पूर्वाञ्चल र मध्यपश्चिम विश्वविद्यालयमा उपकुलपति नियुक्त
काठमाडौं । सरकारले पूर्वाञ्चल विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेको छ । प्रधानमन्त्री तथा ती विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मध्यपश्चिमको उपकुलपतिमा प्राडा ध्रुवकुमार गौतम र पूर्वाञ्चलको उपकुलपति पदमा प्राडा विजुकुमार थपलियालाई नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री दाहालले विश्वविद्यालयमा प्राज्ञिक प्रतिस्पर्धाका आधारमा उपकुलपति नियुक्त गर्ने घोषणा गरेका थिए । प्राडा गौतम र प्राडा थपलियालाई पनि प्रतिस्पर्धामार्फत छनोट गरी उपकुलपति नियुक्त गरिएको जनाइएको छ ।
डिजेल, मट्टितेलको मूल्य घट्यो र हवाई इन्धनको बढ्यो
काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको मंगलबारको बैठकले बुधबारदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो । निगमले डिजेलरमट्टितेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १ सय ५६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि ए१ सय ५८ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १ सय ५९ रुपैयाँ तोकेको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर क्रमशः ०.०२ र २.४५ रुपैयाँले घटेको निगमले जनाएको छ । निगमले हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर १ रुपैयाँ र हवाई इन्धन (अन्तर्राष्ट्रियतर्फ) प्रतिकिलोलिटर ७ डलरले वृद्धि गरेको छ । मूल्य बढेसँगै हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर १ सय ३७ रुपैयाँ र हवाई इन्धन (अन्तर्राष्ट्रिय) को मूल्य प्रतिलिटर अमेरिकी डलर १.०४२ पुगेको छ । पेट्रोल र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।
काठमाडौं महानगरको सिप मेला : ५ हजारलाई रोजगारी र १५ हजारलाई तालिममा जोड्ने लक्ष्य
काठमाडौं । काठमाडौं महानगरपालिकाले बुधबारदेखि टुंडिखेलमा ‘सिप मेला’ आयोजना गर्दै छ। ‘शिक्षालाई सिपसँग’, ‘सिपलाई श्रमसँग’ र ‘श्रमलाई उत्पादनसँग’ जोडेर सिप नहुनेलाई सिपयुक्त बनाउनु, सिप भएकालाई रोजगार तथा स्वरोजगार बनाउनु, रोजगारमा भएका तर सिप नभएकाहरूको व्यावसायिक स्तर वृद्धि गराएर आयमा वृद्धि गराउनु तालिम सञ्चालनको मुख्य लक्ष्य रहेको महानगर उपप्रमुख सुनिता डंगोलले बताइन। ‘१ महिनामा २ हजार ८१ जनालाई उच्च माग भएका पेशासँग सम्बन्धित निःशुल्क तालिम महानगरले उपलब्ध गराउने छ,’ उनले भनिन् । यसरी तालिम पाएका सबै व्यक्तिलाई रोजगार, स्वरोजगार वा ओजेटी (अन द जब ट्रेनिङ) सुनिश्चित गरिएको डंगोलले बताइन। बजारमा सिपयुक्त जनशक्तिको ठूलो माग र आपूर्तिका बिचमा ठूलो खाडल भएको बताउँदै उक्त खाडललाई पुर्न तालिम सञ्चालन गरिएको उनले बताइन। ‘एकातिर रोजगारदाताको सिपयुक्त जनशक्ति नपाएको र अर्कोतिर युवाहरूमा योग्यताअनुसारको रोजगार नपाएको गुनासो छ,’ उनले भनिन्, ‘रोजगार क्षेत्रमा देखिएको यो खाडल पुर्न रोजगारदाताको आवश्यकता र बजारले मागेको सिप हासिल गरेको जनशक्ति उत्पादन गर्न व्यववसायिक तालिमको आवश्यकता महसुस गरेर सिप मेला कार्यक्रम आयोजना गरिएको हो ।’ सिप मेला कार्यक्रम २०८१ को शुभारम्भसँगै महानगरले कम्तिमा २०८१ जनालाई सीप मेलाको कार्यक्रममार्फत रोजगारीसँग जोड्ने उद्देश्य लिएको उनले बताइन् । कम्तिमा ५ हजार मानिसलाई रोजगारीसँग जोड्ने र १५ हजार मानिसलाई तालिमसँग जोड्ने लक्ष्य महानगरले राखेको पनि उनले बताइन् । सिप नभएर अनौपचारिक क्षेत्रको अर्थतन्त्रमा रहेको व्यक्तिलाई रोजगारी र उद्यमका अवसरबाट औपचारिक अर्थतन्त्रमा रूपान्तरण गराउने विश्वास महानगरले राखेको छ। साथै, विगतमा गैरकानुनी रूपमा सडकमा व्यापार गरिरहेका सडक व्यापारी सिपमूलक तालिममा सहभागी हुने अपेक्षा महानगरले राखेको उनको भनाइ छ । सिप मेलामा तालिमका लागि १० वटा क्षेत्र निर्धारण गरिएका छन् । क्षेत्रभित्र २९ प्रकारका पेशागत तालिम हुने महानगरका सहायक प्रवक्ता दिपक अधिकारीले बताए। उनका अनुसार मागका आधारमा थप क्षेत्र र पेसा थप गर्ने योजना छ। सुरु गर्न लागिएका तालिममध्ये अटो मोबाइल्स एउटा क्षेत्र हो । यसभित्र अटो इलेक्ट्रिक, अटो एअर कन्डिसन, मोटरवाइक र स्कुटर रिपेयर (इभी), इलेक्ट्रिकल कार रिपेयर (इभी) विषय छन् । दोस्रो निर्माण क्षेत्र हो । यसमा सिकर्मी, टाइल एण्ड मार्वल फिटर, इलेक्ट्रिसियन र प्लम्बिङ तालिम हुनेछ । हस्पिटालिटी एण्ड म्यानेजमेन्ट विधा तेस्रो हो । यसमा वारिस्ता, फुड एण्ड कुक, वेकरी, बार टेन्डिङ् र वेटर-वेट्रेस प्रशिक्षण हुनेछ । सूचना प्रविधि (इन्फरमेसन एण्ड टेक्नोलोजी) चौथो क्षेत्र हो। यसमा डिजिटल मार्केटिङ, ग्राफिक्स डिजाइनिङ, कम्प्युटर हार्डवेयर एण्ड नेटवर्किङ, सीसीटिभी क्यामरा विषय राखिएका छन् । क्रमशः पाँचौं र छैटौं क्षेत्रमा मेकानिकलमा वेल्डिङ् र रेफ्रिजेरेटर एण्ड एसी टेक्निसियनको तालिम हुनेछ । आर्ट एण्ड कल्चरमा आर्ट एण्ड स्कप्चरको प्रशिक्षण हुनेछ। सातौं क्षेत्र गार्मेन्ट्स हो। यसमा टेलरिङ ड्रेस मेकर र फेसन डिजाइनिङकाे कक्षा हुनेछ । आठौँ क्षेत्र ब्युटिसियन ९सौन्दर्य कला० हो। यसमा नेल आर्ट, मेक अप आर्ट, आइलेस आर्ट, हेअर कट एण्ड स्टाइल, र सैलुन प्रशिक्षण हुनेछ । नवौं क्षेत्र डिजाइनिङ् हो। यसमा साइन मेकिङ् प्रशिक्षण हुनेछ र दशौं विधा पुरोहित हो । यसमा पुरोहित र ज्योतिष सम्बन्धी प्रशिक्षण हुनेछ । तालिमको अन्तिम दिन रोजगार मेला हुनेछ । यस दिन रोजगारदाताहरु स्टलमा रहनेछन् र सम्बन्धित रोजगारदातासँग सम्बन्धित तालिम प्राप्त व्यक्तिहरु सम्पर्कमा गएर आफ्नो सिपका बारेमा बताउनेछन् । यही ठाउँबाट धेरै बेरोजगारले रोजगार पाउन सक्ने अधिकारीले बताए। त्यसका साथै सिप