विकासन्युज

भारतको फर्चुन होटल्स नेपाल प्रवेश, भक्तपुरमा खुल्याे फर्चुन रिसोर्ट एण्ड वेलनेस स्पा

काठमाडौं । भारतको चर्चित आईटीसी ग्रुप अफ होटल्स अन्तर्गतको फर्चुन होटेलले नेपालबाट आफ्नो अन्तराष्ट्रिय यात्रा सुरु गरेको छ । हिलटेक कम्पनीका लगानीकर्ता कमल जैनले भारतीय होटल ग्रुप आईसीटीसँग मिलेर भक्तपुरको साँगामा ‘फर्चुन रिसोर्ट एण्ड वेलनेस स्पा’ सञ्चालनमा ल्याएका छन् । फर्चुन रिसोर्ट एण्ड वेलनेस स्पाको उद्घाटन गर्दै फर्चुन होटलका प्रबन्ध निर्देशक समिर एमसीले भने, ‘नयाँ आर्थिक वर्ष ०८१/८२ को सुरुवातमै फर्चुन  रिसोर्ट एण्ड वेलनेस स्पाको उद्घाटन गर्न पाउँदा हामी निकै खुशी छौं, भारत बाहिर हाम्रो अन्तर्राष्ट्रिय यात्राको डेब्यूमा पहिलो शाखाको सुरुवात नेपालमा गर्न पाउँदा हामी निकै हर्षित छौं, सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्यजस्ता विविध कुराले नेपाल उत्साहपूर्ण अनुभवको खोजीमा हिँड्ने पर्यटकको पहिलो रोजाइमा पर्छ, त्यसैले हामी हाम्रो सञ्जालको प्रयोग गर्दै फर्चुन होटल्सकाे सुविधा नेपालमा ल्याउन चाहन्छौं ।’ हिलटेक हेल्थ एण्ड होम्स् प्रालिका अध्यक्ष कमल जैनप्रति कृतज्ञता व्यक्त गर्दै समिर एमसीले थप भने, ‘भक्तपुरमा हाम्रो पहिलो रिसोर्ट सुरु गर्दैगर्दा सांस्कृतिक रूपमा धनी साथै संगीत तथा नृत्यको केन्द्रको रूपमा रहेको भक्तपुरमा यस्तो रमणीय गन्तव्य सिर्जना गर्ने सपना बोकेकोमा हामी होटल सञ्चालकहरूलाई बधाई दिन चाहन्छौँ, विश्वकै अग्लो शिव मूर्तिमध्ये एक कैलाशनाथ महादेव प्रतिमाको चरणमा एउटा शान्त रिसोर्टको योजना गरिएको छ, यो अवधारणाले नेपाल आउने पर्यटकहरूको वेल–बिइङ र स्पा अनुभवलाई अझै सुदृढ गर्नेछ।’ काठमाडौंबाट मात्र २० किलोमिटर र त्रिभुवन विमानस्थलबाट १८ किलोमिटरको दुरीमा अवस्थित फर्चुन रिसोर्ट एण्ड बेलनेस स्पाबाट अन्य पर्यटकीय स्थलहरू पनि सहजै पुग्न सकिन्छ । साथै, होटलले अतिथि र समुदायसँग सम्बन्ध राख्दै सम्पूर्ण विश्वका यात्रुहरूमाझ उत्कृष्ट गन्तव्यको रूपमा रहेको नेपालमा आतिथ्य संस्कारमा एउटा अर्थपूर्ण छाप छोड्ने विश्वास लिएको छ। फर्च्यून होटलसँगको सहकार्य बारेमा बोल्दै कमल जैनले भने, ‘फर्चुन होटलसँग सहकार्य गरेर नेपालमा एउटा उत्कृष्ट ब्राण्ड ल्याउन पाउँदा हामी निकै खुशी छौँ, फर्च्यून होटल एक चर्चित होटल सञ्जाल मात्र नभएर हाम्रो लागि पनि एउटा निकै उत्कृष्ट साझेदार हो, फर्चुन रिसोर्ट एण्ड वेलनेस स्पाका सेवाहरूमा हाम्रो साझा विश्वास र उत्कृष्टताप्रतिको प्रतिबद्धता प्रतिबिम्बित हुने निश्चित छ, हामी आतिथ्यताको परिभाषालाई पूर्ण व्याख्या गर्ने ढंगले काम गर्दै भक्तपुरको आकर्षणलाई थप उचाईमा पुर्‍याउनेछौँ ।’ जैनका अनुसार रिसोर्टसहित अन्य संचरनामा एक अर्ब रुपैयाँ लगानी भएको छ । यस्ता छन् सुविधा थुप्रै फराकिलो ब्यांकवेटहरू रहेको रिसोर्टले वैवाहिक गन्तव्यका रूपमा पनि चर्चा कमाउन सक्ने सम्भावना राखेको छ। शान्त वातावरणमा अवस्थित फर्चुन रिसोर्ट एण्ड वेलनेस स्पाले भित्री शान्ति खोज्नेहरूका लागि विश्राम लिने विशेष ठाउँ हुने विश्वास लिएको छ । होटलमा प्रशस्त कोठा, कटेज तथा न्यानो र आधुनिक सजावटले सजिएका सुइटहरू छन् । प्रत्येक कोठा अत्याधिक आरामदायी बनाइएको छ । रिसोर्टमा स्पा, रिल्याक्सिङ ट्रिटमेन्ट रुम, थेरापी रुम, सौना, स्टिम रूम, जिम, स्विमिङ पुलजस्ता विभिन्न आरामदायी सुविधा उपलब्ध छन् । स्पा थेरापिस्टहरूको विशेषज्ञ टोलीले गर्ने स्पामा इसेन्सियल ओइलहरू, र शरीर, दिमाग र आत्मालाई सन्तुलन ल्याउने प्राकृतिक सामग्रीहरू प्रयोग गरेर डिटक्सिफिकेशन र क्लिन्जिङ, गहिरो आराम र समग्र प्राकृतिक चिकित्सा र पंचकर्म उपचारहरू प्रदान गर्ने बताइएको छ । शाकाहारी खानाका पारखीलाई रिसोर्टमा रहेको रेन्बो रेस्टुरेन्टमा सम्पूर्ण प्रकारका स्वादिष्ट शाकाहारी खानेकुरा उपलब्ध छन् । साथै, नेप्ट्यून बार तथा लाउन्जमा विभिन्न प्रकारका मदिरा उपलब्ध हुने रिसोर्टले जनाएको छ । रिसोर्टमा ८,००० वर्ग फिट क्षेत्रफलमा फैलिएको प्रि फंसन क्षेत्र र ११,००० वर्ग फिट क्षेत्रफलमा फैलिएको स्विमिङ पुल रहेको छ । रिसोर्टमा करिब ६ सय पाहुना अटाउने बताइएको छ ।

बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा बीमकहरूका परिपालन अधिकृतहरूसँग परिपालन सम्बन्धी समग्र विषयमा छलफल एवम् अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । बीमकहरूले बीमा व्यवसाय संचालन गर्दा प्रत्येक त्रैमासमा परिपालन प्रतिवेदन प्राधिकरणमा पेश गर्दा देखिएका कमी कमजोरी तथा सुधार गर्नुपर्ने विषयहरूमा परिपालन अधिकृतहरूका राय सुझावहरू लिन कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा ऐन, नियम र प्राधिकरणबाट जारी निर्देशिका तथा निर्देशनहरू बमोजिम सुशासनमा रहेर काम गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिए । कार्यकारी निर्देशक पौडेलले बीमकहरूले आन्तरिक नियन्त्रण प्रणालीमा सुशासन कायम गर्नुपर्ने, बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने र कारवाहीको अवस्था नआउने गरी काम गर्नुपर्ने बताए । नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमकका परिपालन अधिकृतहरूले जति राम्रो काम गर्यो त्यति नै कम्पनीलाई सशक्त र सुरक्षित बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्नुहुँदै नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले कम्पनीका काम कारवाही, ऐन, नियम, निर्देशिका र निर्देशनको परिपालनको अवस्था लगायत समग्र विषय समेटेर परिपालन अधिकृतहरूले प्रतिवेदन तयार गरी प्राधिकरणमा बुझाउनुपर्ने बताए । साथै, उनले बीमकहरूले सम्पत्ति सुद्धीकरण हेर्न अलग्गै कार्यान्वयन अधिकारी राख्नुपर्ने आवश्यकता औंल्याए । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक शाम्भराज लामिछानेले सम्पत्ति सुद्धीकरण निवारण सम्बन्धमा, उपनिर्देशक विरोध भट्टले बीमा दाबी फछ्र्याैट सम्बन्धमा र उपनिर्देशक नील प्रसाद लामिछानेले सुशासन सम्बन्धमा प्रस्तुती गरेका थिए । कार्यक्रममा जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, लघुबीमा कम्पनी र पुनर्बीमा कम्पनीका परिपालन अधिकृतहरूको सहभागिता रहेको थियो ।

एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले मायादेवी गाउँपालिका वडा नम्बर १ स्थित पकडी कपिलवस्तुमा तौलिहवा शाखा कार्यालयको मातहतमा रहने गरी आफ्नो चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन गरेको छ । देशका विभिन्न स्थानमा रहेका ग्राहकहरूलाई दिगो, दरिलो र विश्वासिलो बैंकिङ सेवा र सुविधाहरू उपलब्ध गराउने उद्देश्यका साथ आज काउन्टर उद्घाटन गरेको हो । उक्त एक्स्टेन्सन काउन्टरको उद्घाटन लुम्बिनी प्रदेशको क्षेत्र नं. १ (ख) का प्रदेश सभा सदस्य माननीय मधुसूदन सरन चौधरी र बैंकका लुम्बिनी प्रदेशका प्रादेशिक प्रबन्धक लव प्रसाद कुइकेलले संयुक्त रूपमा गरेका छन् । उक्त उद्घाटन समारोहमा मायादेवी गाउँपालिकाका अध्यक्ष वलिउद्दिन मुसलमान सोही गाउँपालिका वडा नं. १ का अध्यक्ष मुहम्मद इसहाक मुसलमान, मायादेवी गाउँपालिका बजार व्यवस्थापन समितिका अध्यक्ष प्रमात्मा बाँनीया, इलाका प्रहरी कार्यालय पकडीका प्रमुख प्रहरी निरीक्षक राजीव श्रेष्ठ, बैंकका तौलिहवा शाखाका शाखा प्रबन्धक शंकर घिमिरे, पकडी एक्स्टेन्सन काउन्टरका इन्चार्ज विमल के.सी लगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो । सो उद्घाटन समारोहमा बैंकका प्रादेशिक प्रबन्धक कुइकेलले बैंकहरु विश्वासको सहयात्री भएको साथै पकडी र सो आसपासका बासिन्दाहरूलाई सबल, सरल, उत्कृष्ट साथै अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गराइने प्रतिबद्धता व्यक्त गर्नुका साथै पंजाब नेशनल बैंक भारतसँग सहकार्य रहेको यस बैंकबाट भारतमा रहने नेपालीलाई आर्थिक कारोबार गर्न थप सहज हुने र बैंकिङ क्षेत्रमै कम खराब कर्जा रहेको यस बैंकले ल्याउने प्याकेजले नेपालको आर्थिक क्षेत्रमा सुधार गर्न सक्नुका साथै यस क्षेत्रका व्यवसायी, भारतीय पेन्सनरहरुका साथै स्थानीय बासिन्दालाई बैंकिङ कारोबारमा थप सहज हुने कुरा व्यक्त गरे । सो अवसरमा मायादेवी गाउँपालिकाका अध्यक्ष चौधरीले पकडीमा एभरेष्ट बैंकको आगमनले सर्वसाधारणको वित्तीय पहुँच अझ सहज तथा सुलभ हुने बताए । साथै, सर्वसाधरणहरुले उक्त एक्स्टेन्सन काउन्टरबाट सुरुवाती ३ महिनाको लागि विभिन्न शुभारम्भ अफरहरू पाउने छन् । साधारण बचत खाता (न्यूनतम मौज्दात) १०० रूपैयाँ, चल्ती खाता (न्यूनतम मौज्दात) २,५०० रूपैयाँ तलबी बचत खाता (शून्य मौज्दात) नारी बचत खाता १,२५० रूपैयाँ डेबिट कार्ड, एसएमएस अलर्ट सेवा, मोबाईब बैंकिङ सेवा (पहिलो पटक निःशुल्क)पाउनेछन् । पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको तथा स्थापना काल देखि नै ग्राहकहरूको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १४ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरू रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो १२८ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरू, १६४ एटीएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिंग सुविधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व सकंलनको लागि ३२ वटा सङ्कलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

