जीवन विकासका उत्कृष्ट कर्मचारी र शाखालाई पुरस्कार
विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले उत्कृष्ट कर्मचारी तथा शाखालाई पुरस्कृत गरेको छ । आर्थिक वर्ष २०७९–८० मा उत्कृष्ट कार्य गरेका कर्मचारी र शाखा कार्यालयलाई पुरस्कृत गरेको हो । जीवन विकासले उत्कृष्ट जिल्ला प्रमुखको रुपमा मैयाँ राई, शिवचरण दास र मनोजकुमार मण्डललाई पुरस्कृत गरेको हो । उत्कृष्ट शाखा प्रमुख घोषित भएका रिता घिमिरे, अनिल कुमार साह, यदुनन्दन कुमार साहलाई पनि पुरस्कृत गरेको हो । उत्कृष्ट फिल्ड कर्मचारी कल्पना कुमारी चौधरी, जेसन कुमार दास र चन्दन कुमार सिंहलाई पुरस्कृत गरेको छ । उत्कृष्ट कार्य गरेबापत कार्यालय सहयोगी सविता कुमारी गोढी , प्राविधिक कर्मचारी कुन्दनकुमार सिंह, रिसेप्सनिष्ट गीता खत्रीलाई पनि पुरस्कृत गरेको हो । आर्थिक वर्ष २०७९–८० को उत्कृष्ट शाखा घोषित भएको अमाही, राप्ती र विराटनगर शाखालाई पनि पुरस्कृत गरेको छ । कोशी, मधेश र बागमती प्रदेशका २४ जिल्लामा लघुवित्त सेवा प्रवाह गरिरहेको जीवन विकासको १६० वटा शाखामा एक हजार आठ जना कर्मचारी कार्यरत छन् । ती मध्ये उत्कृष्टलाई पुरस्कृत गरिएको हो । उत्कृष्ट कर्मचारी र शाखालाई जीवन विकासका संस्थापक अध्यक्ष तथा मोरङ क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डल, जीवन विकास लघुवित्तका वित्तीय संस्थाका अध्यक्ष बिक्रमराज सुवेदी, सञ्चालकहरु गोकर्ण खतिवडा, श्यामचन्द्र खतिवडा र प्रकाशकुमार श्रेष्ठले प्रमाणपत्र तथा मेडल प्रदान गरे । आर्थिक वर्षको तेस्रो त्रयमासमा उत्कृष्ट कार्य गर्ने शाखाहरुलाई पनि विभिन्न विधामा पुरस्कृत गरिएको थियो । पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मोरङ क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डलले समाज केन्द्रित गतिविधिलाई प्रभावकारी बनाउन आग्रह गरे । लघुवित्त ग्रामीण अर्थतन्त्रको मेरुदण्ड भएको बताउँदै उनले देश बनाउने अभियानमा केन्द्रित हुनुपर्ने बताए । लघुवित्तले सामाजिक व्यवसाय गरिरहेको उल्लेख गर्दै उनले भने,‘लघुवित्त मार्फत देश बनाउने अभियानमा लाग्नुहोस्, अहिले योगदान गर्दा पछि सबैले उपलब्धि पाउँछन् ।’ वातावरण संरक्षणका लागि वृक्षारोपण अभियानलाई पनि निरन्तर अघि बढाउन आग्रह गरे । लघुवित्त विरुद्ध माफियाको समूहले निरन्तर प्रहार गरेको बताउँदै उनले सबैको प्रयासमा लघुवित्तलाई असफल बनाउने प्रयासलाई विफल बनाइएको बताए । जीवन विकास लघुवित्तका अध्यक्ष विक्रमराज सुवेदीले समाज परिवर्तनका लागि जीवन विकास सुरु भएको बताए । दुई वर्षयता लघुवित्त माथि निरन्तर प्रहार हुँदा लघुवित्तले आफ्नो स्थानमा उभिएर जनतालाई सेवा प्रवाह गरिरहेको बताए । ‘जीत लघुवित्तको भएको छ, सिंगो समाजले जितेको छ,’ उनले भने,‘ समाज परिवर्तनका लागि जीवन विकासले काम गरिरहेको छ, सामाजिक कर्तव्य निभाइरहेको छ ।’ जीवन विकासका सञ्चालक गोकर्ण खतिवडाले पछिल्लो केही समययता देशको वित्तीय क्षेत्र नाजुक अवस्थामा रहँदा लघुवित्तले आफ्नो स्थानबाट निरन्तर योगदान गरिरहेको बताए । ‘जीवन विकासले पहिलेकै अवस्थामा रहेर जनताको सेवा गरिरहेको छ,’उनले भने,‘उत्साहित भएर निरन्तर अघि बढ्नुहोला ।’ कार्यक्रममा लघुवित्तका सञ्चालकहरु श्यामचन्द्र खतिवडा र प्रकाशकुमार श्रेष्ठले लघुवित्तले ग्रामीण अर्थतन्त्रको विकासका लागि घरदैलोमा पुगेर वित्तीय सेवालाई प्रभावकारी रुपमा सञ्चालन गरिरहेको बताए । जीवन विकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले लघुवित्तले सामाजिक जिम्मेवारीलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए । लघुवित्तले वित्तीय कारोबार मात्रै नभई समग्र समाजको विकासका लागि काम गरिरहेको उनले बताए । ग्रामीण अर्थतन्त्रको विकासका लागि निरन्तर काम गरिरहेका लघुवित्त माथि बारम्बार भएको प्रहारले जनतामा नकारात्मक सन्देश फैलिएको बताउँदै उनले नकारात्मक भ्रमलाई चिर्दै लघुवित्तलाई अझ प्रभावकारी बनाउने अभियानमा लाग्नुपर्ने बताए ।
राष्ट्रिय जनगणना २०७८ को जनसङ्ख्या साक्षरता र जनसाङ्ख्यिक सूचक पुस्तक सार्वजनिक
काठमाडौं । राष्ट्रिय जनगणना २०७८ ‘जनसाङ्ख्यिक सूचक’ नामक पुस्तिका र ‘जनसङ्ख्या साक्षरता’ पुस्तक सार्वजनिक भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयमा आइतबार एक कार्यक्रमकाबीच जनसङ्ख्या साक्षरता पुस्तक तथा जनसाङ्ख्यिक सूचक सार्वजनिक गरिएको हो । जनसङ्ख्या साक्षरता पुस्तकमा नेपालमा जनगणना उपयोगिता, अभ्यास तथा गुणस्तरका चुनौतीहरू ,जनसङ्ख्याको आकार संरचना वितरण एवम् वृद्धि मापन तथा प्रक्षेपण विधि, शैक्षिक तथ्याङ्क र सूचकहरू प्रकाशनमा ४०० भन्दा बढि जनसाख्यिक सूचकहरु समावेश गरिएको छ । राष्ट्रिय जनगणना २०७८ को जनसंख्या साक्षरता पुस्तक तथा जनसांख्यिक सूचकहरु सार्वजनिक राष्ट्रिय तथ्याङ्क कार्यलयका प्रमुख तथ्याङ्क अधिकारी अर्जुन प्रसाद पोखरेलले गरेका थिए ।
माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनलाई आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा उनको पार्टी नेकपा (माओवादी केन्द्र) सम्बद्ध करिब डेढ दर्जन विभागले सुझाव दिएका छन् । माओवादी मुख्यालय कोटेश्वर पेरिसडाँडामा पुनलाई आज विभिन्न विभागका प्रमुखसँग छलफल गरी सुझाव लिएका हुन् । मन्त्री पुन माओवादी केन्द्रका उपमहासचिव र अर्थ तथा योजना विभाग