेशिक रोजगारबाट प्राप्त हुने विप्रेषण आप्रवाहको रकम नेपालको जलविद्युत् तथा अन्य नवीकरणीय ऊर्जाको विकासमा उपयोगको सम्भावना खोजी गर्ने अभिप्रायले सम्झदारी भएको बताए । कम्पनीले रेमिट हाइड्रोको अवधारणाअनुरुप अघि बढाएका ताप्लेजुङ जिल्लाका ७० दशमलव तीन मेगावाट क्षमताको सिम्बुवा खोला जलविद्युत् आयोजना र ७७ दशमलव पाँच मेगावाट क्षमताको घुन्सा खोला जलविद्युत आयोजनाको सेयर लगानीमा कम्पनीको प्रतिबद्धताअनुरुप वैदेशिक रोजगारीमा संलग्नलाई सहभागी गराउने लक्ष्य राखेको छ । यसैगरी, उक्त आयोजनाहरूको ऋण लगानीका लागि वित्तीय सम्भाव्यता र प्रचलित कानुनको अधीनमा रही वैदेशिक रोजगार केन्द्रित विशेष प्रकृतिका ऋण उपकरण जारी गर्ने जनाइएको छ ।
सगरमाथाको चौथो शिविरसम्म बाटो खुल्यो
काठमाडौं । सन् २०२४ को वसन्त याममा सगरमाथा हिमाल आरोहणका लागि चौथो शिविर (७९५० मिटर) सम्म बाटो खुलेको छ । पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि डोरी टाँग्ने ‘रोपफिक्सिङ’ को काम चौथो शिविरसम्म सम्पन्न भएको छ । मौसमले साथ दिए वैशाख २८ गते (मे १० तारिख) देखि सगरमाथा आरोहण हुने विभागको अनुमान छ । विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखा निर्देशक राकेश गुरुङका अनुसार मौसमले साथ दिए रोपफिक्सिङ टोली केही दिनमै चुचुरोसम्म पुगेर डोरी टाँग्नेछन् र वैशाखको २८ देखि आरोहण सुरु हुनेछ छ । यसअघि आधार शिविरदेखि दोस्रो शिविरसम्म आइसफल डाक्टरको टोलीले बाटो बनाईसकेको थियो । ‘यो याममा सगरमाथालगायत ल्होत्से हिमालमा दोस्रो शिविर (क्याम्प २) देखि चुचुरोसम्म रोपफिक्सिङको जिम्मेवारी पर्वतारोहण सञ्चालक सङ्घ नेपालको व्यवस्थापनमा सेभेन समिट ट्रेक्स प्रालिलाई दिएको र आइतबार रोप फिक्सिङ टोलीले चौथो शिविरसम्म डोरी टाँग्ने काम सम्पन्न भएको छ’ विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ । विभागका अनुसार सगरमाथा आरोहणका लागि हालसम्म ३७ आरोही समूहका ७० महिला र तीन सय २० पुरुष गरी कूल तीन सय ९० आरोहीले आरोहण अनुमति लिएका छन् । सगरमाथा आरोहणबाट मात्रै रु ५५ करोड ८५ लाख ४४ हजार चार सय ४९ रोयल्टी जम्मा भएको छ । निर्देशक गुरुङले सगरमाथा आरोहणमा उत्साहवर्द्धक रुपमा आरोही आइरहेको बताउँदै अझै दुई÷चार आरोही समूहले अनुमति लिनसक्ने बताए । अहिले विभागबाट धमाधम आरोहीले अनुमति लिइरहेका छन् । धेरै आरोही सगरमाथा आधार शिविर पुगिसकेका छन् ।
बुवाका प्रतिस्पर्धीलाई पराजित, व्यवसायीदेखि सांसदसम्म