नागरिक लगानी कोषले सुपर खुदीको सेयर प्रत्याभुति गर्ने

काठमाडौंं । नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावर लिमिटेडको सेयर प्रत्याभूति गर्ने भएको छ । सेयर प्रत्याभूति गर्ने सम्बन्धी सम्झौता मंगलबार भएको हो । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र सुपर खुदीको तर्फबाट सञ्चालक वटु लामिछानेले हस्ताक्षर गरेका हुन् । सुपर खुदीको प्रति कित्ता एक सय रुपैयाँ अंकित ७५ लाख ९५ हजार कित्ताबराबर हुन आउने ७५ करोड ९५ लाख रुपैयाँको सेयर कोषले प्रत्याभूति गर्ने छ । सम्झौता कार्यक्रममा कोषका का.मु.नायव कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी, हेमन्त पोखरेल एवं विभागीय प्रमुख र हाइड्रोपावरका उच्च व्यवस्थापक सहभागी थिए । यो भन्दा अघि पनि कोषले विभिन्न कम्पनीहरूको सेयर प्रत्याभूति गर्दै आएको छ ।

आवास र भोजन सेवाको वृद्धि २२ प्रतिशत, आर्थिक वृद्धि ३.८७ प्रतिशतले हुने

काठमाडौं । यस वर्ष नेपालकाे आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने अनुमान गरिएकाे छ । यससँगै कुल ग्राहस्थ उत्पादन ५७ खर्ब ४ अर्ब ८० करोड रुपेयाँको हुने कार्यालयको अनुमान छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार लेखा तथ्यांकसम्बन्धी विवरण सार्वजनिक गर्दै चालु आर्थिक वर्ष २०८०/०८१ मा नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने अनुमान गरेको हाे । याे वर्ष गत वर्षकाे तुलनामा बढ्ने अनुमान गरिएकाे हाे । गत वर्षको आर्थिक वृद्धिदर १.८६ प्रतिशत थियो । यस्तै चालु आर्थिक वर्षमा आधारभुत मूल्यवृद्धिदर ३.५४ प्रतिशत हुने अनुमान गरिएको छ । कृषि क्षेत्रको आर्थिक वृद्धिदर ३.०५ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर ३.७५ प्रतिशत हुने अनुमान कार्यालयले सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षमा कुल मूल्य अभिवृद्धि वृद्धिदर प्राथमिक क्षेत्रको ३ प्रतिशत, द्वितीय क्षेत्रको १.२ प्रतिशत र सेवा क्षेत्रको ४.५ प्रतिशत रहेको केन्द्रीय तथ्यांक कार्यालयले जनाएको छ । चालु आर्थिक वर्ष २०८०/८१ मा कृषि क्षेत्रको ३.०५ प्रतिशत र गैरकृषि क्षेत्रको ३.७५ प्रतिशत वृद्धिदर हुने प्रारम्भिक अनुमान गरिएको छ। संशोधित विवरण अनुसार गत आर्थिक वर्ष २०७९/८० मा कृषि क्षेत्रको वृद्धिदर २.७६ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर २.१३ प्रतिशत रहने अनुमान गरिएको छ। त्यसैगरी, अन्तिम विवरणअनुसार आर्थिक वर्ष २०७८/७९ मा कृषि क्षेत्रको वृद्धिदर २.३५ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर ६.५४ प्रतिशत कायम हुने तथ्याङ्क सार्वजनिक गरिएको छ। चालु आर्थिक वर्षमा नेपालीकाे प्रतिव्यक्ति आय १४५६ अमेरिकी डलर हुने अनुमान छ । तथ्यांक विभागका प्रमुख तथ्यांक अधिकारी अर्जुनप्रसाद पोखरेलले तीन आर्थिक वर्षको आधारमा यो तथ्यांक तयार पारिएको बताए । विभिन्न क्षेत्रको मूल्यांकन तथा मापन गरेर आर्थिक वृद्धिको अनुमान हुँदै आएको छ । १८ वटा आर्थिक क्षेत्रका क्रियाकलापको विश्लेषण गरेर अनुमान निकालिएको उनले बताए । उद्योग क्षेत्र ऋणात्मक चालु आर्थिक वर्षमा उद्योग क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर ऋणात्मक (-१.