प्रमुखसमेत हुन् । कार्यक्रममा विभागीय प्रमुखहरूले बजेटमा रोगजारी सिर्जना गर्ने तथा उत्पादन वृद्धि गर्ने योजनामा जोड दिन आग्रह गरे । बजेट बनाउँदा क्षेत्रगत सन्तुलन कायम गर्न, आर्थिक/सामाजिकरूपमा पछि परेका क्षेत्र तथा संविधानले नागरिकको नैसर्गिक हकका रूपमा स्वीकार गरेको स्वास्थ्य र शिक्षासहित ऊर्जा, कृषि, पर्यटन र सूचना प्रविधिलाई प्राथमिकतामा राख्न उनीहरूको सुझाव थियो । अर्थमन्त्री पुनले सहभागितामूलक रूपमा बजेट निर्माण गरिने बताए । गठबन्धन दलका चुनावी प्रतिबद्धताअनुसार सरकारको नीति कार्यक्रम ल्याइने उनको भनाइ थियो । आफूले यसअघि विभिन्न क्षेत्रका प्रतिनिधिसँग बजेट निर्माण सम्बन्धमा सुझाव लिएको र ती सुझाव बजेट निर्माणमा समेट्ने प्रतिबद्धता जनाए ।
मुक्तिनाथ विकास बैंकले काठमाडौं विश्वविद्यालयलसँग गर्यो सहकार्य
काठमाडौं । मुक्तिनाथ विकास बैंकले दिगो विकासमा टेवा पुग्ने उदेश्यले ग्रीन हाइड्रोजन इन्धनका अनुसन्धानको लागि काठमाडौं विश्वविद्यालय सँग सहकार्य गरेको छ । एक कार्यक्रम बीच बैंकले काठमाडौं विश्वविधालय अन्तर्गत रहेको ग्रीन हाइड्रोजन ल्याबलाई अनुसन्धानका लागि आर्थिक सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र काठमाडौं विश्वविधालयका उपकुलपति डा. भोला थापा, ग्रीन हाइड्रोजन ल्याबका प्रमुख डा. बिराज सिंह थापा तथा दुबै संस्थानका अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । हाल ग्रीण हाइड्रोजन ल्याबले ग्रीण हाइड्रोजन फर थर्मल हिटका लागि अनुसन्धान गर्ने छ । यस सहयोगहरुबाट मुक्तिनाथ विकास बैंकले नेपालमा रहेको प्राकृतिक स्रोतको असिमित सम्भावनाहरुलाई अनुसन्धान गर्ने मौका सँगै भविष्यमा नेपालको दिगो विकासमा पनि मद्दत पुग्ने विश्वास लिएको छ ।
जापानिज परराष्ट्रमन्त्रीले घुमिन् बसन्तपुर दरबार स्क्वायर (तस्बिरहरू)
काठमाडौं । जापानिज परराष्ट्रमन्त्री खामिखावा योकोले आईतबार बसन्तपुर दरबार स्क्वायर घुमेकी छन् ।
स्टक मार्केट जस्तै घरजग्गाको कारोबार हुने प्रणाली चाहियो
काठमाडौं । नेपालमा वार्षिक प्रत्यक्षरूपमा ५ लाख वटा सम्पत्ति खरिदबिक्री हुन्छन् । सरकारी तथ्यांकअनुसार ४० अर्ब रुपैयाँभन्दा बढी राजस्व घरजग्गा क्षेत्रबाट संकलन हुन्छ । ५ लाख बढीको सम्पत्ति खरिदबिक्री हुँदा वार्षिक १२/१५ खर्ब रुपैयाँको कारोबार हुने गरेको छ । नेपालमा योभन्दा धेरै कारोबार हुने ठूलो क्षेत्र अरु कुनै छैन । यति ठूलो क्षेत्रलाई सरकारले व्यवस्थित गर्न सकेको छैन । साथै, घरजग्गा क्षेत्रका लागि नीति नियम नबन्दा पारदर्शीता हुन सकेको छैन । डेलभपर्स कम्पनी र ब्रोकर कम्पनीलाई लाइसेन्स नदिँदा यो क्षेत्र