काठमाडौं । इलाम क्षेत्र नम्बर–२ मा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले जित हासिल गरेका छन् । नेम्वाङले २७ हजार ७ सय ७२ पाएर जित हासिल गरेका छन् भने उनको निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले २१ हजार ९ सय ४२ मत पाएका छन् । बुवाका प्रतिसप्रर्धिसँग जित पूर्वी नेपालको इलाम क्षेत्र नम्बर २ एमालेको गढ भनेर चिनिन्छ । विगत २५ वर्षदेखि निरन्तर एमालेको कब्जामा रहेको यो क्षेत्र उपनिर्वाचनमा पनि एमालेकै कब्जामा रह्यो । २०७९ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा सुहाङका बुवा एमाले उपाध्यक्ष तथा पूर्वसभामुख समेत रहेका स्व.सुवास नेम्वाङसँग प्रतिसपर्धा गरेका डम्मर खड्कासँग सुवासका छोरा सुहाङले प्रतिसपर्धा गरे । उनका बुवासँग १ सय १४ मतले पराजित भएका खड्का सुहाङसँग ५ हजार ८ सय ३० पराजित भए । वि.सं. २०५६ सालयता सधैं सहज जित निकाल्दै आएका एमाले नेता सुवासचन्द नेम्वाङको निधन भएपछि अहिले त्यही क्षेत्रमा उनका छोरा सुहाङले बहुमत प्राप्त गरे । त्यो पनि आफ्नो बुवाको प्रतिस्पर्धीसँग । गत भदौ २५ गते सुवासको निधन उत्रिएका थिए । नेकपा एमालेले पनि उनलाई नै उम्मेदवार बनाएको थियो । २०७९सालमा भएको निर्वाचनमा सत्ता गठबन्धनमा रहेका अरु दलको समेत समर्थन पाएका नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार ९ सय ६ मत ल्याउँदा सुवासले ३० हजार २० मत पाएका थिए । २०५६ सालदेखि बुवा सुवास नेम्बाङले जितिरहेको क्षेत्रमा उनकै क्षेत्रले पुनः विजयीको झण्डा फहराएका छन् । २०५६ सालको आमचुनाव, ०६४ को पहिलो र ०७० को दोस्रो संविधान सभाको चुनाव, २०७४ को आमचुनाव हुँदै २०७९ मंसिरको आमचुनाव पनि सुवासले निरन्तर विजयी हासिल गरेका थिए । को हुन् सुहाङ ? सुहाङ संविधान सभा अध्यक्ष स्व. सुवास नेम्वाङका कान्छा छोरा हुन् । ३४ वर्षीय सुहाङले कानुनमा बिएएलएल गरेका छन् । उनी खेलकुद वृत्तमा स्पाेर्टिङ इलाम एफसी डी मेचीको अध्यक्ष छन् । उनको पुर्ख्यौली थलो इलाम नगरपालिका–७ सुन्तलाबारी हो । तर, उनी काठमाडौंमा हुर्किए । काठमाडौं स्कुल अफ ल मा बिएएलएल सकेपछि वकालतीको बाटो तय गरेका थिए । उनले २०६८ सालमा नेकपा एमालेको सदस्यता लिएका थिए । उनी अहिले पार्टीको केन्द्रीय कानुन विभाग सदस्य छन् । सुहाङ योभन्दा पहिले राजनीतिमा संगलग्न थिएनन् । बुवाको निधनपछि मात्र उनी राजनीतिमा आएका हुन् । उनको आफ्नै ल फर्म छ । राजनीतिमा आउनुभन्दा अघि उनी आफ्नै ल फर्म खोलेर काम गरिरहेका थिए । उनको इलाममा फुटबल क्लब पनि छ । उनका हजुरबुवा इलाम जिल्ला अदालतका न्यायाधीस थिए । बुवाको फेरो उनका बुवा सुवास पनि समाते । तर, उनलाई राजनीतिले बढी तान्यो । बुवा राजनीतिमा लागेपछि सुहाङले वकालती पेशामा लागे । सुहाङले निम्न माध्यामिक तहसम्मको शिक्षा काठमाडौंको ग्यालेक्सी पब्लिक स्कुलबाट पूरा गरेका छन् । माध्यामिक तहको शिक्षा पनि चाबहिल, लामपोखरीमा रहेको लोयल्टी स्कुलबाट गरेका छन् । उनी पढाइकै लागि अष्ट्रेलिया पनि पुगे । तर, पछि फर्केर नेपालमै