विकासका लागि महानगरपालिकाले सञ्चालन गरेका अरू पनि तालिमका कार्यक्रम रहेको उनले बताए। उनका अनुसार सामुदायिक विद्यालयको कक्षा ९ र १० मा पुस्तकरहित शुक्रबार कार्यक्रमअन्तर्गत छोटो अवधिको सिपमूलक तालिम सञ्चालन हुन्छ । महानगर गौरव योजनाअन्तर्गत रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि कार्यक्रममा ३४ भन्दा धेरै पेसाका सिपमूलक तालिम रहेको उनले बताए । त्यस्तै साइबर सेक्युरिटीमा ४ हजार व्यक्ति तालिम प्रदान गरिँदैछ ।
आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
काठमाडौं । आइएमई ग्रुप र इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरा कम्पनीले नेपालमा ऊर्जा परियोजनाहरूको विकासमा साझेदारी गर्ने भएका छन् । आइएमई ग्रुपमा मंगलबार एक विशेष कार्यक्रमबीच आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र पिटी पिएलएन नुसन्तराका निर्देशक मुहम्मद रेजाबीच सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो । पिटी पिएलएन नुसन्तरा इन्डोनेसिया सरकारको स्वामित्वमा रहेको ऊर्जा विकास कम्पनी हो । यस समझदारीअन्तर्गत पिटी पिएलएनले आफ्नो विशेषज्ञताका आधारमा नेपालमा नवीकरणीय ऊर्जा परियोजनाहरूको विकासका लागि थप अध्ययन तथा विश्लेषण गर्नेछ । पिटी पिएलएनले स्थानीय तथा अन्तर्राष्ट्रिय ऊर्जा बजारमा पावर प्लान्टको सञ्चालन तथा मर्मत सम्भारमा विशेषज्ञता हासिल गरेको छ। यसले सिंगापुर, मलेसिया, कुवेत, चीन र साउदी अरब लगायतका देशहरूमा सेवा विस्तार गरिसकेको छ । आइएमई ग्रुपका अध्यक्ष ढकालले नेपालको ऊर्जा उत्पादनमा थप अवसरहरू खोल्न नयाँ साझेदारीले सहयोग पुग्ने विश्वास व्यक्त गरे । बढ्दो ऊर्जा मागलाई सम्बोधन गर्न तथा यस क्षेत्रको दिगो विकासलाई सघाउन इन्डोनेसियाको विशेषज्ञता तथा अनुभवलाई यो समझदारी मार्फत उपयोग गर्न सकिनेमा विश्वस्त रहेको पनि अध्यक्ष ढकालले उल्लेख गरे । आइएमई ग्रुपले जलविद्युत, बैंकिङ, बीमा, पर्यटन पूर्वाधार र सूचना प्रविधि लगायतका क्षेत्रहरूमा लगानी विस्तार गरिरहेको छ ।
१० बैंकको लेखापरीक्षण गर्न ५ अडिट कम्पनी छानिए
काठमाडौं । वाणिज्य बैंकहरूको लेखापरीक्षण गर्न विभिन्न ५ वटा विदेशी अडिट (लेखापरीक्षण) फर्म छनोट भएका छन् । विभिन्न १० वटा ठूला वाणिज्य बैंकको लेखापरीक्षण गर्न ५ वटा अन्तर्राष्ट्रिय लेखापरीक्षक फर्म सर्टलिष्ट (छनोट) भएका नेपाल राष्ट्र बैंकले जनाएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँगको शर्तअनुसार १० वटा बैंकको लेखापरीक्षण गर्न राष्ट्र बैंकले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । राष्ट्र बैंकको आह्वान अनुसार नेदरल्याण्ड, भारत र पाकिस्तानका बाह्य लेखापरीक्षक प्रारम्भिक छनोट भएका हुन् । नेदरल्याण्ड्सको डिलोइट फाइनान्सियल एड्भाइजरी, ज्वाइन्टभेन्चर कम्पनी सीएसी (प्राइस वाटरहाउस कुपर), एसआरबिए एण्ड बिके अग्रवाल चार्टर्ड एकाउन्टेन्ट्स (एसआर ब्याट्लीबोइ एण्ड एसोसिएट), भारतको केपीएमजी एसुरेन्स एण्ड कन्सल्टिङ र पाकिस्तानको केपीएमजी इस्लामाबाद लेखापरीक्षणका लागि छनोट भएका राष्ट्र बैंकले बताएको छ । जसमध्ये प्राइसवाटरहाउस कुपर र एसआर ब्याट्लीबोइ एण्ड एसोसिएट भारत र नेपालको संयुत्त, लगानी भएका अडिट फर्म हुन् । लेखापरीक्षकको योग्यता, अनुभव र क्षमताका आधारमा छनोट गरिएको हो । छनोट भएका अलिडट फर्मले केही समयपछि ठूला वाणिज्य बैंकहरूको लेखापरक्षण थालनी गर्ने छन् । बैंकहरूले प्रवाह गरेको कर्जा लगानीका विषयमा अडिट फर्मले अध्ययन तथा मूल्यांकन गर्नेछन् । पछिल्लो तथ्याङ्क अनुसार सबैभन्दा धेरै कर्जा प्रवाह गर्ने १० वटा बैंकहरूमा ग्लोबल आइएमई पहिलो नम्बरमा छ । यस्तै, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनआईसी एशिया बैंक, कुमारी बैंक, राष्ट्रिय वाणिज्य बैंक, लक्ष्मी सनराइज बैंक, हिमालयन बैंक, प्रभु बैंक र एनएमबि बैंकले सबैभन्दा धेरै कर्जा प्रवाह गरेका छन् । आइएमएफसँग ३९ करोड ८८ लाख डलर विस्तारित कर्जा सुविधा (इसिएफ) माग गरेको छ । यो सुविधा प्राप्त गर्न राष्ट्र बैंकले अन्तर्राष्ट्रिय अडिट फर्ममार्फत बैंकहरूको स्थलगत निरीक्षण गर्ने शर्त आइएमएफसँग गरेको छ ।
जापानमा रोजगारीको उपलब्धता घट्यो
जापान । जापानको रोजगार उपलब्धता अनुपात आर्थिक वर्ष २०२३ मा तीन वर्षकै पहिलो पटक घटेको सरकारले जापानमा रोजगारीको उपलब्धता घट्यो एक रिपोर्टमार्फत जनाएको छ । स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले गत वर्षको मार्च महिनाको तुलनामा रोजगार–आवेदक अनुपात शून्य दशमलव ०२ अङ्कले घटेर एक दशमलव २९ मा झरेको छ । मार्चका लागि, रोजगार उपलब्धता अनुपात फेब्रुअरीदेखि शून्य दशमलव ०२ ले बढेर एक दशमलव २८ पुगेको थियो । यसले प्रत्येक एक सय जनाका लागि एक सय २८ रोजगारी उपलब्ध भएको जनाउँछ । मन्त्रालयका अनुसार नयाँ रोजगारी खोज्ने मानिसहरूले आफ्नो हालको पदहरूमा तलब बढ्ने अनुमान गरेका कारण यो वृद्धि भएको हो । मार्चमा कम रोजगारीको अवसर भएका क्षेत्रहरूमा निर्माण क्षेत्र १० दशलवलव आठ प्रतिशतले घटेको छ भने जीवनशैली र मनोरन्ञ्जन सेवा क्षेत्र र शिक्षा क्षेत्र दुवै १० दशमलव पाँच प्रतिशतले घटेको छ । रासस
भारतको फर्चुन होटल्स नेपाल प्रवेश, भक्तपुरमा खुल्याे फर्चुन रिसोर्ट एण्ड वेलनेस स्पा