मर्यादित बन्न सकेको छैन । पुराना अपुरा नीति नियमका कारण सरकारले भूमिसम्बन्धी ऐन २०२१ र मालपोत ऐन २०३४ संशोधन गरिरहेको छ । अब संशोधन भएका ती व्यवस्थाको कार्यविधि र निर्देशिका बनेपछि घरजग्गा क्षेत्रलाई अगाडि बढाउन मद्दत पुग्नेछ । जसरी स्टक मार्केटमा सेयर खरिदबिक्री हुन्छ, त्यसरी नै घरजग्गा कारोबार पारदर्शी, व्यवस्थित, मर्यादित, अनुशासित र राजस्व संकलन बढाउन यस्तै किसिमको प्रणाली हुनुपर्छ । स-साना आयोजना (टुक्रे) ५/१० रोपनी वा १०/२० कठ्ठाका आयोजनाहरूले व्यवस्थित सहरीकरण बन्न सक्दैन । त्यसका लागि ल्याण्डपुलिङ निजी क्षेत्रलाई दिनुपर्छ । काठमाडौं उपत्यका विकास प्राधिकरणले विगत ४० वर्षमा २२ आयोजना सम्पन्न गरेको छ । अझै ६ वटा आयोजनाको डीपीआर सम्पन्न भए पनि विभिन्न मन्त्रालयको अन्तर समन्वयको अभावका कारण कार्यान्वयनमा आउन सकेका छैनन् । उपत्यकाभित्र नीजि क्षेत्रका व्यवसायीले ४ सय वटा आयोजना सम्पन्न गरेका छन् भने उपत्यका बाहिर पनि सोही अनुरूप काम भएका छन् । तर, ती आयोजना मर्यादित बन्न सकेका छैनन् । त्यसका लागि ल्याण्डपुलिङ निजी क्षेत्रलाई खोल्नैपर्छ । अहिले समग्र घरजग्गाको कारोबारमा समस्या आएका कारण अर्थतन्त्रमा समस्यामा परेको छ । देशको अर्थतन्त्र भीरबाट खस्ने अवस्थामा पुगेको छ । घरजग्गा कारोबार नहुँदा अहिलेको अर्थतन्त्रमा समस्यामा परेको हो । घरजग्गा कारोबारमा भइरहेका समस्याले गर्दा विभिन्न बैंकहरूले दैनिक लिलामीका सूचना निकालिरहेका छन् । यसले गर्दा व्यवसाय मात्रै नभइ, बैंक नै ढल्ने खतरामा छ । कुनै बैंक धराशायी भयो भने देशको अर्थतन्त्र हामीले सोचेभन्दा धेरै डरलाग्दो हुनेछ । जसरी डढेलो देशभरिका जंगलमा सल्किएको छ, त्यसैगरी कोलाहलको परिस्थिति बन्न सक्छ । त्यो परिस्थिति बेलैमा नियन्त्रण गर्न सरकार सक्रिय हुनुपर्छ । बैंकहरूको एसेट फण्ड म्यानेजमेन्ट अर्थात् सम्पत्ति लिलाम गर्न छुट्टै कम्पनी सञ्चालन गर्नुपर्छ । विदेशी नागरिकले पनि अपार्टमेन्ट खरिद गर्नसक्ने गत आर्थिक वर्षको बजेटमा व्यवस्था गरिएको थियो । बजेटमा फूलबुट्टा भरिन्छन् । तर, ती फूलबुट्टा कार्यान्वयन फितलो छ । विदेशी लगानीकर्ताहरूले पनि अपार्टमेन्ट खरिद गर्न पाउने व्यवस्था चाँडोभन्दा चाँडो कार्यान्वयन गर्नुपर्छ । हदबन्दीको विषयले व्यवसायीहरू समस्यामा परेका छन् । अपार्टमेन्ट, हाउजिङ बनाएर बिक्री गरिएका छन् । तर, उपभोक्ताहरूले सो सम्पत्ति उपभोग गरे पनि हस्तान्तरण हुन सकिरहेको छैन । व्यवसायीहरू दिनरात खटिँदा पनि त्यो समस्या समाधान हुन सकिरहेको छैन । यो समस्याले व्यवसायीहरू ‘सुसाइड’ गर्ने अवस्थामा पुगेका छन् । सरकारबाट अनुमति लिएर