६०%) हुने प्रारम्भिक अनुमान गरिएको छ । निर्माण तथा व्यापार क्षेत्रमा सुधार हुन नसक्दा वस्तु तथा सेवाको समग्र मागमा कमी आएका कारण उत्पादनमूलक उद्योगले पूर्ण क्षमतामा उत्पादन गर्न नसकेकोले यो क्षेत्रको वृद्धिदर ऋणात्मक हुने अनुमान गरिएको हो। साथै, पछिल्लो समयमा अर्थतन्त्रमा सिर्जित विभिन्न प्रतिकुल कारणले विश्वव्यापी रूपमा नै अर्थतन्त्रमा उल्लेख्य सुधार आउन नसकेको अवस्थामा नेपालका उद्योगहरूको उत्पादनमा समेत संकुचन देखापर्ने अनुमान गरिएको हो। ‘यो ६ देखि ९ महिनाको वास्तविक तथ्यांक र अन्य महिनाको राष्ट्रिय लेखा अनुमानको विधिबमोजिम निकालिएको छ,’ उनले भने, ‘विगतको तुलनामा अर्थतन्त्र सुधार हुँदै गएको छ, अधिकांश सूचक सकारात्मक हुँदै गएका छन् ।’ निर्माण पनि ऋणात्मक यस क्षेत्रको चालु आर्थिक वर्षको कुल मूल्य अभिवृद्धि वृद्धिदर ऋणात्मक (-२.०७%) हुने प्रारम्भिक अनुमान गरिएको छ। निर्माण सामाग्रीको आयातमा आएको कमी, निर्माण सामाग्रीको स्वदेशी उत्पादनमा भएको कमी जस्ता कारणले चालु आर्थिक वर्षमा यस क्षेत्रको मूल्य अभिवृद्धिमा संकुचन हुने अनुमान गरिएको हो। यातायात तथा भण्डारणमा सुधार चालु आर्थिक वर्षमा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर ११.८९ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । गत आर्थिक वर्षको तुलनामा सवारी साधनको आयातमा भएको वृद्धि, पर्यटकको आवागमनमा भएको वृद्धि जस्ता कारणले चालु आर्थिक वर्षमा यस क्षेत्रको मूल्य अभिवृद्धि सुधार हुने अनुमान गरिएको हो। आवास तथा भोजन सेवामा २२ प्रतिशत वृद्धि चालु आर्थिक वर्षमा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर २१.८४ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । विदेशी पर्यटकको आवागमनमा भएको वृद्धि, आन्तरिक पर्यटनमा भएको वृद्धि जस्ता कारणले चालु आर्थिक वर्षमा यस क्षेत्रको मूल्य अभिवृद्धिमा उल्लेख्य सुधार हुने अनुमान गरिएको हो। वित्तीय तथा बीमा क्षेत्रमा चालु आर्थिक वर्षमा  कुल मूल्य अभिवृद्धि वृद्धिदर ७.८० प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । बैंकमा निक्षेप तथा ऋण प्रवाहमा भएको वृद्धि, बैंक र वित्तिय संस्थाको सेवा शुल्कको आम्दानीमा भएको बृद्धिसँगै यस क्षेत्रको कुल मूल्य अभिवृद्धिमा बढोत्तरी हुने अनुमान गरिएको हो। त्यस्तै, चालु आर्थिक वर्षमा सूचना तथा सञ्चार क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर ४.९१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा कम्प्यूटर प्रोगामिङ तथा इन्फर्मेशन सर्भिससम्बन्धी क्रियाकलापमा भएको वृद्धि, इन्टरनेट सेवा प्रदायकको कारोवार तथा ताररहित सञ्चार सेवामा भएको वृद्धिको कारणले यस क्षेत्रको कुल मूल्य अभिवृद्धि सामान्य बढ्ने प्रारम्भिक अनुमान रहेको छ । चालु आर्थिक वर्षमा घरजग्गा कारोवारको सेवा क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर २.९८ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । घर जग्गाको कारोबारमा तुलनात्मक रूपमा कमी आएको भए तापनी निजी आवास तथा भाडाका क्रियाकलापमा भएको बढोत्तरीले यस क्षेत्रको कुल मूल्य अभिवृद्धि अघिल्लो  वर्षको  तुलनामा सामान्य रूपमा बढ्ने प्रारम्भिक अनुमान गरिएको हो । त्यस्तै चालु आर्थिक वर्षमा पेशागत वैज्ञानिक तथा प्राविधिक क्रियाकलाप क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर ४.१५ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । पछिल्लो समयमा विभिन्न प्राविधिक कार्यका लागि पेशागत संस्थासँग सेवा लिने प्रवृत्तिमा भएको बढोत्तरीले यस क्षेत्रको कुल मूल्य अभिवृद्धि अघिल्लो  वर्षको  तुलनामा सामान्य बढ्ने प्रारम्भिक अनुमान गरिएको हो । चालु आर्थिक वर्ष २०८०/८१ मा जीडीपीको २४.४५ प्रतिशत कुल स्थिर पुँजी निर्माण हुने प्रारम्भिक अनुमान गरिएको छ। त्यस्तै जीडीपीको ९२.३८ प्रतिशत अन्तिम उपभोग खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ।