आए । भाँडा माझ्नेदेखि जुता सिलाउने काम अष्ट्रेलिया, जापान, क्यानडा नेपाली विद्यार्थीको लागि सपनाको सहर हो । ऋण काढेर भएपनि नेपाली विद्यार्थी विदेश जान्छन् । यसबाट सुहाङ पनि अछुतो रहेनन् । उनी पनि पढाइ गर्न अष्टे«लिया पुगे । त्यहाँ भनेजस्तो सहज भएन । उनले विभिन्न अन्तर्वार्तामा आफू अष्ट्रेलिया गएर भाँडा माझेको पनि बताएका छन् । अष्ट्रेलियामा उनले ६ महिना भाँडा माझ्दै पढे । त्योभन्दा राम्रो पैसा कमाई कपडा बेच्दा हुने थाहा पाएपछि उनले कपडा बेच्ने काम पनि गरे । केही महिना जुत्ता बेच्ने काम समेत गरेको उनले बताएका छन् । उनले अष्ट्रेललियामै बसेर स्यान्डविज समेत बनाउने काम गरे । तर, केही वर्षपछि बुवा सुवासले एलएलबी पढ्न नेपालमै आउ भनेपछि सुवाङ नेपाल फर्के । बुवाको बुहारी हेर्ने चाहना अधुरो सुवास सुहाङका बुवामात्र थिएनन्, साथी पनि थिए । अष्ट्रेलियामा भाडाँ माझेको स्यान्डविज बनाएको कुरा मात्र होइन, फुटबल व्यवसायमा भएका कुराहरू उनीहरूबीच सेयर हुन्थे । सुवास पनि आफ्ना सबै कुरा छोरालाई सुनाउँथे । उनी छोरालाई बेला बखत जिस्क्याउँदै बुहारी कहिले ल्याउने भन्दै प्रश्न गर्थे । सुवासको निधन हुनु केही दिनअघि पनि सुहाङ अष्ट्रेलिया थिए । एक महिनाको लागि अष्ट्रेलिया गएका उनलाई सुवासले जिस्कँदै भनेको सुहाङले अन्तर्वार्ताको क्रममा भनेका छन्, ‘तिमिलाई काठमाडौंको कोही मन परेन जस्तो छ, बरू अस्ट्रेलियाबाट बुहारी ल्यायौ भनेपनि म खुसी हुने थिएँ, लु है अलिकति कसरत गरेर आउनु ।’ अहिले सुहाङलाई बुवाको त्यो कुराको याद धेरै आउँछ । यस्ता याद आउने हजारौं स्कृतिहरू सुहाङसँग छन् । तर, अहिले उनीसँग बुवा छैनन् । बुवाका यादहरू मात्रै छन् ।
इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी
फिक्कल । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार ७ सय ७२ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९ सय ४२ मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार नेम्वाङलाई नेपाल परिवार दलको पनि समर्थन थियो । एमाले उम्मेदवार नेम्वाङले २७ हजार सात सय ७२ मतका साथ निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताए । उनका अनुसार पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू (थेगिम) ले ११ हजार ४ सय ५७ मत र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिलन लिम्बूले पाँच हजार ५० मत प्राप्त गरेका छन् । मङ्गोल नेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बूले ५ सय १६ मत प्राप्त गरेका छन् । १ लाख १५ हजार ८ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार २ सय ८७ जनाले मतदान गरेका थिए । यो निर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिस्पर्धामा थिए ।