महानगरको सीप मेलामा १० हजार बढीको आवेदन
काठमाडौं । काठमाडौं महानगरपालिकाले यही वैशाख १९ गतेदेखि सुरु गरेको ‘सीप मेला २०८१’ का लागि १० हजार बढीले आवेदन दिएका छन् । कामपाले दुई हजार ८१ जनालाई प्रशिक्षण दिने लक्ष्यसहित मेला सुरु गरेकामा १० हजार बढीले आवेदन दिएका हुन् । कामपा सामाजिक विकास विभागका निमित्त प्रमुख विमला कोइरालाका अनुसार आवेदन (फाराम) भर्ने सबै जनालाई तालिम दिने तयारी गरिएको छ । यही वैशाख १९ गतेभित्र फाराम भर्ने आवेदकलाई सीप मेलामा सहभागी गराइने उनले जानकारी दिए । उनीहरुलाई वैशाख २८ गते शुक्रबारभित्र तालिमको तालिका उपलब्ध गराइने योजना रहेको उनको भनाइ छ । | वैशाख २० गतेपछि फाराम भर्नेहरुको हकमा विभिन्न क्याम्पस र सामुदायिक विद्यालयसँगको सहकार्यमा विभिन्न चरणमा तालिम उपलब्ध गराइने प्रमुख कोइरालाले जानकारी दिए । ‘मेलामा सहभागी हुनका लागि अनलाइनको माध्यमबाट करिब पाँच हजार जनाले फाराम भर्नुभएको छ । विभिन्न वडाहरुबाट करिब तीन हजार दुई सय र टुँडिखेलमा आएर प्रत्यक्ष रुपमा फाराम भर्नेको सङ्ख्या गरी १० हजार बढी छ । अहिले पनि फाराम भर्न रोकिएको छैन’, प्रमुख कोइरालाले भने । फाराम भरेका मध्येबाट दुई हजार ८१ लाई तत्काल तालिम दिने र अन्यलाई आवश्यकताका आधारमा आगामी तीन वर्षसम्म तालिम दिइने उनले जानकारी दिए । कामपाको गौरव योजनाअन्तर्गत ‘रोजगारी र आयमा वृद्धि, काठमाडौंको समृृद्धि’ अन्तर्गत सीप मेला सुरु गरिएको कोइरालाले जानकारी दिए । मेलाका लागि कामपाले नेपाल तालिम तथा रोजगारी व्यवसायी महासङ्घसँग सहकार्य गरेको छ । मेलाबाट १० क्षेत्रका ३६ पेसासम्बन्धी तालिम दिने लक्ष्य राखिएको कामपाले जनाएको छ । मेलाले छरिएर रहेका सीपलाई एकीकृत गर्ने, सीप भएका व्यक्तिलाई रोजगारदाताको पहुँचमा पुर्याउन मद्दत गर्ने कामपाको विश्वास छ । १८ वर्ष उमेर पूरा भएका ५८ वर्ष समूहसम्मका व्यक्तिले तालिममा सहभागी हुन पाउने प्रमुख कोइरालाले जानकारी दिए । अनलाइनमार्फत विवरण भर्न कठिन हुनेहरुका लागि वडाबाट कागजमा फाराम भर्न सक्ने व्यवस्था गरिएको थियो । यससँगै शुभारम्भका दिन टुँडिखेलमा आएका सहभागीहरुले उक्त स्थानबाटै फाराम भर्न पाउनुपर्छ भनेपछि त्यहाबाट पनि फाराम भरिएको प्रमुख कोइरालाले जानकारी दिए । रासस
रायोको साग बेचेर वार्षिक २ लाख आम्दानी
गलकोट । गाउँबाट खाली फर्केका सवारीसाधन बजारबाट भरिभराउ भएर फर्कन्छन् । गाउँबाट बजार पठाउने स्थानीय उत्पादन नभएपछि अहिले अधिकांश गाउँमा आयातीत उत्पादनको उपभोग हुने गर्दछ । तर, बागलुङको रायडाँडामा भने यो लागु हुँदैन । यहाँका किसानले सवारीसाधन कृषि उपजले भरेर बजार पठाउने गरेका छन् । यहाँ बाह्रैमास रायोको साग उत्पादन हुन्छ । अहिले यहाँको रायोको साग बागलुङ बजार हुँदै