काठमाडौं । भारतको चर्चित आईटीसी ग्रुप अफ होटल्स अन्तर्गतको फर्चुन होटेलले नेपालबाट आफ्नो अन्तराष्ट्रिय यात्रा सुरु गरेको छ । हिलटेक कम्पनीका लगानीकर्ता कमल जैनले भारतीय होटल ग्रुप आईसीटीसँग मिलेर भक्तपुरको साँगामा ‘फर्चुन रिसोर्ट एण्ड वेलनेस स्पा’ सञ्चालनमा ल्याएका छन् । फर्चुन रिसोर्ट एण्ड वेलनेस स्पाको उद्घाटन गर्दै फर्चुन होटलका प्रबन्ध निर्देशक समिर एमसीले भने, ‘नयाँ आर्थिक वर्ष ०८१/८२ को सुरुवातमै फर्चुन रिसोर्ट एण्ड वेलनेस स्पाको उद्घाटन गर्न पाउँदा हामी निकै खुशी छौं, भारत बाहिर हाम्रो अन्तर्राष्ट्रिय यात्राको डेब्यूमा पहिलो शाखाको सुरुवात नेपालमा गर्न पाउँदा हामी निकै हर्षित छौं, सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्यजस्ता विविध कुराले नेपाल उत्साहपूर्ण अनुभवको खोजीमा हिँड्ने पर्यटकको पहिलो रोजाइमा पर्छ, त्यसैले हामी हाम्रो सञ्जालको प्रयोग गर्दै फर्चुन होटल्सकाे सुविधा नेपालमा ल्याउन चाहन्छौं ।’ हिलटेक हेल्थ एण्ड होम्स् प्रालिका अध्यक्ष कमल जैनप्रति कृतज्ञता व्यक्त गर्दै समिर एमसीले थप भने, ‘भक्तपुरमा हाम्रो पहिलो रिसोर्ट सुरु गर्दैगर्दा सांस्कृतिक रूपमा धनी साथै संगीत तथा नृत्यको केन्द्रको रूपमा रहेको भक्तपुरमा यस्तो रमणीय गन्तव्य सिर्जना गर्ने सपना बोकेकोमा हामी होटल सञ्चालकहरूलाई बधाई दिन चाहन्छौँ, विश्वकै अग्लो शिव मूर्तिमध्ये एक कैलाशनाथ महादेव प्रतिमाको चरणमा एउटा शान्त रिसोर्टको योजना गरिएको छ, यो अवधारणाले नेपाल आउने पर्यटकहरूको वेल–बिइङ र स्पा अनुभवलाई अझै सुदृढ गर्नेछ।’ काठमाडौंबाट मात्र २० किलोमिटर र त्रिभुवन विमानस्थलबाट १८ किलोमिटरको दुरीमा अवस्थित फर्चुन रिसोर्ट एण्ड बेलनेस स्पाबाट अन्य पर्यटकीय स्थलहरू पनि सहजै पुग्न सकिन्छ । साथै, होटलले अतिथि र समुदायसँग सम्बन्ध राख्दै सम्पूर्ण विश्वका यात्रुहरूमाझ उत्कृष्ट गन्तव्यको रूपमा रहेको नेपालमा आतिथ्य संस्कारमा एउटा अर्थपूर्ण छाप छोड्ने विश्वास लिएको छ। फर्च्यून होटलसँगको सहकार्य बारेमा बोल्दै कमल जैनले भने, ‘फर्चुन होटलसँग सहकार्य गरेर नेपालमा एउटा उत्कृष्ट ब्राण्ड ल्याउन पाउँदा हामी निकै खुशी छौँ, फर्च्यून होटल एक चर्चित होटल सञ्जाल मात्र नभएर हाम्रो लागि पनि एउटा निकै उत्कृष्ट साझेदार हो, फर्चुन रिसोर्ट एण्ड वेलनेस स्पाका सेवाहरूमा हाम्रो साझा विश्वास र उत्कृष्टताप्रतिको प्रतिबद्धता प्रतिबिम्बित हुने निश्चित छ, हामी आतिथ्यताको परिभाषालाई पूर्ण व्याख्या गर्ने ढंगले काम गर्दै भक्तपुरको आकर्षणलाई थप उचाईमा पुर्याउनेछौँ ।’ जैनका अनुसार रिसोर्टसहित अन्य संचरनामा एक अर्ब रुपैयाँ लगानी भएको छ । यस्ता छन् सुविधा थुप्रै फराकिलो ब्यांकवेटहरू रहेको रिसोर्टले वैवाहिक गन्तव्यका रूपमा पनि चर्चा कमाउन सक्ने सम्भावना राखेको छ। शान्त वातावरणमा अवस्थित फर्चुन रिसोर्ट एण्ड वेलनेस स्पाले भित्री शान्ति खोज्नेहरूका लागि विश्राम लिने विशेष ठाउँ हुने विश्वास लिएको छ । होटलमा प्रशस्त कोठा, कटेज तथा न्यानो र आधुनिक सजावटले सजिएका सुइटहरू छन् । प्रत्येक कोठा अत्याधिक आरामदायी बनाइएको छ । रिसोर्टमा स्पा, रिल्याक्सिङ ट्रिटमेन्ट रुम, थेरापी रुम, सौना, स्टिम रूम, जिम, स्विमिङ पुलजस्ता विभिन्न आरामदायी सुविधा उपलब्ध छन् । स्पा थेरापिस्टहरूको विशेषज्ञ टोलीले गर्ने स्पामा इसेन्सियल ओइलहरू, र शरीर, दिमाग र आत्मालाई सन्तुलन ल्याउने प्राकृतिक सामग्रीहरू प्रयोग गरेर डिटक्सिफिकेशन र क्लिन्जिङ, गहिरो आराम र समग्र प्राकृतिक चिकित्सा र पंचकर्म उपचारहरू प्रदान गर्ने बताइएको छ । शाकाहारी खानाका पारखीलाई रिसोर्टमा रहेको रेन्बो रेस्टुरेन्टमा सम्पूर्ण प्रकारका स्वादिष्ट शाकाहारी खानेकुरा उपलब्ध छन् । साथै, नेप्ट्यून बार तथा लाउन्जमा विभिन्न प्रकारका मदिरा उपलब्ध हुने रिसोर्टले जनाएको छ । रिसोर्टमा ८,००० वर्ग फिट क्षेत्रफलमा फैलिएको प्रि फंसन क्षेत्र र ११,००० वर्ग फिट क्षेत्रफलमा फैलिएको स्विमिङ पुल रहेको छ । रिसोर्टमा करिब ६ सय पाहुना अटाउने बताइएको छ ।
बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा बीमकहरूका परिपालन अधिकृतहरूसँग परिपालन सम्बन्धी समग्र विषयमा छलफल एवम् अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । बीमकहरूले बीमा व्यवसाय संचालन गर्दा प्रत्येक त्रैमासमा परिपालन प्रतिवेदन प्राधिकरणमा पेश गर्दा देखिएका कमी कमजोरी तथा सुधार गर्नुपर्ने विषयहरूमा परिपालन अधिकृतहरूका राय सुझावहरू लिन कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा ऐन, नियम र प्राधिकरणबाट जारी निर्देशिका तथा निर्देशनहरू बमोजिम सुशासनमा रहेर काम गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिए । कार्यकारी निर्देशक पौडेलले बीमकहरूले आन्तरिक नियन्त्रण प्रणालीमा सुशासन कायम गर्नुपर्ने, बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने र कारवाहीको अवस्था नआउने गरी काम गर्नुपर्ने बताए । नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमकका परिपालन अधिकृतहरूले जति राम्रो काम गर्यो त्यति नै कम्पनीलाई सशक्त र सुरक्षित बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्नुहुँदै नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले कम्पनीका काम कारवाही, ऐन, नियम, निर्देशिका र निर्देशनको परिपालनको अवस्था लगायत समग्र विषय समेटेर परिपालन अधिकृतहरूले प्रतिवेदन तयार गरी प्राधिकरणमा बुझाउनुपर्ने बताए । साथै, उनले बीमकहरूले सम्पत्ति सुद्धीकरण हेर्न अलग्गै कार्यान्वयन अधिकारी राख्नुपर्ने आवश्यकता औंल्याए । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक शाम्भराज लामिछानेले सम्पत्ति सुद्धीकरण निवारण सम्बन्धमा, उपनिर्देशक विरोध भट्टले बीमा दाबी फछ्र्याैट सम्बन्धमा र उपनिर्देशक नील प्रसाद लामिछानेले सुशासन सम्बन्धमा प्रस्तुती गरेका थिए । कार्यक्रममा जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, लघुबीमा कम्पनी र पुनर्बीमा कम्पनीका परिपालन अधिकृतहरूको सहभागिता रहेको थियो ।