विदेश पठाइदिन्छु भन्दै ४२२ जनालाइ ठगि गर्ने पक्राउ, प्रहरीद्वारा सार्वजनिक

काठमाडौं । नेपाल प्रहरीले वैदेशिक रोजगारीको सिलसिलामा बुल्गेरिया, न्युजिल्याण्ड, रोमानिया, सर्विया, क्रोशियासमेतका देशहरुमा पठाउने भनि ठगि गर्ने दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । मंगलबार उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा बोल्दै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले वैदेशिक रोजगारीको सिलसिलामा बुल्गेरिया, न्युजिल्याण्ड, रोमानिया, सर्विया, क्रोशियासमेतका देशहरुमा पठाउने भनि आफ्नो नक्कली नाम बताइ अर्को व्यक्तिको नाममा कम्पनी तथा बैंक खाता खोल्न लगाइ सिमकार्ड समेत निकाली ४२२ जनालाई ठगि गर्ने गिरोह पक्राउ परेको बताए । उनले पक्राउ पर्नेमा जिल्ला धादिङ, जीवनपुर गाविस हाल धुनिबेँसी नगरपालिका ४ घर भएका आफ्नो नाम जीवा गौतम बताउने रमेश बयलकोटीलाई पक्रा गरिएको बताए । बयलकोटीले कीर्तिपुर नगरपालिका ६ बस्ने ललितजंग बमलाई भिजा प्लस प्राइभेट लिमिटेड नामको कम्पनी दर्ता गर्न लगाइ सामाजिक सञ्जालमा वैदेशिक रोजगारीका लागि बुल्गेरिया, न्युजिल्याण्ड, रोमानिया, सर्विया, क्रोशिया, मकाओ, टर्की लगायतका देशमा जान अवसर रहेको भनि विज्ञापन पोस्ट गरी कन्सलटेन्सीमै बोलाइ करिव ४२२ जनालाई प्रतिव्यक्ति १० देखि १४ लाखसम्म लाग्ने बताइ शुरुमा ५० हजारदेखि ३ लाख लिने र भिजा आएपछि अन्य रकम दिने भनि कर्मचारी खटाइ रकम लिने गरेको खुलेको बताए । त्यस्तै पक्राउ पर्नेमा अर्का सञ्चालक कालिकोट छाप्रे ६ घर भएका दर्शन नेपालीलाई कागेश्वरी नगरपालिका ७ बाट पक्राउ गरी आवश्यक कारबाही शुर गरिएको जानकारी दिए । यसको मुख्य गिरोहहरु भारतमा बसि काम गर्ने गरेको पनि बताए । ४२२ जनाबाट करिव ३ करोड भन्दा बढी रकम उठाएको बताए । महाराजगञ्जको कन्सलटेन्सीबाट थान २० र दर्शन नेपालको जडिबुटीस्थित कोठाबाट १ र बयलकोटी बस्ने कोठा एकान्तकुनाबाट ६३ गरी ८४ थान राहदानी लगायत १८२ जनाको रेकर्ड फाइल बरामद गरेको पनि जानकारी दिए । कार्यालयले सोमबार कतारबाट काठमाडौंमा आएका सिकेन्द्र यादवलाई अपहरण गरी कुटपिट गर्ने दुई जनालाई पनि पक्राउ गरी सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा एसएसपी भट्टराईले पक्राउ पर्नेमा सर्लाही मंगलबार ३ का २५ वर्षका अजिम अली र वर्ष २५ कै सोही स्थानका एमडी शनि अलाही रहेको बताए । कतारबाट फर्किंदा कतारमा बस्ने मन्सुर अली नाम गरेका व्यक्तिले २५ ग्राम सुन दिइ आफ्नो भतिज अजिम अलीलाई दिनु भनि निजको मोबाइल नम्बर दिइ पठाएको र पीडित काठमाडौंमा आएपछि अजिम अलीलाई फोन गरी सामान लिन बोलाएकोमा अर्कै मान्छे आइ रिसिभ गरेको भन्ने बुझिएको बताए । निज अजिम अलीले सुन आफूले नपाएको भनि आफू बस्ने डेरा सिनामंगलमा जबरजस्ती लगि कुटपिट गर्नुका साथै पीडितकी श्रीमतीलाई ४ लाख ८० हजार रकम दिएपछि मात्रै छोड्ने भनि धम्की दिएको जानकारी दिए । प्रहरीले पक्राउ परेकाहरुमाथि थप अनुसन्धान जारी रहेको र उनीहरुमाथि कारबाहीको प्रक्रिया अघि बढाइएको जनाएको छ ।