अपार्टमेन्ट, हाउजिङ बनाए पनि हस्तान्तरण हुन सकिरहेको छैन । त्यसैले हदबन्दीको विष चाँडोभन्दा चाँडो समाधान हुनुपर्छ । नेपाल राष्ट्र बैंकले लोन टू भ्यालू रेसियो र कर्जा आम्दानी अनुपात बढाउनुपर्छ । यो विषय बढाउन सकिएन भने व्यवसायीहरूले बनाइरहेका आयोजना सम्पन्न हुन सक्दैनन् । बैंकहरूमा ६ खर्ब रुपैयाँभन्दा बढी रकम थुप्रिएर बसेको छ । बैंकहरूले घरकर्जाका लागि विभिन्न अफरहरू ल्याइरहेका छन् । होम लोन लिन ग्राहकहरू तयार छन् । तर, लिन सकिरहेका छैनन् । किनभने लोन टू भ्यालू रेसियो अर्थात् ५० प्रतिशतको लोन टू भ्यालू रेसियोले घरजग्गा किन्न सक्ने अवस्था छैन । नेपाल राष्ट्र बैंकले यस विषयमा समयमा समाधान गर्नुपर्छ । (नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष लोहनीले नेपाल रियल स्टेट कन्फरेन्स, २०२४ मा राखेको विचार)
तापक्रम घट्यो : अब आउने वर्षाले आगलागी घटाउन सघाउने
काठमाडौं । गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो केहीदिनयता मुलुकका धेरै स्थानमा मौसम बदली हुन थालेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आईतबार पूर्वको कोसीका केही भूभागमा हल्कादेखि मध्यम वर्षा हुने र भोलि र पर्सी (मगंलबार) अन्य प्रदेशका विभिन्न ठाउँमा वर्षा हुने जनाएको छ । विभागमा मौसमविद् सरोज पुडासैनीले मौसम बदलीका कारण पछिल्ला केही दिनदेखि तापक्रम घट्दो क्रममा रहेको जानकारी दिँदै अब बढ्दो आगलागीलाई प्रभाव पार्ने गरी ठाउँठाउँमा वर्षा हुने जानकारी दिए । उनले हिजोदेखि नै तराईका जिल्लामा ४० डिग्रीभन्दा तल नै तापक्रम रहेको जानकारी पनि दिए । यो क्रमशः घट्दै जाने उनले बताए । हिजो काठमाडौंमा २९.५ डिग्री तापक्रम थियो । हिजो सबैभन्दा धेरै धनगढीमा ३९.३ र भैरहवामा ३८ डिग्री थियो । वर्षाको सम्भावना रहेकाले तल्काल तापक्रम नबढ्ने उनले बताए । केहीदिनअघि यसपाली तापक्रम सबैभन्दा बढी भैरहवामा ४३.६ डिग्रीसम्म पुगेको थियो । पुडासैनीका अनुसार आज कोसीका केही स्थानमा र भोलि कोसी र गण्डकीका थोरै क्षेत्रमा पानी पर्ने र बाँकी पहाडी भूभागका केही क्षेत्रमा हल्लादेखि मध्यम वर्षाको सम्भावना छ । पर्सी भने कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् पुडासैनीले जानकारी दिए । अब पर्ने पानीले कतिपय ठाउँमा भइरहेको आगलागी घटाउन सहयोग पुग्ने महाशाखाले जनाएको छ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसमविद् पुडासैनीले बताए । उनका अनुसार सोही मौसमी प्रणालीका कारण देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । आगामी २४ घण्टाको अवस्था कोसी प्रदेशका थोरै स्थानमा तथा बाँकी पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावनाका साथै मधेस प्रदेशलगायत कोसी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना पनि रहेको छ । त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । अहिले वर्षा नहुँदा अत्यधिक गर्मीका कारण देशभर आगलागीका घटना बढिरहेको छ । ठाउँठाउँमा जनधनको ठूलो क्षति भएको छ भने वनजङ्गल डढेर सखाप भएको छ । वनबाट बस्तीका आगो सल्किँदा कतिपय जिल्लाका बस्ती नै जलेका छन् । दैनिक सयौँ स्थानमा आगलागी भइरहेको छ । रासस
नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी
खजुरा । जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा रहेको नेपालगञ्जबाट नौ महिनामा ७० करोड रुपैयाँभन्दा बढी मूल्यको जडिबुटी निकासी भएको छ । विभिन्न समस्या र अवरोधका बावजुद चालु आवको साउनदेखि चैतसम्म नौ महिनाको अवधिमा ७० करोड रुपैयाँको जडिबुटी निकासी भएको नेपाल जडिबुटी व्यवसायी सङ्घले जनाएको छ । जडिबुटी व्यवसायी सङ्घका अध्यक्ष टङ्कप्रसाद शर्माका अनुसार निकासीमा आन्तरिक तथा बाह्य क्षेत्रबाट झेल्नुपरेको कठिनाइका कारण व्यवसायीले नौ महिनामा ७० करोड रुपैयाँको जडिबुटी निकासी गर्न सफल भएका छन् । नेपाली जडिबुटीप्रति भारतको झन्झटिलो प्रक्रिया र नेपाल सरकारको अस्पष्ट नीतिका कारण जडिबुटी निकासी हरेक वर्ष घट्दै गए पनि यो वर्षदेखि पुनः उकालो लाग्ने सङ्केत देखिन थालेको अध्यक्ष शर्माले बताए । नेपालगञ्ज भन्सार कार्यालयका अनुसार चालु आव २०८०/८१ को चैत मसान्तसम्म नेपालगन्ज नाकाबाट ७० करोड ६२ लाख ३५ हजार रुपैयाँ मूल्य बराबरको २८ लाख पाँच हजार आठ सय ३९ किलोग्राम विभिन्न जडिबुटी निकासी भएको हो । गत आव २०७९/८० को चैत मसान्तसम्म यो नाकाबाट ७० करोड ९६ लाख १० हजार रुपैयाँ मूल्यको जडिबुटी निकासी भएको थियो । कर्णाली प्रदेशलगायतका पहाडी जिल्लामा उत्पादन भएका जडिबुटीको भण्डारण र विदेश निर्यातका लागि नेपालगञ्ज प्रमुख ट्रान्जिट हो । नेपालगञ्ज हुँदै भारतलगायत विभिन्न देशमा जडिबुटी निकासी हुँदै आएको छ । यो नाकाबाट टिम्मुर, रिठा र काउलो सबैभन्दा बढी निकासी भइरहेको छ । औषधि, साबुन, स्याम्पु जस्ता सामग्री बनाउन प्रयोग गरिने यी जडिबुटी भारतमा मात्र नभई जर्मन, बङ्गलादेश जस्ता तेस्रो मुलुकमा पनि निर्यात भइरहेको नेपाल जडिबुटी व्यवसायी सङ्घले जनाएको छ । कर्णाली प्रदेशका पहाडी जिल्लामा पाइने टिम्मुर, काउलो र रिठा त्यहाँबाट खरिद गरी व्यवसायीले विदेश निकासी गर्दै आएका छन् । तर निकासीका क्रममा जडिबुटी व्यवसायीले विगत केही वर्षदेखि विभिन्न झन्झट बेहोर्नुपरेकाले समस्या हुँदै आएको जडिबुटी व्यवसायी सङ्घका अध्यक्ष शर्माले बताए । रासस