पोखरासम्म पुग्ने गरेको छ । कृषिमा निकै सम्भावना बोकेको रायडाँडामा उत्पादन भएको साग अहिले ब्राण्ड बनिसकेको छ । यहाँका किसानले व्यावसायिक रुपमा नै रायोको साग खेती गर्दै आएका छन् । रायडाँडाबाट प्रत्येक बिहान रायोको सागले भरिएको जीप बागलुङ बजार आउने गरेको छ । रायडाँडाको धारापानी गाउँ कृषिमा आत्मानिर्भर रहेको छ । यहाँका किसानले दैनिक एक पिक आप जिप भरी साग मात्रै बागलुङ बजार पठाउँदै आएको स्थानीय हिराबहादुर थापाले बताए । थापाले यहाँको साग मौसमी र बेमौसमी दुबै समयमा उत्पादन भइरहेको बताए । ‘दैनिकजसो एक जीप भरी रायोको साग बागलुङ बजार पुग्छ, चिसो ठाउँमा उत्पादन भएको रायोको साग बागलुङ बजारका व्यवसायीले धेरै मूल्य पाउन पोखरा पठाउने गरेका छन्,’ थापाले भने, ‘हिले रायडाँडाको साग भनेपछि मूल्य बढी पर्न थालेको छ, रायडाँडाको साग पाएपछि उपभोक्ताले मूल्यमा सम्झौता गर्दैनन्, अहिले ताराखोलाको आलु र भाङ्गो भनेजस्तै रायडाँडाको साग भन्ने ब्राण्ड नै बनिसकेको छ ।’ यहाँका बालिका थापा, रुद्रबहादुर थापा, दलबहादुर थापा, चन्द्रबहादुर थापा, तिलमाया थापा, टीकाबहादुर थापाले वार्षिक दुई लाखसम्म सागबाटै कमाउने गरी पाखोबारी भरी साग खेती गर्दै आएको बताए । रायडाँडा टाढाको गाउँ भएकाले वर्षाद्मा भने बजारीकरणका लागि अझै समस्या रहेको थापाको भनाइ छ । वर्षात्मा गाडी नचल्दा उत्पादन भएको साग गाई भैँसीलाई हाल्नुपर्ने बाध्यता रहेको स्थानीय कृषकको भनाइ छ । ‘एक वर्षमा रायोको साग मात्रै बिक्री गरेर एउटा किसानले तीन लाखसम्म कमाएको रेकर्ड छ, बजारमा मूल्य भने स्थिर छैन, अहिले धारापानीबाट एउटा जीपभरी साग मात्रै बजार जान्छ, कहिले धेरै कहिले थोरै मूल्य पर्छ, न्यूनतम २० रुपैयाँ मुठोमा बिक्री भएको पाइन्छ, त्यहाँका व्यापारीले हाम्रो साग पोखरा पठाएको पाइन्छ,’ साग किसान बालिकाले भने, ‘यहाँको कालो माटोमा रायोको साग निकै झाङ्गिन्छ, यहाँको साग खाएपछि अर्कोपटक माग आइहाल्छ, माग र उत्पादनलाई मिलाउन नसकेको मात्रै हो, बजारको तीन पसलमा रायडाँडाको रायोको साग जुनसुकै समयमा खरिद गर्न सकिन्छ ।’ साग सस्तोमा बिक्री भए पनि उत्पादन धेरै गर्न सके राम्रो फाइदा हुने स्थानीय रुद्रबहादुर थापाले बताए । यहाँको साग दैनिकजसो टिप्न सकिने बताउँदै थापाले माग बढेपछि उत्पादन बढाउन थालिएको बताए । ‘अहिले प्रचारप्रसार धेरै भएपछि माग समेत बढेको छ, रायडाँडाको साग पोखराका ठूला होटलमा समेत पुग्न थालेपछि साग खेती विस्तार गरिरहेका छौँ,’ उनले भने, ‘गाउँबाट रित्ता सवारी पठाएर बजारबाट भरेर गाउँ ल्याउने चलनलाई रायडाँडाले फरक सन्देश दिएको छ, यहाँबाट प्रत्येक दिन रायोको साग, मुला, काउली र बन्दाले भरिएको जीप बागलुङ बजार पुग्छ ।’ बसाइँसाइको चपेटामा रहेको रायडाँडाको धारापानीमा बगर बस्ती भएकाले कम बसाइँसाइ छ । रायडाँडावासीले रायोको सागसँगै मुला, काउली र बन्दासमेत उत्पादन गर्दै आएका छन् । बागलुङ नगरपालिकाको सबैभन्दा टाढाको गाउँका रूपमा रहेको ११ नम्बर वडा रायडाँडा बसाईसराईले उजाडिएको गाउँ हो । तर यहाँको रायडाँडाको धारापानीका किसानले साग बिक्रीबाटै राम्रो आम्दानी समेत गर्दै आएका छन् । यहाँ उत्पादन भएको रायोको साग निकै स्वादिष्ट भएपछि उपभोक्ताले खोजी–खोजी खाने गर्दछन् । यहाँको सागलाई सुरुमा सहकारीमार्फत् बजारीकण गर्न सघाएको बागलुङ नगरपालिका–११ का वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले जानकारी दिए । उनले किसानलाई बजारीकरणमा सघाएपछि अहिले किसानले आफैँ बिक्री गर्न थालेको गोतमको भनाइ छ ।
दैलेखको दुल्लूमा नबिल बैंकको २६८औं शाखा सञ्चालन
दैलेख । नबिल बैंक लिमिटेडले कर्णाली प्रदेशको दैलेख जिल्लामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नबिल बैंकले आफ्नो २६८औं शाखाको रूपमा दैलेख जिल्लाको दुल्लू नगरपालिकामा शाखा विस्तार गरेको हो । यस विस्तारसँगै नबिल बैंक दुल्लू नगरपालिकाको पहिलो निजी क्षेत्रको बैंकका रुपमा सेवा दिन सफल भएको हो । दुल्लू नगरपालिका प्रमुख भरतप्रसाद रिजाल, नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) मनोज ज्ञवाली, स्थानीय जनप्रतिनिधिहरु, स्थानीय उद्यमी व्यवसायी तथा सरोकारवालाहरूको उपस्थितिमा गत शुक्रबार दुल्लू शाखाको उद्घाटन गरिएको नबिल बैंकले जनाएको छ । देशको अग्रणी वाणिज्य बैंक नबिलले जनतामा वित्तीय पहुँच बढाउन विभिन्न ठाउँमा सेवा विस्तार गर्दै आएको छ । दुल्लू नगरपालिका प्रमुख रिजालले नबिल बैंकको शाखा सञ्चालनमा आएसँगै स्थानीयलाई वित्तीय सेवा लिन निकै सहयोग पुग्ने बताए । ‘देशकै अग्रणी बैंकले हाम्रो नगरपालिकामा निजी क्षेत्रको पहिलो बैंकका रुपमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यो निकै खुसीको कुरा हो । यहाँको जनताको वित्तीय पहुँच बढाउन र यहाँ उद्यम व्यवसाय विस्तार गर्न यस शाखाले ठुलो सहयोग पुग्ने विश्वास लिएको छु,’ रिजालले भने । नबिल बैंकका डेपुटी सिइओ ज्ञवालीले ऐतिहासिक महत्व बोकेको दुल्लु क्षेत्रमा नयाँ शाखा सञ्चालमा ल्याउन पाएको भन्दै खुसी व्यक्त गरे । डेपुटी सिइओ ज्ञवालीले बैंकले डिजिटल सेवाका साथै सम्पूर्ण सुविधा प्रदान गर्न प्रतिबद्ध रहेको बताए । नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकहरू मध्ये एक हो । बैंकले देशभर २६८ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१३ एटिएम मेसिनबाट सेवा प्रदान गर्दे आएको छ । नबिल बैंकले २२ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
ललितपुरको बाफलमा आगलागी, ५ घाइते
पाटन । ललितपुर महानगरपालिका–१७ बाफलमा आगलागी हुँदा तीन बालबालिकासहित पाँच जना घाइते भएका छन् । जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी नरेशराज सुवेदीले आज बिहान बाफलस्थित मोबिल सङ्कलन गरी राखिएको एक टहरोमा आगलागी हुँदा तीन बालबालिकासहित पाँच जना घाइते भएका जानकारी दिए । घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ । आगलागीबाट रौतहट जिल्ला घर भई हाल बाफल बस्ने सञ्जय गिरी र रुपा गिरीलगायत उहाँका तीन वर्षीया प्रीया गिरी, आठ वर्षीया एसीला गिरी, १५ वर्षीया मीत गिरी घाइते भएका छन् । अहिले आगलागी नियन्त्रणमा आइसकेको सूचना अधिकारी सुवेदीले जानकारी दिए । रासस
काठमाडौंको वायु अझै अस्वस्थ
काठमाडौं । आईतबार फेरि काठमाडौं वायुप्रदूषणका हिसाबले विश्वकै दोस्रो स्थानमा प्रदूषित सहरका रुपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआइ) एक सय ७७ पुगेको छ । गत बिहीबार वायु गुणस्तर सूचकाङ्क (एक्यूआइ) एक सय ६८ पुगेको बुधबार वायु प्रदूषण बढेर वायु गुणस्तर सूचकाङ्क (एक्यूआइ) एक सय ९५ पुगेको थियो । शनिबार भने घटेर वायु गुणस्तर सूचकाङ्क (एक्यूआइ) एक सय ८५ रहेको थियो । ‘एयर क्वालिटी इन्डेक्स’ का अनुसार पहिलो प्रदूषित सहरका रुपमा भने भारतको दिल्ली सहर सूचीकृत भएको छ । डिल्लीको वायु गुणस्तर सूचकाङ्क (एक्यूआइ) दुई सय ४५ रहेको छ । यसैगरी तेस्रो स्थानमा चीनको बेइजिङ सहर विश्वकै तेस्रो प्रदूषित सहरका रुपमा सूचीकृत भएको छ । सुक्खायामसँगै बढ्दै गइरहेको तापक्रम वृद्धिसँगै मुलुकको विभिन्न स्थानमा लागेको वन डढेलोका कारण वायुप्रदूषण पनि बढिरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सुक्खायामसँगै मुलुकका विभिन्न स्थानमा लागिरहेको डढेलो नियन्त्रण हुन नसक्दा काठमाडौं उपत्यकालगायतका मुख्य सहरमा प्रदूषण बढेर वायु नै अस्वस्थ रहेको छ । नेपालमा फागुन, चैत, वैशाख र जेठ महिनामा वायु प्रदूषण बढ्ने गरेको भन्दै सतर्कता अपनाउन वातावरण विभागले अनुरोध गरेको छ । मुलुकका विभिन्न स्थानमा लागेको वन डढेलोको धुवाँका कारण वायु अस्वस्थ्य भएको भन्दै विभागले सावधानी अपनाउन आग्रह गरेको हो । विभागका अनुसार यस अवधिमा विशेष गरी बढ्दो तापमान, कम सापेक्षित आद्र्रता र सुक्खा मौसमजस्ता प्राकृतिक कारणबाट हुने डढेलो, मानवीय कारण जस्तै फोहर तथा कृषि अवशेष जलाउँदा तथा उद्योग कलकारखाना, सवारी साधन, भौतिक निर्माण आदिबाट निस्कने प्रदूषित धुवाँ धुलोबाट वायुप्रदूषण हुने गरेको पाइएको छ । विभागका महानिर्देशक भूपाल बराललले पछिल्लो समय बढ्दै गइरहको वन डढेलोको कारण प्रदूषण बढेको भन्दै अन्तरनिकायबीचको समन्वय बढाएर डढेलो नियन्त्रणका प्रभावकारी कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताएका छन् । ‘हाल देशका अधिकांश भूभागमा डढेलो तथा आगलागीका घटना बढिरहेको तथा डढेलोको कारणले धन जनको क्षतिका विवरण प्राप्त भइरहेका छन्’, उनले भने, ‘भू–उपग्रहको तथ्याङ्क विश्लेषणबाट प्राप्त विवरणबमोजिम सन् २०२४ को सुरुआतबाट हालसम्म एक हजार छ सय ५३ वटा डढेलो तथा आगलागीका घटना भएको देखिन्छ । पछिल्लो दिनमा डढेलो तथा आगलागीका घटना बढेसँगै नेपालको अधिकांश भूभागमा वायुप्रदूषण बढेको पाइएको छ ।’ डढेलोविद् सुन्दर शर्माले मुलुकको विभिन्न स्थानमा लागि रहेको वन डढेलोसँगै प्रदूषण पनि बढिरहेको भन्दै डढेलो नियन्त्रणका प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीका अनुसार ० देखि एक्युआइ ५० राम्रो अर्थात् हरियो चिन्हले चिनिन्छ । ‘५१ देखि एक सयसम्मको एक्युआइलाई होसियार होऔँ अथवा पहेँलो सङ्केतले चिनिन्छ । यसै गरी १०१ देखि १५० सम्मलाई अस्वस्थ्य जसमा श्वासप्रश्वास र मुटु रोगीका बिरामीलाई असर गर्छ भन्ने बुझिन्छ ।’ उनले भने, ‘१५१ देखि २०० देखिको एक्युआइलाई पनि अस्वस्थ तर सबैलाई असर गर्छ भन्ने बुझिन्छ । २०१ देखि ३०० सयलाई धेरै अस्वथका रुपमा लिइन्छ र ३०१ देखि चार सयलाई खतरनाक र चार सय एक देखि ५० लाई धेरै खतरा मानिएको छ ।’ काठमाडौं उपत्यकाको लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ ले पनि नेपाल सरकारले निर्धारण गरेको एक्युआईको मान तीन सयभन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिने बताएको छ । यो विपद् रोक्नका लागि कार्ययोजनामा फोहर बाल्ने कार्य रोक्ने, सडक सफा गर्न ब्रुमर तथा भ्याकुमको प्रयोग व्यापक गर्ने, बालबालिका, ज्येष्ठ नागरिक, बिरामीलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्न कार्ययोजनामा उल्लेख गरिएको छ । रासस
पिपुल्स पावरको सञ्चालक समिति परिवर्तन, अध्यक्षमा टंकराज अर्याल
काठमाडौं । पिपुल्स पावर लिमिटेडको सञ्चालक समिति परिवर्तन भएको छ । कम्पनीको वैशाख १७ गते काठमाडौंमा सम्पन्न छैटौँ र सातौँ वार्षिक साधारण सभाले पुरानो सञ्चालक समितिलाई बिदाइ गर्दै नयाँ समिति चयन गरेको हो । कम्पनीका अनुसार यसअघि भरतबहादुर खत्रीको नेतृत्वको सञ्चालक समितिलाई बिदाइ गर्दे संस्थापक सेयरधनी टंकराज अर्यालको नेतृत्वमा नयाँ सञ्चालक समिति गठन गरिएको हो । नयाँ सञ्चालक समिति सदस्यहरूमा रामकाजी श्रेष्ठ, श्रीकृष्ण अर्याल, आरती अधिकारी, उपेन पराजुली, उद्धव भट्ट र निर्वाण शर्मा चयन भएका छन् । यीमध्ये श्रेष्ठ र पराजुली सर्वसाधारण सेयरधनीहरूबाट सञ्चालकमा चयन भएका हुन् भने श्रीकृष्ण अर्याल आरती अधिकारी र उद्धव पराजुली संस्थापक सेयरधनीबाट चयन भएका हुन् । निर्माण शर्मा भने स्वतन्त्र सञ्चालकका रूपमा समितिमा आएका हुन् । सोही साधारण सभाले कम्पनीको हाल कायम ६३ लाख २६ हजार कित्ता सेयरको १ बराबर ०.५ का दरले ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने प्रस्तावसमेत स्वीकृत गरेको छ ।
सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन निवेदन ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ। सन्दीपले दिएको पुनरावेदनमा सुनुवाइका लागि उच्च अदालतका मुख्य न्यायाधीस नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासमा पेसी तोकिएको थियो । पहिलो नम्बरमा परे पनि हेर्न नमिल्ने भएपछि फेरि पछि धकेलिएको हो । उक्त मुद्दालाई यसअघि प्राथमिकतामा राखेर सुनुवाइ गर्न अदालतबाट अग्राधिकार प्रदान गरिएको थियो। यसअघिको सुनवाइमा मुख्य न्यायाधीश निरौलाले झगडिया झिकाउने आदेश दिएका कारण हेर्न नमिल्ने भएको हो । अब उक्त मुद्दामा अर्को सुनुवाइका लागि पेसी तय हुने छ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान देशभरका अस्पतालमा बिस्तार हुनुपर्छ : उपकुलपति बस्नेत
काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा.डा.भूपेन्द्रकुमार बस्नेतले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान तीन सय शैय्या भन्दा माथिका देशभरका सबै अस्पतालमा बिस्तार हुनुपर्ने बताएका छन् । आईतबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २२ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा मात्र नभइ देशभरका तीन सय शैय्या भन्दा माथिका सबै अस्पतालमा हुनु अनिवार्य रहेको बताए । देशको आवश्यकता, संविधानले प्रत्याभुत गरेको स्वास्थ्य सम्बन्धी हकलाई कार्यान्वनय गर्न अझै धेरै जनशक्तिको आवश्यक रहेको पनि जानकारी दिए । उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले अझै धेरै तालिम, अध्ययन, अनुसन्धानको पाटोहरुलाई अघि बढाउनुपर्ने अवस्था रहेको पनि बताए । उनले भइरहेको जनशक्ति, भौतिक पूर्वाधार र सरकारबाट प्राप्त ५७० रोपनी दुवाकोटको जग्गाको गुरुयोजना बनिसकेको र प्रधानमन्त्री पुष्पकमल दाहालबाट गुरुयोजना अघि बढाउने प्रतिवद्धता आइसकेको जानकारी दिए । ‘देशको आवश्यकता, संविधानले प्रत्याभुत गरेको स्वास्थ्य सम्बन्धी हकलाई कार्यान्वनय गर्न अझै धेरै जनशक्तिको आवश्यकता छ । चिकित्सा शिक्षा आयोगले गरेको अध्ययन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट गरिएको आँकलनमा पनि आइसकेको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले अझै धेरै तालिम, अध्ययन, अनुसन्धानको पाटोहरुलाई अघि बढाउनुपर्ने अवस्था छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा मात्र नभइ देशभरका सबै अस्पताल जुन ३ सय बेड भन्दा माथिका छन्, तिनीहरुमा बिस्तार हुनेछ’, उनले भने । उनले भरतपुर एवं वीर अस्पतालमा एमबीबीएस कार्यक्रमलाई ल्याउने र प्राथमिकताका साथ अघि बढाउने प्रतिवद्धता प्रधानमन्त्रीबाट आएको भन्दै खुशी व्यक्त गरे ।