ललितपुरको आनन्दवनमा डढेलो निभाउने क्रममा घाइते भएका दुई जनामध्ये एकको मृत्यु

काठमाडौं । ललितपुरको लेलेस्थित आनन्द हस्पिटल क्षेत्रमा मंगलबार दिउँसो लागेको डढेलो निभाउने क्रममा घाइते भएका दुई जनामध्ये एक जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका-४ तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा घाउते भएका स्थानीय शंकर पहरीको मृत्यु भएको ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए । कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । डढेलो निभाउने क्रममा अर्का स्थानीय रमेश पहरी घाइते भएका थिए । गम्भीर घाइते रमेशको उपचार भइरहेको बताइएको छ। डढेलो निभाउने क्रममा अरू १५ जना फसेका थिए । उनीहरूको भने सकुशल उद्धार गरिएको जनाइएको छ । डढेलो फैलिएपछि त्यहाँस्थित कुष्ठरोग अस्पतालका ९३ जना बिरामी अन्यत्र सारिएको छ। हस्पिटल क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आएको छ । हस्पिटल क्षेत्रको आगो नियन्त्रणमा आए पनि वनमा लागेको आगो भने नियन्त्रणमा आएको छैन ।

टेलिकमले ल्यायो आइसीटी डे अफर, ४९ रुपैयाँमा दिनभरी डाटा र भ्वाईस सेवा

काठमाडौं । नेपाल टेलिकमले ‘आईसीटी डे अफर’ सार्वजनिक गरेको छ । बैशाख २० गते आयोजना हुन लागेको संचार प्रविधि दिवस (आइसीटी डे)का अवसरमा नेपाल टेलिकमले ‘आइसीटी डे’ अफर सार्वजनिक गरेको छ । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ भन्ने मूल नारा सहित आगामी बैशाख २० गते मनाउन लागिएको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२४ को अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकहरुका लागि उक्त अफर सार्वजनिक गरेको हो । यो बैशाख १९ देखि प्रारम्भ हुनेछ र आगामी २०८१ बैशाख २१ सम्म लागु हुनेछ । यस अन्तर्गत ४९ रुपैयाँमा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ । कम्पनीका अनुसार यसैगरी डाटा प्याकेज अन्तर्गत १ सय ११ रुपैयाँमा ५ दिन चलाउन सकिने ६ जीबी डाटा, १ सय ९९ रुपैयाँमा ७ दिन चलाउन सकिने १३ जीबी डाटा, २ सय ९९ रुपैयाँमा १२ दिन चलाउन सकिने २० जीबी डाटा र ३ सय ९९ रुपैयाँमा १५ दिन चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध हुनेछ । कम्पनीका अनुसार यही अफर अन्तर्गत ७ सय ८९ रुपैयाँमा फेस्टिभ कम्बो प्याक पनि लिन सकिने छ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६ सय मिनेट अल नेट भ्वाइस सुविधा र २ सय अल नेट एसएमएस सुविधा यसमा उपलब्ध हुन्छ । पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध छ ।